विकासन्युज

काठमाडौं महानगरपालिकाभित्रका विद्यालय व्यवस्थापन समिति विघटनको निर्णय प्रमाणिकरण

काठमाडौं । सबै सामुदायिक विद्यालयका व्यवस्थापन समिति (विव्यस) विघटन गरेर सम्बन्धित वडाध्यक्षको संयोजकत्वमा नयाँ समिति गठन गर्ने गरी काठमाडौँ महानगरपालिकाको नगर सभाले गरेको निर्णय प्रमाणीकरण भएको छ । उक्त निर्णय महानगरपालिकाका प्रशासकीय अधिकृतले हालै प्रमाणीकरण गरेका हुन् । नगर सभाले पारित गरेको उक्त विधेयक प्रमाणीकरण भएकाले अब हालका सबै विद्यालय व्यवस्थापन समिति विघटन हुने छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार प्रमाणीकरण भएको विधेयक केही दिनमा कानुन बनेर राजपत्रमा प्रकाशित हुने छ । राजपत्रमा प्रकाशित भएको मितिबाट यो व्यवस्था कार्यान्वयनमा आउने छ । महानगरपालिकाका वडाध्यक्षले ल्याएको यो प्रस्ताव महानगरपालिकाको असार ३० गते सम्पन्न भएको नगर सभाले पारित गरेको थियो । नगर सभाले पारित गरे पनि यसलाई प्रमाणीकरण गर्ने कि नगर्ने भन्ने विषयमा महानगरपालिकाले सरोकारवालासँग छलफल गरेको थियो । वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउँदा विद्यालयमा राजनीतिक हस्तक्षेप निम्तिने भन्दै विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घ तथा सरोकारवालाले समेत विरोध गरेका थिए । कतिपय वडाका अध्यक्ष र विद्यालय प्रधानाध्यापकबिच अहिले पनि राजनीतिक द्वन्द्व रहेको यो निर्णय कार्यान्वयन भएमा झन् विवाद बढ्ने भन्दै निर्णयमा पुनर्विचार गर्न उनीहरूले महानगरपालिकालाई सुझाव दिएका थिए तर सबै विरोधका बाबजुद महानगरपालिकाले प्रमाणीकरण गरेको हो । यससँगै अब महानगरपालिकाका ७९ वटा विद्यालय व्यवस्थापन समितिको व्यवस्थापन जिम्मा काठमाडौँ महानगरपालिकाका ३२ वटा वडामध्ये ३० वटा वडाध्यक्षको जिम्मामा पुगेको छ । वडा नं. २ र वडा नं. २४ मा भने एउटा पनि सामुदायिक विद्यालय छैनन् ।तीमध्ये सबैभन्दा धेरै विव्यसको जिम्मेवारी वडा नं. १६ का अध्यक्षले पाउने छन् । यो वडामा आठ वटा सामुदायिक विद्यालय छन् । वडा नं. ५, १८, २२ लगायतका वडाध्यक्षलाई एक/एक वटा विद्यालयको मात्रै व्यवस्थापन जिम्मा पर्ने छ । वडा नं. ११ का अध्यक्षको जिम्मेवारीमा पाँच वटा विद्यालय पर्ने छन् भने वडा नं. १, ७, ९, १३, १४ का वडाध्यक्षको जिम्मेवारीमा चार÷चार वटा विव्यसको जिम्मा पर्ने छ । अदालत जानेविव्यस विघटन गर्ने महानगरपालिकाले निर्णय गरेपछि विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घले न्यायका लागि अदालत जाने चेतावनी दिएको छ । महासङ्घका अध्यक्ष गुणराज मोक्तानले प्रमाणीकरण गरिएको ऐन विधिवत् रूपमा सार्वजनिक भएपछि अदालत जाने बताए । उनले सबै सामुदायिक विद्यालय व्यवस्थापनको अधिकार वडाध्यक्षको हातमा जाँदा अभिभावकले विद्यालय खोसिएको अनुभव गरेको बताए । आजको गोरखापत्र दैनिकमा छ ।

आईएमई लाइफले वार्षिकोत्सवमा ३ हजार युवालाई एकैपटक दियो वित्तिय जनचेतनामूलक तालिम

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले शनिबार युवा दिवसको उपलक्षमा देशैभरि युवा लक्षित तालिम कार्यक्रमहरु सम्पन्न गरेको छ । बीमाको क्षेत्रमा साक्षरता बढाउनेका साथै युवाहरुलाई सामान्य वित्तिय ज्ञान दिने उद्देश्यका साथ इन्स्योरेन्सले शनिबार सातवटै प्रदेशका विभिन्न ४१ स्थानहरुमा उपरोक्त तालिम कार्यक्रम गरेको हो । इन्स्योरेन्सको स्थापनाको छैटौं वर्ष पुरा गरेको अवसरमा मुलुकभर उक्त कार्यक्रम गरिएको हो । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा क्षेत्रको समग्र विकास एवं विस्तारकोलागि यस्तो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । कम्पनीका अनुसार मुलुकभर गरिएको वित्तिय जनचेतनामूलक कार्यक्रममा ३ हजार भन्दा बढी युवाहरु सहभागी भए । बीमा कम्पनीले एकैदिन ३००० भन्दा बढी युवालाई एकैपटक वित्तिय जनचेतनामूलक अभियान गरेको सम्भवतः यो पहिलो पटक हो । भाद्र १ गते आसन्न आफ्नो छैटौं वार्षिकोत्सव मनाउने क्रममा यस अघि इन्स्योरेन्सले खिर खाने दिनमा महिला अभिकर्ताहरुको सम्मान कार्यक्रम, आरुष अस्पताल, ललितपुरको समन्वयमा जीवनशैली जनित रोगहरुको बारेमा अभिकर्ताहरु माझ जनचेतना कार्यक्रम, धरानमा १००० बृक्षारोपण कार्यक्रम, देशैभरि मानव सेवा आश्रम, बाल आश्रम, ज्येष्ठ नागरिक आश्रम आदिमा सामाजिक उत्तरदायित्वका कार्यक्रम तथा देशैभरि विभिन्न १३ स्थानहरुमा वृहत स्वास्थ्य शिविर कार्यक्रम गरेको कम्पनीले जनाएकाे छ । आउँदा कार्यक्रमहरुमा भाद्र १ गते जीवन बीमाबारे जनचेतनाका लागि प्रभातफेरी कार्यक्रम तथा देशैभरि रक्तदान कार्यक्रमहरु गरि आफ्नो छैटौं वार्षिकोत्सव मनाउन गइरहेको इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ ।

मुग्लिन–पोखरा सडक विस्तार : दमौलीमा घर भत्काइँदै

दमौली । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत मुख्य बजारमा घरटहरा भत्काउने तयारी गरिएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली बजारमा घरटहरा भत्काउने तयारी गरेको हो । यसअगाडी मुख्य बजारभन्दा बाहेकका ठाउँमा घरटहरा हटाइएकामा अब मुख्य बजारमा काम हुने योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । उनले भने, ‘बजार क्षेत्रमा धुलो नउडोस् भन्नका लागि बजार क्षेत्रमा घरटहरा भत्काउन हतार नगरिएको हो । दमौली बजारको घरटहराको क्षतिपूर्ति मुआब्जाको निर्धारण पनि हालैमात्र भयो । अब धमाधम काम अगाडि बढ्छ ।’ आयोजना प्रमुख सुवेदीका अनुसार दमौली बजारका घरटहराको क्षतिपूर्तिको मूल्याङ्कन हालैमात्र भएको छ । दमौली बजारमा केही असन्तुष्टि भएकाले सरोकारवालाको छलफलपछि त्यसलाई समाधान गरिने उनको भनाइ छ । यो खण्डमा पाँच सय पाँच घरटहरा भत्काउनुपर्नेमा हालसम्म तीन सय ५० घरटहरा भत्काइसकिएको छ । घरटहरा भत्काउँदा २६ करोड मुआब्जा निर्धारण भएकामा हालसम्म १७ करोड ५० लाख मुआब्जा वितरण गरिएको उनले जानकारी दिए । व्यास नगरपालिकाले पनि आफ्नो कार्यक्षेत्रभित्र सडक केन्द्रविन्दुबाट दायाँबायाँ २५ मिटर सडक क्षेत्र भई लागत कट्टा भएकाले सो सडक क्षेत्रभित्रका संरचना हटाई सडक निर्माणमा सहयोग पुर्याउन आग्रह गरिसकेको छ । एउटा खण्डको प्रगति ३१ प्रतिशत मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा ३१ दशमलव पाँच प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । त्यस्तै जामुनेबाट पोखरासम्मको पश्चिमखण्डमा जम्मा आठ प्रतिशत प्रगति भएको छ । यो खण्डमा काम सुस्त छ । पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्रको काम सुरु भइसकेको छ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । एकचालीस दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । सरकारले मुग्लिन–पोखरा सडक विस्तारका लागि चालु आर्थिक वर्षमा पाँच अर्ब ४२ करोड विनियोजन गरेको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ । पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । रासस

नेपाल लाइफको नाफा साढे ६७ करोड, जगेडा कोषमा १२५ प्रतिशत छलाङ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०७९÷८० को चौथो त्रैमाससम्म खुद नाफा ६७ करोड ४४ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड २७ लाख रुपैयाँ घाटा व्यहोरेको थियो । गत असारसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन ३.८३ प्रतिशत बढेर ३६ अर्ब ६२ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ३४ अर्ब ९८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ८.९४ प्रतिशत बढेर १५ अर्ब ४३ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले खुद दाबी भुक्तानी १४ अर्ब १६ करोड रुपैयाँ गरेको थियो । गत असारसम्म कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर ११ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ८ अर्ब ९४ करोड रुपैयाँ गरेको थियो । साथै, पुनर्बीमा कमिसन आय १० करोड ५५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९ करोड १८ लाख रुपैयाँ गरेको थियो । अघिल्लो वर्ष २ खर्ब १८ करोड रुपैयाँ यवस्थापन खर्च गरेको कम्पनीले गत वर्ष २ अर्ब २६ करोड रुपैयाँ गरेको छ । कम्पनीको कुल कायम बीमालेखको संख्या ११ लाख ५ हजार ३६५ पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषको आकार १९.७६ प्रतिशत बढेर १ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा जीवन बीमा कोषको आकार १ खर्ब ३६ अर्ब रुपैयाँ थियो । यस्तै, कम्पनीको चुक्ता पूँजी ८ अर्ब २० करोड रुपैयाँ र जगेडा कोष १२५.३१ प्रतिशत बढेर ६४ करोड ९२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.२२ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ईपीएस ४.३० रुपैयाँले ऋणात्मक थियो । कम्पनीको मूल्य आम्दानी अनुपात ९०.५५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११८.८४ रुपैयाँ रहेको छ ।

आजको मौसम : देशभर मनसुनी झरी, सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले देशैभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै भारतको उत्तरपूर्वी उत्तर–प्रदेश तथा उत्तर–पश्चिम बिहार आसपासमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेकाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । रातिका समयमा पनि कर्णाली, सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको माहाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि निरन्तर हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

नागरिक लगानी कोषको नाफा १ अर्ब, आरओआई ९.४० प्रतिशत

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०७९/८० मा झण्डै १ अर्ब रुपैयाँ नाफा गरेको छ । कोषले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत असारसम्म खुद नाफा ३६.७४ प्रतिशत बढेर ९० करोड ७८ लाख ३६ हजार रुपैयाँ गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा कोषले ६६ करोड ३९ लाख ११ हजार रुपैयाँ खुद नाफा गरेको थियो । बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर उच्च भएकाले कोषको नाफा बढेको छ । कोषल् मुद्दती निक्षेपमा लगानी गरेको ब्याज आम्दानी बढ्न गएकाले नाफा बढेको हो । गत असारसम्म कोषको ब्याज आम्दानी ४० करोड ४९ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कोषले ३५ करोड ९९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । असारसम्म कोषको सेवा शुल्क तथा कमिशन आम्दानी १ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ र अन्य आम्दानी २ करोड ७४ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष सेवा शुल्क तथा कमिशन आम्दानी १ अर्ब २४ करोड ८८ लाख रुपैयाँ र अन्य आम्दानी १ करोड ९५ लाख रुपैयाँ गरेको थियो । समग्रमा कोषको कूल आम्दानी ११.३० प्रतिशत बढेर १ अर्ब ८१ करोड २२ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष १ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ कूल आम्दानी गरेको थियो । समिक्षा अवधिमा आफ्नो खर्च पनि घटाएको छ । कोषको कूल खर्च ०.१९ प्रतिशत घटेर ६० करोड १८ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष ६० करोड २९ लाख रुपैयाँ कूल खर्च गरेको थियो । कोषको चुक्ता पूँजी ६२.५० प्रतिशत बढेर ५ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ र जगेडा कोष २२ अर्ब ३६ करोड ९४ लाख रुपैयाँ पुगेको छ । कोषको प्रतिसेयर आम्दानी १७.०८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५४.८१ रुपैयाँ रहेको छ । साथै, कोषको रिटर्न अन इन्भेष्टमेन्ट (आरओआई) अर्थात् लगानीमा प्रतिफल ९.४० प्रतिशत रहेको छ ।

कर्णाली नदी बस्तीमा पस्ने जोखिम बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

टीकापुर । कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो । पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानमा पर्ने देखिन्छ । नदी कटान तीव्र भएपछि शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टलगायतको टोलीले कटान क्षेत्रको अनुगमन गरेको छ । मुख्यमन्त्री शाहले नदी नियन्त्रणका लागि प्रदेश सरकारले सक्दो पहल गर्ने जानकारी दिए । नदी बस्तीमा पसेमा हजारौँ परिवारको उद्धार गर्नुपर्ने, हजारौँ बिघा धानबाली नष्ट हुने खतरा बढेपछि बस्ती जोगाउन जैविक तटबन्ध गरिने भएको छ । टीकापुर नगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सहयोगमा स्थानीयलाई परिचालन गरी जैविक तटबन्ध गर्ने निर्णय गरेको छ । नदी कटान तीव्र हुँदा सिँचाइ आयोजनाले कर्णाली नदीका केही स्थानमा बिग बोल्डर (ठूला ढुङ्गा)सहितको तटबन्धका लागि ठेक्का दिएको थियो । आयोजनाले जानकी गाउँपालिकाको खैरीफाँटा, टीकापुर नगरपालिकाको वडा नं ५ पार्क क्षेत्र, दौलतपुर र वडा नं ८ को वनगाउँमा बिग बोल्डर राखेर तटबन्ध गर्न गएको चैत महिनामा सम्झौता गरेको थियो । खैरीफाँटामा गाल्वा निर्माण सेवाले काम थाले पनि पार्क क्षेत्रमा ठेक्का पाएको मस्ट्रा विल्डर्स धनगढीले समयमा काम नगर्दा बस्ती खतरामा परेको हो । नदी तटबन्ध भत्काएमा टीकापुर पार्कको पहिचान समाप्त हुनेछ । आयोजनाले टीकापुर पार्क क्षेत्रमा चैतमा ठेक्का लिएको निर्माण कम्पनी मस्ट्रा विल्डर्स धनगढीलाई पटक–पटक बोलाउँदा पनि तटबन्धको काम नगर्दा अहिले बस्ती उच्च जोखिममा रहेको आयोजनाका प्रमुख केदारकुमार श्रेष्ठले बताए । “हामीले जोखिम बढेकाले चैतमै ठेक्का गरेका हौँ, निर्माण कम्पनीले नटेर्दा यो समस्या निम्तिएको हो । साथै ठूला ढुङ्गा पाउन पनि समस्या भएको छ,” उनले भने । नदीले धार परिवर्तन गरेकाले विगतमा भएका तटबन्ध नदीले रोक्न नसक्ने भएकाले आयोजनाले आजभोलि बिग बोल्डरसहित तटबन्ध गर्न थालेको छ । स्थानीय तहले मनोमानी नदी उत्खनन गरेकाले आज समस्या भएको आयोजना प्रमुख श्रेष्ठको भनाइ छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको सूचनाअनुसार शनिबारदेखि आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकाले कर्णाली नदीको पार्क क्षेत्र, दौलतपुरमा जोखिम बढेको छ । पार्क क्षेत्रमा टीकापुर नगरपालिकाले सिँचाइ आयोजनाको सहयोगमा स्थानीय बासिन्दा, प्रहरी, नेपाल रेडक्रस सोसाइटी, राजनीतिक दलका कार्यकर्ता, बरघर, कुला समितिका उपभोक्ताको सहयोगमा तटबन्ध गर्ने भएको छ । तटबन्धका लागि आवश्यक बोरालगायतका सामग्री सिँचाइ आयोजनाले सहयोग गर्ने, झालापाता, बाँस सामुदायिक वनबाट सहयोग लिने, प्राविधिक जनशक्ति जिल्ला विपद् व्यवस्थापन समितिसँग माग गर्ने टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले बताए । “नदी समयमै नियन्त्रण गर्न नसके टीकापुर बाढीले सकिन्छ, नदी फुटेमा हामीले उद्धार तथा राहतका कार्य गर्न पनि नसक्ने अवस्था हुन्छ,” उनले भने । जानकी गाउँपालिका वडा नं ९ स्थित पूर्वी खैरीफाँटा तथा शिवशक्ति सामुदायिक वन नजिक कर्णाली नदी कटान भइरहेकाले टीकापुर नगरपालिका वडा नं १, २, ३, ६ र ७ बाढीबाट क्षतिको जोखिममा छन् । पालिकाले सो स्थानमा नदी व्यवस्थापनका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजना र जानकी गाउँपालिकालाई अनुरोध गरेको छ । जैविक तटबन्धको प्रयासपछि पनि कटान नियन्त्रण नभएमा टीकापुरका नागरिकलाई उद्धार गर्न पालिकासँग उद्धारका सामग्री पर्याप्त मात्रामा नरहेकाले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग इन्जिनबोट माग गरिएको छ । पालिकाले नागरिकलाई सुरक्षित रहन आग्रह गर्दै ‘साइरन’ बजाउने, मोबाइलमा ‘म्यासेज’ गर्नेलगायतका कार्य सुरु गरेको छ । वर्षा निरन्तर भइरहेकाले आवश्यक कागजात सुरक्षित गर्न, जोखिममा रहेका नागरिक गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई सुरक्षित तथा तयारी अवस्थामा राख्न आग्रह गरिएको विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले बताए । “यसअघि साउन २२ गतेदेखि आएको अबिरल वर्षाका कारण टीकापुर नगरपालिका वडा नं ६ र ७ का तीन सय ८१ घरधुरी बाढीबाट प्रभावित भएका छन्, सबै सरोकारवालालाई तयारी अवस्थामा रहन अनुरोध गरका छौँ । पालिकामा रहेका जनशक्तिलाई पनि तयारी राखेका छौँ,” उनले भने । रासस

पपुवा न्यूगिनीको टिसा बैंकको चिफ रिस्क अफिसरमा सचिनजङ्ग रायमाझी

काठमाडौं । नेपाली बैंकर सचिनजङ्ग रायमाझी पपुवा न्यूगिनीको दि टिचर सेभिङ्ग एण्ड लोन सोसाइटी (टिसा) बैंक लिमिटेडमा नियुक्त भएका छन् । रायमाझी टिसा बैंकको चिफ रिस्क अफिसर पदमा नियुक्त भएका हुन् । उनी टिसा बैंकमा तीन वर्षका लागि नियुक्त भएका हुन् । यसअघि रायमाझी हिमालयन बैंकको असिस्टेन्ट चिफ एक्जिक्यूटिभ अफिसर थिए । साविक सिभिल बैंक छोडेका सुनिल पोखरेल सो बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रुपमा काम गरिरहेका छन् । सीईओ पोखरेलले नै रायमाझीलाई टिसा बैंकमा बोलाएका हुन् । साविक सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रहेका रायमाझीसँग साढे दुई दशकको बैंकिङ अनुभव छ । उनले नेपाल बंगलादेश बैंकबाट करिअर सुरु गरेका थिए । साथै, प्रभु बैंकको नायव महाप्रबन्धक भएर पनि काम गरिसकेका छन् ।