विकासन्युज

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई नम्बर वान कायम राख्छौं : अध्यक्ष श्रेष्ठ

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्जरपश्चात् नम्बर वान कम्पनीका रुपमा उदाएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुरेश लाल श्रेष्ठले बताएका छन् । यसअघि पनि अग्रणी कम्पनीका रुपमा रहेका यी कम्पनी मर्जर पश्चात् झनै ठूलो बनेको अध्यक्ष श्रेष्ठले बताए । बुधबार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबारमा बोल्दे उनले यो मर्जरले बीमा क्षेत्रमा कोशेढुंगा सावित हुने बताए । उनले नम्बर वानको ताजलाई कायम राख्नेगरी काम गर्ने बताए । ‘दुई अग्रणी कम्पनी मर्जर गर्न सफल भएका छन्, मर्जर पश्चात् अधिकांश वित्तीय सूचकमा नम्बर वान बनेका छौं, यो मर्जर सबै कम्पनीका लागि कोशेढुंगा सावित हुनेछ, मर्जर पछि नम्बर वानको ताजलाई कायम राख्नेछौं,’ उनले भने । हालसम्म बीमा प्राधिकरणका नीति निर्देशन पालना गर्दै आएकोमा मर्जर पश्चात् पनि त्यसलाई निरन्तरता दिने उनले बताए । मर्जरपश्चात् कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ र बीमा कोष २ अर्ब ३४ करोड रुपैयाँ पुगेको उनको भनाइ छ । साथै, कम्पनीको कूल लगानी ७ अर्ब ३० करोड रुपैयाँ र कूल सम्पत्ति १० अर्ब २५ करोड रुपैयाँ पुगेको छ । मर्जरपश्चात् कम्पनीको शाखा कार्यालय १२५ पुगेका छन् भने कर्मचारीको संख्या ६५० जना पुगेको छ । कम्पनीको बजार हिस्सा १८ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।

अब मर्जर गर्ने पालो सगरमाथा लुम्बिनी इन्स्योरेन्सको हो : सीईओ क्षेत्री

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको मर्जर छिट्टै हुने बताएका छन् । बुधबार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार कार्यक्रममा बोल्दै क्षेत्रीले छिट्टै सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले एकीकृत कारोबार हुने बताएका हुन् । सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेका क्षेत्रीले स्वस्थ प्रतिस्पर्धाका लागि मर्जर प्रक्रिया आवश्यक रहेको बताए । मर्जरपश्चात् कम्पनीले राम्रो सिनर्जी ल्याउन सक्नु पर्ने उनको भनाइ छ । ‘मर्जर पश्चात् सिद्धार्थ प्रीमियर इन्स्योरेन्सले राम्रो सिनर्जी ल्याउनेछ, स्वस्थ प्रतिस्पर्धा गर्नका मर्जर आवस्यक छ, अबको मर्जरको पालो सगरमाथा कम्पनीको हो,’ उनले भने । यसअघि मर्जरका लागि सगरमाथा इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको छलफल भएपनि सम्भव नभएको समेत बताए । उनले मर्जर नगर्ने कम्पनीलाई बीमा प्राधिकरणले के गर्ने हो भनेर प्रश्न समेत गरे । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच गत माघ १७ गते मर्जरका लागि अन्तिम सम्झौता भएको थियो । त्यसैले अब एकीकृत कारोबार गर्न मात्रै बाँकी रहेको छ । मर्जर पश्चात् बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने छ । दुवै कम्पनी सेयर आदान प्रदान अनुपात(स्वाप रेसियो) क्रमश १००:८० अनुपातमा मर्ज हुनेछन् । मर्जर पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।

आइएमई को-अपरेटिभले गैह्रबैकिङ्ग सम्पत्ति बेच्दै

काठमाडौं । आइएमई को–अपरेटिभ सर्भिसले गैह्रबैंकिङ्ग सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । संस्थाले आफ्नो नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति घरजग्गा लिलामीमा बिक्री गर्ने भएको हो । संस्थाको नाममा मालपोत कार्यालय तुलसीपुर, दाङमा दर्ता भएको साविक तुलसीपुर नगरपालिका ६ सिट नम्बर ६क स्थित कित्ता नम्बर २६१, २३५, २४४ र २४९ को जम्मा क्षेत्रफल ६७७.२१ बर्गमिटरको जग्गा र उक्त जग्गाले चर्चेको सम्पुर्ण सामान बिक्री गर्ने भएको हो । उक्त गैह्र बैंकिङ्ग सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति र फर्म÷कम्पनी तथा संघ संस्थाहरुले चैत २ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त गैह्रबैंकिङ्ग सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अबस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने बताएको छ । प्राप्त बोलपत्रहरु संस्थाको सेवा केन्द्र कार्यालय, दाङमा चैत ३ गते शुक्रबारको दिन दिउँसो १ बजे खोलिने बताएको छ ।

आज यी २ लघुवित्तको सेयर खरिद गरे लाभांश पाइने

काठमाडौं । बिहीबार २ वटा लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सपोर्ट लघुवित्त र डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारणसभा तथा लाभांश प्रयोजनार्थ सपोर्ट लघुवित्त लघुवित्तले फागुन २१ गते र डिप्रोक्स लघुवित्तले फागुन ३ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्नेछन् । सपोर्ट लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद गरी कूल ११.५७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न ८ औँ बार्षिक साधारणसभा चैत ४ गते दुर्गा पार्टी प्यालेस इटहरी सुनसरीमा बिहान ९ः३० बजे बोलाएको छ । यस्तै, डिप्रोक्स लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ११.०५२६ प्रतिशत नगद गरी कूल २०.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले २१ औं वार्षिक साधारण सभा फागुन ३० गते सौराहा, चितवनमा बिहान ११ बजे बोलाएको छ ।

भारतीय राजदुतसहितको टोली लिएर कमलविनायक-नगरकोट सडक अनुगमन गर्दै मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बिहिवार कमलविनायक–नगरकोट सडकको अनुगमन गर्ने भएका छन् । अनुगमनमा नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तव, मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधि सहितको टोली हुनेछ । बिहान ९ बजे सल्लाघारी, भक्तपुरमा भेट भई कमलविनायक, भत्केको पाटीदेखि नगरकोटसम्मै पुगेर अनुगमन सम्पन्न हुने जानकारी दिईएको छ । सैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएर पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न हुन नसकेको रुग्ण आयोजनामा उक्त सडक पर्छ । निर्माणको ढिलासुस्तीबाट जनताले बर्षौंदेखि सास्ती खेपिरहेका छन् । जनताले सरकार र निर्माण कम्पनीबिरुद्ध आक्रोश पोखेपछि उपप्रधानमन्त्री श्रेष्ठले प्रष्टीकरण मागेपछि चैत मसान्तसम्म सम्पुर्ण निर्माण कार्य सम्पन्न गर्ने वाचा कम्पनीले गरेको थियो । सोही वाचा पुरा र प्रगतिबारे स्थलगत जानकारी लिन अनुगमन हुन लागेको बताइएको छ । आयोजनामा भारतीय एक्जिम बैंकको आर्थिक सहयोग रहेको छ ।

बिपिडब्लु लघुवित्तको आईपीओ आजदेखि निष्काशन, १ हजार कित्तासम्म खरिद गर्न पाइने

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आज फागुन १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागि फागुन १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । लघुवित्तले लघुवित्तले जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशत अर्थात् ९७ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९७ हजार कित्ता निष्काशन गरेको हो । जसमध्ये ९ हजार ७ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ भने १ हजार ५ सय कित्ता कर्मचारी र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओमा लगानीकर्ताले छिटोमा फागुन २३ गते र ढिलोमा चैत २ गतेसम्म आवेदन दिन सक्नेछन् । लघुपित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ । लघुवित्तको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओलाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

२५५ प्रतिशतसम्म प्रतिफल दिने प्रभु स्मार्ट फण्ड आजदेखि बिक्री खुला

काठमाडौं । प्रभु क्यापिटलले आज फागुन १८ गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु स्मार्ट फण्ड निष्काशन गरेको हो । १० वर्ष अवधि रहेको उक्त फण्ड बन्दमुखि योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका ८ करोड इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंकका लागि १४ प्रतिशत अर्थात् १ करोड १२ लाख इकाई, योजना व्यवस्थापक प्रभु क्यापिटलका लागि १ प्रतिशत अर्थात् ८ लाख इकाई र सर्वसाधारणका लागि ६ करोड ८० लाख इकाई छुट्याइएको छ । क्यापिटलको उक्त फण्डमा छिटोमा फागुन २३ गते र ढिलोमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १ सय इकाई र अधिकतम ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । उक्त फण्डमा धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । फण्डको फण्ड निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । फण्डले लगानी गरेपछि १० वर्षको अवधिमा करिब २५५ प्रतिशतसम्म प्रतिफल दिने योजना रहेको छ ।

हाललाई इन्धनको मूल्य नघट्ने

काठमाडौं । नेपाल आयल निगमले हाललाई इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ । बुधबार भारतबाट इन्धनको मूल्य घटेर आएपनि उपभोक्ता मूल्य हाललाई यथावत राख्ने निगमले जनाएको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले बुधबार खाना पकाउने ग्याँसबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटाएर पठाएकाे छ । नयाँ मूल्यसूचीअनुसार खाना पकाउने एलपीजी ग्यासको मूल्य भने ३९ रुपैयाँ प्रतिलिसिन्डर बढेर आएको छ । यससँगै, एलपीजी ग्यासको खरिद लागत प्रतिसिलिन्डर २४३५ रुपैयाँ पुगेको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.२१ रुपैयाँ घटेको छ । डिजेलको मूल्य प्रतिलिटर ५.०५ रुपैयाँ घटेको छ भने हवाई इन्धनको मूल्य ७ रुपैयाँ प्रतिलिटर र मट्टितेलको मूल्य प्रतिलिटर ३.४० रुपैयाँ घटेर आएको छ । एलपीजी ग्यासबोहक सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा निगमलाई १५ दिनमा ४० करोड रुपैयाँ नाफा हुने देखिएको छ ।