विकासन्युज

ट्रायलमा नयाँ नियम लागू हुँदा पास हुने २० प्रतिशतसम्म बढे

काठमाडौं । चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै चालक अनुमतिपत्र पास हुनेको सङ्ख्या १० देखि २० प्रतिशतसम्म बढेको छ । बागमती प्रदेश सरकारले गरेको निर्णयका आधारमा काठमाडौं उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले यो महिनाको सुरुदेखि नै ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागू गराएका हुन् । नियम लागू भए पनि दुई पाङ्ग्रे सवारीसाधनमा २० प्रतिशतसम्म र चार पाङ्ग्रेमा १० प्रतिशतसम्म पास हुने दर बढेको एकान्तकुनास्थित कार्यालयले जानकारी दिएको छ । कार्यालयको चाप व्यवस्थापन गरेर अनलाइन फाराम भर्नेको परीक्षा लिइरहेको कार्यालयका प्रमुख राजकुमार कपालीले बताए । सुरुमा चाप बढी भए पनि पुनःट्रायल दिने कम हुने उहाँको भनाइ छ । लिखित परीक्षा पास गरेका सेवाग्राहीले एक पटक प्रयोगात्मक परीक्षा पास नहुँदा पुनःदुई पटक मौका पाउने गरेका छन् । उनले भने, ‘एकै पटकमा धेरै पास भएपछि दोहो¥याएर र तेहे¥याएर दिने घट्ने भए ।’ प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउँदा नै पास हुने नियम अरु प्रदेशले विगतका वर्षमा नै लागू गरिसकेका थिए । सबैभन्दा बढी सेवाग्राहीको चाप रहेको बागमती प्रदेशले भने विभिन्न कारण देखाएर ढिला मात्रै सुरु गरेको थियो । अरु प्रदेशमा चाप अतिन्यून रहेको र उपत्यका बाहिरका जिल्लास्थित कार्यालयको एक सातामा आउनेभन्दा उपत्यकामा एक दिनमा चाप बढी रहेको प्रमुख कपालीले बताए । विगतमा शतप्रतिशत ल्याउँदा मात्रै पास हुने नियम लागू हुँदा दुईपाङ्ग्रे सवारीसाधनमा ३५ देखि ४० प्रतिशत हाराहारीमा सेवाग्राही पास हुने गरेकामा अहिले ६० प्रतिशत पुगेको पाइन्छ । हलुका सवारी चालकको परीक्षामा सहभागीमध्ये पहिले २० पास हुने गरेकामा अहिले ३५ देखि ४० प्रतिशतसम्म पुगेको कार्यालयले जनाएको छ । रासस

५ वर्षपछि पुनः प्रयोगमा ल्याइँदै वायोग्यास प्लान्ट

काठमाडौं । काठमाडौं महानगरपालिकाले पाँच वर्षदेखि बन्द रहेको वायोग्यास प्लान्ट पुनः सञ्चालन गर्ने भएको छ । फोहरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित युरोपियन युनियन र कामपाको आर्थिक लगानीमा टेकुस्थित वातावरण विभागको परिसरमा जडान गरिएको वायोग्यास प्लान्ट मर्मत गरी पुनः प्रयोगमा ल्याउन लागिएको कामपाले जनाएको छ । कामपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठका अनुसार कुहिने फोहरबाट बिजुली र ग्यास उत्पादन गरी नवीकरणीय ऊर्जा उत्पादन गर्ने तथा कुहिने फोहरको दिगो व्यवस्थापनका लागि यो परियोजना पुनः सञ्चालन गर्ने तयारी गरिएको हो । यसका लागि कामपाले राष्ट्रिय आविष्कार केन्द्रसँग छलफल गरिरहेको छ । ‘छलफल सकारात्मक भएकाले आगामी हप्तादेखि उक्त परियोजना पुनः सञ्चालनमा ल्याउने तयारीमा छौँ’, उनले भने । उक्त परियोजना लागि युरोपियन युनियनले चार करोड ६० लाख र कामपाले एक करोड ८२ लाख रुपैयाँ लगानी गरेका थिए । एकीकृत फोहरमैला व्यवस्थापन परियोजनाअन्तर्गत सञ्चालित यस परियोजनाका लागि दैनिक तीन मेट्रिकटन जैविक फोहर आवश्यक पर्छ । उक्त परियोजनामा तीन हजार किलो जैविक मल उत्पादन हुनाको साथै १४ किलोवाट बिजुली र १३ हजार पाँचसय लिटर प्रशोधित पानी उत्पादन गर्ने क्षमता छ । विसं २०७०देखि परीक्षणका रूपमा उक्त परियोजना सञ्चालन गरिएकामा २०७४ सालदेखि आधिकारिक रूपमा सञ्चालन गरिएको थियो । लामोसमयदेखि वायोग्यास प्लान्ट बन्द हुँदा वायोग्यास उत्पादनमा समस्या हुनाका साथै वायो ऊर्जासम्बन्धी नेपालमा अध्ययन तथा विद्यावारिधि गर्ने विद्यार्थीलाई समस्या भएकाले पुनः जडान गर्न लागिएको बताइएको छ । सञ्चालनका लागि दक्षजनशक्ति अभावका कारण पाँच वर्षदेखि प्रयोगविहीन हुँदै आएको उक्त प्लान्ट पुनः सञ्चालनमा आएसँगै कामपालाई कुहिने फोहर व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिइएको छ । रासस

२ करोड लगानीमा बिनु-बसन्तीको ‘सरुमा चुल्हो’ : स्वादका पारखीको गन्तव्य बन्दै

पोखरा । देशकै एउटा लोकप्रिय पर्यटन शहर हो पोखरा । घुमफिरमा रुची राख्नेहरुले कुनै न कुनै दिन यस ठाउँलाई आफ्नो गन्तव्य बनाउने सपना बुनेका हुन्छन् । पोखराको भूगोल र तालहरुसँग रमाउन आएका स्वादका पारखी पाहुनाहरुलाई सन्तुष्टी दिने उद्देश्यले बिनु र बसन्तीले सुरु गरेका छन् ‘सरुमा चुल्हो एण्ड बार’ । पोखराको मुख्य भाग अर्थात् लखन चोक । जुनसुकै ठाउँबाट बस चढेर आएकाहरु ओर्लने ठाउँ हो यो । न्यूरोड चिप्लेढुंगा जाने बाटोमा पर्ने सभागृह चोक लखनचोकबाट पैदल हिँड्दा मात्रै ५ मिनेटको दुरीमा छ । सभागृहचोकबाट उत्तरतर्फको सुन्दर हिमाल दृश्यसँगै न्यूरोडको यात्रा सुरु हुन्छ । चोकबाट झण्डै २ मिनेट उत्तरतर्फ लाग्दा पहिले ‘दिपेन्द्र सभागृह’को नाममा परिचित सभागृह आइपुग्छ । सभागृहबाट ठिक विपरित उभिएको ‘मिडटाउन’ पछिल्लो केही वर्षदेखि पोखरामा आधुनिक व्यापारिक केन्द्र बनेको छ । सोही मिडटाउनसँग जोडिएर सुरु हुने गल्लीको मिडटाउनकै ठिक विपरित बायाँतर्फ छ ‘सरुमा चुल्हो एण्ड बार’ । जसलाई न्युरोडको सडकको पारीपट्टीबाट नै देख्न सकिन्छ । पृष्ठभूमीका हिसाबले बिनु–बसन्ती फरक–फरक क्षेत्रमा काम गर्दै अगाडि बढेका व्यक्ति हुन् । बिनुले कलेजको पढाइसँगै आफ्नो करिअर जागिरबाट शुरु गरेकी थिइन् । तर, उनी जागिरमा आफ्नो भविष्य देख्न सकिनन् । केही वर्षको सरकारी अस्थायी जागिर छाडेर बिनु रोजगारका लागि जापान गइन् । झण्डै एक दशक लामो जापान बसाइपछि नेपालमा नै व्यवसायिक जीवन सुरु गर्ने उद्देश्यले उनी गत साल मात्रै नेपाल फर्किएकी हुन् । त्यस्तै, कलेजको पढाईसँगै बसन्तीले पत्रकारिताबाट आफ्नो करिअर सुरु गरिन् । अन्य विभिन्न सहायक कामहरुसँगै अहिलेपनि पत्रकारितालाई उनले आफ्नो मुख्य पेसा बनाइरहेकी छन् । बिनु र बसन्ती स्वभाव र शैलीका हिसाबले आधुनिक पुस्ताका महिला हुन् । दुबैजनाले आफ्नै नेतृत्वमा उद्यम सञ्चालन गर्ने इच्छा र प्रयास पहिल्यैदेखि नै राख्दै आएका थिए । बसन्तीले केही वर्ष अगाडि पनि पोखरामा होटल सञ्चालन गर्ने सोच बनाएकी थिइन् । तर, सबै परिवेश अनुकुल नभएकाले सुरु भने गर्न नसकेको उनको भनाइ छ । झण्डै एक वर्ष अगाडि बिनु–बसन्तीले लगानी जुटाउन सके पोखरामा फरक पहिचानको रेष्टुरेन्ट सञ्चालन गर्न सकिने सल्लाह गरे । खासगरी खाना तथा खाजा खाँदा पनि ग्राहकलाई कसरी आनन्द दिन सकिन्छ भन्नेमा आ–आफ्ना अनुभवहरुलाई लिएर अहिलेको ‘सुरुमा’को डिजाइन तयार भएको बिनु बताउँछिन् । रेष्टुरेन्ट कुन मोडेलमा सञ्चालन गर्ने भन्ने विषयमा प्रायः सञ्चालकहरुले धेरै सोचेर गर्ने गर्छन् । पोखरामा रेष्टुरेन्टहरुको कुनै अभाव छैन । तर, त्यहाँ नयाँ फरकपनको विशेषता कसरी बनाउने भन्नेमा उनीहरुले धेरै सोचविचार र सल्लाह गरे । ‘सरुमा’ एउटा पुरै घरमा सञ्चालन गरिएको छ । रेष्टुरेन्टको गेटबाट प्रवेश गर्नेवित्तिकै सजिसजाउ बगैंचा जस्तो परिवेशले ग्राहकलाई स्वागत गर्छ । रेष्टुरेन्टको भवनभित्र प्रवेश गर्नुअगाडि नै कफी बार निर्माण गरिएको छ । बाहिरी वातावरणमा नै बसेर कफी पिउन तथा खाजा खान चाहनेहरु बाहिर नै बसेर लिन सकिन्छ । ‘सरुमा’ले रेष्टुरेन्टलाई बालमैत्री होस् भन्ने हिसाबले भुईंतलाको बगैंचा र टपमा झुलन कुर्चीहरुको व्यवस्था पनि गरेको छ । साढे दुई तले घरमा सञ्चालनमा रहेको ‘सरुमा’का भिन्न–भिन्न तलामा भिन्न भिन्न विशेषता छन् । रेष्टुरेन्टमा पारिवारिकदेखि मझौला स्तरका बर्थडे पार्टी, खाना खाजा सहितको छलफल, बिहानदेखि बेलुका सम्मका स्वादिष्ट खाना/खाजा पाइन्छ । ग्राहकहरुसँग ट्याबको प्रयोग गरेर अर्डर लिने तरिकाको अवलम्बन गरिएको छ । खाना तथा खाजामा नेपाली, इन्डियन, चाइनिज, कन्टिनेन्टल र सी फुडमा अन्तर्गत पर्ने परिकारहरु पाइन्छ । सबै प्रकारका ग्राहकहरुलाई लक्षित गरेर परिकारहरुको व्यवस्था गरिएको सञ्चालक बिनु बताउँछिन् । रेष्टुरेन्टको अहिलेसम्म ‘ग्रयान्ड ओपनिङ’ भैसकेको छैन तर व्यापार भने निकै राम्रो भइसकेको छ । अहिलेसम्म रेष्टुरेन्टको निर्माणमा दुई सञ्चालकले २ करोड ५० लाख भन्दा धेरै लगानी गरिसकेका छन् ।  मंसिरको अन्तिम साताबाट सञ्चालनमा आएको रेष्टुरेन्टमा अहिले दैनिक औसत ५० हजारभन्दा धेरैको व्पापार हुने गरेको सञ्चालिका बिनु बताउँछिन् । अहिलेसम्म भइरहेको व्यापारबाट मात्रै पनि सम्पूर्ण खर्च कटाएर एकजना सञ्चाकले मासिक रुपमा १ लाख भन्दा धेरै आम्दानी गर्न सक्ने तर व्यवसायको अवस्था वृद्धितर्फ भएकाले भविष्यमा राम्रो आम्दानी हुने अनुमान सञ्चालकहरुले गरेका छन् । ‘रेष्टुरेन्टमा अनिवार्य हुनुपर्ने पक्ष भनेको स्वाद, गुणस्तर, आतिथ्यता र वातावरण हो, हामीले यसमा अब्बल बनाउने कोशिस गरेका छौं’, बिनु भन्छिन्, ‘सायद यसैले होला ग्राहकहरुको आकर्षण बढ्दो छ ।’ विगतमा आम्दानीको लागि विभिन्न क्षेत्रलाई रोजे तापनि होटल, रेष्टुरेन्ट तथा आतिथ्यताको क्षेत्रलाई नै अब मुख्य बनाउने दुबै सञ्चालकको धारणा छ ।

सबै सहकारी खत्तम छन् भन्ने प्रचार गलत हो : मन्त्री राई

काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारीहरू सक्किए, खत्तम भए भन्ने हल्लाको पछि नलागी समस्याको समाधान गरेर सहकारीको प्रवद्र्धनमा लाग्नुपर्ने बताएका छन् । आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान)ले आज यहाँ आयोजना गरेको ‘सहकारीको सङ्कट, कारण र समाधान’ विषयक छलफल कार्यक्रममा मन्त्री राईले सबै सहकारी खत्तम छन् भन्ने प्रचार सत्य नभएको र गल्ती गर्ने केहीलाई नियमबमोजिम कारबाही गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘गाउँगाउँमा सहकारीले आर्थिक परिचालनका लागि राम्रो काम गरेका छन् । तिनीहरूलाई हामीले प्रोत्साहन गर्नुपर्छ । समस्या छन् भने समाधानका लागि पहल गर्नु पर्छ ।’ मन्त्री राईले सरोकारवालाबाट प्राप्त हुने लिपिबद्ध सुझावका आधारमा आफूले मन्त्रीका रुपमा गर्नुपर्ने पहलमा हुनै कमी नहुने विश्वास दिलाए । समस्या समाधानका नाममा आयोग र कार्यदल गठन गरेर अल्मल्याउने काम आफूबाट नहुने उनको भनाइ थियो । मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सङ्कटग्रस्त र समस्यामूलक सहकारीका विषयमा अध्ययन भइरहेको उल्लेख गर्दै वचतकर्ता आत्तिनुपर्ने अवस्था नरहेको बताए । नेपाल राष्ट्र बैंकका सञ्चालक डा चिन्तामणि शिवकोटीले नियमनका लागि स्थानीय तहबाट पनि प्रभावकारी भूमिका हुनुपर्ने बताए । कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीलगायतले सहकारी क्षेत्रका समस्या समाधान गर्न सबैको सकारात्मक भूमिका भएमा सहकारीप्रतिको विश्वास पुनःजागृत हुने र सोका लागि सरकारले साथ दिनुपर्ने बताए । मन्त्रालयका पूर्वसचिव गोपीनाथ मैनालीले सङ्कटग्रस्त सहकारीबारे समयमै अध्ययन र छानविन नभएमा वचतकर्ता मर्कामा पर्ने बताए । इमानका अध्यक्ष रोयल आचार्यले अर्थतन्त्र सङ्कटमा पर्दा सञ्चार क्षेत्र पनि प्रभावित हुने भएकाले अर्थतन्त्रको अवस्थामा सुधार ल्याउन हरेक क्षेत्रबाट सकारात्मक योगदान आवश्यक रहेको बताए । इमानका उपाध्यक्ष माधवप्रसाद तिवारीले मिडिया प्रतिपक्षी मात्रै होइन, उत्प्रेरक पनि हो भन्ने मान्यतालाई आत्मसात् गरेर आर्थिक समृद्धिका लागि बहस सञ्चालन गरिएको र आएका सुझाव सम्बन्धित निकायमा पेस गरिने बताए ।

ललितपुरका १० सहकारी संस्थाको इजाजत खारेज

काठमाडाैं । ललितपुरका १० वटा सहकारी संस्थाको इजाजत खारेज भएकाे छ । ५ वर्ष भन्दा बढी अवधिदेखि लेखा परीक्षण तथा साधारण सभा नगर्ने र विवरण नबुझाउने सहकारी संस्थाको इजाजत खारेज भएकाे हाे । ललितपुर महानगरपालिकाले शनिबार सूचना जारी गर्दै आफ्नो मातहतमा रहेका १० वटा सहकारी संस्थाको इजाजत खारेज गरेकाे जानकारी दिएकाे हाे । महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाईले खारेजका संस्थाले अबदेखि आर्थिक कारोबार गर्न नपाउने बताए । ‘त्यी संस्थाका कार्यालय कहाँ छ थाहा छैन, हामीले जम्मा १२ वटा संस्थालाई लक्षित गर्दै सूचना निकालेका थियौं, तर दुई वटा संस्था भने सम्पर्कमा आए, त्यसपछि हामीले १० वटा सहकारीको मात्र इजाजत खारेज गर्यौ,’ उनले भने । सो संस्थामा कसैको पैसा भए सहकारीले फिर्ता गर्नुपर्ने गुरागाईले बताए ।  

भारतबाट हुने अवैध आयातले नेपालगञ्जका उद्योग व्यवसाय धराशायी भएको गुनासो

नेपालगञ्ज । भारतबाट हुने अवैध आयातका कारण नेपालगञ्जका उद्योग व्यवसाय धराशायी हुँदै गएको व्यवसायीले गुनासो गरेका छन् । सीमावर्ती भारतीय नाकाबाट हुने तस्करी र अवैध आयातका कारण नेपालगञ्ज क्षेत्रको व्यापार व्यवसाय धराशायी बन्न पुगेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । सरकारी निकायले नाकामा कडाइ नगर्दा दैनिकरुपमा तस्करी भइरहेकाले स्थानीय उत्पादन र व्यापारले बजार नपाएको उनको गुनासो छ । अवैध आयात नरोकिएमा उद्योगी व्यवसायी पलायन भई नेपालगञ्ज क्षेत्र आर्थिक सङ्कटमा फस्नसक्ने उनले बताए । नेपालगञ्जका अगुवा व्यापारी कृष्णप्रसाद श्रेष्ठले अहिलेको प्रतिकूल अवस्थामा पनि उद्योगी व्यवसायीले सङ्घर्षका साथ उद्योग व्यवसाय सञ्चालन गरेको जनाउँदै सरकारले राहतको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । उनले निजी क्षेत्रको समस्या समाधान गरेर आर्थिक अवस्था सुदृढ गर्नेतर्फ अग्रसरता नदेखाए अवस्था भयावह हुने बताए । आर्थिक विकासका लागि उद्योग, कलकारखाना र व्यापार व्यवसाय फस्टाउने वातावरण बनाउनुको विकल्प नरहेको उल्लेख गर्दै उनले अवैध आयात र तस्करीलाई निरुत्साहित पार्न माग गरे । भारतसँग जोडिएको बाँकेमा छोटी भन्सार कार्यालय सञ्चालन नहुँदा ग्रामीण क्षेत्रबाट दैनिकरुपमा हुने तस्करीले नेपालगञ्जको व्यापार व्यवसायलाई समस्यामा पारेको उनको भनाइ छ । बाँकेको भारतसँग जोडिएको ६५ किमीको खुला सीमानाकामा हाल एउटा मात्र भन्सार कार्यालय छ । ग्रामीण नाकामा रहेका सात छोटी भन्सार कार्यालय करिब दुई दशकअघि बन्द गरिएकामा हालसम्म पुनःस्थापना हुन सकेका छैनन् । छोटी भन्सार कार्यालय नहुँदा ग्रामीण नाकाबाट ठूलो परिमाणमा विभिन्न सामग्री राजस्व छलेर खुलारूपमा भारतबाट भित्रिने गरेकाले राजस्वको लक्ष्य पूरा गर्न समस्या भइरहेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताए । उनका अनुसार केही वर्षयता छोटी भन्सार बन्द गरिएका नाकाबाट खुलारूपमा चोरी पैठारी बढेका कारण राजस्व सङ्कलन घटेको छ । रासस

आइएमई पेमा बैंक खाता लिंक गर्दा १०० रुपैयाँ पाइने 

काठमाडौ । आइएमई पेले पे विथ लिंक बैंक सुविधा थप गरेको छ । यो सुविधा अन्तर्गत अबदेखि हरेक बैंक प्रयोगकर्ताहरूले आफ्नो खाता लिंक गरि आइएमई पे मार्फत सजिलै विभिन्न भुक्तानी सेवाहरू प्राप्त गर्न सकिनेछ । यो सेवा प्रयोग गर्ने सेवाग्राहीहरूले बैंक खाता लिंक गरे वापत १०० रुपैयाँ र बैंक खाता लिंक गरिसकेपछि प्रत्येक भुक्तानीमा क्यासब्यकका अतिरिक्त विभिन्न अवार्डहरू पनि प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । टपअपको भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, क्यूआर भुक्तानी एवम् क्यूएफएक्सको मुभी टिकटमा क्यासब्याकका साथै एयरलाइन्सको टिकट खरिदमा २ सय ५० देखि ७ सय रुपैयाँसम्मको क्यासब्याक बैंक लिंक गरि कारोबार गर्दा प्राप्त हुने कम्पनीले जनाएको छ । थपिएको यस सेवाले बैंक प्रयोगकर्ताहरूलाई लिंक बैंकबाट नै सजिलोसँग भुक्तान गर्न मिल्ने विशेषता प्रदान गर्दछ भने ठूलो रकमको भुक्तानीमा पनि सिधैं पे विथ लिंक बैंक छनोट गरि भुक्तान गर्न सकिनेछ ।