विकासन्युज

पाँच प्याकेजको व्यवस्था हटाए निर्माण व्यवसायीहरू आन्दोलनमा जाने

काठमाडौं । सरकारले एउटा निर्माण कम्पनीले पाँच वटा मात्र ठेक्का पाउने व्यवस्था हटाउने तयारी गरेकोप्रति नेपाल निर्माण व्यवसायी महासंघले विरोध जनाएको छ । महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै विरोध गरेको हो । राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औं बैठकमा सार्वजनिक खरिद नियमावलीको १२ औं संशोधनमा उल्लेख ‘एक निर्माण व्यवसायीले पाँच वटा मात्र ठेक्का लिन पाउने व्यवस्था’ लाई हटाउनुपर्ने आवाज उठेको थियो । ‘समय सापेक्ष रुपमा नियमावलीमा राखिएको उक्त प्रावधानले धेरै भन्दा धेरै काम ओगटी निर्माण कार्यलाई लथालिंग बनाउने परिपाटी लगभग अन्त्य गरी सबै खालका निर्माण व्यवसायीहरूलाई समेत कामको अवसर दिएको जगजाहेर नै छ,’ महासंघकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उक्त प्रावधान लागु भएसँगै परियोजनाहरू समयमै सम्पन्न भएको प्रगति मूल्यांकन समेत सार्वजनिक भइसकेको बताउँदै महासंघले उक्त पाँच प्याकेजको व्यवस्था हटाइएमा देशभरका निर्माण व्यवसायीहरू आन्दोलनमा जान बाध्य हुने समेत बताएकाे छ ।

प्रोफेसनल भिसा एन्ड एजुकेसन सर्भिसेसको कार्यालय थापाथलीमा

काठमाडौं । प्रोफेसनल भिसा एन्ड एजुकेसन सर्भिसेसले नेपाल स्थित आफ्नो मुख्य कार्यालय काठमाडौंको थापाथलीमा शुरुवात गरेको छ । सर्भिसेसले बुधबार एक समारोहको आयोजना गरी कार्यालयको उद्घाटन गरेर सञ्चालनमा ल्याएको हो । कार्यालयको उद्घाटन लोकप्रिय नायिका स्वस्तिमा खड्काले रिवन काटेर गरेकी थिइन् । कार्यक्रममा अनिल केसरी शाह, वर्षा राउत लगायत प्रतिष्ठित व्यक्तिहरुको सहभागिता रहेको थियो । सञ्चालक निशान्त शर्माले सर्भिसेसको यो चौथो शाखा रहेको बताएका थिए । उनले विद्यार्थीहरुलाई सही सूचना दिएर गुणस्तरीय र भरपर्दो आप्रवासन सम्बन्धी शिक्षा दिने काममा सर्भिसेसले महत्वपूवर्ण भूमिका निर्वाह गरेको बताएका थिए । उद्घाटन समारोहमा बोल्दै अनिल केसरी शाहले सर्भिसेसले विद्यार्थीहरुलाई उचित परामर्श दिएर अस्ट्रेलियामा गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि भूमिका निर्वाह गर्ने बताएका थिए । उनले नेपालमा आफूहरुको पुस्ताले राम्रो वातावरण बनाउन सकेको भए नयाँ पुस्ता विदेश जानपर्ने परिस्थिति नआउने बताउँदै नयाँ पुस्ताले राम्रो शिक्षा लिएर नेपाल फर्केर राम्रो गर्न सक्ने बताएका थिए । अस्ट्रेलियाको सिड्नी, क्यानबेरा र हबर्टमा पनि सर्भिसेसको कार्यालय रहेका छन् ।

एभरेष्ट बैंकले एसएमएल इसुजुका गाडी किन्न सजिलै कर्जा दिने

काठमाडौं । लक्ष्मी कमर्शियल भेहिकलस् र एभरेष्ट बैंक बिच एसएमएल इसुजुका गाडीहरु फाइनान्स गर्ने सम्बन्धी सम्झौता भएको छ । एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्शियल भेहिकल्स र एभरेष्ट बैंक बिच एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा एभरेष्ट बैंकका तर्फबाट डिपुटी जेनरल मेनेजर गौरब कुमारले तथा लक्ष्मी कमर्शियल भेहिकल्सका तर्फबाट सेल्स एण्ड अपरेशन डाइरेक्टर कपिल शिवाकोटीले हस्ताक्षर गरेका थिए । यो सम्झौता अनुसार एसएमल इसुजुका ग्राहकहरुले बैशाख १३ गते देखि नै ऋण सुविधा लिन सक्ने जनाईएको छ । बैंकसँग भएको सम्झौता अनुसार लक्ष्मी कमर्शियल भेहिकलसले नेपालमा आयात गरेर बिक्री बितरण गर्ने एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा नेपाल भर रहेका आफ्ना १२४ शाखा कार्यालय मार्फत गाडीको मुल्यको ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने छ । साथै, यस्तो कर्जा बढिमा ७ वर्षसम्मको लागि उपलब्ध हुनेछ । साथै, सर्भिस चार्ज र ब्याजदरमा पनि बैंकले सहुलियत उपलब्ध गराउने उल्लेख गरिएको लक्ष्मी कमर्शियलका बिजेनेश हेड सञ्जय खड्काले जानकारी दिएका छन् । यो सम्झौता पश्चात दुई संस्था बिचको ब्यापार बढाउन सहयोगी हुने र भविष्यमा पनि सहकार्य गर्दै अगाडि बढ्ने बैकका डिपुटी जेनेरल मेनेजर गौरब कुमारले बताए । लक्ष्मी कमर्शियल भेहिकल्सका सबै शाखा कार्यालयहरु, डिलरहरुबाट एभरेष्ट बैंकसँग भएको सम्झौता अनुसार एसएमएल इसुजुका गाडी खरिद गर्ने ग्राहकहरुलाई आवश्यक ऋण लिने प्रकृयामा सहजीकरण गरिने लक्ष्मी कमर्शियलका नेटवर्क हेड इश्वर दहालले बताए ।

जीवन बीमाबारे जानकारी दिन मेटलाईफले ल्यायो कमिक्स भिडियो

काठमाडौं । बीमा प्रदायक मेटलाइफले बिमाको महत्वबारे आम नागरिकलाई जनचेतना जगाउने र शिक्षित गराउने उद्देश्यले नेपालमा ‘हेलो बिमा’ नामक कमिक भिडियो शृङ्खला ल्याएको छ । जीवन बीमा ज्ञानलाई थप पहुँचयोग्य बनाउन र नेपाली समाजमा रहेका बीमा सम्बन्धी बारेमा गलत धारणालाई हटाउनका लागि तीन एपिसोड श्रृंखला सामाजिक सञ्जाल वेबसाइटहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीको अनुसार पहिलो शृङ्खलामा बीमाको आधारभूत कुराहरू, दोस्रो शृङ्खलाले दर्शकहरूलाई बीमामा विभिन्न सेवाहरू र तेस्रो शृङ्खलामा बीमा दाबी गर्ने तरिका, विभिन्न प्रकारका बीमाहरू र उपयुक्त जीवन बीमा कम्पनी कसरी छनौट गर्ने भन्ने बारे जानकारी दिइएको छ । मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले नेपालमा धेरै ग्राहकहरुलाई वीमाले प्रदान गर्न सक्ने लाभ तथा आर्थिक आत्मनिर्भरताको बारेमा जानकारी दिँदे आएको बताए ।

एनएमबि बैंकका नारी बचत खाताका ग्राहकलाई वासिङ मसिन किन्दा २३ प्रतिशत छुट पाइने

काठमाडौं । एनएमबि बैंकका नारी बचत खाताका ग्राहकहरुलाई सामसुङ वासिङ मसिन र माइक्रोवेभ ओभनमा २३ प्रतिशत सम्म छुट पाइने भएको छ । एनएमबि बैंकले एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउन सामसुङसँग साझेदारी गरेको कम्पनीले जनाएको छ । ग्राहकले वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा २३ प्रतिशतसम्म छुट र इएनएमबि मोबाइल एप मार्फत भुक्तानी गर्दा थप १ हजार ५०० सम्म छुट पाइनेछ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

अब नेप्सेमा सबै प्रकारका ऋणपत्र ७ दिनभित्रै सूचीकरण हुने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले अब ७ दिनमै कुनैपनि ऋणपत्र सूचिकरण गर्ने भएको छ । नेप्सेको सोमबार बसेको संचालक समितिको बैठकले धितोपत्र सूचीकरण विनियमावली २०७५ संशोधन गर्ने निर्णय गरेसँगै ऋणपत्र सूचीकृतको समय घट्ने भएको हो । २०७५ सालमा बनेको उक्त सूचीकरण विनियमावली यता बजारमा धेरै कुराहरु परिवर्तन भईसकेको विषयलाई मध्यनजर गर्दै विनियमावली संशोधन गर्ने निर्णय गरेको नेप्सेले जनाएको छ । हाल नेप्सेमा कुनैपनि सेयर तथ ऋणपत्र सूचीकृत गर्ने अधिकतम ३० दिन लाग्छ ।

चितवनमा २२ गतेदेखि औद्योगिक एक्पो सुरु हुँदै

काठमाडौं । चितवन औद्योगिक एक्पो सुरु हुने भएको छ । चितवन औद्योगिक एक्पो बैशाख २२ गतेदेखी २४ गतेसम्म हुने भएको छ । चितवनमा उद्योग संघको आयोजना साझेदारीमा एक्पो प्रदर्शनी हुने भएको छ । उक्त्त प्रदशनी बैशाख २२, २३ र २४ भरतपुरमा हुने आयोजकले जनाएको छ । उक्त प्रदर्शनीमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादनको बृहत प्रदर्शनी हुँदैछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरु रहने गरी आयोजना हुन गइरहेको उक्त प्रदर्शनीको धमाधम स्टलहरु बुकिङ हुन थालेका छन् । यस प्रदर्शनीमा प्रदर्शकको रुपमा सहभागिता जनाउन चाहने उद्योगीले यही १७ गतेसम्म स्टल बुकिङ गरिसक्नुपर्ने आयोजकले जनाएको छ ।

प्रभु बैंकका थकाली कामना सेवा विकास बैंकको सीईओ बने, को हुन् उनी ?

काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) दिनेश थकाली बनेका छन् । हाल प्रभु बैंकमा प्रमुख ब्यापार अधिकृतका रुपमा कार्यरत थकाली कामना सेवा विकास बैंकको सीईओ बनेका हुन् । कामना सेवा विकास बैंकको सञ्चालक समितिले बैंकको सीईओका लागि आन्तरिक रुपमा व्यवसायिक योजना तथा रणनीतिहित माग गरेको थियो । त्यसमा थकाली छनोट भएका हुन् । थकालीले पनि आफू छनोट भएको बताएका छन् । उनले प्रभु बैंकमा राजीनामा दिएर स्वीकृत पनि भइसकेको बताए । ‘प्रभु बैंकमा राजीनामा दिएर स्वीकृत पनि भइसकेको छ, अब बैंकभित्रका केही प्राविधिक विषयहरु व्यवस्थापन गरेर निस्कन्छु, त्यसपछि कामना सेवामा पदभार ग्रहण हुन्छ,’ थकालीले विकासन्युजसँग भने । माघ १५ गतेदेखि कार्यवाहक सीईओका रुपमा चलिरहेको कामना सेवा विकास बैंक अब थकालीले हाँक्नेछन् । अहिले सो बैंकमा विनय दाहालले कार्यवाहक सीईओका रुपमा काम गरिरहेका छन् । थकालीले आफू रणनीतिक र योजनाबद्ध किसिमभन्दा पनि गएर मिहेनतका साथ काम गर्ने प्रकृतिको मान्छे भएको धारणा राखे । चार्टर्ड एकाउण्टेण्ट थकाली सांग्रिला डेभलपमेन्ट बैंकको कामु प्रमुख कार्यकारी अधिकृत भएका थिए । त्यसपछि उनी प्रभु बैंकमा गएका थिए । उनले साढे दुई वर्ष प्रभु क्यापिटलको प्रबन्ध संचालकको जिम्मेवारी समालेका थिए ।  त्रिभुवन विश्व विद्यालयबाट बिजनेस स्टडीमा स्नातकोत्तर गरेका थकाली डेढ दशकदेखि बैंकिङमा सक्रिय छन् ।