महासंघको पूँजी बजार फोरम समिति विस्तार, को-को बने सदस्य ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरम विस्तार गरिएको छ । महासंघका कार्यकारिणी समिति सदस्य शैलेन्द्र गुरागाईंको सभापतित्वमा गठन भएको पूँजी बजार फोरम शुक्रबार विस्तार भएको हो । महासंघले फोरममा २ जना उपसभापति, ५ जना सदस्य, ७ जना आमन्त्रित सदस्य र २ जना सल्लाहाकार सदस्यसहित १७ जनाको समिति विस्तार भएको हो । फोरमको सभापतिमा गुरागाईं छन् भने उपसभापतिमा धर्मराज सापकोटा र विजयलाल श्रेष्ठ चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा सागर ढकाल, रमेश कुवर, भरत बहादुर खत्री, तुल्सीराम ढकाल, घनश्याम पौडेल, सन्तोष पौडेल चयन भएका हुन् । यस्तै, आमन्त्रित सदस्यहरुमा भिष्म राज चालिसे, सृजना सुवेदी, प्रकाश भुषाल, सन्तोष राज नेपाल, केशव प्रसाद भण्डारी, सरीता विष्ट चयन भएका हुन् । यस्तै, सल्लाहकारमा डा. आत्मराम घिमिरे र भरत रानाभाट चयन भएको महासंघले जनाएको छ । महासंघका अध्यक्ष चन्द्र ढकाल सदस्यहरुलाई औपचारिक पत्र हस्तान्तरण गरेका थिए ।
फेकन वार्षिक साधारणसभाको अन्तिम तयारीमा, बस्नेत र निरौला समूह प्रतिस्पर्धाको मैदानमा
काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) आफ्नो १२औं वार्षिक साधारणसभाको अन्तिम तयारीमा जुटेको छ । भोलि शनिबार संस्थाको विधानअनुसार प्रजातान्त्रिक विधि पद्दतीअनुसार साधारणसभा हुने भएको हो । साधारणसभाबाट नयाँ निर्वाचित हुने पदाधिकारीका लागि हाल उपाध्यक्ष रहेका प्रज्वल बस्नेत र महासचिव राजु निरौलाले प्यानल बनाएर मैदानमा उत्रिएका छन् । केही व्यवसायीहरुले एउटै प्यानल बनाएर अगाडि बढ्नको लागि पहल गरेको भएपनि अब सो सम्भावना करिब टरेकोले दुवै पक्षका उम्मेदवारहरु मतदाता आ–आफूतर्फ आकर्षित गर्नको लागि मैदानमा खटिएका छन् । फेकनको आगामी नेतृत्वका लागि प्रज्वल बस्नेतको नेतृत्वको प्यानलबाट उपाध्यक्षमा हेमन्त राज दुलाल, अर्जुन कुमार बस्नेत र गगन विष्टले उम्मेदवारी दिएका छन् । महासचिवमा कोषाध्यक्ष अनिल शर्मा, सचिवमा अमित खड्का र आरसी केसी, कोषाध्यक्षमा दीपा लामिछाने र सहकोषाध्यक्षमा राजेश केसीले बस्नेतको प्यानलबाट उम्मेदवारी घोषणा गरेका छन् । बस्नेतको प्यानलबाट कार्यसमिति सदस्यमा कृष्ण भट्टराई, मदन उप्रेती, रेशम भट्टराई, निराजन सिवाकोटी, प्रज्वल खत्री, नरेस सेढाई र सन्तोष बस्नेतले उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै, राजु निरौलाको प्यानलबाट उपाध्यक्षमा दीपक सिलवाल, उमेश कुशुवार र अमितबाबु ढुंगानाले उम्मेदवारी दिएका छन् । निरौलाकै प्यानलबाट महसचिवमा छबिन्द्र ओझा, सचिवमा इन्द्रजित गौतम र पृथ्वीबहादुर चन्दले उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै, कोषाध्यक्षमा दिपेन्द्र पोखरेल, ,सह–कोषाध्यक्षमा गौतम पुडासैनी र सदस्यहरुमा सन्जय बस्नेत, खगेन्द्र श्रेष्ठ, रोशन खरेल, मन्जु लामिछाने, एलिजा उप्रेती, महेश हमाल र राजु ढकालले पनि निरौलाको प्यानलबाट उम्मेदवारी दिएका छन् । दुबै समूहका उम्मेदवारहरु फेकनमा आबद्ध भएका व्यवासायीहरुबीचमा परिचित भएकाले प्रतिस्पर्धा उत्कर्षमा हुने देखिएको छ । यद्यपी, कतिपय पदाधिकारी तथा सदस्यहरुले भने व्यक्तिगत लोकप्रियताको आधारमा बढी मत ल्याउन सक्ने अनुमान पनि गरिएको छ । फेकन शैक्षिक परामर्शको क्षेत्रमा काम गर्ने व्यवसायीहरुको संस्था हो । साधारणसभामा एकसय ६१ जना मतदाता सहभागी हुने निश्चित भएको छ । तर, विगतमा सदस्य भएका र अन्तिम समयमा नवीकरणबाट छुटेका सदस्यहरुको हकमा सहमती भएमा अझैपनि नवीकरण हुनसक्ने जनाइएको छ । चुनावी मैदानमा उत्रिएका दुवै पक्षका उम्मेदवारहरुले शैक्षिक परामर्श व्यवसायीहरुकै हितमा अधिकतम् काम गर्ने जनाइरहेका छन् । दुवै प्यानलबाट उम्मेदवार भएका अधिकांश व्यक्तिहरु फेकनको स्थापनाकालदेखि नै संस्थामा आबद्ध भएर व्यवसायीहरुको हितमा काम गर्दै आएका छन् । त्यसैले, सामान्यतया उम्मेदवार देखि सदस्यहरुले मैत्रीपूर्ण ढंगले निर्वाचनको वातावरण बनाएको देखिन्छ । साधारणसभा शनिबार काठमाडौं गैरीधाराको एलिस रिसेप्सनमा हुने भएको छ ।
स्वास्थ्य संस्थामा परीक्षण गराउने गर्भवतीलाई ५ हजार भत्ता
तनहुँ । स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउने गर्भवतीलाई व्यास नगरपालिकाले पाँच हजार भत्ता दिन सुरुआत गरेको छ । जिल्लाको १० पालिका मध्ये नियमित खोप र स्वास्थ्य परीक्षण गराउने गर्भवतीलाई पोषण भत्ता दिने व्यास नगरपालिका पहिलो भएको जनाइएको छ । गर्भवतीले टिटानस र धनुष्टङ्कार रोगको विरुद्धको टिडी खोप लगाउनुपर्छ । खोप लगाएको र नियमित परीक्षण गराएकाले सो सुविधा पाउने जनाइएको छ । भत्ता पाउनका लागि गर्भवती आठ महिना भने पूरा भएको हुनुपर्ने प्रावधान रहेको नगरपालिकाले जनाएको छ । स्वस्थ शिशु जन्माउने र मातृ मृत्युदर घटाउने नीति अवलम्बन गरिएकाले सोही अनुसार गर्भवतीलाई पोषण भत्ता प्रदान गरिएको नगरपालिकाको महिला, बालबालिका, अपाङ्गता तथा ज्येष्ठ नागरिक उपशाखाप्रमुख राधा आचार्यले बताए । हालसम्म व्यासभित्रका एक सय ३० महिलालाई पोषण भत्ताबापत रु ६ लाख ८५ हजार प्रदान गरिसकिएको उपशाखाले जनाएको छ । भत्ता पाउनेहरुमा आदिवासी जनजाति ५७, दलित ३४ र २९ जना ब्राह्मण–क्षेत्री छन् । ‘यस कार्यक्रमले आर्थिक अवस्था न्यून भएका गर्भवतीलाई प्रत्यक्ष लाभ पु¥याएको हामीले ठानेका छौँ’, उपशाखाप्रमुख आचार्यले भने, ‘हामीले भत्ता दिने बेलामा समेत स्वास्थ्य संस्थामै गएर सुत्केरी गराउन सल्लाह र स्वास्थ्य समस्या भए परामर्शसमेत दिने गर्छौं ।’ आफूहरुले गर्भवतीलाई प्रदान गरिएको भत्ता रकम पोषणका लागि प्रयोग गर्न अनुरोधसमेत गर्ने गरिएको उपशाखाप्रमुख आचार्यले जानकारी दिए । यसरी भत्ता दिने गर्दा स्वयं गर्भवतीबाट सकारात्मक प्रतिक्रिया पाउने गरेको उनको भनाइ छ । व्यास –५ रानीटारीकी ३० वर्षीया चिजा विकले भत्ता पाएकामा खुशी व्यक्त गरे । ‘गर्भवतीलाई भत्ता दिने गरिएको कुरा पत्याएर लागेको थिएन’,उनले भने, ‘हातमा नगदै परेपछि चाहिँ निकै अचम्ममा परेको छु । यो रकम फलफूल र पौष्टिक आहारमै खर्च गर्नेछु ।’ ‘खोप र नियमित परीक्षण मात्रा पूरा गरेपछि भत्ता पाइने रहेछ’, व्यास–५ की २३ वर्षीया सपना भुजेलले भने, ‘यस्तो कार्यक्रमले आत्मसम्मानसमेत मिलेको महसुस हुँदो रहेछ ।’ मातृ मृत्युदर घटाएर गर्भवतीलाई नियमित परीक्षण गर्ने बानीको विकास गर्न पोषण भत्ताको कार्यक्रम लागू गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । यस कार्यक्रमले सकारात्मक चर्चा पाएकोसमेत उनले जानकारी दिए । ‘यो कार्यक्रमको सकारात्मक चर्चाले हामीलाई हौसला मिलेको छ’, उनले भने, ‘नगरवासीलाई कसरी प्रत्यक्ष प्रभावकारी कार्यक्रम लागू गर्न सकिन्छ भन्नेमा नै हामी जहिल्यै केन्द्रित छौँ ।’ रासस
पूँजी बजार फोरमको सदस्यमा लगानीकर्ता सुवेदी चयन
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमको सदस्यमा लगानीकर्ता श्रृजना सुवेदी चयन भएकी छिन् । लामो समयदेखि पूँजी बजारको अनुभव संगालेकी लगानीकर्ता सुवेदीलाई महासंघको पूँजी बजार फोरमको सदस्यमा चयन भएकी हुन् । नेपालको पूँजी बजारमा डेढ दशकभन्दा बढी समयको अनुभव हासिल गरेकी सुवेदीलाई उक्त फोरमको सभापति शैलेन्द्र गुरागाईँको सिफारिसमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यमा नियुक्त गरेका हुन् । लामो समयदेखि नेपालको पूँजी बजारलाई नजिकसँग बुझेका सुवेदीको नियुक्तिले आगामी दिनमा पुँजी बजारलाई सुदृढ गर्दै शसक्त रुपमा अघि बढाउन मद्दत पुग्ने महासंघको विश्वास छ ।
महासंघको पूँजी बजार फोरमको सदस्यमा सागर ढकाल चयन
काठमाडौं । पूँजी बजार फोरमको सदस्यमा सागर ढकाल चयन भएका छन् । नयाँ धितोपत्र ब्रोकर एशोसिएसन नेपालका अध्यक्ष समेत रहेका ढकाल नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पूँजी बजार फोरमको सदस्यमा चयन भएका हुन् । नेपालको पूँजी बजारमा डेढ दशकभन्दा बढी समयको अनुभव हासिल गरेका ढकाललाई उक्त फोरमको सभापति शैलेन्द्र गुरागाईँको सिफारिसमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यमा नियुक्त गरेका हुन् । लामो समयदेखि नेपालको पूँजी बजारलाई नजिकसँग बुझेका ढकालको नियुक्तीसँगै आगामी दिनमा पुँजी बजारलाई सुदृढ गर्दै शसक्त रुपमा अघि बढाउन मद्दत पुग्ने महासंघको विश्वास छ । ढकाल भर्खरै मात्रै धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जबाट संचालन अनुमति पाएको हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) को समेत अध्यक्ष हुन् । नयाँ ब्रोकर कम्पनीहरुले लाईसेन्स अनुमति पाउनुमा ढकालको ठूलो योगदान रहेको बताइएको छ । ढकालसँग हालसम्म आधादर्जन वित्तीय संस्थामा संचालकको रुपमा रहेर काम गरेको अनुभव छ । व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका ढकाल कानुनविद समेत हुन् । हाल उनी पाटन उच्च अदालतका बारको कार्यकारी सदस्य समेत हुन् । आफु पुँजी बजार फोरमको सदस्य भएसँगै आगामी दिनमा लगानीकर्ताको मनोवल उकास्दै नेपालको सेयर बजारलाई थप सुदृढ र विश्वसनीय बनाएर अघि बढाउन पहल गर्ने बताए । ‘हतग्राही खाताको आधारमा ५६ लाखभन्दा बढी लगानीकर्ता आवद्ध रहेको सेयर बजार अहिले सिथिल भएको छ,’ उनले भने, ‘आगामी दिनमा लगानीकर्ताको मनोवन उच्च बनाउँदै सेयर बजारको वृद्धि र विकासमा लाग्नेछु ।’ जोय ग्रूपका अध्यक्ष रहेका ढकाललको १ दर्जनभन्दा बढी कम्पनीमा लगानी रहेको छ ।
सिभिल लघुवित्तले हिमालयन लघुवित्तको नामबाट कारोबार गर्ने
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन भएको छ । लघुवित्तको नाम परिवर्तन भएर हिमालयन लघुवित्त वित्तीय संस्थाको नाम राखिएको हो । यससँगै अब लघुवित्त संस्थाले हिमालयन लघुवित्तको नामबाट आफ्नो कारोबार सञ्चालन गर्नेछ । सिभिल लघुवित्तको माउ संस्था साविक सिभिल बैंक हिमालयन बैंकमा गाभिएपछि लघुवित्तको नाम परिवर्तन गरी हिमालयन लघुवित्त राखिएको लघुवित्तले जनाएको छ । लघुवित्तको १२ वार्षिकोत्सवको अवसर पारेर बिहीबार असार २१ गते नाम परिर्वतन गरिएको लघुवित्तले जनाएको छ । लघुवित्त असार २१ गतदेखि ११ औं वर्ष पुरा गरी १२ औं वर्षमा प्रवेश गरेको हो । वार्षिकोत्सव अवसरमा लघुवित्तले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानमा विविध कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ ।
नेपाल एसबीआई बैंक ३१ औं वर्षमा
काठमाडौं । नेपाल एसबीआई बैंक स्थापनाको ३१ औं वर्षमा प्रवेश गरेको छ । बैंकले शुक्रबार कर्मचारीसँग ३० औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले भर्चुअल सपथ ग्रहण समारोहको आयोजना गरेको थियो जहाँ एनएसबीएलका सबै कर्मचारीहरूले र्बैकको विकासको लागी आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमलाई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले र डेपुटी सीईओ तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले बैंकको उपलब्धिमा योगदान पुर्याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिँदै यसरी नै निरन्तरता दिन आग्रह गरेका थिए । यसका साथै, उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम शुक्रबार र सनिबार आयोजना गरेको छ । बैंकले ९१ शाखा, २१ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, ९ शाखारहित बैंकिङ सेवा, १२९ एटिएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।
लक्ष्मी सनराइज बैंकलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति, २८ असारमा एकीकृत कारोबार
काठमाडौं । नेपाल राष्ट्र बैंकले लक्ष्मी बैंक र सनराइज बैंकलाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले दुवै बैंकलाई मर्जरमा जान शुक्रबार अन्तिम स्वीकृति प्रदान गरेको हो । राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेसँगै एकीकृत कारोबारका लागि बाटो खुला भएको छ । दुवै बैंकले असार २८ गते एकीकृत कारोबार गर्ने छन् । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुने छ । लक्ष्मी बैंकका सीईओ अजयबहादुर शाह मर्जरपश्चात् बन्ने बैंकको सीईओ नियुक्त हुने छन् । मर्जरपश्चात् पहिलो साधारणसभासम्मको लागि लक्ष्मीबाट ४ जना र सनराइजबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्नेछन् । लक्ष्मी बैंकबाट हालका अध्यक्ष रमण नेपाल, सञ्चालकहरु डा. मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । यस्तै, सनराइज बैंकबाट हालका अध्यक्ष मोतीलाल दुगड, इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् । मर्जरपश्चात् बस्ने पहिलो बैठकले बैंकको अध्यक्ष चयन गर्नेछ । दुबै बैंकको गत असार ३ गते सम्पन्न साधारणसभाले मर्जरमा जाने विशेष प्रस्ताव पारित गरिसकेका छन् । दुवै बैंकबीच मर्जरमा जानका लागि गत जेठ ७ गते अन्तिम सम्झौता भएको थियो । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए ।