विकासन्युज

मन्त्रालयले निर्माण गरेको अर्गानिक मिनी मार्ट चन्दननाथ सहकारीलाई जिम्मा

कर्णाली । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयद्वारा निर्मित अर्गानिक मिनी मार्ट चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लालाई हस्तान्तरण गरिएको छ । सहकारी मन्त्रालयको ३२ लाख रुपैयाँ लागतमा सुर्खेत विमानस्थलको प्राङ्गणमा निर्माण गरिएको मिनी मार्ट आज भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले चन्दनाथ सहकारीलाई हस्तान्तरण गरे । मन्त्री शर्माले कर्णाली प्रदेश सरकारले लिएको अर्गानिक प्रदेश निर्माण अभियानमा सघाउने सहकारीलाई आवश्यक सहयोग गर्ने नीति लिइएको बताए । उन चन्दनाथ सहकारीले यस क्षेत्रमा राम्रो काम गरेको प्रतिक्रिया दिँदै उच्च प्रशंसा गरे । ‘हामीमा बजेट र योजनामा भन्दा पनि कार्यान्वयनमा समस्या छ, गुणस्तर नियन्त्रण हुन नसक्दा बजार खस्किँदो अवस्था छ, क्षेत्रगत एवं धेरै उत्पादन गर्न सक्छौँ या सक्दैनौँ भन्ने कुरामा ध्यान दिनुपर्नेछ,’ उनले भने । उत्पादनको परिमाण कति हो भन्ने यकिन तथ्याङ्क आवश्यक रहेको भन्दै मन्त्री शर्माले अर्गानिक कृषि उत्पादन र उद्यमीको प्रवद्र्धनमा विशेष जोड दिने जनाए । सहकारी मन्त्रालयका सचिव डा.नरहरि घिमिरेले अर्गानिक कृषि वस्तुले मानव स्वास्थ्यमा पारेको सकारात्मक प्रभावले राम्रो सन्देश प्रवाह भएको बताए । बाहिरबाट आउने कृषि वस्तुलाई प्रतिस्थापन गर्नुपर्नेमा जोड दिँदै सचिव घिमिरेले अर्गानिक कृषि प्रवद्र्धनमा आवश्यक कार्यक्रम अगाडि बढाईने जनाए । मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले आव २०७७/७८ मा कर्णालीमा प्राङ्गारिक कृषिका आधार तयार गरी सरकारले अर्गानिक प्रदेश निर्माण गर्न लिएको अभियानअन्तर्गत नागरिक उड्डयन कार्यालय सुर्खेतको प्राङ्गणमा वार्षिक ६० हजार रुपैयाँ जग्गाको भाडा तिर्ने गरी अर्गानिक मिनि मार्ट निर्माण गरिएको जनाए । यहाँ उत्पादन हुने प्राङ्गारिक कृषिउपजको सङ्कलन, प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले उक्त संरचना निर्माण गरिएको उनले बताए । हस्तान्तरित मार्ट सञ्चालन गरेबापत उक्त सहकारीले मन्त्रालयलाई मासिक १३ हजार ५ सय रुपैयाँ बुझाउनेछ । जुम्लामा दैनिक १ लाख रुपैयाँ र सुर्खेतमा प्रतिदिन ३५ हजार रुपैयाँको कृषि उपज बिक्री हुँदै आएको उक्त सहकारीका व्यवस्थापक ऋषिराम पाण्डेले जानकारी दिए । उनले कर्णालीमा खेत बाँझो राख्न नपाउने नीति ल्याउन प्रदेश सरकारलाई अनुरोध गरे । कर्णालीमा स्याउ, सिमी तथा ओखर विकास बोर्ड गठनले मात्र त्यसको समुचित विकास तथा प्रवद्र्धन हुने व्यवस्थापक पाण्डेको जिकिर थियो । उनका अनुसार चन्दननाथ बहुउद्देश्यीय सहकारी लिमिटेड जुम्लाले काठमाडौँ ३६ अर्गानिक पसललाई कर्णालीका अर्गानिक खाद्य वस्तु तथा फलफूल निर्यात गरेको छ । यहाँको उत्पादनलाई बजारीकरण गर्न र बाँझो जमिनमुक्त प्रदेश बनाउन सकिए वैदेशिक रोजगारका लागि युवा विदेशीनु नपर्ने उनको भनाइ थियो । जुम्लालगायत कर्णालीमा उत्पादित खाद्यबाली क्यानडामा पठाइएको तर अमेरिकामा माग हुँदा पनि पठाउन नसकिएको उनले जनाए । यहाँका नागरिकले भने रातो चामल दिएर सेतो चामल खाने प्रचलन सच्याउनुपर्ने उनले बताए । सहकारीका सुर्खेत प्रतिनिधि विश्वराज खत्रीले कर्णालीका राडीपाखी, कालो काम्लोलगायतका स्थानीय उत्पादन राष्ट्रपति कार्यालयसम्म पुर्याइएको बताए । उनका अनुसार गत वर्ष मोदी सरकारसम्म पनि कर्णालीको उत्पादन पठाइएको थियो ।

दाङमा २ सय टनभन्दा बढी मह बिक्री भएन

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–६ स्थित माधव शर्माले यस वर्ष उत्पादन गर्नुभएको २ टन मह बिक्री भएको छैन । उनी मह बिक्री नहुँदा त्यतिकै थन्काएर राख्नुपर्ने बाध्यतामा परेका छन् । त्यस्तै तुलसीपुर–१५ का किसान आशिष अधिकारीले उत्पादन गरेको ६ टन मह मध्ये साढे २ टन मात्रै बिक्री गरेका छन् । ‘साढे ३ टन मह थन्काएर राखेको छु,’ उनले भने । उनीहरु उदाहरण मात्रै हो । विगत दुई वर्षदेखि दाङमा उत्पादन भएको महले बजार पाउने गरेको छैन । भारतबाट आउने महले गर्दा जिल्लामा उत्पादन भएको महले बजार नपाउने गरेको किसानको गुनासो छ । ‘बिना भन्सार भारतबाट मह आउँछ, भारतबाट आउने कम गुणस्तरको महले हाम्रो मह बिक्री हुने गरेको छैन,’ किसान शर्माले भने । विगतमा मौरीबाट राम्रै आम्दानी गर्ने गरेका किसान पनि पछिल्लो समय यसप्रति भविष्य देख्न छाडेका छन् । कच्चा पदार्थ एक वर्षसम्म पनि नबिग्रिने भएपछि जिल्लामा किसान यो पेसामा आकर्षित थिए तर, उत्पादित महले बजार नपाएपछि भने यो पेसाप्रति भविष्य देख्न छोडेका किसान आशिष अधिकारीको भनाइ छ । ‘यो पेसाप्रति किसान आकर्षित थिए, विगतमा राम्रै आम्दानी थियो, तर, अहिले मह बिक्री नभएपछि पलायन हुने अवस्था छ,’ उनले भने । बिक्री नभए पनि एक वर्षसम्म राख्न सकिन्छ तर, त्योभन्दा बढी समय भएमा मह बिग्रिने समस्या हुन्छ । भारतबाट ल्याइएको मह पातलो हुने भएकाले उपभोक्ताले पनि त्यही मह नै मन पराउँछन् तर, गुणस्तर मह जम्छ, भन्ने कुरा उपभोक्ताले नबुझ्दा त्यही भारतीय मह नै किक्ने गरेको किसानको गुनासो छ । जिल्लामा हाल ५ सय हाराहारीमा मौरी पालक किसान छन् । किसानको सङ्ख्या बढे पनि उत्पादित मह बजारीकरणमा ध्यान नदिनु सरकारको पनि कमजोरी रहेको किसान अधिकारीले बताए । दाङमा मात्रै करिब २ सय टनभन्दा बढी मह बिक्री नभएको उनले बताए । उपभोक्ताले पनि स्थानीय उत्पादन नचिन्दा जिल्लामा उत्पादन भएको महले बजार पाउन नसकेको तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए । ‘जडीबुटी, चरण क्षेत्रमा उत्पादन भएको महले बजार पाउन सकेको छैन, भारतबाट आएको मह सस्तो पनि पाउने र नजम्ने भएकाले पनि उपभोक्तालाई त्यसलाई नै मन पराउने गर्नुहुन्छ, तर, यहाँ उत्पादन भएको गुणस्तर मह किन्नुहुन्न, त्यसले गर्दा पनि समस्या बनाएको छ,’ उनले भने । मह बिक्री नभएपछि किसान समस्यामा परेका छन् । जिल्लाका किसानले मौरी चराउनका लागि बर्दिया, कैलाली लैजाने गर्थे । मह बिक्री नहुने भएपछि खर्च कटौती गर्दै यस वर्ष बाहिर नलगेको किसान शर्माले बताए । किसानको यही कारणले यस वर्ष जिल्लामा मह उत्पादन पनि घटेको छ । यस वर्ष जिल्लामा करिब ३ सय टन मह उत्पादन भएको छ । गत वर्ष जिल्लामा करिब ४ सय ५० टन मह उत्पादन भएको थियो ।रासस

विश्वकै उत्कृष्ट माइक जडान भएको ‘स्टुडियो २१’ सञ्चलानमा

काठमाडौं । काठमाडौंको अनामनगरमा ‘स्टुडियो २१’ सञ्चलानमा आएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि ‘स्टुडियो २१’ औपचारिक रुपमा सञ्चालनमा आएको हो । भारतीय साउण्ड इन्जिनियर अमित जोशी, देवेन्द्र नेपाल, किरण सिंह थापा र मनोज डंगोलको संयुक्त लगानीमा ‘स्टुडियो २१’ सञ्चालनमा ल्याइएको हो । ‘स्टुडियो २१’बाट गीत रेकर्डिङ्ग, मिक्सिङ्ग मास्टरिङ्ग लगायतका म्युजिक सम्बन्धी काम गरिने सञ्चालक किरण थापाले जानकारी दिए । ८ महिनाको अथक प्रयासपछि बुधबारदेखि औपचारिक सञ्चालनमा आएपनि यसअघि आन्तरिक रुपमा काम गर्दै आएको थापाले बताए । ‘सीरुपाते जुङ्गा’ गीतका गायक बाबुल गिरीको संगितकार तथा एरेन्जमा चलचित्र ‘सिटामोल’का लागि ‘सलाम आमा बाबालाई’ बोलको गीत रेकर्डिङ्ग गरेर स्टुडियो २१ औपचारिक उद्घाटन गरिएको उनले बताए । पछिल्लो समय चर्चित गायक÷गायिका थानेश्वर गौतम, अञ्जु पन्त, अनु चौधरी, चक्र बम, निरुता खत्री, उमेश मुस्कान, सुमन ताम्राकार, नवराज कलौनी, पुष्पा बोहरा, टिका पुनले सो स्टुडियोबाट गीत रेकर्डिङ्ग गरिसकेको सञ्चालक थापाले बताए । निकै चर्चित थानेश्वर गौतमको ‘आलिमा भट्ट’, ‘पैसा खाउ’ लगायतका गीत ‘स्टुडियो २१’ बाट रेकर्डिङ्ग र मिक्सिङ्ग मास्टरिङ गरिएको थियो । सो रेकर्डिङ स्टुडियोमा विश्वैक उत्कृष्ट न्यूमन एम १४९ कम्पनीको माइक जडान गरिएको बताइएको । उक्त माइक जडान भएको नेपालको पहिलो स्टुडियो रहेको उनको दाबी छ । स्वर्गीय माइकल ज्याक्सन, लता मंगेश्वर, सोनु निगम, अर्जित सिंह लगायत विश्व प्रसिद्ध गायकहरुले समेत सो माइक प्रयोग गरी गीत रेकर्ड गरेको उनले बताए ।

निजी अस्पतालमा १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार, पार्किङ शुल्क लिए कारवाही

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई कूल शैयाको १० प्रतिशत शैया गरिबीलाई निःशुल्क उपचारका लागि छुट्याउन निर्देशन दिएको छ । याे व्यवस्थासँग सर्बसाधारणालाई केही सुविधा हुने तर निजी लगानीमा सञ्चालित स्वास्थ्य संस्थालाई भने मर्का पर्ने जानकारहरू बताउँछन् । मन्त्रालयका उपसचिव एकदेव खनालले आज सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई परिपत्र जारी गरी विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको दश प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएका हुन् । मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ को दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने भएको व्यवस्थाअनुसार १० प्रतिशत शैया छुट्याई निःशुल्क उपचार गर्नुपर्ने उल्लेख छ । मन्त्रालयले केही दिनअघि गरेको अनुगमनमा धेरै अस्पतालले कूल शैयाको १० प्रतिशत शैया नछुट्याएको पाइएको थियो । यस्तै अस्पतालमा कार्यरत जनशक्तिलाई पनि न्यूनतम तलब दिएको पाइएको उल्लेख गर्दै पूणर् तलब दिनसमेत परिपत्रमा निर्देशन दिइएको छ । मन्त्रालयले अनुगमनका क्रममा स्वास्थ्य संस्थाले सवारी साधन पार्किङको शुल्क उठाएको पाइएको जनाउँदै पार्किङ शुल्क नउठाउन निर्देशन दिएको हो । मन्त्रालयले परिपत्रमा उल्लेख गरिएका कुरा लागू नगरे कारबाहीसमेत गर्ने स्वास्थ्य संस्थालाई जनाएको छ ।

मेरोअटो मोटर र्यालीको तेस्रो संस्करण हुँदै, काठमाडौंदेखि नुवाकोटसम्मको यात्रा

काठमाडौं । मेरोअटो मोटर र्यालीको तेस्रो संस्करण वैशाख १५ र १६ गते आयोजना हुने भएको छ । विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको मोटर र्याली यो वर्ष काठमाडौंबाट नुवाकोट दरबार क्षेत्रसम्म हुनेछ । मेरोअटो डटकमले आयोजना गर्दै आएको यस मोटर र्याली मुख्यतया हाइवे ड्राइभिङ, आन्तरिक पर्यटन विकास, ड्राइभ टुरिजम र ब्यवसायीक नेटवर्किङ विस्तारको लागि सहयोगी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । लक्ष्मी हुन्डाई र बीवाइडीसँगको सहकार्यमा हुन लागेको र्यालीमा विभिन्न ब्राण्डका ५० भन्दा धेरै कार र १०० भन्दा धेरै सहभागि रहने आयोजकले जानकारी दिएको छ । र्यालीको तयारी पुरा भएको जानकारी दिँदै अटोमोटीभ्स प्रालिका निर्देशक उज्वल घिमिरेले भने, ‘हाम्रो लक्ष्य नेपालमा ड्राइभ टुरिजम विकासमा सहयोग गर्ने र सुरक्षित ड्राइभिङलाई प्राथमिकता दिने हो । यसमै आधारित रहेर ¥यालीको तयारी गरेका छौं ।’ घिमिरेको अनुसार र्याली काठमाडौंको नक्सालबाट टोखा, शिवपुरी, छहरे हुँदै ऐतिहासिक नुवाकोट दरवार पुगेर बट्टारस्थित सिद्धार्थ होटल वाटर टावरमा पुगेर समापन हुनेछ । शुक्रबार दिउँसो १ बजे सुरु हुने र्यालीको समापन भने शनिबार गरिने उनले बताए ।

महालक्ष्मी विकास बैंकले विद्यार्थीलाई दियो स्कुल ब्याग

काठमाडौं । महालक्ष्मी विकास बैंकले जुनकिरी पब्लिक विद्यालय साँखुमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत झोला वितरण गरेको हो । बैंकले राउन्ड टेबल नेपालको एक हजार विद्यार्थीहरुका लागि प्रदान गर्न लागेको छात्रवृत्री कार्यक्रमसँग सहकार्य गर्दै उक्त सहयोग गरेको हो । बालबालिकालाई शिक्षाको अवसर सँगसँगै अध्यापनका लागि आवश्यक शैक्षिक सामाग्रीहरु मध्ये झोलाको सुविधा पुर्याउने उदेश्यले बैंकले उक्त सहयोग गरेको जनाएको छ । राउन्ड टेबल नेपालले विगत ३३ वर्षदेखि शिक्षाको पँहुचबाट पिछडिएका करिब दुई लाख बालबालिकाहरुको लागि नेपालभर ५८ विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको छ ।  

४६३ जनाले लिए सगरमाथा आरोहणको अनुमति, ७४ करोड राजश्व संकलन

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि चार सयभन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आजसम्म ४२ आरोही समूहका चार सय ६३ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका हुन् । पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाका अनुसार अब दुई/तीन जना नेपाली र केही विदेशी सगरमाथा आरोहणको अनुमति लिने प्रक्रियामा छन् । समग्रमा यो वर्षको वसन्त ऋतुमा करिब चार सय ७० आरोहीले अनुमति लिने विभागको अनुमान रहेको छ । अनुमति लिएका आरोही अहिले सगरमाथाको आधार शिविर र दोस्रो शिविरमा आरोहणको प्रतीक्षामा छन् । सगरमाथाको चौथो शिविरसम्म आइसफल डाक्टरले बाटो बनाइसकेका छन् । सगरमाथाको चुचुरोमा डोरी टाँगेपछि आरोहण सुरु हुन्छ । सरकारले सगरमाथा आरोहण अनुमतिबाट मात्रै ७३ करोड ७४ लाख राजस्व सङ्कलन गरेको छ । रासस

कर्मचारीलाई तलबभत्ता नै दिन नसक्ने अवस्थामा छैनौं : अर्थमन्त्री

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रसेवक कर्मचारीलाई तलबभत्ता नै दिन नसक्ने अवस्था नरहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्ताे बताएका हुन् । ‘साधारण खर्चको अहिलेको स्थिति हेर्दा तलबभत्ता नै दिन नसक्ने अवस्था होइन, सबैले तलबभत्ता पाउँछन्, यस्तै सामाजिक सुरक्षा भत्ता घटाउन थाल्यो भनेर प्रचार भएको छ त्यो होइन,’ उनले भने । उनले तलब र सामाजिक सुरक्षा भत्ता बाहेकका साधारण खर्चभित्र पनि गाडी, फर्निचर मसलन्द लगायतका खर्च घटाउनेतर्फ लागिएको बताए । यस्तै, उनले विगतमा जग्गाको कित्ताकाट रोकिँदा पुँजी चलायमान हुन नसकेको, सेयर बजार घटेको लगायत कारणले पनि अर्थतन्त्रमा शिथिलता थपिएको बताका छन् ।