बीमा प्राधिकरण ५५ औं वर्षमा, कम्पनी मर्जरमा फड्को
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरण ५४ औं वर्ष पूरा गरी ५५ औं वर्षमा प्रवेश गरेको छ । बीमा क्षेत्रलाई नियमन गर्न वि.सं.२०२५ सालमा स्थापना भएको थियो । अर्थ मन्त्रालयको इकाईबाट बीमा समिति हुँदै गत कार्तिक २२ गतेदेखि बीमा ऐन, २०७९ लागू भएपछि नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भएको हो । प्राधिकरणले वि.सं. २०२६ साल जेठ १ गतेदेखि काम गर्न थालेको हो । सोही दिनलाई बीमा दिवशका रुपमा पनि मनाइने गरिन्छ । वित्तीय प्रणालीको एउटा महत्वपूर्ण आधारस्तम्भको रूपमा रहेको बीमा क्षेत्रले विभिन्न आरोह अवरोह पार गर्दै आएको छ । आर्थिक वर्ष २०७९।८० को चैत मसान्तसम्म कुल जनसंख्याको ४४ प्रतिशत जनतासम्म बीमाको पहुँच पुर्याउन सफल भएको छ ग्रामीण क्षेत्र तथा न्यून आय भएका वर्गलाई बीमाको दायरामा ल्याउन, छिटो छरितो रुपमा सहज र सरल ढंगबाट दावी भुक्तानीको व्यवस्था गरी जनविश्वास अभिवृद्धि गर्न र जनचेतना जगाउन ६ वटा प्रदेशमा प्रादेशिक कार्यलय सञ्चालनमा ल्याएको छ । साथै, प्राधिकरणले अन्तर्राष्ट्रिय प्रचलनमा रहेका बीमाका नवीनतम सिद्धान्त एवं मान्यताहरू अवलम्बन गर्दै बीमासँग सम्बन्धित कानूनहरु समयसापेक्ष परिमार्जन गर्दै आएको छ । प्राधिकरणले बीमा क्षेत्रमा वित्तीय सुशासन कायम गर्न, बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धि गरी बीमा क्षेत्रमा भएका अस्वस्थ्य प्रतिस्पर्धालाई न्युनीकरण गर्न तथा बीमाको गुणस्तरलाई वृद्धि गर्न बीमा कम्पनीहरू एक अर्कामा गाभ्ने तथा गाभिने कार्यलाई प्रोत्साहित अध्यक्ष सूर्य प्रसाद सिलवालले बताए । बीमा क्षेत्रमा जोखिममा आधारित पूँजी तथा जोखिममा आधारित सुपरिवेक्षण पद्धतिलाई लागू गर्नका लागि बिभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूसंग सहकार्य भईरहेको उनले बताए । बीमालाई प्रविधि मैत्री बनाई अनलाइन मार्फत बीमा अभिकर्ता तथा सर्भेयर दर्ता तथा नवीकरण गर्ने व्यवस्थाको सुरूवात भई बीमा क्षेत्रमा डिजिटलाइजेशनको लागि प्राधिकरणले ठोस कदम चालिसकेको उनको भनाइ छ । साथै, व्यवस्थित, नियमित, प्रतिष्पर्धि तथा विश्वसनीय बीमा व्यवसायको आधार तयार गर्न प्राधिकरणले बीमा ऐनमा व्यवस्था भएबमोजिम बीमित हित संरक्षण कोष, बीमा सूचना केन्द्र, बीमा एकेडेमी, बीमा विकास कोष स्थापनाको लागि आवश्यक गृहकार्य गरिरहेको अध्यक्ष सिलवालले बताए ।
कसरी पक्राउ परे रायमाझी ?
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजीमा रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी अन्ततः पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएको १२ औं दिनमा आइतबार नेपाल प्रहरीको विशेष ब्युरोले रायमाझीलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो । ‘रायमाझी शनिबार काठमाडौँ आएको सूचना प्रहरीलाई थियो, प्रहरीले उनलाई बूढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको हो,’ नेपाल प्रहरीका कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी भूपेन्द्र खत्रीले भने । उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् । रायमाझी २० वैशाखका दिन अर्घाखाँचीको आफ्नै निर्वाचन क्षेत्रमा आयोजित एक विद्यालयको कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी हुन पुगेका बखत उनीविरुद्ध काठमाडौंमा पक्राउ पुर्जी जारी भएको थियो । उनी सोही दिन अर्घाखाँचीबाट बुटवल हुँदै भैरहवासम्म पुगेको सूचना प्रहरीले पाएको थियो । तर, भैरहवा आएपछि उनी सम्पर्कविहीन हुँदै फरार भएका थिए । प्रहरीले रायमाझी पक्राउ नपरेपछि ७७ वटै जिल्लामा उनलाई नियन्त्रणमा लिन सर्कुलर गरेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा.मनोज केसीले रायमाझीलाई प्रहरीले ट्र्याक गरिरहेको अवस्थामा उनी शनिबार काठमाडौं प्रवेश गरेको सूचना पाएको र उनलाई पक्राउ गरिएको जानकारी दिएका हुन् । आजको राजधानी दैनिकमा समाचार छ ।
आजदेखि प्रभु र सेञ्चुरीको एकीकृत कारोबार, स्वाप रेसियो १:१
काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट्सलाई गाभेर प्रभु क्यापिटलले आज जेठ १ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ । माउ संस्था (प्रभु बैंकले र सेञ्चुरी बैंक) एक आपसमा मर्ज भएपछि प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटललाई गाभेर आजदेखि एकीकृत कारोबार गर्ने भएको हो । प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटललाई सेयर स्वाप अनुपात १ः१ रेसियोमा प्राप्ति गरेको हो । सेञ्चुरी क्यापिटललाई प्राप्ति पश्चात् प्रभु क्यापिटलको नामबाट एकीकृत कारोबार हुनेछ । बैशाख ९ गते छुट्टाछुट्टै विशेष साधारण सभाले प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटललाई गाभ्ने प्रस्ताव पारित गरिसकेको छ । साथै कम्पनी रजिष्ट्रारको कार्यालयले बैशाख २६ गते सेञ्चुरी क्यापिटलको चल अचल सम्पत्ति सकार्न प्रभुलाई अनुमति प्रदान गरेको थियो । सेञ्चुरी क्यापिटललाई गाभेपछि मर्चेन्ट बैंकमा पूँजीका हिसावले सबैभन्दा ठूलो क्यापिटल बन्नेछ । क्यापिटलका अनुसार क्यापिटलको पूँजी १ अर्ब भन्दा बढी पुग्नेछ ।
आजदेखि २ हप्ता मेलम्चीको पानी काठमाडौंमा नआउने
काठमाडौं । मेलम्चीको पानी दुई हप्ता काठमाडौंमा नआउने भएको छ । मर्मतका लागि मेलम्चीको पानी आज जेठ १ गतेदेखि २ साता रोकिने भएको हो । हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए । सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनले बताए ।
५० हजार कित्ता खरिद गर्न मिल्ने अप्पर स्याङ्गे हाईड्रोको आईपीओ बिक्री खुला
काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावरले आज जेठ १ गते आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी २२ करोड रुपैयाँको १० प्रतिशत अर्थात् २ करोड २० लाख २ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गाउँपालिका (साविकका घनपोखरा गा.वि.स.१ र २, खुदी गा.वि.स.३, ताघ्रिङ गा.वि.स.४, घेरमु गा.वि.स.५, बाहुन डाँडाँ गा.वि.स.६, भुलभुले गा.वि.स.७ र ८, सिमपानी गा.वि.स.९) का बासिन्दाहरुलाई छुट्याइएको छ । सर्वसाधारणलाई छुट्याइएको २९.५५ प्रतिशत अर्थात् ६ करोड ५० लाख रुपैयाँको ६ लाख ५० हजार कित्ता सेयरको १० प्रतिशत अर्थात् ६५ हजार कित्ता सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा जेठ १६ गतेसम्म आवेदन दिन सकिनेछ । तर, स्थानिय बासिन्दाहरुलाई बिक्री गरिएको सेयरमा पूर्ण आवेदन नपरेमा जेठ ३० गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि स्थानीय वासिन्दाले १ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । स्थानिय लगानीकर्ताले आयोजना स्थल, सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, एनएमबि बैंक र हिमालयन बैंकका लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट सिआस्बा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सकिनेछ ।
टोपबहादुर रायमाझी पक्राउ
काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी रायमाझीलाई बूढालीनकण्ठबाट आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसरका काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार उनलाई बुढानीलकण्ठको पासिकोटमा रहेको नारायण पौडेलको घरबाट पक्राउ गरिएको हो । पौडेल रायमाझीका अर्घाखाँचीका छिमेकी र माओवादीमा सँगै लागेका थिए । प्रहरी प्रधान कार्यालयको विशेष टिमले पौडेललाई पनि पक्राउ गरेको बताइएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए । उनले आफू काठमाडौं आउने भने पनि नआएपछि प्रहरीले उनलाई फरार सूचीमा राखेको थियो । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो । यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पिए नरेन्द्र केसी, पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा ुबादलुका सुरक्षाविज्ञ इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप, रामशरण केसी र गोविन्द चौधरी पक्राउ परेका छन्।
कामना सेवा विकास बैंकको लाभांश पारित
काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश पारित भएको छ । बैंकको १६ औं वार्षिक साधारणसभाले संचालक समितिद्वारा प्रस्तावित ४.६४२१ प्रतिशत लाभांश पारित गरेको हो । संचालक समितिले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.४१ प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०।२३२१ प्रतिशत लाभांश प्रस्तावत गरेको हो । सभाले आ।व। २०७९/०८० को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखारीक्षण बि।आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।
संसदमा टिसर्ट र जिन्स पाइन्ट प्रतिबन्ध
काठमाडौं । प्रतिनिधिसभाले संसद बैठकमा सहभागी हुँदा सांसदहरुले टिसर्ट जिन्स लगाउन नपाइने भएकाे छन् । आइतबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णय अनुसार सभामुख देवराज घिमिरेले सांसदहरुको पोशाक तोक्दा यस्ताे नियम बनाएका हुन् । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार कार्यव्यवस्था परामर्श समितिको परामर्श अनुसार सांसदहरु मर्यादित पोशाक लगाएर उपस्थित हुनुपर्ने गरी सभामुखबाट निर्णय भएको हाे । अधिकारीका अनुसार संसद बैठकमा उपस्थित हुँदा लोगो पनि अनिवार्य लगाउनुपर्नेछ।