विकासन्युज

रियलमीको डिस्ट्रिब्युटर मीट २०२३ सम्पन्न

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो डिस्ट्रिब्युटर मीट २०२३ सफलतापूर्वक सम्पन्न गरेको छ । गत शनिबार भाद्र २३ गते काठमाडौंको नक्सालस्थित मेरियट होटलमा आयोजना गरिएको उक्त डिस्ट्रिब्युटर मीटमा नेपालभरका ४० भन्दा बढी डिलरहरु सहभागी भएका थिए । आफ्ना डिस्ट्रिब्युटरहरुसँगको समबन्ध अझ प्रगाढ पार्ने उद्धेश्यले यस डिस्ट्रिब्युटर मीटको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । साथै, डिस्ट्रिब्युटरहरुसँग पारदर्शी सन्चार कायम राख्न तथा उनीहरुले सामना गरिरहेका प्रमुख चुनौती र तिनीहरुका समाधान खोज्न पनि यस डिस्ट्रिब्युटर मीटको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । डिस्ट्रिब्युटर मीटलाई सम्बोधन गर्दै रियलमी नेपालका कन्ट्री हेड श्री मुनिश गिरीले भने, ‘यस डिस्ट्रिब्युटर मीटमा उपस्थित हुनु भएका समस्त डिस्ट्रिब्युटरहरुप्रति हामी आभारी छौँ । डिस्ट्रिब्युटरहरुको लगातार मेहेनत र लगनशीलता नै हाम्रो सफलताको कडी हो । हामीलाई विश्वास छ कि हामी यसै गरि समन्वया गर्दै नेपाली प्रविधिमा नयाँ आयाम थप्नेछौँ र अझै प्रतिबद्ध भएर अगाडि बढनेछौँ ।’ उक्त कार्यक्रममा नेपालभरका डिस्ट्रिब्युटरहरुलाई उनीहरुको अटल सहयोगको कदरस्वरूप प्रमाणपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा जगदम्बा मोबाइल र पशुपति ट्रेड लिंकका कर्मचारीहरुको पनि उपस्थति रहेको थियो ।

त्रिभुवन विमानस्थलबाट एक किलो सुन बरामद

काठमाडौं । एक किलो अवैध सुन त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज सुन बरामद भएको हो । उक्त सुन विदेशबाट विमानमार्फत् आएको स्रोतले बतायो । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मलेसिया र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया र क्यानडा पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको प्रहरी टोलीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका–२ घर भई हाल टोखा नगरपालिका–१० बस्ने २७ वर्षीया तुलसा वाग्ले (अधिकारी) तथा झापाको गौरादह नगरपालिका–७ घर भई हाल काठमाडौँको कागेश्री मनोहरा नगरपालिका–१ सानटारी बस्ने २४ वर्षीय सुजन पुरी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । वाग्लेलाई खिमलाल बुढामगरसमेत दुई जनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै रकम ठगी गरी फरार रहेको तथा पुरीलाई भूमिराज राईलाई क्यानडा पठाइदिने भन्दै १० लाख ८५ हजार रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले जनाएको छ ।

सुन तस्करी प्रकरण : सिआइबीद्वारा प्रतिवेदन बुझाउने तयारी

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ । प्रतिवेदनको लेखन सकेर आज वा भोलिमा नै बुझाउने तयारी गरिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए । सङ्गठित अपराधको यस मुद्दामा अनुसन्धान भइरहेकोमा यसै महिनाको ३१ गते ६० दिन पुग्ने भएकाले सो अबधिसम्म मुद्दा अदालतमा पुग्नुपर्छ । प्रतिवेदन लेखन लगभग सकिएको र केही प्राविधिक काम बाँकी रहेको सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिए । उक्त सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा ३० जना प्रहरी हिरासतमा छन् । पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् । चिनियाँ नागरिकले त नेपाली नागरिकतासमेत लिएको खुलेको छ । तस्करीमा भन्सारका कर्मचारीकै मिलेमतो रहेको पाइएकाले पछिल्लो समयमा प्रहरीले भन्सार अधिकृत पुष्पा जोशीसहित नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपाली पक्राउ गरेको थियो । गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको अपरेशनका क्रममा हङकङबाट ब्रेक सुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको थियो । सुन भन्सार पास भएर निस्किएको थियो । विभागले आवश्यक अनुसन्धान सकेको १८ दिनपछि सुन प्रकरणको अनुसन्धान अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गरिरहेको छ । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम शुद्ध सुन भएको थियो । अहिले उक्त सुन राष्ट्र बैंकको संरक्षणमा रहेको छ । रासस

सर्भेयरको लाइसेन्स परीक्षा अनलाइनबाटै, शुल्क नबिल बैंकमा जम्मा गर्नुपर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट तालिम लिएका सर्भेयरहरुको लाइसेन्स परीक्षा अनलाइनबाट हुने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै सर्भेयरहरुको परीक्षा असोज २ गते अनलाइनबाट हुने जानकारी गराएको हो । उक्त परीक्षा बिहान ११ बजेदेखि हुने छ । प्राधिकरणका अनुसार परीक्षा दिने सर्भेयरहरुले भदौ ३० गतेसम्म रजिस्टर गरिसक्नु पर्ने छ । र, रजिष्टर भएको व्यक्तिहरुको नाम भदौ ३१ गते सार्वजनिक हुने प्राधिकरणले जानकारी गराएको छ । उक्त परीक्षाको लागि सर्भेयरहरुले पाँच सय रुपैयाँ दस्तुर बैंक खातामा जम्मा गर्नुपर्ने हुन्छ । जसको लागि नबिल बैंकको खाता नं. ०११००१३०११००१ मा र नाममा नेपाल इन्स्योरेन्स अथोरिटी लेख्नुपर्ने प्राधिकरणले जानकारी गराएको छ ।

औषधिको बजारीकरण मार्केटिङको जागिरले चक्रपाणि न्यौपानेलाई बनायो उद्योगी

चितवन । रोजगारीमा लागेपछि त्यसमा राम्रो काम देखाउने, पदोन्नति हुने, राम्रो सेवा र सुविधा पाउने उद्देश्य धेरैको हुन्छ । जुन क्षेत्रमा रोजगारी पाइएको भएको हो त्यस्तै उद्योग उद्योग आफैँले सञ्चालन गरिएला भन्ने कल्पना कमैले मात्रै गरेका हुन्छन्। चितवनका एक युवा आयुर्वेद औषधिको बजारीकरण मार्केटिङको काम गर्दागर्दै आफै उद्योगी बनेका छन्। भरतपुर महानगरपालिका–६ गीतानगर निवासी चक्रपाणि न्यौपाने त्यस्तैमध्ये एक हुन्। उनले केही समय आयुर्वेदको मार्केटिङ गरेपछि आफै उद्योग सञ्चालन गरेका हुन्। विसं २०३७ मा स्याङ्जाको मिर्मिमा जन्मिएका न्यौपाने विसं २०४२ मा परिवारसहित चितवनको गीतानगर झरे। स्थानीय कलेजबाट स्नातकसम्म अध्ययन गरेपछि उनले एशियन हर्बल उद्योगका सामान मार्केटिङ गर्न थाले। २५ वर्षको उमेरमा काम थालेका न्यौपानेमा ४ वर्ष मार्केटिङ गरेपछि आफै उद्योग सञ्चालन गर्ने सोच आयो । आफन्त र दाजुभाइको सहयोग तथा बैंकको ऋणसहित २० लाख हाराहारीको लगानीमा उनले भरतपुर महानगरपालिका–७ कृष्णपुरमा आयुर्वेदिक उद्योग सुरु गरे। विस्तारै उद्योगबाट उत्पादित औषधि खपत हुन थालेपछि उद्योग विस्तार गर्न गीतानगरमा रहेको आफ्नै पैत्रिक जग्गामा टहरा निर्माण गरेर न्यौपानेले उद्योग सारे। नारायणगढमा वैदिक आयुर्वेद सेवा प्रालि सञ्चालन गर्दै आएका उनले व्यवस्थापनमा स्नातकसम्मको अध्ययनका साथै काम गर्दै जाँदा आयुर्वेदतर्फ वैद्यसम्मको अध्ययन गरे। न्यौपानेले भने ‘आयुर्वेदको भविष्य छ, आम्दानी गर्नाका साथै सेवा गर्न पाइने, बिरामीलाई उपचार गरेर निको बनाउन पाइने, दुःखी मानिसको जीवनलाई सुखी बनाउन पाइने देखेर नै यसतर्फ लागेको हुँ।’ उनले थपे ‘एक छाक खानकै लागि जे काम गरे पनि हुन्छ, तर यो व्यवसाय गर्दा अर्काको कल्याण पनि हुने देखेर यसतर्फ लागेँ ।’ उत्पादन र मार्केटिङ पनि आफै गर्दै आएका न्यौपानेले उद्योग सञ्चालन गरेको १२ वर्ष बितेको छ । २० लाख हाराहारीबाट सुरु गरिएको उद्योगमा अहिले ५ करोडभन्दा बढी लगानी पुगेको छ ।उनले सुरुवाती चरणमा जडीबुटी ल्याइ पाउडर बनाएर उद्योग सुरु गरेका थिए। सुरुवाती चरणमा सात वटा औषधिभ उत्पादन हुने न्यौपानेको उद्योगबाट अहिले ५० थरिका औषधि उत्पादन हुन्छन् । उनले भने, ‘सुरुवाती चरणमा खर्च मात्रै चल्ने गरी कारोबार हुन्थ्यो ।’ विस्तारै उत्पादन बढाउँदै लगेको बताउँदै न्यौपानेले भने, ‘सुरुमा चितवन मात्रै बजार थियो, अहिले चितवनसहित काठमाडौं, बुटवल, ईटहरीलगायत नेपालका आधाभन्दा धेरै जिल्लामा उत्पादन पुगेको छ ।’ अहिले व्यवसायबाट सन्तुष्ट हुने गरी कारोबार भइरहेको उनले बताए । उद्योगमा चाहिने ९० प्रतिशत कच्चापदार्थ जडीबुटी नेपालकै प्रयोग हुने न्यौपानेको भनाइ थियो । वैदिक आयुर्वेद सेवा प्रालिका काठमाडौं, बुटवल र ईटहरीमा शाखा छन् । ती सबै शाखामा आयुर्वेदिक चिकित्सक राखेर बिरामीको सेवा गर्दै आइएको उल्लेख गर्दै उनले जोड दिए, ‘हाम्रो क्लिनिकमा आउने अधिकांश बिरामीलाई आफ्नै उत्पादनको औषधि दिन्छौँ ।’ बीस जनाभन्दा बढीलाई रोजगारी दिएका उनले भने, ‘कति कमाएँ भन्ने गौण विषय हो, धेरैलाई चुलो बाल्ने सक्ने बनाउन सकेँ, त्यसैमा आनन्द लाग्छ ।’ एलोपेथीको उपचार गर्दागर्दै जीवनबाटै निराश भएकासमेत आफूकहाँ आएर निको भएको उनको जिकिर थियो छ । नेपालका सबै ठाउँमा जुडीबुटी पाइने भएकाले आयुर्वेद उद्योगका लागि नेपाल प्रचुर सम्भावना रहेको स्थल भएकाले उनको भनाइ थियो। रासस

त्रिवेणी श्रम सहकारीले बेसार जर्मनी पठाउने

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा रहेको त्रिवेणी श्रम सहकारी संस्थाले रुकुम पश्चिममा उत्पादित बेसार जर्मनी पठाउने तयारी गरेको छ । पालिकामा प्रशोधन केन्द्र स्थापना गरेको सहकारीले जिल्लामा उत्पादित बेसार विदेश पठाउने योजना बनाएको हो । ‘हामीले उत्पादन गरेको बेसारको चाना परीक्षणका लागि जर्मनी पठाएका थियौँ । गुणस्तर राम्रो भएको भन्ने रिपोर्ट आएको छ । अब बेसारको चाना प्रशोधनको तयारीमा छौँ । यो मङ्सिरदेखि बेसार जर्मनी पठाउन सुरु गर्दैछौँ,’ सहकारीका अध्यक्ष शेरबहादुर मल्लले भने ।सहकारीले सदस्यहरुलाई बेसारखेती गर्न भनेको छ । दुई सय सदस्यले यसपटक बेसारखेती गरेका छन् । गाउँपालिकामा उत्पादन भएको बेसारले मात्र माग धान्न नसक्ने उनको भनाइ छ । जिल्लाका अन्य क्षेत्रमा पनि बेसार उत्पादनका लागि किसानलाई पहिलै भनेको सहकारीले जनाएको छ । सहकारीले अदुवा र बेसार प्रशोधनका लागि उद्योग स्थापना गरेको छ । त्रिवेणी गाउँपालिका र चौरजहारी नगरपालिकाका विभिन्न ठाउँमा राम्रो अदुवा र बेसार उत्पादन हुने गर्छ । व्यापारीले जिल्लाबाटै अदुवा र बेसार खरिद गर्दै आएकोमा अब भने जिल्लामा उत्पादित अदुवा र बेसार त्रिवेणी गाउँपालिकामा रहेको अदुवा, बेसार प्रशोधन केन्द्रले खरिद गरिदिनेछ । प्रशोधन केन्द्रमा चाहिने भौतिक संरचना र मेसिनका लागि कर्णाली प्रदेश सरकारले सहकारी संस्थालाई एक करोड ५० लाख दिएको थियो । सहकारीले पनि उद्योग सञ्चालनका लागि ४८ हजार रकम खर्च गरेको अध्यक्ष मल्लले जानकारी दिए । जिल्लामा उत्पादन भएको बेसार र अदुवा विदेश पठाइने भएपछि अदुवा र बेसारले पनि राम्रो मूल्य पाउने किसानको विश्वास छ ।

नेपाल माइक्रो इन्स्योरेन्सले माग्यो २६ जना कर्मचारी

काठमाडौं । जागिर खोज्नेहरुका लागि खुसिको खबर छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सात जिल्लाका लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले सुनसरीको इटहरी, पर्साको विरगंज, कास्कीको पोखरा, काभ्रेको बनेपा, मकवानपुरको होटौडा, नवलपरासीको कावासोती, बाँकेको नेपालगंजका लागि कर्मचारी माग गरेको हो । कम्पनीले मार्केटिङ तथा अनडरराइटिङ विभागका लागि सहायकमा ८ जना, कनिष्ठ अधिकृतमा ३ जना, कनिष्ठ सहायकमा ८ जना, अधिकृतमा ३ जना कर्मचारी माग गरेको हो । प्रशासन विभागमा अधिकृतका लागि १ जना, पुनर्बीमा अधिकृतका लागि १ जना, रिसेप्शनिष्टमा सहायकका लागि १ जना र डिजिटल मार्केटिङमा कनिष्ट सहायकका लागि १ जना कर्मचारी गरी कुल २६ जना कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।