सिमेन्ट उद्योगको प्रदूषणबाट बिरामी
मलेखु । धादिङको धुनिबेसी नगरपालिका-९ जुगेडीमा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगबाट स्थानीय पीडित बनेका छन् । उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणका कारण स्थानीय बिरामी पर्न थालेका छन् । शरीरभरीमा फोका आउने, चिलाउने, घाँटी सुक्नेजस्ता समस्याले स्थानीय हैरानी खेप्न बाध्य भएका छन् । पछिल्लो समय एलर्जीको समस्या जटिल बनेको छ । उद्योग सञ्चालन मापदण्ड पूरा नगरेर प्रदूषण बाहिरिएकै कारण मानव स्वास्थ्यमा त्यसको प्रत्यक्ष असर परेको स्थानीयको भनाइ छ । उद्योग सञ्चालन हुन थालेको केही वर्षयता सामान्य रुघाखोकी र ज्वरोले मात्रै सताए पनि अहिले स्वास्थ्यमा दीर्घरोग देखिन थालेको छ । स्थानीय लक्ष्मी राई भन्छन्, ‘उद्योगबाट निस्कने प्रदूषण बन्द भएन भने हामी अब यहाँ बस्न सक्ने अवस्था रहेन, ज्यान बचाउनकै लागि हामीले थाकथलो छाडेर जानुपर्ने अवस्था आयो ।’ सिमेन्ट उद्योगबाट निस्केको प्रदूषणका कारण जुगेडीका करिब दुई सय ३० प्रत्यक्ष मारमा छन् । स्थानीयका अनुसार यहाँका करिब ५० जनाभन्दा बढीले अहिले घाँटी, छाला र आँखाको उपचार गराइरहेका छन् । धेरैले आफूखुसी उपचार गराइरहेका छन् भने केहीले उद्योग व्यवस्थापन पक्षकै व्यक्तिको रोहबरमा जाँच गराएका छन् । जाँच गर्न अस्पताल पुग्दा उद्योग व्यवस्थापन पक्षका व्यक्तिले स्वास्थ्यकर्मीलाई नै दबाबमा पार्ने गरेको पीडितको भनाइ छ । जाँच गरेपछि अस्पतालले दिएको रिपोर्टसमेत उद्योगका मानिसले राखेर आफूलाई हेर्न नदिएको उनीहरु बताउँछन् । घाँटी सुक्खा हुने र शरीरमा फोका आएर चिलाउने समस्या भएपछि केही दिनअघिमात्रै काठमाडौँको वीर अस्पतालमा जाँच गराउँदाको रिपोर्ट नदिएको राईले बताउँछन्। ‘अस्पताल पुग्ने बित्तिकै टिकट उद्योगकै प्रतिनिधिले काट्नुभयो, लाइन बस्नु पनि परेन, सुरुमा दुई जनालाई सिधै भित्र छिराउनुभयो, रिपोर्टमा चाही केही देखिएन, सामान्य छ भन्यो,’ उनले भने । रिपोर्ट हामीलाई दिनुभएन,’ राईले भने, ‘पहिला पनि जाँच गरेको केही देखिएन भन्नुभयो, रिपोर्ट हामीलाई दिनुस्भन्दा माथि देखाउनुपर्छ, तपाइको घरघरमै ल्याइदिन्छौँ भनेर हामीलाई हेर्नै नदिइ लग्नुभयो, हामीलाई रिपोर्ट हेर्न दिएन ।’ उनका अनुसार जाँचका क्रममा रगत, खकार, पिसाब, मधुमेह, रक्तचाप सबै जाँच भएको र डाक्टरले पनि कुनै समस्या नदेखिएको मौखिक जवाफ दिएको थियो । ‘हामीलाई रोग नै नलागेको हो की उद्योगका व्यक्तिले डाक्टरलाई नै दबाबमा राखेर लुकाइदिन लगाइदियो हामीले पत्तो लाउन सकेनौँ,’ स्थानीय शोभा राइले भने । शोभाको घरमा शोभासहित श्रीमान् र छोराले पनि नियमित एलर्जीको औषधि प्रयोग गरिरहनुभएको छ । अस्पताल जाँदा एलर्जी हो भनेर पठाउने गरेको र के कारण एलर्जी भयो भन्ने कुरा नखुलाइदिने गरेको उनको भनाइ छ । उद्योग सञ्चालनमा आएको पाँच÷छ वर्षसम्म खासै समस्या नभए पनि विस्तारै असर देखिन थालेको स्थानीयको भनाइ छ । वृद्धवृद्धामा दम खोकीको समस्या देखिएको स्थानीय रमेश राईले बताए । उद्योगबाट निस्कने प्रदूषणले मानवबस्तीमा मात्र नभएर खेतीबालीमा समेत असर पारेको छ । ‘मानव स्वास्थ्यमा त असर पारेकै छ, बारीमा तरकारी रोपे पनी फल्दैन, फले पनि खान मिल्दैन, तरकारीको पातभरी सिमेन्टको धुलो जमेको हुन्छ, कृषिउपज उत्पादनको पकेट क्षेत्रमा फलफूल र तरकारीको उत्पादन नै हुन छाड्यो,’ राईले भने । अहिले उनीहरुले समूहगत रुपमै सिमेन्ट उद्योगविरुद्ध दबाब दिने अभियानसमेत चलाएका छन् । स्थानिय रमा राईको संयोजकत्वमा जुगेडी खाद्य अधिकार प्रभावित समूह बनेको छ । स्थानीयले उद्योग र धुनीबेसी नगरपालिकामा ज्ञापनपत्रसमेत पेश गरेका पनि छन् । ‘वातारणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन माग गर्दा उद्योगले नदिएपछि सूचनाको हक प्रयोग गरेर राष्ट्रिय सूचना आयोगमार्फत प्रतिवेदन प्राप्त गरेका छन्, गत पुसमा वडा कार्यालयका जनप्रतिनिधि, स्थानीय समुदाय र उद्योग व्यवस्थापन पक्षसँग छलफल पनि भयो, त्यतिबेला उद्योग आउजाउ गर्ने सडक बाटो ढलान/पिच गर्ने र पुराना प्रतिबद्धता लागू गर्ने आश्वासन दिलायो,’ उन भन्छन्, ‘अहिले नगरपालिकाको न्यायिक समितिमार्फत छलफलका लागि उद्योगको व्यवस्थापन पक्षलाई बोलाउँदा पनि अटेर गरेको छ ।’ धुनिबेँसीका वडा नम्बर २, ५ र ९ का बस्ती पनि प्रदूषणको मारमा छ । पशु वस्तुमा पनि मानिसमा जस्तै समस्या देखिएको बताइएको छ । उद्योगबाट निस्कने प्रदुषण नियन्त्रण गर्नका लागि स्थानीयले पटकपटक ध्यानाकर्षण गराउँदै आए पनि उद्योग सञ्चालकले बेवास्ता गरेको स्थानीयले गुनासो गरेका छन् । युनाइटेड सिमेन्ट उद्योगले भने उद्योग सरकारले तोकेको मापदण्डमा रहेर सञ्चालनमा रहेको दाबी गरेको छ । स्थानीयबाट गुनासो आएपछि गाउँका र उद्योगका केही व्यक्तिलाई अस्पताल लगेर स्वास्थ्य परीक्षण गरेर समस्या पत्ता लगाउने काम गरिरहेको उद्योगका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले बताए । उद्योगको वातावरणीय प्रदूषण मूल्याङ्कन गर्ने प्रक्रिया थालिएको उनको भनाइ छ । धुलो बढी निस्किएकाले भारतबाट प्राविधिक ल्याएर काम गरिरहेको जनाइएको छ । उनले भने, “प्लान्टको एउटा एरियाबाट धुलो बढी निस्किएकाले भारतबाट विज्ञ ल्याएर प्राविधिक जाँच गर्दैछौँ, हाल १० दिनदेखि प्लान्ट बन्द गरेर उद्योगको ‘इक्वीकमेन्ट’ मर्मतको काम भइरहेको छ ।’ वातावरण मन्त्रालयको मापदण्ड पूरा गरेर नै काम गरिरहेको उनको भनाइ छ । रासस
तस्वीरमा ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी, विद्युतीय साइकलदेखि मिनी ट्रकसम्म
काठमाडौं । भृकुटीमण्डपमा आजबाट नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लाइन्सेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको उद्घाटन उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्ति बहादुर बस्नेतले गरेका छन् । आइतबारसम्म चल्ने सो प्रदर्शनीमा विभिन्न कम्पनीहरूले ईभीका सवारीदेखि इलेक्ट्रिक तथा मेसिनरी सामानहरू राखिएका छन् । मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचर एण्ड इम्पोर्टरस एशोसिएशन अफ नेपालको संयुक्त आयोजनामा सो प्रदर्शनी भएको हो । मुलुकमा बढ्दो उत्पादित जलविद्युत्को विभिन्न विद्युतीय माध्यमबाट उपभोग बढाइ देशलाई आर्थिक रूपमा सबलिकरण गर्ने उद्देश्य सहित प्रदर्शनीको आयोजना गरिएको छ । सो प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीको प्रदर्शनी कक्ष रहको बताइएको छ । उएक्स्पोको उद्घाटनसँगै प्रदर्शनीको अवलोकन गर्न आउनेहरूको पनि बाक्लो उपस्थिति थियो । प्रर्दशनीमा विद्युतीय साइकलदेखि मिनि ट्रकसम्म राखिएका छन् । उद्घाटनको क्रममा मन्त्री बस्नेतले विद्युती सामान र ईभीका सवारीको प्रयोगलाई सरकारले पनि प्राथमिकता दिएको बताए । ‘हामीले जलविद्युतको उत्पादन पनि गुणात्मक तरीकाले गरी रहेका छौं, आन्तरिक खपत बढाउने योजना र कार्यक्रमका साथ अगाडी बढेका छौं, यसलाई विस्तार गर्नको लागि आवश्यक पर्ने नीतिगत विषयलाई लिएर पूर्वाधारका काम अगाडी बढाउने कुरालाई प्राथमिकता दिएका छौं,’ उनले भने ।
नेपाल बैंकको वित्तीय क्षमतामा एडिबिको सहायता, साना व्यवसायमा बैंकको लगानी बढ्ने
काठमाडौं । नेपाल बैंक लिमिटेडले एसियाली विकास बैंक (एडीबी)सँग वित्तीय क्षमता अभिवृद्धी गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । एसियाली विकास बैंकको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स कार्यक्रम अन्तर्गत यस्तो सम्झौता भएको बैंकका प्रमुख सूचना अधिकारी प्रकाश कुमार अधिकारीले जानकारी दिए । यो सम्झौताले वित्तीय व्यापारको आवश्यकतालाई सम्बोधन गरी व्यापारिक ऋण र आवश्यक सहयोग मार्फत अन्तर्राष्ट्रिय व्यापार र विकासलाई टेवा पु¥याउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सन् २०२२ मा एडीबीले १० हजारभन्दा बढी व्यवसायीक कारोबार मार्फत ७.७ विलियन डलरभन्दा बढीको व्यापारिक सहयोगमध्ये ६० प्रतिशतभन्दा बढी साना र मध्यम आकारको व्यवसायहरु रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तो सम्झौतापछि दुई सयभन्दा बढी देशहरुबाट अन्तर्राष्ट्रिय व्यापार गर्न सहयोग मिल्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सम्झौतापछि नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले भने, ‘एसीयाली विकसा बैंकसँग भएको व्यापार वित्तीय सम्झौताले साना तथा मध्यम प्रकृतिका व्यवसायबीच हाम्रो उपस्थिति अझ बढाउँदै ग्राहकको व्यापारिक गतिविधिमा सहयोग गर्न र कर्जा सुविधा उपयोग गराउन तत्पर छौं ।’ सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा एडिबिका नेपाल रेसिडेन्ट मिसन प्रमुख अर्नाउड हेकमनको उपस्थिति रहेको थियो ।
विद्युतीय सवारीसाधनलाई थप प्रवर्द्धन गर्नेमा उर्जामन्त्रीको जोड
काठमाडौं । विद्युतीय सवारी तथा सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यका साथ शुक्रबारदेखि ‘नेपाल इभी तथा नेपाल पावर लाइट एण्ड इलेक्ट्रोनिक प्रदर्शनी’मेला सुरु भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मेलाको उद्घाटन गरेका हुन् । उनले मेलाको उद्घाटन गर्दै नेपाल विस्तारै ऊर्जामा आत्मनिर्भर हुँदै गएकाले विद्युतीय सवारीसाधन र उपकरणको प्रयोगलाई बढावा दिने उद्देश्यका साथ सरकारले आफ्ना नीति तथा कार्यक्रम अगाडि बढाएको बताए । उनले सरकार दीर्घकालीन सोचका साथ ऊर्जा क्षेत्रको विकासका लागि प्रयत्नशील रहेको बताएका छन् । ऊर्जा क्षेत्रको समयानुकूल विकासका लागि सरकारले हालैमात्र नयाँ विद्युत् विधेयक तय गरेको र सङ्घीय संसद्मा पेस हुने चरणमा रहेको मन्त्री बस्नेतको भनाई छ । विद्युतीय सवारीसाधनको प्रवद्र्धनका लागि देशभर नै चार्जिङ स्टेशनको निर्माणलाई अभियानका रुपमा अगाडि बढाउने लक्ष्यका साथ काम भइरहेको उनको भनाई छ । सरकारले देशभर नै पाँच सय वटा चार्जिङ स्टेशन निर्माण गर्ने तयारी गरेको छ । यस्तै, नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका ५० वटा चार्जिङ स्टेशन एकाधबाहेक अधिकांश सञ्चालनमा आइसकेका छन् । वातावरणीय सुरक्षा र जलवायु परिवर्तनले पारेको प्रभाव नियन्त्रणका लागि पनि स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता बढेर गएको स्पष्ट पार्दै मन्त्री बस्नेतले सोही दिशामा सरकारले आफ्नो लक्ष्य तय गरेको बताए। विद्युतीय सामग्रीको प्रयोगमा बढावा दिनु भनेको वातावरणको संरक्षण गर्नु पनि हो भन्ने मान्यताको विकास गराउन मन्त्रालयले योजनाबद्ध पहल थालेको उनको भनाइ छ । प्रदर्शनीमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, यहाँस्थित भारतीय दूतावासका प्रतिनिधिलगायतको उपस्थिति थियो । आजदेखि तीन दिनसम्म चल्ने नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायन्सेस तथा नेपाल इभी अन्तर्राष्ट्रिय प्रदर्शनीमा विद्युतीय सामग्रीका बारेमा जानकारी लिन सकिनेछ । तीन दिने उक्त प्रदर्शनी मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेर एन्ड इभेन्ट्स, एक्जिविसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर एन्ड इम्पोर्टर्स एशोसिएसन अफ नेपालको संयुक्त आयोजना रहेको छ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी सयभन्दा बढी कम्पनीका प्रदर्शनी कक्ष रहेका छन् । प्रदर्शनीमा विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, विद्युतीय साइकल तथा रिक्सा, चार्जिङ स्टेसन, ब्याट्री, ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्विच, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीको सहभागिता रहेको उद्घाटनका क्रममा जानकारी दिइयो । प्रदर्शनीको सहयोगी संस्थामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल विद्युत् प्राधिकरणलगायत रहेका छन् ।
बागलुङमा बङ्गुरपालन किसानलाई अनुदान दिइँदै
गलकोट । अमेरिकन ‘स्वाइन फिवर’बाट बागलुङ बजार आसपास क्षेत्रमा पालिएका ४०० बङ्गुर गत जेठमा मरेपछि बङ्गुरको खोर रित्ता भएका छन् । किसान बङ्गुरपालन व्यवसायबाट विस्थापित हुन थालेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले उनीहरुलाई व्यवसायमा पुनःस्थापन गर्ने भएको छ । बागलुङ नगरपालिका वडा नम्बर १, २, ३ र ४ क्षेत्रका ५४ किसानले पालेको ती बङ्गुर मर्दा दुई करोडभन्दा बढीको क्षति भएको जनाइएको छ । उनीहरुलाई पुनः बङ्गुरपालन व्यवसायमा फर्काउनका लागि केन्द्रले चालु आर्थिक वर्षमा १६ लाख बजेट विनियोजन गरेको छ । विनियोजित बजेटले खाली रहेको बङ्गुरका खोरमा पुनः बङ्गुर पाल्नका लागि बङ्गुरका पाठा प्रदान गर्ने र बङ्गुरपालन व्यवसायमै किसानलाई फर्काउने केन्द्रका वरिष्ठ पशु चिकित्सक डा. ऋषिराम शर्माले जानकारी दिए । केन्द्रको तथ्याङ्क अनुसार भने प्रयोगशाला परीक्षणमा अमेरिकन स्वाइन फिवर फेला परेको पाँच किसानको एक सय २२ बङ्गुर मरेको देखिन्छ । केन्द्रले उक्त रोगबाट चार सय बङ्गुर मरे पनि एक सय २२ बङ्गुरको मात्रै प्रयोगशाला परीक्षण गरिएको जनाएको छ । ‘जेठमा महामारीको रुपमा अमेरिकन स्वाइन फिवर फैलियो, बागलुङ बजार क्षेत्रमा धेरै बङ्गुरपालन किसान छन्, उनीहरुको खोर रित्तै हुने गरी बङ्गुर मरे, बङ्गुरपालन किसानले करोडौँको क्षति बेहोर्नुप¥यो, सबै क्षतिको राहत दिन त सकिँदैन, कम्तीमा पुनः बङ्गुरपालनमा फर्काउनका लागि बङ्गुरका पाठा दिने कार्यक्रम छ’, पशु चिकित्सक सापकोटाले भने, ‘बङ्गुरपालन किसान पलायन हुनसक्ने जनाउँदै उनीहरुलाई पुनःस्थापनका लागि बङ्गुरमै बजेट व्यवस्थापन गरेका हौँ, अहिले पशुको अधिकांश बजेट भौतिक संरचनाभन्दा पशुमै बढी केन्द्रित छौँ, अहिले बङ्गुरका पूर्वाधार खाली छ, त्यही पूर्वाधारमा बङ्गुरका पाठा हुर्काउन सके किसान पुनः व्यवसायमा पुनस्थापित हुने थिए भन्ने हो ।’ बङ्गुरपालक किसान गणेशबहादुर पुनले अमेरिकन स्वाइन फिवरका कारण यहाँका किसानले ठूलो क्षति बेहोरेको बताए । उनले उक्त सङ्क्रमण बागलुङ नगरपालिका र जैमिनी नगरपालिकामा मात्रै देखिएको बताउँदै पुनः बङ्गुरपालनमै फर्काउनका लागि केन्द्रले ल्याएको नीतिप्रति आभारी रहेको जानकारी दिए । ‘किसानको क्षतिमा स्थानीय सरकार र विज्ञ केन्द्रलाई पटक–पटक ध्यानाकर्षण गरेका थियौँ’, बङ्गुरपालन किसान पुनले भने, ‘राहत र अनुदानका लागि आश्वासनसमेत आएको छ, विज्ञ केन्द्रले १६ लाख बजेट व्यवस्थापन गरेको भन्ने जानकारी पाइयो ।’ बङ्गुरपालिएको क्षेत्रलाई सङ्क्रमण मुक्त बनाएर बङ्गुरका पाठा वितरण गर्ने विज्ञ केन्द्रको तयारी छ । बर्ड फ्लुजस्तै प्रकृतिको यो घरपालुवा सुँगुर, बङ्गुर तथा जङगली बँदेल प्रजातिमा देखा पर्ने भाइरस ‘अफ्रिकन स्वाइन फिवर’का यहाँका बङ्गुरपालन किसान निरास भएका थिए । बागलुङमा दुई सयभन्दा बढी किसानले १२ हजारको सङ्ख्यामा बङ्गुर पाल्दै आएको विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ । चालु आवमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले दूध, मासु र अण्डाको उत्पादन बढाउनका लागि चार करोड बजेट विनियोजन गरेको छ । चालु आवमा लम्पी स्किन रोगका कारण दूधको उत्पादनमा गिरावट र अमेरिकन ‘स्वाइन फिवर’का कारण बङ्गुरको मासुको उत्पादनमा कमी आएको बताए । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले चालु आवमा बाँझो जग्गामा घाँस खेती गर्न १८ लाख, दूधको उत्पादनमा प्रोत्साहन गर्न २४ लाख, कृतिम गर्भाधान गर्न २५ लाख, खसीबोकाको मासुको उत्पादनका आधारमा अनुदान दिन २० लाख बजेट विनियोजन गरेको छ । रासस
नेपालद्वारा बहराइन १० विकेटले पराजित
काठमाडौं । आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । मलेसियाको क्वालालाम्पुरमा आज भएको खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले २ दशमलव ५ ओभरमा कुनै विकेट नगुमाइ लक्ष्य पूरा गर्यो । नेपालका लागि कविता कुवँरले अविजित १७ रनको योगदान दिइन् । उनले १४ बल खेल्दै तीन चौकाको मद्दतमा १७ रन बनाएकी हुन् । त्यस्तै सिता रानामगरले अविजित २ रन जोडिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ३१ रनमा समेटिएको थियो । बहराइनका लागि कप्तान दीपिका रसङगिकाले सर्वाधिक ११ रनको योगदान दिइन । त्यसबाहेक बहराइनका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बहराइलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले तीन विकेट लिएन भने खुसी डङ्गोलले दुई विकेट झारिन् । कविता कुवर, पूजा महतो र रुविना क्षत्रीले समान एक एक विकेट लिए । यसअघि हिजो भएको पहिलो खेलमा नेपालले मलेसियालाई ५ रनले पराजित गरेको थियो । अब नेपालले आफ्नो तेस्रो खेल आइतबार भुटानसँग खेल्नेछ ।
आइएनजी स्किल एकेडेमीले वीरगञ्जमा आयोजना गर्याे प्रविधि प्रदर्शनी
काठमाडौं । आइएनजी स्किल एकेडेमीले वीरगञ्जको टाउन हल पार्टी प्यालेसमा फ्युचरामा नामक प्राविधिक कार्यक्रम आयोजना गरेको छ । नयाँ पुस्तालाई भविष्यको प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एकेडेमीले विज्ञप्ति जारी गरेर बताएको छ । कार्यक्रममा रोबोटिक्स, हिड्ने पियानो, ड्रोन र गो कार्टमा प्रदर्शनी आयोजना गरिएको थियो । कार्यक्रममा कार रेस, लाइन फलोइङ रोबोट, एनिमेसन र भीएफएक्स जस्ता रोमाञ्चक प्रदर्शनी समावेश भएको एकेडेमीले बताएको छ । फ्युचरामाले प्रविधि र दीगो व्यापारलाई पनि सम्बोधन गरेको थियो । कार्यक्रममा सहभागीहरुलाई खेती गर्न प्रोत्साहित गरेर उद्यमशीलता र आइटीलाई एकाकार गर्ने विषय प्रस्तुत गरिएको थियो । प्रदर्शनीमा सफल व्यवसाय सुरु गर्न र प्रविधिको सहायताले त्यसलाई बढाउन गरेको सहयोगको बारेमा भएको अभिमुखीकरण चाखलाग्दो भएको कार्यक्रममा सहभागी आयुष श्रेष्ठले बताए । वीरगञ्जनको फ्युचरामाले विभिन्न विद्यालय र कलेजका करीब १५ सय विद्यार्थीलाई जम्मा गरेर कार्यक्रम आयोजना गरिएको थियो ।
पशु बीमामा कृषकको आकर्षण
दमौली । तनहुँमा विभिन्न बीमा कम्पनीमार्फत पशुधन सुरक्षण (बीमा) को सुविधा प्रदान गरेसँगै कृषकको यसतर्फ आकर्षण बढेको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत जिल्लामा १३ करोड १८ लाख ८५ हजार मूल्य बराबरका पशुको बीमा गरिएको छ । जिल्लाका २८ हजार चार सय ९४ पशुको बीमा गरिएको केन्द्र प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस कार्यक्रमबाट दुई सय ७१ कृषक लाभान्वित भएका छन् । जिल्लामा सबैभन्दा बढी कुखुराको बीमा गरिएको छ । गत आर्थिक वर्षमा २५ हजार छ सय ५० कुखुराको बीमा गरिएको कार्यालयले जनाएको छ । त्यस्तै सबैभन्दा कम तीन सय १८ बङ्गुरको बीमा गरिएको थियो । बीमाका लागि ६५ लाख ९४ हजार सरकारले प्रिमियम शुल्क बापत सहयोग गरेको छ भने १३ लाख १८ हजार कृषकले खर्च गरेका कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार पाँच सय ६४ गाई, चार सय ७८ भैँसी, एक हजार चार सय ८४ बाख्रा, २५ हजार छ सय ५० कुखुरा, तीन सय १८ बङ्गुरको बीमा गरिएको छ । जिल्लामा सगरमाथा, प्रुडेन्सियल र एनएलजी इन्स्योरेन्स कम्पनीले पशुको पशुधन सुरक्षण (बीमा) को सुविधा प्रदान गरिरहेका छन् । पशुधनको बीमा गरेपछि हुने फाइदाका विषयमा पशुपालक कृषकलाई जानकारी गराउँदै यसतर्फ आकर्षित गरिएको केन्द्रका प्रमुख डा. श्रेष्ठले बताए । उनका अनुसार बीमा रकम भुक्तानीका लागि किसानले आफ्ना पशुवस्तुको बीमा गरेको कागजात पेश गर्नुपर्ने छ । ‘किसानले बीमा कम्पनीमार्फत पशुवस्तुको बीमा गर्छन्, बीमा गरिसकेपछि बीमाबापत भुक्तानी गरेको नगदी रसिद, बैंक खातासहित कार्यालयमा निवेदन दिनुपर्छ’, प्रमुख डा. श्रेष्ठले भने, ‘कृषि फार्म भए फार्मको दर्ता प्रमाणपत्र र व्यक्ति भए नागरिकता उपलब्ध गराएपछि प्रक्रिया पु¥याएर रकम भुक्तानी गरिदिन्छौँ ।’ पशुधन सुरक्षण गरेपछि पशुको मृत्यु भएमा पशुपालक कृषकले क्षतिपूर्ति दाबी गर्न सक्ने उनले बताए । ‘बीमा रकम भुक्तानीका लागि पशु मरेको १५ दिनभित्र सम्बन्धित स्थानीय सदस्य संस्था मार्फत क्षतिपूर्ति दाबीपत्र भरी दाबी गर्नुपर्ने हुन्छ’, डा. श्रेष्ठले भने, ‘क्षतिपूर्ति दाबी गर्दा सम्पूर्ण कागजातहरु संलग्न गरी दाबी गरेमा पोलिसीमा उल्लेखित कर्जा रकमको ८० प्रतिशत रकम सम्बन्धित पशुपालक कृषकलाई दिनुपर्ने प्रावधान छ ।’ बन्दीपुर गाउँपालिका–५ याम्पाका कृषक काशीनाथ भट्टराईले पशु बीमाले कृषकलाई सहयोग पुगेको बताए । उनले भने, ‘पशुको मृत्यु भएको खण्डमा बीमामार्फत राहत पाइन्छ, जसले गर्दा कृषकलाई सहयोग पुगेको छ ।’ रासस