काठमाडौं महानगरपालिकाले हनुमानढोका क्षेत्रका मन्दिरको रंगरोगनमा ७ लाख खर्च गर्दै
काठमाडौं । काठमाडौं महानगरपालिकाले हनुमान ढोका क्षेत्रका मन्दिरहरुको रंगरोगन गर्ने भएको छ । महानगरले हनुमानढोका क्षेत्रमा रहेका विभिन्न मन्दिर ७ लाख १९ हजार ९१ रुपैयाँ खर्च गर्दै रंगरोगन गर्न लागेको हो । महानगरले रंगरोगनका लागि जेनिथ कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिलाई ठेक्का दिएको छ । त्यस्तै, महानगरले आफ्नो क्षेत्रभित्र रहेका विभिन्न मन्दिरमा झल्लार पनि राख्ने भएको छ । महानगरले सुनौलो रंगको बार्डर भएको रातो रंगको कपडा अर्थात् झल्लार विभिन्न मन्दिरमा राख्न लागेको हो । यसका लागि महानगरले सेक्रेड कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिलाई ठेक्का दिएको छ । कुल ७ लाख ४७ हजार ८२२ रुपैयाँमा यो ठेक्का लागेको हो ।
‘शहर उज्यालो कार्यक्रम’अन्तर्गत साढे ११ हजार स्मार्ट सडक बत्ती जडान
काठमाडौं । ‘शहर उज्यालो कार्यक्रम’ अन्तर्गत साढे ११ हजार वटा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरणले स्थानीय तहहरुसँगको लागत साझेदारीमा शहरको मुख्य चोकमा चारै दिशामा उज्यालो छर्ने ६७ वटा अत्याधुनिक हाइमास्ट लाइट जडान गरेको छ । प्राधिकरणले सडक बत्ती राखिने संरचनाहरु निर्माणका लागि करिब ४२ करोड रुपैयाँ योगदान गरेको छ । प्राधिकरणले ‘शहर उज्यालो अभियान’अन्तर्गत पालिकाहरुसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ । यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ । प्राधिकरणले धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका मठमन्दिर र पर्यटकीय क्षेत्रहरुमा विशेष किसिमका बत्ती राख्नका लागि सर्भे र डिजाइन गरिरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशबाट लोडसेडिङ अन्त्य गरिएपछि विद्युत् नपुगेको ठाउँको विद्युतीकरण र शहरी सौन्दर्यलाई बृद्धि गर्न स्थानीय तहहरूसँगको लागत साझेदारीमा स्मार्ट सडक बत्ती जडान कार्यक्रम सुरु गरिएको बताए । ‘घरघरमा विद्युत् बालेर मात्र नहुने रहेछ, शहरी सौन्दर्यता तथा सुरक्षाका लागि सडक पनि उज्यालो हुनु पर्ने रहेछ, त्यसैले स्थानीय तहहरको साझेदारीमा कार्यक्रम सुरु गरिएको हो, अहिल देशभरका स्थानीय तहहरुबाट सडक बत्ती जडानको माग आइरहेको छ’, उनले भने । ‘अहिले विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहित काम गरिरहेका छौं ।’ प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि फिडर प्यानलहरु जडान गरिएको छ । सडक वत्तिका लागि मात्र छुट्टै ट्रान्सफर्मरहरु जडान गरिएका छन् । स्मार्ट बत्ति प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ति बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेरबाट विद्युतको महशुललको बिलिङ गरिन्छ । बत्ती बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ । विद्युत्को महशुल सम्बन्धित पालिकाहरुले तिर्ने छन् । ललितपुर तथा पोखरा महानगरपालिका, धनगढी उपमहानगरपालिका र कन्काई, बेलका, भीमेश्वर, भिमदत्त तथा फिदिम नगरपालिकामा सडक बत्ती जडान सकिएको छ । भरतपुर महानगरपालिका र महालक्ष्मी, बूढानीलकण्ठ, सिद्धार्थनगर तथा मन्थली नगरपालिकामा स्मार्ट सडक बत्ती जडान कार्य अन्तिम चरणमा रहेको छ । काठमाडौंसहित ३ महानगरपालिका, ३ उपमहानगरपालिका र १३ नगरपालिकासँग लागत साझेदारीमा स्मार्ट सडक बत्ती जडानका लागि सम्झौता भइसकेको छ । सडक विभाग, ललितपुर महानगरपालिका र प्राधिकरणको साझेदारीमा विस्तारित चक्रपथको बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट सडक बत्ती जडानका लागि सम्झौता भई जडान सुरु गर्न लागिएको छ । सडक बत्ती जडानको लागतमध्ये ७५ प्रतिशत महानगरपालिकाले र प्राधिकरणको २५ प्रतिशत लगानी लगानी साझेदारी रहने छ । उपमहानगरपालिकामा सम्बन्धित उपमहानगरपालिकाको ७० प्रतिशत र प्राधिकरणको ३० प्रतिशत लगानी साझेदारी रहने छ । नगरपालिकामा ६५ प्रतिशत सम्बन्धित नगरपालिकाको र ३५ प्रतिशत प्राधिकरणको लगानी साझेदारी रहने छ । यसैगरी, गाउँपालिकामा ६० प्रतिशत सम्बन्धित गाउँपालिका र ४० प्रतिशत लगानी प्राधिकरणले बेहोर्ने छ । लागत अनुमान, प्रविधिको छनोट, खरिद र निर्माणको सुपरीवेक्षण प्राधिकरणले गर्ने छ । जडान गरिएका सडक बत्तीको पाँच वर्षसम्म मर्मतसम्भार निर्माण व्यवसायी कम्पनीले गर्ने छ । नगरपालिकाहरुले आफै शतप्रतिशत लगानी गरेर बोलपत्र गरेमा प्राधिकरणले वोलपत्र प्रक्रिया र सुपरीवेक्षणका लागि प्राविधिक सहयोग उपलब्ध गराउने छ ।
चीनमा एक जना किसानले खरबुजा खेतीबाट कमाए ५५ हजार अमेरिकी डलर
काठमाडौं । उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको यिउ काउन्टीको नाओमाहु शहरमा २६ सय ६७ हेक्टरमा लगाइएको खरबुजा बिक्री गर्न शुरु गरिएको छ । यो शहर चीनमा खरबुजा फलाउने सबैभन्दा ठूलो शहर हो । सो क्षेत्रमा सन् २००१ बाट खरबुजा रोप्न शुरु गरिएको थियो । हालका वर्षहरुमा भने आधुनिक प्रणाली अपनाएर उत्पादन दोब्बर बनाइएको छ । यो वर्ष नओमाहु टाउनमा खरबुजा उत्पादन एक लाख टन पुग्ने अनुमान गरिएको छ । उनले यस वर्ष खरबुजा ढिलो पाक्ने अनुमान गरिएको र ६.६७ हेक्टर भन्दा बढी क्षेत्रमा रोपेको बताए । हालसम्म सबै बिक्रीका लागि लिलामी भइसकेको र यस वर्ष आफ्नो आम्दानी ५५ हजार अमेरिकी डलर पुग्ने अपेक्षा गरेको बताए ।
भेरी-बबई डाइभर्सनको काम दुई बर्ष भित्र पूरा गर्न उर्जा मन्त्रीको निर्देशन
सुर्खेत । नेपाल सरकारका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले राष्ट्रिय गौरबको आयोजना भेरी बबई ड्राईभर्सनको काम आगामी दुई बर्षभित्र पूरा गर्ने गरी कार्ययोजना बनाउन निर्देशन दिएका छन् । आईतबार भेरी बबई डाइभर्सनको स्थलगत अनुगमन पछि आयोजनाका कर्मचारी, ठेकेदार कम्पनीका कर्मचारीहरुसंगको छलफलका क्रममा मन्त्री बस्नेतले आगामी दुई बर्षमा काम सम्पन्न गर्नका लागि ठोस कार्ययोजना बनाउन निर्देशन दिएका हुन् । तोकिएको अवधिमा काम सम्पन्न गर्ने अवस्था नभए निर्माण अवधिको म्याद मात्र थपेर नहुने भन्दै मन्त्री बस्नेतले आगामी दिनमा म्याद मात्र थमौती गर्ने काम सरकारले नगर्ने बताए । ‘ड्राईभर्सनको काम चाहे अनुसार अगाडी बढ्न सकेको छैन्, आगामी दुई बर्ष भित्रमा आयोजनाको काम सक्ने गरी कार्ययोजना बनाउनु पर्यो । कार्ययोजना अनुसार काम भए नभएको रिर्पोट अनुसार मात्र म्याद थप्ने बारे कुरा हुन्छ, नत्र जति पनि म्याद थप्ने काम सरकारले गर्न सक्दैन्’, मन्त्रीले भने । आयोजना प्रभावीत क्षेत्रका नागरिकलाई मुआब्जा दिने काम पनि यथासिघ्र अघि बढाउन उनले निर्देशन दिएका छन् । ‘प्रक्रिया पुगेका नागरिकलाई आयोजनाले वा सरकारले अन्याय गर्ने काम हुदैन, प्रक्रिया पुगेका नागरिकका फाईल अघि बढाई मुआब्जा लिन बञ्चित जनतालाई प्रक्रियामा लैजानुहोस’, बस्नेतले भने, ‘नागरिकलाई हाम्रो तर्फबाट मर्का पार्ने काम गरिनु हुदैन् ।’ अनुगमन कार्यक्रममा कर्णाली प्रदेश सरकारका कार्यबाहक मुख्यमन्त्री मंगल शाही, कर्णाली प्रदेश सरकारका प्रवक्ता एर्व आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसी, प्रदेश सभा सदस्य बिन्दमान बिष्ट लगायतको पनि उपस्थिति रहेको थियो ।
वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु
काठमाडौं । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार आइतबार राती २ बजे हाम फालेर मृत्यु भएको हो । ती पुरुष अन्दाजी ४० वर्षका रहेको उनले बताए । उनका अनुसार मान्छेको परिचय भने खुलेको छैन । अहिले लाश बेवारिसे अवस्थामा रहेको उनको भनाइ छ । ‘हिजो राति २ बजे अस्पतालको छतबाट हाम फालेको हो, अस्पतालमा आएर सिधैं हाम फाले, उनी बिरामी होइनन्,’ सूचना अधिकारी मिश्रले भने, ‘कुन ठाउँको मान्छे, को मान्छे हो भनेर थाहा नै छैन, अहिले उनको लाश टिचिङ अस्पतालमा राखिएको छ ।’
अदालतको आदेश विपरित गुम्बा नभत्काउन महानगरलाई आग्रह
काठमाडौं । काठमाडौँ महानगरपालिका-१० देवीनगरस्थित काठमाडौँ उपत्यका गुम्बा तमु सेवा समितिले गुम्बा नभत्काउन आग्रह गरेको छ । समितिले उच्च अदालत पाटनबाट अर्को आदेश नभएसम्मका लागि गुम्बा नभत्काउन आदेश दिए पनि महानगरपालिकाले सार्वजनिक जग्गामा निर्मित भनेर हटाउन अल्टिमेटम दिएको छ । काठमाडौँ उपत्यका गुम्बा तमु सेवा समितिले विज्ञप्ति जारी गरेर महानगरपालिकालाई बौद्ध धर्मालम्बीको आस्थाको केन्द्र रहेकाले गुम्बाको संरक्षण गर्न आग्रह गरेको हो । समितिका अध्यक्ष टिकाराम गुरुङद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘विसं २०६६ जेठ २१ गते बुद्ध धर्मप्रति आस्था राख्ने गुरुङ समुदायका व्यक्ति बुद्ध धर्मको ज्ञान, उपदेश, प्रवचन दिने र दिन लगाउने उदेश्यका साथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिमा समेत दर्ता गरेर काठमाडौँ उपत्यका गुम्बा तमु सेवा समिति सञ्चालनमा रहेको छ ।’ गुम्बा स्थापनार्थ वडा कार्यालयको सिफारिसमा जग्गा प्रमाणित गरेर वडाकै डिजाइनमा गुम्बा निर्माण गरिएको जनाइएको छ । साथै तत्कालिन वडा कार्यालयबाट पनि बजेट विनियोजन भई गुम्बाको भवन निर्माणमा सहयोग रहेको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘गुम्बा निर्माणमा सयौं बौद्ध धर्माबलम्बी आस्थाका व्यक्तिसहित पर्यटन मन्त्रालय, शहरी विकास तथा भवन विभाग, जिल्ला समन्वय समिति काठमाडौँ, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति, संसदीय विकास कोषलगायत विभिन्न सङ्घ संस्थाबाट आर्थिक सहयोग जुटाइएको जानकारी गराउँदछौँ ।’ केही समय अगाडि महानगरपालिकाले धर्म, संस्कृति र समाजको वेवास्ता गर्दै सार्वजनिक सूचना जारी गरेर उक्त गुम्बा भत्काउन माइकिङ गर्ने कार्य गरिरहेको कुराले समितिको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ । महानगरले धर्म, संस्कृतिको रक्षा गर्नुपर्नेमा उल्टै भत्काउने कुरा राम्रो नहुने समितिको भनाइ छ । काठमाडौमा मात्र नभइ देशभर मन्दिर, गुम्बा, चैत्य, मस्जिद, चर्चलगायत धार्मिक आस्थाका केन्द्र सार्वजनिक जग्गामै बनेका स्मरण गराउँदै समितिले महानगरलाई आफ्नो मातहत ल्याएर सो गुम्बाको संरक्षण गर्नसमेत आग्रह गरेको छ । गत साउन ३ गते महानगरले डोजर ल्याएर देवीनगरमा उक्त संरचना भत्काउन खोज्दा उच्च अदालत पाटनबाट तत्काल गुम्बा नभत्काउन आदेश जारी भए पनि महानगरले त्यसको अवज्ञा गरेको जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘संरचना आफै नहटाए भत्काउने भन्दै महानगरपालिकाले माइकिङ गर्नु सम्मानित अदालतको अपहेलनाका हो ।’ रासस
सुनको मूल्य बढेर प्रतितोला एक लाख १३ हजार रुपैयाँ पुग्यो
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार चार सय ५० रुपैयाँ तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार चार सय ६५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।
मुक्तिनाथ कृषि कम्पनीका ५ वटा संरचना सञ्चालनमा, एआईमा आधारित एपदेखि प्रादेशिक कार्यालय
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले कृषि संरचनाहरु उद्घाटन गरेको छ । कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, सेवाग्राहीहरुलाई देशव्यापी रुपमा उच्चस्तरीय र दीगो सेवा प्रदान गर्ने अभिप्रायले ५ वटा कृषि संरचनाको डिजिटल उद्घाटन गरेको हो । क्यापिटलका अनुसार इटहरी, बर्दिवास, काठमाडौं, बुटवल, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालय, स्याङजा र चितवनमा फार्म उत्कृष्टता केन्द्र, कृषिमा लगानी प्रवद्र्धनका लागि कृषि व्यवसाय परामर्श केन्द्र, कृषकहरुलाई दैनिक सेवाको लागि कृषकसँग मुक्तिनाथ कल सेन्टर र आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित मुक्तिनाथ एप सञ्चालनमा ल्याएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.वेदुराम भुसालले ५ वटै कृषि संरचनाको उद्घाटन गर्दै कृषि क्षेत्रको समग्र विकासमा नीजि क्षेत्रको भुमिका महत्वपूर्ण रहेको बताए । कृषकहरुको उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले सिंचाई लगायत कृषि संरचनाहरुको विकासमा जोड दिनु पर्ने उनको भनाइ छ । साथै, उक्त सामाग्री खरीद सुनिश्चितता गर्ने संरचनाको निर्माणमा सबै मिलेर अघि बढ्नु पर्ने उनले बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठले १६ औं पञ्चवर्षिय योजना निर्माणको अन्तिम चरणमा रहेको जानकारी गराए । मुक्तिनाथ कृषि कम्पनीले आयोजना गरेको कार्यक्रम फलदायी रहेको र सार्वजनिक नीजि सहकारीको साझेदारीको अवधारणालाई योजनामा समेट्ने उनको भनाइ छ । कम्पनीका अध्यक्ष भरतराज ढकालले मुक्तिनाथ कृषि जस्ता पब्लिक कम्पनीको लगानीलाई आकर्षण, प्रवद्र्धन, विकास र नियमनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय मातहत एकीकृत कृषि विकास प्राधिकरणको स्थापना गर्नुपर्ने र सार्वजनिक नीजि सहकारीको साझेदारीमा कृषि चक्रको निर्माण गर्नुपर्ने बताए । सयुंक्त राष्ट्र संघ, विश्व खाद्य संगठनका नेपाल प्रमुख केन सिमिजूले कम्पनीसँग कोदोजन्य बालिलाई प्रवद्र्धन गर्न सहकार्य गरेको बताए । साथै, उनले आगामी दिनमा कुटनीतिक नियोग, सरकार र निजी क्षेत्रको साझेदारीमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । मुक्तिनाथ कृषि कम्पनी, कृषकसँग मुक्तिनाथ र उपभोक्तासँग मुक्तिनाथ अभियानद्वारा संस्थागत मूल्य श्रृंखला व्यवस्थापनमार्फत् कृषि चक्रको निर्माण गर्दै अर्थतन्त्र सबल बनाउने अभिप्रायले वि.सं. २०७५ भदौ १५ गते स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो । यो कम्पनीको मुख्य प्रवद्र्धक मुक्तिनाथ विकास बैंक छ । साथै, विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरुको समेत लगानी रहेको छ । कम्पनीले विगत ५ वर्षदेखि कृषिको समग्र मूल्य श्रृङखला व्यवस्थापनका लागि व्यवस्थापकीय भूमिका निर्वाह गर्नको लागि मुख्यत कृषि श्रोत केन्द्र, कृषि प्रशोधन केन्द्र, कृषि बजार केन्द्र र कृषि व्यवसाय परामर्श केन्द्रको अवधारणा कार्यान्वयनको लागि संस्थागत संरचनाहरुको विकासको शुरुवात गरेको छ ।