विदेशबाट फर्केर मादल बनाउँदै कमल
वालिङ । बुवाबाट मादल बनाउने सीप सिक्नुभएका कमल गन्धर्वले अन्ततः यसैलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । पाल्पाको रामपुरका गन्धर्वले स्याङ्जाको पुतलीबजार–१० राङखोलामा ‘प्रेम मादल उद्योग’मार्फत मादल उत्पादन गरी बिक्री गर्दै आएका हुन् । बुवासित मादल बनाउने काम गर्दा गर्दै जागिरको खोजीमा विदेश पुगेका उनले विदेशको बसाइलाई बिटमार्दै फेरि मादल बनाउने पेसामै फर्किएका हुन् । हाल उनले यसैलाई व्यावसायिक रुपमा अगाडि बढाउने योजनाका साथ सक्रिय भएका छन् । ‘बुवासँगै मादल बनाउन सिक्नदै र बनाउँदै गर्दा कामको खोजीमा विदेश गएँ’, उनले भने, ‘पाँच वर्ष चार महिना विदेशी भूमिमा पसिना बगाएँपछि स्वदेश फर्किएर आफ्नै व्यवसाय सुरु गरेको हो ।’ राङखोलामा आफ्नो छुट्टै मादल उद्योग सञ्चालन गरेका गन्धर्वलाई नयाँ मादल बनाउने, मर्मत गर्नेलगायतका काम गर्न अहिले भ्याइनभ्याइ छ । चार लाख लगानीमा व्यवसाय सुरु गरेका गन्धर्वले वार्षिक तीन लाखभन्दा बढी आम्दानी गरिरहेको बताए । नयाँ मादल बनाउनुकासाथै पुराना मादल, मिर्दुङ्गा, नगरा, डमरु, खैँजडी, नेवारी बाजा मर्मतबाट उनले आम्दानी गरिरहेका छन् । ‘अहिले नयाँ बाजाका सेट तथा बाजाका सेट बनाउन र मर्मत गर्न भ्याइनभ्याइ छ’, उनले भने, ‘यहाँ उत्पादन भएका मादल तथा बाजाका सेटहरु स्याङ्जा, वालिङ, गल्याङ, पाल्पाको रामपुर, पोखरालगायतका ठाउँमा बिक्री हुने गरेको छ ।’ मादल बनाउनका लागि रातो उत्तिसको काठ प्रयोग हुन्छ । काठ धादिङबाट आउने गरेको छ भने छाला भारतबाट ल्याउने उनले बताए । मादलको आकारअनुसार एक हजार आठसयदेखि दुई हजार पाँचसयसम्ममा बिक्री हुन्छ । मागअनुसार काम गर्न कामदारको प्रयोग गर्दै आएका छन्। ‘विदेशी भूमिमा बगाएको पसिना स्वदेशी भूमिमा बगाउन पाउँदा खुसी लागेको छ’, उनले भने, ‘विदेशको बसाई छोट्याएर फर्केपछि आफ्नै ठाउँमा सुरु गरेको पुर्ख्यौली पेसाबाट म सन्तुष्ट छु ।’ रासस
यो वर्ष शिक्षक सेवा आयोगको कुन तहको परीक्षा कहिले हुन्छ ?
काठमाडौं । शिक्षक सेवा आयोगले आर्थिक वर्ष ०८०/८१ मा अध्यापन अनुमति पत्रदेखि सबै तहका स्थायी र करारमा लिइने शिक्षकहरुको परीक्षा तालिका सार्वजनिक गरेको छ । तालिकामा आयोगले आगामी कुन–कुन महिनामा कुन विषयको परीक्षा हुने भनेर तोकेको छ । हेर्नुहोस् आयोगले सार्वजनिक गरेको परीक्षा तालिका
सांग्रिला डेभलपमेन्ट बैंकद्धारा महिला आदर्श सेवा केन्द्रलाई आर्थिक सहयोग
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले महिला आदर्श सेवा केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएकोमा आज महिला आदर्श सेवा केन्द्रलाई सहयोग गरेको हो । यस महिला आदर्श सेवा केन्द नेपाली महिलाहरुमा चेतना जगाउने र आत्मनिर्भरताको विकास गर्ने उद्देश्यले बि. सं २०४० मा स्थापना भएको संस्था हो । यसैबीच सो संस्थाले महिला वर्गलाई विभिन्न शिपमूलक तालिम प्रदान गर्दै आइरहेको छ । अहिले संस्थाले आफ्नै भवन निर्माण गरिरहेको क्रममा सो निर्माणमा सघाउन सांग्रिला डेभलपमेन्ट बैंकले केही आर्थिक सहयोग उपलब्ध गराएको हो । उक्त महिला आदर्श सेवा केन्द्रलाई बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले चेक हस्तान्तरण गरेका थिए । यस किसिमको सहयोगले उक्त केन्द्रलाई ठूलो मद्दत पुग्ने महिला आदर्श सेवा केन्द्रकी अध्यक्ष निरु श्रेष्ठले बताइन् । सांग्रिला डेभलपमेन्ट बैंकले देशभर रहेका आफ्ना ११२ शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
सिटिजन्स बैंकका ग्राहकलाई द मोक्क्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बारमा छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ज्ञानेश्वर, काठमाडौं स्थित द मोक्क्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बार बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले द मोक्क्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एण्ड बारमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
बैंकिङ कसुर ऐन संशोधनको प्रक्रिया सुरु गर्ने तयारीमा राष्ट्र बैंक
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका गतिविधि र काम कारबाहीलाई लिएर एकाध व्यक्तिले गैर व्यावसायिक गतिविधि गरिरहेको पाइएकाले त्यसलाई नियन्त्रण गर्ने गरी केन्द्रीय बैंकले ऐनमा नै संशोधन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकिङ कसुर ऐन, २०६४ लाई समसामयिक संशोधन गर्ने भनिएको छ । पछिल्ला दिनमा केही व्यक्तिले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर नतिर्ने, बैंक तथा वित्तीय संस्था कर्मचारीमाथि आक्रमण गर्ने गरेपछि केन्द्रीय बैंकले उक्त ऐनमा संशोधन गर्न खोजेको हो । “वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने गैर–व्यावसायिक तथा उच्छृङ्ल गतिविधिलाईसमेत नियन्त्रण गर्न सहयोग पुग्ने गरी विद्यमान बैंकिङ कसुर ऐन, २०६४ मा समसामयिक संशोधन प्रक्रिया अगाडि बढाइने छ ” मौद्रिक नीतिमा उल्लेख छ । रासस
प्राकृतिक प्रकोप पीडित ऋणिलाई विशेष व्यवस्था गर्ने राष्ट्र बैंकको तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न प्राकृतिक प्रकोपलगायतका कारणले समस्यामा परेका ऋणिको हकमा विशेष व्यवस्था गर्ने बताएका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक पछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले समस्यामा परेका ऋणिलाई कर्जाको पुनःसंरचना वा अन्य कुनै विशेष व्यवस्था गरेर भए पनि पुनरुत्थान गरिने बताए । खासगरी प्राकृतिक प्रकोप वा अन्य कुनै पनि प्रकोपका कारण समस्यामा परेका ऋणिलाई माथि उकास्न तथा उनीहरुलाई पुनः व्यवसायमा सक्रिय बनाउनका लागि विशेष व्यवस्था गरिन लागेको उनले जानकारी दिए । प्राकृतिक प्रकोपका कारण समस्यामा परेको, त्यसका कारण उद्योग तथा व्यवसाय धाराशायी भएको, कालोसूचीमा परेको भए त्यस्ता ऋणिलाई पुनःस्थापनाका लागि विशेष व्यवस्था गरिन लागेको गभर्नर अधिकारीको भनाइ छ । उनले नेपालबाट बाहिरिने विप्रेषणबारेमा पनि केन्द्रीय बैंकले नियमित रुपमा अध्ययन नगरे पनि सुक्ष्म निगरानी भने गरिरहेको उनको भनाइ छ । त्यसका लागि अन्य निकायसँगको सहकार्य तथा ‘नेशनल स्वीच’ कार्यान्वयनमा ल्याइ यर्थाथ विवरण पत्ता लगाइने उनले योजना सुनाए । सहुलियतपूर्ण कर्जा दुरुपयोग भएको सन्दर्भमा सञ्चारकर्मीले राखेको जिज्ञासामा गभर्नर अधिकारीले भने, ‘सहुलियतपूर्ण कर्जा दुरुपयोग मात्रै भएको छैन, सदुपयोग पनि भएको छ । त्यसबारे स्वतन्त्ररुपमा अध्ययन भइरहेको छ । यही साउनको अन्तिमसम्ममा त्यसको प्रतिवेदन आइसक्नेछ । सोही प्रतिवेदनका आधारमा हामी अगाडि बढ्छौँ ।’ त्यस्तो कर्जा दुरुपयोग भएको पाइए ब्याजसमेत असुल उपर गरिने उनको भनाइ छ । गभर्नर अधिकारीले ५० लाख रुपैयाँसम्मको शेयर धितोमा जाने कर्जाको ‘थ्रेस होल्ड’ घटाउन लागिएको जानकारी दिए । यसअघि २५ लाख रुपैयाँसम्मको शेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत र त्यसभन्दा माथिको जोखिम भार एक सय ५० प्रतिशत रहेकोमा उक्त व्यवस्था पुनरावलोकन गर्न लागिएको उनले जानकारी दिए । उनले शेयर धितो कर्जाका सम्बन्धमा कुनै द्विविधा नराख्नसमेत आग्रह गरे ।
प्रभु क्यापिटलको लोयल्टी र रिफरल टिकटक कम्पिटिसन, विजेताले १० हजार पाउने
काठमाडौं । प्रभु क्यापिटलले आफ्नो सेवाग्राहीका लागि सेवासंगै लोयल्टी पोइन्ट्स अफरका साथै रिफरल स्किम सार्वजनिक गरेको छ । यसै परिप्रेक्ष्यमा प्रभु क्यापिटल लिमिटेडले ‘प्रभु क्यापिटल लोयल्टी एण्ड रिफरल टिकटक कम्पिटिसन’ संचालनमा ल्याएको छ । यस योजना साउन मसान्तसम्म संचालन हुने जनाएको छ । यस टिकटक कम्पिटिसन अन्तर्गत सहभागीहरुले प्रभु क्यापिटलको टिकटक अकाउण्टमा राखिएको जिंगलको ओरिजिनल साउण्डमा टिकटक बनाई ह्यसट्याग #prabhuloyaltyandreferal राखी पोष्ट गर्नुपर्ने हुन्छ । सबै भन्दा धेरै लाइक्सको आधारमा विजेता छनौट गरिने र विजेताले १० हजार रूपैयाँ जित्न सकिने क्यापिटलले जनाएको छ । प्रभु क्यापिटलले नेपाली पूँजीबजारको क्षेत्रमा सदैव नयाँ नयाँ प्रविधिको विकास गरी नवप्रवर्तनमा जोड दिनेगरेको तथा ग्राहकहरुलाई दिने सेवामा सहजीकरण गर्दै आएको छ । लोयल्टी पोइन्ट्स अफर तथा रिफरल स्किम बारे थप जानकारीको लागि प्रभु क्यापिटल लिमिटेडको फोन नम्बर ९८४००७६१०० मा समेत सम्पर्क गरी जानकारी पाउन सकिने जनाएको छ ।
बूढानीलकण्ठमा गरगहनासहित ३० लाख रुपैयाँ बराबरको धनमाल चोरी
काठमाडौं । काठमाडौंस्थित बूढानीलकण्ठ नगरपालिका–३ बूढानीलकण्ठ गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरमा चोरी भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उनको घरबाट विभिन्न सुन तथा हीराका गरगहनासहित आठ हजार पाँच सय गरी करिब ३० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिलाई खोजी गर्नाका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहको जनाएको छ ।