काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले कृषि संरचनाहरु उद्घाटन गरेको छ । कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, सेवाग्राहीहरुलाई देशव्यापी रुपमा उच्चस्तरीय र दीगो सेवा प्रदान गर्ने अभिप्रायले ५ वटा कृषि संरचनाको डिजिटल उद्घाटन गरेको हो ।
क्यापिटलका अनुसार इटहरी, बर्दिवास, काठमाडौं, बुटवल, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालय, स्याङजा र चितवनमा फार्म उत्कृष्टता केन्द्र, कृषिमा लगानी प्रवद्र्धनका लागि कृषि व्यवसाय परामर्श केन्द्र, कृषकहरुलाई दैनिक सेवाको लागि कृषकसँग मुक्तिनाथ कल सेन्टर र आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित मुक्तिनाथ एप सञ्चालनमा ल्याएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्री डा.वेदुराम भुसालले ५ वटै कृषि संरचनाको उद्घाटन गर्दै कृषि क्षेत्रको समग्र विकासमा नीजि क्षेत्रको भुमिका महत्वपूर्ण रहेको बताए । कृषकहरुको उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले सिंचाई लगायत कृषि संरचनाहरुको विकासमा जोड दिनु पर्ने उनको भनाइ छ । साथै, उक्त सामाग्री खरीद सुनिश्चितता गर्ने संरचनाको निर्माणमा सबै मिलेर अघि बढ्नु पर्ने उनले बताए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठले १६ औं पञ्चवर्षिय योजना निर्माणको अन्तिम चरणमा रहेको जानकारी गराए । मुक्तिनाथ कृषि कम्पनीले आयोजना गरेको कार्यक्रम फलदायी रहेको र सार्वजनिक नीजि सहकारीको साझेदारीको अवधारणालाई योजनामा समेट्ने उनको भनाइ छ ।
कम्पनीका अध्यक्ष भरतराज ढकालले मुक्तिनाथ कृषि जस्ता पब्लिक कम्पनीको लगानीलाई आकर्षण, प्रवद्र्धन, विकास र नियमनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय मातहत एकीकृत कृषि विकास प्राधिकरणको स्थापना गर्नुपर्ने र सार्वजनिक नीजि सहकारीको साझेदारीमा कृषि चक्रको निर्माण गर्नुपर्ने बताए ।
सयुंक्त राष्ट्र संघ, विश्व खाद्य संगठनका नेपाल प्रमुख केन सिमिजूले कम्पनीसँग कोदोजन्य बालिलाई प्रवद्र्धन गर्न सहकार्य गरेको बताए । साथै, उनले आगामी दिनमा कुटनीतिक नियोग, सरकार र निजी क्षेत्रको साझेदारीमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
मुक्तिनाथ कृषि कम्पनी, कृषकसँग मुक्तिनाथ र उपभोक्तासँग मुक्तिनाथ अभियानद्वारा संस्थागत मूल्य श्रृंखला व्यवस्थापनमार्फत् कृषि चक्रको निर्माण गर्दै अर्थतन्त्र सबल बनाउने अभिप्रायले वि.सं. २०७५ भदौ १५ गते स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो । यो कम्पनीको मुख्य प्रवद्र्धक मुक्तिनाथ विकास बैंक छ । साथै, विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरुको समेत लगानी रहेको छ ।
कम्पनीले विगत ५ वर्षदेखि कृषिको समग्र मूल्य श्रृङखला व्यवस्थापनका लागि व्यवस्थापकीय भूमिका निर्वाह गर्नको लागि मुख्यत कृषि श्रोत केन्द्र, कृषि प्रशोधन केन्द्र, कृषि बजार केन्द्र र कृषि व्यवसाय परामर्श केन्द्रको अवधारणा कार्यान्वयनको लागि संस्थागत संरचनाहरुको विकासको शुरुवात गरेको छ ।