मेघगर्जन र चट्याङ्सहित पानी पर्ने सम्भावना
काठमाडौं । देशमा अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । प्री–मनसुनी गतिविधि सक्रिय नै रहेकाले आज पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्सहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ । ती क्षेत्रको मौसम अहिले आंशिक बदली रहेको छ । काठमाडौँ उपत्यकामा पनि आज दिउँसोपछि हल्का वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ । यसैगरी, आज कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । आज राति पनि कोशी र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ । ती क्षेत्रका पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । अबका तीन दिन नै देशको मौसम यस्तै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
संविधानको पुर्नमूल्यांकन गर्ने बेला भएको छैन : प्रथम राष्ट्रपति यादव
काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानको पुनर्मूल्यांकन गर्ने बेला नभएको बताएका छन् । शुक्रवार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक नेपालको संविधानको व्याख्या भाग १ र २ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले नै संविधानको पुनर्मूल्यांकनको बेला नभएको भन्दै अहिले पूर्ण रुपमा संविधान लागू गरेर जाने समय रहेको बताए । उनले वर्तमान संविधानको कार्यान्वयन सही ढंगबाट गर्न बाँकी नै रहेको बताए । प्रथम राष्ट्रपति यादवले वर्तमान संविधानलाई संरक्षण गरेर लैजान नसके देशलाई सम्हाल्न गाह्रो हुने दाबी गरे । उनले भूराजनीतिक, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, लोकतान्त्रिक व्यवस्था र कानूनको शासनलाई सोचेर नै संविधान बनाइएको भन्दै यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न जरुरी रहेको उल्लेख गरे । उनले भने, ‘संविधानलाई पुनर्मूल्यांकन गर्ने बेला भएको छैन, यसलाई लागू गर्नेतिर हामी जाऔँ, एकाध चुनावहरु हुन्, राम्रोसँग यो लागू होस् त्यो हामी चाहन्छौँ, यो संविधानलाई जति हामीले संरक्षण गरेर लैजान सक्दैनौँ, भोलि हामीले यो देशलाई सम्हाल्न सक्दैनौँ, हामीले भूराजनीतिक, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य यी सबै कुराहरु सोचेर यो देशको एकता, अखण्डतालाई कायम गर्दै लोकतान्त्रिक व्यवस्थालाई अघि बढाउँदै, कानूनको शासन जुन छ, यसलाई अघि बढाउँदै लगे हाम्रो देश सफल हुन्छ ।’
राष्ट्रिय एकता, सहमति र सहकार्यलाई थप जीवन्त बनाउँछु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको एकता र परिवर्तनको रक्षाको सङ्कल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका छन् । कान्तिपुर मिडियाद्वारा राजधानीमा आज आयोजित ‘हाफ म्याराथन’को शुभारम्भ गर्दै उनले भने, ‘यो परिवर्तनमार्फत नै जनतालाई सेवा दिन सकिन्छ, सुशासन दिन सकिन्छ र विकास दिन सकिन्छ भन्ने सङ्कल्पसहित यो पटक म प्रधानमन्त्रीको जिम्मेवारीमा छु, हिजोका दिनमा भएका राष्ट्रिय एकता, सहमति र सहकार्यलाई जीवन्त तुल्याउन सकिन्छ भन्ने उद्देश्यले नै हामी दलहरु बीच छलफलमा छौँ ।’ उनले शीर्ष नेताहरुबीच हुने गरेका छलफल पनि तिनै विषयका साथै संसद्का विभिन्न समिति, सङ्क्रमणकालीन न्याय र गणतन्त्र विरोधी प्रवृत्तिलाई निरुत्साहित गर्न मै केन्द्रित हुने गरेको स्पष्ट गरे । प्रधानमन्त्री दाहालले भारतसँग खुला सीमा, आर्थिक, राजनीतिक, सामाजिक, जनता–जनताबीचको सम्बन्धको दृष्टिकोणले सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै आगामी भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने बताए । प्रधानमन्त्री दाहालले कार्यक्रममा सरकार खेलकुदको विकासलाई उच्च प्राथमिकतामा राखेर देशको प्रतिष्ठा र समाजमा अनुशासन कायम गर्न लागेको बताए । उनले भने, ‘अहिले सरकार सुशासन, विकास र समृद्धिको नयाँ सङ्कल्पसहित अगाडि बढेको छ । त्यसमा खेलकुदलाई प्रोत्साहित गर्ने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको म स्पष्ट गर्न चाहन्छु ।
विश्वविद्यालयलाई गुणस्तरीय बनाई शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न आग्रह
काठमाडौं । स्वदेशका विश्वविद्यालयलाई गुणस्तरीय बनाई उच्च शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न शिक्षाकर्मीले आग्रह गरेका छन् । ‘उच्चशिक्षाको वर्तमान अवस्था’बारे आयोजित नीतिगत संवादमा वक्ताले त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा वार्षिक क्यालेण्डर कार्यान्वयन नहुनु, नवप्रवर्तन, अध्ययन अनुसन्धानमुखी र रोजगारमुखी शिक्षा नहुनु, विद्यार्थीको शुल्कको मापनमा एकरुपता नहुनुलगायतका समस्या देखिएको जनाएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरि लम्सालले नीतिगतरुपमा सरकारले गर्नुपर्ने जति सम्बोधनको प्रयास गरे पनि सोचबमोजिम परिणाम आउन नसकेको स्वीकार गरे। त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुसालले विश्वविद्यालयका राजनीतिक हस्तक्षेपले संस्कृतिकै रुप लिएकामा चिन्ता व्यक्त गर्दै त्यसलाई तोड्न कोसिस भइरहेको बताए । हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप र बन्द हड्तालमुक्त बनाउन आग्रह गर्दै उच्च शिक्षाका नाममा लाखौँ रकम विदेशिने अवस्था अन्त्य गर्न नेपाल सरकार, सम्बन्धित विद्यालय र कलेज गम्भीर हुनुपर्ने बताए। शिक्षा मन्त्रालयको आँकडाअनुसार आर्थिक वर्ष २०७९÷०८० मा ९२ हजार एक सय ४१ विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमतिपत्र लिएको देखिन्छ भने हाल दैनिक यो सङ्ख्या पाँच सयका हाराहारीमा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार पछिल्लो नौ महिनाको अवधिमा ६७ अर्ब १९ करोड बाहिरिएको छ । अघिल्लो आवको सोही अवधिमा ४३ अर्ब ६७ करोड बाहिरिएको थियो ।
गौचनको व्यंग्य : सस्तो कर्जा सुनिश्चित गर्न पैसा फल्ने रुखबारे अनुसन्धान गरिनेछ
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममाथि अर्थशास्त्री तथा अनुसन्धानकर्ता डा. विश्वास गौचनले कडा व्यंग्य प्रहार गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ‘सरकारको नीति तथा कार्यक्रमको गाइजात्रे संस्करण’ भनेर कडा व्यंग्य प्रहार गरेका हुन् । ‘सरकारको नीति तथा कार्यक्रमको गाइजात्रे संस्करण’ ‘खेति योग्य जग्गा मासिँदै गएको अवस्थामा कृषि क्षेत्रको रुपान्तरणको लागि आकाशमा खेति गर्ने प्रबिधि विकास गर्न अध्ययन गरिने छ, अर्थतन्त्रमा मन्दी छाएकोले प्रत्येक घरपरिवारलाई उपभोगमा प्रेरित गरी अर्थतन्त्रमा माग बढाउन देशैभरी हेलीकप्टरबाट पैसा बाँडिने व्यवस्था गरिनेछ, तरलता र कर्जा संकुचन भएको र ब्याज बढ्दै गएको अवस्थामा निजी क्षेत्रलाई सहज तथा सस्तो ब्याजदरमा कर्जा सुनिश्चित गर्न पैसा फल्ने बिशेष किसिमको रुख बारे अनुसन्धान गरी सन् २०३० भित्र नेपालको ५० प्रतिशत भूभागमा बनजंगल बिस्तार गरिने छ, आयात प्रतिको अत्याधिक परनिर्भरता घटाउँदै निर्यात बढाउन र उद्योग क्षेत्रको विकास गर्न हजार किलोमिटर लामो सर्बसम्पन्न पूर्व-पश्चिम उद्योग करिडर निर्माण गरी लाखौं चिनियाँ मजदुरलाई भित्र्याइने छ, नेपाली युवाको गुणस्तरीय रोजगारीको अवसर बढाउन सिधै अमेरिका, पश्चिम युरोप, बेलायत, जापान, क्यानाडा र अस्ट्रेलियामा पठाउने व्यवस्था गरिने छ, इन्धन आयात घटाउन र कार्बन उत्सर्जन नियन्त्रण गर्न देश भित्रै उच्च प्रविधिको ब्याट्री निर्माण गरिने छ भने वातावरण संरक्षण गर्न र प्रदुषण घटाउन वायु शुद्धिकरण गर्ने बिशेष यन्त्र देशैभरी जडान गरिने छ, स्वस्थ तथा शिक्षित नेपाल अभियान अन्तर्गत स्वस्थ सम्बन्धी निःशुल्क उच्च स्तरीय सेवा घरदैलोमा पुराइने छ भने गुणस्तरीय शिक्षाको लागि सातै प्रदेशमा अमेरिकी हावर्ड विश्वबिद्यालय भन्दा स्तरीय विश्वविद्यालय स्थापना गरिने छ ।’
बचतकर्ताले स्रोत खोज्दैन भनेर सहकारी रोजे, सञ्चालकले भाग्ने बाटो रोजे
अहिले बजारमा नाम चलेका सहकारीहरु दिनदाहाडै भागिरहेका छन् । कतिपय सहकारीका सञ्चालक गायब छन् त कतिपय सहकारी बन्द गरिएको छ । कान्तिपुर, शिवशिखर, देउराली, गौतमश्री लगायत हजारौं सहकारी टाट पल्टिसकेको छ । सहकारीले पैसा फिर्ता नगरेपछि बचतकर्ताहरु तनावमा परेका छन् । यता, आँफैले राखेको पैसा फिर्ता नपाएपछि बचतकर्ताले आत्महत्या गरेको खबरहरु बाहिर आइरहेका छन् । एकातिर पैसा पनि गुम्यो अर्कोतिर ज्यान पनि गयो । हरेक सहकारीको अवस्था नाजुक बनेको छ । सहकारीहरु धमाधम डुब्न थालेपछि बचतकर्ताहरु चिन्तित बन्न थालेका छन् । बचतकर्ताहरु यतिबेला ‘मर्नु कि बाँच्नु’ को अवस्थामा पुगेका छन् । अधिकांश सहकारीका सञ्चालकहरु सम्पर्कविहिन बनिसकेका छन् । कतिपय त मुलुक छोडेर भागेको भन्ने पनि बाहिरिन थालेको छ । सर्वसाधारणको बिसौं खर्ब रुपैयाँ लिएका सहकारीका सञ्चालक भाग्दा वा डुबाउँदासमेत सरकारले यसतर्फ ध्यान दिएको छैन् । सहकारीको लुटको धन्दा अहिले छरपष्ट भइसकेको छ । सहकारीका सञ्चालकहरु यसरी दिनदहाडे गायब हुँदा पनि सरकारले बेवास्ता गरिरहेको छ । जसका कारण बचतकर्ताहरु रमिते बनेको सरकारप्रति आक्रोशित बनेका छन् । सरकारले न ती सञ्चालकलाई पक्राउ गर्न सकेको छ न त्यस्ता सहकारीको दर्ता खारेज गर्न । काठमाडौं उपत्यकालगायत मुलुकभरका ठूलो संख्याका सहकारीमा समस्या देखिएको छ । बचत गर्ने शुन्यमा झरिसकेका छन्, पैसा फिर्ता माग्नेको लाइन छ । सञ्चारमाध्यमले सहकारीका बारेमा धमाधम समाचार बाहिर ल्याउन थालेपछि पनि अधिकांश बचतकर्ताहरु डुब्नबाट जोगिएका छन् । केही महिनाअघि एक जना बचतकर्ता जग्गा बेचेको पैसा राख्न सहकारीको खोजीमा थिए । उनले शिवशिखरमा पैसा राख्ने निधो गरे । तर, त्यतिबेलै शिवशिखरका बारेमा समाचार बाहिर आयो । त्यसपछि उनले शिवशिखरमा गएर बुझे । त्यहाँ गएर बुझ्दा सम्पूर्ण छर्लङ्ग भयो । शिवशिखरमा पैसा निकाल्नेको लाइन देखेर उनी तर्सिए । शिवशिखरको अवस्था देखेपछि सहकारीमा पैसा नराख्ने भन्दै फर्किएको उनी बताउँछन् । अघिल्लो दिनसम्म बजारबाट पैसा उठाइरहेका सहकारी भोलिपल्ट गायब हुने क्रम बढेको छ । बजार प्रतिनिधिले अघिल्लो दिन पैसा उठाउँछन्, भोलि त सहकारी नै भागिसकेको हुन्छ । यो बेतिथि अहिले बजारमा व्यापक देखिन थालेका छ । शुरुका दिनदेखि सहकारीले मनलाग्दी गर्दै आएको थियो । देशको आर्थिक क्षेत्रमा तीन खम्बा भनिएको सहकारीले सरकारले बनाएको ऐनकानूनलाई धोती लगाइदियो । प्रावधान मिचेर जथाभावी लगानी गरियो । यता, बचतकर्ताले पनि आफ्नो बचत कहाँ लगानी गरेको छ ? बचत सुरक्षित छ कि छैन् भनेर बुझ्ने कोशिस गरेनन् । लगेर पैसा राखिदिएपछि काम नै सिद्धिएको जस्तो गरे । अहिले आएर त्यसकै परिणाम भोग्नुपरेको छ । बचतकर्ताहरुले सोधीखोजी नगर्दा सहकारीको ठग्ने मनोबल बढेको हो । बाहिर बोर्ड टाँगिरहेको हुन्छन् तर भित्री ढोकामा ताला लगाएर राखिएको हुन्छ । एक वर्षअगाडि ‘मै हुँ’ भन्ने सहकारी पनि बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगिसकेको छ । यता, घरभाडा र कर्मचारीको तलबको कुरै छोडौं । भुरादेखि बुढासम्म सहकारीको अवस्थाबारे जानकार छन् । सहकारीमा पैसा राख्न हुँदैन्, सहकारीहरु टाँट पल्टिसक्यो, जतिबेला पनि कुलेलम ठोक्न सक्छन् भन्ने सबैलाई थाहा छ । जो अलिक बाठाटाठा थिए, उनीहरुले त पहिल्यै आफ्नो पैसा निकालिसकेका थिए । बजारमा मन्दी देखिनेबित्तिकै उनीहरु पैसा निकाल्नतर्फ लागिपरे । तर, सहकारीको विश्वासमा परेका सोझासाझी त चार्लमचुर्लुम्म गए । ब्याजको लोभमा परेकाहरुले न ब्याज पाए न साँवा । अहिले आएर सबै पैसा गुमाउनु परेको छ । सहकारी विभागका अनुसार मुलुकभर ३५ हजार २३९ वटा सहकारी दर्ता छ । त्यसमा करोडौं जनताको खर्बौं रुपैयाँ डुबेको छ । तर, सरकार मौन बस्दा बचतकर्ताहरु आक्रोशित बनेका छन् । सरकारले न सहकारीका सञ्चालकलाई पक्राउ गर्छ न पैसा फिर्ता गर्न कुनै पहल गर्छ । विज्ञापन बोर्डले समेत सुसूचित गराउँदैन् । सरकारले त सञ्चारमाध्यमको जति भूमिका पनि निर्वाह गर्न सकेन् । सहकारी नियमन गर्न सरकारका यत्रा निकाय छन् । तर, कसैले चासो देखाएको छैन् । सहकारीमन्त्री रञ्जिता श्रेष्ठलाई जनता ‘बाँचुन् कि मरुन्’ मतलब छैन् । सहकारी विभागका महानिर्देशक नमराज घिमिरे देखेर पनि अनदेखा गरिरहेका छन् । सरकार पनि सो विषयमा जिम्मेवारपूर्वक प्रस्तुत नभएको देखिन्छ । पछिल्लो समय बुझ्दै जाँदा सहकारीमा दुई थरीका व्यक्तिहरुले पैसा राखेका छन् । एउटा बिहान कमाएर बेलुका खानेले सहकारीमा बचत गरेका छन् । सहकारीले बैंकभन्दा बढी ब्याज दिने भएकाले त्यही लोभमा परेका पैसा राखेका हुन् । अर्को स्रोत नखुलेको रकम सहकारीमा राख्ने गरिएको छ । किन कि सहकारीले स्रोत नै माग्दैन् । पैसा कहाँबाट आयो ? भनेर सहकारीले खोजी गर्दैन् । सहकारीलाई जसरी हुन्छ बजारबाट पैसा उठाउनु मात्र छ । भाग्ने त भागिहाले । नभागेका सहकारीहरुले पनि पैसा फिर्ता गर्न सकिरहेका छैनन् । सञ्चालकहरु भन्छन्, ‘हाम्रो लगानी घरजग्गा, सेयर र गाडीमा डुब्यो ।’ सहकारीले हिजो पनि ब्याजकै प्रलोभन देखायो, आज पनि त्यही गरिरहेको छ । सहकारीले २२ प्रतिशत ब्याज दियो । अहिले पनि त्यति नै ब्याज दिने भनेर बचतकर्तालाई लोभ्याइरहेको छ । ब्याजको लोभमा साँवा नै जान्छ भन्ने चेतना सर्वसाधारणमा आउन जरुरी छ । किन कि सहकारीले उग्रपात नै गरिसकेको छ । यस्तो अवस्थामा पनि सहकारीको ब्याजको जालोमा पर्ने हो भने भोलि पुर्पुरोमा हात राख्नुभन्दा अन्य केही विकल्प हुँदैन् । सहकारीका सञ्चालकहरुले अहिले बचतकर्तालाई भुल्याउने नयाँ योजना ल्याएका छन् । मुद्दती खाताको जम्मा गरिएको रकमलाई झिक्न नदिनका लागि ब्याजको पासो हालेर नवीकरण गर्ने काम गर्दै आएका छन् । पैसा फिर्ता नदिने, ब्याजको पासो हाल्ने अनि जबरजस्ती नवीकरण गराउने । आपतविपत् परेको बेलामा काम लाग्छ भनेर राखेको पैसाले नै अहिले अधिकांशलाई धुरुधुरु रुवाएको छ । सहकारीमा पैसा भएर के गर्नु फिर्ता नगरेपछि ? सहकारीले पैसा फिर्ता नगर्दा कतिपयले औषधी खान सकेका छैनन् । कोठाभाडा तिर्न धौ-धौ परेको छ । एउटै घरमा सात वटासम्म सहकारी सञ्चालनमा छन् । सहकारीहरु खुल्ने क्रम बढेपछि सर्वसाधारणले विश्वास गरे । अहिले त्यही विश्वासले कन्तबिजोग बनाएको छ । सहकारीले यत्रोलाई लुट्दाखेरि पनि स्थानीय सरकार कहाँ छ ? जनप्रतिनिधिहरु कुन दुलोभित्र पसेका छन् ? जनप्रतिनिधिहरुको त विगतदेखि नै सहकारीका सञ्चालकसँग साँठगाँठ थियो । सहकारीको कार्यक्रममा पुगेर तिनलाई ठग्ने मनोबल दिने त जनप्रतिनिधि नै हुन् । जनप्रतिनिधिहरु सहकारीको सामु लाचार बनेका छन् । प्रहरी प्रशासनले पनि केही गर्न सकेको छैन् । एकाधमा समस्या देखिनेबित्तिकै स्थानीय तह र प्रहरी प्रशासनले निगरानी बढाउनुपथ्र्यो । अहिले त सबै भागिसकेका छन् अब के निगरानी ? बाटोमा साग बेच्नेदेखि नेतासम्मको पैसा सहकारीमा छ । कर्मचारी, पत्रकार, व्यापारीलगायत हरेकको पैसा सहकारीले पचाइदियो । सहकारीले कसैलाई पनि बाँकी छोडेन । कुनै व्यक्तिले सापटी पैसा लियो र फिर्ता गरेन् भने प्रहरीले ठगी मुद्दा चलाउँछ । तर, सरकारले नै सहकारीलाई ठग्ने लाइसेन्स दिए जस्तो बन्न पुग्यो । गायक पशुपति शर्माले एउटा गीत गाएका थिए जुन अहिले आएर सत्य प्रमाणित भएको छ । उनले गीतमा भनेका थिए,‘लुट्न सके लुट, नेपालमै छ छुट ।’ लुट्नेले लुटिहाले, सरकारले केही सकेन् । सरकार हात बाँधेर बसेपनि नागरिक आँफै चेतनशील हुनुपर्छ । ब्याजको लोभमा सहकारीमा पैसा राख्नु भनेको ‘आफ्नो खुट्टामा आफैं बञ्चरो हान्नु’ हो । डुबेकाहरुले पनि अरुलाइृ बचाउने काम गर्नुपर्छ । अन्य सहकारीझैं राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको अवस्था पनि नाजुक बनेको छ । केही समययता त्यहाँ पनि पैसा निकाल्नेको भीड छ । बचतकर्ताहरुले बचत गर्न छोडिसकेका छन् । उनीहरुको ‘रातमा निद्रा न दिनमा भोक’ छ । अरु सहकारी घरजग्गा, सेयरमा लगानी गरेर डुब्यो, सिन्सियरलाई चाँहि थोत्रा ट्याक्सीले डुबायो । सबै सहकारीको बेहाल छ । त्यसैले सबै जना सतर्क बन्न जरुरी छ ।
मानिसले कम्तीमा चार हजार ५०० वर्षदेखि चुम्बन गर्दै आएको एक अध्ययनको दावी
एजेन्सी । मनोरञ्जनको रूपमा चुम्बनलाई देखाउने सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ । यस पुस्तकले ईसापूर्व २५०० देखि नै ‘प्राचीन मेसोपोटामिया र इजिप्टमा ओठमा चुम्बन गरिएको थियो’ भन्ने कुराको प्रमाण प्रस्तुत गरेको छ । मनोरञ्जनात्मक अभिव्यक्तिको रूपमा ओठमा चुम्बन गर्ने अभ्यासको सुरुवातले रोगहरूको फैलावटलाई कसरी असर गर्न सक्छ भनेर ट्रोएल्स प्यान्क अर्बोलले आफू र सह–लेखक सोफी लुन्ड रासमुसेनले अनुसन्धान गर्न थालेको बताए । अर्बोल कोपेनहेगन विश्वविद्यालयमा प्राचीन अध्ययनका पुरातत्वविद् हुन् । लुन्ड रासमुसेन अक्सफोर्ड विश्वविद्यालयका जीवविज्ञान विशेषज्ञ हुन् । पछिल्लो अध्ययनले ईसापूर्व १५०० तिर भारतको एक स्रोतलाई ‘यौन–रोमान्टिक चुम्बन’ को प्रारम्भिक सन्दर्भका रूपमा उद्धृत गरेको छ । सन् १९८० को दशकमा नै प्रमाण सङ्कलन भइसकेको भए तापनि अन्य क्षेत्रमा यो सूचना कहिल्यै नअपनाइएको उनले बताए। उपलब्ध हजारौं प्राचीन ‘क्युनिफॉर्म’हरूमा उनीहरूले रोमान्टिक चुम्बनको अपेक्षाकृत कम सन्दर्भहरू भेट्टाएको बताएका छन् । उनीहरूले भनेका छन्, ‘प्राचीन कालमा चुम्बनलाई रोमान्टिक आत्मीयताको एउटा सामान्य भाग मानिन्थ्यो भन्ने स्पष्ट उदाहरणहरू छन् ।’ अध्ययन गरिएका सन्दर्भ सामग्रीहरूमा ‘चुम्बन विवाहित दम्पतीहरूले गर्ने कुरा हो’ भनिएको तर ‘अविवाहित व्यक्तिको प्रेममा पर्दा चुम्बनलाई यौन इच्छाको भागको रूपमा लिइन्छ’ भनेर पनि लेखिएको सङ्केतहरू भेटिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । अनुसन्धाताहरूले ‘मैत्रीपूर्ण–अभिभावकीय चुम्बन’ र ‘मनोरञ्जनात्मक चुम्बन’ लाई भिन्नरूपले हेर्ने गरिएको पनि बताएका छन् ।
भारतमा २ हजारको नोट बन्द, नेपाललाई असर पर्ला ?
काठमाडौं । भारतमा दुई हजारको नोट बन्द गरिएको छ । भारतको केन्द्रीय बैंकले शुक्रबार २ हजारका नोटबन्द गर्ने निर्णय गरेको हो । भारतीय सञ्चार माध्यममा दुई हजारको भारु नोट बन्द गर्ने निर्णय गरेको समाचार आइरहेको छ । सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि भारतीय रिजर्भ बैंकले २ हजारका नोट चलनमा ल्याएको थियो । त्यसपछि दुई सय, पाँच सय र २ हजारका नयाँ नोट बजारमा ल्याइएको थियो । रिजर्भ बैंकले सर्वसाधारणसँग भएका २ हजारका नोट बैंकमा जम्मा गर्न र बैंकहरूलाई २ हजारका नोट बजारमा नपठाउन भनेको छ । २ हजारका नोट बैंकमा जम्मा गर्ने समय यो वर्षको सेप्टेम्बर ३० सम्म दिइएको छ । नेपालमा ५ सय, एक हजार र दुई हजार भारु नोट प्रतिबन्ध छ । अर्थात् नेपालमा दुई हजार भारु नोट चल्दैनन् । तर, अनौपचारिक बजारमा अर्थात् गैर कानुनी रुपमा भारु नोट चलनचल्तीमा छन् । यसले नेपाली बजार पनि प्रभावित हुने देखिएको छ । सन् २०१६ मा भारतले १ हजार ५ सयका नोट प्रतिबन्ध लगाउँदा नेपालाई ठूलो असर परेको थियो ।