स्वादका लागि चर्चित बागलुङको आलु, १ अर्बको आलु बिक्री
बलेवा । कृषिमा अब्बल बागलुङको ताराखोला आलुका लागि चर्चित गाउँपालिका हो । ताराखोलाका पाँचवटै वडामा बर्खे आलु फल्छ। हिउँदमा पनि गाउँपालिका-४ का बेसी फाँटमा आलु फलेको छ । ताराखोले आलुले अहिले गण्डकी प्रदेशमा नै आफ्नो नाम स्थापित गरिसकेको छ । यहाँको आलुमा मिसावट पनि छैन। किसानले आलुबाटै घर खर्च चलाउने र बालबालिका पढाउने गरिरहेका छन् । आलुको बजारसमेत सजिलै पाइएकाले किसानले हरेक वर्ष उत्पादन बढाउने गरेको ताराखोला-५ की दिलकुमारी पुन बताउँछन् । आएका पाहुनालाई खुवाउनेदेखि कोसेली पठाउने काममा पनि ताराखोले आलु प्रयोग हुन्छ । यहाँका किसानले आलुको चिप्स बनाउनेदेखि अन्य धेरै परिकारका लागि तालिम लिएका छन् । कृषि ज्ञान केन्द्रले पनि आलु उत्पादन बढाउन लगानी गरेको छ । ताराखोलामा जस्तै बागलुङको ढोरपाटनमा पनि उपभोक्ताको जिब्रोमा गडिने आलु फल्छ । काठेखोला गाउँपालिकाको धम्जा, बागलुङ नगरपालिकाको भकुण्डे, जैमिनी नगरपालिकाको दमेक र बरेङ गाउँपालिकाको सुखौरा भित्रीवन आलुका लागि चर्चित ठाउँ हुन् । बागलुङको उपल्लो पहाडी भूभागमा बर्खे आलु फल्छ भने बेसी फाँटमा हिउँदको समयमा आलु उत्पादन हुने गरेको छ। पहाडको आलु बेसीँका लागि बीउ हुन्छ । बागलुङ बजारमा आजकल जिल्ला बाहिरको आलु थोरै मात्र उपयोग हुन्छ। उपभोक्ताले पनि स्थानीय जातकै आलु छानेर खान रुचाउन थालेका छन् । बागलुङमा आलुको स्थानीय उत्पादन बढ्दो छ। किसानले पनि व्यावसायिक रुपमा उत्पादन गरेर बजारमा ल्याएपछि तराईका आलुको माग घटेको छ । ‘आजकल तराईबाट ट्रकमा आलु आउन छाडेको छ, अधिकांशले गाउँतिरका खोज्छन्’, व्यवसायी अर्जुन चोखालले भने, ‘स्वादमै फरक पर्ने भएपछि सबैको चाहना स्थानीय आलुमा छ ।’ पछिल्लो समय बागलुङ बजारमा ताराखोला, ढोरपाटन र मुस्ताङका आलु ल्याउने गरिएको छ। ताराखोलाको आलु सानो आकारको पाइन्छ भने ढोरपाटन र मुस्ताङको आलु ठूलो आकारको हुन्छ। ‘पहिला ट्रकमा आलु र प्याज प्रशस्त आउने गरेकामा केही वर्षदेखि प्याज मात्रै मगाएका छौँ’, थोक बिक्रेता गोपाल कँडेलले भने, ‘बागलुङकै ग्रामीण क्षेत्रबाट आइरहेको आलुले प्रशस्त पुगेको छ ।’ उनले ताराखोला, ढोरपाटन र गाजामा फलेको आलु खरिद गरेर बेच्ने गरेको बताए । ती स्थानबाट पोखरा र भैरहवासम्म पनि बिक्रीका लागि किसानले आलु निकासी गर्ने गरेका छन् । सजिलै पाक्ने र मीठो स्वादका कारण स्थानीय आलुको माग बढिरहेको होटल व्यवसायी बताउँछन् । स्थानीय उत्पादनको आलु खानेले तराई र भारतबाट आउने आलु मन नपराउने होटल व्यवसायी रुसन सापकोटाले बताए । ‘स्थानीय पाएसम्म हामीले पनि बाहिरको लिने कुरै भएन’, सापकोटाले भने, ‘पाहुनाकै चाहनाअनुसार ताराखोले र ढोरपाटनको आलु खुवाइन्छ ।’ स्वादका कारण स्थानीय आलु नै बढी खपत भएको उनले बताए । ताराखोला र ढोरपाटनका अलावा बागलुङका बेसीमा फलेको आलुको पनि उत्तिकै माग छ । अघिल्ला वर्षको तुलनामा बागलुङमा आलु उत्पादन बढेको कृषि ज्ञान केन्द्रको पनि तथ्यांक छ । आलु लगाउने क्षेत्रफल र उत्पादन बढेकाले आत्मनिर्भर मात्र नभइ बिक्री गरेर लाखौं कमाइसमेत भित्रिएको केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए । चालु वर्ष बागलुङमा तीन हजार ५० हेक्टर क्षेत्रमा आलु लगाइँदा ५४ हजार आठ सय १० मेट्रिकटन आलु फलेको केन्द्रको प्रारम्भिक तथ्यांक छ । प्रतिकिलो ३० रूपैयाँमा मात्रै बेच्न सक्दा किसानले एक अर्ब ६४ करोड कमाउन सक्ने उनले बताए । उनका अनुसार गत वर्ष जिल्लामा ४५ हजार छसय मेट्रिक टन आलु फलेको थियो । यस वर्षको उत्पादन २० प्रतिशतले बढी हो । मौसम राम्रो परेको, उन्नत प्रविधिको प्रयोग र समयमा मलको उपलब्धताले यो अवस्था आएको उनले बताए । ‘बागलुङको आलुमा रासायनिक मल प्रयोग भएको छैन, कम्पोष्ट मलको प्रयोग भएको छ’, भट्टराईले भने, ‘राम्रो बजार पाएकाले किसान पनि खुसी भएका छन् ।’ ताराखोला, तमानखोला र काठेखोला गाउँपालिका तथा ढोरपाटन र जैमिनी नगरपालिकामा धेरै आलु फल्छ । गलकोट र निसीखोलामा पनि आलु उत्तिकै फलाइन्छ । बागलुङमा ढोरपाटनको स्थानीयबाहेक कार्डिनल, जनकदेव, खुमलटार र एमएस ४२ दशमलव तीन नामका आलु बढी फलेका छन् । सबैभन्दा बढी उपभोक्ताले ताराखोला र ढोरपाटनको आलु मन पराउने गरेको सापकोटाले बताए । आलुको उत्पादन बढेपछि कृषि ज्ञान केन्द्रसहित स्थानीय पालिका समेतले जिल्लामा सातवटा शीत भण्डार बनाएका छन् । ती शीत भण्डारमा तीन सय ५० मेट्रिक टन बढी भण्डारण गर्न मिल्छ । एक सय १० मेट्रिक टनको भण्डारण निजी क्षेत्रले बनाएको छ। आलुको उत्पादकत्व बढाउन सञ्चालित आलुजोन, ब्लक र पकेटक्षेत्र विस्तार गर्दा पछिल्लो चार वर्षमा आलुको उत्पादन दोब्बर बढेको कार्यालयका सूचना अधिकारी कुमार पुनले बताए । चार वर्षदेखि हरेक वर्ष २० देखि २५ प्रतिशत बढिरहेको छ । घरघरमा फलाएर खाने आलुको रेकर्ड नभएको उनले बताए । ‘जसले ठूलो परिणाममा उत्पादन गरेर बजार पठाएका छन् उनीहरुको मात्रै तथ्यांक राखिएको छ’, पुनले भने, ‘बजारमा आलुको मूल्य ५० देखि ९० प्रतिकिलोमा बिक्री भइरहेको छ ।’ तथ्यांकका लागि किसानले ३० रूपैयाँमात्र पाएको रेकर्ड बनाए पनि एक अर्ब ६४ करोड रूपैयाँबराबरको आलु बिक्री भएको अनुमान गर्न सकिने उनले बताए । रासस
उपचारका लागि पहुँचवालालाई सरकारको डेढ अर्ब सहायता, सर्वसाधारण पालो कुर्दै गुमाउँछन् ज्यान
काठमाडौं । आर्थिक वर्ष २०७२/७३ पछि चालु आवको माघ मसान्तसम्म सत्ताको पहुँचमा भएकाहरुले राज्यकोषबाट उपचार र सहायताको नाममा एक अर्ब ३० करोड रुपैयाँ लिएका छन् । केन्द्रीय सत्ताको पहुँचमा भएका केही सिमित व्यक्तिहरुले राज्यकोषबाट रकम लिएर विदेशका आलिसान अस्पतालमा उपचार गर्ने गरेका छन् । महंगो शुल्कका कारण आर्थिक अवस्था कमजोर भएकाहरुले सामान्य उपचार गर्न पनि निजी अस्पतालमा पहुँच राख्दैनन् । तर, अति साधारण प्रकृतिको अप्रेसन गर्न पनि सरकारी अस्पतालमा महिनौं प्रतिक्षा गर्नुपर्ने र त्यसैका कारण मर्नुपर्ने अवस्था हजारौं नेपालीको बनेको छ । त्यति मात्रै नभएर आकस्मिक अवस्थामा अप्रेसन गर्नको लागि समेत नपाइएका कैंयन उदाहरण देखिएका छन् । चालू आर्थिक वर्षको माघ मसान्तसम्म ५ करोड ४६ लाख ४३ हजार रुपैयाँ साहयता प्रदान गरेको छ भने आथिक वर्ष २०७८/७९ मा १६ करोड २६ लाख ९८ हजार र आर्थिक वर्ष २०७७/७८ मा ७ करोड ९३ लाख ६७ हजार रुपैयाँ सहायत प्रदान गरेको छ काठमाडौंमा सरकारको व्यवस्थापनमा सञ्चालित त्रिभुवन शिक्षण, वीर, ट्रमा, कान्ति, पाटन लगायतका अस्पतालहरुमा दशौं हजार बिमारीहरु साधारण देखि मेजर अप्रेसनको लागि ६ महिना भन्दा लामो समयदेखि पालो पर्खिरहेका छन् । अस्पतालले पालो अनुसार उपचार गरिरहेको छ, तर कति बिमारीहरु पालो कुर्दाकुर्दै मरे वा अन्यत्रै गएर उपचार गरे भन्ने तथ्यांक कुनै अस्पतालसँग छैन । ३ हजार ५ सय भन्दा धेरै विमारी अप्रेसनको लागि नाम लेखाएर पर्खिरहेका त्रिभुवन शिक्षण अस्पतालका महाराजगञ्जका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाले अप्रेसनको लागि पालोमा बस्ने बिमारीको तथ्यांक सम्बन्धित विभागहरुले राख्ने र कुनै बिमारी आफ्नो पालोमा नआएमा अर्कोले उपचार गर्ने गरेको बताए । पालो लिएका कति र को बिमारी अप्रेसनको लागि फर्केर आएन भन्ने रेकर्ड अस्पतालले तयार नगरेको उनको भनाइ छ । त्यस्तै तीन हजार भन्दा बढी अप्रेसनको लागि पालो पर्खिरहेका कान्ति बाल अस्पतालका सूचना अधिकारी रमेश नर्सिङ केसीले अस्पतालले अप्रेसनको लागि पालो पर्खेका तर फर्केर नआएका बिमारीहरुको तथ्यांक नराखेको बताए । कान्तिमा पनि सम्बन्धित अप्रेसनको विभागले बिमारीलाई पालो दिने र अप्रेसन गर्ने गरेको र अप्रेसनको तथ्यांक सम्बन्धित विभागसँगै हुने गरेको उनको भनाइ छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोगले वीर अस्पताल र प्रसुती गृहमा पुर्ननिर्माण कार्यक्रम अन्तर्गत २ अर्ब १० करोडको लागतमा १÷१ वटा आधुनिक भवन निर्माण गरिदिएको थियो । सो आधारमा हेर्दा सरकारले ०७२ सालदेखि हालसम्म पहुँचवालालाई सहायतको नाममा बाँडेको रकमले एउटा सुविधासम्पन्न अस्पताल बन्ने देखिन्छ । साथै त्यसो नगर्दा पनि दर्जनौ अस्पतालहरुको स्तरवृद्धि गरेर विमारीहरुले पालो कुर्दाकुर्दै नमर्ने अवस्था सिर्जना गर्न सकिन्थ्यो । तर, सिमित व्यक्तिको नाममा खर्च गर्ने र देशभित्रका अस्पताललाई सुधार गर्नेतर्फ ध्यान नदिने प्रवृत्ति राजनीतिक नेतृत्वमा थप मौलाउँदै गएको देखिन्छ । राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता टिकाराम पोख्रेलले अस्पतालमा अप्रेसनको लागि बिमारीहरुले नाम लेखाएर सेवा नपाउने विषय गम्भिर भएको बताए । ‘स्वास्थ्यसँग सम्बन्धित धेरै विषयहरु छन्, जसलाई हामीले उठाइरहेका छौं, बिमारीहरुले अस्पताल समेत देख्न नपाएको अवस्था छ, यो विषयमा हाम्रो ध्यान आकर्षण भएको छ’, उनले भने ।
आशा लघुवित्तले लाभांश पारित गर्न बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । आशा लघुवित्त वित्तिय संस्थाले साधारण सभा बोलाएको छ । लघुवित्तको बुधबार बसेको संचालक समितिको बैठकले फागुन ११ गते साधारण सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पूँजीको १४.२८५७ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७१४३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरणको लागि लघुवित्तले फागुन २६ गते एकदिन बुक क्लोज गर्ने भएको छ । यस अनुसार फागुन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्नेछन् ।
फागुन २५ गतेदेखि पोखरा–भद्रपुर सिधा उडान गर्दै बुद्ध एयर
पोखरा । पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुुसी भएका छन् । निजी क्षेत्रको बुद्ध एयरले मार्चबाट पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी गरेको छ । ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाइ कनेक्टिभिटिमार्फत पूर्व–पश्चिम जोडेर यात्रुलाई सहज सेवा प्रदान गर्न बुद्ध एयर प्रतिवद्ध छ’,स्टेशन म्यानेजर गौतम बरालले भने । उनले अब केही दिनपछि पोखरा–भद्रपुर उडान सुरु हुने जानकारी पनि दिए । म्यानेजर बरालका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका चार जहाज रात्रिकालीन समयमा विमानस्थलमा हुनेछन् । ती विमानले बिहान चार स्थानमा उडान भर्नेछन् । काठमाडौ, भैरहवा, नेपालगञ्ज नियमित उडान भइरहेका छन् भने अब पोखराबाट बिहान ६ः१५ मा जहाज भद्रपुरका लागि उड्नेछ । भद्रपुरबाट पोखराका लागि भने बेलुकी ६ः५५ मा उडान हुने जनाइएको छ । हवाइ उडान दुरी एक घण्टा १० मिनेटको हुनेछ । पोखरा–भद्रपुर सिधा उडान नहुँदा यहाँ आउने यात्रुले सास्ती खेप्नु परेकाले यात्रुको सहजताका लागि सिधा उडान सञ्चालन गर्न लागिएको उनले बताए । यसले पश्चिम क्षेत्रलाई पूर्वी गन्तव्यसँग जोडर आन्तरिक पर्यटनका साथै भारतीय पर्यटकलाई पोखरासम्म ल्याउन सघाउ पुग्ने मेनेजर बरालको भनाइ थियो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै अन्य जिल्लासँगको कनेक्टिभिटि बढ्ने र आन्तरिक पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । ‘पोखरा पर्यटकीय शहर हो, पूर्वबाट पोखरा आउन चाहने पर्यटकलाई बुद्ध एयरको सिधा उडानले सहज गराउनका साथै भारतीय पर्यटकलाई पोखरा भित्र्याउन भूमिका निर्वाह गर्छ’, उनले भने । अध्यक्ष श्रेष्ठले यहाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भए पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेको प्रति गुनासो गर्दै छिटोभन्दा छिटो उडानका लागि पहल गर्न सरकार र सरोकारवालासमक्ष आग्रह गरे । पोखरा पर्यटन बोर्डका प्रमुख काशीराज भण्डारीले पर्यटकहरुले छिटोे र आरामदायी यात्रामा रुची राख्ने हुँदा जति एयर कनेक्टिभिटि पर्यटकको चहलपहल पनि बढ्दै जाने बताए । पोखरा–भद्रपुर सिधा उडानले पर्यटन प्रवद्र्धन हुने उनको भनाइ थियो । सिधा उडानले पर्यटनसँगै यहाँको स्थानीय उत्पादन बिक्री वितरणमा पनि सहज हुने प्रमुख भण्डारीले बताए । योसँगै बुद्ध एयरले मार्च देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान पनि सुरु गर्दैछ । पोखरा बास बस्नेगरी विभिन्न गन्तव्यबाट यात्रु पोखरासम्म आउने भएपछि पर्यटकको सङ्ख्या बढ्ने यहाँका पर्यटन व्यवसायीको अपेक्षा छ । अहिले पोखरा–भद्रपुर सडक यात्रा गर्दा करिब १८ घण्टा बिताउनाका साथै २४ सय–२७ सय रुपैयाँसम्म भाडा तिर्नुपर्छ तर हवाई उडानबाट भने ७० मिनेटमै यात्रा गर्न सकिने र हवाई भाडा पनि नौ हजार छ सय ८५ रुपैयाँ पर्छ । रासस
सिद्धार्थ प्रिमियरको अध्यक्ष बने सुरेशलाल श्रेष्ठ, कम्पनी सचिवमा आचार्य नियुक्त
काठमाडौं । दुई निर्जीवन बीमा कम्पनी मर्ज भई बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा सुरेशलाल श्रेष्ठ नियुक्त भएका छन् । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनीको अध्यक्षपदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष श्रेष्ठ प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)का अध्यक्ष हुन् । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स एक आपसमा मर्ज भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बनेसँगै उक्त कम्पनीको अध्यक्षमा श्रेष्ठलाई नियुक्त गरिएको कम्पनी श्रोतले बताएको छ । त्यस्तै, सञ्चालकमा पवन कुमार अग्रवाल, राजन कृष्ण श्रेष्ठ, राहुल अग्रवाल, बलराम श्रेष्ठ र रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् । कम्पनीको सीईओमा सिद्धार्थ इन्स्योरेन्सका सीईओ बीरेन्द्र बैदवार क्षेत्री रहने छन् । यससँगै, नयाँ बनेको इन्स्योरेन्सको कम्पनी सचिवमा शुदर्शन आचार्य नियुक्त भएका छन् । आचार्य सिद्धार्थ इन्स्योरेन्सका सूचना अधिकारी हुन् ।
चारलेन सडक निर्माणमा ढिलासुस्ती, स्थानीयलाई सास्ती
राँझा । चारलेन सडक निर्माणमा ढिलासुस्ती हुँदा बाँके र बर्दियाका जनताले सास्ती व्यहोर्नुपरेको छ । सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गत बाँकेको खजुरा बजार र बर्दियाको सदरमुकाम गुलरियामा निर्माणाधीन चारलेन सडक लामो समयदेखि अलपत्र छन् । विसं २०७४ चैत २९ मा सम्झौता गरी बाँकेको खजुरामा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको चारलेन सडक निर्माण थालिएको थियो । निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै दुईपटक म्याद थपे पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन । गजुरमुखी निर्माण सेवाले २०७७ असोजमा सम्पन्न गर्ने गरी २२ करोड रुपैयाँको लागतमा निर्माण थालिएको सडक हालसम्म पूरा नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । विसं २०७८ चैत ३० सम्म पहिलो पटक म्याद थप गरी सो अवधिमा पनि निर्माण गर्न नसकेपछि २०७९ पुस २९ मा सम्पन्न गर्नेगरी दोस्रो पटक म्याद थप गरेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी जनकबहादुर धामीले जानकारी दिए । उनका अनुसार निर्माण कम्पनीको लापरबाहीका कारण सडक निर्माणमा ढिलाइ भएको हो । विसं २०७४ मा काम सुरु भएयता निर्माण कम्पनीले करिब १८ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ । निर्माण कम्पनीले समयमा काम नसकिनुका पछाडि कोरोना महामारीको कारण देखाउँदै पटकपटक म्याद थपाउँदै आएको छ। चारलेन सडक निर्माण कार्यमा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती पाएका छन् । सडक निर्माण अधुरो हुँदा सवारी साधन सञ्चालनमा कठिनाइ हुनाका साथै धुलो उडेर आसपासका पसल तथा घरमा पुग्ने गरेको छ । धुलो र हिलोका कारण व्यापार व्यवसाय प्रभावित हुन पुगेको खजुरा बजारका व्यवसायी रमेश थापाले बताए । उनले मुख्य सडकमा सवारी साधन आवतजावत गर्दा उड्ने धुलोले स्थानीय श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित भएको गुनासो गरे । गत वर्ष धुलोका कारण खजुरा बजारका घर र पसलमा बस्न सक्ने अवस्था नरहेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए । सडक नै अवरुद्ध पारेपछि कम्पनीले गिट्टी हालेर ‘सरफेस ट्रेसिङ’ गरेको थियो । उक्त ट्रेसिङ पनि दुई साता नहुँदै उप्किएको थियो । चारलेन सडक योजनाको काममा ढिलाइ हुँदा स्थानीयवासीले सास्ती भोगिरहेको खजुरा गाउँपालिकाका प्रवक्ता धनीराम वलीले बताए । उनले सडकको अवस्थाका बारेमा खजुराका जनताले आफूहरुलाई धेरै गुनासो गर्ने गरेकाले सडक निर्माण कार्य सम्पन्न गर्न ठेकेदार कम्पनीलाई पटक–पटक आग्रह गरे पनि काम हुन नसकेको उल्लेख गरे । सडक निमाणमा लापरबाही हुँदा नेपालगञ्ज–गुलरिया सडक खण्डअन्तर्गत खजुरा र गुलरियामा निर्माणाधीन सडक निर्माण सम्पन्न नहुँदै बीचबीचमा खाल्डाखुल्डी र जीर्ण जस्तो देखिने गरेको छ । अहिले यहाँ आवत गर्ने सर्वसाधारण धुलाम्ये हुने गरेको स्थानीय व्यापारी शतिश निरौलाले बताए । रासस
केडिया स्मृति कानून सम्मान वरिष्ठ अधिवक्ता गुणनीधि न्यौपानेलाई
काठमाडौं । केडिया फाउन्डेसनको कानून सम्मान र पुुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । यस वर्षको केडिया फाउन्डेसनको कानून सम्मान र पुरस्कार वरिष्ठ अधिवक्ता प्राध्यापक गुणनीधि न्यौपानेले पाएका छन् । वरिष्ठ अधिवक्ता प्राध्यापक गुणनीधि न्यौपानेलामो समय नेपाल ल क्याम्पसमा प्राध्यापन गरेर त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष समेत भइसकेका छन् । यस्तै स्वशंकरलाल केडीया स्मृति युवा कानून पुरस्कार वरिष्ठ अधिवक्ता महेश कुमार थापा र स्वशंकरलाल केडिया उत्कृष्ट पुस्तक लेखन पुरस्कार वेपत्ता पारिएका परिवार छानबिन आयोगका सचिव श्याम कुमार भट्टराईद्धारा लिखित संवैधानिक तथा प्रशाशकीय कानूनु पुस्तकको लागी प्रदान गरिएको छ । स्वशंकरलाल केडिया कानून पुरस्कार, कानून युवा पुरस्कार, उत्कृष्ट कानून पुस्तक पुरस्कार एवं कानून पत्रिकामा वर्ष भरिमा प्रकाशित लेख रचना मध्ये उत्कृष्ट लेख, रचनाका लेखकहरुलाई उत्कृष्ट कानून लेखन पुरस्कार प्रदान गरिँदै आएको छ ।
हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु
काठमाडौं । हिउँदयाम सकिएसँगै देशभर प्रि–मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरु भएको प्रि–मनसुन तीन महिनासम्म रहनेछ । प्रि–मनसुनको अवधि मार्च, अप्रिल र मेसम्म रहने, त्यसपछि मनसुन सुरु हुने उनले बताए । प्रि–मनसुनको समयमा दिउँसो मेघगर्जन/चट्याङ्का साथै हावाहुरी र असिना पानीको सम्भावना रहने मौसमविद्ले बताएका छन् । यस मौसमी प्रणालीका समयमा स्थानीय वायुको प्रभाव धेरै हुने गरेको बताइएको छ । स्थानीय वायुको प्रभावका कारण आज दिउँसो पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिए । उनका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । यस वर्ष हिउँदमा १४ वर्षयताकै कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिउँदयाम सकिने बेलामा केही दिनअघि काठमाडौं, पोखरासहित केही ठाउँमा हल्कादेखि सामान्य वर्षा भएको थियो । यस वर्षको हिउँदमा उच्च पहाडी र हिमाली जिल्लामा न्यून हिमपात भएको विभागले जनाएको छ ।