विकासन्युज

प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको रिक्त न्यायाधीशमा प्रस्तावित उच्च अदालत पाटनका न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । समितिको आजको बैठकले उनलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुद प्रमाणसहित उजुरी दिन १० दिने सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय पनि गरेको छ । न्याय परिषद्को यही भदौ १० गतेको बैठकले उहाँको नाम सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो । समितिको बैठक ज्येष्ठ सदस्य पशुपति शम्शेर राणाको अध्यक्षतामा बसेको थियो ।

हामीलाई एयरपोर्ट पनि चाहिएको छ, विदेश पनि जानुछ, अनि भीड लाग्यो भनेर हुन्छ ?

अहिले विदेशीने व्यक्तिहरुको भीडलाई देखाएर ठूलो मतभेद र बहस हुने गरेको छ । सरकारले विदेश जान निरुत्साहित भन्दा पनि प्रोत्साहन गर्यो भन्ने धारणा पनि कतिपयको छ । फ्रि भिसा फ्रि टिकट सरकारले ल्याएको भन्ने बुझाइ पनि धेरैको छ । यो कार्यक्रम सरकारको होइन । यो आप्रवासन सम्बन्धीको एउटा सिद्धान्त नै हो । वैदेशिक रोजगारीमा जाने नेपालीहरुले जादा खर्च नलाग्ने । त्यसको जति खर्च आउँछ त्यो सबै रोजगारदाता कम्पनीले ब्यहोने भनिएको हो । व्यक्तिमाथि थप भार नपरोस भन्ने मात्र हो । सिद्धान्त लिनु गलत होइन, सिद्धान्त विश्वव्यापी रुपमा र वैदेशिक रोजगारसम्बन्धी मान्यतामा आएको हो यो निती । तर अब हामीले सेवा शुल्क केही लाग्ने विषयमा छलफल भइरहेको छ । अहिले पनि साउदी र कतारका लागि १० हजार रुपैयाँ सेवासुविधा लाग्ने भनिएको छ, मलेसिया तथा अन्य मुलुकमा जाँदा श्रमिकले पैसा बुझाएको विषय धेरै छ । तर, त्यो कानुनी छैन । त्यो कानुनी नभएपछि सम्बन्धित कम्पनीले आफ्नो आम्दानीमा देखाउन पाएन । हामीले पछिल्लो समय यी विषयमा छलफल गरिसकेका छौं । हामीले न्यूनतम सेवा शुल्क तोक्कौँ, ताकि मानिसलाइ मार नपरोस् । मलेसिया जानकै लागि ३ लाख रुपैयाँ खर्च नलागोस्, युरोप जानुछ ५/७ लाख नगालोस, जापान जानुछ, ८ लाख रुपैयाँ नलागोस् । जति लाग्ने हो त्यति मात्र लागोस् । यसका केही सिद्धान्तहरु छन्, जस्तै भारत, फिलिपिन्स, वंगलादेश, भेतनाम लगायतका देशमा कतै एक महिनाको तलव, कतै डेढ महिनाको तलब त कतै ८०÷९० हजार रुपैयाँभन्दा कम नहुने गरी रेगुलेट गरिएको छ । तर, हामी त्यसो भनांैला, त्यो शुल्क व्यवसायीले देखाउलान् , तर, बाँकी शुल्क नदेखाउँदा झन ठूलो खर्च होला कि भन्ने हाम्रो बुझाइ छ । जो कामदार जाँदैछ उसले बैंक मार्फत नै पेमेन्ट गर्ने, उसलाइ जुन पैसा चाहिन्छ त्यो पैसा नै बैंक तथा वित्तीय संस्थाले सिधै भुक्तानी गर्ने र श्रमिकले उता भुक्तानी गर्ने, म्यानपावर कम्पनीले सहजीकरण गर्नेमात्र गर्नेगरी काम गर्न सकिन्छ कि भनेर हामीले आदर्श कल्पना गरेका छौं । तर, वैदेशिक रोजगारीमा जाने श्रमिक, म्यानपावर कम्पनीलाई अहिले भैरहेको कामलाइ ठ्याक्कै रोकेर अर्काेमा जानलाई असहयोग हुने हामीले अनुभूति गरेका छौं । कानूनमा त तालिम नलिई वैदेशिक रोजगारीका लागि विदेश जान पाइँदैन भनिएको छ, जानका लागि कुनै न कुनै सीप सिकेको हुनु पर्छ । तर, हामीले तालिम दिन सकेका छैनौं । अभिमुखीकरणसम्म १÷२ घण्टा दिएका छौं । नियममा २ दिन दिनुपर्छ भनिएको छ । महिलाहरुका लागि ५÷७ दिनको अभिमुखीकरण गर्नु पर्छ भनिएको छ, त्यसका लागि हामीले पे पनि गरेका छौं तैपनि अभिमुखीकरण नै नगरी गैरहेको अवस्था छ । वैदेशिक रोजगारीमा जाने भत्र्ति प्रणाली छ, यसलाई व्यवस्थित गर्नुछ । यो अलि अव्यवस्थित गरेको मैले पाएको छु । म श्रम मन्त्रालय आएको करिब साढे २ महिना भयो, तर मैले घटनाहरु सुन्दा एकदमै अव्यवस्थित भएको महसुस गरेको छु । यस विषयमा रोजगार व्यवसायीहरुसँग छलफल भैरहेको छ । रोजगार व्यवसायीहरुभन्दा बाहेकबाट अहिले अन्यत्रबाट धेरै वैदेशिक रोजगारीका लागि गएको पाइएको छ, उनीहरुलाई कसरी व्यवस्थित गर्नेभन्ने तर्फ हामीले ध्यान केन्द्रीत गरेका छौँ । अर्थतन्त्रको एउटा मूल प्रवाहमा वैदेशिक रोजगारी छ, अब हामी राजश्व आएन सरकार चलाउन गाह्रो भयो भनिरहेका छौँ । राजश्व उठाउनका लागि आयात गर्नुपर्याे, आयातका लागि विदेशी मुद्राको आवश्यक पर्याे । विदेशी मुद्रा गत आर्थिक वर्षमा ऐतिहास रुपमै बढी छ । हाम्रो आयात पनि विदेशी मुद्राको सञ्चिति सरह छ भनेपछि सम्पूर्ण आयातमा कतै न कतै वैदेशिक रोजगारको आय जोडिएको छ । वैदेशिक रोजगारीको क्षेत्रको आय अहिले एकदमै ठूलो क्षेत्र भैसक्यो । यसलाई व्यवस्थित गर्न सकियो भने मानिसहरु ठगिने कम हुन्छ । सरकारले वैदेशिक रोजगारीका लागि प्रोत्साहन गरेको छैन । पहिले वैदेशिक रोजगार प्रवद्र्धन कार्यक्रम थियो । तर, अहिले त्यो खारेज भैसक्यो । अहिले जति नेपालीहरु वैदेशिक रोजगारीका लागि विदेशिनुभएको छ, ती सबै मानिसहरुलाई नेपालमा नै काम पुग्ने गरी रोजगारी सिर्जना गर्न हाम्रो अर्थतन्त्र बनिसकेको छैन । तर, धेरै काम यहाँ पनि छ । अहिले नै पनि धेरै कामहरु गर्नका लागि यहाँ नै पर्याप्त पनि छ । निर्माण व्यवसायीहरुले कामदार नै पाएनौँ भनिरहनुभएको छ । जसरी कामहरु असरल्ल छन्, बाटोहरु बनेका छैनन्, निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीहरुले कामदार पाएनौं भनिरहेका छन्, अहिले पनि नेपाली बजारमा झन्डै २ लाखका लागि रोजगारी दिनसक्ने बाटोहरु प्रसस्तै छन् । हाम्रो अर्थतन्त्रको अहिलेको आकारले जुन दरमा युवाहरु रोजगारीका लागि श्रमबजारमा आइरहेका छन् त्यसलाई थेग्न सक्दैन । वैदेशिक रोजगारी बाध्यता हो भन्ने भाष्य निर्माण गरिएको छ, त्यो पनि होइन । मानिस ग्लोबलाइज छन् । नेपालमा पनि झन्डै ३ हजार विभिन्न मूलका नागरिकहरुले (भारतीय मूलुकका बाहेक) काम गरिरहेका छन् । वैदेशिक रोजगारीका लागि नेपालजस्तै अन्य देशका युवाहरु पनि श्रमका लागि विदेशिने क्रम बढ्दो रुपमा छ । केही देशको अर्थतन्त्र माइग्रेसनबाटै (रेमिट्यान्स) चलिरहेको पनि छ । हाम्रा देशका युवाहरु अहिले बढी मात्रामा खाडीमा गइरहेका छन्, तर त्यहाका युवाहरु पनि रोजगारीका लागि अन्य देशहरुमा गैरहेका छन् । यो ट्रेण्ड हो, विश्वव्यापी प्रविधि हो । तर, अहिले जुन रुपमा युवाहरु विदेशीएका छन् र जाँदाखेरि असुरक्षित हुनु परेको छ, त्यो अहम प्रश्न हो । कहीँ काम गर्न जाँदा सुरक्षित भएर जान सक्ने वातावरण हुनुपर्छ । व्यक्तिले रोजगारी मात्र होइन उसले त्यहाँको वातावरण र अनुशासन पनि सिक्छ । अहिले गल्फमा काम गर्ने धेरै नेपाली कामदारहरु होहल्ला गरेको, मदिरा सेवन गरेको, सार्वजनिक स्थानमा हुलहुल्जत गरेका केशहरुमा पनि परेका छन् । बाहिर जाँदैमा बिग्रीहाल्दैन । सीप सिकेर नै जनशक्ति आउँछ, यो भन्दै गर्दा मैले वैदेशिक रोजगारीको वकालत गरेको होइन । रोजगारीका लागि बाहिरिनेसँगै अहिले मृत्यु भएर फर्कनेको संख्या पनि बढ्दो छ । तथ्यांक अनुसार वार्षिक ६÷७ सय श्रमिकको मृत्यु भएको उल्लेख छ । केही जोखिमपूर्ण कामहरु छन्, जसलाई यहाँबाट छनोट गर्न सकिएन, केही व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको विषय छ त्यो पनि भएन । अर्काे आफुले नसिकेको काममा गएकाहरु पनि छन् । दुर्घटना तथा अन्य कारणले नेपालमा पनि मृत्यु हुनेहरुको संख्या बढ्दो क्रममा छन्, ती खासै हाइलाइट हुँदैनन् । हामीलाई वायुसेवा कम्पनी पनि चाहियो, एयरपोर्ट पनि चाहिने, नेपालीहरु विदेश जान पनि पाउनु पर्याे, कमाउन पनि पर्याे पनि भन्ने । तर, एयरपोर्टको बाहिरको भिडलाइ देखाएर विदेशीनेहरुको लर्काे भन्न मिल्यो ? मैले विदेशीनुपर्छ भन्ने पक्षमा भनेको होइन, हाम्रो अवस्थाको बारेमा भनेको मात्र हो । वैदेशिक रोजगारीका लागि मात्र नभएर अध्ययनका लागि पनि वार्षिक रुपमा २ लाखभन्दा बढी युवाहरु विदेशीएका छन् । कुनै विषयको प्रतिक्रिया दिनुभन्दा स्वदेशमा नै रोजगारीका लागि वातावरण बनाउनतर्फ लाग्नुपर्छ । स्वदेशमै रोजगारीका लागि नीति नियम बनाउने भूमिकामा सरकार छ । यसैगरी यहीँ व्यवसायमा लगानी बढाउन निजी क्षेत्रको भूमिका उत्तिकै छ । जुन किसिमको कामका नेपालीहरु विदेशीएका छन्, त्यसको ठूलो हिंसा नेपाली श्रम बजारमा नै रहेको छ । हामीकहाँ कामको सम्मान नै भएन्, स्वदेशमा यही काम गर्दा सानो हुने तर विदेशमा गएर गर्दा केही हुँदैन भन्ने मानसिकता छ, यसलाइ हटाउनुपर्छ । सबैले सबै कामको सम्मान गर्न सक्नुपर्छ । नेपालीहरु १७८ देशमा पुगेका छन् । नेपालीहरु बाहिर जानु नराम्रो होइन, तर शिक्षित भएर सुरक्षित रुपमा जानु राम्रो हो । तालिम लिएर वैदेशिक रोजगारीका लागि जानु, उताको पैसासँगै नयाँ सीप सिकेर नेपाल फर्र्किएपछि यही केही गर्नु राम्रो हो । अघिल्लो शताब्दीमा कुनै नेपाली युरोप, अमेरिका पुगेर आयो भने बाझागाजा बजाएर धुमधामका साथ गाउँमा स्वागत गरिथ्यो । वैदेशिक रोजगारीलाई हामीले प्रमोसन गर्ने होइन व्यवस्थित गर्ने मात्र हो । (भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव हुन् । )

पाहुनाको पर्खाइमा बाँकेका होमस्टे

बाँके । वर्षायामसँगै सुनसान बनेका बाँकेका होमस्टे (घरबास) आन्तरिक पर्यटकको पर्खाइमा छन् । पाहुनाको आगामन नभएपछि यतिबेला होमस्टे सञ्चालक फुर्सदिला भएका छन् । वर्षा लागेपछि पाहुना आउने क्रम कम हुँदै गएको बाँकेको राप्ती सोनारी गाउँपालिका-८ नयाँगाउँमा होमस्टे सञ्चालन गर्दै आएकी शोभी थारूले बताइन् । ‘अरु बेला त राम्रै भीडभाड हुन्छ तर वर्षायामको दुई महिना जति पाहुना नआउँदा सुनसान हुने गरेको छ,’ उनले भनिन्, ‘अहिले त पाहुना नआएका कारण सुनसानजस्तै छ, पाहुनाको पर्खाइमा बसेका छौं ।’ नेपालगन्जबाट करिब २५ किलोमिटरको दूरीमा रहेको नयाँगाउँ होमस्टे २०७२ सालमा सञ्चालनमा ल्याइएको हो । सुरुमा सात घरमा सञ्चालन गरिएको होमस्टे अहिले १३ घरमा छ । राजमार्गसँगै जोडिएको र पर्याप्त घुम्ने ठाउँ भएकाले नेपालगन्ज, कोहलपुरलगायतका क्षेत्रबाट सिजनमा पाहुनाको राम्रो चहलपहल हुने गर्छ । होमस्टेनजिकै वनस्पति उद्यान, ढकेरी वनभोजस्थल र बाँके राष्ट्रिय निकुञ्जको हात्तीसार रहे पनि अहिले आन्तरिक पर्यटकको चहलपहल ठप्प रहेको नयाँगाउँ होमस्टेका अध्यक्ष मंगल थारूले बताए । बैजनाथ गाउँपालिकामा रहेको जिल्लाकै चर्चित गाभर भ्याली होमस्टेमा पनि यतिबेला पाहुनाको चहलपहल छैन । वर्षातका कारण अहिले व्यवसाय ठप्पजस्तै रहेको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले जानकारी दिए । होमस्टे व्यवसायले थारू महिलाको चेतना धेरै माथि उठेको छ । आफ्नो समुदायबाहेक अरूसँग बोल्न डराउने, गाउँबाट अन्यत्र नजाने उनीहरू अहिले होमस्टेमा आउने पाहुना र उनीहरूसँगको घुलमिलले विभिन्न ठाउँको संस्कृति र मानिसलाई चिन्ने मौका पाएको चौधरीको भनाइ छ । बाँकेका पाँच सामुदायिक होमस्टेमा ५० घरपरिवार आबद्ध छन् । समुदायमा स्वरोजगार तथा रोजगारको सिर्जना गर्दै आएको सामुदायिक होमस्टेमा पाहुनाको चहलपहल कम भएपछि सञ्चालन गर्न कठिन भएको उनको भनाइ छ । जिल्लाभरिका होमस्टेमा वार्षिक एक करोड बढी आम्दानी हुने गरेको चौधरीले जानकारी दिए । ‘अहिले त होमस्टे सुनसान छ, आएका पाहुनालाई खाने बसाउने गरेका छौं,’ बैजनाथको च्यामास्थित घरबास सञ्चालक गणेश चौधरीले भने, ‘हिउँदमा जसरी भरिभराउ हुन्थ्यो, अहिले त्यसको तुलनामा निकै न्यून छ, खर्च धान्न पनि मुस्किल भएको छ ।’ विसं २०७० मा सुरु भएको बाँकेको पहिलो गाभर भ्याली सामुदायिक होमस्टे अहिले नेपालकै नमुना घरबासका रूपमा चिनिन्छ । बाँकेमा सञ्चालित होमस्टे जीविकोपार्जन मात्रै नभई आयआर्जनको माध्यम बनेको गाभर भ्याली होमस्टेका अध्यक्ष चौधरीले बताए । रासस

गाईजात्राको दोस्रो दिन उपत्यकामा चहलपहल, बौद्धमा रोपाइँजात्राको तयारी

काठमाडौं । गाईजात्राको दोस्रो दिन काठमाडौँ उपत्यकामा चहलपहल देखिएको छ । यस वर्ष जनैपूर्णिमा र गाईजात्रा बिहीबार एकैदिनदेखि सुरु भएकाले आज पनि केही स्थानमा गाईजात्रा मनाइँदैछ । राजधानीमा बिहानैदेखि मानिसलाई गाईका रुपमा सिँगारी बजार परिक्रमा गराउन सुरु गरिएको छ । विशेषगरी नेवार समुदायको बस्ती रहेका ठाउँमा गाईजात्रा पर्व भव्यरुपमा मनाउने गरिएको छ । प्रत्येक वर्ष भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन विभिन्न कार्यक्रम गरी गाईजात्रा पर्व मनाउने गरिन्छ । वर्षभर दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाल्ने परम्परा विशेषगरी नेवार समुदायमा मल्लकालदेखि चल्दै आएको छ । प्रताप मल्लले पुत्र शोकबाट विह्वल भएकी रानीलाई अरुका घरमा पनि मानिस मर्छन् भन्ने देखाउन गाईजात्राको परम्परा सुरु गरेको इतिहास छ । आजको गाईजात्रामा पनि गाई वा गाईका रुपमा सिँगारी जात्राका लागि निकालिएकालाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिएको दृश्य देख्न सकिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । यही धार्मिक विश्वासका आधारमा आज पनि वसन्तपुर दरबार क्षेत्र भएर गाईजात्रा प्रदर्शन भइरहेको छ । गाईजात्राबाट पनि रानीको मन शान्त हुन नसकेकाले राजा प्रताप मल्लले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुती पाइन्छ । मल्लकालदेखि सुरु भएको गाईजात्रा अहिले काठमाडौँ उपत्यकाको मौलिक पर्वका रुपमा स्थापित भइसकेको छ । बौद्धमा रोपाइँ जात्राको तयारी प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट अर्थात् भाद्र कृष्ण द्वितीयाका दिन बौद्ध क्षेत्रमा रोपाइँ जात्रा मनाउने प्रचलन छ । यसका लागि सबै तयारी पूरा भएको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ । समितिको संयोजनमा बौद्ध क्षेत्रका सबै संस्थाको सहभागितामा जात्रा मनाउन लागिएको हो । सांस्कृतिक झाँकी, बाजा गाजासहित उपस्थित लाठे, रोपाहारलगायत कलाकारले बौद्धबाट टुसालसम्मका क्षेत्रमा झाँकी प्रदर्शनसमेत गरी रोपाइँ जात्रा मनाउने तयारी भएको हो । रोपाइँ जात्रा बौद्ध क्षेत्रको मौलिक पर्वका रुपमा स्थापित भएको छ । गाईजात्राको तेस्रो दिन अर्थात् भाद्रकृष्ण तृतीयाका दिन जगवागेश्वरीमा पनि रोपाइँजात्रा आयोजना गरिन्छ । भाद्र कृष्ण प्रतिपदाका दिन सुरु भएको गाईजात्रा अष्टमीका दिनसम्म मनाउने परम्परा छ । जात्रा हेर्न विदेशीय पर्यटकको पनि भीड लाग्ने गर्छ । रासस

आठ वर्षपछि तातोपानी नाकाबाट सर्वसाधारणको नियमित आवतजावत सुरु

मेलम्ची । नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरु भएको छ । शुक्रबार लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् । सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए । नाका  खुलाउन नेतृत्वदायी भूमिका खेल्नुभएका सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुबोध’ बिहानै तातोपानी नाका पुगेका थिए । तातोपानी क्षेत्रका जनप्रतिनिधि, भन्सार र अध्यागमन कार्यालयका अधिकारीसहित नाकामा पुगेका उनले अब नाका पूर्ण सञ्चालनमा आएको बताए । विसं २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि नेपाल–चीनबीचको सो नाका पूर्णरुपमा बन्द थियो । नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय र भौतिक क्षति भएका कारण लामो समयसम्म नाका बन्द अवस्थामा थियो । भूकम्पबाट सृजित कठिनाइ पन्छाएर सीमितरुपमा मात्रै सञ्चालन भएको नाका विसं २०७६ फागुनमा विश्वव्यापीरुपमा कोरोना महामारी फैलिएपछि नाका पुनःबन्द भएको थियो । चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट २०८० वैशाख १८ ९१ मे० बाट दोहोरो आयात निर्यात खुलाइएको थियो । आयात निर्यात खुलेलगत्तै मानिस आवतजावतका लागि संसद्मा सापकोटाले आवाज पनि उठाएका थिए । साथै कूटनीतिक भेटघाट तथा प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्र मन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए । केही समयअघि चिनियाँ अधिकारीले आजैदेखि मानिस ओहोरदोहोरका लागि नाका सञ्चालन गर्ने तयार रहेको खबर पठाएका थिए । त्यसपछि चिनियाँ अधिकारीबीच भएको छलफलले स्थानीय आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो । रासस

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख १२ हजार दुई सय ५० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार चार सय ७० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

पठाओ एपमा फुड डेलिभरी सित्तैमा, रेस्टुरेन्टकै दाममा घरमा आइपुग्ने

काठमाडौं । पठाओ नेपालले अब देखि निस्शुल्क फुड डेलिभरी सुरु गरेको छ । ‘रेस्टुरेन्टको दाममा घरमै खाम’ भन्ने नाराका साथ पठाओले बिहान ९ बजेदेखि मध्यरात १२ बजेसम्मका सबै फुड अर्डरहरु नि:शुल्क डेलिभरी सुरु गरेको पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले बताए । पठाओ नेपालले सेप्टेम्बर २४ मा आफ्नो पाँचौं वार्षिकोत्सब मनाउँदै छ । आफ्नो वार्षिकोत्सबलाई लक्षित गर्दै कम्पनीले वार्षिकोत्सब महिनाको पहिलो दिन निशुल्क डेलिभरी योजना सार्वजनिक गरेको थापाले जानकारी दिए । यो महिना अरु पनि विभिन्न योजना र सहुलियत सार्वजनिक गर्ने कम्पनीको योजना छ । बिहान ९ बजे देखि राती ३ बजे सम्म फुड डेलिभरी गर्दै आएको पठाओ फुडले मध्यरात १२ बजेदेखि तीन बजेसम्म (तीन घण्टा) अवधीको फुड डेलिभरीमा भने १५० रुपैयाँ शुल्क लिनेछ । गत जुन १० देखि जुन ३० सम्म कम्पनीले फुड फेस्ट सम्पन्न गरेको थियो । त्यसक्रममा कम्पनीले डेढ लाखभन्दा बढी अर्डर डेलिभरी गरेर फुड डेलिभरीमा नयाँ रेकर्ड कायम राखेको थियो । सो फुड फेस्ट पछि कम्पनीको दैनिक अर्डर पनि बढेको थापले जानकारी दिए । फुड फेस्ट बाहेक पनि पठाओ फुडले हरेक दिनजसो विभिन्न अफरहरु ल्याएर आफ्ना सेवाग्राहीहरुलाई विभिन्न छुटहरु दिइरहेको छ । कम्पनीले ६ सयभन्दा बढी रेष्टुरेन्टबाट सेवा प्रदान गरिरहेको पठाओ फुडले ग्राहकलाई सबैभन्दा छिटो डेलिभरी गरिरहेको कम्पनीको दावी छ । नेपालमा सन् २०१८ को सेप्टेम्बर २४ देखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्ट ९ देखि कार लाइट ९ट्याक्सी० सेवा सुरु गरेको हो। सन् २०२० सेप्टेम्बर २४ मा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो। त्यस्तै सन् २०२१ जुन १३ बाट ग्रोसरी सामान डेलिभरी गर्दै ‘पठाओ बजार’ पनि सुरु गरेको पठाओले सन् २०२३ अगस्ट ९ देखि पठाओ पार्सल सुरु गरेको छ ।

सन नेपाल लाइफको आईपीओ बाँडफाँड

काठमाडौं । सन नेपाल लाइफ इनस्योरेन्सले प्रिमियम मुल्यमा निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । कम्पनीको आइपीओ आज नेपाल एसबिआई मर्चेन्ट बैंकिङले बाँडफाँड गरेको हो । कम्पनीले साउन ३२ देखि भदौ ४ गतेसम्म सर्वसाधारणलाई निष्काशन गरेको ७६ लाख ८० हजार कित्ता शेयर बाँडफाँड गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३९ रुपैयाँमा शेयर निष्काशन गरेको थियो। आइपीओमा कुल १४ लाख ६६ हजार ८ सय ६२ जनाले आवेदन दिएका थिए । जसमध्ये ६ हजार ८ सय १ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १४ लाख ६० हजार ६१ जना आवेदकलाई गोलाप्रथाबाट शेयर बाँडफाँड गरेको हो । यस अनुसार ७ लाख ६८ हजार जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने बाँकि आवेदकको हात खाली भएको छ । कम्पनीले बोर्डबाट आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ। बाँकी रहेको शेयरमध्ये ४ लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ भने ४ लाख ८० हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित राखिएको छ। सर्वसाधारणले अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा बाँकी रहेको ७६ लाख ८० हजार कित्ताका लागि आवेदन दिने व्यवस्था थियो । आईपीओको नतिजा बिक्री प्रबन्धक एसबीआई मचेन्ट बैंकिङको वेबसाइट, मेरो सेयर, सन नेपाल लाइफको वेबसाइट र सीडीएससीले आईपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट सकिने छ ।