विकासन्युज

टाटाले सार्वजनिक गर्यो ३ वटा गाडीहरु, कुन मोडलको मूल्य कति ?

काठमाडौं । टाटा मोटर्स प्यासेन्जर भेहिकल द्धार नाडा अटो सो लाई लक्षित गरी बहुप्रतिक्षित तीनवटा गाडीहरु टाटा टियागो इभी र टाटा नेक्सन इभी एक्स जेट प्लस र टाटा पन्च सार्वजनिक गरिएको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाका बहुप्रतिक्षित गाडीहरु टाटा टियागो इभी र टाटा पन्च नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डप स्थित प्रदर्शनी हलमा आजदेखि सुरु भएको १५औ संस्करणको अटो सो ‘टाटा मोटर्स जेन्युइन आयल नाडा अटो सो २०२३’ मा यी उत्पादनहरुको बिक्री वितरण शुभारम्भ गरिएको हो । अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा पाँचवटा मुख्य बिशेषताहरु रहेका छन् । जसमा कार्य कुशलता , प्रविधि, विश्वास , चार्जिङ्ग र आरामदायीता रहेका छन । क्रुज कन्ट्रोल सहितको टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प लगायत बिशेषताहरु रहेका छन् । यो गाडीको इन्टेरिएर आरामदायी तथा एक्स्टेरिएर आकर्षक रहेको छ । यस टियागो इभी सिमित अवधिका लागि सुरुवाती मूल्य २१.९९ लाख राखिएको छ भने अन्य भेरिएन्ट हरुको मूल्य यसप्रकार रहेको छ । यस्तै, अर्को गाडी नेक्सन इभी एक्स जेट प्लस को ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३ किलोमिटर रहेको छ । टियागो इभी जस्त अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक रहेको छ । आरामको लागि पावर विन्डो र पूर्णस्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य विशेषताहरु भएको नेक्सन इभी एक्स जेट प्लसले अन्य भन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ । सुरक्षाको लागि यसमा एन्टी–लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरु छन् । नेक्सन इभी म्याक्स एक्स जेड प्लसको सुरुवाती मूल्य ४५.९९ लाख राखिएको छ । त्यसैगरी, टाटाको ‘न्यु फरेभ’ रेञ्ज अन्तर्गतको टाटा पन्चको चार आधारस्तम्भहरु हुन् आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा रहेका छन । नँया युग सुहाँउदो सोच र प्रविधिमा आधारित यो गाडीले ग्राहकहरुको बदलिदो इच्छा एवं आकांक्षाहरुको परिपूर्ति गर्दछ । टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रुपमा पनि परिचित छ । त्यसैगरी सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ बताउछन् ‘टाटा टियागो इभी र टाटा पन्चले टाटा र सिप्रदीको नेपाली ग्राहकवर्गको ड्राइभिङ्ग अनुभवलाई नविन र दिगो ढंगले रुपान्तरण गर्ने साझा प्रतिवद्धताको प्रतिनिधित्व गर्छ । टाटा मोटर्ससँगको सहकार्यमा नेपालको समग्र यातायात क्षेत्रको विद्युतीकरण र यसको हरित भविष्यको लागि योगदान गर्न पाउँदा सिप्रदी खुसी र गौरवान्वित महशुस गर्दछ’ । नाडा अटो सो को पहिलो दिनमा टाटाले ग्राहक एवम मिडियाहरुबाट अपेक्षा गरे भन्दा बढी साथ र समर्थन पाएको छ ।

हुन्डाई ‘फेष्टिभ डिलाइट २०८०’ को बम्पर उपहार सार्वजनिक

काठमाडौं । हुन्डाई नेपालले भदौ २१ देखि सार्वजनिक गरेको फेष्टिभ डिलाइट अन्तर्गत बम्पर उपहार रहेको हुन्डाई एसयूभी सार्वजनिक गरिएको छ । नाडा अटो सो २०२३ को पहिलो दिन मंगलबार आफ्नो स्टलबाट अर्थमन्त्री प्रकाशशरण महतले उक्त एसयूभी हुन्डाई एक्सटर रहने भनी सार्वजनिक गरेका हुन् । हुन्डाई फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा ६ लाख रूपैयाँ सम्मको आकर्षक नगद छुट, स्क्राच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत बम्पर उपहारमा हुन्डाई एक्सटर पनि प्राप्त गर्न सक्नेछन् । सबैै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना छठ पर्वसम्म लागू हुनेछ ।

सिआइबीले सुन काण्डको अनुसन्धान प्रतिवेदन आज बुझाउँदैै

काठमाडौं । हङ्कङबाट तस्करी गरी ल्याइएको झण्डै ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदै छ । मङ्गलबार प्रतिवेदन तयार पारेको सिआइबीले आज रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो । सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले आज रायसहितको अनुसन्धान प्रतिवेदन बुझाइने र त्यसअघि पत्रकार सम्मेलन गरेर उक्त प्रकरणबारे जानकारी दिइने बताए । आरोपीहरुविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारीलगायत कसुरमा मुद्दा चलाउन राय दिने सिआइबीको तयारी गरेको पनि उनले बताए । उक्त सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा ३० जना प्रहरी नियन्त्रणमा छन् । स्वास्थ्यका कारण एक जना हिरासत बाहिर राखेर अनुसन्धान गरिएको थियो । पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् । उक्त प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन् । सङ्गठित अपराध कसुरमा म्याद थप गरेर सिआइबीले घटनाको अनुसन्धान गरेको थियो । उक्त प्रकरणमा प्रहरीले अनुसन्धानका लागि ६० दिन म्याद पाउँछ । यही भदौ ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्याइसक्नुपर्ने हुन्छ । त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययन गर्न समय बाँकी हुन्छ । गएको साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङ्कङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । विभागले आवश्यक अनुसन्धान सकेर १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०लाई दिएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम फेला परेको थियो । सुन अहिले राष्ट्र बैंकको संरक्षणमा छ ।

बाँसका सामग्रीबाट आयआर्जन गर्न महिलालाई तालिम

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दैनिक ३० महिला भेला हुन्छन् । बिहान १० बजे भेला हुने महिला दिउँसोको समयमा कसैले बाँसका चोया खिपिरहेका हुन्छन् भने कोही विभिन्न सामग्री बुनिरहेका हुन्छन् । बाम्राङस्थित वडा कार्यालयमा भेला हुने महिलाले छोटो समयमै बाँसका चोयाबाट घरायसी काममा प्रयोग हुने रहरलाग्दा विभिन्न सामग्री बनाइरहेका छन् । गाउँमा बेरोजगार रहेका महिलालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउन अन्तर्राष्ट्रिय श्रम सङ्गठनको आर्थिक सहयोगमा महिला उद्यमी सङ्घले बाँसका सामग्री निर्माणसम्बन्धी एकमहिने तालिमको आयोजना गरेको हो । यही भदौ १० गतेदेखि सुरु भएको बाँसका सामग्री निर्माणसम्बन्धी तालिममा सहभागी महिलालाई बाँसका चोयाबाट पेनकेस, र्याक, फूलदानी, डुङ्गाबास्केट र डस्बिन बुन्ने सीप सिकाउने गरिएको छ । तालिममा सहभागी महिला आफँै बाँस ढाल्छन् र सोही बाँस फुटाएर आफँै चोया काढ्ने गर्छन् । बाँसका चोयाबाट बन्ने घरायसी सामग्री निर्माण गर्न १५ दिन सिक्नुभएकी स्थानीय प्रेलिना राई अहिले आफैँ सहप्रशिक्षक बनेका छन् । केन्द्रबाट आएकी शर्मिला लामाले १५ दिन प्रशिक्षण दिएर गएपछि अहिले प्रेलिनाले सिकाउँदै छिन् । तालिममा सहभागीमध्ये उत्कृष्ट बनेर सामग्री बुन्दै अरुलाई पनि सिकाउँदै आफू पनि सिक्दै आएकी प्रेलिना यही पेसाबाट जीविकोपार्जन गर्न सकिने बताउँछिन् । “पुरुषले गर्दै आएको बाँसका सामग्री निर्माण गर्ने काम गरेर व्यावसायिक बन्ने योजना छ”, उनले भनिन्, “गाउँघरमा प्रायः पुरुषले गरिरहेका यस्ता काम महिलाबाट पनि सम्भव हुन्छ भन्ने यसअघिसम्म लाग्दैन थियो । तर अहिले सिक्दै जाँदा सम्भव हुनेरहेछ भन्ने लागेको छ । गाउँमा बाँस टन्न पाइन्छ, तालिमपश्चात यही व्यवसाय गर्ने सोच बनाएकी छु ।” तालिममा सहभागी ३० महिलामध्ये २५ जना बाम्राङका छन् भने चारजना वडा नं १ दिक्तेल र एकजना दिप्रुङ चुइचुम्मा गाउँपालिकाका छन् । तालिममा सहभागी अधिकांश महिलाले तालिमपश्चात आ–आफ्नो गाउँ फर्किएर यही पेसालाई निरन्तरता दिने बताएका छन् । गाउँमा बेरोजगार रहेका महिलालाई बाँसका सामग्री बनाएर आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको महिला उद्यमी सङ्घकी कोषाध्यक्ष सञ्जु खत्री बस्नेतले बताइन् । “सामग्रीको बजारीकरण सङ्घले गर्ने योजना बनाएका छौँ”, उनले भनिन्, “१५ जना उत्कृष्ट छानेर माद्रो, नाङ्लो, डालोलगायत सामग्री बुन्न सिकाउने तयारी छ । तालिममा सभागी महिलालाई खाना, खाजा तथा यातायात खर्चवापत रु १५ हजारका दरले भत्तासमेत उपलब्ध गराइएको छ ।” दिक्तेल बजारस्थित रत्नपार्कमा सञ्चालित सपिङ कम्प्लेक्समा कोसेली घर खोल्ने तयारी छ । यसका लागि नगरपालिकासँग सम्झौता भइसकेको छ । यसअघि महिला उद्यमी सङ्घले महिलालाई अचार बनाउने र खोसेलाबाट सजावटका सामग्री निर्माणसम्बन्धी तालिम दिएको थियो । रासस

बचतकर्ताको १ अर्ब रुपैयाँ जोखिममा, २ सय बढीले दिए उजुरी

काठमाडौं । बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचत रकम फिर्ता नगरेको भन्दै कारबाहीको लागि लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयमा उजुरी परेको छ । सहकारीले १ अर्ब रुपैयाँ बढी बचतकर्ताको निक्षेप जोखिममा पारेको भन्दै रकम फिर्ताको माग राख्दै मंगलबार सहकारी दर्ता अधिकारीको कार्यालय राप्ती उपत्यका देउखुरीमा उजुरी परेको हो । बुटवल उपमहानगरपालिका–९ मा मुख्य कार्यालय स्थापना गरेर सञ्चालन भएको सहकारी संस्थामा बचत गरेका २ सय बढी बचतकर्ताले लिखित उजुरी दिएका हुन् । एक वर्षदेखि बचत रकम फिर्ताको माग राख्दा पनि सहकारी संस्थाले फिर्ता नगरेपछि बाध्य भएर कानुनी उपचारमा जानुपरेको बचतकर्ता देवीलाल भट्टराईले बताए । उनले एक वर्षदेखि बचत फिर्ता नपाएपछि उजुरी गर्नुपरेको बताउनुभयो । मुद्दति, मासिक, दैनिक र खुला बचतमार्फत सहकारीले रकम असुल गरेको देखिन्छ । सहकारी संस्थाका सञ्चालक र पदाधिकारीलाई नियमानुसार कारबाहीको माग गरिएको छ । सहकारी दर्ता अधिकारी कार्यालयका रजिष्ट्रार भीमप्रसाद तिवारीले सहकारीको रकम हिनामिना गर्ने सहकारी संस्थालाई नियमानुसार कारबाही हुने बताए । उनले बचतकर्ताको उजुरी आएको र थप अध्ययन गरेर कारबाहीको प्रक्रिया अघि बढाउने बताए । लुम्बिनी प्रदेशमा यस्ता २४÷२५ वटा खराब सहकारीलाई कारबाही गर्न उजुरी परेका छन् । एक जना बचतकर्ताको साढे ३ करोड रुपैयाँ यही सहकारी संस्थाले ठगी गरेकोसमेत उजुरी परेको छ ।

नेपाल इन्स्योरेन्सले माग्यो कार्यालय प्रमुख

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले कार्यालय प्रमुखका लागि विज्ञापन आह्वान गरेको छ । कम्पनीले दार्चुला जिल्लामा रहि कार्य गर्नका लागि कार्यालय प्रमुख (वरिष्ठ सहायक तथा कनिष्ठ अधिकृत)पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार कार्यालय प्रमख पदका लागि कृषि विषयमा स्नातक गरेको ब्यक्ति हुनु पर्नेछ । त्यस्तै, कृषि क्षेत्रमा काम गरेको र दुई पांग्रे सवारीचालक अनुमतिपत्र प्राप्त गरेको र विज्ञापन प्रकाशन भएको मितिसम्म ३५ वर्ष उमेर ननाघेको हुनु पर्ने कम्पनीले जनाएको छ । इच्छुक ब्यक्तिले १५ दिनभित्र कम्पनीको मानव स्रोत तथा व्यवस्थापन सेवा विभागमा काठमाडौंमा आवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

हिमालयन ८०-२० म्युचुअल फण्ड बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट

काठमाडौं । हिमालयन क्यापिटलको पहिलो म्युचुअल फण्ड ‘हिमालयन ८०-२०’ फण्ड बाँडफाँट गरिएको छ । साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म बिक्री खुला गरेको म्युचुअल फण्ड भदौ २६ गतेका दिन बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । क्यापिटलले १ अर्ब रुपैयाँको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्री खुला गरेको थियो । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्धक हिमालयन बैंक ८ करोड ५० लाख इकाई सर्वसाधरण लगानीकर्तालाई बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । सिडिएस एण्ड क्लियरिङ्ग अनुसार अन्तिम दिनसम्म ४६ हजार १४१ जना आवेदकले ९ करोड १४ लाख ६१ हजार ८२० इकाईका लागि ९१ करोड ४६ लाख १८ हजार २ सय रुपैयाँ बराबरको आवेदन दिएका थिए । म्युचुअल फण्ड बाँडफाँट सम्पन्न भइसकेको हुँदा विभिन्न २ तरिकाबाट रिजल्ट हेर्न सकिनेछ । सिडिएसले सञ्चालन गरेको आईपीओ रिजल्ट (https://iporesult.cdsc.com.np/) र क्यापिटलको वेवसाइट (https://himalayancapital.com/)बाट रिजल्ट हेर्न सकिने क्यापिटलले बताएको छ । साथै, सेयर पर्न सफल आवेदकहरुको रकम बिक्री प्रबन्धकको बैंक खातामा रकमान्तरण गर्न र बाँडफाँटमा नपरेका सेयर वापतको रकम सम्बन्धित आवेदकहरुको बैंक खाताबाट फुकुवा गर्न पनि क्यापिटलले आग्रह गरेको छ ।

वित्तीय साक्षरताका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंकले छुट्यायो २० लाख, आशय प्रस्ताव आह्वान

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले वित्तीय साक्षरता प्रदान गर्ने भएको छ । बैंकले गैर नाफा मुलक संस्थासँगको साझेदारीमा विभिन्न समुदायलाई लक्षित गरि सातै प्रदेशमा वित्तीय साक्षरता प्रदान गर्ने भएको हो । बैंकका अनुसार कर्मचारी, किसान, लघु, साना तथा मध्यम व्यवसाय, दैनिक ज्यालादारी, आप्रवासी कामदार, विद्यार्थी वर्गलाई वा कुनै एक विपन्न लक्षित समुदायको लागि वित्तीय साक्षरता अभिवृद्धि गरिनेछ । सामुदायिक परियोजनामा रणनीतिक साझेदारको रुपमा कार्य गर्न इच्छुक गैर नाफामुलक संघसंस्थाले आशय प्रस्ताव पेश गर्न बैंकले आग्रह गरेको छ । यस परियोजनाको बजेट बढीमा १२ महिनाको लागि २० लाख रुपैयाँ तय गरिएको बैंकले जनाएको छ । तर, सम्झौता अवधि थप हुन पनि सक्नेछ । कम्तीमा ५ प्रदेशमा वित्तीय साक्षरता परियोजना संचालन र व्यवस्थापन गर्न सक्ने तर, ७ वटै प्रदेशमा परियोजना संचालन गर्न सक्ने क्षमता भएकोलाई पहिलो प्राथमिकता दिइनेछ । सामुदायिक परियोजनामार्फत उपलब्धि हासिल गरेको बलियो रेकर्ड प्रस्तुत गर्न सक्ने हुनु पर्ने बैंकले बताएको छ । गैर नाफामुलक संस्था, सरकारी वा राजनैतिक भातृ संगठन नभएको, समान प्रकृतिका क्षेत्रमा कम्तीमा ३ वर्षको कार्य गरिसकेको प्रमाणित अभिलेख भएको, कम्तीमा ३ वर्षको वार्षिक लेखा परिक्षण गरेको हुनु पर्नेछ । इच्छुक संघ संस्थाले सूचना प्रकाशित मितिले १५ दिनभित्र आशय पत्र पठाउनु पर्नेछ ।