डिग्रीसँगै सीप र दक्षता प्रदान गर्दै आइआइएमएस कलेज
काठमाडौं । सन् २०१० मा आइआइएमएस कलेज सविन्द्र महर्जनसहित पाँच जनाको समूहले स्थापना गरेका थिए । कलेजले शुरुवातमा भारतको पंजाबमा रहेको लभ्ली प्रोफेसनल युनिभर्सिटीबाट सम्बन्धन लिएको थियो । कलेजका सीइओ महर्जनका अनुसार शुरुवातमा कलेजले बिबिए, एमबिए र बिसिएस आइटी विषयहरुको पठनपाठन सञ्चालन गर्यो । सन् २०१६ मा आइपुग्दा विश्वविद्यालयले आफ्नो मुलुकभन्दा बाहिरका कलेजहरुलाई सम्बन्धन नदिने नीति लिएपछि आइआइएमसका सञ्चालकहरुले मलेसियाको लिंकन युनिभर्सिटी कलेजसँग बिबिए र एमबिएको स्वीचिङ गरेर लिंकन इन्टरनेशनल कलेज शुरुवात गरे । त्यस्तै, आइआइएमस कलेजमा चाहिँ मलेसियाकै युसिएसआई युनिभर्सिटी बिएचएम र बिआइटी कार्यक्रम सम्बन्धन लिएर शुरुवात गर्ने काम भयो । सन् २०२१ मा फेरि आइआइएमसले युसिएसआई विश्वविद्यालयको सम्बन्धन छाडेर मलेसियाकै टेलर्स विश्वविद्यालयमा स्वीचङ गरेर बिसिएस आइटी र बिएचएम कार्यक्रम सञ्चालन गर्दै आएको छ । टेलर्स युनिभर्सिटीले विश्वमा गुणस्तरको उच्च श्रेणी पनि प्राप्त गरेको छ । जुन विश्वविद्यालय हस्पिटालिटी म्यानेजमेन्ट कार्यक्रममा १६ औं स्थानमा रहेको सीइओ महर्जन बताउँछन् । आफूहरुले गुणस्तरीय शैक्षिक कार्यक्रम सञ्चालन गर्नकै लागि सो विश्वविद्यालयमा स्वीचिङ गरिएको उनले बचाए । आइआइएमसले टेलर्स युनिभर्सिटीबाट सम्बन्धन लिएर बिएचएम र बिसिएस कार्यक्रम सञ्चालन गरिरहेको छ । स्वीडेनबाट आइटीमा स्नातकोत्तर तहको अध्ययन सकेर फर्किएका महर्जनले त्यसभन्दा अगाडि पनि विभिन्न कलेजहरुमा अध्यापन गर्ने काम शुरु गरिसकेका थिए । पहिलेदेखि नै शैक्षिक क्षेत्रमा रुची राख्दै आएका र विदेशमा स्तरीय विश्वविद्यालय र कलेजको अवस्था देखेका उनीसहित केही साथीहरुले नेपालमा नै स्तरीय कलेज सञ्चालन गर्ने सोँच बनाए । सोही सोँचका आधारमा नै आइआइएमएस कलेज स्थापना भएको हो । सीइओ महर्जनसहित ५ जनाको समूह रहेकोमा केही व्यक्तिहरु परिवर्तन भएपनि अधिकांश भने अहिले पनि व्यवस्थापन समूहमा कायमै रहेका छन् । कलेजले विषयगत आधारमा भिन्न–भिन्न विभाग र नेतृत्व जिम्मेवारीको बाँडफाँड गरेर शैक्षिक कार्यक्रम सञ्चालनको अभ्यास गरेको छ । सीइओ महर्जनका अनुसार कलेजले डिग्री बाँड्ने भन्दापनि सिप र दक्षता प्रदान गर्नेगरी पठनपाठन गर्ने गर्छ । कलेज सञ्चालनको शुरुवात समय सन् २०१० तिर झण्डै एकसय भन्दा कम विद्यार्थीबाट शुरु भएको कलेजमा अहिले झण्डै १५ सय भन्दा धेरै विद्यार्थीले पढ्ने गरेका छन् । पछिल्लो समयमा अन्य कलेजमा विद्यार्थी संख्या घट्दै गएपनि आइआइएमएसमा भने विद्यार्थी संख्या बढ्दै गएको छ । कलेजमा विद्यार्थी संख्या बढ्दै जानुमा शिक्षाको गुणस्तर नै मुख्य रहेको सीइओ महर्जनको धारणा छ । ‘हामीले विद्यार्थीलाई नै ब्राण्ड एम्बेस्डरको रुपमा बुझ्ने गर्छौं, हामीसँग भएका विद्यार्थीहरुलाई नै गुणस्तरीय शिक्षा दिन सक्दा नै कलेजमा अध्ययनको लागि थप विद्यार्थी आउँछन्’, उनले भने, ‘अर्को विषय भनेको अहिलेका विद्यार्थीहरु किताबको पढाइ भन्दा बाहिर गएर धेरै नयाँ कुरा एक्सप्लोर गर्न खोज्छन्, सोही ढंगको शैक्षिक क्रियाकलाप गर्न सक्दा नै कलेजको सकारात्मक विषय विद्यार्थीहरुमाझ पुगेको हो ।’ उनका अनुसार कलेजमा अध्ययन गर्न आउने नयाँ विद्यार्थीहरुको ठूलो संख्या विद्यार्थीले नै सिफारिस गरेका आधारमा आउने गर्छन् । शैक्षिक गुणस्तर कायम गर्ने विषयमा विश्वविद्यालयको पनि महत्वपूर्ण भूमिका रहेको छ । किनकी विद्यालयको सञ्चालन, व्यवस्थापन, गुणस्तर र नियमित अनुगमनमा विश्वविद्यालयले तालिकावद्ध उपस्थिति जनाउने गर्छ । पूर्व तालिकामा पुरै कक्षाको पढाई टेलर्स विश्वविद्यालयले एउटा तह अन्तर्गत हुने शैक्षिक कार्यक्रम, परीक्षा तालिका र नतिजाको विषयमा अग्रिम क्यालेन्डर नै निर्माण गरेको हुन्छ । जसकारणले आइआइएमएसमा कुनै विषयमा अध्ययन प्रारम्भ गरेको विद्यार्थीले आफ्ना परीक्षाहरु कुन–कुन मितिमा हुन्छन र नतिजा कहिले आउँछ भन्ने तालिका समेत शुरुमै प्राप्त गर्छ । जुन सुविधा सामान्यतया नेपालका कुनैपनि विश्वविद्यालयले अहिलेसम्म शुरुवात गर्न सकेका छैनन् । कलेजले पढाउने बिसिएस (ब्याचलर अफ कम्प्युटर साइन्स) चारवर्षे कोर्ष हो । विश्वविद्यालयको मापदण्ड अनुसार यो कोर्षलाई वर्षमा तीनवटा सेमेस्टर बनाएर पढाउने गरिएको छ भने अन्तिम वर्षमा विद्यार्थीहरुले परियोजना र इन्टर्नसिपको गर्नुपर्ने हुन्छ । सिइओ महर्जनका अनुसार सो कोर्षमा चारवटा विशेष कोर्षहरु रहेका छन् । जसमा, साइबर सेक्युरिटी, एआई, डाटा साइन्स र मोबाइल कम्प्युटिङ छन् । तर, विद्यार्थीहरुले कलेजमा भर्ना हुनेवित्तिकै भने विशेष कोर्ष रोज्नुपर्दैन । पहिलो वर्ष विद्यार्थीहरुले साधारण कोर्षहरु अध्ययन गरेर दोस्रो वर्षबाट विशेष कोर्ष छान्न सक्छ । जसले गर्दा विद्यार्थीहरुलाई विषय रोज्न पनि सजिलो हुने गरेको सिइओ महर्जन बताउँछन् । त्यस्तै, बिएचएम अर्थात (ब्याचलर अफ हस्पिटालिटी म्यानेजमेन्ट) कोर्षको अध्ययन पनि वर्षमा तिनवटा सेमेस्टर प्रणालीमा अध्ययन हुने, अन्तिम वर्ष फिल्डमा जानुपर्ने र इन्टर्नसिप गर्नुपर्ने सिइओ महर्जनको भनाइ छ । विश्वमा हस्पिटालिटी म्यानेजमेन्टको अध्ययनमा टेलर्स युनिभर्सिटी १६ औं स्थानमा भएकाले कोर्ष समय सापेक्ष अप टु डेट भइरहने उनले बताए । कलेजको शैक्षिक कार्यक्रम तालिका पनि कलेजमा विद्यार्थी आकर्षण गर्ने एउटा महत्वपूर्ण कारण हुनसक्ने सीइओ महर्जनको भनाइ छ । सैद्धान्तिक पढाइसँगै कलेजले प्रयोगात्मक विषयलाई पनि थप महत्व दिएर सँगसँगै लैजाने गरेको छ । जसको लागि शैद्धान्तिक कक्षाको पाठयोजना निर्माण गर्दा र कार्यान्वयन गर्दा सोसँग सम्बन्धित प्रयोगात्मक कक्षाहरुलाई पनि सँगसँगै सञ्चालन गर्ने गरिन्छ । ‘हामीले कुनैपनि विषयको लेक्चर प्लस टुटोरियल भनेर कम्बाइन नै गरिरहेका हुन्छौं, जहाँ कोर्षसँग सम्बन्धित लेक्चर हुन्छ, टुटोरियलमा घट्ना अध्ययन, सामूहिक छलफल, प्रस्तुती र अतिरिक्त क्रियाकलापमा हुने गर्छ’, सिइओ महर्जनले भने, ‘त्यसैले लेक्चर र टुटोरियलको प्लानिङ गर्दाखेरी हाम्रो प्रत्येक विभागले कुन हप्तामा के गर्ने भनेर पहिले नै परिभाषित गरेर गएको हुन्छ ।’ यो बाहेक विद्यार्थीको व्यक्तित्व विकास र उसको प्राविधिक क्षमतामा वृद्धि गर्नको लागि कलेजले विद्यार्थीहरुको सहभागितामा विभिन्न प्रकारका क्लबहरुको निर्माण पनि गरेको छ । जसमा आइआइएमएस टोस्ट मास्टर क्लब, बी जब क्लब, स्पोट्र्स क्लब लगायतका क्लबहरु छन् । जसमा आइआइएमएस टोस्ट मास्टर क्लबलाई कलेजले कानुनी रुपमा दर्ता नै गरेर सञ्चालन गरेको छ । भने बी जब क्लबले उद्यमीसँग सम्बन्धित क्रियाकलापहरु कार्यान्वयन गर्ने गर्छ । कलेजले ग्रोथ एन्ड डेभ्लोप्मेन्ट सर्भिस भनेर नयाँ विभागीय अभ्यास गरेको छ । जुन विभागले विशेषगरी दक्षता, व्यक्तित्व विकास, लगायत नियमित शैक्षिक कार्यक्रम भन्दा बाहिरको विषयमा ह्यान्डिल गर्छ । कलेजका सीइओ महर्जनका अनुसार अध्ययन अध्यापन क्रियाकलापको सन्दर्भमा कलेजले विद्यार्थीलाई परीक्षा केन्द्रीत गर्दैन । तर, सामान्यतया शैक्षिक क्यालेन्डरमा सहभागी भएका ९० प्रतिशत भन्दा धेरै विद्यार्थीहरु नियमित रुपमा उत्तिर्ण हुने गर्छन् । अधिकांश विद्यार्थीहरु रोजगारीमा आइआइएमएस कलेजमा अध्ययन गर्ने विद्यार्थीहरु मध्ये अधिकांश विद्यार्थीहरु बेरोजगार नभएको कलेजका सीइओ महर्जनको भनाइ छ । उनका अनुसार कलेज अध्ययन गरेको विद्यार्थी मध्ये ९० प्रतिशतभन्दा बढी विद्यार्थीहरु रोजगारमा सहभागी भएका छन् । आइटी विषय अध्ययन गरेका दक्ष कामदारको अहिले विश्वव्यापी रुपमा नै अत्याधिक माग भएको छ भने हस्पिटालिटी म्यानेजमेन्ट सम्बन्धित कामदारहरुको पनि उत्तिकै माग रहेको अवस्था छ । सीइओ महर्जनका अनुसार आइटी अध्ययन गरेका विद्यार्थीहरुमध्ये पहिलो सेमेस्टर पढेर दोस्रो सेमेस्टर शुरु गर्नेबेलासम्म नै झण्डै ९० प्रतिशतले आंशिक रोजगार पाइसकेका हुन्छन् । तर, आइटी गरेकामध्ये अधिकांश विद्यार्थीहरु भने अध्ययन वा रोजगारको लागि विदेश जाने गर्दछन् । त्यस्तै, हस्पिटालिटी म्यानेजमेन्ट विषयको स्कोप भने नेपालमा नै रहको तर, पछिल्लो कोभिड महामारीको कारणले गर्दा भने सो क्षेत्रमा केही प्रभाव परेको महर्जनको भनाइ छ । ‘कतिपयमा के बुझाइ छ भने बिएचम पढ्नु वा हस्पिटालिटी म्यानेजमेन्ट पढ्नु भनेको मैले कुकिङ वेटर मात्रै गर्नु हो, तर हस्पिटालिटी म्यानेजमेन्ट पढ्नु भनेको भिन्न कोर्ष हो’, सीइओ महर्जन भन्छन्, ‘यसमा हस्पिटालिटीलाई स्पेसलाइज्ड गरेर अध्ययन गर्ने कोर्ष हो ।’ आइआइएमएसमा अध्ययन सकिएपछिको विद्यार्थी शुरुको अवस्थाको भन्दा भिन्न व्यक्तित्व भएर निस्कने गरेको सीइओ बताउँछन् । ‘हाम्रो कलेजमा अध्ययन गर्ने विद्यार्थी एकेडेमिक डिग्री नभएर व्यक्तित्व विकासका हिसाबले भिन्न भएर उत्तिर्ण हुन्छ, जस्तै भर्ना हुँदाको विद्यार्थी पछि सकिँदा भिन्न व्यक्तित्व सहित निस्कन्छ’, उनले भने, ‘जसले गर्दाखेरि विद्यार्थीको अध्ययन पछाडि प्लेसमेन्ट पनि राम्रो छ ।’ कलेजले विद्यार्थीहरुलाई रोजगारमा जोडनका लागि आफै पहलमा जब प्लेसमेन्ट कार्यक्रम पनि सञ्चालन गर्ने गर्छ । सोही प्रकृयामार्फत पनि ५० प्रतिशत भन्दा धेरै विद्यार्थी रोजगारमा जोडिने गरेको सीइओ महर्जनको भनाइ छ । त्यस्तै, आइआइएमस कलेजले टेलर्स युनिभर्सिटीसँग सम्बन्धन लिएर कार्यक्रम सञ्चालन गरेकाले कलेजमा पढेका क्रेडिट ट्रान्सफर गर्न चाहने विद्यार्थीहरुले अमेरिका, युके र अस्ट्रेलियका विभिन्न कलेजमा अध्ययनको लागि सो सुविधा पनि लिनसक्छन् । तर, अधिकांश विद्यार्थीहरु कलेजमा पढ्न शुरु गरेपछि कक्षा उत्तिर्ण नहुनेबेलासम्म ट्रान्सफर हुन नचाहेको सीइओ महर्जनको भनाइ छ । कलेजको आफ्नै होटेल कलेजले हस्पिटालिटी अर्थात बिएचएम अध्ययनकालाई व्यवस्थित गर्नको लागि आफ्नै होटेल सञ्चालनमा ल्याएको छ । सीइओ महर्जनका अनुसार कलेजले गत फागुनदेखि हात्तिसारमा रहेको आरएनए बुटिक होटेलको ९० प्रतिशत सेयर खरिद गरेर आँफै सञ्चालन गरेको हो । कलेजमा बिएचएम अध्ययन गरिरहेका विद्यार्थीहरुलाई वास्तविक समयमा वास्तविक अभ्यास गराउने उद्देश्यले सो होटल लिइएको सीइओ महर्जनको भनाइ छ । ‘बिएचएम भनेको वास्तविक व्यवहारिक कोर्ष हो, पढ्नको लागि हामीसँग उत्कृष्ट प्रकारको ल्याब छ, तर, ल्याबमा सिकाउने भनेको क्लासमा सिकाएजस्तै हो, विद्यार्थीहरुले वास्तविकतामा अभ्यास गर्नपर्यो भने कहाँ गएर गर्ने भन्ने विषयलाई हेरेर हामीले होटेल लिएका हौं’, उनले भने । विद्यार्थीहरुलाई नै होटेल सञ्चालन गर्न दिनेगरी होटेल टेकओभर कार्यक्रम पनि कलेजले सञ्चालन गर्ने अभ्यास गर्न खोजेको छ । जसले गर्दा विद्यार्थीले तालिम भन्दापनि वास्तविक जिम्मेवारी सहित होटेल सञ्चालनको अभ्यास गर्न सक्छन् । ‘हामीले विद्यार्थीहरुको ग्रुपलाई नै होटेलमा लैजान्छौं, एक, दुई तीन हप्ताको लागि, जहाँ उनीहलाई जनरल, हाउस किपिङ, फ्रन्ट अफिस म्यानेजर लगायतका जिम्मेवारी दिएर उनीहरुले नै चलाउने गरी सिमुलेसन शुरु गर्छौं’, सीइओ महर्जनले भने । त्यसो गर्दा विद्यार्थीले सिक्ने मात्रै नभएर वास्तविकतामा आउने समस्यासँग मुकाविला र समाधान गर्नसक्छन् भन्ने कलेजले मान्यता राखेको छ । आरएनए बुटिक होटेलमा कोठा, रेष्टुरेन्ट, बैंकट हल, सेमिनार हल लगायतका सुविधा रहेको छ । जसले गर्दा आइआइएमएसमा बिएचएम अध्ययन गर्ने विद्यार्थीहरुले एउटा आधुनिक होटेल सञ्चालन गर्ने व्यवहारिक अनुभव एकैपटक लिनसक्छन् । कलेजमा एकसय भन्दा धेरै व्यक्तिहरुले विभिन्न शिक्षण पेशा देखि अन्य कामहरुमा पूर्णकालिन रोजगार पाएका छन् भने आंशिक रुपमा झण्डै एकसय पचास जतिले रोजगार पाएको सीइओ महर्जनले बताए । आफ्नै भवन र नयाँ कोर्ष थपको तयारीमा पुतलीसडक धोविधारा मार्गमा रहेको आइआइएमएस कलेज अहिलेसम्म भाडाको भवनमा सञ्चालन हुँदै आएको छ । तर, सञ्चालनमा भएको १३ वर्षमा कलेजले आफ्नै होटेलको समेत शुरुवात गर्न सफल भएको छ । भाडामा भएतापनि आधुनिक डेकोरेसन सहित सञ्चालन भएको आइआइएमएस कलेजको आगामी दुईवर्षभित्रमा आफ्नै आधुनिक भवन निर्माण गर्ने योजना रहेको सीइओ महर्जनको भनाइ छ । ‘हामी अबको दुई वर्षमा यो होटेल र कलेजलाई लिंक गरेर आफ्नै जग्गा लिएर भवन निर्माण गर्ने योजनामा छौं’, महर्जनले भने । उनका अनुसार कलेजले नयाँ शैक्षिक कार्यक्रम पनि थप्ने तयारीमा अगाडि बढेको छ । आगामी दिनमा बिबिए र एमबिए कार्यक्रम थप्नको लागि विश्वविद्यालयमा निवेदन गरिसकेको उनले बताए ।
जेठ ४ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ४ गते प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर गर्ने तयारी गरिएको छ । आईतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको हो । बैठकपछिसँग कुराकानी गर्दै नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले जेठ ४ गते को बैठकमा प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागि हुने तयारी भएको जानकारी दिए । उनले संसदभित्र रहेका दलहरुको शक्तिका आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने समझदारी भएको पनि बताए । ‘प्रधानमन्त्रीले नियमावलीमा व्यवस्था भए बमोजिम प्रत्येक महिनाको पहिलो हप्तामध्ये प्रधानमन्त्रीलाई अनुकुल हुने दिन निर्धारण गरेर प्रश्नोत्तर गर्ने भनेर हामीले व्यवस्थित गरेका छौँ । त्यस सन्दर्भमा ४ गते नै प्रधानमन्त्रीले प्रश्नोत्तरमा सहभागि हुने तयारी हुँदैछ, त्यो हुँदा संसदभित्र रहेका दलहरुको स्ट्रेन्थको आधारमा प्रश्नहरु प्रधानमन्त्रीलाई सोध्नेगरी समझदारी बनेको छ,’ उनले भने । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय समितिको बैठक पनि चाँडै बोलाउने सहमति भएको बताए । उनले सकेसम्म सोमवार (भोलि) नै समितिको बैठक बोलाउन जोड गरिएको उल्लेख गरे । उनका अनुसार संयुक्त समिति बनाउनका लागि नियमावली संशोधन आवश्यक रहेकाले नियमावली संशोधनका लागि आवश्यक प्रक्रिया अगाडी बढाउने कुरा पनि भएको छ । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले समितिको बैठक बस्न कुनै समस्या नभएको बताए । उनले प्रतिनिधि सभा नियमावली अनुसार प्रधानमन्त्रीलाई सोध्ने प्रश्न ३ दिन अगावै सभामुख कहाँ पुग्नुपर्ने र सो प्रश्नहरु प्रधानमन्त्रीलाई जानकारी गराइने व्यवस्था रहेको उल्लेख गर्दै इच्छुक १५ जना सदस्यहरुले प्रश्न सोध्न पाउने पनि स्पष्ट पारे ।
सिटिजन्स सुपर ३० म्युचुअल फण्डको बाँडफाँट सम्पन्न
काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन भएको तेस्रो योजना ‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’ को बाँडफाँट सम्पन्न भएको छ । बैशाख ६ देखि २० गतेसम्म निष्काशन गरिएकोमा फण्डको आइतबार बाँडफाँट सम्पन्न भएको हो । कम्पनीले निष्कासन गरेको आईपीओमा ७५ करोड रुपैयाँको आवेदन परेको बताइएको छ । सिटिजन्स सुपर ३० म्युचुअल फण्डको अवधि १० वर्ष हो । यस फण्डका इकाईधनीहरुलाई वार्षिक २०.४१ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको क्यापिटलले जनाएको छ । १० वर्षको अवधिमा १४.५१ रुपैयाँमा न्याभ हुने प्रक्षेपण छ । यसको कोष प्रवर्धक सिटिजन्स बैंक इन्टरनेशनल तथा कोष योजना व्यवस्थापक सिटिजन्स क्यापिटल रहेको छ ।
श्रमिकले विदेशबाट दुईवटा फोन ल्याउन मिल्ने, के के कागज चाहिन्छ ?
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) लागु गर्ने भएको छ । उक्त सिष्टम लागू भएसँगै विदेशमा ६ महिना काम गरेर फर्किएका नेपालीले मात्रै निःशुल्क रुपमा २ वटा मोबाइल फोन ल्याउन पाउनेछन् । भन्सार विभागले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले एउटा चलाइरहेको र एउटा सिलप्याक वा दुवै चलाइरहेको मोबाइल ल्याउन पाउँनेछन् । श्रम स्वीकृति लिई लगातार ६ महिना कार्यगरी नेपाल फर्किदा १ थान अतिरिक्त मोवाइल ल्याउदा कुनै पनि भन्सार राजश्व बुझाउनु पर्दैन । तर उक्त फोन सञ्चालन गर्न भन्सार घोषणा गर्नुपर्दछ । भन्सारले तपाईको घोषणा बमोजिम प्रज्ञापन पत्र तयार गरेर दिन्छ । उक्त प्रक्रियाबाट आएको फोन दूरसञ्चार प्रकृयामा पुनः दर्ता गर्नुपर्दैन भने स्वत: दर्ता हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतम श्रमिकले बुझाएको पासपोर्टका आधारमा प्रज्ञापनपत्र दिईने बताउँछन् । ‘एमडीएमएस भोलिदेखि लागुहुन्छ, २ वटा फोन ल्याउँदा के के आवश्यक पर्छ भन्ने होला, भिसा लागेको पासपोर्टका आधारमा हामीले दर्ता गछौँ’, उनले भने । उनले श्रमिकले दिएको पासपोर्टका आधारमा उनकै नाममा मोबाइल फोन दर्ता हुने बताए । ‘एक वटा मात्र फोन ल्याउन पाईने भएपछि व्यवसायीहरुले श्रमिकलाई भरिया बनाएर फोन ल्याउछन् कि भन्ने शंका देखिएको छ, तर हामीले श्रमिकले देखाएको पासपोर्टका आधारमा मोबाइलको इएमआइ नम्बर दर्ता गछौँ ।’ कार्यालयले पछिल्लो समय ६ वटा काउन्टर थप गरेको छ । यसअघि दैनिक ३ वटा काउन्टरबाट मात्रै सेवा दिदै आएको कार्यालयले ६ वटा काउन्टर थप गरेर हाल दैनिक ९ वटा काउन्टरबाट सेवा दिँदै आएको छ । ९ वटा काउन्टर थप हुँदा प्रज्ञापन पत्र लिन लामो लाइनमा बस्नु नपर्ने उनले बताए । यात्रुहरुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धि आदेश, २०७७ मा विदेशबाट फर्कने यात्रुहरुले आफूले प्रयोग गरिरहेको मोबाइल फोन थान १ महसुल नतिरी ल्याउन पाउने व्यवस्था रहेको छ । उक्त फोन नेपाल दूरसञ्चार प्राधिकरणका प्रणालीमा व्यक्ति स्वयंले अनलाइन माध्यमबाट दर्ता गर्नुपर्ने भन्सार कार्यालयले जनाएको छ । दर्ताका लागि राहदानी वा नागरिकता र विदेश जाँदा र फर्किदा देखिने राहादानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नु पर्नेछ हुन्छ । यसअघि गत पुस १५ गतेदेखि प्राधिकरणले प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागु गर्ने तयारी गरेको थियो । प्राधिकरणले उक्त सिष्टम लागु गर्ने तयारी गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा तत्कालका लागि रोकिएको थियो ।
कालोपत्रको काम अलपत्र छाडेर निर्माण व्यवसायी पुनः सम्पर्कविहीन
खोटाङ । चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक कालोपत्रको जिम्मा लिएका निर्माण व्यवसायी काम अलपत्र छाडेर पुनः सम्पर्कविहीन भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा सडकखण्ड कालोपत्रको जिम्मा भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिशाही जेभी काठमाडौंले लिएको थियो । निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि गत चैत २५ गतेयता चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रको काम ठप्प छ । काम अलपत्र छाडेर हिँडेको निर्माण व्यवसायी हाल सम्पर्कमा नरहेको मध्यपहाडी लोकमार्ग योजनाको कार्यालय, धुलिखेलका इन्जिनियर दीपेश मनकर्मीले जानकारी दिए । कालोपत्रको काममा ढिलासुस्ती भएको भन्दै आयोजना कार्यालयले विसं २०७९ मङ्सिरमा ठेक्का तोड्न सिफारिस गरेलगत्तै काममा फर्किएका निर्माण व्यवसायी पुनः सम्पर्कविहीन बनेको स्थानीय बासिन्दाले बताएका छन् । निर्माण व्यवसायीले कालोपत्रको काम पूरा गर्ने छाँट नदेखाएका कारण कार्यालयले ठेक्का तोड्नका लागि गत मङ्सिर–१८ गते सडक विभागसमक्ष सिफारिस गरिएको थियो । ठेक्का तोड्न सिफारिस गरेपछि ठेक्का जोगाउन सम्पर्कमा आएका व्यवसायीले कल्भर्ट, स्ट्रक्चर, सब–बेस राख्ने लगायतका काम सुरु गरेको थियो । तर केही समय काम गरे झैँ गरेका व्यवसायी निर्माणस्थलबाट कसैले पत्तो नपाइ हिँडेको हो । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले वैशाख ३ गते भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालालाई लिखित रुपमा उक्त सडकखण्ड कालोपत्रको काम सम्पन्न गराउन ध्यानाकर्षण गराएका थिए । सडक विभागले कालोपत्रको ठेक्का तोड्नका लागि सिफारिस गरेपछि काम सुरु गरेको निर्माण व्यवसायी कम्पनीले चैत पहिलो सातादेखि ‘डिबिएसटी’को काम सुरु गर्ने र वैशाख मसान्तसम्ममा ‘डिबिएसटी’को काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो । ठेक्का तोड्नका लागि सिफारिस भएको अवस्थामा स्थानीय पनि ठेक्का तोड्न दबाब दिन प्रशासन पुगेपछि साकेला गाउँपालिका प्रमुख रविप्रकाश राईको रोहवरमा पुस २२ गते मैनाचुली निर्माण सेवाका प्रतिनिधि मदनकुमार अधिकारीले असार मसान्तसम्मका काम सम्पन्न गर्ने लिखित प्रतिबद्धता जनाएका थिए । तर, त्यो प्रतिबद्धता कागजमै सीमित बनेको जिल्ला समन्वय समितिका प्रमुख राईले बताए । विसं २०७५ फागुन ३० सम्ममा सम्पन्न गर्नेगरी उक्त निर्माण कम्पनीले विसं २०७२ चैत २ गते चखेवाभञ्ज्याङ–सेखुवा सडकखण्ड कालोपत्रको सम्झौता गरेको थियो । तर, सम्झौताअनुसार काम नगरेपछि थप भएको पहिलो म्याद विसं २०७७ पुस १३, दोस्रो म्याद विसं २०७८ असार १३ र तेस्रोपल्ट थप भएको म्याद विसं २०७८ फागुन ३० गतेमै नाघिसकेको छ । नेपाल सरकारले जारी गरेको सार्वजनिक खरिद नियमावलीको १२औँ संशोधनअन्तर्गत सो आयोजनाको म्याद आगामी असार मसान्तसम्म थप भएको छ । तर, निर्माण कम्पनीको ढिलासुस्तीका कारण थप म्यादभित्र सडक कालोपत्रको काम सम्पन्न हुने अवस्था देखिएको थिएन । कालोपत्रको काम सुरु गरेको सात वर्षसम्म अलपत्र बनेको उक्त सडकखण्ड भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेभीले रु ३२ करोडमा ठेक्का सम्झौता गरेको थियो । पछिल्लो समय निकै तीव्र गतिमा काम गरेर अन्तिम चरणमा पु¥याइएको सडक कालोपत्र नसकी निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् । रासस
कनेक्ट आइपिएसमा रिफर गर्दा ५० रुपैयाँ खातामा
काठमाडाैं । कनेक्ट आइपिएसको रिफर अ फ्रेन्ड अफर अन्तर्गत कनेक्ट आइपिएसका प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्टआइपिएसमा रजिष्टर हुन रिफर गर्न सक्नेछन् । उक्त अफर अन्तर्गत जेष्ठ १ गतेदेखि असार ३१ गतेसम्म रिफरियरले २५ आफ्नो बैंक खतामा र रिफरीले २५ रुपैयाँको मोबाईल टप–अप प्राप्त गर्न सक्नेछन् । अफरको फाइदा लिन रिफरियर आफ्ना साथी तथा आफन्तजनहरुलाई आफ्नो रिफरल कोड दिनुपर्नेछ । रिफरिले भने कनेक्टआइपिएसमा नयाँ यूजर रजिष्टर गर्दा उक्त रिफरल कोड दाखिला गरी ए पटक आफ्नो मोबाईल नम्बर र ईमेल आईडी भेरीफाई गरे पश्चात रिफररले २५ रुपैयाँ आफ्नो बैंक खतामा र रिफरी ले रु. २५ को मोबाईल टप–अप प्राप्त गर्नेछ । रिफररले आफ्नो रिफरल कोडसँगै लिन्क पनि र गर्न सक्नेछ र रिफरीले उक्त लिंक क्लिक गरी वा मोबाइल एप मार्फत नयाँ यूजर बनाउन सक्नेछन् । कनेक्ट आइपिएस बैंकका ग्राहकहरुका लागि एकै प्ल्याटफर्म मार्फत एकभन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्सफर लगायत विभिन्न भुक्तानीहरु गर्न सकिन्छ ।
दव्ल्याङमा पहिरो : बागलुङ कुश्मीशेरा सडक अवरुद्ध
बागलुङ । वर्षापछि आएको बाढी र पहिराका कारण बागलुङ–कुश्मीशेरा सडक बन्द भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो । आज दिउँसोदेखि सुरु भएको वर्षासँगै दव्ल्याङमा पहिरो खसेको हो । तीन वर्षअघिदेखि सुरु भएको पहिराले हिउँदमा सामान्य वर्षा हुँदासमेत सडक बन्द हुने गरेको थियो । आजको वर्षापछि पहिराले उक्त सडक अवरुद्ध भएको वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर खड्काले जानकारी दिए । सदरमुकाम बागलुङ बजारदेखि बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका चल्ने सवारी सडक अवरुद्ध हुँदा मर्कामा परेका छन् । सडक अवरुद्ध भएपछि निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बाटो हुँदै गन्तव्यमा पुग्न सवारीसधानहरुले प्रयास गरिरहेका छन् । ‘पहिरो अहिले नै हटाउन सम्भव नभएको बागलुङ नगरपालिकाले बताएको छ’, खड्का भन्छन्, ‘भोलि दिउँसोको समयमा मात्रै पहिरो पन्छाउने काम हुनेछ ।’ रासस
रुटिन अफ नेपाल बन्द पुरुषतर्फका विजयी क्लाउड फ्याक्ट्रि महिला विजेता
काठमाडौं । आईटी टेक डिजिटल फुटसल प्रतियोगिता सनिबार सम्पन्न भएको छ । हडिगाउँमा आयोजना भएको प्रतियोगितामा केही उत्कृष्ट कर्पोरेट टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् । पुरुषतर्फको फाइनलमा आइएमई ग्रुपविरुद्धको फाइनलमा अरोएनबि विजयी भएको हो । क्लाउड फ्याक्ट्रीले प्रतियोगिताभर आफ्नो असाधारण सीप र टिमवर्क देखाएर महिला उपाधि जितेको हो । यो कार्यक्रम फुट(टेक फुटसलको पहिलो संस्करण थियो र यो वार्षिक कार्यक्रम निरन्तर अर्को वर्ष पनि गर्दै लाने कुरा आयोजक ‘लेट्स प्ले स्पोर्टस्’ ले निर्धारण गरेको छ । यो प्रतियोगिताले आगामी दिनमा पनि आईटीरटेकरडिजिटल कम्पनीहरूलाई स्वस्थ प्रतिस्पर्धामा संलग्न हुन र टिमवर्क र खेलकुदलाई प्रवर्द्धन गर्न प्लेटफर्म प्रदान गर्दछ। ‘फुट(टेक फुटसल २०२३ को सफलताबाट हामी हर्षित छौं र विजेता टोलीहरूलाई बधाई दिन चाहन्छौं’, कार्यक्रममा आयोजक लेट्स प्ले स्पोर्टस्का नरेश खनालले भने। यो कार्यक्रम ‘म सतर्क छु’ अभियानको एक पाटो थियो, जसको उद्देश्य डिजिटल साक्षरता र इन्टरनेट सुरक्षाको बारेमा आम जनतामा चेतना जगाउने हो। फुट(टेक फुटसल २०२३ खेलकुदमा प्रविधिको शक्ति प्रदर्शन गर्ने र डिजिटल साक्षरताको महत्त्वबारे चेतना जगाउने उत्कृष्ट अवसर थियो।