एसआरएमले ल्यायो साढे ४४ लाखको विद्युतीय माइक्रोबस, खरिदमा बीमादेखि क्यास ब्याकसम्मको अफर
काठमाडौं । पूजा कन्स्ट्रक्सन नेपालले एसआरएम एक्स ३० एल ईभी माइक्रोबस सार्वजनिक गरेको छ । कम्पनीले मंगलबारदेखि शुरु भएको नाडा अटो शोमा उक्त ईभी माइक्रोबस सार्वजनिक गरेको हो । सो माइक्रोबस छोटो दुरीको लागि उपयुक्त मानिने कम्पनीले बताएको छ । यस माइक्रोबसमा ४१.८६ किलोवाटको ब्याट्री जडान भएको छ भने यसको ब्याट्री ४५ मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ । कम्पनीका अनुसार फुल चार्ज सो भ्यान ३०० किलोमिटरसम्म गुड्ने छ । १८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको सो ईभी भ्यानको टप स्पीड प्रतिघण्टा १०० किलोमिटर रहेको छ । कम्पनीले यस भेहिकलको मूल्य ४४ लाख ५० हजार रुपैयाँ तोकेको छ । बीमादेखि क्यास ब्याकसम्मको अफर कम्पनीले गाडी सार्वजनिक गरेसँगै खरिदमा विशेष अफरको पनि व्यवस्था गरेको छ । कम्पनीले माइक्रोबस खरिद गर्नेहरूलाई लक्षित गर्दै अफर ल्याएको हो । उक्त अफर अन्तर्गत ग्राहकले एसआरएमको भ्यान किन्दा ५० हजार बराबरको नगद छुट पाउनुका साथै एक वर्षको सवारी बीमा निःशुल्क पाउनेछन् । त्यस्तै, कम्पनीले एक वर्षको सडक दस्तुर पनि तिर्दिने छ । साथै, कम्पनीले भ्यानले खपत गरेको ७ किलोवाटसम्म विद्युतको पनि रकम तिरिदिने छ ।
नेपाल बैंकले अत्याधुनिक कल सेन्टर सञ्चालन गर्ने, ग्राहकको समस्या तत्काल समाधान हुने
काठमाडौं । नेपाल बैंकले अत्याधुनिक कल सेन्टर सेवा सञ्चालन गर्ने भएको छ । उक्त सेवा सञ्चालन गर्न बैंकले मंगलबार सेवा प्रदायकसँग सम्झौता गरेको हो । यस सम्झौताले नेपाल बैंकका ग्राहकका समस्या, जिज्ञासा र कठिनाईलाई तत्काल सम्बोधन गरि समाधान गर्ने तथा वित्तीय सेवासँग सम्बन्धित समसामयिक जानकारी प्रदान गर्ने कम्पनीले जानकारी गराएका छन् । सो कार्यक्रममा नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले सम्झौताप्रति खुशी व्यक्त गर्दै यस कल सेन्टरले बैंक र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउँदै बैंक र ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्ने बताए । हाल बैंकले २२८ शाखा, २०४ एटीएमका साथै ५७ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई डिजिटल वित्तीय सेवा पुर्याई रहेको छ ।
अप्रिलियाको ‘एसआर-१६०’ स्कुटर सार्वजनिक, ५ रङमा पाइने
काठमाडौं । अप्रिलियाको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा अटोकर्व प्रालिले नेपाली बजारमा नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले नाडा अटो शोको अवसर पारेर ‘अप्रिलिया एसआर-१६०’ सार्वजनिक गरेको हो । १६० सीसीको उक्त स्कुटर पेट्रोलबाट चल्ने कम्पनीका सिनियर सेल्स म्यानेजर बिभाब कार्कीले बताए । १५५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको सो स्कुटरको सिटको उचाइ ७८० मिलिमिटर छ । कार्कीका अनुसार याे स्कुटर खैरो, सेतो, कालो, रातो र निलो गरी ५ वटा रङमा पाइने छ । जसको कर्ब वजन १२२ केजी रहेको छ । त्यस्तै, स्कुटरमा ६ लिटरसम्म पेट्रोल अट्ने फिउल ट्याङ्कीको जडान भएको छ । कम्पनीका अनुसार नेपाली बजारमा यो स्कुटरको मूल्य ३ लाख ९५ हजार ९ सय रुपैयाँ तोकिएको छ । यो मूल्य अन्य स्कुटरको तुलनामा कम रहेको कम्पनीको दावी छ ।
भृकुटीमण्डपमा देखिन थाल्यो नाडा अटो शोको रौनक (फोटोफिचर)
काठमाडौं । काठमाडौंस्थित भृकुटीमण्डपको प्रदर्शनी स्थलमा ‘नाडा अटो शो २०२३’ सुरु भएको छ । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको उक्त शो मंगलबार अर्थात भदौ २६ गतेबाट सुरु भएको हो । भदौको ३१ गतेसम्म सञ्चालन हुने शोमा विभिन्न कम्पनीहरुका दुईदेखि चार पाँग्रे विद्युतीयदेखि पेट्रोलबाट चल्नेसम्मका साना ठूला गाडी प्रदर्शनीमा राखेका छन् । प्रदर्शनीमा अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट-पूर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता छ । अटो शो लक्षित गर्दै धेरै कम्पनीले नयाँ गाडी लन्च पनि गरेको छन् । अटो शोमा भ्रमण गर्न आउने ग्राहकका लागि अफरको पनि व्यवस्था गरिएको कम्पनीहरु बताउँछन् । अटो शो अगावै केही कम्पनीहरूले शोमा आएर आफ्नो गाडी खरिद वा बुकिङ गरेको खण्डमा विभिन्न अफर सार्वजनिक गरेका थिए । सुस्ताएको नेपाली अटाे बजारलाई चलायमान बनाउन अटो शोले मद्दत पुर्याउने नाडा अध्यक्ष डा. ध्रुव थापाले बताए । प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरूको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउने पनि थापाले बताए । अर्थमन्त्री डा. प्रकाश शरण महतले मंगलबार दिउँसो उक्त अटो शोको उद्घाटन गरेका हुन् । नाडा शोको पहिलो दिनमै सयौं संख्यामा मानिसको उपस्थिति रहेको छ । शोमा बीवाईडी, टाटा, महेन्द्रा, एमजी लगायतका कम्पनीहरूको गाडी पनि देख्न पाइन्छ । नाडाका अनुसार अटो शोमा १२० भन्दा बढी स्टल राखिएको छ । उक्त शो हेर्न आउनेले प्रवेश शुल्क तोकिएको छ । सो अनुसार विद्यार्थीले १५० र अरुले भने २०० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने हुन्छ ।
अब टाटा जेनुइन पार्टस् तथा टाटा मोटर्स जेन्युइन आयल अनलाइन स्टोर दराजमा उपलब्ध
काठमाडौं । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अटोपार्टस र नेपालको सबैभन्दा ठुलो अनलाइन स्टोर दराजबीच सहर्काय गर्ने सम्झौता भएको छ । अनलाइन स्टार दराजमा टाटा जेन्युइन पार्टस र टाटा मोर्टस जेन्युइन आयल उपलब्ध हुन थालेको छ । काठमाडौं स्थित हायात प्यालेस होटेलमा आयोजित एक कार्यक्रममा सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तराष्ट्रिय व्यापार प्रमुख राकेश मित्तलको प्रमुख उपस्थिती रहेकाे थियाे । उपत्यका भित्रका खुद्रा बिक्रेताहरु अनि देशभरका टाटा गुरुहरुको उपस्थितिमा सिप्रदी अटोपार्टस् प्रालिका सिनियर जेनरल म्यानेजर युवराज बुढराथोकी र दराज अनलाइन स्टारका व्यापार अधिग्रहण तथा आवरण प्रमुख नबिन रानामगरबीच सहमति र सहकार्यको सम्झौता भएको हो । अब टाटा मोटर्सका ग्राहकहरुले छिटो छरितो र सहज रुपमा टाटा जेन्युइन पार्टस् तथा टाटा मोटर्स जेन्युइन आयल खरिद गर्न सक्नेछन । यसबाट ग्राहकवर्गहरु नक्कली पार्टपुर्जाबाट ठगिन पर्ने अवस्था रहने छैन र उचित मुल्यमा जेन्युइन पाटसहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।
केदार शर्माको शिबशिखर र तुलसी सहकारी समस्याग्रस्त घोषणा, बचतकर्ताले बचत फिर्ता कसरी पाउँछन् ?
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुईवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको जनाएको हो । ’सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने यी दुई सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य, मान्यता विपरीतको कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारी ऐन २०७४ को दफा १०४ को उपदफा ९१० को व्यवस्थाअनुसार सहकारी विभागका रजिष्ट्रारको सिफारिसमा उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समस्याग्रस्त घोषणा भएका यी सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी अब सहस्याग्रस्त सहरकारी व्यवस्थापन समितिले गर्नेछ । यी सहकारी संस्थाका सञ्चालकले बचतकर्ताको बचत रकम हिनामिना गरेको भन्दै विभागमा उजुरी परेको थियो । त्यस्ता उजुरीमाथि विभागले छानबिन गरेपछि समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो । सहकारी विभागको सिफारिसका आधारमा मन्त्रालयले सोमबार यस्तो निर्णय गरेको हो । यीसँगै समस्याग्रस्त घोषणा भएका सहकारीको सङ्ख्या १५ वटा पुगेको छ । यसअघि मन्त्रालयले विभिन्न मितिमा १३ वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिसकेको छ । स्टाण्डर्ड सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, प्यासिफिक सेभिङ् एण्ड इन्भेष्टमेण्ट को–अपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कोहिनुर हिल सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, कन्जुमर बचत तथा ऋण सरकारी संस्था लिमिटेड र कुवेर बचत तथा ऋण सरकारी संस्था लिमिटेड समस्याग्रस्त सहकारीका रुपमा रहेका छन् । त्यस्तै, चार्टर्ड सेभिङ् एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, भेगास बचत तथा ऋण सरकारी संस्था लिमिटेड, स्टाण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लुःनिभा बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, ओरेण्टल को–अपरेटिभ लिमिटेड र पशुपती सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड समस्याग्रस्त सहकारीका रुपमा घोषणा भइसकेका छन् । रासस
पाँच हजारबाट सुरु भएको रिचाको व्यवसायमा लाखौंको लगानी
बाँके । ‘अरुको काम गरेर पैसा कमाउनु र सानोतिनो भए पनि आफ्नै व्यवसायबाट पैसा कमाउनुमा धेरै फरक हुँदोरहेछ’ यो भनाइ हो नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदो निवासी जेडी कलेक्सनकी सञ्चालक रिचा लुइँटेलको । सानै भए पनि आफ्नै व्यवसाय सुरु गर्नुपर्छ भन्ने सोचले रिचाले गत वर्ष पुसदेखि सौन्दर्य सामग्रीको व्यापार सुरु गरिन् । तत्कालीन समयमा पाँच हजार लगानीमा व्यापार सुरु गर्दा एउटै सामान बिक्रीबाट दुईदेखि दुई सय ५० रुपैयाँसम्म फाइदा भयो । ‘सुरुमा सानो पुँजीमा पाँचवटा जति गहना किनेकी थिएँ । त्यो जम्मा पाँच हजारको थियो,’ उनले भनिन्, ‘एउटा गहनाबाट त्यतिखेर दुई सय ५० जति नाफा भएको थियो । त्यसमा पनि मैले जम्मा तीन वटा बिक्री गरेँ भने बाँकी दुई वटा साथीलाई उपहार दिएँ ।’ दुई वर्षदेखि निजी अस्पतालमा प्रशासनिक फाँटमा काम गर्ने उनको तलब मासिक ३५ हजार रुपैयाँ थियो । तर उनी त्यो कामबाट सन्तुष्ट भइनन् । आफ्नै लगानीमा र पहिचानमा केही गर्नुपर्छ भन्ने सोचले रिचाले घरबाटै ‘आर्टिफिसियल ज्वेलरी’को व्यापार गर्न सुरु गरिन् । जुन नेपालगन्जमा एकदमै नयाँ थियो । ‘अरुको भन्दा फरक केही गर्नुपर्छ भन्ने मनमा सधैं लागिरहन्थ्यो । त्यो फरक मैले नेपालगन्जमा आर्टिफिसियल गहनाको व्यापार नै देखेँ,’ उनले भनिन्, ‘यो व्यवसायका बारेमा धेरै अध्ययन गरेर मात्रै लगानी लगाउन सुरु गरें र आफ्नै घरबाट यसको सुरुवात गरें ।’ उनले व्यवसायको विज्ञापन फेसबुक र टिकटकलगायतका सामाजिक सञ्जालमार्फत गरिरहेकी छन् । उनी टिकटकमा लाइभमार्फत सामानको विशेषता र मूल्य बताउँछिन् रिचाका लागि टिकटक सामाजिक सञ्जालको एउटा निकै नै प्रभावकारी माध्यम बनेको छ । ‘अहिले टिकटकको जमाना भएकाले मैले पनि यसैबाट व्यापारको प्रचारप्रसार गरिरहेकी छु,’ उनले भनिन्, ‘टिकटकबाटै व्यवसायको प्रचार गर्न निकै नै सजिलो मात्रै भएको छैन, व्यापार पनि बढेको छ ।’ हाल उनी मासिक १० लाखको कारोबार गछिन् । जसबाट एक लाख ५० हजारको हाराहारीमा नाफा हुने गरेको उनको भनाइ छ । ‘घरबाटै व्यवसाय गरिरहेकाले भाडा तिर्नु पर्दैन,’ उनी भन्छिन्, ‘बिहानैदेखि रातिसम्म घरमा सामान किन्न आउनेको घुइँचो लाग्छ ।’ हिजोआज रिचालाई घरमै आएका ग्राहकलाई सामान बेच्नदेखि अनलाइन अर्डर गरेका सामान कुरियर गर्न भ्याइनभ्याइ हुने गरेको छ । महिला आर्थिक रुपमा आत्मनिर्भर हुन आवश्यक छ भन्ने मान्यता राख्ने रिचालाई गत वर्ष फागुनमा महिला उद्यमी संघ बाँकेको आयोजनामा सम्पन्न पाँचदिने मेलाले निकै सहयोग गरेको थियो । व्यवसाय सुरु गरेको केही समयमै महिला उद्यमी संघको व्यापार मेलाले रिचाको आर्टिफिसियल गहनाको व्यापारलाई चिनाउन सहयोग पुर्यायो । उक्त मेलामा रिचाले ६५ हजारको लगानीबाट एक लाख ३० हजारको आम्दानी गरिन् । ‘त्यतिबेला भखरै व्यापार सुरु गरेकी थिएँ । त्यो मेला मेरा लागि एउटा सुनौलो अवसर थियो,’ उनले भनिन् । दुई सन्तानकी आमा रिचाले दुई छोराको नामबाट जेडी कलेक्सनको नाम राखेकी हुन् । रिचा मागअनुसार नेपालको पूर्वी जिल्ला झापादेखि पश्चिमको महेन्द्रनगरसम्म कुरियरमार्फत सामान पठाउने गर्छिन् । रासस
एभरेष्ट बैंकका ग्राहकले ओम अस्पतालको सेवामा छुट पाउने
काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र ओम अस्पताल चाबहिल बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतद्घारा हस्ताक्षरित उक्त सम्झौता लागू भए संगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले उक्त अस्पतालबाट आइपिडी डाइगंनाेस्टीकमा १० प्रतिशत सम्म र दन्त सेवामा ५ प्रतिशत सम्मको विशेष छुटको लाभ लिन सक्नेछन् । सो समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवद्र्धन प्रबन्धक विनोद अधिकारीको समेत उपस्थिति रहेको थियो । स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।