विकासन्युज

आजको मौसम : मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही तथा बाँकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघगर्जन चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज काठमाडौंको विवरणमा आज काठमाडौंको न्यूनतम तापक्रम १८ दशमलव चार र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस छ ।

कर्जा नतिरेपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकले ऋणीलाई कानूनी कारवाही गर्ने

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको कर्जा नतिर्ने ऋणी अमृता किराना पसलका सञ्चालक सरीता देवीको तीन पुस्तालाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ । बैंकबाट लिएको ऋण समयमा चुक्ता नगरेपछि ३५ दिने सूचना जारी गर्दै सञ्चालकसहति जमानीकर्तालाई समेत कालोसूचीमा राख्ने चेतावनी दिएको हो । व्यवसायिक कर्जा सुविधा वापत लिएको कर्जाको साँवा तथा ब्याज रकम तथा सोमा लाग्ने हर्जाना, जरिवाना तिर्न पटक पटक मौखिक एवं लिखित ताकेता गर्दा समेत बेवास्ता गरेको बैंकले बताएको छ । ऋणीले कर्जा सम्बन्धी शर्त बन्देज उल्लंघन गरेकाले ३५ दिनभित्र ऋणकर्जाको साँवा तथा ब्याज, जरीवाना शुल्क चुक्ता फछ्र्यौट गर्न बैंकले आग्रह गरेको छ । अन्यथा, प्रचलित कानून बमोजिम कर्जा असूलीको लागि आवश्यक कानूनी कारवाही अगाडि बढाउनुका साथै ऋणी, प्रोप्राईटर, व्यक्तिगत तथा धितो जमानीकर्ताहरूको ३ पुस्ता सहित कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्न आवश्यक प्रकृया अगाडि बढाईने बैंकले जनाएको छ । जमानीकर्ताहरुमा रेन्जु देवी, धितो जमानीकर्ता शम्भु प्रसाद नुनिया, जय प्रकाश महतो, नारायण प्रसाद नुनिया र जयचन्द्र प्रसाद नुनिया रहेको बैंकले जनाएको छ ।

हकप्रद सेयर प्रस्ताव पारित गर्न रिडी पावरले डाक्यो विशेष साधारणसभा

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको जेठ २२ गते बसेको बैठकले असार ८ गते काठमाडौंमा विशेष साधारणसभा बोलाएको हो । सहायक कम्पनी मार्फत निर्माण गर्न लागिएको तल्लो बलेफि जलविद्युत आयोजनाका लागि आवश्यक स्वपूँजी लगानीका लागि विद्युत नियमन आयोगद्वारा प्राप्त सहमति बमोजिम हाल कायम रहेको सेयर संख्या १ अर्ब ५४ करोड ८९ हजार १२ कित्ता सेयर बराबर ०.५० सेयर अर्थात् विद्यमान १ कित्ता बराबर ०.५० कित्ताका दरले हुन आँउने ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । हकप्रद सेयर वितरण पश्चात् कम्पनीको अधिकृत, जारी र चुक्ता पूँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन र विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ । विशेष साधारणसभा प्रयोजनका लागि जेठ ३२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जेठ ३१ गतेसम्म कायम सेयरधनीहरु मात्रै साधारणसभामा भाग लिन पाउनेछन् ।

नेपाल पुनर्बीमाले गर्यो २९ करोड नाफा, जगेडा कोष ६ अर्ब १७ लाख रुपैयाँ पुग्यो

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ४६ करोड ४५ लाख रुपैयाँ नाफा गरेको छ भने जीवन बीमा व्यवसायमा १७ करोड २० लाख रुपैयाँ ऋणात्मक रहेको छ । दोस्रो त्रैमासमा कम्पनीले कूल २९ करोड २४ लाख ६७ हजार रुपैयाँ खुद नाफा गरेको हो । गत वर्षको सोही अवधिमा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट ३३ करोड ६१ लाख रुपैयाँ नाफा गरेको थियो भने जीवन बीमा व्यवसायमा ४ करोड ४७ लाख रुपैयाँ नोक्सानीमा थियो । अघिल्लो वर्ष कम्पनीले २९ करोड १४ लाख ३० हजार रुपैयाँ खुद नाफा गरेको थियो । पुस मसान्तसम्ममा कम्पनीको खुद बीमाशुल्क निर्जीवन व्यवसायबाट १ अर्ब ७९ करोड ८६ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट १ अर्ब ८४ लाख रुपैयाँ गरी कूल २ अर्ब ८० करोड ७१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो । गत वर्षको सोही अवधिमा कम्पनीले निर्जीवन व्यवसायबाट ४ अर्ब १७ करोड ४० लाख रुपैयाँ र जीवन व्यवसायबाट ७८ करोड ४० लाख रुपैयाँ गरी कूल ४ अर्ब ९५ करोड ८० लाख रुपैयाँ खुल बीमा शुल्क आर्जन गरेको थियो । यस्तै, कम्पनीले ६ महिनाको अवधिमा निर्जीवनतर्फ १ अर्ब ९९ करोड ११ लाख रुपैयाँ र जीवन तर्फ ८२ करोड ४८ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले निर्जीवन तर्फ १ अर्ब ९८ करोड २१ लाख रुपैयाँ र जीवन बीमा तर्फ ४९ करोड ८३ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँ र बीमा कोष २ अर्ब ५१ करोड ६४ लाख रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोष निर्जीवनतर्फ ५ अर्ब ८९ करोड १० लाख रुपैयाँ र जीवन बीमा तर्फ २८ करोड ७६ लाख रुपैयाँ गरी ६ अर्ब १७ करोड ८६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोष निर्जीवनतर्फ ३ अर्ब ५५ करोड ३४ लाख रुपैयाँ र जीवन बीमा तर्फ ५७ करोड ८४ लाख रुपैयाँ गरी कूल ४ अर्ब १३ करोड १९ लाख रुपैयाँ रहेको थियो । गत पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.५१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७४.६४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३३३.०१ गुणा रहेको छ ।

१० प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने मन्त्री बस्नेतको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्नका लागि कूल शय्याको १० प्रतिशत निःशुल्क नछुट्टाउने अस्पताललाई कारबाही गर्ने बताएका छन् । नेशनल बाथरोग सेन्टरको १०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले कानुनअनुसार कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको लागि छुट्टाइ निःशुल्क उपचार नगर्ने अस्पतालाई कारबाही गर्ने चेतावनी दिए । यही जेठ २१ गते मन्त्रालयले सबै अस्पताल र ७५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै १० प्रतिशत निःशुल्क उपचारको व्यवस्था मिलाउन निर्देशन दिएको छ । मन्त्री बस्नेतले विपन्न, गरिब र असहाय बिरामीको पहिचान गर्ने काम प्रत्येक वडालाई दिएको भन्दै वडा कार्यालयले पहिचान गरेर सिफारिसका आधारमा हरेक अस्पतालले विपन्न र असहाय बिरामीको लागि १० प्रतिशत शय्यामा निःशुल्क उपचार गर्नुपर्नेमा जोड दिए । उनले अस्पतालहरूले विपन्नलाई निःशुल्क उपचार गरे नगरेको स्वास्थ्य मन्त्रालयले अनुगमन गर्ने भनाइ छ । ‘अस्पतालले १० प्रतिशत शय्यामा गरिब, विपन्नलाई निःशुल्क उपचार दिएको छ वा छैन अनुगमन गर्छौँ, यदि ति अस्पतालले निःशुल्क उपचार नगरेको पाइएकामा कारबाही गछौँ,’ उनले भने । आर्थिक अभावको कारणले कुनै पनि बिरामीले औषधि उपचार गर्न नपाएर ज्यान गुमाउन नपरोस्मा भन्दै त्यस्ता बिरामीका लागि मन्त्रालयले आकस्मिक उपचार कोषको व्यवस्था गर्ने बताए । रोग लागेपछि उपचारमा ठूलो धन राशि खर्च गर्नुको सट्टा रोग लाग्नै नदिनेतर्फ ध्यान दिनुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै उनले आहार, बिहार र शारीरिक व्यायाम ठीक ढङ्गले गर्न सके बाथलगायत धेरै रोगबाट बच्न सकिने विश्वास व्यक्त गरे । वरिष्ठ बाथरोग विज्ञ डा विनित वैद्यले नेशनल बाथरोग सेन्टरले सरकारले पनि हातेमालो गरेर बाथरोग नियन्त्रण र रोकथाम गर्ने सक्ने बताए । सेन्टरका कार्यकारी निर्देशक रोशन कक्षपतिले आगामी पाँच वर्षभित्र सेन्टरले थप सात जिल्लामा सेवा विस्तार गर्ने जानकारी दिए । सो अवसरमा बस्नेतले नेशनल बाथरोग सेन्टरले सञ्चालन गर्न लागेको थर्मोग्राफी सेवा शुभारम्भ गरे ।

‘तत्काल मन्दीको असर कम गर्ने बजेट आएन, मूल्य वृद्धि बढाउँछ’

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटले अहिलेको आर्थिक सङ्कट टार्न सक्ने ठोस योजना तथा कार्यक्रम ल्याउन नसकेको प्रतिक्रिया दिएको छ । महासङ्घले प्रेस विज्ञप्तिमार्फत बजेटबारे प्रतिक्रिया दिँदै निजी क्षेत्रलाई आर्थिक विकासको संवाहकको रुपमा आत्मसात गर्दै महासङ्घद्वारा प्रस्तुत सुझावसमेत समावेश भएको बजेटले दीर्घकालीन लगानीको सम्भावनालाई बढाए पनि तत्काल मन्दीको असर कम गर्ने उपाय अवलम्बन गर्न नसकेको बताएको छ । पूँजीगत खर्च नबढाउने र बजारको माग बढाउने उपाय तत्काल अवलम्बन हुन नसक्ने हो भने मन्दीमा रहेको अर्थतन्त्रमा आगामी आर्थिक वर्षमा पनि सुधारको अपेक्षा न्यून रहेको महासङ्घको धारणा छ । यसले सरकारले लिएको छ प्रतिशतको आर्थिक वृद्धि र साढे ६ प्रतिशतको मुद्रास्फिति दरको वान्छित सीमा हासिल गर्न सकिने सम्भावना कम रहेको उसको भनाइ छ । व्यावसायिक वातावरण सुधारका लागि आगामी बजेटमा वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा प्राप्ति, काठको उपयोग तथा धौवादीसहित अन्य खानीको सम्भाव्यता खोजी गर्ने लगायतका विषय स्वागतयोग्य रहेको महासङ्घको भनाइ छ । त्यस्तै वातावरणमा असर नपर्ने गरी उपयुक्त देखिएका स्थानबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् र निकासीको बाटो बजेटमार्फत खोलिएकाले यसबाट व्यापार घाटा कम गर्न मद्दत पुग्ने अपेक्षा महासङ्घले गरेको छ । त्यसैगरी, २० प्रतिशत महँगो भए पनि स्वदेशी वस्तु उपयोग गर्ने, सडक ढलान गर्ने परियोजनामा स्वदेशी उत्पादनलाई प्रश्रय दिने, विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रको विकास, बाँझो जमिनमा खेती गर्नेलगायतका प्रावधानले आयात प्रतिस्थापनमा सहयोग महासङ्घको ठहर छ । स्टार्टअप विकासका लागि विभिन्न कोषको प्रवद्र्धन र नगद अनुदान, कम्पनी खोल्न गरिएको सहजीकरणले नयाँ व्यवसायीको बजारमा प्रवेश हुन सक्ने ठानिएको छ । आर्थिक विधेयक २०८० मार्फत सरकारले करका दरमा गरेको हेरफेरबाट मुलुकको समग्र अर्थतन्त्रमा थप असर देखिनसक्ने महासङ्घको भनाइ छ । ‘बजेटमा आम उपभोक्ता र व्यवसायीलाई पर्न सक्ने प्रभावको मूल्याङ्कन नगरी करको दर र दायरामा गरिएको विस्तारले बजारमा कायम मन्दीलाई कायम राख्ने मात्र नभई थप नकारात्मक प्रभाव पर्नेछ,’ महासङ्घले विज्ञप्तिमा उल्लेख गरेको छ । प्रचलित कानुन बमोजिम कर दायित्व फरकफरक गरी कर चुक्ताको प्रमाणपत्र समेत लिइसकेको अवस्थामा आर्थिक विधेयकमा धितोपत्र, जग्गा तथा घरजग्गाको व्यावसायिक कारोबार गर्ने प्राकृतिक व्यक्तिका हकमा गरिएको व्यवस्थाले अन्यौल सिर्जना गरेको महासङ्घले जनाएको छ । ‘नियामक निकायको स्वीकृतिमा पुँजी वृद्धिकै लागि जारी गरिएको एफपिओ एवं मर्जरको गतिविधिमा विगतदेखि कर नतिरेको भए तिर्नु भन्ने प्रावधान आफैँमा व्यवसायको निमित्त असीमित दायित्व सृजना गर्ने खालको भएकोले प्रत्युत्पादक छ, राज्यले पश्चातगामी कानुन जारी गरी कर असुल गरेको अभ्यास आयकर ऐन लगायतका कानुनमा व्यवस्था नभएको हुँदा यसलाई पुनरावलोकन गरिनुपर्दछ,’ महासङ्घले भनेको छ । वनस्पति, घ्यू, तेललगायतका उद्योगका कच्चा पदार्थमा गरिएको भन्सार वृद्धिले उपभोक्ता मूल्य बढ्नुका साथै उत्पादनलाई निरुत्साहित गरेको र स्वदेशी उद्योगको प्रवद्र्धनका लागि कच्चा पदार्थ र तयारी उत्पादन बीच कम्तीमा दुई तहको फरक हुनुपर्ने निजी क्षेत्रको मागलाई वेवास्ता गरिएको महासंघको भनाइ छ । यातायातमा मूल्य अभिवृद्धि कर लगाउने प्रावधान प्रति उत्पादक हुने महासङ्घको ठहर छ । यसअघि छुट पाइरहेका कतिपय कृषि उत्पादन र फलपूललमा मूल्य अभिवृद्धिकर लागू भएपछि उपभोक्ता मूल्य बढ्ने अनुमान महासङ्घको छ । यसबाहेक, करको दर र दायरामा गरिएको परिवर्तनले व्यवसायमा परेको प्रभावबारे महासङ्घ सदस्यबाट गुनासो आउने क्रम जारी छ । मन्दीको समयमा व्यवसाय निरुत्साहित हुने गरी गरिएका व्यवस्थामा सुधारका लागि महासङ्घ अर्थ मन्त्रालय र अन्य सरोकारवाला निकायसँग निरन्तर सम्वाद र छलफलमा रहने उल्लेख गरिएको छ ।

खप्तडमा आध्यात्मिक सम्मेलनको तयारी पूरा

काठमाडौं । भूस्वर्ग मानिने सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्र खप्तडमा यही जेठ २३ गतेदेखि अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना हुँदैछ । तीन दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनका लागि मूल आयोजक समितिका संयोजक एवं प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहितको मन्त्रीको टोली खप्तड क्षेत्रमा पुगिसकेको छ । आयोजक समितिका सहसंयोजक एवं प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीले सम्मलेनको तयारी लगभग पूरा भएको जानकारी दिए । ‘सम्मेलनमा सहभागी हुन आउनेहरूका लागि बसोबासको थोरै समस्या देखिएकाले त्यसको व्यवस्थापनमै जुटेका छौँ,’ उनले भने । सम्मेलनमा भारतीय योगगुरु बाबा रामदेव पनि सहभागी हुन लागेको जनाइएको छ । पतञ्जली योगपीठ हरिद्वारका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण खप्तड पुगिसकेका छन् । सम्मेलनको तयारीका लागि प्रदेशका मुख्यमन्त्री शाहको संयोजकत्वमा ४०१ सदस्यीय सम्मेलन मूल तयारी समिति र अन्तर्गत विभिन्न १२ उपसमिति गठन गरिएको छ । प्रदेश सरकार, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको पहलमा पहिलो पटक यस्तो सम्मेलन हुन लागेको हो । समुद्री सतहबाट झन्डै ३ हजार २ सय मिटरको उचाइमा रहेको खप्तड क्षेत्र प्रकृति, पर्या पर्यटन, आध्यात्मिक लगायतका दृष्टिले महत्त्वपूर्ण रहेको छ । सुदूरपश्चिमका डोटी, बझाङ, बाजुरा र अछामको सङ्गम क्षेत्रका रूपमा रहेको यो क्षेत्रमा खप्तडबाबाले ५ दशकसम्म साधना गरेका थिए । यो क्षेत्रमा खप्तडबाबाको कुटी, सहस्त्र लिङ्ग, विभिन्न २२ पाटन, ५३ झोती (टापु) लगायतका आकर्षक संरचना छन् । बहुमूल्य जडीबुटी पनि पाइन्छन् । खप्तड राष्ट्रिय निकुञ्ज पनि रहेको यो क्षेत्र झन्डै २२५ वर्ग किलोमिटरमा फैलिएको छ । आध्यात्मिक पर्यटनको प्रवद्र्धन गर्दै प्रदेशको समग्र विकासमा टेवा पु¥याउने उद्देश्यले यो सम्मेलन हुन लागेको हो । सुदूरपश्चिम देवभूमि र तपोभूमिका रूपमा सदियौँदेखि परिचित पनि छ भन्ने सन्देश दिन पनि यो सम्मेलन गर्न लागिएको हो । विकासको पहिलो पूर्वाधार मानिने सडक मार्ग खप्तडमा आहिलेसम्म पुग्न सकेको छैन । डोटी जिल्लाको झिङ्गराना हुँदै खप्तड पुगिन्छ । झिङरानासम्म यातायातमार्फत पुगिने भए पनि त्यसपछि झन्डै एक दिनको पैदल यात्रापछि मात्र खप्तड पुगिन्छ । बाजुरा, बझाङ र अछामको बाटो हुँदै पनि खप्तड पुगिन्छ ।

यात्रीले राजमार्गमा फोहर फाले होटल र पसललाई कारबाही गरिने

काठमाडौं । राजमार्गमा यात्रारत यात्रुहरू तथा सडक छेउमा सञ्चालनमा रहको होटल पसलहरूले जथाभावी फोहर फाल्ने गरेका कारण विपी राजमार्गमा दैनिकजसो दुर्गन्ध बढ्दै गएको छ । सार्वजनिक सवारीसधान तथा निजी सवारीसधान प्रयोग गरी राजमार्गमा आवतजावत गर्ने यात्रुहरूले प्रयोग गर्ने पानी र जुस प्याक गर्न बनेको प्लास्टिकका बोतल, प्लास्टिक झोला र अन्य प्लास्टिकजन्य वस्तुहरू जथाभावी फाल्ने गरेका कारण सडक नाली र सडक छेउछाउमा निकै फोहर बढेको हो । त्यसरी सडक आसपासका क्षेत्रमा फोहर बढ्न थालेपछि सो राजमार्गले छोएका नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सडक क्षेत्रमा सरसफाइ अभियान थालेको छ । नगरपालिकाको दोस्रो कार्यकालको नयाँ नेतृत्व आएपछि राजमार्ग क्षेत्रलाई सरसफाइ गर्ने, सवारी चालकहरूलाई जथाभावी फोहर नफाल्न सचेत गराउने र होटल तथा पसल सञ्चालकहरूलाई समेत फोहर व्यवस्थित गर्न जनचेनामूलक अभियान सञ्चालन गर्दै आएको छ । यसैबीच, विश्व वातावरण दिवसको सन्दर्भ पारेर आयोजित राजमार्ग सरसफाइका क्रममा नगरप्रमुख कुन्साङ लामा र उपप्रमुख रत्नबहादुर लामाको नेतृत्वमा सो क्षेत्रमा सञ्चालित होटल, पसलका साथै निजी तथा सार्वजनिक यातायातका यात्रुले जथाभावी फोहर फालेको भेटिएपछि सचेत गराएको छ । उनीहरूलाई फोहोर नफाली सभ्य नागरिकको परिचय दिन र वातावरण सफा बनाउने काममा सहयोग गर्नसमेत आग्रह गरेको छ । फोहर गर्ने राजमार्गका होटल/पसललाई कारबाही गरिने यसैबीच, नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका सडकमा फोहर फालेमा कारबाही थालिने जनाएको छ । ‘सडकमा यात्रारत यात्रुहरू तथा सवारीचालक तथा सहचालकहरू कसैले पनि प्लास्टिक र फोहरजन्य वस्तु नफाल्न थप सचेत गराउन चाहन्छौँ, पटक पटक गरेको आग्रहलाई बेवास्ता गर्दै दैनिकरूपमा फोहर फालेर दुर्गन्ध बढाउने गरेको पाइएमा नगरपालिकाको बजार व्यवस्थापन कार्यविधि, २०७८ र फोहरमैला व्यवस्थापन ऐन, २०६८ अनुरुप कारबाहीसहित जरिवाना गर्न बाध्य हुनेछौँ,’ नगरप्रमुख लामाले भने । नगरपालिकाले सुरु–सुरुमा सचेतनाका कार्यक्रमसमेत सञ्चालन गरी सवारी साधनहरूमा फोहर फाल्ने भाँडोको प्रयोग गर्न आग्रह गर्दै यात्रुहरूलाई त्यसको प्रयोगका लागि आग्रह गर्दै आएको थियो । अब पटक पटकको आग्रह र सचेतना अभियानमार्फत सतर्कता गराउँदा पनि वेवास्ता गर्नेहरूलाई कारबाही नै गर्ने चेतावनी दिएको हो । नगरपालिकाले प्रहरीसँगको सहकार्यमा यसअघि नै राजमार्ग प्रयोग गर्दा फोहरजन्य सामग्री फालेको पाएमा नगरपालिकाको बजार व्यवस्थापन कार्यविधि, २०७८ र फोहरमैला व्यवस्थापन ऐन, २०६८ अनुरुप कारबाहीसहित जरिवाना गर्न बाध्य हुने वातावरण अधिकृत सन्तोष काफ्लेले बताए । नगरपालिकाले आफ्नो नगरभित्रको क्षेत्रमा पर्ने राजमार्ग र नालीसहितको आसपासका क्षेत्रमा बेलाबेलामा सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ । यसै अनुरुप नगरले दोस्रो पटक नगर प्रवक्ता टीकाबहादुर केसी, प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्मा, वडाअध्यक्षहरू रमेश तिवारी, अर्जुन कार्की, धर्म सिं लामासहितका जनप्रतिनिधि, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, कर्मचारी सहितको टोलीले सवारी चालक, यात्रु र होटल सञ्चालकहरूलाई सचेत गराउँदै सडक क्षेत्रको विभिन्न स्थानमा यत्रतत्र छरिएर रहेका फोहरहरू सङ्कलन र व्यवस्थापन गरेको छ । सो क्रममा नगरपालिकाले सवारी साधनका चालक र यात्रुलाई फोहर नफाल्न अनुरोध गर्दै चेतनामूलक स्टिकरसमेत टाँसेको थियो । सडकमा आवतजावत गर्नेहरूको बेवास्तामा जथाभावी फोहर फाल्ने गरेका कारण विपी राजमार्ग खण्डका सडकहरू आसपासमा फोहर बढ्दै गएको छ ।रासस