विकासन्युज

नेपाल र भारतबीचको क्रिकेट हेर्न जनकपुरमा २ बजेपछि बिदा

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न जनकपुरधाम उपमहानगरपालिका सबै विद्यालयमा बिदा दिएको छ । जनकपुरधाम उपमहानगरपालिका कार्यालयले आइतबार साँझ एक सूचना जारी गर्दै आज दिउँसो २ बजेदेखि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न भनेको छ । ‘जनकपुरधाम उपमहानगरपालिकाअन्तर्गत राम जानकी बहुद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीमा खेल भावना र एसिया कपमा नेपाल र भारतसँग हुने खेलमा नेपाल गौरवान्वित महसुस गरेकोले टिमको हौसल बढाउन कुनै पनि कक्षा सञ्चालन नगरी बिदा गरिदिनुहुन आदेशानुसार अनुरोध छ,’ शिक्षा तथा खेलकुद विकास शाखाकी प्रमुख अन्जु पाण्डेले जारी गरेको सूचनामा भनिएको छ । यसअघि भदौ १३ गते भएको नेपाल र पाकिस्तानबीच भएको खेलमा पनि नेपाली खेलाडीलाई हौसला बढाउन जनकपुरधाम उपमहानगरले दिउँसो २ बजेपछि विद्यालयहरुमा बिदा दिएको थियो । श्रीलंकाको पेल्लेकेले मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि नेपाल र भारतबीच खेल सुरु हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि पहिलोपटक भारतको सिनियर टिमसँग खेल्न लागेको हो ।

नेपाल रिको ४० लाख कित्ता सेयर बेच्दै प्रभु र नेपाल इन्स्योरेन्स

काठमाडौं । निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका प्रभु र नेपाल इन्स्योरेन्सले नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) को ४० लाख कित्ता सेयर बिक्री गर्ने भएका छन् । पुँजी वृद्धि गर्नको लागि दुई कम्पनीले नेपाल रिको २०/२० लाख कित्ता गरी कूल ४० लाख सेयर बिक्री गर्ने योजना बनाएका हुन् । नेपाल बीमा प्राधिकरणले गत साता दुबै कम्पनीलाई ७ दिन भित्रमा क्यापिटल प्लान पेश गर्न निर्देशन दिएको थियो । सो निर्देशनअनुसार दुबै कम्पनीहरुले नेपाल रिको सेयर बिक्री गरेर पुँजी वृद्धिको प्रकृया अघि बढाउने योजना बनाएका नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । ‘दुबै कम्पनीको बोर्डले नेपाल रि इन्स्योरेन्समा भएको आ-आफ्नो सेयर बिक्री गर्ने निर्णय हामीकोमा पेश गरेका छन्, सो अनुसार उनीहरुले २०/२० लाख कित्ता सेयर बिक्री गर्ने छन्,’ अध्यक्ष सिलवालले विकासन्युजसँग भने । कम्पनीहरुले बनाएका योजनाअनुसार सेयर बिक्री गर्दा अहिलेको बजारमा करिब ६०/६५ करोड रुपैयाँ हुन आउने समेत अध्यक्ष सिलवाल बताउँछन् । र, नपुगेको पुँजी बोनस तथा हकप्रद मार्फत पुर्याउन दिने उनले बताए । नेपाल इन्स्योरेन्सका अध्यक्ष लक्ष्मण पौडेलले हाल बिक्रीमा राखिएको घरजग्गा बिक्ने सम्भावना न्यून देखिएकाले सेयर बिक्री गरेर पुँजी थप्ने योजना बनाइएको बताए । ‘हामीले नयाँ योजनाअनुसार नेपाल रिको सेयर बिक्री गर्ने की भनेर प्राधिकरणसँग स्वीकृति मागेका छौं,’ विकासन्युजसँग बोल्दै अध्यक्ष पौडेलले भने- ‘हाम्रो पुरानो योजना त सम्पत्ति बेचेर नै पुँजी पुर्याउने हो, तर देशको हालको अवस्थाअनुसार सम्पत्ति बिक्री हुने अनुकुल समय पनि छैन, तैपनि सम्भव भएसम्म सम्पत्ति बेच्न प्रयास गर्ने छौं ।’ उनका अनुसार नेपाल इन्स्योरेन्ससँग मर्जरमा जाने विकल्प छैन । कम्पनीले अब घरजग्गा वा सेयर बिक्री गरेर पुँजी वृद्धि गर्ने योजना बनाएको छ । यता प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामा पनि सेयर बचेर भएपनि पुँजी थप्ने योजना रहेको बताउँछिन् । ‘पुँजी वृद्धि गर्नको लागि हामीसँग विभिन्न विकल्पहरु छन्, विदेशी लगानी भित्र्याउनेदेखि लिएर हकप्रद सेयर जारी गर्ने वा अन्य सम्पत्तिहरु बिक्री गरेर हुन्छ या कसरी हुन्छ पुँजी बढाउँछौं,’ उनले भनिन् । हाल विदेशी लगानी भित्र्याउन उचित समय नभएकाले विदेशी लगानी भित्र्याएर पुँजी वृद्धि गर्ने प्रभुको यसअघिको योजना भने बिफल हुने सम्भावना प्रवल देखिन्छ । तर इन्स्योरेन्स भने सकेसम्म विदेशी लगानी भित्र्याउने प्रयासमा लागि रहेको अध्यक्ष लामा बताउँछिन् । ‘हाल देशमा आर्थिक मन्दी छ, विदेशी लगानी भित्र्याउनको लागि उपयुक्त समय छैन, तर पनि नभएपनि हामीले यो विषयमा विदेशीहरुसँग छलफल गरिरहेका छौं, उनीहरुले हालसम्म एस/नो केही पनि भनेका छैनन्, त्यसैले पनि यो विषयमा टुंगो लाग्न नसकेको छैन,’ अध्यक्ष लामाले विकासन्युजलाई बताइन् । विदेशी लगानी भित्र्याउन नसकेमा सम्पत्ति बेच्ने योजना प्रभुको छ । ‘हामीले सम्पत्ति बेच्ने पनि भनिरहेका छौं, हामीसँग नेपाल रिसहित वाणिज्य बैंकहरु लगायत अन्य थुप्रै कम्पनीको सेयरहरु छन्, ती सेयरहरु बेचेर भएपनि पुँजी बढाउँछौं,’ अध्यक्ष लामाले विकासन्युजसँग भनिन् । नेपाल र प्रभु इन्स्योरेन्सलाई यो योजनाअनुसार पुँजी बढाउन प्राधिकरणले सैद्धान्तिक स्वीकृति दिने समेत अध्यक्ष सिलवालले बताए । प्राधिकरणले स्वीकृति दिएसँगै कम्पनीहरुले नेपाल रिसँग प्रमोटर सेयर बिक्री गर्न स्वीकृति माग्ने छन् । र, नेपाल रिबाट स्वीकृत भएर आएपछि दुबै कम्पनीले सेयर बिक्रीको प्रकृया अघि बढाउने छन् । कम्पनीहरुले सम्पत्ति बिक्री गरेर पुँजी बढाउन पाइने प्राधिकरणको निर्देशन दिएअनुसारनै दुबै कम्पनीहरुले आफ्नो क्यापिटल प्लान बनाएका छन् । यो योजनाअनुसार प्रयास गर्दा गर्दै पनि पुँजी अपुग भएमा प्राधिकरणले बोनस तथा हकप्रद मार्फत पुँजी पुर्याउन बाटो खुल्ला गरिदिने मनसायमा प्राधिकरण छ ।

ठुला मिटरब्याजी अनुपस्थीत भएपछि ललितपुरले प्रहरी कार्यालयलाई लेख्यो पत्र

काठमाडौं । २०८० साल असार १२ गते देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाइले आफु र आफना संस्था डुबाउन भुमिका खेल्ने मिटरब्याजीहरु विरुद्ध जिल्ला प्रशासन कार्यालय ललितपुरमा मुद्धा दर्ता गरेका थिए । उक्त मुद्धा दर्ता भए लगत्तै छानविन सुरु भएको थियो । सोसँगै ३ जना मिटरब्याजीले चलन चल्तीको ब्याज भन्दा माथीको नगद र धितोमा राखेको घरजग्गा, गाडी फिर्ता गरेको पिडित चौलागाइले बताएका छन् । बाँकी रहेका १२ जना मिटरब्याजीहरु सम्पर्कमा नआएको उनले सुनाए । जिप्रका ललितपुरले सम्पर्कमा आउन भनेपनि नआएपछि जिल्ला प्रहरी कार्यालय ललितपुरमा उनीहरु सम्पर्कमा नआएको बारे प्रशासनले जानकारी पत्र पठाएको छ । सो पत्र पठाएको बारे मिटरब्याज पिडित रविन्द्र चौलागाइले बताएका छन् । चौलागाँइले मुद्धा हालेका मिटरब्याजीहरुमा सिताराम राउत, विवेक केसी, आशिष प्रधान, रवी मर्हजन, रुविन मर्हजन,सुमन मर्हजन, मोहन घिमिरे, सञ्जय अधिकारी, विशाल नारायण भारी, भावना भारी, कमला खत्री, मञ्जु भण्डारी, हितेश केसी, र अविनाश कार्की (जनप्रिय सहकारी अध्यक्ष ) लगायत रहेको जिल्ला प्रशासन कार्यालय ललितपुरको पत्रमा उल्लेख छ । उनीहरुले मिटरब्याजमा पैसा लगाएको पुष्टि भएपछि र सम्र्पकमा नआएपछि जिप्रकाले प्रहरी कार्यालयमा पत्र पठाएको बताइएको छ । मिटरब्याजीहरु सम्पर्कमा नआएपछि र बारम्बार फोन गर्दा समेत उपस्थीत नभएको कारण जिल्ला प्रशासनले उनीहरु विरुद्ध प्रहरी कार्यालयमा पत्र पठाएको चौलागाइले बताए । मिटरब्याज सम्बन्धी कानुन बनेपछि आफनो अतिरिक्क्त रकम खाएकाहरुबाट रकम फिर्ता हुने आशा पलाएको चौलागाइले बताएका छन् । सो रकम फिर्ता भएपछि सहकारीका साना बचतकर्ताहरुको बाँकी रहेको निक्षेप फिर्ता गर्ने योजना रहेको उनले सुनाए ।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्न संसदीय समितिबाट सम्बोधन हुनेछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्न लाई संसदीय समितिबाट समाधान हुने विश्वास लिएको बताएका छन् । सोमबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नयाँ संसद् प्रारम्भ भएपछि केही सुधारसहित विधेयक दर्ता भई अहिले संसदीय समितिमा विचाराधीन रहेको उल्लेख गर्दै सरोकारवालाहरूले उठाएका केही समस्याहरूलाई समितिले समाधान गर्ने आशा लिएको बताए । यस संशोधनले नेपाललाई पीडितको अधिकार, स्थिर र दिगो शान्तितर्फ देशलाई लैजाने बताए । उनले संक्रमणकालीन न्यायको सन्दर्भमा संघर्षको प्रकृति, सन्दर्भ र लोकतन्त्रको स्थापनासँगै सामाजिक परिवर्तनमा खेलिएको भुमिकाबारे विचार गर्न आवश्यक रहेको बताए । संघर्षपछि बनाइएको नयाँ संविधानमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई उपलब्धिका रुपमा चिनाउनु प्रमुख एजेण्डा रहेको बताए । उनले जनयुद्धकै कारण आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त भएको दाबी गरे । प्रधानमन्त्री दाहालले विगतमा भएका मानव अधिकार उल्लंघनका विषयलाई अझै सम्बोधन गर्न नसकेकोप्रति चिन्ता व्यक्त गरे । प्रधानमन्त्री दाहालले संशोधनले पीडितको पक्षलाई पनि सम्बोधन गर्ने बताए । अध्यक्ष नेपालले पार्टीलाई जनताको बीचमा लैजाने गरी गतिविधिहरुलाई अघि बढाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । उनले भने ‘नयाँ संविधान आफैँमा शान्ति सम्झौताको उपज हो । जसले अन्तर्राष्ट्रिय मानवअधिकार कानूनमा समावेश गरिएका लगभग सबै मानवअधिकारहरू समावेश गर्दछ । संविधानमा भएका आर्थिक सामाजिक र सांस्कृतिक अधिकारहरूको तत्काल कार्यान्वयनलाई द्वन्द्वको मुख्य एजेण्डा रहेको प्रमुख उपलब्धिको रूपमा चिन्हित गर्न सकिन्छ । यस प्रयासमा, हामी विस्तृत शान्ति सम्झौता, नेपालको सर्वोच्च अदालतको निर्देशन र सान्दर्भिक अन्तर्राष्ट्रिय प्रतिवद्धताहरू साथै पीडितहरूको चासो समेटेर जानेछौँ । यसका लागि पीडितलगायत सम्बन्धित सरोकारवालासँग परामर्श गरी बेपत्ता तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०१४ लाई संशोधन गरी २०२२ जुलाईमा संसदमा पेस गरिएको थियो । सरोकारवालाहरूले उठाएका केही समस्याहरूलाई समितिले समाधान गर्नेछ भन्ने हामी आशावादी छौँ ।’

अवरुद्ध ताप्लेजुङ–काठमाडौं उडान सुचारु

ताप्लेजुङ । नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौँ सुकेटार उडान सुरु गरेको छ । खराब मौसमलगायतका कारण गत जेठ २४ गतेदेखि काठमाडौं सुकेटार उडान हुन सकेको थिएन । मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी र्दिए । लामो समयपछि भएको उडानमार्फत काठमाडौंबाट छ यात्री ताप्लेजुङ आएका छन् भने एक जना यात्री काठमाडौं गएका छन् । पहिलेकै उडान तालिकाअनुसार साताको सोमबार, बिहीबार र शनिबार नियमित उडान हुने उनले बताएका छन् । करिब एक हजार आठ सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ । यसअघिको तुलनामा उडानको भाडा दरसमेत घटाइएको छ । काठमाडौं ताप्लेजुङको भाडा यसअघि नौ हजार छ सय ५३ थियो भने हाल घटाएर आठ हजार छ सय रुपैयाँ कायम गरिएको छ । यस्तै ताप्लेजुङ काठमाडौंको भाडा यसअघि नौ हजार चार सय ५३ भएकोमा यसलाई घटाएर आठ हजार चार सय रुपैयाँमा झारिएको छ । मौसममा क्रमशः सुधार आएको र चाडबाड नजिकिएकाले नियमितरुपमा उडान हुने विमानस्थलको विश्वास छ । यस्तै पर्यटनको समेत सिजन लागेकाले यात्रुको अभावसमेत नहुने अनुमान गरिएको विमानस्थलले जनाएको छ । रासस

बसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

फाइल फाेटाे काठमाडौं । काठमाडौंको बसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालक दावा दोर्जे शेर्पाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३ तिलिङ्गाटारमा गए राति बागमती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३–०२–००६ प ६४०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सङ्खुवासभा मकालु गाउँपालिका–१ का शेर्पाको आज बिहान मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा ग्रिनसिटी अस्पताल वसुन्धरामा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । मोटरसाइकलको पछाडि बस्ने १९ वर्षीय डोल्मा शेर्पा घाइते भएकी छन् । उनको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रवक्ता भट्टले बताए । भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भ्यानका चालक बारा घर भई काठमाडौंको माछापोखरी बस्ने २५ वर्षीय जीतेन्द्र माझीको साथमा काजपत्र नभएको र मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएको प्रहरीले जनाएको छ ।

४५ वर्षमा ४० जना पर्यटन मन्त्री फेरिए, निजी स्वार्थले वायुसेवा निगम धरासायी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व छिटोछिटो परिवर्तन हुँदा नेपाल वायुसेवा निगम धरासायी भएको प्रारम्भिक निश्कर्ष अध्ययन कार्यदलले निकालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले केही समयअघि योजना आयोगका पूर्व अध्यक्ष एवं पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा नेपाल वायुसेवा निगमको संरचनागत तथा व्यवस्थापकीय पक्षको अध्ययन गरी सुझाव पेस गर्न पाँच सदस्यीय अध्ययन समिति गठन गरेका थिए । उक्त समितिमा क्याप्टेन ओम गुरुङ, सञ्चारकर्मी टिकाराम राई, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट पियुस आनन्द र सहारा न्यौपाने सदस्य रहेका छन् । क्षेत्री नेतृत्वको कार्यदलले तालुक निकायको नेतृत्व परिवर्तनको असर वायुसेवा निगममा परेको प्रारम्भिक निश्कर्ष निकालेको हो । ४५ वर्षको अवधिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व ४० पटक फेरिएको तथ्यांक अध्ययन समितिले तयार पारेको छ । ‘वि.स. २०३४ सालपछि २०७९ सालसम्म ४५ वर्षको अवधिमा ४० जना पर्यटन मन्त्री बन्नुभएछ । मन्त्री परिवर्तन भएसँगै उसको पहिलो नजर नेपाल वायुसेवा निगममा पर्ने र मन्त्रीको दबाब र प्रभावका कारण नियमले कामै गर्न नसक्ने अवस्था हुने रहेछ’, अध्ययन समितिका एक सदस्यले भने । मन्त्रीले निगममा आफु अनुकुलको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक नियुक्ति गर्ने र त्यसैबाट फाइदा लिने उद्देश्य राख्दा नियम थिलथिलो बन्ने गरेको अध्ययनको क्रममा पाइएको ती सदस्यले बताए । बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्रालयको जिम्मेवारी सम्हालेको केही समयपछि यसअघिका मन्त्रीहरूले वायु सेवा निगम बिगारेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । मन्त्रीले कार्यकारी अध्यक्ष र महाप्रबन्धक नियुक्ति गर्दा ठूलो रकम बुझ्ने र ती जिम्मेवारीमा लगिएका व्यक्तिले पनि त्यसरी बुझाएको रकम असुल्न लाग्ने हुँदा निगम दिनदिनै धरासायी बनेको आफुले पाएको मन्त्री किरातीले बताएका थिए । सरकार अथवा पर्यटन मन्त्रालयको नेतृत्व परिवर्तन हुनासाथ उनीहरु निकट व्यक्तिहरु वायुसेवा निगमको नेतृत्वमा नियुक्ति लिनका लागि ब्रिफकेस नै लिएर धाउने गरेको चर्चा बेलाबखत हुने गरेको छ । कतिपय अवस्थामा राजनीतिक र आर्थिक प्रभावका कारण वायुसेवा सम्बन्धी सामान्य ज्ञानसमेत नभएको व्यक्तिलाई नेतृत्वमा थोपरी दिँदा निगमको प्राकृतिक प्रगतिमा समेत अवरोध सिर्जना भएको तथ्य अध्ययन समितिले प्रतिवेदनमा समावेश गर्न लागेको ती सदस्यले बताएका छन् । ४५ वर्षको अवधिमा दुई जना मन्त्रीको कार्यकाल १५ देखि १९ दिनको रहेको पाइएको उनले बताए । यस्तैगरी, १० प्रतिशत मन्त्रीहरुले ६ महिना र अधिकांश मन्त्रीहरूले एक वर्षको अवधि पर्यटन मन्त्रालयमा विताएको पाइएको उनले बताए । निगमले पर्याप्त अभिभावकत्व नपाएको कारण उल्लेख्य प्रगति गर्न नसकेको तथ्य प्रतिवेदनमा उल्लेख गर्न लागिएको छ । ‘निगम पूर्णरूपमा सरकारी स्वामित्वमा सञ्चालित संस्था हो, तर निगमले आवश्यक पर्दा अभिभावकत्व नपाएको पाइयो’, ती सदस्यले भने । २१ वर्षमा ८ वटा कार्यदल गठन वायुसेवा निगमको सुधारका लागि भनेर २१ वर्षमा आठ वटा कार्यदल बनेको छ । पूर्व गभर्नर क्षेत्रीको संयोजकत्वमा गठन भएको आठौं कार्यदल हो । २०५८ माघ २२ गते सरकारले पहिलो पटक पूर्व सचिव दामोदरप्रसाद गौतमको अध्यक्षतामा वायुसेवा निगमको अध्ययन कार्यदल गठन गरेको थियो । त्यसपछि सरकारले निगम सुधारका लागि आएका सुझाव समेत समेटेर कार्ययोजना बनाउन २०५९ सालमा राष्ट्रिय योजना आयोगका तत्कालीन सदस्य डा. शंकर शर्माको संयोजकत्वमा उच्चस्तरीय कार्ययोजना समिति गठन गरेको थियो । डा. शर्मा नेतृत्वको समितिले २४ भदौ २०५९ मा सरकारलाई आफ्नो प्रतिवेदन बुझायो । तेस्रो कार्यदलका रूपमा २०६२ सालको भदौ २६ गते केदारलाल जोशी, २०६६ सालमा तत्कालीन पर्यटन मन्त्रालयका सहसचिव मुरारीबहादुर कार्कीको अध्यक्षतामा कार्यदल गठन गरिएको थियो । उक्त समितिले २०६७ को जेठ १२ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो । तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराइले २०७६ साउनमा निगम सुधारका लागि अध्ययन समिति गठन गरे । उनले पूर्वसचिव सुशील घिमिरेको अध्यक्षतामा त्यस्तो अध्ययन समिति बनाएका थिए । मन्त्रालयको नेतृत्वमा आउनसाथ निगम सुधारका ठूला कुरा गर्ने, कार्यदल बनाउने तर, त्यसको उपलब्धी भने नहुने हुँदै आएको छ । अध्ययन समिति र कार्यदलले बनाएका सबै प्रतिवेदन मन्त्रालयमा थन्किएका छन् । ती प्रतिवेदनमा थुप्रिएको धुलो टकटक्याएर सुझाव कार्यन्वयन गर्ने आँट र पहल कुनै पनि मन्त्रीले गरेका छैनन् । बरु, आफु निकटमा व्यक्तिहरुलाई खुसी पार्न कार्यदल गठन गर्दै जागिर दिने प्रवृत्ति यथावत छ । ‘पर्यटन मन्त्रीक नियुक्त भएसँगै निगम सुधारका प्रचारवाजी हुन्छन् । कार्यदल बन्छन् तर, उपलब्धी हुँदैन’, अहिलेको अध्ययन समितिका एक अधिकारीले भने, ‘पहिला गठन भएका कार्यदलले दिएका सुझाव अनुसार काम भएको भए २०५८ सालमै गठन भएको कार्यदल पर्याप्त थियो ।’ क्षेत्रीको संयोजकत्वमा अध्ययन समितिलाई तीन महिनाको समय दिइएको थियो । समितिले पाएको समय सकिइसकेको छ । तर, काम भने नसकिएको उनीहरुले बताएका छन् । ‘हामीलाई ३ महिनाको समय दिइएको थियो, तोकिएको समय सकियो, म्याद थप नगरी काम सक्ने तयारीमा छौँ’, उनले भने, ‘समय थप्दा सरकारी दायित्व बढ्छ, दायित्व बढ्न नदिने भनेर अबको १० दिनभित्र प्रतिवेदन तयार गरेर बुझाउने प्रयासमा छौं’, ती सदस्यले भने ।

यस्ता छन् ‘सेरेस-३’ को विशेषताहरु

काठमाडौं । नेपालमा विद्युतीय सवारी ल्यान्डस्केपलाई अझ विस्तार गर्ने क्रममा, एमएडब्लु वृद्धि अटोकर्प गर्वका साथ प्रस्तुत गर्दछ विश्वव्यापी रूपमा प्रशंसित सेरेस ३ इलेक्ट्रिक एसयूभी । एमएडब्लु वृद्धि अटोकर्पको बारेमा: १९६४ मा स्थापित, एमएडब्ल्यु ग्रुप नेपालको दोस्रो ठूलो आटोमोटिभ समूह हो, जसले स्कोडा, जीप, जेसीबी, यामाहा, चांगन र फोटोनका ब्राण्डहरूको प्रतिनिधित्व गर्दछ । आफ्नो उल्लेखनीय ५९ वर्षको यात्रामा, कम्पनीले १,००० भन्दा बढी कर्मचारीहरूको कार्यबलद्वारा नेपालभर ३५३ भन्दा बढी बिक्री र सर्विसहरूसँग आफ्नो स्थान विस्तार गर्दै आइरहेको छ। एमएडब्ल्यु ग्रुपको विशाल अनुभव र प्रतिबद्धताका कारण नेपाली उपभोक्ताहरूले विश्वस्तरीय सवारी साधन र सेवाहरु प्राप्त गर्दै आइरहेक छन् । सेरेस को बारेमा: २०२३ को द्रुत गतिमा अघि बढ्दो अटोमोटिभ ब्रान्डको रूपमा विश्वव्यापी रूपमा मान्यता प्राप्त सेरेस विद्युतीय सवारीमा मात्र नभई विश्वको अग्रणी ‘टेक्नोलोजी जायन्ट’ हुवावेको इलेक्ट्रिक सवारीको लागि निर्माण साझेदारको रूपमा पनि सेवा प्रदान गर्दछ। सेरेसले २१ युरोपेली राष्ट्रहरूमा बलियो उपस्थितिको साथ आफुलाई चिन भन्दा बाहिर पनि राम्रो छाप छोड्न सफल भएको छ। सेरेसले ७० भन्दा बढी मुलुकमा आफ्नो दमदार उपस्थिति देखाइसकेको छ भने ७१ औं रास्ट्रिय को रुपमा नेपालमा प्रवेश गर्ने भएको छ। इभीको उपलब्धतालाई सहज र दिगो बनाउने उद्देश्यका साथ अघि बढिरहेको सेरेसले विश्वलाई प्रदुषण मुक्त बनाउने दिर्घकालिन लक्ष्य लिएको छ। सेरेस नविनतम प्रव्रिधिको विकास गर्न चीनमा मात्र नभई अमेरिका र जापान लगायत मुलुकमा पनि आफ्नो अत्याधुनिक ‘रिसर्च एण्ड डेभलपमेन्ट विंग’ लाई संचालन गर्दै आएको छ। सेरेसको प्रभावशाली लाइन-अपमा सेरेस ५, सेरेस ई-१ , र अब सेरेस ३ पनि समावेश छ। सेरेस ३ इलेक्ट्रिक एसयूभी को फिचर्सहरु: सेरेस ३ विद्युतीय सवारी साधनमा मात्र सिमित नभई लक्जरी, पावर र अन-रोड र अफ-रोड दुवै सडकमा आफ्नो क्षमताको प्रतिनिधित्व गर्द छ। पर्फमेन्स: ९९केडब्लु को मोटर पीक पावर र ५२.७ केडब्लुयच ब्याट्री संग, यसले ४०५ किमी (एनईडीसी) को उल्लेखनीय रेन्ज प्रदान गर्दछ। डिजाइन र कम्फोर्ट: आफ्नो सेग्मेन्टमा सबैभन्दा ठूलो एसयूभीको रूपमा परिचित, सेरेस ३ ले आरामदायिक डबल कुशन सीटहरूका साथसाथै पर्याप्त हेडरूम र लेगरूम प्रदान गर्द छ। टेक फिचर्स: चालक र यात्रु दुवैका लागि इलेक्ट्रिकल्ली एडजस्टेड सिटहरू, यचडि गुणस्तरको ३६०-डिग्री क्यामेरा, ड्यास क्याम, र एन्ड्रोइड अटो र एप्पल कार प्ले कनेक्टिभिटीका साथ रियल-टाइम अफलाइन जीपीएस ले यसलाई थप प्रविधियुक्त गाडी बनाउँछ। सुरक्षा विशेषताहरू: १८ इन्च टायर साइज र १९० एमएमको ग्राउन्ड क्लियेरंसले स्थिरताको सुनिश्चित गर्दछ। गाडीले भूगोल र अवस्था हेरेर ह्याण्डलिङको लागि ३ वटा स्टीरिंग मोड प्रदान गरेको छ। साथसाथै इमर्जेन्सी अवस्थाको लागि अतिरिक्त टायरको पनि व्यस्वस्था गरेको छ। डिस्प्ले: १०.२५ इन्चको जडान गरिएको इन्फोटेंमेन्ट स्क्रीन र ड्राइभर इन्फोटेंमेन्ट सिस्टमले गर्दा प्रयोगकर्ताहरुलाई आरामदायिक र अन्तरक्रियात्मक अनुभव प्रदान गर्दछ। नेपालमा सेरेस ३ को लन्च संगै नेपाली ग्राहकहरुले एउटा उत्कृस्ट इलेक्ट्रिक गाडीको अनुभव गर्न पाउनेछन् र सेरेस ३ ले युरोप र चीनमा पाएको सफलता नेपाली बजारमा पनि पाउनेमा एमएडब्लु ग्रुप बिस्वस्त छ।