असारसम्म मर्जरमा जाने बैंकलाई ६ सुविधा, ब्याज छुटदेखि सीडी रेसियोसम्म
काठमाडौं । राष्ट्र बैंकले असार मसान्तभित्र एकीकृत कारोबार गर्ने बैंक तथा वित्तीय संस्थालाई विभिन्न छुटको व्यवस्था गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै वि.सं. २०८० असारसम्म एकीकृत कारोबार गरेमा विभिन्न ६ वटा सुविधा तथा छुटको व्यवस्था गरेको हो । ‘वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्न नसकेको अवस्थामा २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा सुविधा तथा छुट प्रदान गरिनेछ,’ राष्ट्र बैंकले भनेको छ । राष्ट्र बैंकका अनुसार तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने छ । साथै, सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तिमा ६ महिना व्यतीत नभई अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ । साथै, एकीकृत कारोबार सञ्चालन गर्दा कर्जा निक्षेप अनुपातले सीमा नाघेमा तोकिएको सीमा कायम गर्न ६ महिनाको समय प्रदान गरिने राष्ट्र बैंकले बताएको छ । ‘मर्जरमा संलग्न संस्थामा साविकमा कायम रहेको भिन्न ब्याजदरका कारण एकीकृत कारोबार गर्दाका बखत ब्याजदर अन्तर राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी भएमा ब्याजदर अन्तरलाई तोकिएको सीमाभित्र ल्याउन एक वर्षको समय प्रदान गरिने छ, तोकिएको प्रतिसंस्था निक्षेप संकलन सीमामा एक वर्षसम्म ५ प्रतिशत बिन्दुले थप गरिने छ,’ राष्ट्र बैंकको एकीकृत निर्देशनमा उल्लेख गरिएको छ । एकीकृत कारोबार सञ्चालनको क्रममा एक किलोमिटरको दूरीमा सञ्चालनमा रहेका शाखा कार्यालयहरु मध्ये कुनै एक शाखा कायम राखी सोही दूरी भित्रका अन्य शाखा गाभ्न वा बन्द गर्न एक वर्षसम्म राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने राष्ट्र बैंकको भनाइ छ ।
मिटरब्याजीविरुद्ध मलङ्गवाबाट सबैभन्दा धेरै उजुरी
सर्लाही । सर्लाहीमा मिटरब्याजीविरुद्ध परेका एक हजार नौ सय २० उजुरीमध्ये सबैभन्दा धेरै मलङ्गवा नगरपालिकाबाट परेका छन् भने सबैभन्दा कम बागमती नगरपालिकाबाट परेका छन् । अनुचित लेनदेन अर्थात् मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले उजुरी माग गरेपश्चात् जिल्लाभरबाट एक हजार नौ सय २० वटा उजुरी परेकामा मलङ्गवा नगरपालिकाबाट मात्रै चार सय ५८ वटा उजुरी परेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार ईश्वरपुर नगरपालिकाबाट एक सय ३१, बरहथवा नगरपालिकाबाट एक सय २८, कविलासी नगरपालिकाबाट एक सय ६०, हरिपुर नगरपालिकाबाट एक सय ५१, ब्रह्मपुरी गाउँपालिकाबाट एक सय ४८ वटा उजुरी परेका छन् । बीस स्थानीय तह रहेको सर्लाहीमा ईश्वरपुर, बरहथवा, मलङ्गवा, कविलासी, हरिपुर, ब्रह्मपुरी गरी छवटा पालिकाबाट मात्रै ६० प्रतिशतभन्दा बढी उजुरी परेको प्रजिअ यादवले बताए । यस्तै हरिपुर्वा नगरपालिकाबाट ९०, बलरा नगरपालिकाबाट ८४, चन्द्रनगर गाउँपालिकाबाट ६८, लालबन्दी नगरपालिकाबाट ६७, गोडैता नगरपालिकाबाट ४९ र कौडेना गाउँपालिकाबाट ४७ उजुरी परेका छन् भने चक्रघट्टा गाउँपालिकाबाट ३७, धनकौल गाउँपालिकाबाट ३६, बसबरिया गाउँपालिकाबाट ३३, पर्सा गाउँपालिकाबाट ३२, विष्णु गाउँपालिकाबाट २३ र रामनगर गाउँपालिकाबाट पनि २३ उजुरी परेका छन् । जिल्लाभरमा सबैभन्दा कम बागमती नगरपालिकाबाट पाँचवटा मात्रै उजुरी परेका छन् । उक्त कार्यालयले जेठ १४ गतेसम्म जिल्लाभरका मिटरब्याज पीडितहरुसँग उजुरी लिएको थियो । पीडितहरुले दिएका उजुरी पालिकागतरूपमा छुट्याउने काम पूरा गरिएको सहायक प्रजिअ होमप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार मिटरब्याज साहुको विवरणसमेत ‘एक्सल सिट’मा इन्ट्री गरेर राखिएको छ । एक हजार नौ सय २० पीडितका उजुरी अब सम्बन्धित पालिकामै पठाएर त्यहाँ मिटरब्याजीविरुद्ध उजुरीसहित सम्बद्ध पक्षा तथा जनप्रतिनिधिको रोहवरमा पहिलो चरणमा छलफल गराई पालिकाबाटै समस्या समाधान गर्ने प्रयास गरिने सहायक प्रजिअ घिमिरेले बताए । उनका अनुसार लिएको ऋणभन्दा दोब्बर/तेब्बर बढीको कागज बनाएर मिटरब्याजी साहुले घरजग्गा नै लिलाम गरी उठिबासकै स्थिति सृजना गराएपछि जिल्लाका मिटरब्याज पीडितले पटकपटक र चरणबद्ध आन्दोलन गर्दै आएका थिए । अहिले आयोग नै गठन गरेर छानबिनको प्रक्रिया अघि बढ्दा न्याय पाउने आश पलाएको हरिवन नगरपालिका– २ का मिटरब्याज पीडित रामपुकार महतोले बताए । उनका अनुसार आफूहरुले पटकपटक चरणबद्ध आन्दोलन गरेपछि राज्यको केही भए पनि ध्यान मिटरब्याजी पीडिततर्फ गएको छ । रासस
आकाशमै ढोका खुलेपछि बीचबाटै फर्कियो श्री एयरलाइन्सको जहाज
काठमाडौं । आकाशमै जहाजको ढोका खुलेपछि काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाज बिचबाटोबाटै काठमाडौं फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौ–धनगढी उडेकाे जहाज विमानस्थलबाट उडेर ५० माइल पुगेपछि जहाजको ‘प्रेसराइजेसन सिस्टम’ बिग्रिएको सङ्केत विमानचालक पाइलटले पाएपछि जहाज काठमाडौं फर्काएर सकुशल अवतरण गरिएको थियो । जहाजमा ७२ जना यात्रु सवार थिए । प्रवक्ता सिटौलाले भने, ‘विहान धनगढी उडेको जहाज, प्रेसराइजेनस जहाज हाई अल्टिच्युटमा जाँदा अक्सिजन तह सन्तुलन गर्ने प्रणालीमा समस्या देखिएपछि जहाज ५० माइल उडेपछि पुनः काठमाडौ फर्काइएको थियो, उक्त जहाजका यात्रुलाई विहान १०ः३० बजे अर्के जहाजको उडानबाट गन्तव्य लगिएको छ ।’ काठमाडौं विमानस्थलबाट विहान ८ः३० बजे धनगढीका लागि उडान भरेको जहाजमा प्रेसराइजेसन सिस्टमले काम नगरेपछि बिचबाटोबाटै फर्काइएको विमानस्थले जनाएको छ । उक्त जहाजका यात्रुलाई वैकल्पिक व्यवस्था गरेर गन्तव्य पु¥याइएको पनि थियो । श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जहाजमा केही प्राविधिक मर्मतपछि सञ्चालनमा आइसकेको बताए । रासस
सरकारसँग गुनासो छ ? अब भर्चुअल संवादबाटै गर्नुहोस्
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग जुनसुकै ठाउँमा बसेर पनि भर्चुअल संवाद गर्न सकिने भएको छ । मन्त्रालयबाट हुने कार्य सम्पादनलाई प्रभावकारी बनाउन नागरिकका सुुझाव र गुनासो सहज प्राप्त होस् भनेर यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । जसका लागि मन्त्रालयको वेबसाइटमा ‘मन्त्रीसँग भर्चुअल संवाद’ प्लेटफर्म थप गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइट https://www.mocit.gov.np/ मा गएर ‘मन्त्रीसँग भर्चुअल संवाद’ क्लिक गरी संवाद प्रक्रिया अघि बढाउन सकिनेछ । सोझै https://mocit.gov.np/write-to-minister मा गएर पनि मन्त्रीलाई मन्त्रालय वा सरकारसँग सम्बन्धित गुनासो वा सुझाव राख्न सकिने छ । यसले देशका जुनसुकै कुनाबाट पनि गुनासो र सुुझाव प्राप्त गर्न सकिने मन्त्रालयको विश्वास छ । ‘मन्त्रालयमा दैनिक भेट गर्न आउनेहरुको चाप धेरै छ, जसमा अधिकांशले अत्यावश्यकीय तर सानासाना गुुनासो लिएर आएका हुन्छन्’ मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले भने, ‘त्यस्तो गुनासो सेवाग्राहीले अनलाइनबाट पठाउन सकून् र मन्त्रालय नपुगेर पनि देशका जुनसुकै कुनाबाट गुनासो र सुझाव दिन सकून् भनेर यो प्लेटफर्मको व्यवस्था गरिएको हो ।’ मन्त्रीको सञ्चार सचिवालयबाट सम्बन्धित पक्षसँग समन्वय गरी जिज्ञासाको सम्बोधन साप्ताहिकरूपमा गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । ‘सकेसम्म त्यस्ता सुझाव वा गुनासो मन्त्रालयसँगै केन्द्रित रहेर आएमा सम्वोधन गर्न सजिलो हुनेछ’, प्रवक्ता सुवेदी भने, ‘मन्त्री सरकारको प्रवक्ता पनि भएकाले सिंगो सरकारसँग जोडिएका नीतिगत सुझाव पनि दिन सकिने छ ।’
सुरु हुन सकेन प्रतिनिधिसभाको बैठक
काठमाडौं । विपक्षी दलले विरोध गर्ने भएपछि प्रतिनिधिसभाको बैठक सुरु हुन सकेको छैन । बजेट निर्माणको प्रक्रियामा अनधिकृत रुपमा पूर्वनायब सुब्बालाई संलग्न गराइएको भन्दै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले विरोध गर्ने भएपछि बैठक सुरु हुन नसकेको हो । सत्तारुढ प्रतिपक्षी दलहरुको यही विवाद र छलफल लम्बिएका कारण बिहान ११ बजे बस्ने तय भएको प्रतिनिधिसभाको बैठक मध्याह्न १२ बज्न लाग्दा समेत सुरु हुन सकेको छैन । सभामुखको कार्यकक्षमा अहिले विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरुको अनौपचारिक बैठक चलिरहेको छ । उनीहरुले यो विषयको लागि छानबिन समिति नै बनाउनुपर्ने अडान लिइरहेका छन् । अनौपचारिक रुपमै उनीहरुले विरोध गर्ने कुरा गरिसकेपछि कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न सकेको छैन ।
कृषि व्यवसायबाट राम्रो आम्दनी गर्दै भोजपुरका युवा
भोजपुर । कृषि पेसामा युवा कमै भेटिन्छन् । खास गरेर छोटो समयमा राम्रो आम्दानी गर्ने सबैमा अभिलाषा हुन्छ । छिटो पैसा कमाउने सोचले युवाले वैदेशिक रोजगारलाई रोज्ने गरेका छन् । युवाले स्वदेशमा मेहनत गर्नुभन्दा विदेशप्रति नै बढी मोह देखाउने गरेको अवस्था छ । तर भोजपुर नगरपालिका–४ सिद्धेश्वरका २४ वर्षीय युवा गणेश विष्ट कृषि व्यवसायमा उदाहरणीय बनेका छन् । विदेशप्रतिको मोह त्यागेर समाजमा उदाहरणीय काम गर्ने लक्ष्यले सानै उमेरमा कृषिमा होमिएका उनी युवाको उत्प्रेरणाको स्रोत बनेका छन् । करिब पाँच वर्षअघि इलामबाट उन्नत गाई ल्याएर व्यावसायिक पशुपालनमा लागेका उनी यही पेसामा रमाएका छन् । हालसम्म व्यावसायिक गाईपालनका लागि १५ लाख रुपैयाँ बढी लगानी गरिसकेको उनको भनाइ छ । पशुपालनबाट निस्केको मलको सदुपयोग गर्दै उनले व्यावसायिकरुपमा सुन्तला तथा तरकारी खेती समेत गर्दै आएका छन् । दाँवाली कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिकरुपमा कृषिमा लागेका उनी समाजको एक उदाहरणीय पात्र समेत हुन् । विगतमा आफ्नो फार्ममा उत्पादन भएको दूध बजारका दुग्ध उद्योगमा बेच्दै आएका उनले अहिले आफँ उद्योग सञ्चालन गरेर स्वरोजगार समेत बनेका छन् । विदेशमा गएर अर्काको ठाउँमा पसिना बगाउनुभन्दा आफ्नो देशमा मेहनत गरे राम्रो आम्दानी लिन सकिने कृषक विष्टको भनाइ छ । ‘सानैबाट कहिले पनि विदेशप्रतिको मोह आएन’, उनले भने, ‘आफै उद्यममा लागेर आम्दानी गर्न सकिन्छ भन्ने सोचले विगत पाँच वर्षबाट कृषिमा लागेको हुँ । सुरुआती चरणमा धेरै दुःख पाएँ । उत्पादन भएको दूधले उचित मूल्य नपाउँदा धेरै समस्या थियो । तर अहिले आफैले दुग्ध डेरी सञ्चालन गरेको छु । यहीँ मेहनत गरे आम्दानी गर्न सकिन्छ ।’ उनी उठेदेखि साँझसम्मको समय कृषिमा लगाउँछन् । गाउँघरका किसानलाईसमेत पशुपालनमा लाग्नका लागि प्रोत्साहन थप्दै आएका छन् । कृषक विष्टले घरसम्म पुगेर दूध खरिद गर्न थालेपछि पशुपालनमा लाग्न हौसला मिलेको स्थानीय पशुपालक किसानले बताउने गरेका छन् । सानै उमेरमा व्यवसायमा लागेका विष्ट बिहान मोटरसाइकलमा राखेर ११ किलोमिटर पर रहेको भोजपुर बजारमा लगेर दूध बिक्री गर्छन् । हिउँदको समयमा दूध सङ्कलनमा सहज रहे पनि वर्षात्मा कच्ची बाटो हिलाम्य बन्दा समस्या हुने गरेको उनको भनाइ छ । कृषक विष्टले आफ्नो फार्मबाट उत्पादन भएको दूधसँगै जिल्लाका विभिन्न ठाउँमा पुगेर किसानको घरबाट सङ्कलन गरेर दूध ल्याउने गरेका छन् । उनले अहिले भोजपुर बजारमा दुर्गा दुग्ध डेरी उद्योग सञ्चालन गरेर बजारको दूधको मागलाई धान्दै आएका छन् । ‘व्यवसाय सञ्चालनका क्रममा धेरै समस्या झेलें’, कृषक विष्टले भने, ‘जो मानिस समस्याको सामना गर्नसक्छ त्यो सफल बन्ने रहेछ । मैले धेरै सङ्घर्ष गरेको छु । आफ्नो फार्ममा उत्पादन भएको दूधले बजारको माग पूरा गर्न कठिन भएपछि किसानको घरमा पुगेर दूध सङ्कलन गर्छु । ती किसानलाई पनि केही राहत पुगेको छ । मेहनत गरे कृषि व्यवसाय गरेर जीवनयापन गर्न कुनै समस्या छैन ।’ सिजनमा आफ्नो फार्मबाट दैनिक ६० देखि ८० लिटर र अन्य किसानबाट सङ्कलन भएको गरी दैनिक एक सय ८० देखि दुई सय लिटरसम्म दूध बिक्री गरिरहेको उनको भनाइ छ । दुग्धजन्य परिकार बनाउने उपकरण नहुँदा समस्या रहेको किसान विष्टले बताए । दूधलाई चिस्याउनका लागि आवश्यकपर्ने उपकरण नहुँदा गर्मीको समयमा बढीमात्रामा दूध फाट्ने सम्भावना हुने उनको भनाइ छ । राज्यकोतर्फबाट दुग्धजन्य परिकार बनाउने उपकरणमा सहयोग पाए सहज हुने उनले बताए । ‘बढी मात्रामा दूध सङ्कलन गरेर भण्डारण गर्न समस्या छ’, उनले भने, ‘त्यस्ता खालका उपकरण खरिदमा निकै ठूलो लगानी लाग्ने रहेछ । यस्ता कुरामा राज्यले सहयोग गरे धेरै किसानलाई सहज हुने थियो ।’ व्यवसायी विष्टले दाँवा, तल्लो बोखिम, माथिल्लो बोखिम, टक्सार, धापखर्क, पौवादुङमा गाउँपालिकाको श्यामशिला, तिवारीभञ्ज्याङलगायत ठाउँका एक सय ५० बढी कृषकले उत्पादन गरेको दूध सङ्कलन गरेर बिक्री गर्दै आएका छन् । विगतमा घरयासी प्रयोजनमा मात्र खपत गर्दै आएको दूध बिक्री गर्न पाउँदा खुसी लागेको माथिल्लो बोखिमका कृषक भोजराज घिमिरेले बताए । आफ्नै ठाउँमा दूध बिक्री भएपछि सहज भएको उनको भनाइ छ । ‘हामीलाई दूधको बजारीकरणमा सहजता थपिएको छ’, कृषक घिमिरेले भने, ‘बजार टाढा भएकाले विगतमा धेरै किसानले दूध बिक्री गर्दैन थिए । उनीहरुले घरयासी प्रयोग मात्र गर्दै आएका थिए । गाउँमा नै दूध सङ्कलन केन्द्र हुँदा सहज छ । अहिले दूध बिक्रीबाट आएको पैसाले घर खर्च टार्न सकेका छौँ ।’ कृषक विष्टले आंशिकरुपमा अन्य मानिसलाई रोजगारी समेत दिएका छन् । दुग्ध व्यवसायसँगै उनले नौ वटा टनेलमा व्यावसायिकरुपमा तरकारी खेती समेत गर्दै आएका छन् भने व्यावसायिकरुपमा १५ रोपनी बढी क्षेत्रमा सुन्तला खेती पनि गरेका छन् । कृषि व्यवसायबाट भविष्यमा वार्षिकरुपमा रु १५ देखि २० लाखसम्म आम्दानी लिने लक्ष्य रहेको किसान विष्टको भनाइ छ । आफूले आर्गानिक तरकारी उत्पादनमा जोड दिएको उनले बताए । ‘कृषि व्यवसाय गरेर सफल बन्दैन भन्ने धेरै थिए’ उनले भने, ‘इलामबाट गाई किनेर ल्याएर व्यवसाय थाल्दा यो डुब्यो भन्ने पनि थिए । अहिले मैले यहाँ उत्पादन भएको मलको सदुपयोग गर्दै आर्गानिक तरकारी खेतीमा जोड दिएको छु । यस वर्ष मात्र नौ वटा टनेल विस्तार गरेको छु । त्योसँगै १४ रोपनी क्षेत्रफलमा सुन्तला खेती विस्तार गरेको छु ।’ कृषिमा योजनाबद्धरुपमा लागेको देखेर राज्यले तरकारी खेतीका लागि केही सहयोग गरेको कृषक विष्टको भनाइ छ । राज्यको सहयोगले व्यवसायमा लाग्न हौसला मिलेको उनले बताए । ‘सुरुमा राज्यकोतर्फबाट खास सहयोग भएन’, उनले भने, ‘आफैले ऋणपान गरेर आवश्यकता पूरा गर्दै गएँ । अहिले तरकारी खेतीका लागि केही सहयोग पाएको छु । कृषि ज्ञान केन्द्रको सहयोगमा टनेल विस्तार गरेको छु ।’ आफ्नै ठाउँमा मेहनत गर्नसके विदेशमा हुने कमाइ यही गर्न सकिने उनको भनाइ छ । आफूले कृषि क्षेत्रमा पाएको सफलता देखेर धेरै युवाले यसप्रति रुचि देखाएको उनको भनाइ छ । उनीहरुलाई आफूले सिकेको सीप सिकाउँदै कृिष पेसामा लाग्न प्रोत्साहन गर्दै आएको उनले बताए । ‘स्वदेशमा कृषिमा सम्भावना देखेर कृषिमा लागेको हुँ’, उनले भने, ‘पशुपालनबाट निस्किएको मलको प्रयोग गरेर बेमौसमी तयार खेतीको अवधारणाअनुसार काम गरिरहेको छु । मैले आर्गानिक कृषि उत्पादनमा जोड दिएको छु । यो लाग्न रुचि देखाउने युवा साथीलाई आवश्यक सहयोग गर्दै आएको छु ।’ रासस
अनुगमनका लागि छुट्याइएको बजेट सकिएपछि विभागले बजार डुल्न छोड्यो, महँगीको मारमा जनता
काठमाडौं । बजार अनुगमन तथा नियमन गर्ने सरकारी निकाय हो वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग । बजारमा हुने कालोबजारी नियन्त्रण गर्ने, अनुचित व्यापार गर्ने व्यवसायिक फर्म तथा उद्योगलाई कारवाहीदेखि त्यस्ता उद्योगी व्यवसायीलाई जेलसम्म पठाउन सक्ने अधिकार विभागसँग छ । अनुचित कारोबार गर्नेलाई जेलसम्म पठाउने अधिकार भएको विभागले पछिल्लो समय हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सकेको छैन । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट पश्चात दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न थालेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले गत जेठ १५ गते संसद्को दुवै सदन (प्रतिनिधि तथा राष्ट्रियसभा) को संयुक्त बैठकलाई सम्बोधन गर्दै विभिन्न १७० भन्दा बढी नयाँ वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लागूको घोषणा गरेका थिए । उनले बजेटमा भ्याटको घोेषणा गरेसँगै पछिल्लो समय दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न थालेको हो । बजेट पश्चात् दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिँदा नियामक निकायको रुपमा रहेको विभाग भने बजार अनुगमन र सवारीसाधन मर्मत गर्न बजेट अभाव भएको बताउने गरेको छ । बजार अनुगमनका लागि छुट्टाइएको रकम सकिएपछि गाडीमा तेल राख्न समेत समस्या भएको विभागका अनुगमन अधिकृत बताउँछन् । गाडीमा तेल राख्ने समेत रकम नभएपछि बजार अनुगमन सुस्त भएको उनको भनाई छ । ‘बजार अनुगमनका लागि छुट्टाईएको रकम सकियो, अहिले हामी अन्य शिर्षकमा भएका रकमहरु तानेर जेनतेन बजार अनुगमन गर्दै आएका छौँ, पहिला दैनिक ४/५ वटा समूहबाट बजार अनुगमन हुने गरेकोमा हाल १/२ वटा समूहबाट मात्रै अनुगमन गर्ने गरेका छौँ’, ती अधिकृतले भने । यसअघि वस्तुको गुणस्तर र मूल्यलाई आधार बनाएर बजार अनुगमन गर्ने गरेको विभागले पछिल्लो समय गुनासोलाई केन्द्रीत गरेर अनुगमन गर्दै आएको उनले बताए । ‘जेठसम्म अन्य शिर्षकबाट रकम तानातान गरेर जेनतेन अनुगमन गरिरहेका छौँ, असार लागेपछि पेट्रोलपम्मसँग पछि रकम भुक्तानी गर्ने सम्झौता गर्ने हाम्रो तयारी छ’, ती अधिकृतले भने, ‘बजार अनुगमन रोक्ने कुरा भएन, साउन लागेपछि रकम निकासा हुन्छ, त्यो बेलासम्मको सम्झौता गरेर उधाराेमा भएपनि तेल राख्ने हाम्रो तयारी हो ।’ तर, विभागका निर्देशक होमनाथ लुइटेल नियमित रुपमा बजार अनुगमन भैरहेको बताउँछन् । उनले विभागमा बजार अनुगमनका लागि न्यून जनशक्ति रहेको भन्दै भएका जनशक्तिबाटै नियमित रुपमा बजार अनुगमन गरिरहेको बताए । बजार अनुगमनका लागि छुट्टयाइएको रकम अपुग भएको उनले पुष्टि गरे । रकम अभाव भएपनि बजार अनुगमन प्रभावित नभएको उनको दाबी छ । उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सिना उपभोक्ताले तीन तहका सरकार भएको अनुभव गर्नै नसकेको बताउँछन् । ‘बजार अनुगमन गर्ने निकाय धेरै छन्, तर उपभोक्ताले सरकार भएको अनुभनसम्म गर्न सकेका छैनन्’, उनले भने, ‘बजेटमा दैनिक उपभोग्य वस्तुमो भ्याट लगाउने निर्णयपछि बजार अस्तव्यस्त भैसक्यो, अनुगमन गर्ने नियमाकिय निकाय तेल छैन भन्दै पन्छिन थाल्यो ।’ उनले विभिन्न बाहानामा उपभोक्ताको अनुहार हेरेर मूल्य लागु गर्ने गरिएको भन्दै उपभोक्ताको हितका लागि बजेट नआएको बताए । ‘सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट उपभोक्ता हितका लागि आएन, बजार अनुगमनलाई प्रभावकारी बनाउने, प्रयोगशाला पूर्ण रुपमा सञ्चालन गर्ने तथा स्रोत साधनको उचित परिचालन गर्नुपर्ने लगायतका कुराहरु बजेटमा समावेश हुनुपर्ने थियो, तर बजार अनुगमनका विषयमा बजेटमा केही आएन’, उनले भने । बजेटमा नै केही उल्लेख नभएपछि सरकारी निकायहरु उम्कने परिपाटीको वृद्धि हुने उनको भनाई छ । सम्बन्धित समाचार : ३५ रुपैयाँमा पाइने प्याजको मूल्य ६० पुग्यो, भ्याट लगाउँदाको असर
शुक्लाफाँटामा खानेपानी समस्या हट्दै
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–२ का बासिन्दा खानेपानी आयोजना निर्माण अगाडि बढाइएपछि निकै खुसी भएका छन् । वर्षौंदेखि ‘हेडपम्प’को पानी पिउँदै आएका बासिन्दाले आइरनको समस्या झेल्दै आएका छन् । खानेपानीको हेन्डपम्पमा आइरन आउँदा पत्थरीलगायतको समस्या अधिकांश बासिन्दामा देखिँदै आएको स्थानीय गौरसिंह साउदले बताए । ‘खानेपानी आयोजना निर्माण अगाडि बढाइएपछि वर्षौंदेखिको शुद्ध पेयजल पिउने सपना साकार हुने भएको छ’, उनले भने । वडमा नगरको गौरवको योजनाअन्तर्गत छ करोड आठ लाख ९८ हजार आठ सय ६९ रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माणको कार्य अगाडि बढाइएको छ । नगरपालिकाका इञिजनियर दिपक धामीका अनुसार निर्माण भइरहेको खानेपानी आयोजनामा नगरपालिका र सङ्घीय सरकारको ५०/५० प्रतिशत लागत साझेदारी रहेको छ । खानेपानी आयोजना निर्माणका लागि उच्चकोटी ड्रिल एन्ड कन्ट्रक्सन प्रालि धनगढीले जिम्मा पाएको छ । आयोजना आगामी आवको असार १८ गते भित्रै निर्माण कार्य पूरा गर्ने लक्ष्य लिइएको छ । आयोजनाका लागि दुई सय २५ घनमिटरको टङ्की निर्माण गरिने निर्माण व्यवसायी सुरेन्द्रकान्त पन्तले बताए । ‘निर्धारित समयअगावै खानेपानी आयोजना निर्माण गर्ने लक्ष्य लिएका छौँ’, उनले भने, ‘सम्झौताअनुसार उपभोक्ता घरसम्म पाइप जडानदेखि धाराको टुटी जडान गर्छौं ।’ खानेपानी आयोजनाका लागि २७ हजार मिटर पाइपलाइन विस्तार गर्ने योजना रहेको छ । खानेपानी आयोजनाका लागि बोरिङ गाडनका लागि ड्रिल गर्ने कार्य अगाडि बढाइएको छ । खानेपानी सञ्चालनका लागि डेढ तले कार्यालय भवन र पर्खाल निर्माण गरिने निर्माण व्यवसायी पन्तले बताए । खानेपानी आयोजनाबाट लक्ष्मीपुर, ढकनियाँ र रानीपुरका गरी पाँच सय ८५ घरधुरी लाभान्वित हुने भएका छन् । नगर प्रमुख रणबहादुर महराले खानेपानी आयोजना निर्माणको शुभारम्भ गर्दै नगरको गौरवको योजनाअन्तर्गत खानेपानी आयोजनालाई राखिएकाले निर्धारित समयमै निर्माण पूरा गरिनुपर्ने बताए । वडावासीको मागअनुसार शुद्ध पेयजल घरघरमा पु¥याउने सपना साकार बनाउनका लागि आयोजना निर्माणलाई दु्रत गतिमा अगाडि बढाइएको उनले बताए । ‘खानेपानी आयोजना निर्माणको पूरा भएपछि आइरन र आर्सेनिकको समस्या हटेर जान्छ’, नगर उपप्रमुख कल्पना पन्तले भने, ‘शुद्ध पेयजल उपलब्ध हुने भएपछि वडाका बासिन्दा पानीजन्य रोगबाट पनि मुक्त हुन्छन् ।’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकेन्द्रराज भट्टले खानेपानी आयोजना निर्माणलाई छिटोभन्दा छिटो पूरा गरी वडाका बासिन्दालाई शुद्ध पेयजल उपलब्ध गराउन आतुर रहेको बताए । यसअघि गैरसरकारी संस्थाको सहयोगमा वडामा सिँचाइका लागि ३० डिपट्युबवेल जडान गरिएको छ । रासस