विकासन्युज

ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमले यही जेठ २२ गते एक अनलाइन न्यूज पोर्टलमा टेलिकमका सेवाका सुरक्षाप्रति शङ्का व्यक्त गर्दै प्रकाशित समाचारप्रति खण्डन गरेको छ । टेलिकमले ग्राहकको गोपनीयतालाई सधै सम्मान गर्ने र त्यसको सुरक्षा र गोपनीयतामा एकरत्ति पनि सम्झौता हुन नदिने भन्दै ग्राहकलाई आश्वस्त हुन अनुरोध समेत गरेको छ । ‘यही जेठ २२ मा एक अनलाइन न्यूज पोर्टलमा टेलिकमका सेवाका सुरक्षाप्रति शङ्का व्यक्त गर्दै प्रकाशित समाचारप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ, कम्पनीका सेवा अत्यन्त भरपर्दा र सुरक्षित बनाइ ग्राहकवर्गको गोप्यता कायम गर्न हामी अत्यन्त संवेदनशील रहेको व्यहोरा जानकारी गराउँदै कम्पनीका सेवा निर्धक्क भएर प्रयोग गर्नुहुन अनुरोध छ’, टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाल टेलिकमले राज्यका अधिकारप्राप्त निकायबाट हुने कुनै अनुसन्धानको प्रक्रियामा प्रचलित कानुन बमोजिम सम्मानित अदालतको आदेशपछि मात्र अन्य दूरसञ्चार सेवा प्रदायकले झैँ कम्पनीले विवरण उपलब्ध गराउने समेत प्रष्ट पारेको छ । पछिल्लो समयमा कम्पनीका सेवाका संस्थागत प्रयोगकर्ता उल्लेख्यरुपमा बढिरहेको व्यहोरासमेत जानकारी गराइएको छ ।

बजाजको २५ वर्षे लिडरशिप योजना सम्पन्न

काठमाडौं ।  हंसराज हुलासचन्द एण्ड कम्पनीले रजत जयन्तीको अवसरमा सञ्चालनमा ल्याएको लिडरशिपको २५ वर्षे क्याम्पेन सम्पन्न भएको छ । कम्पनीले नयाँ वर्षको अवसरमा उक्त क्याम्पेन संचालन गरेको थियो । अभियानको एक हिस्साको रूपमा बजाजले ग्राहकहरूलाई आकर्षक अफरहरू उपलब्ध गराएको थियो । जसमा विशेष २५ प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङको विकल्प, १० हजारसम्मको पक्का नगद छुट र भाग्यशाली २५ जना ग्राहकले १ केजी चाँदी जित्ने अवसर समावेश गरिएको थियो । हंसराज हुलासचन्द एण्ड कम्पनीका  निर्देशक अभिमन्यु गोल्छाले नेपाली बजारलाई २५ वर्षदेखि अटुट सेवा प्रदान गर्न पाउँदानिकै नै खुसी भएको बताए । ‘भविष्यमा उत्कृष्टता प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिनेछौँ,’ उनले भने । यसका साथै बजाजको फ्री लि लि योजना पनि चालु रहेको छ । जस अन्तर्गत उपभोक्ताहरुले १२५ सिसिसम्मको बजाज बाइकको खरिदमा १९२ लिटरको सामसुङको रेफ्रिजेरेटर प्राप्त गर्न सक्नेछन् । बजाजको अर्को ५० प्रतिशत डाउन पेमेन्टमा शुन्य प्रतिशत ब्याज दरको अफर पनि चालु रहेको छ, जस अन्तर्गत उपभोक्ताहरुले ५० प्रतिशत डाउनपेमेन्ट गर्दा शुन्य प्रतिशत ब्याजदरमा हुलास फिनसर्भ मार्फत फाइनान्समा बाइक खरिद गर्न सक्नेछन् । हंसराज हुलासचन्द एण्ड कम्पनी नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हो ।

संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए भक्तपुरका विद्यार्थी

काठमाडौं । ’लाष्टै दुःख लाइराछ…’ तोकिएको समयमा संसद्को बैठक सञ्चालन नभएपछि निराश भएर विद्यालय फर्कँदै गरेका विद्यार्थी समृद्धि तिमिल्सिनाको दुःखेसो हो यो । राष्ट्रियसभाको आजको बैठक सुरुमै सूचना टाँसेर स्थगन भयो । प्रतिनिधिसभाको बैठक दुई घन्टा कुर्दा पनि सुरु हुन सकेन । भक्तपुरको सल्लाघारीस्थित मोडर्न इङ्लिस स्कुलका ७५ जना विद्यार्थी आज बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठक हेर्न समय अगावै दर्शकदीर्घामा पुगिसकेका थिए । उनीहरु कौतुहुलताका साथ बैठक सुरु हुनेमा प्रतीक्षारत थिए तर दिउँसो १ बजे बैठक आजै १ः३० बजे बस्ने गरी स्थगनको सूचना आएपछि निराश हुन पुगे । सङ्घीय संसद्मा माध्यमिक तहका विद्यार्थी सामाजिक अध्ययन विषयअन्तर्गत संसदीय गतिविधिलाई प्रत्यक्ष अवलोकन गर्न बेलाबखत आउने गर्दछन् । संसद् सचिवालयले ती विद्यार्थीका लागि प्रवेश अनुमति मिलाउने गर्दछ । यसरी आउन पनि सम्बन्धित विद्यालय र सचिवालयले समय व्यवस्थापन गर्नुपर्ने हुन्छ । कक्षा ९ र १० मा सामाजिक अध्ययन र कक्षा ११ र १२ मा सामाजिक तथा जीवनोपयोगी विषय राखिएको छ । उनीहरु आफूले जुन उद्देश्यले आएको हो सो उद्देश्य पूरा नभएको त्यसै फर्कनु परेकोमा जवाफ दिए । राससको जिज्ञाशामा कक्षा १० की समृद्धि तिमिल्सनाले ठूला–ठूला नेताहरु बस्ने र देश चलाउने कुरा हुने थलोमा यस्तो ढिलाइ, अन्योल र विवाद होला भनेर आफूहरुले नसोचेको प्रतिक्रिया दिए । विद्यार्थी विश्व न्यौपानेले आफूहरुले संसद्लाई प्रत्यक्ष अध्ययन गर्न नपाउँदा  दुःख लागेको बताए । केहीबेर बैठक बस्ने सूचना त किन फर्कँदै हुनुहुन्छ त भन्ने प्रश्नमा उनले भने, ’विद्यार्थी जीवनमा समयको महत्व हुन्छ । हामीलाई विद्यालयले संसद्मा बस्न निर्धारण गरिएको समय सकिएकाले हामी फर्कियौँ ।’ विद्यार्थीलाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसर देखाउँदै गरेका विद्यालयका भाइस प्रिन्सिपल साजन कसमाल आफूहरुको १ बजेपछि विद्यालयमा नियमित कक्षा हुने भएकाले फर्किएर जान बाध्य भएको सुनाए । विद्यार्थीलाई बस चढाउँदै गरेकी विद्यालयका शिक्षक सरिता दाहाल सुरुमा आउँदा बडो उत्साहका साथ आएका भाइबहिनी अहिले निराश भएको बताइन् । अर्काे कुनै दिन आउनुहुन्छ कि भन्ने जिज्ञाशमा उनको जवाफ थियो, ’अब हेरौँ के हुन्छ ।’ संसद्मा अवलोकन गर्न आएका टोखास्थित नितेन मेमोरियल स्कुलका शिक्षक सञ्जीव धितालले भने आफूहरु बैठक बस्छ कि भनेर अझै कुरिरहेको जनाए । उक्त विद्यालयबाट ५९ जना विद्यार्थी आएका छन् । आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहने कार्यसूची रहेको बैठक सत्ता र प्रतिपक्षी दलबीचको असमझ्दारीका कारण  सुरु हुन ढिलाइ भएको हो । सामाजिक अध्ययनको विषयले विद्यार्थीलाई असल नागरिक बनाउन प्रेरणा दिनाका साथै संविधान, सङ्घीयता र समावेशीताका सन्दर्भमा ज्ञान दिने लक्ष्यका साथ सरकारले माध्यमिक तहको पाठ्यक्रम परिमार्जन गरेको हो । रासस

नक्कली भूटानी शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस आज सकिएको छ । सरकारी वकिलका तर्फको बहस सकिएसँगै अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस सुरु गर्ने जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । उनले भने, ‘सरकारी वकिलतर्फको बहस सकिएको छ, अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस गर्नु हुन्छ ।’ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी  बहसमा यस प्रकरणका प्रतिवादीलाई थुनामुक्त गरे प्रमाण नष्ट हुनसक्ने तथा जाहेरीकर्ताको सुरक्षामा खतरा हुनसक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल सरकारी वकिलले प्रस्तुत गरेका थिए । नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि उपस्थित गराइएको छ । सो थुनछेक बहस यही जेठ ३१ गतेसम्म जारी रहने र त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिइने बताइएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई सङ्गठित अपराध, कीर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै रु २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा यही जेठ १० गते मुद्दा दायर गरिएको थियो । रासस

दादुरा र रुबेलाविरुद्धको खोप जेठ २५ गतेदेखि लगाइँदै

काठमाडौं । दादुरा र रुवेलाको प्रकोप देखिएका जिल्लामा यही जेठ २५ गतेदेखि खोप अभियान सञ्चालन हुँदैछ । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा र रुबेला सङ्क्रमण देखिएकाले ती तीन जिल्लामा खोप अभियान सञ्चालनको तयारी गरिएको हो । अहिले कैलालीसहित देशका नौ जिल्लामा १३ वटा  रोग विरुद्धको खोप अभियान सञ्चालन हुँदैछ । खोप लगाउनका लागि सरोकारवालसँग अभिमुखीकरण, खोप केन्द्रको तयारी, स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविकालाई अभिमुखी कार्यक्रम गर्न थालिएको छ । अभिमुखीकरण कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक रामु शर्माले नेपालमा २०३६ सालदेखि दादुरा विरुद्धको खोप लगाउन सुरु भए पनि अझै सङ्क्रमित देखिन थालेकाले खोप अभियान सञ्चालन गर्न लागिएको  बताए । ’दादुरा भयानक सरुवा रोग भएकाले यसलाई रोकथाम गर्नका लागि अहिले सरकारले सङ्क्रमण देखिएका जिल्लामा अभियान सुरु गरिरहेको  छ’, उनले भने, ’दादुरा र रुबेला सङ्क्रमण देखिएका जिल्लाभरि खोप अभियान सञ्चालन हुँदैछ ।’ नेपालमा चार प्रतिशत बालबालिकाले कुनै पनि खोप नलगाएको र २० प्रतिशत बालबालिकाले दोस्रो मात्राको खोप नलिएको सर्वेक्षणले देखाएको विश्व स्वास्थ्य सङ्गठनका चिकित्सक शर्माले बताए । उनले नियमित खोप ९५ प्रतिशतभन्दा कमले लगाउने, सबै तहमा एकरूपता नहुने, क्रियाकलाप सञ्चालन प्रभावकारी नहुने, जिम्मेवारी, अपनत्व र समन्वयमा कमी हुनेजस्ता  प्रमुख समस्या रहेको गुनासो गरे । कैलाली जिल्लाका धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरीगङ्गा नगरपालिकामा दादुरा र रुबेलाको सङ्क्रमण देखिएकामा ४७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । उक्त जिल्लामा दुई लाख छ हजार बालबालिकालाई खोप लगाउने लक्ष्यअनुसार सबै पालिकामा खोप पठाउने काम सुरु भएको छ । यसअघि पनि कैलालीमा दादुरा सङ्क्रमण देखिएपछि छ महिनादेखि १५ वर्षमुनिका १६ हजार बालबालिकालाई गएको फागुनमा खोप लगाइएको थियो । फेरि जिल्लाभरिका सबै बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताए । ’सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा र रुबेलाका बिरामी फेला परेकाले यी जिल्लामा खोप अभियान सञ्चालन गर्न थालिएको छ’, उनले भने, ’प्रदेशमा पुष्टि भएकामध्ये अधिकांश एक वर्षमाथि उमेर समूहका रहेको जनाइएको छ । कैलालीमा नौ महिनाका सात, २३ महिनाका छ र २३ महिनामाथिका ३४ जना  छन् ।’ सुदूरपश्चिममा एक सय २३ जना शङ्कास्पद बिरामीमा परीक्षण गर्दा प्रदेशमा ९३ जना दादुरा तथा एकजना रुबेलाका बिरामी फेला परेकामा कैलालीमा ४७, कञ्चनपुरमा ३२ र बाजुरामा १८ जना दादुरा रुबेलाका बिरामी थिए । टीकापुर नगरपालिकाले भने जेठ २६ गतेदेखि खोप अभियान सुरु गर्दैछ । खोप अभियानमा छ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप लगाइने भएको छ । खोप अभियान सञ्चालनका लागि नगरपालिकाले हरेक वडा तहमा जनचेतनामूलक कार्यक्रम गर्न थालेको छ । टीकापुरमा १७ हजार आठ सय ३५ बालबालिकालाई खोप लगाउने लक्ष्य छ । उक्त पालिकाले टीकापुरका ७५ स्थानमा खोप लगाउने तयारी गरेर स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरेको जनस्वास्थ्य प्रवर्द्धन उपशाखा प्रमुख बलबहादुर रावलले बताए । ’टीकापुरका ३२ वटा खोप केन्द्रबाट नियमित खोप अभियान सञ्चालन भइरहेका छन् । यसका साथै टीकापुर अस्पतालमा हरेक साताको दुई दिन खोप लगाइन्छ’, उनले भने, ’यो अभियानमा यसअघि दादुरा रुबेला विरुद्धको खोप लगाइसकेका बालबालिकालाई पनि पुनः खोप लगाइने भएको छ ।’ खोप अभियान सञ्चालनका लागि हरेक विद्यालयलाई खोप केन्द्र बनाइएकाले शिक्षकको भूमिका अझ महत्वपूर्ण हुने बताइएको छ । नगरपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नं ४ का वडाध्यक्ष लालवीर चौधरीले विद्यालयमा खोप लगाउँदा शिक्षकको सहयोग आवश्यक हुने बताउँदै यो अभियानमा सबैलाई सघाउन आग्रह गरे  । रासस

सिटिजन्स बैंकका ग्राहकलाई नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्टरमा छुट

काठमाडौं । सिटिजन्स बैंक र नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्टरबीच समझदारी भएको छ । बैंक र नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्टरबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारी अनुसार सिटिजन्स बैंकका कार्डबाहकले नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्टरमा रहेका वाइल्ड फेसन, किड्समाण्डु, मल्टी ब्रान्ड नेपाल, ओरिफ्लेम, जोकी, सिद्धार्थ फार्मेसी, प्रिज्म इफेक्ट, भिआर गेमिङ जोन, फेड हुड, ब्लायक रोज, डि डा कलेक्सन, माहा ज्वलरी, बेन्चमार्क, आशिका मेकअप स्टुडियो, जंगल रेस्टुरेन्ट, अटायर फर यू, डाँफे र श्यामाज र्हबल ब्यूटी सलुन सेन्टर गरी १८ वटा पसलहरुमा ३० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । उक्त सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ७२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

नेपालका घर विश्वविद्यालय, टुँडाल पाठ्यक्रम हुन् : पर्यटनमन्त्री

काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्राकृतिक र मानव निर्मित नेपालीपन बोकेको पर्यटन प्रवद्र्धन आजको आवश्यकता भएको बताएका छन् । ओखलढुङ्गाको खिजीदेम्बा क्षेत्रको नयाँ पर्यटन पदमार्गको आज (मंगलबार) सुरु भएको घोषणा कार्यक्रममा मन्त्री किराँतीले संस्कृति, शिक्षा र ज्ञानका हिसाबले नेपालका हरेक घर विश्वविद्यालय र प्रत्येक गुम्बा एवम् मठमन्दिरका टुँडाल पाठ्क्रमका रुपमा रहेका उल्लेख गरे । उनले भने, ‘नेपाली पहिचान बोकेका गाउँघरका उत्पादन र स्वादलाई पर्यटनको विकास र प्रवद्र्धनमा जोड्नुपर्छ । मुलुक र जनताको हितमा काम गर्नुपर्छ भन्ने हुटहुटी र सहासले पर्यटन क्षेत्रमा देखिएको विकृतिलाई अन्त्य गर्दै प्रवद्र्धनका कार्यक्रम गर्न कोसिस गरिरहेको छु ।’ यस्तै प्रतिनिधिसभाका सांसद रामहरि खतिवडाले राष्ट्रियता र विकासका मुद्दामा सबै राजनीतिक दलबीच न्यूनतम साझा सहमति आवश्यक रहेकाले यस्ता विषयमा दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी रहेको बताए । संविधानसभाका सदस्य यज्ञ सुनुवारले खिजी देम्बा क्षेत्र गल्फ र पर्यटनका लागि नयाँ गन्तव्य भएकाले विकास र समृद्धिका मुद्दामा जिल्लाका सवै राजनीतिक दलबीच एउटै मत हुन आवश्यक रहेको बताए । पर्यटक व्यवसायी आङछिरिङ शेर्पाले गल्फलगायत खेल पर्यटनकका लागि खिजीदेम्बा क्षेत्र उपयुक्त नयाँ गन्तव्य भएकाले त्यहाँको प्राकृतिक छटालाई कुनै नोक्सान नगरी पर्या–पर्यटनसमेत विस्तार गर्न सकिने धारणा व्यक्त गरे । खिजी देम्बा गाउँपालिका अध्यक्ष गोम्बु शेर्पाले चण्डेश्वरी विमानस्थलको स्तरोन्नति र  खिजीदेम्बा–थोलेदेम्बा क्षेत्र समेटिने पर्यटकीय पदमार्गलाई व्यवस्थित तुल्याउन केन्द्र र प्रदेश सरकारको आर्थिक सहयोगको अपेक्षा गरे । जिल्ला सदरमुकामबाट ६० किलोमिटर पश्चिम–उत्तरमा सुनुवार, तामाङ र शेर्पा जाति समुदायको बसोबास रहेको खिजी देम्बो क्षेत्र धार्मिक हिसाबले बौद्ध, किराँत र हिन्दूको त्रिवेणीका रुपमा रही आएको छ । समुद्री सतहबाट करिब तीन हजार तीन सय ५० मिटरको उचाइमा रहेको खिजी देम्बा डाँडा मुलुकका एक सय पर्यटन गन्तव्यस्थलमध्येको एक अब गल्फ खेलका लागि नयाँ गन्तव्य हुने विश्वास गरिएको छ । साहित्य र राजनीतिक परिवर्तनका लागि भएको क्रान्तिका हिसाबले ओगलढुङ्गा देशकै उर्वर भूमि मानिँदै आएको छ । युवाकवि सिद्धिचरण श्रेष्ठ र राष्ट्रिय गीतका सर्जक व्याकुल माइलाले ओखलढुङ्गाको गरिमा र ओजलाई विश्वभर फैलाउन सफल भएका छन् । सो अवसरमा मन्त्री किराँतीले पोखली झर्ना, चिलिमडाँडा, माम्जेबौद्ध, चुलीथान, दोवाटेभञ्ज्याङ, खिजी चण्डेश्वरी, खिजी पलाटे, चुप्लुङ भञ्ज्याङ, थोलेदेम्बा हुँदै सोलुखुम्बुको पिके, दूधकुण्डहिमालबाट सगरमाथाको आधार शिविरसम्मको नयाँ पदमार्गको घोषणा गरेका हुन् । रासस

राष्ट्र बैंकको निर्देशनले लक्ष्मी र सनराइज बैंकलाई सकस

काठमाडौं । राष्ट्र बैंकको एकीकृत निर्देशनले लक्ष्मी बैंक र सनराइज बैंकलाई असारभित्र एकीकृत कारोबार गर्नु पर्ने दबाव परेको छ । राष्ट्र बैंकले वि.सं.२०८० असारसम्म एकीकृत कारोबार गरेमा विभिन्न ६ वटा सुविधा तथा छुटको व्यवस्था गरेसँगै लक्ष्मी सनराइज बैंकलाई असार मसान्तभित्रै एकीकृत कारोबार गर्नु पर्ने दबाव परेको हो । ‘वाणिज्य बैंकहरु मर्जर प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्न नसकेको अवस्थामा २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा सुविधा तथा छुट प्रदान गरिने छ,’ राष्ट्र बैंकले भनेको छ । राष्ट्र बैंकको सो सुविधा तथा छुट प्राप्त गर्न मर्जर प्रक्रियामा रहेका लक्ष्मी बैंक र सनराइज बैंकलाई असारभित्रै एकीकृत कारोबार गर्नु पर्ने छ । यसअघि मर्जरपछि लक्ष्मी सनराइज बैंकले सुविधा तथा छुट पाउने की नपाउने भनेर दुविधा रहेकोमा अब भने सुविधा प्राप्त गर्ने स्पष्ट भएको सञ्चालक दिनेश पौड्यालले बताए । सुविधा तथा छुट प्राप्त गर्नकै लागि भएपनि असारभित्रै एकीकृत कारोबार गर्नु पर्ने उनको भनाइ छ । राष्ट्र बैंकको एकीकृत निर्देशनले हामी पनि स्पष्ट भएका छौं, हामीले राष्ट्र बैंककोसुविधा तथा छुट पाउने की नपाउने भन्ने थियो, अब स्पष्ट भइयो, मर्जरपछि बैंकलाई सहज हुने भयो,’ उनले भने । राष्ट्र बैंकका अनुसार तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप, सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तिमा ६ महिना व्यतीत नभई अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट, एकीकृत कारोबार सञ्चालन गर्दा कर्जा निक्षेप अनुपातले सीमा नाघेमा तोकिएको सीमा कायम गर्न ६ महिनाको समय प्रदान गरिने राष्ट्र बैंकले बताएको छ । ‘मर्जरमा संलग्न संस्थामा साविकमा कायम रहेको भिन्न ब्याजदरका कारण एकीकृत कारोबार गर्दाका बखत ब्याजदर अन्तर राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी भएमा ब्याजदर अन्तरलाई तोकिएको सीमाभित्र ल्याउन एक वर्षको समय प्रदान गरिने छ, तोकिएको प्रतिसंस्था निक्षेप संकलन सीमामा एक वर्षसम्म ५ प्रतिशत बिन्दुले थप गरिने छ,’ राष्ट्र बैंकको एकीकृत निर्देशनमा उल्लेख गरिएको छ । साथै, एकीकृत कारोबार सञ्चालनको क्रममा एक किलोमिटरको दूरीमा सञ्चालनमा रहेका शाखा कार्यालयहरु मध्ये कुनै एक शाखा कायम राखी सोही दूरी भित्रका अन्य शाखा गाभ्न वा बन्द गर्न एक वर्षसम्म राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने राष्ट्र बैंकको भनाइ छ । दुवै बैंकले मर्जर प्रस्ताव पारित गर्न असार ३ गते साधारण सभा बोलाएका छन् । सनराइज बैंकको १५ औं वार्षिक साधारणसभा र लक्ष्मी बैंकले विशेष साधारणसभाले मर्ज गर्ने विशेष प्रस्ताव पारित गर्ने छन् । सञ्चालक पौड्याल असारमसान्तभित्रै एकीकृत कारोबार गर्ने तयारी रहेको बताउँछन् । ‘असार ३ गते दुवै बैंकले साधारण सभा बोलाएका छन्, साधारणसभाले पारित गरेपछि तुरुन्तै (असार ४ गते) राष्ट्र बैंक पठाउँछौं, राष्ट्र बैंकले पनि चाँडै स्वीकृति दिने अपेक्षा छ, एकीकृत कारोबारका लागि स्वीकृति पाएपछि असारभित्रै एकीकृत कारोबार गर्छाैं,’ उनले भने, ‘सञ्चालक समितिको टुंगो लागिसकेको छ, अध्यक्ष लक्ष्मी बैंकले नै पाउँछ, बाँकी रहेका आन्तरिक कामहरु तिव्र गतिमा भइरहेका छन्, कर्मचारी समायोजनको काम भइरहेको छ, दुवै बैंकको सिस्टम एउटै सफ्टवेयरमा प्रयोग भएकाले सहज हुन्छ ।’ कसैलाई पनि अफ्ठ्यारो नपर्ने गरी कर्मचारी व्यवस्थापन भइरहेको छ । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई दोस्रो वरियता दिने सहमति भएको उनले बताए । यदि कुनै कर्मचारीलाई चित्त नबुझे संयुक्त मर्जर कमिटिले भिआरएस स्किम ल्याउने उनको भनाइ छ । कर्मचारी समायोजन भने बराबरी हैसियतमा हुने प्रारम्भिक सहमति भएको छ । मर्जरपश्चात् लक्ष्मीबाट ४ जना र सनराइजबाट तर्फबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्नेछ । लक्ष्मी बैंकबाट हालका अध्यक्ष रमण नेपाल, सञ्चालकहरु डा. मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । यस्तै, सनराइज बैंकबाट हालका अध्यक्ष मोतीलाल दुगड, इन्जिनियर बच्चराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् । मर्जपश्चात् बैंकको सञ्चालक समिति अध्यक्ष लक्ष्मी बैंकबाट रमण नेपाल बन्ने छन् । साथै, लक्ष्मी बैंकका सीईओ अजय बहादुर शाह मर्जरपश्चात् बन्ने बैंकको सीईओ नियुक्त हुने छन् । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । दुवै बैंकबीच मर्जरमा जानका लागि गत जेठ ७ गते अन्तिम सम्झौता भएको थियो । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए ।