विकासन्युज

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने नेकपा एसको निर्णय

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ । काँग्रेस नेतृत्वको ८ दलीय गठबन्धनमा आवद्ध सो दलको बुधवार बसेको सचिवालय बैठकले राष्ट्रपति निर्वाचनमा काँग्रेस वरिष्ठ नेता पौडेललाई मतदान गर्ने औपचारिक निर्णय गरेको हो । ८ दलका साझा उम्मेदवार पौडेललाई राष्ट्रपति निर्वाचनमा मतदान गर्ने एकमात्रै निर्णय बैठकले गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएपनि सरकारमा जाने विषय भने प्रवेश गराइएन । सरकारमा जाने विषयमा पार्टी सकारात्मक भएपनि समय आइनसकेकाले त्यस विषयमा छलफल नभएको प्रवक्ता खतिवडाको भनाई थियो । ‘हाम्रो आठ दलका राष्ट्रपति पदका साझा उम्मेदवार रामचन्द्र पौडेलज्युलाई हाम्रो पार्टीले मतदान गर्ने निर्णय हामीले ग¥यौं, सरकारमा जाने विषयमा सकारात्मक छौं, त्यसमा जाने बेलामा हामी छलफल गर्छौं । त्यस विषयमा आज प्रवेश नै गरिएन, उनले भने ।’ राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । त्यसका लागि काँग्रेससहितका आठ दलको तर्फबाट रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् भने एमालेबाट पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनेका छन् ।

जलविद्युत आयोजना निर्माणको लागि व्यवसायीले मागे सुरक्षा

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संस्था नेपाल(ईप्पान) ले जलविद्युत आयोजना निर्माणको लागि सुरक्षाको माग गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संस्थाले यस्तो माग गरेको हो । उत्पादक संस्थाले फागुन १५ गते सिन्धुपाल्चोक जिल्लाको जुगल पालिकामा निर्माण हुन लागेको सीता हाइड्रोपावर जलविद्युत आयोजना निर्माण स्थलमा स्थानीय एक समूहले गरेको तोडफोड तथा आगजनी र कर्मचारीमाथिको सांघातिक आक्रमणको भत्र्सना गरेको छ । इप्पानले जलविद्युत आयोजनामा स्थानीयको समूहले नै उश्रृंखल,अराजक तथा अपराधिक घटना भएको बताएको छ । पत्रकार सम्मेलनमा इप्पानका उपाध्यक्ष आशिष गर्गले क्षती भएको ३५ मेगावटको सीता हाइड्रोपावरलाई उचित क्षतिपूर्ति र घाइते भएका आयोजनाका कर्मचारीहरुको सम्पूर्ण खर्च पीडक पक्षले व्यहोर्ने व्यवस्था गराउन सरकारसँग माग गरे । उनले पछिल्लो समय जलविद्युत आयोजनाहरुमा धेरै अप्रिय घटना भइरहेको भन्दै सरकारले उचित शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्ने बताए । ‘जलविद्युत जस्ता आयोजनामा स्थानीय अध्यक्ष सहितको संग्लनतामा यस्ता अपराधिक गतिविधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उर्जा क्षेत्रमा नकारात्मक सन्देश गएकाे छ,’ उनले भने । उनले यस्ता घटनाले सिन्धुपाल्चोक लगायत जलविद्युत उत्पादन क्षेत्रमा निजी क्षेत्र निरुत्साहित हुने भन्दै त्यसतर्फ सरकारको गम्भिररुपमा ध्यान जान आवश्यक रहेको बताए । उनले सरकारले परियोजनाहरुको कार्यस्थलमा हुने यस्ता घटनाहरुलाई निरुत्साहित गर्न तत्काल छुट्टै सुरक्षा संयन्त्र निर्माण गरी सुरक्षाको प्रत्याभुति गराउन सीता जलविद्युत आयोजनामा भएको घटनाको छानबिन गरी दोषी उपर कानून अनुसार कारबाही गर्न माग गरे । त्यस्तै सीता जलविद्युत आयोजनाका अध्यक्ष सीताराम तिमल्सिनाले आयोजनामा भएको क्षतिपूर्ति र घाइतेको सम्पूर्ण उपचार पीडक पक्षबाट भराउन सरकारसँग माग गरे । उनले फागुन १५ गते गुम्बाको मानेभञ्याङमा विद्युत प्राधिकरणको वितरण लाइनमा करेन्ट सर्ट भई स्थानी एक बालिकाको निधन भए पश्चात ६० जनाको एक समूहले योजनावद्ध रुपमा आयोजना स्थलमा तोडफोड,आगजनी र कर्मचारीमाथि आक्रमण गरेको बताए । ‘विद्युत प्राधिकरणको लाइनसँग आयोजनाको कुनै सम्बन्ध छैन, एक समूहको आक्रमणबाट आयोजनाको आवासीय भवन,विद्युत गृह,सुरुङ लगायतका क्षेत्रमा ठूलो क्षति र ७ जना इन्जिनियरहरु घाइते भएका छन्, आक्रमणबाट करिब १२ करोड बराबरको क्षेती भएको छ,’ उनले भने । उनले नेकपा एमालेका कार्यकर्ताहरुले केही समय अघि काम दिन माग गर्दै पत्र पठाएको बताए । ‘अब राज्यले सुरक्षा दिन नसक्ने भएर निजी क्षेत्रले कुनै पनि क्षेत्रमा लगानी गर्न नसक्ने अवस्था आएको छ,’ उनले भने ।  

स्ववियु निर्वाचन : यस्ता छन् विद्यार्थीका एजेण्डा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी सङ्गठन घोषणापत्रको अन्तिम तयारीमा लागेका छन् । १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यस पटक निर्धारित मितिमा नै हुने भएपछि विद्यार्थी सङ्गठनहरू घोषणापत्रसहित निर्वाचनको तयारीमा जुटेका छन् । विद्यार्थी सङ्गठनले आगामी स्ववियु निर्वाचनमा बेरोजगार शिक्षाको अन्त्य गरी रोजगारमूलक शिक्षा र त्रिवि सुधारलाई आफ्नो मुख्य मुख्य एजेण्डाका रूपमा अगाडि सारेका छन् । आगामी चैत ५ गते हुने निर्वाचनका लागि विद्यार्थी सङ्गठनले स्ववियुलाई युवा संसद्का रूपमा विकास गर्ने, शैक्षिक गुणस्तर सुधार, त्रिविको शैक्षिक क्यालेण्डर सुधार गर्ने, त्रिविका पदाधिकारी नियुक्ति खुला प्रतिस्पर्धा नियुक्ति, पाठ्यक्रम परिमार्जन लगायतका मुख्य एजेण्डा अघि सारेर निर्वाचनमा होमिँदै छन् । अनेरास्ववियुका अध्यक्ष समिक बडालले राजनीतिक परिवर्तन भइसकेकपछि मूलतः त्रिविको शैक्षिक गुणस्तर र त्रिविलाई सुधार्ने एजेण्डासहित स्ववियु निर्वाचनमा होमिने बताए । उनले स्ववियु मुलुकको नेतृत्व गर्ने थलो रहेकाले युवा संसद्का रूपमा स्ववियुलाई विकास गर्नुपर्ने बताए । ‘विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक हुन थालेको छ’, उनले भने, ‘यसपटक हामीले शैक्षिक एजेण्डासहित नेतृत्व विकास गर्ने थलोका रूपमा रहेको स्ववियुलाई युवा संसद्का रूपमा लैजान पर्दछ भन्ने रहेको छ ।’ नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को स्ववियु निर्वाचन घोषणापत्रका संयोजक पुजन गन्धर्वले घोषणापत्र तयारी गरिसकेको बताए । उनले आफ्नो सङ्गठनको मुख्य एजेण्डा शैक्षिक सुधार नै रहेको बताए । नेविसङ्घले शिक्षासँगै उद्यमशीलता र शैक्षिक प्रमाणपत्रसँगै रोजगार अभियान सञ्चालन गर्ने, शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षा क्षेत्रमा भएको निजी लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने एजेण्डा अघि सारेको छ । यस्तै सबै क्याम्पसमा स्ववियुलाई भ्रष्टाचाररहित बनाई सक्षम नेतृत्व उत्पादन गर्ने थलोका रूपमा विकास गर्ने र स्ववियु र क्याम्पसको बजेटको वार्षिक लेखापरीक्षण गरी आर्थिक पारदर्शिता गराउने एजेण्डा पनि बनाएको छ । यस्तै वैज्ञानिक, व्यावहारिक, प्राविधिक र अनुसन्धानात्मक शिक्षामा जोड, माध्यमिक शिक्षा सबै नेपालीका लागि अनिवार्य र निःशुल्क बनाउन र उच्च शिक्षा सबैको पहुँचमा, गुणस्तरीय र सर्वसुलभ बनाउँदै क्रमशः निःशुल्क बनाउने आफूहरूको एजेण्डा रहेको नेविसङ्घका पूर्वकेन्द्रीय सदस्यसमेत रहनुभएका गन्र्धवले जानकारी दिए । अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव दिपेश पुनले स्ववियु निर्वाचनका लागि घोषणापत्र तयार पारिएको जानकारी दिए । उनले आगामी स्ववियु निर्वाचनका लागि त्रिविलाई बेरोजगार जनशक्ति नभई स्वरोजगार जनशक्ति उत्पादन गर्ने मुख्य एजेण्डा रहेको बताए । उनले त्रिविका पदाधिकारी भागबन्डा नभई खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने, शैक्षिक क्यालेण्डर समयमैत्री हुनुपर्ने, उत्पादित जनशक्तिलाई निरन्तर अनुसन्धान, उद्यम, रोजगार बनाउन पहले गर्ने, त्रिविबाट उत्पादित जनशक्ति र बजारबीच सम्बन्ध स्थापित गर्ने एजेण्डा रहेको जानकारी दिए । यस्तै वार्षिकमा तीन महिना र सेमेष्टर प्रणालीमा एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्ने, भौतिक र डिजिटल पूर्वाधार सम्पन्न आधुनिक पाठ्यक्रम अध्ययन अध्यापन गर्ने विश्वविद्यालय निर्माण गर्ने, स्नातकमा १० प्रतिशत, स्नातकोत्तरमा २० प्रतिशत र एमफिलमा २५ प्रतिशत पाठ्यक्रम विदेशी आगन्तुक प्राध्यापकबाट अध्यापन गर्ने व्यवस्था मिलाउने पनि एजेण्डा क्रान्तिकारी रहेको छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले शिक्षाको निजीकरण अन्त्य, विश्वविद्यालय बेरोजगार उत्पादनका कारखाना रहेकोले बौद्धिक पलायन रोक्न लागि आपत्कालीन शैक्षिक सुधार कार्यक्रम, सेमेष्टर र वार्षिक दुई किसिमको शिक्षा अन्त्य गरी एकै खालको शिक्षा, आङ्गिक क्याम्पस सुधार गर्नुपर्ने एजेण्डा रहेको बताए । नेविसङ्घका त्रिवि क्याम्पस नेता विष्णु बडैलाले त्रिविमा देखिएका विकृति विसङ्गति सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले स्ववियु निर्वाचन नहुँदा त्रिवि नै अस्तव्यस्त रहेकाले आगामी स्ववियु निर्वाचनबाट त्रिविमा सुधार आउने बताए । उनले त्रिविमा रहेका परीक्षा नियन्त्रण कार्यालयलाई पूर्ण डिजिटल बनाउने, त्रिविलाई केन्द्रीय अनुसन्धानको केन्द्र बनाउने, छात्रालाई सेनिटेरी प्याडको सुलभ व्यवस्था गर्ने आफ्नो एजेण्डा रहेको बताए । उनले त्रिवि सेवा आयोग प्रत्येक छ/छ महिनामा विज्ञापन खोलेर योग्य दक्षजनशक्ति ल्याउन जरुरी रहेको बताए । त्रिवि केन्द्रीय क्याम्पसका नेता तथा अखिलका केन्द्रीय सदस्य प्रशान्त भण्डारीले रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादन, अनुसन्धानमूलक र सूचना प्रविधि शिक्षा आफ्नो एजेण्डा रहेको बताए । त्यस्तै उनले अन्तर्राष्ट्रिय शैक्षिक अध्ययन र सीप त्रिविमा र विद्वानको पलायन रोक्दै समुन्नत नेपाल निर्माण रहेको बताए । आगामी चैत ५ गते देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा हुने स्ववियु निर्वाचनका लागि कार्यतालिकासमेत सार्वजनिक भइसकेको छ । कार्यतालिकाअनुसार यही फागुन १९ गते विद्यार्थी सङ्घ/सङ्गठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ । यस्तै कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको तोकिएको छ । प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखियता नियमित हुनसकेको छैन् । विसं २०६५ साल चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो । रासस

तरकारीको विषादी जाँच्नेबारेको प्रस्ताव तयार गर्दैछौं : कृषि मन्त्रालय

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले तरकारीको विषादी जाँच्नेबारेको प्रस्ताव गरिरहेको जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले प्रधानमन्त्री ‘प्रचण्ड’को निर्देशनमा सो प्रस्ताव तयार गर्ने काम भइरहेको जनाएको हो । खाद्य ऐन, २०२३ को दफा ९ बमोजिमको स्तर निर्धारण समितिबाट २०७८ माघ १७ मा स्वीकृत मापदण्ड उपर विश्वव्यापार संगठनका सदस्य राष्ट्रहरुबाट राय सुझावको लागि सम्बन्धित मुलुकहरुमा पठाएकोमा कुनै पनि मुलुकबाट कमेन्ट नआएकाले उक्त मापदण्डलाई प्रकाशित गर्न भदौको पाँच गते मन्त्रिपरिषदको बैठकमा पेश गरेको मन्त्रालयले जनाएको छ । उक्त प्रस्तावलाई मन्त्रिपरिषदले आर्थिक तथा पूर्वाधार समितिमा छलफलका लागि पठाएकोमा विचाराधिन रहिरहेकोले नयाँ सरकार गठनसँगै सबै गत पुस ११ गतेको मन्त्रिपरिषदको बैठकले सबै प्रस्ताव फिर्ता गर्दा उक्त प्रस्ताव पनि फिर्ता भएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ । प्रधानमन्त्री प्रचण्डले ‘तत्काल नयाँ प्रस्ताव तयार पारी मन्त्रिपरिषदमा पेश गर्न निर्देशन भैसकेको’ मन्त्रालयले जनाएको छ । सो का आधारमा मन्त्रालयले काम गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । मन्त्रालयको विज्ञप्ति

बैंकहरु अझै तरलताको सकसमा, घट्न सकेन सीडी रेसियो

काठमाडौं । लामो समयदेखि बैंकहरु तरलताको समस्या भोगिरहेका छन् । बैंकमा निक्षेप बढ्न नसक्दा अझै पनि अधिकांश बैंकहरुलाई तरलताको समस नै परेको हो । बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) अझै पनि ९० प्रतिशतको हाराहारीमा छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २२ वटा बैंकमध्ये १० वटा  बैंकको सीडी रेसियो ८७ प्रतिशतमाथि छ । कुमारी, ग्लोबल आईएमई, नबिल, प्राइम कमर्शियल, लक्ष्मी, कृषि विकास, सिटिजन्स, सनराइज, एनएमबी र हिमालयन बैंक रहेका छन् । अन्य बैंकहरुको तुलनामा यी बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) बढी भएकाले यी बैंकलाई ऋण दिन अझै सकस पर्ने देखिन्छ । सबैभन्दा बढी एनसीसीसँग मर्ज भएको कुमारी बैंकको रहेको छ । पुस मसान्तसम्ममा कुमारीको सीडी रेसियो ९०.७ प्रतिशत रहेको छ । यससँगै अन्य बैंकको तुलनामा कुमारी बैंकलाई कर्जा प्रवाहमा सहज देखिँदैन । त्यस्तै, ग्लोबल आईएमईको ८९.४१ प्रतिशत, नबिलको ८९.३६ प्रतिशत, प्राइमको ८८.८८ प्रतिशत, लक्ष्मीको ८७.८७ प्रतिशत, कृषि विकासको ८७.५ प्रतिशत, सिटिजन्सको ८७.४७ प्रतिशत, सनराइजको ८७.२७ प्रतिशत, एनएमबीको ८७.२४ प्रतिशत र हिमालयनको ८७.११ प्रतिशत सीडी रेसियो रहेको छ । त्यस्तै, ८७ प्रतिशतभन्दा कम सीडी रेसियो हुनेमा बाँकी १२ बैंक रहेका छन् । जसमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकको सबैभन्दा कम सीडी रेसियो रहेको छ । पुस मसान्तसम्ममा बैंकको सीडी रेसियो ७८.७३ प्रतिशत छ । यससँगै अन्य बैंकहरुको तुलनामा स्ट्याण्डर्ड चार्टर्डलाई कर्जा प्रवाहमा निकै सहज देखिन्छ । कुन बैंकको कति ?

काभ्रेको बेथानचोकमा सुरुङमार्ग निर्माणको अध्यन गरिँदै

काभ्रे । बेथानचोक गाउँपालिकामा सुरुङमार्ग निर्माणका लागि अध्ययन गर्न धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरिएको छ । उक्त अध्ययनका लागि बुधबार विश्वविद्यालय र गाउँपालिकाका प्रतिनिधिबीच तीन बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी र विश्वविद्यालयका इन्जिनियरिङतर्फका डिन प्रा मनिष पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा सुरुङमार्ग निर्माणार्थ ढुङ्खर्क खोला–च्याम्राङ्बेँसी सडक सुरङमार्गको काठमाडौं विश्वविद्यालयको प्रविधिक तथा प्राज्ञिक सहयोगमा प्रारम्भिक अध्ययन गर्ने र त्यसका लागि गाउँपालिकाले विश्वविद्यालयलाई आर्थिक सहयोगस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने, स्थानीय समस्यामा आधारित भएर संयुक्त अनुसन्धान र प्रकाशनको कार्य गर्ने तथा समसामयिक विषयमा संयुक्त आयोजनामा सेमिनार, सम्मेलन र गोष्ठी सञ्चालन गर्ने उल्लेख गरिएको छ । गाउँपालिका अध्यक्ष अधिकारीले वडा नं ४, २ र १ मा पर्ने बाइसेढुङ्गाबाट दुर्लुङखोला हुँदै चौतारीसम्म सुरङमार्ग अध्ययनका लागि सम्झौता गरिएको बताए । उनका अनुसार सम्झौताको चार महिनाभित्र सुरुङमार्ग बनाइने स्थानको भौगर्भिक स्थितिसँगै सबै प्रकारका अध्ययन सक्ने योजना बनाइएको छ । विश्वविद्यालयका उपकुलपति प्रा भोला थापाले सुरङमार्ग अध्ययन स्थानीय तहसँगको समन्वयमा काम गर्ने माध्यम बनेको जनाउँदै जिल्लाका अन्य तहसँग पनि स्थानीय समस्या तथा शिक्षाका विषयमा सहकार्य गर्दै जाने बताए । उनले सुरङमार्ग अध्ययन विश्वविद्यालयका विद्यार्थीका लागि सिकाइ हुने तथा खोजमूलक विषय हुने बताए । रासस

पेट्रोल र डिजेलको मूल्य घटेर आयो, निगमलाई ४० करोड नाफा हुने

काठमाडौं । भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको हो । नयाँ मूल्यसूचीअनुसार खाना पकाउने एलपीजी ग्यासको मूल्य भने ३९ रुपैयाँ प्रतिलिसिन्डर बढेर आएको छ । यससँगै, एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २४३५ रुपैयाँ पुगेको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.२१ रुपैयाँ घटेको छ । डिजेलको मूल्य प्रतिलिटर ५.०५ रुपैयाँ घटेको छ भने हवाई इन्धनको मूल्य ७ रुपैयाँ प्रतिलिटर र मट्टितेलको मूल्य प्रतिलिटर ३.४० रुपैयाँ घटेर आएको छ । एलपीजी ग्यासबोहक सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा निगमलाई १५ दिनमा ४० करोड रुपैयाँ नाफा हुने देखिएको छ ।

समय अगाडि फूल्यो लालीगुराँस, रमाए पर्यटक

गलेश्वर । चैत–वैशाखमा फुल्नुपर्ने लालीगुराँस म्याग्दीको जङ्गलमा माघ महिनादेखि फुलेर फागुन आइपुग्दा राताम्मे भएको छ । लालीगुराँस समयभन्दा अगाडि नै फुले पनि हिउँद घर्कीसक्दासम्म अझै हिमपात भएको छैन । गत आइतबार सामान्य वर्षा भए पनि माटो भिज्नेगरी हिउँदे वर्षासमेत नहुँदा हिउँदे खाद्यान्न उत्पादन घट्ने भयले किसान चिन्तित छन् । मौसममा आएको परिवर्तनले लालीगुराँस दुई महिना अगाडि नै फुलेको स्थानीयवासी बताउँछन् । धवलागिरि गाउँपालिकाका झकबहादुर छन्त्याल चैत वैशाखमा फुल्नुपर्ने लालीगुराँसमा माघमै कोपिला लागेर मध्यफागुनसम्म आइपुग्दा जङ्गलै राताम्ये हुनेगरी ढकमक्क फुलिसकेको बताउँछन् । चैत दोस्रो हप्ता लालीगुराँस फुलेर जङ्गल राताम्मे हुनुपर्नेमा फागुन महिनामै फुलेर सबैलाई अचम्मित बनाएको छ । अघिल्लो वर्ष चैत–वैशाख महिनामा मात्र लालीगुराँस फुल्ने गर्दथ्यो । यसवर्ष हिउँदमा हिमपात नभएर वर्षा कम भए पनि लालीगुराँस भने राम्रोसँग फुलेको हो । पश्चिमी म्याग्दीको मालिका, मङ्गला, धवलागिरि र उत्तरी म्याग्दीको अन्नपूर्ण, रघुगङ्गा गाउँपालिकाका विभिन्न जङ्गलमा लालीगुराँस फुलेर राताम्यै भएको स्थानीयवासीको भनाइ छ । लालीगुराँस फुलेसँगै जङ्गल रातै देखिन थालेपछि स्थानीयवासी रमाउन थालेका छन् । कृषि प्राविधिक जगत बानियाँ मौसममा आएको परिवर्तनका कारण तापक्रम वृद्धि भएकाले पनि लालीगुराँस चाँडो फुलेको हुनसक्ने बताउँछन । उनका अनुसार उच्च हिमाली क्षेत्रमा चैत दोस्रोदेखि वैशाख महिनासम्म लालीगुराँस फुल्ने समय हो । यसको बारेमा थप अध्ययन गर्नु आवश्यक रहेको उनको भनाइ छ । लालीगुराँससँगै रमाउन थाले पर्यटक यसवर्ष साविकभन्दा पहिले नै लालीगुराँस फुलेर जङ्गल नै राताम्यै भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटक लेक उक्लन थालेका छन् । यसवर्ष पुसदेखि नै लालीगुराँस फुलेर म्याग्दीका ग्रामीण जङ्गल राता देखिन थालेका छन् भने काफल र ऐंँसेलुजस्ता जङ्गली फल पनि बेमौसममै फल्न सुरु भएको छ । फागुनको मध्यदेखि कोपिला लाग्न सुरू हुने लालीगुराँस यसवर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेका हुन् । यसैगरी जङ्गली फलफूल र कन्दमूल पाक्न थालेका छन् । बेमौसममा नै लालीगुराँस फुल्नु र जङ्गली फलको मौसमी चक्र परिवर्तन हुनामा तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको वातावरणविद्हरुको भनाइ छ । ‘लालीगुराँसको फूल चैत, वैशाख महिनामा फुल्ने गर्दथ्यो तर केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेको छ’, बेनी नगरपालिका–२ ज्यामरुककोटका वेदप्रसाद उपाध्याय बताउँछन । लालीगुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेका र अन्नबालीमा समेत यसको असर देखिएको मालिका गाउँपालिका–३ का जगबहादुर विक बताउँछन् । ‘अहिले बेमौसममै काफल, तिदुलगायत जङ्ली फल पाकेको र गुराँस फुलेको देख्न पाइएको छ ।’ वातावरणविद् चन्द्रमणि सापकोटाका अनुसार स्वाभाविक समय अगाडि नै गुराँस फुल्नु र बेमौसमी फल फल्नु स्वाभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो । विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन् । जलवायु परिवर्तनका कारण हिमाल, वनस्पति, मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामा समेत धेरै परिवर्तन देखिएको उनी बताउँछन् । रासस