आजदेखि सर्वसाधारणका लागि खुल्यो तातोपानी नाका, कतिले लिए पास ?
फाइल फाेटाे काठमाडौं । चीनसँगको उत्तरी सीमानाका तातोपानी नाका शुक्रबारदेखि स्थानीय सर्वसाधारणले आवतजावत गर्न पाएका छन् । लामो समयदेखि आवतजावत बन्द भएको नाकाबाट स्थानीयले आवतजावत गर्न पाएका हुन् । गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए । “नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ”, उनले भने । विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो । प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुल्ला गरिएको बताए । उनका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् । प्रशासन कार्यलयका अनुसार बिहीबारसम्म सिन्धुपाल्चोकका २ सय ३ जना स्थानीयलाई पास वितरण भइसकेको छ । सुरुवाती चरणमा स्थानीयका लागि पास वितरण गरिएकोमा क्रमश नेपाली नागरिकका लागि खुला गरिने जनाईएको छ । २०७२ को भूकम्पपछि तातोपानी नाका चार वर्ष पूर्ण रूपमा नै बन्द भएको थियो । नाका २०७६ जेठ १६ मा पुनः सञ्चालनमा आयो तर एकतर्फी मात्रै खुलेको थियो ।
सामाजिक सचेतना र जागरणको सेतु बन्दै पुस्तकालय
गण्डकी । पठन संस्कृति हराउँदै गइरहेका अवस्थामा पोखरा–२९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा भने दिनानुदिन पाठक संख्या थपिने क्रम बढ्दै गएको छ। विद्यालय तथा क्याम्पसमा पढ्ने बालबालिकाका साथै समाजका निवृत्त एवं ज्येष्ठ नागरिकको पुग्ने र पढ्ने गन्तव्यका रूपमा स्थापित बनेको छ यो पुस्तकालय । समुदायको सक्रियतामा २०५८ सालमा वाचनालयका रूपमा स्थापित भई पछि यसलाई पुस्तकालयका रूपमा विकास गरिएको थियो। पाठकहरूलाई लक्षित गरी पुस्तकालयलाई समयसापेक्ष थप व्यवस्थित बनाइएको पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीले जानकारी दिए। उनका अनुसार पुस्तकालयमा विभिन्न कक्षहरू तयार गरिएको छ। ती कक्षहरूमा दिनानुदिन विद्यार्थी तथा पाठकहरू आउने गरेका छन्। पुस्तकालयमा प्रवेश गर्नासाथ भित्तामा झुन्ड्याइएका पोखरा र आसपासका तालतलैयाका तस्वीर, यस आसपासका क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजातिका तस्वीर तथा वेशभूषा आदिले जो कोहीलाई यस क्षेत्रको मौलिकता बुझ्न सहयोग पुर्याउने गरेको छ। पुस्तकालयमा रहेको बालकक्षमा बालबालिकालाई बाल मनोवैज्ञानिक प्रविधिबाट सिक्न सक्ने तवरबाट खेलौनालगायतका सामान राखिएका छन्। यसका अतिरिक्त पुस्तकालयले कथा, चित्रकला, खेलकुद र हाजिरी जवाफ प्रतियोगितासमेत समय–समयमा गर्दै आएको भण्डारीले जानकारी दिए। पुस्तकालयमा आएर बालबालिकाले आफ्ना रुचिअनुसारका पुस्तक पढ्नुका साथै खेल्ने र विभिन्न मौलिक सिर्जनासमेत गर्ने गरेका छन्। पुस्तकालयको महिला कक्षमा महिलासम्बन्धी बैठक, तालिम, गोष्ठी गरिनुका साथै त्यहाँ महिला अधिकार, महिला स्वास्थ्य, शिशु स्वास्थ्यजस्ता पत्रपत्रिका, पाठ्यसामग्री आदि राखिएको छ। उक्त कक्षबाटै हरेक महिना महिला तथा शिशु स्वास्थ्य सेवा प्रदान गर्दै आइएको छ। पुस्तकालयकै सक्रियतामा दीपशिखा महिला कृषि सहकारीसमेत सञ्चालनमा आएको र सहकारीमा हाल ४५० जना महिला आबद्ध रहेको पुस्तकालयका कोषाध्यक्ष माधव भण्डारीले जानकारी दिए। सहकारीले कृषिसम्बन्धी तालिम साथै आलुको बीउ उत्पादन गर्दै बिक्री–वितरणसमेत गर्दै आएको छ। यस वर्ष मात्रै सहकारीले आफ्ना सदस्यलाई वितरण गरी ५० किलोग्राम तौलका ११४ बोरा आलुको बीउ बिक्री गरेको थियो। पुस्तकालयले ५५ जना किरोशीलाई प्रविधि, नेतृत्व विकास, सशक्तीकरण एवं जीवनोपयोगी तालिमसमेत सञ्चालन गर्दै आएको छ। उक्त तालिमले उनीहरूमा सशक्तीकरण एवं विभिन्न क्षमता अभिवृद्धि गराएको पुस्तकालयका कार्यालय प्रमुख धनु पहारीले बताए। पुस्तकालयमा रहेको श्रव्यदृश्य कक्षमा कृषि, वातावरणजस्ता उपयोगी श्रव्यदृश्य सामग्री देखाइने र निरक्षर व्यक्तिसमेत यसबाट लाभान्वित बन्ने गरेका छन्। पुस्तकालयमा श्रव्यदृश्यसमेत देखाउन मिल्ने सुविधा सम्पन्न ८० जना व्यक्ति बस्न सक्ने किसिमको तालिम कक्षको व्यवस्था गरिएको छ। तालिम कक्षमा विभिन्न संघसंस्थाले बैठक तथा सेमिनार गर्ने गरेका छन्। बैठक तथा सेमिनार कक्ष प्रयोग गरेबापत सेवा शुल्क दुई हजार ५०० रुपैयाँ लिने गरिएको र उक्त रकमले पुस्तकालयको सञ्चालनमा राहत पुग्ने गरेको छ। खेलकुद तथा संगीत कक्षमा युवाहरूलाई लक्षित गरी विभिन्न खेलकुद र वाद्यवादनका सामग्री राखिएका छन्। पुस्तकालय क्षेत्रका बाल क्लब तथा युवा क्लब यस कक्षबाट लाभान्वित भएका छन्। पुस्तकालयको कम्प्युटर कक्षबाट इमेल, इन्टरनेट, कम्प्युटर शिक्षा उपलब्ध गराइएको छ। यस कक्षमा महिला, शिक्षक, बालबालिका र युवाहरूलाई कम्प्युटर शिक्षा तथा निःशुल्क इन्टरनेट उपलब्ध गराइएको उनले बताए। पुस्तकालयमा आएर आधारभूत कम्प्युटर तालिमसमेत निःशुल्क उपलब्ध गराइने गरिएको र त्यसबाट धेरै व्यक्तिहरू स्वरोजगार बन्न सफल बनेका छन्। पुस्तकालयमा विभिन्न क्षेत्र र विषयका आठ हजार ५०० भन्दा बढी पुस्तक छन्। पुस्तकालयमा एकैपटक ४० जनाले शान्त वातावरणमा अध्ययन गर्न सक्ने व्यवस्था मिलाइएको छ। विद्यालय, क्याम्पस र विश्वविद्यालयका पाठ्यपुस्तक र राष्ट्रिय तथा स्थानीय दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रपत्रिका उपलब्ध रहेको कार्यालय प्रमुख पहारीले जानकारी दिए। पुस्तकालयमा समाजमा प्राचीनकालदेखि दैनिक जीवनमा प्रयोगमा आउने गरेका सामग्रीबारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यका साथ संकलन गरी राखिएको छ। ‘पुस्तकालयमा पाठक सदस्यता निःशुल्क व्यवस्था गरिएको छ, परिचयपत्र बापत १०० रुपैयाँ मात्र लिने गरेका छौँ,’ उनले भने, ‘विद्यार्थी तथा पाठकका लागि पुस्तक घरमा लान सकिने व्यवस्था मिलाइएको छ।’ पुस्तकालयले अघिल्लो वर्ष देशकै नमुना सामुदायिक पुस्तकालयको कदरपत्र नेपाल सरकार शिक्षा, विज्ञान प्रविधि मन्त्रालयबाट पाएको थियो। नगर विकास कोष, तत्कालीन लेखनाथ नगरपालिका र स्थानीय जनसहयोगबाट पुस्तकालयको सुविधासम्पन्न भवन निर्माण भएसँगै यसको दीर्घकालीन सञ्चालनमा सहयोग पुगेको हो। विभिन्न दाताबाट प्राप्त सहयोगसँगै भवनमा रहेका सटरलाई भाडामा लगाएर पुस्तकालयको सञ्चालनमा आर्थिक स्रोत जुटाउने गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए। ‘सानो–सानो सहयोगबाट बचत गर्दै पुस्तकालयको दीर्घकालीन व्यवस्थापनका लागि १८ लाखको अक्षयकोष स्थापना गरेका छौँ,’ उनले भने, ‘पुस्तकालयको व्यवस्थापनलाई चुस्तदुरुस्त राख्नका लागि करार सेवामा एक र स्थायी सेवामा दुई जना कर्मचारीको व्यवस्था छ।’ पुस्तकालयमा हालसम्म १५२ जना आजीवन सदस्य छन्। २५ वटा संस्था संस्थागत आजीवन सदस्य रहेका छन्। हाल साधारण सदस्यको संख्या २०० छ भने दैनिक पुस्तकालयमा आउने पाठकको संख्या ४० देखि ५० जना रहेको छ। पुस्तकालयले पाठकको रुचिअनुसारका नयाँ–नयाँ पाठ्पुस्तक नियमित किन्दै आएको छ। नवीनतम् प्रविधिको प्रयोग गरिएको पुस्तकालयले प्रत्येक वर्ष पठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ हाजिरी जवाफ, हिज्जे, निबन्ध, वक्तृत्वकला, वादविवाद प्रतियोगिताका साथै निरन्तर शिक्षा कक्षा सञ्चालन गर्दै आएको छ। पुस्तकायलकै सक्रियतामा युवाका लागि जीवनोपयोगी सीपमूलक तालिम, मोबाइल मर्मत, हाउसवायरिङ, ब्यूटीपार्लर, सिलाइकटाइ, गुडिया बनाउने मौरीपालनजस्ता थुप्रै तालिम प्रदान गरिसकिएको छ। आयोगको तयारी गर्ने पनि लाभान्वित पुस्तकालय सञ्चालनले आसपासका युवाहरू आफ्नो फुर्सदको समयलाई पढ्ने काममा उपयोग गर्ने गरेका छन्। विश्वविद्यालय तथा क्याम्पसको थप अध्ययन एवं छात्रवृत्तिका लागि तयारी एवं लोक सेवा आयोगको तयारी गर्ने विद्यार्थीले पुस्तकालयको उपयोग गर्ने गरेको भण्डारीले जानकारी दिए। ‘समाजमा जथाभाबी हिँड्ने, होहल्ला गर्ने प्रवृत्तिलाई पनि पुस्तकालयले न्यूनीकरण गर्न मद्दत पुर्याएको छ,’ उनले भने, ‘सामाजिक सचेतनासँगै पठन संस्कृतमा जागरण ल्याउन पुस्तकालय वरदान साबित बनेको छ।’ सामुदायिक स्तरबाट सञ्चालनमा आएको दीपशिखा पुस्तकालयले समाजमा सचेतनासँगै जागरणका लागि पुर्याएको योगदान देशका अन्य स्थान र समुदायका लागि पनि प्रेरणादायी रहेको पत्रकार विष्णुहरि पौडेल बताउँछन्। ‘दीपशिखा पुस्तकालय समाजमा सचेतना अभिवृद्धि र जागरणका लागि सेतु बनेको छ,’ पौडेलले भने, ‘सामुदायिक प्रयासबाट स्थापित बनेको यसको दीर्घकालीन सञ्चालन र प्रभावकारी व्यवस्थापनका लागि राज्यको सहयोग अपरिहार्य छ।’ संस्थागत रूपमा नै पुस्तकालय दिवस पछिल्ला समयमा पठन संस्कृति कम हुँदै गएको चासो र चिन्ता बढिरहेका अवस्थामा सरकारले संस्थागत रूपमा नै पुस्तकालय दिवस मनाउन थालेको १५ वर्ष पुगिसकेको छ। पुस्तकालय दिवस यस वर्ष पनि भव्यताका साथ मनाउने तयारी गरिएको छ। सरकारले देशैभरका स्थानीय तहलाई पठन संस्कृतिको विकासमा सहयोग गर्न विभिन्न कार्यक्रमका साथ पुस्तकालय दिवस मनाउन निर्देशन दिएको छ। नेपालमा १८६९ भदौ १५ गते तत्कालीन राजा गीवार्णयुद्ध विक्रम शाहले हनुमानढोकामा ‘पुस्तक चिताइ तहबिल’ स्थापना गरेका थिए। उक्त समयमा पुस्तकालयको रेखदेखका लागि पं केदारनाथ झालाई जिम्मेवारी दिइएको थियो। पुस्तक चिताइ तहबिलका रूपमा पुस्तकालयसम्बन्धी पहिलो कानुन बनेको उक्त त्यही दिनको स्मरण गर्दै नेपालमा २०६५ सालदेखि औपचारिक रूपमा पुस्तकालय दिवस मनाउँदै आइएको हो। पछिल्लो तथ्यांकले नेपालमा सामुदायिक पुस्तकालयको संख्या एक हजारभन्दा बढी रहेको छ। सामुदायिक जागरणका लागि पुस्तकालय अपरिहार्य भएको ठहर गर्दै तत्कालीन समयमा महाकवि लक्ष्मीप्रसाद देवकोटालगायत केही बौद्धिक व्यक्तित्वहरूले प्रधानमन्त्री भीम समसेरका पालामा पुस्तकालय स्थापना गर्दा १९८७ सालमा ‘लाइब्रेरी पर्व’ भएको थियो। त्यस समयमा पुस्तकालय स्थापना गरेबापत तत्कालीन सरकारबाट उनीहरूलाई जनही १०० रुपैयाँ जरिबाना तिराइएको थियो। १६औँ पुस्तकालय दिवसका अवसरमा दीपशिखा पुस्तकालयमा नाटक प्रदर्शनी, गायन तथा नृत्य, कविता वाचन, पुस्तकालयसम्बन्धी चित्र प्रदर्शनी आदि कार्यक्रम आयोजना गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए। रासस
पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध
गोरखा । पहिरोले गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो । पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए । सुक्खा पहिरो पन्छाउन समय लाग्ने उनले बताए । अहिले आँबुखैरेनीबाट गोरखा आउने तर्फबाट पहिरो पन्छाउने काम सुरु भएको छ । गोरखातर्फबाट पनि पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए । पहिरोका कारण गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारीसाधन बाटोमै थन्किएका छन् । रासस
घरजग्गा कर्जा ९ प्रतिशतले विस्तार, सबैभन्दा बढी एभरेष्ट बैंकको ५७ प्रतिशतले वृद्धि
काठमाडौं । गत वर्ष नेपाल राष्ट्र बैंकले कडाइ गरेको भए पनि वाणिज्य बैंकहरुले घरजग्गा क्षेत्रमा २ खर्ब भन्दा बढी कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा बैंकहरुले २ खर्ब १७ अर्ब ९६ करोड रुपैयाँ बराबरको कर्जा घरजग्गामा गएकाे छ । अनुत्पादनमुलक क्षेत्रमा कर्जा लगानी बढेको भन्दै राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा कडाइ गरेको थियो । तर, बैंकहरुले कडाइका बाबजुत पनि सो क्षेत्रमा उल्लेख्य रुपमा कर्जा बढाएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा घरजग्गा क्षेत्रमा ९.१७ प्रतिशत अर्थात् १८ अर्ब ३२ करोड रुपैयाँ कर्जा बढाएका हुन् । आर्थिक वर्ष २०७८/७९ मा बैंकहरुले १ खर्ब ९९ अर्ब ६४ करोड रुपैयाँ बराबरको कर्जा घरजग्गा क्षेत्रमा लगानी गरेका थिए । गत वर्ष अधिकांश बैंकहरुले घरजग्गामा कर्जा बढाएका छन् । गत असारसम्म घर जग्गामा सबैभन्दा धेरै एभरेष्ट बैंकले ५७.४४ प्रतिशत बढाएर ६ अर्ब ६६ करोड रुपैयाँ ऋण लगानी गरेकाे छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३५.५६ प्रतिशत बढेर २५ अर्ब २७ करोड ६२ लाख रुपैयाँ, नेपाल बैंकको ३४ प्रतिशत बढेर ११ अर्ब ८६ करोड रुपैयाँ, नबिल बैंकको २३ अर्ब ३० करोड रुपैयाँ र प्रभु बैंकको २५.९३ प्रतिशत बढेर १४ अर्ब २४ करोड रुपैयाँ लगानी घरजग्गामा गरेको हुन् । यस्तै, प्राइम बैंकको १३.८६ प्रतिशत बढेर १५ अर्ब १७ करोड, एनआईसी एशिया बैंकको १३.१८ प्रतिशत बढेर २१ अर्ब ९० करोड, हिमालयन बैंकको ३.१३ प्रतिशत बढेर १५ अर्ब ७ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकको २.७० प्रतिशत बढेर ७ अर्ब ७७ करोड, राष्ट्रिय वाणिज्य बैंकको २.४२ प्रतिशत बढेर १७ अर्ब ३२ करोड र ग्लोबल आइएमई बैंकको १५ अर्ब ९९ करोड रुपैयाँ कर्जा घरजग्गामा लगानी गरेका हुन् । २० वटा वाणिज्य बैंकमध्ये ११ वटाले बढाएको भएपनि ९ वटा बैंकले भने कर्जा घटाएका छन् । जसमध्ये सबैभन्दा धेरै माछापुच्छ्रे बैंकले ६८.४२ प्रतिशत घटाएर १ अर्ब ९१ करोड रुपैयाँमा झारेको हो । यस्तै, कुमारी बैंकको २९.७१ प्रतिशत घटेर १ अर्ब ८६ करोड, नेपाल एसबिआई बैंकको १३.७५ प्रतिशत घटेर ४ अर्ब ९७ करोड, सिद्धार्थ बैंकको ७.८६ प्रतिशत घटेर ५ अर्ब ९१ करोड र कृषि विकास बैंकको ७.६३ प्रतिशत घटेर १ अर्ब ६५ करोड रुपैयाँ मात्रै कर्जा लगानी गरेका हुन् । त्यसैगरी एनएमबि बैंकको ७.५३ प्रतिशत घटेर ५ अर्ब २१ करोड, सिटिजन्स बैंकको ६.७३ प्रतिशत घटेर ४ अर्ब ५३ करोड, लक्ष्मी सनराइज बैंकको २ प्रतिशत घटेर १० अर्ब ७२ करोड र सानिमा बैंकको १.६४ प्रतिशत घटेर ६ अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी गरेका हुन् । गत वर्ष घर जग्गा क्षेत्रमा मन्दी छाएको भनिए पनि बैंकहरुले प्रवाह गरेको कर्जाका आधारमा भने त्यो पुष्टि हुँदैन । राष्ट्र बैंकको तथ्याङ्क हेर्दा घरजग्गा क्षेत्रमा बैंकहरु लगानी गर्न अझै उत्साहित देखिन्छन् । घरजग्गा व्यवसायीहरुले तरलताको अभाव देखाउँदै बैंकहरुले कर्जा नदिएको र घरजग्गा कारोबार सुस्ताएको भने पनि घरजग्गा व्यवसायमा लगानी बढाउँदै गएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
भोलि काठमाडौं र ललितपुरका यी क्षेत्रमा साढे ८ घन्टा विद्युत अवरूद्ध हुने
काठमाडौं । शनिवारका दिन काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा साढे ८ घन्टा विद्युत अवरूद्ध हुने भएको छ । टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत् चार्ज गर्न स्युचाटार केथ्री ६६ केभी प्रसारण लाइन सटडाउन गर्नुपर्ने भएकाले के–थ्री सबस्टेसन तथा सो सँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरूद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू स्युचाटार ६६ के.भी. लाइन १३२ के.भी.मा चार्ज गर्नेगरी कार्य भइरहेको छ । शनिवार वा भोलि रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति अवरूद्ध हुनेछ । वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित हुनेगरी सबै फिडरमा नियमित विद्युत आपूर्ति गर्ने प्रयास गर्ने र निर्धारित समयअघि काम सकिए प्रभावित लाइन सुचारू गरिने प्राधिकरणले सूचनामार्फत जानकारी गराएको छ ।
रक्षा बन्धनमा साढे २ करोडको मिठाई बिक्री
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्वले जनकपुरधामका मिठाई व्यापारीलाई केही राहत भएको छ । अरु क्षेत्रमा जस्तै व्यापारमा मन्दी भएको गुनासो गर्दै आएका मिठाई व्यापारीले रक्षा बन्धन (राखी पर्व), जनै पूर्णिमाको दिन आज करिब दुई करोड ५० लाख बराबरको व्यापारले राहत महसुस भएको बताएका छन् । होटल व्यवसायी सङ्घ धनुषाका उपाध्यक्ष एवं हंसराज मिठाई पसलका सञ्चालक सन्तोष गुप्ताले राखी पर्वका अवसरमा जनकपुर बजार क्षेत्रमा मात्रै अढाइ करोड बराबरको मिठाईको व्यापार भएको बताए । उनले गत वर्षको तुलनामा व्यापार कम भए पनि अन्य समयको तुलनामा आज राम्रो व्यापार भएको जानकारी दिए । “जनकपुरधाममा साना–ठूला गरी करिब एक सय पसलले नियमितरूपमा व्यापार गरिरहेका छन् । आज मात्रै थप दुई सय मिठाईका स्टल लगेका थिए । अहिलेसम्मको जानकारीअनुसार अढाई करोडको व्यापार भएको छ”, गुप्ताले भने, “अब नेपालीहरूले मनाउने विभिन्न चाडपर्व आउँदैछन्, त्यसैले मिठाईको व्यापार निरन्तर बढ्ने हाम्रो अनुमान छ ।” रघुपति मिष्ठान भण्डारका सञ्चालक सन्तोस साहले पनि यसपालिको मिठाई व्यापार सन्तोषजनक रहेको बताए । उनले आफ्नो पसलबाट मात्रै रक्षा बन्धनका अवसरमा १६ क्विन्टल मिठाइको व्यापार भएको र दसैँतिहारमा अहिलेको तुलनामा दोब्बर व्यापार हुने गरेको जानकारी दिए । “हामी नियमितरूपमा मिठाईको व्यापार गरिरहेका छौँ । चाडपर्वबाहेकको समयमा राम्रो व्यापार हुँदैन । अब अरु चाडपर्व पनि आउन लागेकाले व्यापार बढ्ने अपेक्षा छ । तर दूधको मूल्य, मिठाई बनाउने जनशक्तिको अभावले केही कठिनाइ भने छन्”, साहले भने । होटल व्यवसायी सङ्घ धनुषाका पूर्वअध्यक्ष दशरथ साहले भने कोरोना महामारीलगायतका कारणले जनकपुरमा आर्थिक गतिविधि बढ्न नसकेकाले अहिले पनि उत्साहजनक व्यापार नभएको बताए । “पहिला ५ करोडभन्दा बढीको मिठाई बिक्री हुने गरेको थियो, यसपटक भने अढाइ करोडको मात्रै व्यापार भएको छ । अरु महिनाका तुलनामा यो राम्रो भए पनि जनकपुरमा विगत वर्षहरूमा जस्तो व्यापार बढेन भन्ने उदाहरण पनि हो यो । ठीकै छ, आगामी दिनमा थप सुधार होला”, पूर्वअध्यक्ष साहको भनाइ छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले अरु व्यापारको तुलनामा होटल तथा मिठाई व्यवसाय चलायमान रहेको र चाडपर्वको समय आउन लागेकाले मिठाई व्यापारले गति लिने विश्वास व्यक्त गरे । मिठाईबाहेक राखीको व्यापार पनि करिब २५ लाख रुपैयाँको भएको अनुमान रहेको अध्यक्ष महासेठले बताए । रक्षा बन्धन विशेषगरी तराईमधेस र मारवाडी समुदायले मनाउने गरेका छन् । यो पर्वमा दिदीबहिनीले दाजुभाइलाई नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वाससहित रक्षा बन्धन (विशेष धागो) बाँध्ने प्रचलन छ । दिदीबहिनीले दाजुभाइलाई मिठाईसहितको खानेकुरा दिने र दाजुभाइले शक्तिअनुसारको उपहार दिने गरेका छन् । जनकपुरमा विभिन्न प्रकारका मिठाईको मूल्य रु पाँच सयदेखि एक हजार चार सयसम्म रहेको छ । आज वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट पनि रक्षा सूत्र (डोरो) बाँध्ने गर्दछन् ।
तरल नाइट्रोजन प्लान्ट निर्माण गर्दै कर्णाली सरकार
काठमाडौं । कर्णाली प्रदेश सरकारले तरल नाइट्रोजन प्लान्ट निर्माणको कार्यलाई अगाडि बढाउने भएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रमअन्तर्गत तरल नाइट्रोजन प्लान्ट निर्माण प्रक्रियामा लागेको हो । प्लान्ट निर्माणका लागि प्रदेश सरकारले २ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले जानकारी दिए । “प्लान्ट निर्माणका लागि हामीले बुधबार सुदूरपश्चिम प्रदेश सरकारले गेटा कैलालीमा स्थापना गरेको तरल नाइट्रोजन प्लान्ट अध्ययन अवलोकन गरेका छौँ”, मन्त्री शर्माले भने, “अब हामी भारतमा गएर पनि त्यसको अध्ययन गर्छौं र त्यसलगत्तै कर्णालीमा प्लान्ट स्थापना तथा सञ्चालनको कार्यलाई तदरुकता दिन्छौँ ।” सहकारीमन्त्री शर्मासहित कृषि मन्त्रालयबाट गएको टोलीले सुदूरपश्चिम प्रदेश सरकारका कृषिमन्त्री कैलाश चौधरीसँग तरल नाइट्रोजन प्लान्ट स्थापनाका बारेमा समन्वय सहकार्यका लागि सिकाइ तथा व्यावहारिक अभ्यासबारे छलफल गरेको थियो ।
हेटौँडा–काठमाडौँ जोड्ने सडकखण्ड पुसभित्र निर्माण सम्पन्न गर्छौं : मुख्यमन्त्री जम्कट्टेल
काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौँडा–काठमाडौँ जोड्ने छोटो मार्ग हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ सडकखण्डलाई आगामी पुस महिनाभित्र निर्माण सम्पन्न गर्ने बताएका छन् । प्रदेशको राजधानीलाई सङ्घीय राजधानी काठमाडौँसम्म जोड्ने मार्गहरू पहिराको उच्च जोखिम रहेको र सामान्य वर्षा हुँदासमेत पहिरो खसेर पटक–पटक सडक बन्द हुँदा समस्या हुने गरेको भन्दै उनले उक्त सडकखण्ड समयमै निर्माण सक्न चासो दिएको बताए । उनले उक्त सडकखण्ड निर्माणको जिम्मा लिएका निर्माण कम्पनीलाई समयमै काम सक्न निर्देशन दिइसकेको दाबी गर्दै मुख्यमन्त्री जम्कट्टेलले पुस महिनापछि हेटौँडा–काठमाडौँ आवतजावतमा सहज हुने बताए । हेटौँडाबाट काठमाडौँ जोड्ने अन्य मार्गमा पनि विशेषगरी वर्षाको समयमा पहिराको उच्च जोखिम हुने तथा खाल्डाखुल्डी बनेर खण्डीकरण भएका कारण जोखिम बढ्दै गएकोप्रति पनि उहाँले चासो र चिन्ता व्यक्त गरे । मुख्यमन्त्री जम्कट्टेलले मन्त्रीहरूसँग गरिएको कार्यसम्पादन करार सम्झौताले पनि कतिपय अधुरा र अपूरा काम समयमै सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए । उनले बुधबार प्रदेशका मन्त्रीहरूसँग कार्यसम्पादन करार सम्झौता पनि गरेका छन् । कार्यसम्पादन करार सम्झौताले कामको तीव्रता बढ्ने भन्दै उनले सरकारको मुख्य चासो भनेको हेटौँडा–काठमाडौँ जोड्ने सडक निर्माण सम्पन्न गर्नु रहेको बताए । कार्यसम्पादन सम्झौताका क्रममा मुख्यमन्त्री जम्कट्टेलले प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाडौँ जोड्ने सडकखण्ड पुस महिनाभित्र निर्माण सक्ने गरी काम गर्न सम्बन्धित मन्त्रालयका मन्त्रीलाई निर्देशन दिए । यस्तै विगत दुई वर्षदेखि कुलेखानी–सिस्नेरी सडकखण्डको पनि दुई खण्डमा स्तरोन्नति कार्य भइरहेको जानकारी दिँदै उनले सडक स्तरोन्नतिको काम लगभग सम्पन्न भएको जानकारी दिए । उनले सडक फराकिलो बनाउने काम सम्पन्न भएको र अब कालोपत्र गर्न बाँकी रहेको बताए ।