विकासन्युज

नेपाल बैंकले बनाएर हस्तान्तरण गर्यो चैनपुरमा विद्यालय

काठमाडौं । नेपाल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालय भवन निर्माण गरी हस्तानतरण गरेको छ । बैंकको आर्थिक सहयोगमा बारा जिल्ला परवानीपुर गा.पा. वडा नं. ४, चैनपुरमा निर्माण गरिएको विद्यालय भवन शुक्रबार सम्बन्धित निकायलाई हस्तानतरण गरिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत९सीइओ० कृष्ण बहादुर अधिकारी तथा परवानीपुर गा।पा। का अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीबाट संयुक्त रुपमा ताम्रपत्र अनावरण गरी उक्त विद्यालय भवन हस्तान्तरण गरिएको हो । उक्त समारोहमा बैंकका सीइओ अधिकारीले बैंकले विभिन्न क्षेत्रहरुमा छरिएर रहेको निक्षेप संकलन गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुका साथै देशको आर्थिक विकासमा योगदान गर्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व समेत जिम्मेवार ढंगले बहन गरिरहेको बताएका थिए । २०७५ चैत्र १७ आईतबार बेलुका हावा हुण्डरीले बारा जिल्ला परवानीपुर गाउँपलिका वडा नं. ४, चैनपुरमा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा पुर्ण रुपमा क्षति पुगेको थियो ।

तलब खुवाउन नसकेपछि प्राधिकरणले हटायो करारका कर्मचारी, ६ महिनाको तलब बाँकी

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले करारका कर्मचारीलाई हटाएको छ । प्राधिकरणले करारका कर्मचारीलाई तलब खुवाउन सकस परेपछि कर्मचारीलाई हटाएको हो । प्राधिकरणका अनुसार स्रोत सुनिश्चित भएका करार कर्मचारीलाई राखेर अन्य कर्मचारी सबैलाई हटाइएको छ । प्राधिकरणले करारका कर्मचारीको भुक्तानी समेत नगरी कर्मचारी हटाएको बुझिएको छ । करिब ३/६ महिनाको भुक्तानी बाँकी राखी करारका कर्मचारीलाई बिदाइ गरेको प्राधिकरणको स्रोतले बताएको छ । ‘प्राधिकरणले कर्मचारीका केही महिनाको भुक्तानी बाँकी राखि बिदाइ गरेको छ, अहिले सरकारले कर्मचारीको नै तलब खुवाउन नसकी रहेको अवस्था छ, यस्तो अवस्थामा कर्मचारीलाई तलब नखुवाई कममा राख्नु भन्दा बिदाइ गर्नु नै उपयुक्त ठानी हटाएका हौं,’ स्रोतले भन्यो । स्रोतका अनुसार प्राधिकरणले हटाइएका कर्मचारीलाई असारसम्ममा तलब दिने प्रतिबद्धता छ । सरकारले कर्मचारीलाई तलब खुवाउन सकस परेपछि धमाधम एकपछि अर्का निकायका करारका कर्मचारीले जागिर गुमाइरहेका छन् । प्राधिकरणले करारका केही कर्मचारीलाई तलबको मेसो मिलाउन नसकेपछि हटाएको काठमाडौं उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले बताइन् । ‘हामीले उहाँहरूलाई तलब दिन नसक्ने भयौं, थप भएर तलब आउने अवस्था होला नहोला भनेर करार कर्मचारी हटाएका हौं,’ उनले भनिन् । करार दक्ष जनशक्ति नहुँदा काममा समस्या हुने पनि ढकालले बताइन् । त्यसैले बजेट ब्यवस्थापन गरि केही समय पछि कर्मचारी नियुक्ती गर्ने पनि जानकारी दिइन् । उनले पनि केही अस्थायी कर्मचारीको तलब भुक्तानी हुन बाँकी रहेको कुरा उल्लेख गरिन् । तलब नदिई हटाएका करारका कर्मचारी रकम भुक्तानी गर्न बजेटको माग गरेको पनि ढकालले जानकारी दिइन् । यस्तै, जिल्ला आयुक्त काठमाडौंका प्रमुख जगदिश लामिछानेले तलब दिन सक्ने रकम नभए उपलब्ध नभए पछि करार कर्मचारी हटाइएको बताए । उनका अनुसार करिब १०/१५ जना करारका कर्मचारीलाई हटाइ सकिएको छ । उनले पनि स्रोत व्यवस्थापन भएका कर्मचारीलाई राखेर बाँकी अस्थाई कर्मचारीलाई हटाइएको बताए । करार कर्मचारी अटाएपछि जिल्ला आयुक्त कार्यलयमा काठमाडौंमा २/३ जना मात्र करार कर्मचारी कार्यरत रहेको लामिछानेले जानकारी दिए । लामो समय विति सक्दा पनि केही कर्मचारीको तलब दिन नसक्दा पछि रकम भुक्तानी गर्ने शर्तमा करार कर्मचारीलाई हटाउनु पर्ने बाध्यता आइलागेको लामिछानेले बताए । तलब खुवाउने बजेटको व्यवस्थापन भएपछि उनीहरूलाई पुन नियुक्त गर्ने पनि लामिछानेले जानकारी दिए ।

तीन पुस्ते कलाकारको सामुहिक चित्रकला प्रर्दशनी

काठमाडौं । तीन पुस्ते कलाकारको सामुहिक चित्रकला प्रर्दशनी सुरु भएकाे छ । २५६७ औं बुद्ध जयन्तिको अवसरमा नेपाली कला आकाशको तीन पुस्ता कलाकारहरुद्वारा सृजना गरिएका कलाकृतिको  सामुहिक प्रर्दशनी ३ जेनेरेशन अन्डर द फुल मुन शीर्षकमा यहि बैशाख २२ गते सम्पन्न भएको हाे । उक्त प्रर्दशनीको उद्घाटन नेपालका लागि जर्मन राजदुत डा. थोमस प्रिन्ज र नेपाल जर्मन चेम्वर अफ कमर्स एण्ड ईन्डष्ट्रिजका अध्यक्ष सन्तोष कुंवरद्वारा संयुक्त रुपमा मोक्षको विन्स हर्स ग्यालरी, झम्सीखेलमा गरेका थिए । प्रर्दशनी जेठ १२ सम्म रहनेछ । प्रर्दशनीको संयोजन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व संस्थापक कुुलपति किरण मानन्धरले गर्नु भएका थिए भने कलाकार संयोजन प्राज्ञ सुषमा राजभण्डारीले गरेका थिए । प्रर्दशनीको अवधारणा र शिर्षक कलाकार उमेश श्रेष्ठले गरेका थिए । प्रर्दशनीमा पहिलो पुस्ताका कलाकारहरु कलाकारहरु किरण मानन्धर,विजय थापा, गोविन्दलाल सिं डंगोल, कृष्ण मानन्धर, श्यामलाल श्रेष्ठ, गौतमरत्न तुलाधर, विपिन घिमिरे, आईविमल्ल, राधेश्याम मुल्मी, शशी शाह, रागिनी उपाध्याय दोस्रो पुस्ताका कलाकारहरु हरिजंग बमजम, एससीसुमन, डा.सिमा शाह, सुषमा राजभण्डारी, उमाशंकर शाह, उमेश श्रेष्ठ तथा तेस्रो पुस्तका कलाकारहरु अनिता भट्टराई,गौरव तुुलाधर, कौशल श्रेष्ठ,प्रविन श्रेष्ठ, राजेश मर्हजन, रत्न शाक्य, शंकर श्रेष्ठ, सुर्य दुराज, सुष्मिता कंवरका चित्रहरु प्रर्दशनीमा रहेका छन् ।

पूर्वगृहमन्त्री खाँणसहित १२ जनालाई ४ दिनको म्याद थप

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरिएको १२ जनालाई ४ दिनको म्याद थप भएको छ । काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित हालसम्म पक्राउ परेका १२ जनालाई थप अनुसन्धानका लागि ४ दिनको म्याद थप गरेको हो । गत बुधबार नेपाल प्रहरीले नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई खाँणको निवास चाबहिलबाटै पक्राउ गरेको थियो । पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, ललितपुर महानगरपालिका, २३ का सानु भण्डारी, एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी समातिइसकेका छन् । यस्तै, सोही प्रकरणमा प्रहरीले मोरङको पथरी शनिश्चरे नगरपालिका, १० का केशवप्रसाद दुलाल, पाँचथरको फिदिम नगरपालिका ७ का टंककुमार गुरुङ, दाङका सन्देश शर्मा र मोरङको पथरी शनिश्चरे नगरपालिका, १० का पूर्ववडाध्यक्ष सागर राई, काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी पक्राउ परिसकेका छन् । सोही प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले खोजी गरिरहेको छ ।

सरकारको नीति तथा कार्यक्रम जेठ ५ गते

काठमाडौं । सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम जेठ ५ मा ल्याउने तयारी गरेको छ । आईतबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जेठ ५ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे छलफल भएको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जेठ ५ मा नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी भएको बताए । संविधानको धारा ९५ मा संघीय संसद्का दुवै सदनमा सम्बोधन गरी राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्नुपर्ने हुन्छ । सोही नियम अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा नीति तथा कार्यक्रम सम्बोधनको तयारी गरेका छन् ।

हेटौँडा उपमहानगरले माग्यो बजेटमा सुझाव

हेटौँडा । हेटौँडा उपमहागनरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि जनस्तरबाट सुझाव माग गरेको छ । यसका लागि उपमहानगरले क्यूआर कोड सार्वजनिक गरेको छ । उपमहागनरपालिकाले सुझाव सङ्कलन गर्नका लागि सबै नागरिक कार्यालयमा उपस्थित हुन नभ्याउने भएकाले क्यूआर कोड सार्वजनिक गरेको छ । ‘हेटौँडा नगरको विकासका गर्नका लागि साझा गन्तव्य र प्राथमिकता चयन गर्नुपर्ने भएकाले आगामी नीति तथा कार्यक्रम तथा बजेटप्रति नगरवासीको धारणा एवं महत्वपूर्ण सुझाव क्यूआर कोडमार्फत सङ्कलन गर्ने निर्णय लिएको छ’, सूचनमा भनिएको छ । उपमहानगरपालिका प्रमुख मीना लामाले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनमा जोड दिने बताए । उपमहानगरले हाल विभिन्न चरणमा विभिन्न विषयगत समिति, शाखा र महाशाखाबाट बजेट निर्माणका विषयमा छलफल गरिरहको छ । रासस

पाथीभरा जाने पदमार्गमा ‘फाइबरको छहारी’

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको पदमार्गमा फाइबर ट्रस छाहारी लगाइएको छ । पाथीभरा मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउने उद्देश्यले पदमार्गमा ट्रस लगाइएको हो । हिमपात र वर्षाको समयमासमेत तीर्थयात्रीलाई यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले चार मिटर लम्बाइको ट्रस लगाउन सुरु गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । यसका लागि कोशी प्रदेशको पर्यटन मन्त्रलयबाट ५० लाख रुपैयाँ र पाथीराभरा क्षेत्र विकास समितिको ४० लाख रुपैयाँ गरी ९० लाख रुपैयाँ खर्च हुने भएको उनको भनाइ छ । पाथीभरा पदमार्गमा गत तीन वर्षदेखि क्रमिकरुपमा ट्रस लगाउन सुरु गरिएको हो । यसअघि पाथीभरा मन्दिरदेखि छ सय मिटरसम्म फाइबर ट्रस लगाइसकिएको छ भने अहिले चार सय मिटरका लागि काम भइरहेको हो । यस्तै पदमार्ग सोलिङ गरिएको छ भने दायाँबायाँ रेलिङ लगाएको छ  पदमार्गमा शौचालय, खानेपानीका धारा, विश्रामस्थललगायतका संरचनासमेत निर्माण भइरहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभरा धामदेखि माथिल्लो फेदी बजारसम्मको दुई किलोमिटर दूरीमा ट्रस लगाउने योजना छ । पाथीभरा धाम तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेकाले हिउँद मौसममा बाक्लो हिमपात हुने गरेको छ । पाथीभरा दर्शनमा आन्तरिक तथा बाह्य गरी वर्षमा लाखौँ तीर्थयात्री आउने गरेका छन् । पाथीभरा जाने पदमार्गमा फाइबर ट्रस लगाएसँगै हिमपात र वर्षा हुँदा तीर्थयात्री सहज हुने भएको छ । रासस

अगरबत्ती बेचेर जीविकोपार्जन गर्दै दृष्टिविहीन दम्पती

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मुक्तकमैया बस्तीका इन्द्र राना र उनकी श्रीमती इनावरी राना पाँच वर्षयता अगरबत्ती बिक्री गरेरै जीविकोपार्जन गर्दै आएका छन् । दृष्टिविहीन दम्पती अगरबत्ती बिक्री गर्न कञ्चनपुरदेखि झापासम्म पुग्ने गरेका छन् । मुक्तकमैया राना दम्पतीलाई सरकारले पाँच कठ्ठा जमिन उपलब्ध गराएको छ । तर जग्गाबाट आम्दानी भने केही गर्न सकेका छैनन् । आर्थिक अवस्था निकै कमजोर भएपछि इन्द्र र इनावरी पछिल्लो समय अगरबत्तीको व्यापार गर्न थालेका छन् । त्यसैबाट हुने आम्दानीको भरमा उनीहरुले जीविका चलाएका छन् । डाँफे अगरबत्ती उद्योगबाट अगरबत्ती लिएर बिक्री गर्न देशभर जाने गरेको इन्द्रले बताए । ‘दैनिक रु चारहजारदेखि रु पाँच हजारसम्मको अगरबत्ती बिक्री हुन्छ’, महेन्द्रनगर बजारमा अगरबत्ती बिक्री गर्दैगरेको अवस्थामा भेटिनुभएका उनले भने–’आर्थिक अभावका कारण इनावरी श्रीमतीलाई पढाउन सकिन ।’ इनावरीले कक्षा १२ मा पढाइ छाडेको इन्द्र बताउँछन् । यसअघि इन्द्रले केहीवर्ष घर नजिकैको झलारी बजारमा माछाको पसलमा काम गरेका थियो । त्यहाँ उनले माछा काटकुटको काम गर्थे । त्यसैवापतको पारिश्रमिकबाट राना दम्पतीले घरखर्च चलाएका थिए । सुरुआतमा इनावरीले अगरबत्ती बिक्री गर्न थालेका हुन् । पछि उनीसँगै इन्द्रले पनि अगरबत्ती बिक्री गर्न थाले । ‘उद्योगले बिक्री भएको अगरबत्तीको २० प्रतिशत मुनाफा हामीलाई दिने गरेको छ’, इन्द्रले भने– ‘दिनभरी बजार र दैलोदैलोमा अगरबत्ती बिक्री गर्र्छु, साँझ नजिकैको धर्मशालामा रात कटाउने गरेको छु ।’ धेरैले शारीरिक अशक्तता देखेरै पनि अगरबत्ती खरिद गर्ने उनले अनुभव सुनाए । दृष्टिविहीन भएपनि आत्मनिर्भर बन्नकै लागि अगरबत्ती बेच्ने गरेको इन्द्रको भनाइ छ । ‘केही काम नगरी सुखै छैन, बाँच्नका लागि केही न केही त गर्नै पर्यो’, रानाले भने–’अगरबत्ती बेच्न जाँदा डोर्याउने व्यक्तिको व्यवस्था पनि उद्योगले नै गरिदिएको छ ।’ महेन्द्रनगरमा भने इन्द्र आफ्ना १३ वर्षीय भतिजा आर्यनको सहारामा आएका थिए । अगरबत्ती बेच्न इन्द्र झापा, धरान, विराटनगर, काठमाडौं, धनकुटालगायत सहर पुगिसकेका छन् । हाल इनावरी अगरबत्ती बेच्न काठमाडौं गएका उनले बताए । ‘म महेन्द्रनगर आएँ, इनावरी काठमाडौंतर्फ लागिन, म पनि छिट्टै अगरबत्ती लिएर काठमाडौं जाँदै छु ।’ राना दम्पतीको मुक्तकमैया शिविरमा सानो घर छ । घर रेखदेखको जिम्मा दुई छोरालाई लगाएर दुवैजना अगरबत्ती बिक्री गर्न देश दौडाहामा निस्कने गरेका छन् । आर्थिक अभावकै कारण दुवै छोरालाई पढाउन नसकेको उनीहरु बताउँछन् । दृष्टिविहीन दम्पतीले कुनै पनि निकायबाट हालसम्म सहयोग नपाएको गुनासो गरे । स्थानीय तहबाट आयआर्जनको काम पाउन सके सहज हुने राना दम्पती बताउँछन् । दिनभरी अगरबत्ती बिक्री गर्दा पाँच सय रुपैयाँसम्म कमाउने गरेको इन्द्र बताउँछन् । ‘अगरबत्ती उद्योगले एक छाक खानाको खर्च दिन्छ’, उनले भने–’यसबाट जेनतेन गुजारा चलेको छ ।’ एक प्याकेट अगरबत्तीको मूल्य ५० देखि एक सय ५० रुपैयाँसम्म रहेको छ । रासस