ओरिएन्टल इन्स्योरेन्सको नाफा ३०.६६ करोड रुपैयाँ, २८.१३ प्रतिशत बढ्यो बीमा शुल्क
काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा ३० करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी १३ करोड ८३ लाख रुपैयाँ घाटामा रहेको थियो । चालु आवको ९ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २८.१३ प्रतिशत बढेर १ अर्ब ६ करोड ५९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८३ करोड १९ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको थियो । चालु आवको चैत मसान्तसम्म १ अर्ब ८० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कुल बीमाशुल्क आर्जन १ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ११.०३ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा कम्पनीले ५६ करोड ७२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९६ करोड ४३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चालु आवको ९ महिनामा कम्पनीले १ अर्ब २८ करोड रुपैयाँ कुल आम्दानी गरी ९० करोड ४३ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ कुल आम्दानी गरी १ अर्ब २० करोड रुपैयाँ कुल खर्च गरेको थियो । कम्पनीको स्पेसल रिजर्भ १ अर्ब ७९ करोड ४९ लाख रुपैयाँ पुगेको छ । यस्तै, महाविपत्ति कोषमा ७ करोड ६७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १२ लाख १५ हजार रुपैयाँ तथा अन्य इक्विटीमा ८७ करोड ४९ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको बीमा कोष ८ अर्ब ८२ करोड २० लाख रुपैयाँ पुगेको छ ।
बुद्धभुमी नेपाल हाइड्रोको हकप्रद सेयर खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज वैशाख २८ गते अन्तिम दिन रहेको छ । चैत २२ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा सेयरधनीहरूले आवसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पुँजी ४० करोड रुपैयाँको १०० प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले ४० करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँडपश्चात् कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत फागुन १ गते बुकक्लोज गरेको थियो । त्यसैले माघ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै कम्पनीको पानी पोखरी, महाराजगञ्जस्थित कार्यालय, जलविद्युत गृह रहेको स्थान थप्रेक नुवाकोट, एनआईसी एशिया बैंकको विराटनगर, वीरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।
त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजमा आगलागी
काठमाडौं । टर्कीको इस्तानबुलबाट आएको टिके७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार विमान अवतरण गर्ने क्रममा विमानको टायरमा आगो लागेको हो । ‘आज बिहान विमान अवतरण गर्ने क्रममा टायरमा आगो लागेको थियो, दमकलको सहायतामा आगो निभाइएको छ, अहिले अवस्था सामान्य छ,’ उनले भने, ‘अहिले जाँचका लागि केही समय रनवे बन्द गरिएको छ ।’ उनका अनुसार विमानमा २७३ यात्रु र ११ जना ‘क्रू मेम्बर’ थिए । सबै यात्रुहरूलाई सकुशल बाहिर निकालिएको थियो । अहिले प्राविधिक जाँच भइरहेको सिलवालले जानकारी दिए ।
टक्सार पिखुवा खोलाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज वैशाख २८ गते अन्तिम दिन रहेको छ । वैशाख २३ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात् ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका ४२ लाख ३० हजार ६६८ कित्ता सेयर जारी गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १२ लाख कित्ता स्थानीय, सर्वसाधारणलाई छुट्याइएको सेयरको ३ लाख ३ हजार ६७ कित्ता विदेशमा रहेका नेपाली, १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोष र ६० हजार ६१३ कित्ता सेयरमा कर्मचारीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँको २५ लाख १५ हजार ४५५ कित्ता सेयर बिक्री गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
९० वटा सवारी साधन बेवारिसे, सरकारको स्वामित्वमा लैजाँदै
काठमाडौं । बेवारिसे सवारी साधनको हकदाबी गर्न १५ दिनको ताकेता गरिएको छ । डिभिजन वन कार्यालय चितवनले वनजन्य अपराधमा प्रयोग भएका र लामो समयदेखि बेवारिसे अवस्थामा रहेका सवारी साधनका धनीलाई १५ दिनभित्र हकदाबी गर्न भनिएको हो । कार्यालयले विभिन्न समयमा वन क्षेत्रमा गस्ती गर्ने क्रममा बरामद गरी कार्यालयमा राखिएका बस, ट्रक, ट्याक्टर, पिकअप भ्यान, अटो रिक्सा तथा मोटरसाइकललगायत सवारी साधनका वास्तविक धनी सम्पर्कमा नआएको जनाएको छ । कार्यालयका अनुसार बरामद सवारी साधनमध्ये १४ वटा चारपाङ्ग्रे सवारी साधन (मिनी बस, ट्रक, पिकअप भ्यान), ३ वटा अटो रिक्सा, १२ वटा ट्याक्टर तथा ६१ वटा मोटरसाइकल गरी ९० वटा सवारी साधन रहेका छन् । कार्यालयका अनुसार सम्बन्धित सवारी साधनको हकदाबी गर्ने व्यक्तिले स्वामित्व पुष्टि हुने प्रमाणसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्नेछ । तोकिएको समयभित्र प्रमाणसहित उपस्थित नभए वन ऐन, २०७६ को दफा ६४ (३) बमोजिम ती सवारी साधन नेपाल सरकारको स्वामित्वमा जाने कार्यालयले जनाएको छ ।
आजदेखि बजेट अधिवेशन सुरु हुँदै, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
काठमाडौं । सङ्घीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । सङ्घीय संसदका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आज अपरान्ह ४ बजे सङ्घीय संसदको संयुक्त बैठक बस्नेछ । आजको कार्यसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । त्यसका लागि सङ्घीय संसदका सदस्यहरूलाई ३:४५ बजेभन्दा अगाडि नै संयुक्त सभाको बैठकका लागि प्रतिनिधिसभा कक्ष (बहुउद्देश्यीय कक्ष), सिंहदरबारमा उपस्थित हुनका लागि आग्रह गरिएको छ ।
सूर्यविनायक-धुलिखेल सडकले यात्रु सास्ती, जनप्रतिनिधि आक्रोशित
काठमाडौं । ६ लेनमा विस्तार भइरहेको अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक निर्माणमा भएको ढिलासुस्तीबारे यहाँका जनप्रतिनिधिले चासो राखेका छन् । आइतबार बनेपा नगरपालिका कार्यालयमा जनप्रतिनिधि तथा आयोजना एवं निर्माण व्यवसायीसँग सो विषयमा छलफल भएको थियो । छलफलमा काम छिटो सम्पन्न गरी वर्षामा यात्रुलाई सहजता दिलाउनुपर्नेमा जोड दिइएको थियो । बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा भएको छलफलमा सूर्यविनायक-धुलिखेल सडक आयोजना निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा बागमती प्रदेश सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, नगर उपप्रमुख विमला दाहाल, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, आयोजना प्रमुख, ठेकेदार कम्पनी लगायतको उपस्थिति थियो । छलफलमा धुलिखेल-सूर्यविनायक सडक आयोजनाअन्तर्गत बनेपा नगर क्षेत्रभित्रका सर्भिस लेन तथा सहायक सडकहरू बिनाअवरोध निर्वाध रूपमा सञ्चालन तथा निर्माण हुने व्यवस्था मिलाउने सम्बन्धमा सडक आयोजना र निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन् । त्यसैगरी बनेपास्थित पुण्यमाता खोला पुल तथा भैँसीपाटी खोला पुल निर्माणका क्रममा अवरुद्ध सर्भिस लेन र सहायक मार्ग पुनः सञ्चालन हुनेगरी आवश्यक निर्माण तत्काल गरिनेछ । पुल बजार क्षेत्रमा पुण्यमाता खोलाबाट हुने डुबान रोक्न खोला गहिर्याउने, खोला सफा गर्ने तथा संरक्षणसम्बन्धी कार्य तुरुन्त अघि बढाइनेछ । त्यस्तै पुण्यमाता खोलामा रहेको पुलको सुरक्षा सुनिश्चित गर्न आवश्यक सम्पूर्ण कार्य सम्पन्न गरिने जनाइएको छ । ‘कुनै पनि हालतमा यात्रुलाई असहजता हुनुभएन, तत्काल सबै क्षेत्रमा मेन–लेनमा पक्की बनाउने नसक्ने भए सर्भिस ट्रयाकमा कुनै अवरोध हुनुभएन,’ मन्त्री वादेले भने । उनले चरणबद्ध रूपमा गरिने निर्माणबारे विभिन्न बहाना देखाएर निर्माण व्यवसायी पन्छिन खोजेकामा भने रोष प्रकट गरे । सडक अव्यवस्थित हुँदा भएका दुर्घटनामा दुई जनाको ज्यान जाँदा पनि आयोजना गम्भीर नभएको प्रति उहाँले असन्तोष व्यक्त गरे । आयोजनाप्रमुख विजय महतोले समग्र भौतिक प्रगति ७० प्रतिशत भएको जनाउँदै आगामी असार मसान्तसम्म मुख्य लेन पक्की गरिसक्ने बताए । उनका अनुसार ‘कालोपत्र गर्ने तयारी गरिए पनि बिटुमिनको अभाव’ले केही महिना ढिला भएको छ, तर पनि बिटुमिन ल्याउन विभिन्न तहमा पहल भइरहेको छ । भक्तपुर–धुलिखेल सडकखण्डअन्तर्गत निर्माण हुने तीनवटा पुल निर्माणका लागि निर्माण कम्पनीसँग थप पहल भइरहेको महतोले बताए । करिब तीन वर्षअघि सुरु गरिएको उक्त आयोजना (१५.०८ किलोमिटर)को हाल विस्तार २ महिनादेखि सुस्त बनेको छ । लगातार बढ्दो मूल्यवृद्धि, निर्माण सामग्रीको अभाव तथा बजारमा देखिएको असहज अवस्थाका कारण निर्माण कम्पनीहरूले कामको गति कम गरेको जनाएका छन् । उक्त आयोजना अहिले ‘सामग्री अभाव’ देखाउँदै प्रभावित बनाइएको छ । यसअघि चालु आर्थिक वर्षको असार मसान्तसम्म ९० प्रतिशत काम सक्ने लक्ष्यसहित तीव्र गतिमा निर्माण भइरहेको जनाइएको छ । ठेक्काको जिम्मा पाएको लामा कन्स्ट्रक्सनका प्रबन्धक रवीन्द्र श्रेष्ठले पछिल्लो समय निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढ्दै आवश्यक सामग्री सहज रूपमा उपलब्ध नभएकाले कामको गति सुस्त भएको बताए । उनका अनुसार आवश्यक सामग्रीको अभावमा काम पूर्ण रूपमा बन्द भने नभएको तर पहिलेको जस्तो तीव्रता कायम राख्न कठिन भएको छ । यस्तै भक्तपुरको सूर्यविनायक काभ्रेपलाञ्चोकको साँगा खण्डमा भने कामको प्रगति अझै कमजोर देखिएको छ । उक्त खण्डमा हालसम्म ४८ प्रतिशत मात्रै काम सम्पन्न भएको जनाइएको छ । ८ किलोमिटर दूरीको साँगा–धुलिखेल सडक विस्तारका लागि २०७९ साल मङ्सिर २७ गते सम्झौता भई २०८२ मङ्सिर २५ गते आयोजनाको म्याद सकिएको थियो । उक्त सडकखण्ड विस्तारका लागि लामा कन्स्ट्रक्सन प्रालिले ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा ठेक्का लिएको थियो । उक्त अवधिमा ६० प्रतिशतमात्र काम सम्पन्न भएको जनाइएको छ । सूर्यविनायक-धुलिखेल सडक बिस्तारकार्यअन्तर्गत दोस्रो खण्ड सूर्यविनायक-साँगा ७.५ किलोमिटर विस्तारका लागि ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो । उक्त खण्डको ठेक्का अवधि पनि गत पुसमा सकिएपछि एक बर्ष म्याद थपिएको हो । हाल साँगामा ‘अन्डरपास’ निर्माण अन्तिम चरण पुगेको छ ।
नेपालको सबैभन्दा होचो ठाउँमा पुग्यो कालोपत्रे सडक, बढ्यो पर्यटकीय चहलपहल
काठमाडौं । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका-२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका-४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकडभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । ‘काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ,’ सचिव कोइराला भन्छन्, ‘पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।’ कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्व विभागको पटक पटकको उत्खननका क्रममा फेला परेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेला परेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम-किचकको प्रतिमा, पोखरी र रमणीय वनभोज स्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । ‘विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो,’ उपाध्यक्ष भट्टराई भन्छन्, ‘बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।’ उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले बताए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।