रोयल इन्फिल्डको दुई नयाँ मोटरसाइकल सार्वजनिक, मूल्य कति ?
काठमाडौं । रोयल इन्फिल्डको दुई नयाँ मोटरसाइकल सार्वजनिक भएको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा रोयल इन्फिल्ड क्लासिक ३५० सीसी डार्क एडिसन र क्लासिक ३५० सीसी क्रोम एडिसन सार्वजनिक गरेको हो । कम्पनीले क्लासिक डार्क एडिसनको मूल्य ५ लाख २५ हजार रुपैयाँ र क्रोम एडिसनको मूल्य ५ लाख ३० हजार रुपैयाँ तोकेको छ । दुवै भेरियन्टको बुकिङ समेत खुलिसकेको छ । दुवै मोटरसाइकलमा डुअल डिस्कब्रेक छ भने स्पीड सेन्सर पनि राखिएको छ । यी मोटरसाइकलमा किक स्टार्ट हटाएर सेल्फ स्टार्ट सिस्टम राखिएको छ भने अन्य फिचरहरू केही परिवर्तन नगरी पुरानै यथावत् राखिएको कम्पनीले जनाएको छ । नयाँ दुवै मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको हो । यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–ओयल कुल्ड, एसआएचसी एफआइ रहेको छ । उक्त इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.४८ बे्रकहर्स पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ । टाइमलेस स्टाइलिङ डिजाइनमा रहेको यी मोटरसाइकलमा हेलोजन लाइट, एनालग डिजिटल इन्स्ट्रुमेन्ट मिटर, यूएसबी चार्जिङ पोर्ट, लामो मेटल एग्जस्ट, वाइडर सीट, वाइडर टायर, ट्युबलेस टायर, स्पीड सेन्सर, टेलिस्कोपिक सस्पेन्स र ट्वीन सक अब्जर्बार जस्ता फिचरहरू पाउन सकिन्छ ।
टिभिएसको मोटरसाइकल र स्कुटर किन्दा १० लाख जित्ने मौका
काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई ध्यानमा राख्दै ‘हर मोडमा उमंग’ नामको विशेष योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख सम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। योजना भाद्र २८ गतेबाट देशभर सीमित समयावधिका लागि उपलब्ध हुनेछ। ‘हर मोडमा उमंग’ योजनाअन्तर्गत नकिन्दै यसकाे वेबसाइटमा गएर एक लाख जित्ने मौका र खरिद गरेपछि दश लाख सम्म जित्ने मौका रहेको छ। हरेक महिना १०० प्रतिशत क्याश ब्याक जित्ने अवसरका साथ एक भाग्यशाली विजेताले बम्परमा १० लाख सम्म जित्ने अवसरपनि रहेको कम्पनीले जानकारी दिएको छ। साथै, कम्पनीले एक्चेन्जमा १० हजार सम्म थप भ्यालुएशन तथा शुन्य प्रतिशत ईन्टरेस्ट र २५ प्रतिशत डाउनपेमेन्टमा बाइक तथा स्कूटर घर लैजान सकिने सुविधापनि दिएको । त्यसैगरी जीवनभरका लागि वारेन्टी सुविधापनि दिइने कम्पनीले बताएको छ। विजेताहरूको घोषणा महिनाको पहिलो मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने जनाएको छ। जगदम्बा मोटर्स नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ। गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ।
महिला सशक्तीकरणका लागि द कोका–कोला फाउन्डेसन र माइती नेपालको सहकार्य
काठमाडौं । एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटन मार्फत दिगो विकास, सामुदायिक समृद्धि तथा महिला सशक्तिकरणतर्फको यात्राको नेतृत्व गर्दै द कोका–कोला फाउन्डेसनले माइती नेपालसँग सहकार्य थालनी गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मकवानपुर गढीमा उक्त कार्यक्रमको शिलान्यास गरे । कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले यस सुरुवातले ग्रामीण विकासलाई प्रवर्द्धन गर्न, दिगो कृषि विधिलाई बढावा दिन र समुदायलाई आर्थिक स्थायित्वमा योगदान पुर्याउने विश्वास व्यक्त गरे । कम्पनीका अनुसार यस परियोजना अन्तर्गत बाँचेका, ग्रामीण महिला र बेचबिखनको जोखिममा परेका बालिकाहरूलाई तालिम दिने गरी तालिम केन्द्र स्थापना गरिनेछ। परियोजनाको लक्ष्य, ३० जना व्यक्तिहरुका लागि दिगो आर्थिक स्रोत सुनिश्चित गर्ने र उनीहरूलाई कृषि क्षेत्रमा सफलताको लागि आवश्यक सीपहरू प्रदान गर्ने रहेको छ । तालिम पश्चात् यस संस्थाले सहभागीहरुलाई स्टार्ट–अप गर्न आवश्यक कोषका लागि स्थानीय सरकार र बैंकिङ संस्थाहरूसँग लिङ्क गर्नेछ। दोस्रो वर्षमा भने फाउन्डेसनले रोजगारीका अवसरहरू प्रदान गर्नुका साथै सहभागीहरूलाई उनीहरुले नयाँ सिकेको ज्ञान कार्यान्वयन गर्न कृषि–पर्यटनका नमूना इकाईहरू स्थापना गर्ने योजना पनि बनाएको छ । साथै आफ्नो गाउँमै करियर बनाउन चाहनेलाई संस्थाले स्थानीय निकायसँग समन्वय गरी बैंकबाट कृषि ऋण लगायत आर्थिक सहयोग पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ । द कोका–कोला फाउन्डेसनकी अध्यक्ष सादिया माड्सब्जर्गले भनिन्, ‘महिला सशक्तिकरण र दिगो कृषि प्रवर्द्धन सँगसँगै जान्छ भन्नेमा हामी विश्वस्त छौँ । माइती नेपालसँगको यस साझेदारीमार्फत हामीले बचेका र जोखिममा रहेका व्यक्तिहरूलाई जीवनमा सफल हुनका लागि आवश्यक उपकरण र अवसरहरू प्रदान गर्दै वास्तविक र दिगो परिवर्तन ल्याउने लक्ष्य राखेका छौं ।’ माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले यस परियोजनाप्रति आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, ‘एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटनको संयोजन गरेर हामीले महिलालाई आर्थिक रूपमा सशक्तिकरण गर्न मात्र नभइ हामी भविष्यमा दोहोर्याएर प्रतिकृति र विकास गर्न सकिने मोडलको निर्माणको प्रयासमा पनि छौं । हामी कोका–कोला फाउन्डेसनकोे सहयोग प्रति कृतज्ञ छौं र हाम्रो समुदायमा पनि अर्थपूर्ण प्रभाव पार्ने आशामा छौं ।’ द कोका–कोला फाउन्डेसनले नेपालको लागि फोहोर व्यवस्थापन, पानी भण्डारण, वातावरण संरक्षणदेखि समुदायको सशक्तिकरणसम्मका विविध परियोजनाहरूमा सहकार्य गर्दै निरन्तर सहयोग जारी राखेको छ। यस्ता पहलहरूले नेपालीको जीवनमा परिवर्तन ल्याउँदै यहाँको परिदृश्यमा स्थायी छाप छोड्न सफल भएको छ। द कोका–कोला फाउन्डेसनले नेपालको दिगो भविष्य निर्माण गर्न स्थानीय संस्थाहरूसँग साझेदारी निरन्तर गर्दै आएको कम्पनीले जनाएको छ।
राइड र डेलिभरी : सबै डिल्सका लागि एउटै एप इन्ड्राइभ
काठमाडौं । विश्वभर दुई अर्ब भन्दा बढी राइडहरू सम्पन्न भएसँगै, इनड्राइभ, ग्लोबल मोबिलिटी, शहरी सेवाहरू रकम्युनिटी डेभलपमेन्ट प्लेटफर्मले यात्रु र चालकहरूलाई आपसमा उचित भाडादरमा छनोटगर्न अनुमति दिएर नेपालमा राइड-सेयरिङ उद्योगलाई ससक्तरुपमा अगाडि बढाईरहेको छ। इन्ड्राइभले २०२२ देखि काठमाडौंमा आफ्नो सेवाहरू सुरु गरेको थियो र त्यसबेलादेखि ग्राहकहरूलाई उनीहरूको आफ्नो सवारीको मूल्य निर्धारण गर्ने स्वतन्त्रता दिइरहेको छ। सेवा नपुगेका बजारहरूमा विद्यमानखाडलहरूलाई सम्बोधन गर्न उचित समाधानहरू सिर्जना गर्नु इनड्राइभको विश्वव्यापी विस्तार रणनीतिको महत्त्वपूर्ण भाग हो। सुरक्षाप्रति हाम्रो प्रतिबद्धतालाई कायम राख्न, हामीले सेफ्टि प्याकका साथमा-प्रयोगकर्ताहरूलाई समर्पित सुविधाहरू, सुझावहरू, र चालक तथा यात्रुहरूका लागि आचार संहिताको साथ सशक्तिकरण गर्ने पहल प्रस्तुत गरेकाे कम्पनीले जनाएकाे छ। ‘हामीले पारस्परिक सम्मानलाई हौसला दिँदै आएका छौं र भेदभावको लागि शून्य-सहनशिलताको नीति लिँदै आएका छौं । एक्सपान्सन, ग्रोथ , कस्टमर स्याटिस्फ्याक्सन तथा सेफ्टीलाई पछ्याएर, हामी उत्कृष्ट नतिजाहरू कायम राख्न र हामीले सेवा गर्ने समुदायहरूमा सकारात्मक प्रभाव पार्दै आएका छौं’, राइड-हेलिङ एपीएसी इनड्राइभका डाइरेक्टर रोमन एर्मोसिनले भने । वर्षौंदेखि विकसित हुँदै, इन्ड्राइभर स्वतन्त्र चालकहरू हालइन्ड्राइभ (इनर ड्राइभ)को रुपमा शहरी सेवाहरूको लागि मार्केटप्लेसमा परिणत भएको छ। इन्ड्राइभ यात्रुहरुद्वारा संचालित कम्पनी हो जसले विश्वमा मानव समानुभूतिलाई प्रतिस्थापन गर्न सक्ने कुनै प्रविधि छैन भन्ने विश्वास गर्छ। राइड-हेलिङ एपहरू बढी मानिसका लागि हुन् र हुनुपर्छ भनेर इन्ड्राइभलेप्रमाणित गर्दै आएको छ। इन्ड्राइभमा रहेको फेयर प्राइसमा यात्रुहरु सहमत हुनसक्दछन्। आज, इन्ड्राइभ संसारमा दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको मोबिलिटी एप हो र यसले पाँच महादेशका ४८ देशमा ७०० भन्दा बढी सहरहरूमा विश्वभर १० करोड भन्दा धेरै प्रयोगकर्ताहरूलाई निरन्तर सेवा दिईरहेको छ।
काठमाडौंमा द्रुत बस सेवा : सडकमा बनाउन थालियो डेडिकेटेड बस लेन, तीन दिनभित्रै सक्ने
काठमाडौं । सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा डेडिकेटेड लेन बनाउन शुरु गरिएको छ । काठमाडौं डिभिजन कार्यालयले द्रुत बस सेवा सञ्चालनका लागि रेड मार्क गर्न थालिएको डिभिजन प्रमुख नारायण निहुँरेले बताए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवस ३ असोजदेखि द्रुत बस सेवा सञ्चालन गर्न निर्देशन दिएका थिए । मन्त्री ज्वालाको निर्देशनपछि सडक विभाग र यातायात ब्यवस्था विभागले काम शुरु गरेका छन् । यातायात ब्यवस्था विभागले द्रुत बस सेवाका लागि २५ वटा ठुला बसहरु तयारी अबस्थामा राखेको छ भने सडक विभागले डेडिकेटेड लेन बनाउन थालेको छ । तीन दिनभित्र रत्नपार्कदेखि सूर्यविनायकदेखि रत्नपार्कसम्म डेडिकेटेड लेन सक्ने गरी काम थालिएको छ । सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभागका महानिर्देशक, यातायात ब्यवस्था विभागका महानिर्देशकसहितको टोलीलाई ‘द्रुत बस सेवा’ सञ्चालन गर्न निर्देशन दिएका थिए । ‘द्रुत बस सेवा’ १ असोजदेखि सञ्चालन गर्ने यसअघि तयारी थियो । तर लामो बर्षातका कारण सडकको डेडिकेटेड लेनमा रेड मार्क गर्न सकिएको थिएन । तर बिहीबार साँझदेखि लाइन बनाउन थालिएको छ । विभागले दुई खण्ड बनाएर सडकको रेड मार्ग थालेको छ । रत्नपार्कदेखि जडिबुटी, र जडिबुटीदेखि सुर्यविनायकसम्म दुई मार्ग बनाउन थालिएको छ । विहान र बेलुकाको कार्यालय समयमा काठमाडौं उपत्यकाभित्र धेरै ट्राफिक जाम हुनेभएपछि मन्त्री ज्वालाले द्रुत बस सेवाको अवधारणा ल्याएको हो । यातायात व्यवस्था विभागका महानिर्देशकको सरुवा भएपछि ‘द्रुत बस सेवा’का बिषयमा केहि आशंकाहरु उब्जिएका थिए । ‘अब आशंका पाल्नुपर्दैन, ३ असोजबाट द्रुत बस सेवा सञ्चालनमा आउँछ’ मन्त्री ज्वालाले भने । अहिले विहान र साँझ कार्यालयमा ‘द्रुत बस सेवा’ सञ्चालन हुनेभएको छ । विहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुनेछ । रासस
आजको मौसम : सुदूरपश्चिम र लुम्बिनीमा वर्षाको सम्भावना
काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्र तथा बङ्लादेशको उत्तर–पश्चिम क्षेत्र आसपासमा रहेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने तथा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । उहाँका अनुसार लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौँमा आज आंशिकदेखि सामान्य बदली भई अपराह्नपख मेघगर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भवना रहेको छ । अहिले काठमाडौँमा सामान्य बदली रहेको र वायुको तापक्रम ३२ डिग्री सेन्टीग्रेड रहेको तथा पारदर्शिता आठ किलोमिटर रहेको मौसमविद् अधिकारीले बताए । यसैगरी आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख गरिएको छ ।
सेवा हाईड्रोले बोलायो सातौं साधारणसभा, आईपीओ निष्काशन प्रस्ताव पारित गर्ने
काठमाडौं । आईपीओ निष्काशन प्रस्ताव पारित गर्न सेवा हाईड्रो कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले असोज २० गते सातौं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको साधारण सभा थापागाउँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे बोलाइएको छ । कम्पनीको सभाले अधिकृत र जारी पूँजी वृद्धि गर्ने र कम्पनीको संस्थापक र सर्वसाधारण सेयर संरचना परिवर्तन गर्नेछ । कम्पनीको सभाले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, कम्पनीले जारी पूँजीको १० प्रतिशत सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गर्नेछ । आईपीओ निष्काशन पश्चात् प्राप्त हुने कूल रकम आयोजना निर्माण गर्दा कायम बैंक वा अन्य दायित्व पुरा गर्न खर्च गर्न स्वीकृत गर्नेछ । कम्पनी सञ्चालकको राजीनामा स्वीकृत तथा नयाँ सञ्चालकको गठन गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।
डीएसपी नै ठगिएपछि…..
काठमाडौं । सशस्त्र प्रहरीका बहालवाला एक डीएसपी हतारिँदै उपत्यका अपराध अनुसन्धान कार्यालय पुगिन् । केही दिनअघि अपराध महाशाखा पुगेकी उनले अन्जान नम्बरसँग ह्वाट्सएपमा कुरा गर्दा एक हप्ताको अवधिमा १३ लाख गुमाइन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार अनलाइन ठगी गर्ने गिरोहको प्रलोभनमा पर्दा उनले उक्त रकम गुमाएकी हुन् । प्रहरीका अनुसार अपरिचित नम्बरबाट आएको ह्वाट्सएप म्यासेजमा उनले कुराकानी गर्ने गरेकी थिइन् । कुराकानी बढ्दै जाँदा ती व्यक्तिले आफू युद्धमा जान लागेको आर्मी भनेर चिनाएका थिए । युद्धका क्रममा परिवार गुमाएको र आफ्नो एउटा खुट्टा पनि गुमाएको जानकारी ती डीएसपीलाई दिएका थिए । निरन्तरको कुराकानी र फोटो भिडियो आदानप्रदान भइसके पछि ति व्यक्तिले बिमावापत आफूलाई निकै पैसा आएको बताएका थिए । उक्त पैसा नेपालकी साथी बनेकी उनै डीएसपीलाई पठाउन लागेको उनले बताए । पैसा कुरियर गरेको फोटो पनि पठाए । त्यसको केही दिनपछि सशस्त्रकी डीएसपीलाई भन्सारबाट गरेको भन्दै एउटा फोन आएको थियो । भन्सारबाट फोन गर्ने व्यक्तिले उनको सामान छुटाउनका लागि पैसा लाग्ने भन्दै पैसा पठाउन आग्रह गरे । कोशेलीस्वरुप विदेशबाट पैसा आएको भन्दै ढुक्क भएकी ती डीएसपीले भन्सार एजेन्टले भनेको अकाउन्टमा पैसा पठाइदिइन् । पैसा पाएपछि फोन गर्ने व्यक्ति र ह्वाट्सएपमा कुराकानी गर्ने व्यक्ति हराए । प्रवक्ता रेग्मी भन्छन्, ‘ठगी गर्ने व्यक्तिको खोजी भइरहेको छ । ठगीमा विदेशी नागरिक संलग्न भए पनि उसले प्रयोग गरेको खाता भने नेपाली व्यक्तिको थियो । खाता भएका एक चौधरी थरका व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।’ यस्तै सामाजिक सञ्जालमा आएको सूचनामा भर पर्दा भक्तपुरकै एक युवाको ३४ लाख रुपैयाँ ठगी भएको थियो । क्यानडा जाने भन्दै उनले अपरिचित खातामा ३४ लाख रुपैयाँ पठाएका थिए । केही दिनअघि ललितपुरका सुसन घिमिरे अनलाइन ठगी गरेको आरोपमा पक्राउ परेका थिए । उनले अनलाइनबाट चिठ्ठा परेको भन्दै ११ लाख रुपैयाँ ठगी गरेका थिए । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।