ज्योति विकास बैंकको लाभांश पारित
काठमाडाैं । ज्योति विकास बैंकको लाभांश पारित भएकाे छ । बैंककाे १५ औं वार्षिक साधारण सभाले संचालक समितिद्वारा प्रस्तावित ६.८ प्रतिशत लाभांश पारित भएकाे हाे । बैंकले ३ प्रतिशत बोनश सेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार पुगेको छ। सभाले बैंकको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको छ । सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभाले बैंकको आ.व. २०७९/८० को लेखापरिक्षण गर्न लेखा परीक्षक नियुक्ति गर्नुको साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटलको आ.व. २०७८/७९ को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
गुल्मीमा शिक्षकले पाएनन् पारिश्रमिक
गुल्मी। गुल्मीको कालीगण्डकी गाउँपालिकाका ३१ शिक्षकले कात्तिक महिनादेखि तलब पाउन सकेका छैनन् । आन्तरिक स्रोतमार्फत गाउँपालिकाले तलब उपलब्ध गराउनेगरी राखेका ३१ शिक्षकले कात्तिक महिनादेखिको तलब नपाएको गुनासो गरेका छन् । गाउँपालिकाले आफै दरबन्दी सिर्जना गरी राखेका ती शिक्षकलाई बजेट अभावका कारण तलब खुवाउन नसकिएको त्यहाँका शिक्षा शाखाका प्रमुख अग्निधर पराजुलीले जानकारी दिए । कात्तिकदेखि पुस महिनासम्मको तीन महिनाको तलब उपलब्ध गराउन ३९ लाख आवश्यक पर्ने तर बजेट अभावका कारण शिक्षकलाई तलब दिन नसकिएको उनको भनाइ थियो । तलव नपाउनेमा बालशिक्षा कक्षादेखि माध्यमिक तहसम्मका शिक्षक रहेको प्रमुख पराजुलीले बताए । पालिकाको आन्तरिक स्रोत र कालीगण्डकी जलविद्युत् परियोजानको आर्थिक सहयोगमार्फत ती शिक्षकलाई तलब उपलब्ध गराउने गरी बजेट बजेटको व्यवस्था गरिएकामा परियोजनाबाट सहयोग उपलब्ध नभएका कारण तलब खुवाउन नसकिएको हो । कात्तिकदेखि तलब नआउँदा आफूहरुलाई दैनिक खर्च चलाउनसमेत समस्या हुँदै गएको सम्बद्ध शिक्षकको गुनासो थियो । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले आर्थिक सहयोग प्राप्त नभएकाले समस्या थपिएको बताए । परियोजानबाट सहयोग नपाए शिक्षकहरुलाई स–सम्मान बिदाइ गर्ने बाहेक पालिकासँग अन्य विकल्प नभएको र आफूहरुसँग स्रोत व्यवस्थापन गर्ने आधार नभएकाले उक्त सहयोग नपाए ती शिक्षकलाई भुक्तानी दिनुपर्ने रकमको अभिलेख राखि स–सम्मान बिदाइ गरिने उनले उल्लेख गरे । रासस
स्थानीय परिकार र दृश्यावलोकनका लागि ‘बनौँ लेक’
गलकोट । एक वर्षअघिसम्म गुमनाम रहेको बनौँ लेक अहिले चर्चामा छ । बनौँलाई आलु उत्पादनका हिसाबले मात्रै चिनेकाहरु अहिले पर्यटकीयस्थलका रुपमा चिन्न थालेका छन् । पर्यटकीय क्षेत्रको विकासका लागि अत्यावश्यक रहेको सडक पूर्वाधारको सहजताका कारण पछिल्लो एक वर्षमा सयौँ आन्तरिक पर्यटक बनौँ लेक पुगिसकेका छन् । अहिले बनौँँमा शुक्रबार र शनिबार आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको पाइन्छ । बनौँमा आन्तरिक पर्यटक बढ्न थालेपछि पर्यटकलाई लक्षित घरी घरबास तथा विभिन्न होटलसमेत सञ्चालनमा आएका छन् । चिसो हावापानीसहित चिटिक्क परेको गाउँमा अहिले दृश्यावलोकन, जैविक परिकारको स्वाद तथा सूर्योदय हेर्नका लागि आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका छन् । समुद्री सतहदेखि दुई हजार पाँच सय मिटरको उचाइमा रहेको बनौँमा एक वर्षअघि मात्रै कालोपत्र सडक पुगेपछि बागलुङ, पर्वत, म्याग्दी र काठमाडौँलगायतका क्षेत्रबाट आन्तरिक पर्यटक यहाँ आउन थालेका हुन् । बनौँमा आन्तरिक पर्यटक बढ्न थालेपछि भारतीय सेनाबाट अवकाश प्राप्त डम्मरबहादुर फगामीले ‘काकई सामइ घारबास’ समेत सञ्चालनमा ल्याएका छन् । बनौँमा सडकको सहजतासँगै बढ्दै गएका आन्तरिक पर्यटकलाई लक्षित गरी आफूले नौ महिनादेखि घरबास सञ्चालनमा ल्याएको बताए । ‘पर्यटकलाई आउन सडक नै चाहिँदो रहेछ, जब एक वर्षअघि सडक कालोपत्र भयो, त्यसपछि यहाँ आउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भयो, सामाजिक सञ्जालको प्रभावका कारणसमेत यहाँ आउनेको सङ्ख्या बढी छ, राजमार्गसँग जोडिएका बागलुङ, पर्वत र म्याग्दीको सदरमुकामबाटै एक/डेढ घण्टाको यात्रामा बनौँ आउन सकिन्छ’, फगामीले भने, ‘५० लाख रुपैयाँको लगानीमा घरबास सञ्चालनमा ल्याएको हुँ, अहिले एक रातमा २० जनासम्म पाहुँना राख्ने क्षमता घरबासको छ ।’ चौबिस वर्ष भारतीय सेनामा कार्यरत भई नायब सुबेदारबाट छ वर्षअघि अवकाश प्राप्त गरी गाउँ आएका फगामीले आफूलाई सहरको मोह नभएका कारण गाउँमै घरबास सञ्चालनमा ल्याएको बताए । फगामीका अनुसार शुक्रबार र शनिबार आफ्नो घरबासमा पर्यटकको चाप हुने र अघिपछिको समयमा थोरै मात्र पाहुना आउने गर्दछन् । फगामीको काकई सामइ घरबास जैविक परिकारका पारखीका लागि निकै राम्रो गन्तव्य बनेको छ । उनको घरबासमा लोकल कुखुरा, सिस्नो, कोदोको ढिँडो, गुन्दु्रक, मकै, भट्ट, आलु, जौको ढिडो र खसीको मासुलगायतका परिकारको स्वाद लिन पाइन्छ । यहाँ आउने पर्यटक सहर बजारको कोलाहल छल्न, हल्जुरेडाँडाबाट दृश्यावलोकन गर्न र देवीथान मन्दिर दर्शनका लागि आउने गरेको पाइन्छ । जलजला गाउँपालिका–९ स्थित बनौँ लेकमा सबैभन्दा बढी पर्यटक बागलुङबाट आउने गरेको उनको भनाइ छ । बनौँ गाउँमा पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पछिल्लो समय घरबासका साथै अन्य होटलसमेत सञ्चालनमा आउन थालेका छन् । चिसो हावापानीमा जैविक स्वाद लिँदै घरबासमा रमाउन बागलुङ बजारबाट बनौँ आएका आन्तरिक पर्यटक नारायण रिजालले बताए । ‘सामाजिक सञ्जालमा अहिले बनौँ जाने लहडै चलेको देखे, बनौँका विषयमा धेरै चर्चा सुनेकाले छ जना साथीसहित बनौँ आएका हौँ’, उनले भने, ‘बेलुका घरबासमा जैविक परिकारको स्वाद लियौँ भने बिहानै देविथान रहेको डाँडामा पुगेर दृश्यावलोकनसँगै तीन जिल्लाको सदरमुकाम देख्यौ, निकै आनन्द आयो, अहिले गर्मी पलाईसकेको अवस्थामा यहाँ निकै चिसो हावापानी रहेछ ।’ बनौँँ लेक पुगका पर्यटकले देवीथानको डाँडामा बनाइएको वनभोजस्थलमा टेन्ट हालेरसमेत बस्ने गरेका स्थानीय अमबहादुर गर्बुजाले बताए । बनौँ लेकबाट धवलागिरिका तीन जिल्ला सदरमुकाम बागलुङ, बेनी र कुस्मा बजार एकैसाथ देख्न सकिन्छ । हल्जुरेडाँडाबाट देखिने सूर्योदयले दार्जलिङको झल्को दिने गरेको त्यहाँ पुग्ने पर्यटकले बताएका छन् । मध्यपहाडी पुष्पलाल लोकमार्ग बागलुङ–पर्वत खण्डको अर्मादीबाट एक घन्टामै पुग्न सक्ने स्थानमा रहेको बनौँ पुग्ने सडक कालोपत्र भएपछि चर्चामा आएको पर्यटकीय गन्तव्य हो । कला, संस्कृतिको धनी रहेको बनौँ गाउँमा मगर समुदायको बाहुल्यता छ । उनीहरुको मारुनी नाच र मगर बाजा यहाँको पहिचानसमेत हो । उच्च पहाडी भेगमा पर्ने बनौँ लेकमा उत्पादित आलु र निकै स्वादिष्ट हुने गरेको छ । बनौँ लेकबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरिलगायतका दर्जनौँ हिमशृङ्खलासमेत देख्न सकिन्छ । रासस
सहकारी संस्थाहरुमा समस्या आउनुमा सरकारको कमजोरी
काठमाडौं । पछिल्लो समय सहकारी संस्थाहरुमा समस्या आउनुमा सरकारको कमजोरी रहेको सरोकारवालाहरुले बताएका छन् । आइतबार आर्थिक मिडिया सञ्चालक संघले काठमाडौंमा आयोजना गरेको सहकारीमा संकट कारण र समाधान विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै अधिकांश सहकारी अभियानकर्मीहरुले सरकारको कमीकजोरीको कारण सहस्या आएको दाबी गरेका हुन् । उनीहरुले सहकारीलाई नियमन गर्ने निकायहरुले जथाभावी रुपमा सहकारी दर्ता गर्नाले समस्या बढ्दै गएको बताए । उनीहरुले सरकारले सहकारी संस्था दर्ता गर्ने र नियमन नगर्ने हुँदा समस्या आएको उल्लेख गरेका छन् । उनीहरुले सरकारले नियमनकारी निकायलाई मजबुत बनाएर कडाइका साथ नियमन गरे तत्कालको समस्या समाधान हुने बताए । कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सरकारले सहकारी संस्था दर्ता गर्ने र नियमन नगर्ने गर्दा समस्या आएको दाबी गरे । उनले सरकारले सहकारी दर्ता गरी कडाइका साथ नियमन गर्नसक्दा नै ओरियन्टल, सिभिल सहकारीको जन्म भएको बताए । उनले पछिल्लो समय समस्याग्रस्त देखिएका सहकारीलाई कडाइका साथ नियमन गरी समस्याको समाधान गर्न आवश्यक रहेको जानकारी दिए। अध्यक्ष कँडेलले सरकारलाई सहकारी कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधीकण गठन गर्न आग्रह गरे । उनले गैर कानूनी ढंगले आर्जन गरेको सम्पती सहकारीमा नआओस् भन्नेमा सहकारी अभियान सचेत रहेको उल्लेख गरे । कार्यक्रमा सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले ९० प्रतिशत सहकारीका सञ्चालक कम्पनीमा आवद्ध रहेकाले समस्या आएको बताए । उनले कम्पनीका सञ्चालक सहकारीका अध्यक्ष हुने र संस्थाको रकम बिना धितो कम्पनीमा लगानी गर्दा थप समस्या आएको बताए । उनले सहकारीको पैसा कम्पनीमा जान नहुने र कम्पनीमा भएको पैसा सहकारीमा जान नहुने ऐन भएपनि कार्यान्वयनमा नआएको बताए । उनले सहकारीमा भएका समस्या समाधान गर्न ऐन कानूनमा रहेका समस्याको सरकारले सम्बोधन गर्न आवश्यक रहेको जानकारी दिए। सहकारीको ब्याजदर स्वतन्त्र रुपमा चल्न दिनुपर्ने उनको भनाइ छ । अध्यक्ष उप्रेतीले सरकारले पहिला सहकारीलाई बचाउन आवश्यक रहेको भन्दै बचाएर मात्रै सुशासनमा ल्याउनुपर्ने बताए । उनले सहकारी ऐन संशोधन गर्दा २५ लाखको सीमा नहटे त्यसको विकल्पमा जाने बताए । उनले सरकारले सहकारीको तरलता कोषमा सरकारले १० अर्ब रुपैयाँ दिए बाँकी सहकारी जिम्मा लिन तयार रहेको बताए । त्यस्तै, नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीले राष्ट्र बैंकले सहकारी संस्थाहरुलाई नियमन गर्नसक्ने बताए । उनीले राष्ट्र बैंकले कारबाही गर्ने अधिकार पाउने हो भने नियमन गर्न सकिने बताए । शिवाकोटीले सहकारीको नियमन गर्ने भनेर अनुसन्धान, अध्ययन र प्रतिवेदन बुझाउनका लागि मात्र केन्द्रिय बैंकले नियमनको जिम्मेवारी नलिने बताए । उनले सहरकारी ऐन नै संशोधन गरेर कारबाही गर्ने जिम्मेवारी दिए राष्ट्र बैंकले नियमन गर्नसक्ने बताए । उनीले राष्ट्र बैंककले नसके अर्को संस्था खोलेर भएपनि अनुगमन गराउन सक्ने बताए । उनले राष्ट्र बैंकले सहकारी नियमन महाशाखा खोलेर एक जना कार्यकारी निर्देशक, ४ जना निर्देशक, क्षमतावान कर्मचारी राखेर नियमन गर्नसक्ने दाबी गरे । उनीले सहकारीमा समस्या आएपछि मात्र राष्ट्र बैंक गुहार्ने प्रचलन बढेको बताए । सहकारी संस्थाहरु कसरी चाँडो पैसा कमाउने, घरजग्गामा लगानी गर्नेतर्फ लाग्दा अहिले समस्या देखिएको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाहरु जस्तै सहकारीहरु पनि मर्जरमा गएर पुँजी वृद्धि गरी प्रविधिको प्रयोग बढाउन आवश्यक रहेको उनको भनाइ छ ।
सामान्य अंकले बढ्यो नेप्से, साढे २ अर्बको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज तीव्र उतारचढावकाबीच सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज चार दशमलव ५५ अङ्कले बढेर दुई हजार २७ विन्दुमा कायम भएको छ । एक हजार नौ सय ६३ को न्यूनतम विन्दुसम्म झरेको परिसूचक सम्हालिएर बजार बन्द हुने बेला केही अङ्कले बढेको हो । नेप्सेका अनुसार आज दुई सय ६२ वटा कम्पनीको ६५ लाख १५ हजार आठ सय ५२ कित्ता शेयर ५० हजार पाँच सय ३२ पटक खरिदबिक्री हुँदा दुई अर्ब ५२ करोड ५० लाख ७१ हजार आठ सय बराबरको कारोबार भएको छ । आज बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड र व्यापार समूहको उपसूचक घटेको छ भने अरु समूहको उपसूचक बढेको छ । बैंकिङ समूह ११ दशमलव ९१, जीवन बीमा समूह १३ दशमलव ९६, उत्पादन समूह १४ दशमलव ८५, म्युचुअल फन्ड शून्य दशमलव ०१ र व्यापार समूह ३० दशमलव ५० अङ्कले घटेको छ । आज लघुवित्त समूहको उपसूचक सबैभन्दा धेरै एक सय आठ दशमलव ४५ अङ्कले बढेको छ । त्यस्तै विकास बैंक समूह ३० दशमलव २०, वित्त समूह २३ दशमलव ९०, होटल तथा पर्यटन समूह ७२ दशमलव २१ र जलविद्युत् समूह १८ दशमलव ८८ अङ्कले बढेको छ । त्यस्तै, लगानी समूह शून्य दशमलव ३९, निर्जीवन बीमा समूह २७ दशमलव ५९ र अन्य समूहको उपसूचक आठ दशमलव ३४ अङ्कले बढेको छ । आज विजया लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता सात दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । सबैभन्दा धेरै सिटिजन्स म्युचुअल फन्ड–१ का लगानीकर्ताले प्रतिकित्ता सात दशमलव ८५ प्रतिशतका दरले गुमाएका छन् । आज हिमालय डिस्टिलरी लिमिटेडको सबैभन्दा धेरै १० करोड ५८ लाख ७० हजार बराबरको कारोबार भएको छ ।
रिद्धि सिद्धि सिमेन्टद्वारा मनहरी बहुमुखी क्याम्पसलाई शैक्षिक सामाग्री हस्तान्तरण
मकवानपुर । रिद्धि सिद्धि सिमेन्टले मनहरी बहुमुखी क्याम्पसलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । नेपालमा पहिलो पटक अत्याधुनिक रोवोटिक प्रणाली प्रयोग गर्ने सिमेन्ट उत्पादक कम्पनी, रिद्धि सिद्धि सिमेन्टले मकवानपुर, मनहरी – ८, सिम्पानीमा अवस्थित मनहरी बहुमुखी क्याम्पसलाई ल्यापटप, कम्प्यूटर, प्रिन्ट, प्रोजेक्टर, सहित शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार आयोजित सो कार्यक्रममा रिद्धि सिद्धि सिमेन्टका प्रमुख कार्यकारी अधिकृत गुण बहादुर खनालले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘हाम्रो सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लाकै विकट क्षेत्र (राक्सिराङ्ग कैलास, मनहरी) लगायतका क्षेत्रका आर्थिक रुपमा विपन्न विधार्थीहरुले लाभाम्वित हुने गरि हामीले यो शैक्षिक सामाग्रीहरु वितरण गरेका हौं ।’ उक्त कार्यक्रममा क्याम्पसका अध्यक्ष तथा पूर्वसांसद ओम बहादुर घलानले कम्पनीको सहयोग प्रति हार्दिक मन्तव्य तथा आभार व्यक्त गर्दै उद्योग सञ्चालन र विकाशका लागि सो भेगका जनताले सहयोग गर्ने विश्वास पनि व्यक्त गरे । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। आगामी दिनमा पनि कम्पनीले यस्तै सामाजिक कार्यक्रम गर्दै जाने जनाएको छ ।
ओलम्पिक छनोटको खेल नेपालमा हुने
काठमाडौं । फ्रान्न्सको पेरिसमा सन् २०२४ मा आयोजना हुने ओलम्पिक महिला फुटबलको एसिया छनोटअन्तर्गत समूह ‘सी’ को पहिलो चरणको खेल नेपालमा हुने भएको छ । एसिया छनोटको पहिलो चरणअन्तर्गत समूह ‘सी’ को छनोट खेल नेपालमा आयोजना हुने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । समूह ‘सी’ मा प्यालेस्टाइनले नाम फिर्ता लिएपछि अब तीन राष्ट्र नेपाल, अफगानिस्तान र भियतनाम सहभागी हुनेछन् । छनोटको पहिलो चरणका खेलहरु आगामी चैत २० देखि चैत २८ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुनेछन् । ओलम्पिक महिला फुटबल छनोटको पहिलो चरणमा विभिन्न २६ टोली छन् । ती टोलीलाई सात समूहमा विभाजन गरिएको छ । नेपालले ओलम्पिक तयारीस्वरुप भारतसित दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।
रित्तिँदै गाउँ, भरिँदै बजार
तनहुँ । ‘यो गाउँमा कुनै कार्जे पर्दा १२ पाथी चामलको भात पकाउनै पथ्र्यो । त्यसरी नपकाए पुग्थेन’, व्यास नगरपालिका–८ कोटथोकका ६८ वर्षीय रामसिं गुरुङले विगत सम्झँदै भने, ‘तर अहिले ती सबै एकादेशको कथा जस्ता भए । सत्तरी घर रहेको गाउँ अहिले सातमा झर्यो । हेर्दा हेर्दै गाउँ रित्तियो ।’ भारतीय सेनाका पूर्व सैनिकको बाहुल्यता रहेको उक्त गाउँमा त्यस समयका ठूला र आकर्षक घर अहिले पहिरो र झाडीले पुरिँदा कहिलेकाहीँ मन भक्कानिने गुरुङले बताए । उनका दुई छोरा चितवनको शारदानगरमा घरजम गरेर बसेका छन् । पुख्र्यौंली जग्गा, जमिनको मायाले गर्दा ६३ वर्षीया श्रीमती मनसरासहित उनी भने गाउँमै बसेका छन् । यस ठाउँमा उब्जाउ पनि राम्रो हुने भए पनि अधिकांश जमिन बाँझो छ । काम गर्ने कोही नहुँदा गाउँमा रहेको करिब दुई सय रोपनी जग्गा त्यसै बाँझिएको उनले बताए । ‘गाउँका बुढापाका सबै आफ्ना सन्तान सँगै बसाइँ सरेर गए’, गुरुङले भने, ‘तर हामी केही घरका मानिस गाउँ छाड्न सकेका छैनौँ । हातखुट्टा चल्न छाडेपछि छोरा भएको ठाउँमा जाउँला भनेर यही बसेका हौँ ।’ गुरुङका अनुसार गाउँको रौनक विगतमा उत्पात थियो । गाउँमा पिउने पानीको समस्या रहे पनि गाउँको बीचमा स्थापना गरिएको आकाशे पानी सङ्कलन ट्याङ्कीबाट समान तवरले खानेपानी वितरण गरिन्थ्यो । यहाँका युवा रोजगारीको क्रममा खाडी र युरोप गएर कमाएपछि छोराछोरीलाई राम्रो शिक्षा दिन भन्दै बसाइँ सरेर चितवन, पोखरा र काठमाडौँ गएकाले गाउँ नै सुनसान बनेको स्थानीय ५३ वर्षीया मनक्योरी गुरुङको भनाइ छ । ‘गाउँका छोराहरु कमाउने भएपछि छोराछोरीलाई राम्रो पढाउने भन्दै बुहारीहरु पनि सहरतिर जाने गरेका छन्’, गुरुङले भनिन्, ‘हामी नपढेका बूढाबूढीलाई यही गाउँ प्यारो भयो ।’ तनहुँका अधिकांश गाउँको दृश्य कोटथोकको जस्तै छ । व्यास–९ मा पर्ने दलभञ्ज्याङ गाउँमा कुनै समय ६०÷६५ घरको ठूलो बस्ती थियो । नेवारहरुको बाहुल्यता रहेको यस गाउँमा अहिले कोही बस्दैनन् । प्रायःगाउँमै व्यापार गरेर बस्ने यहाँका मानिस जिल्लाका बजार डुम्रे, सतिस्वाँरा, दमौली, गजौडेलगायत पोखरा र काठमाडौँमा बसाइँ सरेर गएपछि गाउँ रित्तो छ । व्यास–९ कै मेवाबारीबाट समेत मानिस बसाइँ सरेर अन्यत्र गएपछि गाउँमा बस्ने कोही छैनन् । गाउँका युवाहरु वैदेशिक रोजगारीको क्रममा खाडी र युरोप जान थालेपछि तिनका परिवार पनि छोराछोरीलाई पढाउन भन्दै सहर बस्न थाले । व्यास–७ छापथोकमा रहेका १७ घर दलित एकैपटक बसाइँ सरेर बेँसी झर्दा गाउँ शून्य छ । यो गाउँ नजिकै ठूलो पहिरो गएपछि गाउँ समेत पहिरोमा पर्ने भयले आफूहरुले गाउँ छाड्नु परेको ५६ वर्षीय बिलबहादुर नेपालीले बताए । गाउँमा रहेका १७ घर परिवारको करिब ५० रोपनी पाखो जमिन भने त्यसै बाँझिएर गएको उनले बताए । ‘पानी पर्दा पहिरोले गाउँ नै बगाउँछ कि भन्ने भयमा बस्नु पर्ने अवस्था थियो’, नेपालीले भने, ‘अहिले बेंसी झरेपछि पहिरोमै परेर ज्यान जाला भन्ने चिन्ता भने छैन । जसोतसो दैनिक गुजारा चलेकै छ ।’ आफ्ना दुई छोरा वैदेशिक रोजगारीको क्रममा खाडी मुलुकमा गएपछि नातिनातिनीलाई राम्रो शिक्षा दिन आफूहरुले गाउँ छाडेको उनले बताए । खाडी या अन्य मुलुकमा गएर राम्रो आर्थिकोपार्जन गर्ने ग्रामीण क्षेत्रका युवाको पहिलो रोजाइ पोखरा, चितवन र काठमाडौँलगायतका ठूला सहरमा घडेरी किन्ने र घर बनाउने होडबाजी नै हुने गरेको दमौली बजार एकाइ समितिका अध्यक्ष भूपाल आलेले बताए । शिक्षा, स्वास्थ्य र यातायातको सहज पहुँच पुग्ने भएकाले पनि गाउँ छाडेर सहर बजारतिर बसाइँ सर्नेको संख्या बढ्दै गएको उनले जानकारी दिए । ‘श्रीमान् विदेश जानेबित्तिकै काखका सन्तान च्यापेर श्रीमती बजारमा झर्नेक्रम बढ्दो छ’, आलेले भने, ‘त्यसले गर्दा गाउँ रित्तिँदै गएको छ ।’ सन्तानलाई गुणस्तरीय शिक्षा दिने हुटहुटीले गर्दा आफूले दमौलीको एक कोठा भाडामा लिई श्रीमती र छोरालाई राखेर रोजगारीको लागि कतार हानिएको व्यास–६ स्याम्घाका ३३ वर्षीय रमेश श्रेष्ठले बताए । ‘गाउँघरमा हामीले भने जस्तो अङ्ग्रेजी शिक्षा पाएनौं’, श्रेष्ठले भने, ‘हाम्रो सन्तानले हाम्रो जस्तो अवस्था नहोस् भनेर गाउँ छाड्न बाध्य भइयो ।’ गाउँमा १२-१५ रोपनी पाखोबारी भएपनि श्रेष्ठले दमौली बजार नजिकै व्यास–५ चापाघाटमा चार वर्ष पहिले करिब १७ लाख रुपैयाँ खर्चिएर चार आना जग्गा समेत किनेको बताए । भूगोल र आफन्तको प्रभावको आधारमा अधिकांशले गाउँबाट बजारतिर बसाइँसराइ गरेको पाइएको छ । पृथ्वी राजमार्ग क्षेत्रका बस्तीहरु भिमाद, दुलेगौँडा, खैरेनी, थर्पु, दमौली, डुम्रे, भानु, आँबुखैरेनीलगायतका बजारमा बसाई गरेर आउनेहरुको दर बढ्दो छ । ठिक्कको कमाइ गर्नेहरुको रोजाइ भने गाउँबाट यातायात, शिक्षा र स्वास्थ्यको पहुँच भएको बेंसी क्षेत्रका बस्तीमा परेको छ । प्रभावकारी भएन बाँझो जमिन सदुपयोग नीति बसाइँसराइ गरेर जानेलाई निरुत्साहित गर्न तनहुँका व्यास, शुक्लागण्डकी, भानु र भिमाद नगरपालिका तथा आँबुखैरेनी, देवघाट, बन्दिपुर, ऋषिङ, म्याग्दे र घिरिङ गरी छ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लाका सबै पालिकाले बाँझो जमिनलाई सदुपयोग गर्ने नीति ल्याए पनि त्यसको प्रभावकारी कार्यान्वयन र नियमन हुन सकेको छैन । बाँझो जमिन नराख्न प्रोत्साहन गर्ने स्थानीय तहहरुले ल्याएको नीति तथा कार्यक्रम नारामा मात्र सीमित छ । व्यास नगरपालिकाको कार्यालयले बाझो जग्गा सदुपयोग गर्नेलाई कर छुटको नीति ल्याए पनि त्यो पर्याप्त छैन । आलुको बिरुवा, प्याजको बिरुवा खरिदमा व्यक्ति, समूह वा सहकारीलाई व्यास नगरपालिकाको कार्यालयले ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरे पनि त्यसलाई पकेट क्षेत्र खेती विकास कार्यक्रमकारुपमा विकास गर्न नसक्दा अनुदानको कार्यक्रमले व्यावसायिक कृषक बढाउन सकेको छैन । गाउँमा उब्जनी गरिएको तरकारी खेतीको लागत मूल्य बढी पर्ने भएकाले आफूले घाटाको खेती नगरेको व्यास ११ तनहुँसुरका अगुवा सुन्तला कृषक केबी थापाले बताए । दैनिक पानी लगाउन नसकिने र दमौली बजार पनि करिब १५ किलोमिटर टाडा पर्ने भएकाले आफूले तरकारी खेती नगरेर सुन्तला र एभोकाडो खेती गरेको उनले बताए । ‘गाउँमा खाने पानीको लागि त विद्युतको भर पर्नुपर्छ’, थापाले भने, ‘त्यसैले तरकारी खेती नगरेर सुन्तला र एभोकाडो खेती गरेको हुँ ।’ गाउँमा तरकारी खेती गर्ने व्यावसायिक कृषकलाई राज्यले अनुगमन र निरीक्षण गरी उचित अनुदानको व्यवस्था गरे गाउँघरमा बाँझो जमिन सदुपयोग हुन सक्ने आफूलाई लागेको थापाको भनाइ छ । पानी नलाग्ने क्षेत्रहरुमा अदुवा, हलेदोलगायतको खेतीलाई राज्यले प्रोत्साहन गरी बजारीकरणको व्यवस्थासमेत राज्यले गर्न सके गाउँमा बाँझो जमिन सदुपयोग हुने कृषक थापाले बताए । ऋषिङ गाउँपालिका कार्यालयको नारा नै ‘ऋषिङ समृद्धिको आधार कृषि, संस्कृति, पर्यटन र पूर्वाधार’ रहेको छ । कृषि नै गाउँपालिकाको मुख्य आधार बुझेको यस गाउँपालिकाको कार्यालयले कोदो र मकैलाई गाउँपालिकाको पहिचान बनाउने नीति लिएको छ । तर उक्त नीतिलाई प्रभावकारी बनाउन गाउँपालिकाले पनि व्यावसायिक खेती गर्नेतर्फ कृषकलाई आकर्षित गर्न सकेको छैन । अन्य स्थानीय तहले समेत कृषिलाई प्राथमिकतामा राख्ने बताउँदै आए पनि दिगो प्रभाव पार्ने कार्यक्रम ल्याउन सकेको देखिदैन । बिउबिजन र जोत्नको लागि हाते ट्याक्टरमा अनुदानको अलावा म्याग्दे र व्यास नगरपालिका–१ को कार्यालयले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहनस्वरुप नगद रु १० हजार दिने नीति राखेको छ । यस्ता साना कार्यक्रमबाहेक ग्रामीण क्षेत्रमा व्यावसायिक कृषकको पहिचान गरी प्रभावकारी अनुदानको व्यवस्था गर्ने नीति कुनै पनि तहले प्रभावकारीरुपमा कार्यान्वयन गर्न सकेका छैनन् । बसाइँसराइले हराउँदै घैया धान बसाइँसराइको प्रत्यक्ष असर पाखोमा लगाइने घैया धान खेतीमा समेत परेको छ । चार÷पाँच वर्षअघि व्यास नगरपालिकाको साँगे, भानुको फुर्सेटार, म्याग्देको दिर्बुलगायत सबैजसो पालिकामा रहेका पाखो टारहरुमा लगाइने घैया धान अहिले हराउँदै जानु चिन्ताको विषय रहेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । घैया घान खेती गर्नेको संख्या ह्वात्तै घट्नुमा बसाइँसराइ नै प्रमुख कारण रहेको केन्द्रका प्रमुख कुलप्रसाद तिवारीको ठम्याइ छ । ‘केही वर्ष पहिले तनहुँ घैया धान खेतीमा समेत चर्चित थियो’, केन्द्रका प्रमुख तिवारीले भने, ‘तर अहिले छिटफुट बाहेक कतै पनि घैया खेती गरेको देखिँदैन ।’ बसाइँसराइ र वैदेशिक रोजगारीमा गएकाहरुको परिवारले पनि किनेरै चामल खाने चलनले गर्दा घैया धानखेती लगाउन बन्द भएको उनको भनाइ छ । केही वर्ष पहिले जिल्लाभरि करिब तीन सय हेक्टर क्षेत्रफलमा घैया धान लगाइने र करिब आठ सय मेट्रिकटनको हाराहारी उत्पादन हुने गरेको केन्द्रले जनाएको छ । घैया धानसँगै जिल्लामा अहिले चैते धान लगाउनेको संख्या समेत ह्वात्तै घटेको छ । गत वर्ष एक हजार आठ सय पाँच हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकामा आठ हजार चार सय ८४ मेट्रिकटन उत्पादन भएको केन्द्रले जनाएको छ । विसं २०६० सालसम्म जिल्लामा नौ हजार हेक्टर क्षेत्रफलमा चैते धान गरिने तथ्याङ्क रहेको केन्द्रका प्रमुख तिवारीले बताए । ‘वैदेशिक रोजगारीको कारण बसाइँसराइले गर्दा गाउँको बाँझो जमिन रहने दर बर्सेनि बढ्दै गएको छ’, उनले भने, ‘बाँझो जमिनको सदुपयोग गर्नेलाई प्रोत्साहन र त्यसै छाड्नेलाई जरिवानाको व्यवस्था स्थानीय तहले गरे जमिन बाँझो हुने क्रममा कमी हुने थियो ।’ तनहुँमा खेती गर्न योग्य रहेर पनि बाँझो रहेको जमिन १३ हजार पाँच सय ५१ हेक्टर रहेको छ । कूल ६५ हजार ६१ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहे पनि हाल ५१ हजार पाँच सय १० हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको केन्द्रले जनाएको छ । विदेश पलायन हुनेको दर वर्षेनी बढ्दै जिल्ला प्रशासन कार्यालय तनहुँबाट विद्युतीय राहदानी बनाउन सिफारिस गर्नेको संख्या बर्सेनि बढ्दै गएको छ । राहदानी बनाउन सिफारिस गर्न आउनेमा विदेश अध्ययन गर्न जाने तयारीका विद्यार्थी, वैदेशिक रोजगारीमा जाने युवा र आफन्त भेट्न विदेश जाने अभिभावकहरु रहेको प्रशासन कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०७९/८० को श्रावणदेखि माघसम्मको सात महिनामा राहदानी सिफारिस गरिएको संख्या गत आव २०७८/७९ मा सिफारिस गरिएकोभन्दा एक हजार आठ सय ५७ ले बढी छ । पछिल्लो सात महिनामा जिल्ला प्रशासन कार्यालयद्वारा तीन हजार सात सय ४६ महिलासहित १० हजार सात सय २२ जनाले राहदानी बनाउन सिफारिस गरिएको छ । राहदानी बनाउन आउनेमध्ये विदेश अध्ययन गर्न जाने तयारीका विद्यार्थी करिब ४५ प्रतिशत सोही अनुपातमा वैदेशिक रोजगारीमा जाने युवा र बाँकी १० प्रतिशत विदेश आफन्त भेट्न जाने अभिभावक रहेको सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेले बताए । रासस