दुर्गा प्रसाईंले तिरेनन् आयकर, राजस्व कार्यालयले दियो १५ दिने अल्टिमेटम
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कर बुझाउनका लागि अल्टिमेटम जारी गरिएको छ । आन्तरिक राजस्व कार्यालयले मेडिकल व्यवसायी प्रसाईंलाई आयकर नतिरेको भन्दै १५ दिने अल्टिमेटम दिएको हो । प्रसाईंले सञ्चालन गरेको अस्पताल बिएण्डसी मेडिकल कलेजको आम्दानीको आयकर नतिरेको आन्तरिक राजस्व कार्यालय, भद्रपुर, झापाले जनाएको छ । पटक-पटक पत्राचार, फोन सम्पर्क तथा संकलन भ्रमणका माध्यमबाट आयकर र मूल्यअभिवृद्धि कर दाखिला गर्न आग्रह गर्दा पनि सम्पर्कमा नआएकाले सार्वजनिक सूचना जारी गरिएको कार्यालयले जनाएको छ । उनले बैंक तथा वित्तीय संस्थाकाे कर्जा पनि नतिर्ने अभियान देशभर चलाउदै आएका छन् । उनकाे अगुवाइमा देशका विभिन्न ठाउँमा बैंकका कर्मचारीमाथि ऋणिहरूले हातपात समेत गरेका छन् ।
विलासिताका वस्तु आयातमा कटौती गर्ने विषय राष्ट्रिय सभामा
काठमाडौं । राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीले विलासिताका वस्तु आयातमा कटौती गर्नुपर्ने बताएकी छिन् । बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य कुमारीले आत्मनिर्भर अर्थ व्यवस्थाका लागि विशेष योजना बनाउनुपर्ने बताएकी हुन् । उनले सार्वजनिक यातायातका साधनलाई प्रोत्साहित गर्दै सवारी साधन, इन्धन लगायतका विलासिताका वस्तु आयातमा कटौती गर्नुपर्ने बताइन् । उनले देशमा दिनानुदिन भ्रष्टाचार बढीरहेको भन्दै विचौलिया, भ्रष्टाचारी र दलाललाई पृष्ठपोषण दिने संस्था भत्काउनु जरुरी रहेको बताइन् । ‘दिनानुदिन भ्रष्टाचार बढीरहेको अवस्थामा सरकारले आवश्यक आर्थिक रणनीति अपनाउनुको साथै विचौलिया, भ्रष्टाचारी, दलाललाई पृष्ठपोषण दिने संस्थालाई पनि भत्काउनु जरुरी छ,’ उनले भनिन् । उनले प्रदेश र स्थानीय तहलाई मजबुत बनाउन वित्तीय संघीयता मजबुत हुनु जरुरी रहेको उल्लेख गरिन् । उनले न्युन बजेट विनियोजनका कारण प्रदेश र स्थानीय तहको आर्थिक विकास हुन नसकेको बताइन् ।
विद्युतको तार भूमिगत गर्ने विषयमा प्राधिकरण र भौतिक मन्त्रालयबीच टसल
काठमाडौं । विद्युतको तार भूमिगत (अण्डरग्राउण्ड) गर्ने विषयमा नेपाल विद्युत प्राधिकरण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच टसल देखिएको छ । वि.स २०७६ को फागुन ५ गतेदेखि काठमाडौं उपत्यकामा विद्युतीय तार भूमिगत गर्ने कामको थालनी भएको थियो । तर विद्युतीय तार भूमिगत गर्न शुरुवात गरिएको ४ वर्ष बितिसक्दा समेत पूर्णता पाउन सकेको छैन । विद्युतीय तार भूमिगत गर्ने विषयमा पछिल्लो समय विद्युत प्राधिकरण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागबीच आरोपप्रत्यारोप शुरु भएको छ । भौतिक मन्त्रालयले सडक विभागले बनाएका सडक नबिग्रने गरी तार भूमिगत गर्नेगरी प्राधिकरणसँग सम्झौता गरेपनि सम्झौता अनुसार काम नगरेको भन्दै तार भूमिगत गर्न काठमाडौंका मुख्य सडक खन्ने अनुमति दिएको छैन । सडक विभागले काठमाडौंका मुख्य सडकमा विद्युतीय तार भूमिगत गर्न अनुमति नदिएको भन्दै प्राधिकरण असन्तुष्ट छ । सरकारी निकायहरु विद्युत प्राधिकरण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागबीच नै समन्वय नहुँदा तार भूमिगत गर्ने विषयमा अन्योल बढेर गएको छ । सडक विभागले मुख्य सडक खन्न नदिँदा आयोजनाको म्याद लम्बिँदै गएपनि काम गर्न नसकिएको विद्युत प्राधिकरणले बताएको छ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनअघि प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मलनमा बोल्दै सडक विभागले मुख्य सडकमा तार भूमिगत गर्ने अनुमति नदिएको भन्दै काम अघि बढाउन सकस भएको बताएका थिए । उनले सडक विभागले काठमाडौंको एयरपोर्टदेखि कोटेश्वर, तीनकुने,माईतीघर, रन्तपार्क वरपरका सडकहरुमा अझै तार भूमिगत गर्न नपाएको गुनासो गरे । कार्यकारी निर्देशक घिसिङले प्रधिकरणले पटक–पटक सडक विभागसँग मुख्य सडकमा तार बिछ्याउनका लागि खन्न अनुमति मागेको २ बर्ष बित्न लाग्दा समेत अहिलेसम्म विभागले सडक खन्ने अनुमति नदिँदा आयोजनाको काम तिब्र रुपमा हुन नसकेको आरोप लगाए । उनले सडक विभागले सडक खन्न अनुमति दिनसाथ सबैतिर एकसाथ काम अघि बढ्ने बताए । घिसिङले विभागले मेलम्ची खानेपानीसँगै मिलाएर अनुमति दिने भनेपनि अहिलेसम्म अनुमति नपाएको भन्दै अनुमति पाएको स्थानमा काम भइरहेको बताए । ‘सबैतिर विद्युतीय तार भूमिगत गरेर सबै प्रक्रिया नमिलाएसम्म सडकमा पोल तथा तारहरुसमेत हटाउन नमिल्ने अवस्था भएकाले विभागले तत्काल अनुमति दिन आवश्यक छ, विद्युतीय तार भूमिगत गर्दा मेसिनमार्फत पिडल गर्नुपर्ने सहमति भएपनि काठमाडौंको सडकमा धेरै समस्या रहेकाले डिल गर्न सकिएन,’ उनले भने । उनले विद्युतको तार भूमिगत गरेको ठाउँमा सडक खनेर नै तार भूमिगत गरेको भन्दै डिल गर्न लाग्यो भने ठूलो बिस्फोट हुने बताए । ‘जमिनमुनि खानेपानी,ढल,टेलिकमको पाइपहरु जोगाएर मात्रै डिल गर्नुपर्ने भएको छ, टेकुदेखि सिंहदबारसम्म विद्युत प्राधिकरणको ६६ केभीको केवल जमिनमुनि नै रहेको भन्दै टेकु क्षेत्रमा सुरक्षित रुपमा काम गर्ने भनेर सडक खनेर नै काम भइरहेको छ,’ उनले भने । उनले विद्युत प्राधिकरण र सडक विभाग दुवैले धेरै काम गर्नुपर्ने भएकाले सडक विभागलाई मात्रै दोष दिन नमिल्ने बताए । त्यस्तै, यता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले मंगलबार पूर्वाधार पत्रकार समाजसँगको भेटमा विद्युत प्राधिकरणले सम्झौता अनुसार काम नगरेको भन्दै असन्तुष्ट व्यक्त गरे । उनले प्राधिकरणले दुई सय मिटरको फरकमा सडक खनेर डिल गर्ने भनेपनि अहिले सडक पूरै खानेर विद्युतीय तार भूमिगत गरिरहेको बताए । ‘सडक विभागले सडक चिल्लो बनाएर ढलान गरेपनि खानेपानी र विद्युत प्राधिकरणको कारण विभागले गाली खानुपरेको छ, सडक विभागले सडक बनाएपनि खानेपानी र विद्युत प्राधिकरणको कारण सडकमा खाल्डाखुल्डी बढ्दै गएको छ,’ उनले भने । उनले सडक विभागसँग डिल गरेर सडक तार बिस्तार गर्ने र सडक खनेको ७ दिनमा ढलान गर्ने सहमति भएपनि सम्झौता अनुसार काम नभएको उल्लेख गरे । उनले काठमाडौंमामा होरिजेन्टल डिल गर्नलाई सम्भव नभएको भन्दा प्राधिकरणले सजिलै सकिने बताएको दाबी गरे । उनले सडक खन्न रोक गर्दा उल्टो सडक विभाग र मन्त्रालयले गाली खानुपर्ने अवस्था रहेको बताए । ‘सडक विभागले गरेका ९९ प्रतिशत सडकमा समस्या छैन, काठमाडौं उपत्यकाका बिग्रिएका सडक खानेपानी, विद्युत प्राधिकरणले जथाभावी खनेको कारण समस्यामा रहेको छ,’ उनले भने । प्राधिकरणले २०७६ साल फागुन ५ गते तार भूमिगत गर्नुअघि नै सडक विभागसँग होरिजेन्टल मेसिनको प्रयोग गरी तार भूमिगत गर्ने, सडक खनेको १० दिनमै पुरेर सफा गरिदिने, चाँडै मर्मत गर्ने लगायतका बुँदाहरुमा सहमति गरेको थियो । सोही आधारमा सडक विभागले पनि सबै सडक खनेर तार भूमिगत गर्ने अनुमति दिएको थियो । तर, प्राधिकरणले सम्झौतामा उल्लेख भएबमोजिम सडक सफा नगरिदिएको भन्दै दुई निकायबीच टसल बढ्दै गएको हो । प्राधिकरणले तार भूमिगत गर्नका लागि खनेको सडक र फुटपाथ नपुरिदिने, सडकभर हिलो र धुलो छोडिदिने, तारहरु सडकमाथि नै जथाभावी छोडिदिने गर्नाले पुरानो सहमति कायम हुन नसकेको मन्त्रालयको दाबी छ । प्राधिकरणले सम्झौताअनुसार सडक सफा नगरिदिँदा दुई सरकारी निकायबीच नै टसलजस्तो देखिएको छ । नेपाल विद्युत प्राधिकरणले २०७६ फागुन ५ गतेदेखि काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्ने कार्य अघि बढाएको थियो ।
दाङमा फस्टाउँदै साबुन उद्योग, युवालाई गाँउमै रोजगारीको अवसर
दाङ । बबई गाउँपालिकाको प्रशासनिक केन्द्र रहेको हापुरे बजारमा सञ्चालनमा ल्याइएको साबुन उद्योग फस्टाउँदै गएको छ । यहाँका स्थानीय युवा दयाराम विकले केही समयअघि साबुन उद्योग सञ्चालन गरेका हेन् । रोजगारीको सिलसिलामा भारतको एक साबुन उद्योगमा लामो समयसम्म कामगर्ने अवसर पाएका विकले अहिले आफैले उद्योग सञ्चालन गरी बजारमा साबुन र सर्फ बिक्रीका लागि ल्याएका छन् । उनले आफूले उत्पादन गरेको साबुनले राम्रो बजार पाएको बताए । विकले केही समयअघि एक करोड २५ लाख रुपैयाँको लगानीमा दया उजेली साबुन उद्योग सञ्चालनमा ल्याएका हुन् । उनको उद्योगले लुगा धुने साबुन र सर्फ उत्पादन गरी बजारमा ल्याएको छ । उनले केही समयपछि भाँडा र हात सफा गर्ने झोल उत्पादन गर्ने तयारी गरिएको बताए । उत्पादन गरिएको साबुन र सर्फ बिक्रीमा कुनै समस्या नरहेको विकले बताए । साबुन उद्योगबाट उत्पादन भएका साबुन र सर्फ यहाँका बजारमा बिक्री हुने गरेका छन् । एउटा साबुनलाई ४० रुपैयाँ र एक किलोग्रामको सर्फलाई एक सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ । उनको उद्योगले अहिले तीन जनालाई रोजगारी पनि दिएको छ । उद्योगले सुरुवातमा कमाइ राम्रो गरेको र अहिलेसम्म उद्योगमार्फत नमूना उत्पादन भएको भन्दै सञ्चालक विकले भविष्यमा बजार व्यवस्थापन गर्न सकेको अवस्थामा कमाइसँगै कामदार थप्ने अपेक्षा लिएका छन् । साबुन उत्पादनका लागि कच्चा पदार्थ पकाउनका लागि कराइ र थप दुई मेसिन राखिएको छ । यस्तै सर्फ उत्पादनका लागि दुई मेसिन जडान गरिएको छ । साबुन उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ भने भारतबाट ल्याउने गरिएको छ । उनले कच्चा पदार्थ ल्याउँदा आफूले सास्ती खेप्नुपरेको अनुभव सुनाए । त्यहाँ उत्पादन गरिएका सामान जिल्लाका अन्य बजारमा पनि बिक्री हुने गरेका छन् । रासस
आशा लघुवित्तले कर्मचारीलाई दियो जोखिम तथा असुली व्यवस्थापन सम्बन्धी तालिम
काठमाडौं । आशा लघुवित्तको जोखिम तथा असुली व्यवस्थापनको तालिम सम्पन्न भएको छ । संस्थाले कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने जोखिम तथा असुली व्यवस्थापन तालिम सम्पन्न गरेको हो । उक्त्त कार्यक्रम बैशाख १० गते देखि ११ गते सम्म आयोजित तालिम कार्यक्रममा ५५ वटा शाखा कार्यालयहरुमा कार्यरत शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो । उक्त्त कार्यक्रम संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले उद्घाटन गरेका हुन् । कार्यक्रममा उनले तालिम कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै यस प्रकारका कार्यक्रमले कर्मचारीको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने विश्वास व्यक्त गरे । कार्यक्रममा जोखिम तथा असुली व्यवस्थापन तालिम हरी कुमार सिलवाल तथा श्रवण कुमार सपोर्टका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोख्रेलले प्रशिक्षण दिएका थिए । साथै उक्त कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद अधिकारी लगाएत विभागीय प्रमुखहरु बिजेन्द्र चौधरी ,रबिन खतिवडा, दिपेन्द्र खनाल, प्रदिप श्रेष्ठ तथा राजिव डंगौराले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धी तालीम प्रदान गरेका थिए । साथै, उक्त कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९ को उत्कृष्ट शाखा प्रबन्धक श्री राजाराम यादवलाई प्रसंशापत्र सहित नगद पुरस्कारले सम्मान गरिएको थियो । नेपाल राष्ट्र बैंकबाट ‘घ‘ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘बिपन्नका निम्ति आशा’ भन्ने मुल नाराका साथ ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ७६ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउदै आएको छ । संस्थाको हालसम्म करीब ५ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट १ अर्ब ८८ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलको जमानत जफत
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बारा-२ का उम्मेदवार रमेश खरेलको जमानत जफत भएको छ । निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ । खरेलले दुई हजार ८ सय २९ मत पाएका थिए जुन कुल मतको मात्र ४.१४ प्रतिशत हो । निर्वाचन आयोग नेपाललको अनुसार बारा-२ मा ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ । बारा-२ बाट सत्तागठबन्धनको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव २८ हजार ४१५ मतसहित निर्वाचित भइसकेका छन् ।
‘डीजी पे’मा आवद्ध व्यवसायीले सामाजिक संजालको लागि सस्तोमा भिडियो बनाउन पाउने
काठमाडौं । मोबाइल वालेट कम्पनी डीजी पे र बिनव क्रीएसन् बीच सहकार्यको लागि नयाँ सम्झौता भएको छ । सम्झौता अनुसार डीजी पे सँग आवद्ध हुने व्यवसायीले टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब जस्तो सामाजिक संजालका लागी सुपथ मूल्यमा भिडियो बनाउन पाउने भएका छन् । साथै अन्य व्यापारिक विज्ञापन बनाउँदा पनि विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । सम्झौतापत्रमा बिनव क्रीएसनका महाप्रबन्धक समीर जोशी र डिजी पेका अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन् । नेपालको एक राम्रो अडियो भिडियो प्रोडक्सन् कम्पनीसँग सहकार्य गरि फरक खालको सम्झौतागर्न पाउँदा निकै खुशी लागेको डिजी पेका पाण्डेले बताए । ‘आज भोलि व्यवसायीहरुले आफ्नो सेवा तथा समानहरुको भिडियो बनाएर सामाजिक संजालमा पोस्ट गरी जानकारी दिने र मुनाफा गर्ने चलन बढेको छ, येस्तो स्थितिमा बिनव क्रीएसन जस्तो कम्पनीसँग मिलेर डीजी पे सँग आबद्दित व्यवसायीहरुको लागि निकै कम खर्चमा उत्कृष्ट भिडिओ सस्तो र सुलभ दाममा गर्न सक्ने अवस्था सिर्जना गरेका छौं,’ उनले भने । डीजी पे नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त मोबाइल वालेट कम्पनी हो । यसले अनलाइन र अफलाइन दुबै माध्यमबाट रकमको डिजिटलाइजेनका लागि कार्य गरिरहेको छ ।
दैनिक ३ हजार बढी कमाउँदै फुटपाथका खरबुजा व्यापारी
काठमाडौं । लमही नगरपालिका–४ ठूलो घुम्नाका महिला यतिबेला खरबुजा थारु भाषामा हिनौना भन्ने गरिन्छ बेच्न व्यस्त छन् । एक दिन अगाडि साँझपख बारीमा जाने र बारीमा लटरम्म फलेका खरबुजासँगै तरकारी टिपेर घरमा ल्याउने अनि अर्को दिन बिहान सडक छेउमा गएर बिक्री गर्ने यहाँका किसान महिलाको हिजोआजको दैनिकी हो । यी किसान महिला लमही– गढवासडक खण्डको छेउमा खरबुजा र तरकारी बिक्री गर्न लस्करै बसेका हुन्छन् । राप्ती नदीले छोडेको बगरलाई मलजल गरेर उनीहरुले विभिन्न जातका तरकारी उत्पादन गरेका छन् । तरकारीका साथसाथै यतिबेला ति किसानका बारीमा खरबुजा लटरम्म फलेका छन् । पुस महिनामा रोपेको यो फल चैतमा तयार हुन्छ । लमही नगरपालिका–४ ठूलो घुम्नाका किसान देवकुमारी चौधरीले दुई कट्ठा जमिनमा बगरखेती गरेका छन् । उनको बगर खेतीमा एउटै खरबुजा आठ किल्लोसम्म तौल भएको फलेको छ । उनले ४० रुपैयाँ प्रतिकिलोका दरले बिक्री गरिरहेका छन् । ‘अघिल्लो वर्ष ३५ हजार जति आम्दानी गरेको थिए, यो पटक हेरौँ कति हुन्छ’, उनले भनिन् । सडक छेउमा बसेर व्यापार गर्ने यहाँका किसानले तरकारीको एउटै मुल्य तोक्ने गरेका हुन्छन । सडकको छेउमा बसेर कम्तिमा पनि तीनहजार देखि माथि आम्दानी गर्ने गरेको किसान हरिलाल चौधरीले बताए । एक घर परिवारले आठदेखि १० कट्ठा सम्ममा बगर खेती गर्ने किसानहरु पनि छन् । उनीहरुले मङ्सिर देखि चैत महिनासम्म बगर खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् । मलिलो माटो भन्दा बालुवाको मात्रा बढी भएको जमिनमा यो ‘हिनौना’ फल्ने गर्छ । थोरै लगानीमा पनि राम्रो आम्दानी दिने भएकाले देउखुरीका प्रायः थारु समुदायका किसानले यो खेती गर्ने गर्दछन । बालुमामा फल्ने भएकोले सिँचाई भने अलि बढी गर्नुपर्ने किसानको अनुभव छ । ठूलो घुम्नाकै पुतली चौधरीले खरबुजा बिक्री गरेर अघिल्लो वर्ष १० हजार रुपैयाँ आम्दानी गरेको बताए । ठूलो घुम्नामा झन्डै दुई सय घरधुरी किसानले बगरमा तरकारी र खरबुजा खेती गरेका छन् । राति अन्य गाउँबाट मान्छेहरु आएर चोरेर लग्दिने भएकोले खरबुजाको मौसम नसकिँदासम्म स–साना झुप्रो बनाएर पुरुष भने बगरमै सुत्ने गर्दछन् । रासस