यी २३ जिल्लामा राति सवारी चलाउन रोक

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २३ जिल्लामा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ ।  

भारी वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणले रातीको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार शनिबार र आइतबार ती क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेकाले रातिको समयमा सवारी सञ्चालन नगर्न निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।

परिस्थितिको संवेदनशीलता हेरी आवश्यक परे जुनसुकै समयमा पनि सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न सकिने चेतावनी पनि दिइएको छ ।

रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएका जिल्लामा पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा रहेका छन् ।

महाशाखाले अनुसार शनिबार र आइतबार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षा हुने भनेको छ ।

यस्तै मधेस, बागमती तथा अन्य हिमाली र पहाडी भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

भारी वर्षासँगै आकस्मिक बाढी, पहिरो, भू–क्षय, डुबान तथा गेग्रान बहावको जोखिम बढ्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र विशेषगरी रात्रिकालीन यात्रा नगर्न प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको हो ।

विपद् प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

सम्भावित सडक अवरोध तत्काल हटाउन जोखिमयुक्त राजमार्गमा डोजर, एक्साभेटर र लोडरजस्ता हेभी उपकरण तयारी अवस्थामा राख्न पनि सम्बन्धित निकायलाई भनिएको छ ।

त्यस्तै, जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा नदी किनार र पहिरोको उच्च जोखिम भएका बस्तीका नागरिकलाई थप सतर्क रहन आग्रह गरिएको छ ।

प्राधिकरणले वर्षा र बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी १११४ नम्बरमा सम्पर्क गर्न तथा मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन अनुरोध गरेको छ ।   

Share News