विकासन्युज

१ करोडभन्दा बढीको सुन र हीराका गहनासहित तीन जना पक्राउ

काठमाडौं । भन्सार छलेर ल्याएको एक करोड १० लाख बराबरको सुन र हीराको गहनासहित तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट काठमाडौं लैजाँदै गरेको ६३ दशमलव ८९८ तोला र हीरा जडित गरगहना २२ दशमलव ८७८ तोला गहनासहित भारतीय नागरिक पक्राउ परेका हुन् । भारतको कलकत्ताबाट काठमाडौं जान आउँदै गरेको भारतीय नम्बर प्लेटको WB12AV5566 नम्बरको भारतीय गाडीमा लुकाइछिपाइ ल्याउँदै गरेको गहना आज बिहान १ बजे प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकार सम्मेलन गरी पक्राउ परेका तीन जना र बरामद सामान सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश राज्य बलिया जिल्ला फेफना थानका ४२ वर्षीय विनोद प्रसाद, पश्चिम बङ्गाल राज्य हौडा जिल्ला गोलावाडी पुलिस थाना सल्किया स्कुलरोल कलकत्ताका ५१ वर्षीय गणपतकुमार तोसावर र ४२ वर्षीय नरेश बर्मा रहेको कार्यालयका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । उनका अनुसार भन्सार छली ल्याएको गरगहना काठमाडौं लैजाँदै गरेको सूचनाका आधारमा पक्राउ र बरामद गरिएको उनले बताए । बरामद सामान र पक्राउ परेका उनीहरूलाई राजस्व अनुसन्धान विभाग पठाइने उनले बताए । रासस  

कुमारी बैंकले बिवाइडीको गाडी किन्न ८ वर्षको लागि ८० प्रतिशत कर्जा दिने

काठमाडाैं । कुमारी बैंक र साइमेक्स् बीच ग्राहकलाई बिवाइडी ब्रान्डको विद्युतीय सवारी साधन किन्न कर्जा प्रदान गर्ने सम्झौता भएको छ । सम्झाैता अनुसार बैंकले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा बिवाइडी ब्रान्डका सवारी साधन खरिदका लागी सवारी साधन कर्जा उपलब्ध गराउने छ । यस सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकहरूले अब नेपालका कुनै पनि बिवाइडी डिलरबाट सवारी साधन खरिद गर्दा बैंकबाट सजिलै ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । सो कर्जा ८ वर्ष अवधीसम्म लिन मिल्ने प्रावधान गरिएको बैंकले जानकारी दिएकाे छ ।  । कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ

पूँजी बढाएर मात्र हुँदैन, बजारमा राम्रो छवि राख्न सक्नुपर्छ : अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुले चुक्ता पूँजी मात्र बढाएर बढाएर मात्रै नहुने बताएका छन् । बुधबार सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीचको एकीकृत कारोबार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘कम्पनीहरुले लोगो परिवर्तन गरेर, पूँजी बढाएर मात्रै हुँदैन, पूँजी अनुसारको व्यवसाय गर्नु पर्यो, बजारमा सकारात्मक इमेज राख्न सक्नु पर्यो, बीमा दाबी भुक्तानी समयमा दिनु पर्यो, यदि समयमा दाबी भुक्तानी गरीएन भने ग्राहकले सराप्ने गर्छन्,’ उनले भने । अध्यक्ष सिलवालले बीमा कम्पनीहरु काठमाडौं केन्द्रित भएको बताउँदै अब काठमाडौं बाहिर गएर पनि कम्पनीहरुले बिजनेस गर्नुपर्ने बताए । उनले कम्पनीका कर्मचारीलाई बिजनेस गर्न र दाबी परेपछि तिर्न पनि सिकाउनु पर्ने बताएका छन् । यस्तै, उनले बीमा प्राधिकरणले मर्जर गर्ने कुनै पनि दवाव नदिएको बताएका छन् । उनले कम्पनीलाई आफै पूँजी थप्न वा मर्जरका माध्यमबाट पूँजी बढाउन सक्ने दुई विकल्प दिइएकोमा अधिकांशले मर्जर बाटो रोजेको बताए । ‘थप पूँजी आफै बजारमा ल्याउनुभन्दा अहिले भएको पूँजीलाई नै एकीकृत गर्नुपर्ने विकल्प उचित हो,’ उनले भने । साथै, उनले कम्पनीहरुले नियामकको नीति निर्देशनमा बसेमा प्राधिकरणले जुनसुकै अवस्थामा पनि सहजिकरण गर्ने समेत बताएका छन् ।

समयमा एकीकृत कारोबार गर्न सफल भयौं : सीईओ क्षेत्री

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीरेन्द्र बैदवार क्षेत्रीले निर्धारित समयमा एकीकृत कारोबार गर्न सफल भएको बताएका छन् । बुधबार सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीचको एकीकृत कारोबार कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले कम्पनीले जटिल प्रक्रियालाई सहज ढंगले गर्न सफल भएको बताएका छन् । बीमा क्षेत्रलाई स्वतस्फूर्त विस्तार गर्न र विकास गर्न मर्जर आवश्यक रहेको पनि उनको भनाई छ । यस्तै, मर्जर कमिटी संयोजक रामेश्वर बस्यालले मर्जर पश्चात् सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बीमा क्षेत्रमा ठूलो कम्पनीको रुपमा उभिने बताएका छन् । ‘मर्जरपछि सशक्त बन्दै कम्पनी अघि बढ्छ,’ उनले भने । उनले कम्पनीले सिनर्जी ल्याएर लगानीकर्तालाई पनि राम्रो प्रतिफल दिने बताए । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीचको यो मर्जर निर्जीवन बीमा क्षेत्र कै तेश्रो हो । तर बीमा क्षेत्रमा भने यो चौथो मर्जर हो ।

लघुवित्तले राष्ट्र बैंकसँग माग्यो सुरक्षा, कर्मचारीलाई पनि सचेत रहन आग्रह

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले राष्ट्र बैंक र सरकारसँग सुरक्षाको माग गरेको छ । बुधबार जाजरकोटमा एक लघुवित्तका कर्मचारीलई स्थानियले कुटपिट गरेर कालोमोसो दलेपछि संघले विज्ञप्ती जारी गर्दै सुरक्षाको माग गरेको हो । बुधबार एनआइसी एशिया लघुवित्तको जाजरकोट शाखामा कार्यरत कर्मचारी गोपल प्रसाद उपाध्यलाई अज्ञात समूहले कुटपिट गरी कालोमोसो दलेको थियो । ‘घरदैलोमा वित्तीय सेवा प्रदान गर्न फिल्डमा खटिई कार्य गर्नु पर्ने लघुवित्त वित्तीय संस्थाहरुका कर्मचारीहरुको लागि त शान्ती सुरक्षाको नै आवश्यक पर्दछ, त्यसैले, बिना बाधा व्यवधान, विना रोकतोक सुरक्षित र शान्तीपूर्ण तवरबाट काम गर्न सुरक्षित कार्य वातावरणको सुनिश्चतता गर्न नेपाल सरकार र तथा नियामक निकाय नेपाल राष्ट्र बैंकसंग हार्दिक अपिल गर्दछौ,’ विज्ञप्तिमा  भनिएकाे छ । विगत ३० वर्ष देखि ग्रामिण क्षेत्रमा गै विनाधितो कर्जा उपलब्ध गराई ग्रामिण विपन्न महिलाहरुको जीवनस्तर माथि उकास्न निरन्तर लागिरेहकाे लघुवित्तका कर्मचारीमाथि नै यस्ताे घटना हुन अमानविय भएकाे संघले बताएकाे छ । ‘जाजरकोट जस्तो अति विकट क्षेत्रमा गै गरिवी न्यूनिकरण र महिला शक्तिकरणको लागि अहोरात्र खटिने लघुवित्तका कर्मचारी माथी भएको यो कारवाही अमानविय र अराजकताको पराकाष्ठ हो यसको जति नै निन्दा गरे पनि कमै हुन्छ नै, यसले राज्यको सुरक्षा प्रणालीमा पनि प्रश्न उठाएको छ,’ विज्ञप्तीमा भनिएकाे छ । यस्तै, संघले लघुवित्तका कर्मचारी तथा अन्य बैंक वित्तीय संस्थाका कर्मचारीलाई यस्ताे अवस्थामा सुरक्षाको ख्याल गर्न पनि अनुरोध गरेकाे छ ।

नेपाललाई थप ऋण निकासा गर्दै अन्तर्राष्ट्रिय मुद्राकोष

काठमाडौं । नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (इसिएफ)मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि थप ऋण निकासा गर्न अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) सहमत भएको छ । यही फागुन ३ देखि फागुन १६ गतेसम्म नेपाल भ्रमणमा रहेको मुद्राकोषको टोलीले इसिएफअन्तर्गतका कार्यक्रमको कार्यप्रगति समीक्षा गरेको थियो । उक्त समीक्षापछि नेपाललाई थप ऋण निकासा गर्न लागिएको मुद्राकोषले जनाएको छ । ‘इसिएफको पहिलो र दोस्रो चरणको समीक्षा पूरा गर्न केही नीतिगत व्यवस्थाका लागि मुद्राकोष र नेपालका अधिकारी सहमत भएका छन् । यो समीक्षापछि पाँच करोड २० लाख अमेरिकी डलर बराबरको बाँकी इसिएफ निकासा गर्न मुद्राकोषको कार्यकारी बोर्डले सहमति दिनेछ’, मुद्राकोषले विज्ञप्तिमार्फत भनेको छ । विश्वव्यापी र आन्तरिक चुनौतीका बाबजुद नेपालले इसिएफअन्तर्गतका कार्यक्रम कार्यान्वयनमा सकारात्मक उपलब्धि हासिल गरेको पनि मुद्राकोषले जनाएको छ । गत वर्ष अर्थात सन् २०२२ जनवरी १२ मा मुद्राकोषको कार्यकारी बोर्डले नेपाललाई स्पेसल ड्रइङ राइट (एसडीआर) का रूपमा ३९ करोड ५९ लाख अमेरिकी डलर बराबर इसिएफ उपलब्ध गराउने निर्णय गरेको थियो । त्यस्तो सहुलियतपूर्ण ऋणमध्ये ११ करोड अमेरिकी डलर मुद्राकोषले तत्काल निकासा दिएको थियो । हाल निकासा दिन लागिएको पाँच करोड २० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण पनि त्यही सम्झौता अन्तर्गतको हो । नेपालको आर्थिक वृद्धिदरमा सङ्कुचन रहेको तथा आन्तरिक र बाह्य क्षेत्रसमेतको व्यवस्थापनका लागि चालिएका नीतिगत कदमको प्रभाव अर्थतन्त्रमा देखिएको मुद्राकोषले जनाएको छ । कसिलो मौद्रिक नीतिले बाह्य क्षेत्र व्यवस्थापनमा सघाएको र बजेटको अर्धवार्षिक समीक्षाबाट चालिएका सरकारका कदमले अर्थतन्त्रमा आगामी दिनमा देखिनसक्ने चुनौती सम्बोधन गर्न खोजेको पनि मुद्राकोषले उल्लेख गरेको छ । आर्थिक वर्ष २०२२/०२३ मा नेपालले चार दशमलव चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरिएको पनि मुद्राकोषले जनाएको छ । ‘नेपालले उच्च अङ्कको आर्थिक वृद्धिको अपेक्षा गरेको भए पनि आर्थिक वर्ष २०२२/०२३ मा चार दशमलव चार प्रतिशतको मात्रै वृद्धिदर हासिल गर्ने देखिएको छ । सुधार हुँदै गएको पर्यटन क्षेत्र, कृषि क्षेत्रमा विस्तार र रेमिट्यान्सले आर्थिक वृद्धिदरलाई सहयोग गरेको छ’, मुद्राकोषले विज्ञप्तिमा भनेको छ । नेपालले चालु आर्थिक वर्षको बजेटमार्फत आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको थियो । नेपालले मध्यम खालको आर्थिक वृद्धिका लागि वित्तीय क्षेत्र पुनःसंरचना, बैंक तथा वित्तीय क्षेत्रको नियमन तथा सुपरीवेक्षणमा कडाइ, व्यावसायिक लागत (कस्ट अफ डुइङ बिजनेस) घटाउने र प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन गर्न आवश्यक रहेको मुद्राकोषले उल्लेख गरेको छ । ‘विस्तृत राजस्व परिचालन नीति, सरकारी संयन्त्र (मुख्यगरी सार्वजनिक संस्थान)को वित्तीय चुनौती व्यवस्थापन, सार्वजनिक लगानीमा दक्षता तथा पारदर्शीता अभिवृद्धि, नेपाल राष्ट्र बैंक ऐन संशोधनसहित बैङ्किङ क्षेत्रको नियमन तथा सुपरीवेक्षणसम्बन्धी कार्यमा सुधारका लागि नेपालले काम गर्न आवश्यक छ’, मुद्राकोषले भनेको छ । त्यस्तै, एसिया प्यासिफिक ग्रुप (एपिजी) ले सम्पत्ति शुद्धीकरणसम्बन्धी गरेको पारस्परिक मूल्याङ्कनबाट दिइएका सुझाव कार्यान्वयनका लागि पनि नेपालले पहल गर्नुपर्ने मुद्राकोषले जनाएको छ ।

घुन्सा खोला र सिम्बुवा खोला जलविद्युत् आयोजना तीनवटा सरकारी कम्पनी मिलेर अगाडि बढाउने

काठमाडौं । ७७.३ मेगावाट उत्पादन क्षमता रहेको घुन्सा खोला र ७०.५ मेगावाट उत्पादन क्षमता रहेको सिम्बुवा खोला जलविद्युत् आयोजनालाई तीनवटा सरकारी कम्पनीले साझेदारीमा सञ्चालन गर्ने भएका हुन् । बुधबार भएको एक कार्यक्रमका बीच नेपाल विद्युत प्राधिकरण, हाइड्रो इलेक्ट्रिसिटि डेभलपमेन्ट कम्पनी र विद्युत उत्पादन कम्पनीले उक्त दुई आयोजनालाई साझेदारीमा अगाडि बढाउने समझदारीमा हस्ताक्षर गरेका छन् । साझेदारीमा सिम्बुवा खोला जलविद्युत आयोजना विकास गर्ने सिम्बुवा रेमिट हाइड्रे लिमिटेडको ५१ प्रतिशत शेयर मध्ये विद्युत उत्पादन कम्पनीले २१ प्रतिशत, हाइड्रो इलेक्ट्रिसिटि डेभलपमेन्ट कम्पनीले १५ प्रतिशत र विद्युत प्राधिकरणले १५ प्रतिशत शेयर लिने सहमति भएको छ । त्यस्तै धुन्सा खोला जलविद्युत् आयोजना विकास गर्ने रेमिट हाइड्रो लिमिटेडको ५१ प्रतिशत शेयर मध्ये नेपाल विद्युत प्राधिकरणले २१ प्रतिशत, हाइड्रो इलेक्ट्रिसिटि डेभलपमेन्ट कम्पनीले १५ प्रतिशत र विद्युत उत्पादन कम्पनी लिमिटेडले १५ प्रतिशत शेयर लिने सहमति भएको छ । साथै हाइड्रो इलेक्ट्रिसिटि डेभलपमेन्ट कम्पनीले गरेको प्रतिवद्धता बमोजिम दुबै कम्पनीमा २९ प्रतिशत शेयर वैदेशिक रोजगारीमा गएका सर्वसाधारणको लागि आरक्षण गरिने सम्झौता भएको छ । दुबै आयोजनाका ७० प्रतिशत ऋण र ३० प्रतिशत शेयर कायम हुनेगी वित्तीय स्वरुप निर्धारण गरिने लगायत संस्थागत संरचना, कार्यविधि लगायतका विषयहरुमा समझदारी भएको मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने नेकपा एसको निर्णय

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ । काँग्रेस नेतृत्वको ८ दलीय गठबन्धनमा आवद्ध सो दलको बुधवार बसेको सचिवालय बैठकले राष्ट्रपति निर्वाचनमा काँग्रेस वरिष्ठ नेता पौडेललाई मतदान गर्ने औपचारिक निर्णय गरेको हो । ८ दलका साझा उम्मेदवार पौडेललाई राष्ट्रपति निर्वाचनमा मतदान गर्ने एकमात्रै निर्णय बैठकले गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएपनि सरकारमा जाने विषय भने प्रवेश गराइएन । सरकारमा जाने विषयमा पार्टी सकारात्मक भएपनि समय आइनसकेकाले त्यस विषयमा छलफल नभएको प्रवक्ता खतिवडाको भनाई थियो । ‘हाम्रो आठ दलका राष्ट्रपति पदका साझा उम्मेदवार रामचन्द्र पौडेलज्युलाई हाम्रो पार्टीले मतदान गर्ने निर्णय हामीले ग¥यौं, सरकारमा जाने विषयमा सकारात्मक छौं, त्यसमा जाने बेलामा हामी छलफल गर्छौं । त्यस विषयमा आज प्रवेश नै गरिएन, उनले भने ।’ राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । त्यसका लागि काँग्रेससहितका आठ दलको तर्फबाट रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् भने एमालेबाट पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनेका छन् ।