विकासन्युज

रियलमी नार्जी एन ५५ र एन ५३ सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । रियलमीले नेपालमा आफ्ना नयाँ दुईवटा स्मार्टफोन मोडलहरु नार्जी एन ५५ र नार्जी एन ५३ सार्वजनिक गरेको छ। कटिङ एज फिचरहरु, स्लिक डिजाइन र शक्तिशाली पर्फर्मेन्सयुक्त यी फोनहरुले नेपाली नयाँ पुस्ताको मन जित्ने कम्पनीकाे दावी छ । फाेन सार्वजनिक कार्यक्रममा रियलमीका कन्ट्री हेड मुनिष गिरीले  नेपालमा स्मार्टफोनको नयाँ लाइनअप ल्याएको घोषणा गर्न पाउँदा मलाई खुशी लागेको बताइन् । नर्जी एन ५३ रियलमीको अहिले सम्मकै सबैभन्दा स्लिम एन्ट्री लेभल अल राउन्डर भएकाे उनले बताइन् । ‘यो फोन जति स्लिम छ त्यति नै शक्तिशाली पनि छ, अर्कोतर्फ, रियलमी नाज एन ५५ ले नेक्स्ट जेन पावरहाउसको रूपमा स्मार्टफोन अनुभवलाई अझ शान्दार बनाउँछ, अत्याधुनिक टेक्नोलोजी र असाधारण प्रोसेसिङ पावरको साथ यसले बिजुली चम्केको गतिमा पर्फम गर्छ र मल्टिटास्किङ गर्न पनि धेरै सजिलो बनाउँछ,’ उनले भनिन् । यि दुवै स्मार्टफोनहरू देशभरका अनलाइन र आधिकारिक विक्रेताहरू मार्फत उपलब्ध हुनेछन् उनले बताइन् । ४ं६४ जीबी स्टोरेज क्षमता भएको नार्जी ५३ मोडलको मूल्य १५ हजार ९९९ रुपैयाँ र ६ं१२८ भेरियन्टको मूल्य १८ हजार ९९९ रुपैयाँ रहेको छ । त्यसैगरी, ४ं६४ जीबी स्टोरेजसहितको नार्डो एन ५५ को मूल्य २० हजार,४९९ रुपैयाँ र ६ं१२८ भेरियन्टको मूल्य २४ हजार ४९९  रुपैयाँ रहेको छ ।

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता

काठमाडौं । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको उक्त प्रमाणीकरणविरुद्ध वरिष्ठ अधिवक्ता सुरेन्द्र भन्डारीसमेतले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । गत बुधबार अघिल्लो प्रतिनिधिसभाले पठाएको र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको उक्त विधेयकलाई गत बुधबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका थिए । उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइका लागि आइतबारलाई पेसी तोकिएको छ ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आउँदा नेपालमा के हुन्छ ?

काठमाडौं । भारतीय आयल कर्पाेरेशन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार आईओसीले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचि अनुसार डिजेल तथा पेट्रोलको मूल्य बढेको छ भने हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटेर आएको हो । नेपाल आयल निगमका अनुसार अघिल्लो पटकको तुलनामा पेट्रोल प्रतिलिटर २ रुपैयाँ ४ पैसा तथा डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसा बढेर आएको छ । हवाई इन्धनको मूल्य भने प्रतिलिटर ७.४० पैसाले घटेर आएको छ । यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर ४९ रुपैयाँले घटेर आएको निगमका सहायक प्रवक्ता पुष्कर कार्कीले जानकारी दिए । भारतबाट मूल्य बढेर आएसँगै नेपालमा पनि बढ्छ वा यथावत रहन्छ भन्ने चासो बढेको छ । प्रवक्ता कार्कीका अनुसार भारतीय आयल कर्पाेरेशनले डिजेल तथा पेट्रोलको मूल्य थोरै बढाएर पठाएको भन्दै निगम व्यवस्थापनले तत्काल मूल्य समायोजनको तयारी गरेको छैन । पेट्रोल तथा डिजेलको मूल्य सामान्य बढेर आएकाे भन्दै नेपालमा हालको मूल्य यथावत राख्ने तयारी भइरहेकाे भनाइ छ । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले १५–१५ दिनमा इन्धनको मूल्य सूची पठाउँछ । सो अनुसार अघिल्लो पटकको तुलनामा मूल्य सामान्य बढेर आएको हो । हाल निगमले उपभोक्तालाई पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल र मट्टितेल १५५ रुपैयाँमा बेच्दै आएको छ । भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचि अनसार १५ दिनमा निगम एक अर्ब ७५ करोड रुपैयाँभन्दा बढी नाफामा जानेछ । पछिल्लो समय भारतीय आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा निगम नाफामा गएको छ । ठूलो रकम नोक्सानीमा गएको भन्दै निगमले आईओसीले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाउँदा मात्रै नेपालमा मूल्य समायोजन गर्ने गरेको छ । आईओसीबाट मूल्य घटेर आउँदा निगमले मूल्य समायोजन (नघटाउँदा) उपभोक्ता मारमा परेका छन् ।

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अभिमुखीकरण

काठमाडौं । पौरखी नेपालले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सम्बन्धित मुलुकमा पुगेपछि पनि अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको जनाएको छ । उक्त संस्थाद्वारा आज आयोजित ‘वैदेशिक रोजगारमा जाने श्रमिक र प्रवासी महिला श्रमिकको स्वास्थ्य तथा एचआइभीबाट प्रभावितका सन्र्दभमा नेपालको विद्यमान कानुन,  नीति, कार्यक्रम तथा तिनमा गर्नुपर्ने सुधारसम्बन्धी’ अन्तक्र्रिया कार्यक्रमका सहभागीले अभिमुखीकरण कार्यक्रम गरिनुपर्नेमा जोड दिएका हुन्  । कार्यक्रममा संस्थाका संस्थापकअध्यक्ष मञ्जु गुरुङले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य अवस्था तथा उनीहरुका लागि सम्बन्धित मुलुकको विद्यमान कानुनी व्यवस्थाबारे सचेतना गराउन जरुरी रहेको बताए । गन्तव्य मुलुकको कार्यप्रकृति, स्वास्थ्यमा देखापर्ने समस्या र समाधानका उपायका बारेमा अवगत हुनुपर्ने भएकाले रोजगारपूर्व श्रमिकलाई अभिमुखीकरण तालिम खाँचो पर्ने उनको भनाइ थियो । पत्रकार सुनिल न्यौपानेले वैदेशिक रोजगारमा जाने श्रमिकका लागि नेपालमा भइरहेका व्यवस्था, त्यहाँ गर्नुपर्ने काम, रणनीतिक योजनालगायत विषयमा चर्चा गरेका थिए । कार्यक्रममा वैदेशिक रोजगारीमा पुगेका श्रमिकमा देखापर्नसक्ने मानसिक अवस्थाको जाँच गराउनुपर्ने, सुरक्षित आप्रवासीसम्बन्धी कार्यविधि ठाउँअनुसार फरक–फरक हुनुपर्ने, स्वदेश फर्केका श्रमिकको स्वास्थ्य परीक्षणका लागि केन्द्र सरकारले प्रदेश र स्थानीय तहसँग समन्वयन गरी व्यवस्था मिलाउनु पर्नेलगायत विषयमा छलफल भएको थियो । त्यस्तै नेपालमा एचआइभी एड्स सङ्क्रमणको सबैभन्दा जोखिमा दोस्रो वर्ग अर्थात् प्रवासी श्रमिक वा तिनका श्रीमती हुने भएकाले सोसम्बन्धी रणनीतिक योजना प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्ने, पोषणयुक्त खानाको अभावले श्रमिक महिलाको प्रजनन् स्वास्थ्यमा देखापर्ने समस्या, वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकको मृत्यु हुनाको कारण तथा गन्तव्य मुलुकमा सामाजिक सुरक्षासम्बन्धी भएका व्यवस्थाबारे कार्यक्रममा समावेश हुनुपर्नेलगायत विषयमाथि छलफल भएको थियो । रासस

जनकपुर र महोत्तरीमा मिटरब्याजीविरुद्ध पाँच हजारले दिए उजुरी

महेन्द्रनगर धनुषा । मधेस प्रदेशको राजधानी जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएसँगै मिटरब्याजीविरुद्ध थुप्रै उजुरी परेको छ । उजुरीका लागि सुरुमा वैशाख १७ गतेदेखि ३१ गतेसम्म समय तोकिएकामा उजुरी आउने क्रम जारी रहेकाले सात दिन म्याद थप गरी जेठ ७ गतेसम्मका लागि बढाइएको थियो । जेठ ७ गतेसम्म पनि उजुरी आउने क्रम नरोकिएकाले पुनः जेठ १४ गतेसम्म समय थपिएको थियो । जिल्लामा दुई हजार छ सय ११ वटा उजुरी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । यसैगरी महोत्तरी जिल्लामा दुई हजार तीन सय ३६ उजुरी प्राप्त भएको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । सरकारले मिटरब्याज पीडितको माग सम्बोधन गर्न गत चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । कार्यालय स्थापना भएसँगै मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन पीडितबाट निवेदन आह्वान गरिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बताए । जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्ष स्थापना गरिएपछि पीडितले आफूसँग उपलब्ध रहेका प्रमाणसहित निवेदन दिएका थिए । निवेदन फारम जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले निःशुल्क भरिदिने प्रबन्ध मिलाइएको थियो । प्रदेशको आठवटै जिल्ला प्रशासन कार्यालयमा दैनिक सयौँको सङ्ख्याका मिटरब्याज पीडितले उजुरी दर्ता गराएका थिए । रासस

तनहुँमा ९ रोपनी क्षेत्रफलमा ड्रागन खेती

तनहुँ । यहाँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिकरूपमा ‘ड्रागन फ्रुट’ खेती सुरु गरिएको छ । स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी व्यावसायिक रूपमा ड्रागन खेतीतर्फ लागेका छन् । करिब नौ रोपनी क्षेत्रफल जग्गा बीस वर्षका लागि भाडामा लिएर वार्षिक बीस हजार भाडा बुझाउने गरी व्यवसाय थालेको कृषक गौलीले बताए । ‘गत वर्ष भारतको हैदरावादबाट प्रतिबिरुवा एक सय रुपैयाँका दरले दुई हजार एक सय ड्रागनका बिरुवा ल्याएर लगाएकी थिए । यस वर्षदेखि उत्पादन दिन सुरु गरेको छ’, उनले भने । कृषक गौलीले खेतीका लागि सुरुमा करिब ७० लाख रुपैयाँ लगानी गरेको बताए । उनले भने, ‘फार्ममा ड्रागनका साथै च्याउ, मौरी, फलफूललगायत बहुआयामिक किसिमले खेती गरेको छु ।’ फार्ममा पाँच सय पोल निर्माण गरी एउटा पोलमा चार वटाका दरले ड्रागन बिरुवा लगाएको गौलीले जानकारी दिए । एउटा पोलमा करिब दश हजार रुपैयाँका दरले खर्च भएको उनको भनाइ थियो । बिरुवा रोपेको पाँच महिनाको अवधिमा केही बोटमा फल लागेको अनुभव सुनाउँदै कृषक गौलीले बिक्री भने गर्न नपाएको बताए । उक्त फार्मको व्यास नगरप्रमुख वैकुण्ठ न्यौपाने र वडाध्यक्ष हिमाल श्रेष्ठले अवलोकन गरेका थिए । नगरप्रमुख न्यौपानेले व्यावसायिक कृषि पेसालाई नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । यस वर्ष लपक्कै फूल फुलेका छन् । कृषक गौलीले भने, ‘फूल फुलेअनुसार फल लाग्ने हो भने राम्रै उत्पादन हुन्छ भन्ने विश्वास लिएको छु’, ‘केही दिनअघि आएको हावाहुरीले ड्रागनका बोट भाँचेकाले त्यसलाई पुनः बिरुवामा परिणत गर्ने योजना बनाएको छु ।’ फुल्न लागेको समयमा हावाहुरी आउँदा केही फूल झरेर क्षति भएको उनले बताए । सोह्र वर्ष शिक्षण पेसा र करिब १५ वर्षसम्म दमौली बजारमा बुटिक व्यवसाय गरेकी गौली अहिले ड्रागन खेतीतर्फ आकर्षित भएका हुन् । उनले व्यास नगरपालिका–३ मालपोत लाइनमा ‘व्यास कोसेली घर’ समेत सञ्चालन गर्दै आएका छन् । स्थानीयस्तरमा उत्पादित अर्गानिक तरकारी, घरेलु सामग्री, घरेलु कपडालगायत सामग्री उक्त कोसेली घरमा बिक्री गरिने गौलीले जानकारी दिए ।

मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती

मनाङ । विश्वका विभिन्न राष्ट्रबाट भ्रमणका लागि आउने पर्यटक अधिकांश हिमाली जिल्ला मनाङ आउने गरेका छन् । विशेष गरी यहाँको सुन्दरता, परम्परागत संस्कार, संस्कृति अवलोकन गर्न तथा यहाँ रमाउन पर्यटक आउने गर्दछन् ।  यहाँ आउने क्रममा भने पर्यटकले सास्ती खेप्नुपरेको छ । मनाङको मेरुदण्ड डुम्रे–बेँसीसहर–चामे सडकखण्डको विस्तार गर्दा पदमार्गकै ट्र्याकमा हुँदा भने समस्या भएको छ । मनाङको यात्रा गर्दा सडक मार्ग र पदमार्ग एउटै हुँदा पदयात्रीले धुलोको सास्ती भोग्नुपर्ने अवस्था छ । मनाङका जनप्रतिनिधि र स्थानीयले सडकमार्ग विस्तारसँगै पदमार्गको वैकल्पिक योजना निर्माण गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले सडक र पदमार्ग एउटै हुँदा पर्यटकले सास्ती खेप्नुपरेकाले यसको वैकल्पिक पदमार्ग निर्माण गर्नुपर्ने बताए । ’सडक र पदमार्गको ट्र्याक एउटै हुँदा पदयात्रीले समस्या भोग्नुपरेको छ, यस्ता समस्या समाधानका लागि प्रदेश सरकारसमक्ष आवाज उठाएका छौँ, वैकल्पिक पदमार्ग निर्माणको योजना तय गर्न प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकमा छलफलमा ल्याउने छौँ’, प्रदेशसभा सदस्य गुरुङले भने । वैकल्पिक पदमार्ग निर्माण गर्नसके पदयात्रीले धुलो र सवारीसाधनको सास्ती खेप्नुपर्ने समस्या हट्ने उनको भनाइ छ । मनाङमा वार्षिक ३५ देखि ४० हजार बाह्य पर्यटक भित्रिने र त्यसमाथि पदमार्गकै माध्यम अपनाउने भएकाले यसको वैकल्पिक योजना बनाउन आवश्यक रहेको उनले बताए । ’मनाङ पर्यटकको ‘हब’ भएकाले सहज बनाउने कार्यमा पनि जोड दिनुपर्छ’, उनले भने, ’विकास निर्माण पनि हुनुपर्छ, राष्ट्रकै राजस्व वृद्धिमा सहयोग पुर्याउने क्षेत्रको संरक्षणमा सरकारलाई ध्यानाकर्षण गराउनु हाम्रो कर्तव्य हो ।’ देशकै गहनाका रुपमा रहेका हिमाल र अन्नपूर्ण पदमार्गमा पर्यटकको आकर्षण सदा उस्तै बनाउनु सबैको जिम्मेवारी भएकाले सचेत हुनुपर्ने उनको भनाइ छ । अन्नपूर्ण पदमार्ग विश्वकै दसौँ स्थानमा पर्दछ । यस पदमार्गलाई जोखिमयुक्तसमेत मानिन्छ । साहसिक पर्यटक भने यस मार्गको यात्रामा रमाउने गरेका छन् ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइका प्रमुख लेखनाथ गौतमले सरकारले जोखिमयुक्त मनाङ भ्रमणमा आउने पर्यटकले अनिवार्यरुपमा पथ प्रदर्शक ल्याउनुपर्ने प्रावधानले सूचना प्राप्त गर्न सहज भएको बताए । ’जोखिमयुक्त पदमार्गमा यात्रा गर्दा पर्यटक एक्लै यात्रामा जाँदा बिरामी पर्ने, हराउने र जोखिम क्षेत्रमा खोजी कार्य गर्न समस्या भएपछि नेपाल सरकारले ‘गाइड’ बिना यात्रामा जान रोक लगाएको छ, अहिले गाइड लिएर मात्रै पर्यटक आउने वा यात्रा गर्ने गरेका छन्’, उनले भने, ’यो प्रावधानले हामीलाई पनि सहज भएको छ ।’ पर्यटक वृद्धि हुँदा मनाङको आयस्तरसमेत वृद्धि हुने गरेको छ । पर्यटक हिमाल तथा पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ कोही पोखरा जान अन्नपूर्ण पदमार्गमा आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा रहेको छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएका छन् । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पदमार्गमार्फत पर्यटक मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्रामा जाने गरेका छन् । यहाँ भित्रिने पर्यटकलाई सहज बनाउन र आकर्षित गरिरहन वैकल्पिक पदमार्ग बनाउनसकेमा पर्यटकले अझ सुरक्षित तवरबाट मनाङको यात्रा गर्न पाउनेछन् । रासस

मनसुनको सँघारमा किन गर्मी बढ्यो ?

काठमाडौं । विगत केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ । पछिल्लो पाँच दिनदेखि आकाश खुल्ला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी महसुस गरिएको हो । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेको बताइने । ‘देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव परिरहेको छ, तर पनि मनसुनको समय भइसकेकाले सङ्क्रमणकालीन समय ९प्रिमनसुन सकिने र मनसुन भित्रिनेबीचको समय० भएकाले अझै केही दिन वर्षा हुदैन’, उनले भनिन् । उक्त मौसमी प्रणालीका कारण केही दिन गर्मी बढ्ने अनुमान गरिएको मौसमविद् मानन्धरले बताइन् । उनका अनुसार मनसुन नभित्रिएसम्म तापक्रम केही दिन बढ्ने देखिन्छ । ‘तराईका केही जिल्लामा अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि पुगेर गर्मी बढ्ने देखिन्छ भने काठमाडौँ उपत्यकामा पनि क्रमिकरुपमा तापक्रम बढिरहेको छ’, उनले भनिन् । मनसुनी वायु सक्रिय नरहे पनि देशका पहाडी भेगमा भने अबको तीन दिन छिटफुट वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले बताइन् । तराई क्षेत्रमा मौसम सफा रहने हुनाले गर्मी बढ्ने उनको भनाइ थियो । आज काठमाडौंको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस रहेको छ । पछिल्लो केही दिनयता काठमाडौँको अधिकतम तापक्रम २३ देखि ३५ डिग्रीसम्म पुगेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि चर्को घाम लागेकाले अत्यधिक गर्मी महसुस गरिएको छ । देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । नेपालमा सामान्यतः जुन १३ तारिखमा पूर्वी नेपाल भएर मनसुन भित्रिने सरदर मिति रहे पनि यो पटक मनसुन करिब दुई साता ढिला गरी अर्थात् असारको पहिलो सातामात्रै नेपालमा प्रवेश हुने अनुमान गरिएको मौसमविद् मानन्धरले जानकारी दिइन् । विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण धनुषा, बारा, पर्सासहित तराई मधेसका जिल्लाको जनजीवन कष्टकर बनेको सम्बन्धित जिल्लाबाट समाचार सम्प्रेषण भएका छन् । तराई मधेसमा ४० देखि ४४ डिग्री सेल्सियससम्म तापक्रम वृद्धि भएको समाचारमा उल्लेख छ । रासस