विकासन्युज

२३ अंकले बढ्यो सेयर बजार, दुई अर्बको कारोबार

काठमाडौं । सेयर बजार मंगलबार २३.१२ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनुसार मंगलबार सेयर बजार बढेर १९२५.१२ विन्दुमा पुगेको छ । आज ५३ लाख ८२ हजार ३४२ कित्ता सेयर बिक्री हुँदा एक अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको छ । जसमा सोल्टी होटलले ९ करोड ६८ लाख रुपैयाँको कारोबार गरेको छ । नेप्सेको अनुसार आज न्यादी हाइड्रोपावर र सनराइज फोकस्ड इक्विटी फण्डको सेयर सकारात्मक लेभलमा कारोबार भएको छ  । न्यादी हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता २७ रुपैयाँले बढेको हो भने सनराइज इक्विटी फण्डको मूल्य प्रतिकित्ता ०.७३ रुपैयाँले वृद्धि भएको हो ।

भोटाहिटीको आरके स्विट्समा महानगरको ताला

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोटाहिटीको एक घरको बेसमेन्टमा सञ्चालित स्विट्समा ताला लगाएकाे छ । बेसमेन्टमा सञ्चालित स्विट्स बन्द गर्न आग्रह गरे पनि अटेर गरेकोले आरके स्विट्समा ताला लगाउन बाध्य भएको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । बेसमेन्टको नक्सामा स्टोर भनेर उल्लेख गरे पनि आरके स्विट्स नामको क्याफे रेस्टुरेन्ट चलाउँदै आएकोले जनप्रतिनिधिको रोहबरमा ताल्चा लगाएको हो । नक्सा अनुसारको बेसमेन्ट प्रयोजन गर्न महानगरले बारम्बार सबैतिर आग्रह गरिरहे पनि अटेर गर्नेहरूलाई कारबाहीको दायरामा ल्याइरहेको महानगरले जनाएको छ ।

मध्यपहाडी राजमार्ग : सम्झौताको सात वर्षपछि ठेक्का रद्द गरिँदै

गलकोट । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको काम समयमै सम्पन्न नगर्ने दुई सडक खण्डका ठेकेदारको ठेक्का रद्द गर्ने प्रक्रिया सुरु भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङमा पर्ने एक सय ४२ किलोमिटरमध्ये जम्मा २५ किलोमिटर सडक खण्ड कालोपत्र हुन सकेको  छैन तर  अन्य सडक कालोपत्र भइसकेर हस्तान्तरणको प्रक्रियामा छ । समस्याग्रस्त जिल्ला सदरमुकामको उपल्लाचौरदेखि घोडाबाँधेसम्मको २५ किमी सडकको जिम्मा पाएको दुई निर्माण कम्पनीको ठेक्का तोड्ने प्रक्रियामा लागिएको पर्वतस्थित मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालयले जनाएको छ । बागलुङको उपल्लाचौरदेखि १३ किलोमिटर पहिलो खण्ड र घोडाबाँधेसम्मको १२ किलोमिटर दोस्रो खण्डको निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गर्न मध्यपहाडी राजमार्ग निर्देशनालयमा पठाउने तयारी गरिएको उक्त कार्यालयका प्रमुख कल्पना अधिकारीले जानकारी दिए । ‘निर्माण व्यवसायीको चरम लापरबाही भयो, तल्लो खण्डमा चार पटक र उपल्लो खण्डमा पाँच पटक म्याद थप्दासमेत कालोपत्र भएन, अब रद्द गर्नुको विकल्प रहेन, उपल्लो सूर्य कन्स्ट्रक्सनको बोलपत्र रद्दका लागि  तेस्रो प्रक्रियामा पुगेका छौँ, तल्लो भारत सिद्धसाई कम्पनीको नाममा पनि  मङ्गलबार सूचना निकालेका छौँ’, आयोजना प्रमुख अधिकारीले भने, ‘दुई वर्षमा सक्ने काम पटक–पटक म्याद थप गर्दासमेत नसक्नु भनेको चरम लापरबाही हो दुवै ठेक्का सम्झौता रद्द गरेर नयाँ प्रक्रियामा जान्छौँ ।’ दुई वर्षमा सक्नेगरी निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले ठेक्का सम्झौता भएको सात वर्षसम्म कालोपत्र गर्न नसक्दा उक्त कार्यालयले ठेक्का रद्द गर्ने प्रक्रिया  अगाडि बढाएको हो । कार्यालयका सूचना अधिकारी  इञ्जिनियर पवन सुवेदीले दुवै खण्डमा गरी १३ किमी सडक कालोपत्रका लागि पूर्वाधारसमेत निर्माण नगरिएका कारण असारसम्म म्याद भएका दुवै निर्माण कम्पनीलाई सम्झौता रद्द गर्नेगरी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । ‘निर्माण कम्पनीको ढिलाइले सीमा नाघ्यो, नागरिक स्तरबाट समेत आन्दोलन भइरहेका छन्, असारसम्म कालोपत्र सक्ने कुनै सङ्केत देखिएन फिल्डमा कामदार देखिएनन् उपल्लो १२ किमी सडकको सूर्य कन्स्ट्रक्सनविरुद्ध  पत्रिकामा सूचना प्रकाशित गरी धरौटी रकम जफत गरेर निर्देशनालय पठाउन थालिएको छ, तल्लो भारत सिद्धिसाईको ठेक्का रद्द गर्ने विषयमा पत्रिकामा सूचना प्रकाशित गरिएको छ’, उनले भने, ‘आगामी असारको २० सम्म तल्लो खण्ड र असार ५ गतेसम्म उपल्लो खण्डको सम्झौता म्याद छ तर काम नसक्ने भएपछि म्याद अगावै ठेक्का रद्दको प्रक्रियामा गएका हौँ ।’ उपल्लाचौरदेखि १३ किलोमिटर सडकको भारत/सिद्धिसाई जेवीसँग २०७३ माघमा दुई वर्षमा सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो । अहिलेसम्म चार पटक म्याद थप गर्दासमेत बल्ल सात किमी सडक मात्रै कालोपत्र गरेको छ भने अझै छ किमी सडक कालोपत्र गर्न बाँकी रहेको छ ।  उक्त खण्डको सात वर्षमा ७३ प्रतिशत भौतिक प्रगति र  ६९ प्रतिशत आर्थिक प्रगति भएको थियो । उक्त सडकमा पाँच किलोमिटरमा पूर्वाधार निर्माणको कामसमेत बाँकी छ । यस्तै बिहूँदेखि घोडाबाँधेसम्मको १२ किमी सडक कालोपत्रका लागि २०७२ साल माघमा दुई वर्षमा कालोपत्र सक्नेगरी सूर्य कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको थियो । हालसम्म पाँच पटक ठेक्का सम्झौता म्याद थप भएको उक्त सडक खण्डको म्याद असारसम्म भए पनि ठेक्का रद्द गर्न लागिएको हो । काम नगरेपछि ठेक्का रद्द गरी धरौटी रकम जफत गरेर निर्देशनालय पठाइने र निर्देशनालयले सडक विभागमा लगेर ठेक्का रद्द गरी नयाँ ठेक्का आह्वान गर्ने छ । बाह्र किलोमिटर सडकमध्ये हालसम्म उपल्लो खण्डमा छ किलोमिटर सडक कालोपत्र भए पनि पाँच पटक म्याद थप्दासमेत छ किलोमिटर सडक कालोपत्र गर्न अझै बाँकी रहेको छ । यस सडकको ७५ प्रतिशत भौतिक र ७१ प्रतिशत वित्तीय प्रगति भएको उक्त कार्यालयले जनाएको छ । साढे दुई दशक अगाडि ट्र्याक खुलेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे खण्ड अहिलेसम्म कालोपत्र हुन नसक्दा नागरिकले सास्ती खेप्नु परेको छ । अहिले बिहूँमा दैनिकजसो निर्माण व्यवसायीविरुद्ध स्थानीयवासीले विरोध जनाएर आन्दोलनका कार्यक्रमहरुसमेत सार्वजनिक गरेको स्थानीयवासी खिमानन्द कँडेलले जानकारी दिए । जिल्लाको गलकोट, बडिगाड, ढोरपाटन र निसीखोलामा सडक कालोपत्र भइसक्दासमेत जिल्ला सदरमुकाम खण्ड कालोपत्र हुन नसक्दा यहाँका जनता निर्माण व्यवसायी विरुद्ध आन्दोलनमा उत्रेको उनको  भनाइ थियो । रासस

करको दर हामीले हेरफेर गरेका हौं, रामकृष्णले इन्ट्री मात्र गरे : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दर हेरफेरबारे आफूहरुले नै निर्णय गरेको बताएका छन् । उनले यसलाई इन्ट्री गर्न भने पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई सहयोगीका रुपमा लिएको बताए । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नताबारे संसदमा प्रश्न उठेपछि मंगलबार संसदमा स्पष्टीकरण दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले आफू आउनुभन्दा अगाडि नै सहयोगीका लागि रामकृष्ण श्रेष्ठको नियुक्ति भइसकेको पनि बताए । उनले करको दर हेरफेरबारे आफू सहितका आधिकारिक व्यक्तिहरुले निर्णय गरेकोले आफ्नो इमान्दारितामाथि शंका नगर्न आग्रह गरे । ‘निर्णय प्रक्रियामा उहाँ हुने कुरै भएन, निर्णय गरिसकेपछि निर्णय प्रक्रियामा बसेका पदाधिकारीको उपस्थिति र निर्देशनमा यो यो इन्टर गर भनेर इन्टर गर्ने काम मात्र हो,’ अर्थमन्त्रीले भने ।

वुलिंगकाे इभी कार किन्दा इलेक्ट्रिक साइकल उपहार

काठमाडौं । बज्र ग्रुप अन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्सले वुलिङ ब्राण्डको इलेक्ट्रिक कारमा उपहार याेजना ल्याएकाे छ । कम्पनीले वुलिंगकाे इभी कार खरिद गर्ने ग्राहकलाई ग ६० किमी माइलेज दिने बोस्च मोटर्स भएको सामसङको ब्याट्री भएको इलेक्ट्रिक साइकल नि:शुल्क पाउने उपहार याेजना ल्याएकाे हाे । इन्डोनेसिन कार वुलिंग हाल नेपाली बजारमा २०० र ३०० किमिको रेन्जमा उपलब्ध छ । जेठ २३ गते मंगलबारबाट सुरु भएकाे याे याेजना वुलिंग इलेक्ट्रिककाे नक्साल, भक्तपुर राधेराधे र भैसेपाटीमा भएकाे शोरुममा सम्पर्क गर्न सकिने कम्पनीले जानकारी दिएकाे छ । बज्र ग्रुपले नेपालमा ३१ वर्षदेखी विश्वको विभिन्न प्रसिद्ध ब्राण्ड बिक्री तथा वितरण गर्दै आएकाे छ ।

प्रधानमन्त्री दाहाल र बाबा रामदेव पुगे खप्तड

खप्तड । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खप्तड आइपुगेका छन् । उनी सुर्खेतको वीरेन्द्रनगरबाट नेपाली सेनाको हेलिकप्टरमा यहाँ आइपुगेका हुन् । सुदूरपश्चिम प्रदेशमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खप्तडको गङ्गा दशहरा मेला उद्घाटन गर्न प्रधानमन्त्री दाहाल यहाँ आएका हुन् । उक्त मेला खप्तड राष्ट्रिय निकुञ्जमा आयोजना गरिएको छ । निकुञ्जले बझाङ, बाजुरा, अछाम र डोटी जिल्लालाई ओगटेको छ । प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पराराष्ट्रमन्त्री एनपी साउद, नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकलगायत पनि यहाँ आइपुगेका छन् । यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेशका मन्त्रीलगायत खप्तड आइसकेका छन् । खप्तड क्षेत्रमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा भाग लिन भारतीय योगगुरु बाबा रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्णलगायत आजै हेलिकप्टरमा खप्तड आएका छन् । सम्मेलनको पहिलो दिन आज बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्णले योगा गराउने कार्यक्रम रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिए । सम्मेलनमा सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकी भुँवा, हुडक्यौली, गौरा, देउडा, पुतला नाचलगायतका प्रस्तुत गरिने छ । सम्मेलन यही जेठ २५ गतेसम्म सञ्चालन हुने छ । उक्त सम्मेलनमा पूव प्रधानमन्त्री, मन्त्री, संघीय सांसदलगायत अन्तर्राष्ट्रिय तहका आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्ति सहभागी हुने खप्तड क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले बताए । सम्मेलन सुदूरपश्चिम प्रदेश सरकार, पर्यटन बोर्ड तथा स्थानीय तहको सहकार्यमा आयोजना गरिएको हो । खप्तड समुद्री सतहबाट झण्डै तीन हजार एक सय मिटरको उचाइमा रहेको छ । खप्तड राष्ट्रिय निकुञ्ज पनि रहेको यो क्षेत्र झण्डै दुई सय २५ वर्ग किलोमिटरमा फैलिएको छ ।

प्रतिनिधिसभाको बैठक १:३० बजे बस्ने

काठमाडौं । आज बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठक अर्को सूचना जारी गरी अपराह्न १ः३० बजे बस्ने गरी आह्वान गरिएको छ । बैठक साढे दुई घन्टापछि बस्ने गरी सूचना जारी गरिएको हो । सङ्घीय संसद्का महासचिवद्वारा जारी सूचनामा ११ बजे बोलाइएको सभाको बैठक विशेष कारणवश उक्त समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ को उपनियम ९२० को प्रतिबन्धात्मक वाक्यांशबमोजिम सभामुखले आजै दिनको १ः३० बजे बैठक बस्ने गरी निर्धारण गरेकाे जनाइएको छ । आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० माथिको सामान्य छलफल जारी रहने कार्यसूची रहेको बैठक सत्ता र प्रतिपक्षी दलबीचको असमझ्दारीका कारण सुरु हुन नसकेको हो । आजका लागि निर्धारित राष्ट्रियसभाको बैठक भने सूचना टाँसेर स्थगन भइसकेको छ ।

सडक विभागले ४ स्थानमा पुल निर्माण गर्ने

काठमाडौं । सडक विभागले आगामी वर्ष चार स्थानमा पुल निर्माण गर्न प्रक्रिया अघि बढाउने भएको छ । काठमाडौं उपत्यकाको बागमती नदी, चितवनको नारायणी नदी, कास्कीको विजयपुर र रुपन्देहीको तिनाउ नदीमा अत्याधिक पुल निर्माणका लागि अध्ययन थालिएको सडक विभाग, पुल महाशाखाका प्रमुख नरेशमान शाक्यले बताए । उनले भने, ‘विश्वका कतिपय सहर पुलका कारण चिनिन्छन्, त्यसैगरी यी पुल पनि ती ठाउँको परिचय झल्किने गरी बनाउन लागिएको छ ।’ विशेषतासहित पुल निर्माणको योजना बनाइएको शाक्यको भनाइ छ । नयाँ बनाइने चारवटै पुलमा स्थानीय मौलिकता समेट्ने गरी डिजाइन गरिने उनले बताए । काठमाडौंमा मन्दिर वा कुनै कलात्मक कुरा, चितवानमा गैँडा र अरु ठाउँमा पनि त्यहाँको विशेषता समेट्ने योजना रहेको छ । तिनाउ नदीमा बिश्व बैंकको ‘सिग्नेचर पुलमा एक्सेस प्रोग्राम’ अन्तर्गत पुल निर्माण गर्न लागिएको छ । पोखरामा पुल निर्माणका लागि विभागले अन्तर्राष्ट्रिय विज्ञको सहयोगमा डिजाइन तयार गर्ने योजना बनाएको छ ।