विकासन्युज

हिमालयन ८०-२० म्युचुअल फण्डमा मागभन्दा बढी आवेदन

  काठमाडौं । हिमालयन क्यापिटलको पहिलो म्युचुअल फण्डमा लगानीकर्ताहरुले माग भन्दा बढी आवेदन परेको छ । साउन ३२ गतेदेखि बिक्री खुला गरेको ‘हिमालयन ८०–२०’ फण्डमा शुक्रबारसम्म साढे ९१ करोड रुपैयाँ बराबरको आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ । सिडिएसका अनुसार शुक्रबार ५ बजेसम्म ४६ हजार १४१ जना आवेदकले ९ करोड १४ लाख ६१ हजार ८२० इकाईका लागि ९१ करोड ४६ लाख १८ हजार २ सय रुपैयाँ बराबरको आवेदन दिएका छन् । क्यापिटलले १ अर्ब रुपैयाँको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्धक हिमालयन बैंक र ८ करोड ५० लाख इकाईमा सर्वसाधरण लगानीकर्तालाई छुट्याएको छ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कुल लगानीमध्ये ८० प्रतिशत दीर्घकालीन लगानी मार्फत् कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने र बाँकी २० प्रतिशत पूँजी सक्रिय लगानी व्यवस्थापमा गर्नेछ । पूँजी बजारमा नविनत तथा अनुशासित लगानीको अभ्यास गरिरहेको क्यापिटलको सो फण्डको अवधि १० वर्ष रहेको छ ।  

वायुसेवा कम्पनीका लगानीकर्ता र सञ्चालकलाई बोल्न रोक !

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले वायु सेवा कम्पनीहरुका लागि कडाइ गरेको छ । क्यानले वायुसेवा सञ्चालन कार्यविधि संशोधन गर्दै अध्यक्ष, सेयर लगानीकर्ता तथा कार्यकारी निर्देशकलाई प्राधिकरण तथा सरकारको नीति विपरित बोल्न रोक लगाएको हो । ‘वायुसेवा कम्पनीका अध्यक्ष, शेयर लगानीकर्ता, कार्यकारी निर्देशक, तथा पोष्ट होल्डरहरुले प्राधिकरण तथा नेपाल सरकारका नीति तथा कार्यहरु विपरितका क्रियाकलाप संचालन गर्न एवं सो सम्बन्धमा आफ्ना धारणाहरु सार्वजनिक रुपमा व्यक्त गर्न नहुने व्यवस्था गरेको हो । यस्तै, वायुसेवा कम्पनीका अध्यक्ष, शेयर लगानीकर्ता, कार्यकारी निर्देशक तथा अकाउन्टेवल म्यानेजरले प्राधिकरणद्वारा प्रदान गरिएको सीपीएल, एटीपीएल, र एएमएल लाइसेन्स प्राप्त गरेको भए सो को अभ्यास व्यवसायिक उडान वा मर्मतसम्भार गतिविधिमा गर्न नपाउने व्यवस्था पनि गरेको छ ।

वायुसेवा कम्पनीले ५ वर्षसम्म सेयर बिक्री गर्न नपाउने, पाइलटलाई अन्य व्यवसाय गर्न रोक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एयर अपरेटर सर्टिफिकट रिक्वायरमेन्ट (एओसीआर) संशोधन गरेको छ । प्राधिकरणले शुक्रबार एओसीआर संशोधन गरेको हो । संशोधित व्यवस्था अनुसार अब वायुसेवा कम्पनीले ५ वर्षसम्म सेयर बिक्री गर्न पाउने छैनन् । प्राधिकरणबाट नो अब्जेक्सन सर्टिफिकेट प्राप्त गरेको न्युनतम पाँच वर्षको अवधिसम्म शेयर लगानीकर्ताले आफ्नो शेयर बिक्री वा हस्तान्तरण गर्न नपाउने भएका छन् । यस्तै, प्राधिकरणले वायुसेवा संचालन गर्न ईच्छुक नयाँ कम्पनीहरुसँग न्युनतम ३ वटा जहाज हुनुपर्ने, सबै वायुसेवा कम्पनीहरुले आगामी ५ वर्ष भित्रमा जहाजको संख्या न्युनतम ५ वटा पुर्याउनुपर्ने तथा प्राधिकरणलाई मर्जर नीति स्वीकार्य हुने, वायुसेवा कम्पनीका अध्यक्ष, शेयर लगानीकर्ता, कार्यकारी निर्देशक, एकाउन्टेबल म्यानेजर तथा पोष्ट होल्डरहरुले प्राधिकरण तथा नेपाल सरकारका नीति तथा कार्यहरु विपरितका क्रियाकलाप संचालन गर्न एवं सो सम्बन्धमा आफ्ना धारणाहरु सार्वजनिक रुपमा व्यक्त गर्न नपाउने व्यवस्था गरिएकाे छ । यस्तैगरी, वायुसेवा कम्पनीका एकाउन्टेबल म्यानेजर तथा पोष्ट होल्डरहरुले कम्पनीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वार्थ बाझिने प्रकृतिका गतिविधि एवं व्यवसायिक कार्यहरु (जस्तै टुर्स एण्ड ट्राभल्स) आदिमा संलग्न हुन नपाउने, वायुसेवा कम्पनीका अध्यक्ष, शेयर लगानीकर्ता, कार्यकारी निर्देशक तथा एकाउन्टेबल म्यानेजरले प्राधिकरणद्वारा प्रदान गरिएको सीपिएल, एटीपीएल, वा एएमएल लाइसेन्स प्राप्त गरेको भए सो को अभ्यास व्यवसायिक उडान वा मर्मतसम्भार गतिविधिमा गर्न नपाउने, पाइलटले उडान बाहेक अन्य व्यवसायिक गतिविधिमा संलग्न रहन नपाउने गरी एओसीआर संशोधन गरिएकाे छ । यस्तै, प्राधिकरणले उक्त रिक्वायरमेन्ट संशोधन गर्दै प्राधिकरणको स्वीकृति बिना कुनै पनि सरकारी स्वामित्व प्राप्त एवं निजी वायुसेवा कम्पनीहरुले एकाउन्टेबल म्यानेजर तथा पोष्ट होल्डरहरु नियुक्त गर्न नपाउने तथा प्राधिकरणले वायुसेवा कम्पनीहरुको एकाउन्टेबल म्यानेजरको नियुक्ति, आवश्यक न्युनतम योग्यता, अनुभव तथा अख्तियारी सम्बन्धमा विशेष कार्यविधि जारी गरेको हुनुपर्ने गरी एओसीआर संशोधन गरिएकाे नागरिक उड्डयन प्राधिकरणले बताएकाे छ ।

सिटिजन लाइफको आईपीओ : पहिलो दिनमा कतिले भरे सेयर ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले जारी गरेको आईपीओमा पहिलो दिनमा २ लाख बढीले आवेदन दिएका छन् । आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ्गका अनुसार पहिलो दिनमै २ लाख ३४ हजार ७७९ जनाले सेयर भरेका हुन् । भदौ १५ गते शुक्रबार साँझ ५ बजेसम्ममा २ लाख ३४ हजार ७७९ जना आवेदकले २७ लाख २६ हजार ३५० कित्ता सेयर माग गरेका सीडीएससीले जनाएको छ । सो अवधिसम्ममा ६६ करोड ५२ लाख २९ हजार चार सय रुपैयाँ बराबरको आवेदन परिसकेको छ । कम्पनीले आज भदौ १५ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँको आईपीओ बिक्री गरेको हो । कम्पनीले अंकित मूल्य दर १ सय रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा १ करोड १२ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये ११ लाख २५ हजार कित्ता विदेशमा रोजगारीमा रहेका नेपाली, ५ लाख ६२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ५ लाख ६२ हजार ५ सय कित्ता कर्मचारीलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ । अब बाँकी रहेको ९० लाख कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा १९ गते र ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम अधिकतम सम्पूर्ण १५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता आवेदन भर्नका लागि २ हजार ४४० रुपैयाँ आवश्यक पर्नेछ । यदि सोभन्दा बढी कित्ताका लागि आवेदन दिने हो भने सो रकम बढ्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी आइआर त्रिपलबी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले इन्स्योरेन्सको समयमा नै वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको सुरक्षित कम्पनीको रुपमा जनाउँदछ ।

अटोमोबाइल क्षेत्रको समस्या सुल्झाउन गएका नाडा प्रतिनिधिले अर्थमन्त्रीलाई सुनाए राष्ट्र बैंकप्रतिको गुनासो

काठमाडौं । बुधबार नाडाका अध्यक्ष डा. ध्रुब थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री प्रकाशशरण महतसंग भेटगरी अटोमोबाइल क्षेत्रमा देखा परेका समस्याका बारेमा छलफल गरेको छ । छलफलमा नाडाका अध्यक्ष थापाले सन्दर्भ मूल्य सूचीका बारेमा सरोकारवाला निकायहरुसंग सल्लाह गरेर ययार्थपरक बनाउन अनुरोध गरेका छन् । सोही छलफलका क्रममा अध्यक्ष थापाले सुस्ताएको बजारलाई चलायमान बनाउन ऋण पुर्नतालिकीकरको व्यवस्था हुनु पर्ने, बैंक तथा वित्तीय निकायहरुलाई अटोमोबाइल क्षेत्रमा लगानी गर्नको लागि प्रमुख बाधकको रुपमा रहेको हायर पर्चेज कर्जाको जोखिम भार घटाएर ७५ प्रतिशत नै कायम गरिनु पर्ने,  बैकहरुबाट निजी सवारी साधनको लोन प्रवाह गर्ने प्रकियाको हालको ५० प्रतिशतको सिमालाई बढाएर ७५ प्रतिशत कायम गरिनुपर्ने बताएका छन् । त्यसैक्रममा अध्यक्ष थापाले चालु पुँजी कर्जाको सम्बन्धमा नेपाल राष्ट्र बैंकले हालै जारी गरेको कर्जा बर्गीकरण सम्बन्धी नयाँ व्यवस्थामा कुनै समूहभित्रको कुनै एक ऋणीले लिएको कर्जा निष्क्रिय भए समूहमा रहेका अन्य ऋणीको समेत निष्क्रीय बर्गमा बर्गीकरण गरिने व्यवस्थाले बैंक तथा वित्तीय निकायमा असल कर्जावालाहरुलाई समेत असर पर्ने बताएका छन् । कुनै पनि कर्जा निष्क्रिय बर्गमा बर्गीकरण भएमा कर्जाको बक्यौता रकम भुक्तानी गरे पछि पनि ६ महिनासम्म असल कर्जाको बर्गमा स्तरोन्नती नहुने व्यवस्थाले नीजि क्षेत्रलाई हतोत्साहित बनाउने भएकोले यस व्यवस्थालाई पनि तत्काल सच्याउनका लागि थापाले आग्रह गरेका छन् । त्यसैगरी, छलफलमा अध्यक्ष थापाले नेपालमा अहिले अटोमोवाइल उद्योगहरु क्रमशः खुल्दै जाने क्रममा रहेकाले यस्ता उद्योगहरुको स्थापनाका लागि थप प्रोत्साहित गर्न सरकारले अटोमोवाइल उद्योगहरुलाई विशेष क्षेत्रमा बर्गिकरण गरी सोही अनुरुप सहुलियत कर्जा उपलब्ध गराउने व्यवस्था हुनु पर्ने माग गरेका छन् । काठमाण्डौ उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माणको लागि बजेटमा व्यवस्था गरी त्यसको निर्माणका लागि समेत पहल गरि दिन थापाले आग्रह गरेका छन् । छलफलमा मन्त्री महतले समस्याहरुका सम्बन्धमा आफु जानकार रहेको र त्यसको समाधानका लागि प्रयास गरिने आश्वासन दिए । उक्त भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति सदस्यद्धय प्रकाश कपुरी तथा निशान ढकाल समेतको उपस्थिति रहेको थियो ।

आठ महिनामा भित्रिए ६ लाख पर्यटक

  काठमाडौं । सन् २०२३ को आठ महिनामा छ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगष्ट महिनासम्म छ लाख एक हजार तीन सय ६० पर्यटक भित्रिएका छन् । पछिल्लो अगष्ट महिनामा मात्रै ६७ हजार एक सय ५३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्ष सन् २०२२ को सोही अवधिमा ४१ हजार तीन सय चार पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा ७३ हजार आठ सय १४ पर्यटक नेपाल आएका थिए । बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला महिनामा निरन्तर पर्यटक आगमन वृद्धि भइरहेको बताउनुभयो । उनले सम्भावित स्रोतबजारबाट निरन्तर आगमन बढिरहेकाले सन् २०२३ मा १० लाख पर्यटक पु¥याउने लक्ष्यमा पुग्न सहज हुने विश्वास व्यक्त गरे । पछिल्लो अगष्ट महिनामा पनि सबैभन्दा बढी भारतबाट २६ हजार छ सय ६५, चीनबाट पाँच हजार २७, अमेरिकाबाट चार हजार छ सय २९, श्रीलङ्काबाट तीन हजार पाँच सय ५८ र बङ्गलादेशबाट तीन हजार एक सय ९० पर्यटक नेपाल भित्रिएका छन् । यस्तै, बेलायतबाट दुई हजार सात सय ११, स्पेनबाट एक हजार पाँच सय ८८, जापानबाट एक हजार पाँच सय २०, इटालीबाट एक हजार चार सय ९६ र अष्ट्रेलियाबाट एक हजार तीन सय ४७ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

अरनिको राजमार्ग विस्तार गर्न बजेटको अभाव हुँदैन : अर्थमन्त्री

काभ्रे । अर्थमन्त्री डा प्रकाशशरण महतले अरनिको राजमार्ग विस्तारको लागि बजेट अभाव नहुने बताएका छन् । सो सडक हाल छ लेनमा विस्तार भइरहेको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सातौँ जिल्ला सभालाई आज धुलिखेलमा सम्बोधन गर्दै उनले अरनिको राजमार्ग विस्तार गर्न बजेट अभाव नहुने बताए । ‘अरनिको राजमार्गको सडक छ लेनमा विस्तार भइरहेको कामलाई बजेट रोकिँदैन, चाडै पूरा होस्, कुनै पनि कारण सो सडकलाई बजेट रोकिँदैन’, मन्त्री डा महतले भने । तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड बिस्तारकार्यका लागि चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँ बजेट छ भने दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमिमा तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ । यस्तै मन्त्री डा महतले अरनिको राजमार्गअन्तर्गतकै कोदारी सडकखण्ड पुनःनिर्माणको बारेमा छिमेकी मुलुक चिनले चासो दिएको उल्लेख गर्दै उक्त सडक स्तरोन्नतिले काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकलाई व्यापारलगायत उत्पादनमूलक क्षेत्रमा वृद्धि गर्न मद्दत गर्ने छ भने ‘उक्त सडकको स्तरोन्नतिले पनि यस क्षेत्रको पर्यटन र कृषिमा टेवा पुग्नेछ, जसका कारण आर्थिक गतिविधि चलायमान भई नागरिकमा थप जागरुकता पैदा गर्नेछ’, उनले भने । मन्त्री डा महतले हाल विदेशी मुद्राको सञ्चिति यथेष्ट भएकाले आयात निर्यातमा कुनै समस्या नभएको बताए । उनले भने, ‘विदेशी र स्वदेशी पर्यटकको चहलपहल बढेको छ, यसले पनि आर्थिक अवस्थालाई टेवा पुग्नेछ ।’ उनले चालु आवमा प्रदेश र स्थानीय तहलाई पर्याप्त बजेट विनियोजन गर्न नसकेको दुःख व्यक्त गर्दै सघीय सरकारले झैँ सबैमा बराबरी प्रतिशत घटाइका उनको भनाइ थियो । मन्त्री डा महतले आउने समयमा अर्थतन्त्रले लय समात्नेमा विश्वास व्यक्त गर्दै निजी क्षेत्रले क्रियाशीलता बढाएकाले उक्त क्षेत्रलाई आगामी दिनमा सरकारले आत्मविश्वास दिलाउने काम गर्ने बताए । यसअघि बजेट सुनिश्चिचता नहुँदा धेरै आयोजना अलपत्र परेको उल्लेख गर्दे उनले हरेक निर्जाचन क्षेत्रमा प्राथमिकता निर्धारण गरी विकास योजना बनाउन र बजेट माग गर्न आग्रह गरे । सो कार्यक्रममा समितिका प्रमुख दीपक गौतमले आव २०८०/८१ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । रासस

स्कोडाको कुशाक ‘मोन्टे कार्लो’ नेपालमा, कति पर्छ मूल्य ?

काठमाडौं । युरोपेली लक्जरी कार ब्रान्ड स्कोडाका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु एक्सपान्जे प्रालिले स्कोडा कुशाकको ‘मोन्टे कार्लो’ एडिसन नेपालमा ल्याएको छ । चेक कार ब्रान्ड स्कोडाले ‘मोन्टे कार्लो एडिसन’लाई स्कोडाको शताब्दी लामो गौरवपूर्ण मोटरस्पोर्ट विरासत र विश्व प्रसिद्ध ‘मोन्टे कार्लो’ र्‍यालीमा भएको आफ्नो जितप्रति समर्पित गर्दै आएको छ । ‘कुशाक मोन्टे कार्लो आकर्षक कार हो जुन अद्वितीय, सुक्ष्म र स्पोर्टी लुक्स रुचाउने सबैको छनोट बन्नेछ’ एमएडब्लु एक्सपान्जेका कार्यकारी निर्देशक रौनक अग्रवालले भने । कुशाक ‘मोन्टे कार्लो’मा ‘युरापियन स्टाइल र अपग्रेडेड फिचर’हरु रहेका छन् । यसको क्याबिनलाई ‘रेड फिनिस’ दिइएको छ । यो कार टोनार्डो रेड र क्यान्डी ह्वाइट गरी दुई रङमा उपलब्ध छन् । यसमा सबै क्रोमको सट्टा ‘ब्ल्याक फिनिस’ राखिएको छ । ‘मोन्टे कार्लो’मा स्कोडाको प्रमाणित १.० लिटरको पेट्रोल टिएसआई इन्जिन दिइएको छ जुन ६–स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ । यसले अधिकतम ११४ एचपी पावर र १७८ एनएम टर्क उत्पन्न गर्ने बताइएको छ । नेपालमा कुशाक ‘मोन्टे कार्लो’ ‘म्यानुअल ट्रान्समिसन’को मूल्य ७१ लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको ७९ लाख ९० हजार राखिएको कम्पनीले बताएको छ । नयाँ कारमा स्कोडा अक्टाभिया आरएस २४५ को जस्तो डिजाइन, १७ इन्चको ‘एलोई ह्विल’ दिइएको छ भने फेन्डरमा स्कोडा नामको सट्टा ‘मोन्टे कार्लो’को ब्याज लगाइएको छ । साथै रुफलाई ‘म्याट ब्लायक रुफ रेल’सहित ‘कार्बन स्टिल’को फिनिस दिइएको छ । स्कोडा कुशाक मोन्टे कार्लोमा पहिलो पटक ‘रेड थिम’सहितको ८ इन्चको ‘डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर’ लगाएको छ । क्याबिनको ‘लेआउट’ मा परिवर्तन नगरे पनि ‘स्पोर्टी भाइब्स’ दिन ‘रुबी रेड मोटालिक फिनिस’ दिइएको छ । सिटको ‘अपहोल्स्ट्रिी’मा रातो र कालोको ‘मिक्स’ गरिएको छ भने ‘हेड रेस्ट’ मा ‘मोन्टे कार्लो’को ‘ब्याज’ दिइएको छ । यसमा ‘रेड एम्बायन्ट लाइटिङ’, ‘रेड थिम’को १० इन्चको ‘इन्फोटेन्मेन्ट डिस्प्ले’, ‘एलुमुनियम पेडल’, ‘डोर सिल’मा ‘मोन्टे कार्लो स्कफ प्लेट’ जस्ता परिवर्तित फिचर रहेका छन् । ‘मोन्टे कार्लो’ कुशाकको ‘टप ट्रिम’ भएकाले यसमा स्टाइलमा उपलब्ध सबै फिचरहरु उपलब्ध छन् । यसमा ‘रेड थिम’ भएको ८ इन्चको स्कोडा भर्चुअल ककपिटसहितको ड्राइभर इन्स्ट्रयुमेन्ट क्लस्टर र स्कोडा प्ले एपसहितको १० इन्चको ‘इन्फोटेन्मेन्ट सिस्टम’ रहेको छ । स्कोडा कुशाक ‘मोन्टे कार्लो’ काठमाडौं, थापाथली स्थित स्कोडाको मुख्य सोरुम र देशभरका स्कोडा डिलरसिपमा ‘टेस्ट ड्राइभ’ र ‘बुकिङ’का लागि उपलब्ध रहेको कम्पनीले बताएको छ ।