सानिमाका सेयरधनीको हात १५ वर्षदेखि खाली छैन, यस्तो छ लाभांश इतिहास
काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कुल १४.७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गर्नेछ । यससँगै लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमा सानिमा तेस्रो बैंक बनेको छ । बैंकले यसअघि अघिल्लो आर्थिक वर्ष २०७८/७९मा बैंकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद गरी कुल १०.९८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा बैंकले सेयरधनीहरुलाई १७ प्रतिशत बोनस सेयर र ०.८९४७ प्रतिशत नगद गरी कूल १७.८९४७ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस र ३.६ प्रतिशत नगद गरि कुल १३.६० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७५/७६ मा १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद गरि कूल २०.०५ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा १० प्रतिशत नगद लाभांश र आर्थिक वर्ष २०७३/७४ मा १६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । त्यसैगरी बैंकले आर्थिक वर्ष २०७२/७३ मा १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरि कूल १५.७९ प्रतिशत लाभांश, आर्थिक वर्ष २०७१/७२ मा २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश र आर्थिक वर्ष २०७०/७१ मा १५ प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरि कूल १६.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । यसैगरी आर्थिक वर्ष २०६९/७० मा १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश, आर्थिक वर्ष २०६८/६९ मा ०.५५ प्रतिशत नगद लाभांश, आर्थिक वर्ष २०६७/६८ मा ६.५ प्रतिशत नगद लाभांश, आर्थिक वर्ष २०६६/६७ मा १० प्रतिशत बोनस र आर्थिक वर्ष २०६५/६६ मा ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
नाडा अटो शोमा १००० बढी गाडी बुकिङ, ग्राहकको रोजाइमा ईभी
काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)ले आयोजना गरेको ‘अटो शो–२०२३’ मा एक हजार भन्दा बढी गाडी बुकिङ भएका छन् । भदौ २६ गतेदेखि जारी नाडा अटो शोको तेस्रो दिनसम्ममा सो संख्यामा गाडी बुकिङ भएको नाडाले जानकारी दिएको हो । नाडाका अध्यक्ष ध्रुब थापाले तेस्रो दिनसम्ममा करिब एक हजार बढी चार पाँग्रे गाडीको बुकिङ भएको जानकारी दिए । उनका अनुसार अझै बुकिङ हुने क्रम जारी छ । अटो शोमा विद्युतीय सवारी नै सबैभन्दा बढी बुकिङ भएको अनुमान नाडाको छ । उनका अनुसार नाडा अटोशोमा धेरै अवलोकनकर्ताको नजरमा पनि विद्युतीय सवारी नै परेको छ । दुई पाँग्रे सवारीको बुकिङ भने अहिले नै थाहा नहुने उनको भनाइ छ । ईभी सँगसँगै इन्धनबाट चल्ने विद्युतिय सवारीको बुकिङ पनि राम्रो रहेको थापाको भनाइ छ । ‘हामी सोचे भन्दा पनि राम्रो अटो शो राम्रो भयो, भिजिटर पाउँछ कि पाउँदैन, गाडी बुकिङ हुन्छ कि हुँदैन भन्ने डर थियो, तर अटो शो सोचे भन्दा पनि राम्रो भयो,’ उनले भने । देशको अर्थतन्त्रमा नयाँ भाइब्रेसन सिर्जना गर्ने गरी अटो शो भएको पनि थापाले बताए । उनका अनुसार दोस्रो दिनसम्म २१ हजार बढीले शोको अवलोकन गरेका छन् । यस्तै, अटो–शो तेस्रो दिनमा आज १५ हजार बढीले अवलोकन गरेका अनुमान नाडाको छ । अटो शोले अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास लिएको पनि थापाले बताए । भदौ ३१ गतेसम्म नाडा अटो शो चल्नेछ ।
पाँच वर्षमा मासिक पाँच हजार एकल भत्ता दिन्छौं : मेयर शर्मासँगको कुराकानी
काठमाडौं । दैलेख जिल्लाको नारायण नगरपालिकाका नगर प्रमुख हुन् लोमन शर्मा । खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि लगायतका विषयलाई प्राथमिकता दिएर काम गरिरहेका मेयर शर्मा पालिकाको विकासका लागि दिनरात खटिरहेका छन् । पहिलो वर्ष नै घोषणापत्रमा उल्लेख गरिएका मुद्दाको ५० प्रतिशत काम सम्बोधन भइसकेको उनको भनाइ छ । शर्माले यो अवधिमा नगर कृषिमा आत्मनिर्भर भएको पनि बताए । शर्मा युवा उद्यमी र युवालाई कसरी स्वरोजगार बनाउन सकिन्छ भनेर लागि परेका छन् । उनै मेयर शर्मासँग नगरले अघि सारेको योजना, पालिकाले गर्दै आएका काम, युवा उद्यमीमा नगरको भूमिका लगायतका विषयसँग सम्बन्धित रहेर विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् । तपाईं मेयरका रुपमा निर्वाचित हुनु भएको करिब डेढ वर्ष भयो । तपाईंले यो अवधिभित्र पालिकामा गरेका महत्वपूर्ण काम के-के हुन् ? हामी नारायण नगरपालिकामा निर्वाचित भएर आएपछि प्राथमिकताका विषयवस्तु र कामको केन्द्रिकरण गरेका छौं । जस अनुसार आवधिक र वार्षिक योजना बनाएर काम गर्यौं । सोही अनुरूप नगरले खानेपानीलाई पहिलो प्राथमिकता दिएको छ । त्यसपछि क्रमशः स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार विकासका कामलाई प्राथमिकता दिएर काम गरिरहेका छौं । यहाँ खानेपानीको लागि केही वर्ष अघिसम्म जनताले चर्को महसुल बुझाउँदै आउनु परेको थियो । अहिले पाँच हजार लिटरसम्मको पानी निःशुल्क उपभोग गर्न पाउने निर्णय गरेका छौं । यस्तो व्यवस्था गत आर्थिक वर्ष २०७९÷८० बाट लागू गरेका हौं । खानेपानी विस्तारको लागि नगरले नीजि धारा जोड्ने तथा पानीको ट्याङ्कीहरु निर्माण गर्ने कार्य गरिरहेको छ । खानेपानीको संरचना बनाउने तथा सहज तरिकाले खानेपानी आपूर्ति गर्ने काममा भइरहेको छ । जसमा नगर ५० प्रतिशत सफल भइरहेको छ । यसैगरी नगरले स्वास्थ्य क्षेत्रलाई पनि विशेष प्राथमिकता दिएको छ । नगरले सुत्केरी आमाहरूलाई लक्षित गर्दै निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । यतिमात्र नभई अस्पतालमा बच्चा जन्मिसकेपछि आमा र बच्चा घरसम्म पुर्याउनको लागि पनि यो सेवा निःशुल्क प्रयोग गर्न सकिन्छ । जेष्ठ नागरिक, असहाय, असक्त, दीर्घ रोगीहरूलाई घरदैलो उपचार सेवा सञ्चालन गरेका छौं । यो सेवाबाट तीन हजार जेष्ठ नागरिकले पाइराख्नु भएको छ । ८० वर्ष माथिका जेष्ठ नागरिकहरूलाई निःशुल्क औषधी उपचार गरिरहेका छौं भने उहाँहरूको लागि अस्पतालसम्म आवतजावत गर्ने सेवा सञ्चालन गरेको अवस्था छ । स्वास्थ्य बीमादेखि स्वास्थ्य चौकी सुधारसम्मका काम भएका छन् । प्रायः प्रत्येक वडामा स्वास्थ्य चौकीको भवनहरू निर्माण भई सञ्चालनमा आएका छन् । घरघरमा चिकित्सकको सेवाको सुरुवात गर्ने तयारी गर्दैछौं । यसले जनताको स्वास्थ्यमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा राखेका छौं । सुत्केरी आमाहरूलाई अस्पताल आउनु नपर्ने घरमै गएर अथवा वडामै गएर भिडियो एक्स–रे गरी स्वास्थ्य परीक्षण गर्ने पनि गरिरहेका छौं । तपाईंले काम गरेको महसुस गराउनका लागि र पालिकावासीलाई नयाँ पन दिलाउने किसिमको के काम गर्नु भएको छ ? हेर्नुहोस् सडक भत्केको छ, नबनाई हुँदैन । निरन्तर चलिरहने काम भएता पनि त्यसको सुधार र विकासका निमित्त त सदैव लागि राख्नु पर्यो । नगरवासीको आर्थिक अवस्था सबल कसरी बनाउने भन्ने कुराहरू छँदैछन् । यसका अलावा नगरले एक पुरुष तथा एक महिलालाई भत्ता दिने व्यवस्था गरेको छ । एकल महिलाहरूले पहिलाबाटै भत्ता पाउँदै आउनु भएको थियो । हामीले आर्थिक रूपमा एकल पुरुषहरूलाई पनि सहयोग पुगोस् भनेर भत्ता वितरण गर्न सुरु गरेका छौं । हामीलाई एकल पुरुष वा महिलालाई एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएका छौं । प्रत्येक वर्ष एक हजार रुपैयाँ थप्दै जान्छौं र पाँच वर्षमा ५ हजार रुपैयाँ भत्ता पुर्याउने हाम्रो योजना छ । यो सेवा करिब १ सय ४३ जनाले पाउनु भएको छ । ५५ वर्ष भन्दा माथि ५८ वर्ष भन्दा मुनिका एकल पुरुष वा महिलालाई भत्ता दिएका छौं । नारायण नगरपालिकाले युवालाई उद्यमी बनाउन के कस्तो काम गरिरहेको छ ? युवालाई उद्यमी बनाउनको लागि प्रत्येक वर्ष नगरले सीपमूलक तालिमको आयोजना गरिरहेको हुन्छ । ताकी उहाँहरूले सीप सिकेर नयाँ काम गर्न सकुन् । नगरपालिकाभित्र रोजगारी सिर्जना गर्न रोजगार कोषको खडा गरेका छौं । अहिले प्रत्येक वडाका युवा साथीहरूलाई प्रधानमन्त्री रोजगार कार्यक्रमसँग जोडेर काम पनि दिइरहेका छौं । त्यसमार्फत उहाँहरूले १०० दिनको रोजगार पाउनु हुन्छ । योसँगै युवाहरूलाई कृषिमा आबद्ध गरी व्यवसायिक कृषिमा प्रोत्साहन गरिरहेका छौं । नगरपालिकाले वार्षिक रूपमा युवालाई सीपमूलक तालिम दिनको लागि लाखौं रुपैयाँ बजेट छुट्याइ रहेको हुन्छ । तर, यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्नस्थानीय तहलाई किन सकस परेको हो ? नगरले सीटीभीटीका थुप्रै कार्यक्रम सञ्चालन गरेका छ । उहाँहरूले सीप सिकेपछि प्रमाणपत्र पनि प्रदान गर्छौं । ताकी भोली गएर त्यो प्रमाणपत्र विदेशमा गएर पनि काम लागोस् । जसले तालिम लिनु भएको छ, उहाँहरूले त्यो सीपसँग आधारित व्यवसाय अनिवार्य गर्नुपर्ने बाध्यात्मककारी व्यवस्था गरेका छौं । त्यसैले यो प्रभावकारी भएन भन्न मिल्दैन । सीप सिकेका युवा साथीहरू आज साना तथा घरेलु उद्योगको स्थापना गरी व्यवसायी बनिराख्नु भएको छ । हामीले दिएको तालिम सफल छ । हामीले गत वर्ष २५ जनलाई तालिम दिएका थियौं । उहाँहरू कुनै न कुनै व्यवसायसँग आबद्ध हुनुहुन्छ । त्यसैले यसलाई निरन्तरता दिइराख्नु पर्छ । युवालाई बिदेशिन रोकेर गाउँमै रोजगार बनाउन स्थानीय तहको ठूलो भूमिका रहन्छ । तपाईंले गाउँपालिकामा युवा लक्षित रोजगारीको लागि कस्तो नीति बनाउनु भएको छ ? हामी प्रत्यक्ष रूपमा विदेश नजाऊ भनेर भन्न सक्दैनौं । किनभने राज्यले गर्ने काम स्थानीय तहले गर्न सक्दैन । स्थानीय तहले विदेश नजाने भन्ने नीति पनि बनाएको छैन । तर, यहीँ व्यवसाय गर नगर सहकार्य गर्न तयार छ भनेर भन्न सक्छ । विदेश जानु आजका दिनमा फेसन भइसकेको छ । नगई पनि भएको छैन । यहाँ नियमित रोजगारी छैन, लगानीको अवसर छैन । त्यसैले पनि यो ट्रेन्ड बढेको हो । यसमा स्थानीय तहले गर्न सक्ने काम गरिहरेका छ । युवालाई अवसर सिर्जना गर्नमा नगर सदैव तत्पर छ । नगरलाई आर्थिक रूपमा सबल बनाउने योजना सहित कसरी काम गरिराख्नु भएको छ ? नगरलाई आर्थिक रूपमा सबल बनाउने आधारको रुपमा कृषि क्षेत्रलाई देखेका छौं । र, यस क्षेत्रलाई प्राथमिकता दिएर पनि काम गरिरहेका छौं । कृषि उत्पादन, आधुनिकिरण र व्यवसायीकरणमा नगरले जोड दिइरहेको छ । जीवन निर्वाहका लागि मात्र कृषि हैन की व्यवसायिक कृषि बनाउनु पर्छ भनेर पकेट क्षेत्र निर्धारण गरेका छौं । जस्तै, हामीले फलफूल, तरकारी, कुखुरा पालन लगायतका पकेट क्षेत्र छुट्याएका छौं । कृषिमा पनि नगरले उदाहरणीय काम गरेको छ । नगरपालिका कृषि र पशुपालनमा आत्मनिर्भर छ ? हो, नगर कृषि र पशुपालनमा आत्मनिर्भर छ । नगरभित्रका एक कृषकको वर्षेनी कृषिबाट ३ लाख रुपैयाँसम्म आम्दानी गर्नु हुन्छ । हामीले कृषिमा अनुदानको व्यवस्था मिलाएका छौं । कृषिका समूह बनाइ आवश्यक गृहकार्य पनि गरिरहेका छौं । अहिले जताततै काठमाडौं महानगरका मेयर र धरान उपमहानगरका मेयरले गरेको कामको मात्र उदाहरण दिन्छन् । तपाईंहरुको पनि क्षेत्राधिकार उति नै हो । तर, तपाईंहरु किन गुमनाम ? उहाँहरुसँग पर्याप्त स्रोत साधन छ । काम गर्नको लागि आर्थिकदेखि जनशक्तिसम्म मजबुत छ । उहाँहरूले गरेको कामलाई म पनि सम्मान गर्छु । काठमाडौं महानगरका मेयर बालेद्र शाह (बालेन) सार्वजनिक जग्गामा बनको संरचना हटाउने, शहरको सौन्दरिकण गरेर चर्चामा आउनु भएको छ । तर, उहाँले कृषि, रोजगार जस्ता काम गर्नु भएको छैन । यहाँ हामीले प्रत्यक्ष जनताको घरदैलैमा पुगेर काम गरेका छौं । हामीले काम गर्नमा लाग्यौं, प्रचार गर्नमा लागेनौं । उहाँहरू प्रचार गर्नमा लागेकोले पनि धेरै काम गरेको जस्तो देखिएको हो । हाम्रो स्रोत साधनबाट भएको काम र उहाँहरूको स्रोत साधनबाट भएको कामको तुलना गरौं । हामीले अप्ठ्यारो अवस्थासँग जुधेर काम गरेका छौं । ग्रामीण क्षेत्रको एउटा स्थानीय तह सञ्चालन गर्नमा ठूलो चुनौती छ । उहाँहरूसँग पर्याप्त स्रोत साधन छ । महानगरको अर्बौं रुपैयाँ त राजश्व मात्र संकलन हुन्छ । बजेट पनि सोही अनुरूपको हुन्छ । राज्यबाट नगरलाई वार्षिक १० करोड रुपैयाँ बजेट प्राप्त हुन्छ । सोही रकमबाट सेवा प्रवाहदेखि विकास निर्माण खानेपानी, रोजगार, बिजुली बत्ती लगायतका आर्थिकदेखि प्रशासनिकसम्म काम गर्न पर्यो । स्रोतका हिसाबले पनि नगर र महानगरको तुलना गर्न मिल्छ ? धरानका मेयर हर्क साम्पाङ श्रम जुटाएर धरानमा पानी ल्याएर कारण चर्चामा आउनु भएको छ । हामीले त्यस्तो काम त नगरभित्र कति गरेका छौं कति । ग्रामीण क्षेत्रमा काम गर्न गाह्रो छ । हामीले सीमित स्रोत साधन बाबजुद धेरै काम गर्न सफल भएका छौं । प्रदेश सरकारसँगको समन्वय कस्तो छ ? स्थानीय तहले अधिकार पाएका छन् तर राज्यका तर्फबाट पाउनु पर्ने स्रोत साधन पर्याप्त पाउन सकेनौं । संघको बजेट आउँछ, प्रदेशमा अड्कन्छ । प्रदेशले १५ प्रतिशत पनि बजेट खर्च गर्न सक्दैन । त्यो पैसा फ्रिज भएर जान्छ । सरकारले विकासको जिम्मा प्रदेशले दिएको छ । तर, प्रदेश काम गर्न सक्दैन । हामीले केवल सेवा प्रवाह गर्नेमात्र पैसा प्राप्त गर्छौं । त्यो बाहेक विकास निर्माणको लागि पैसा प्राप्त गर्न सकेनौं । जनसंख्या र भूगोलका आधारमा बजेट विनियोजन हुन्छ । ग्रामीण क्षेत्रमा जनसंख्या थोरै हुन्छन्, भूगोल ठूलो हुन्छ । मन्त्रालयका हरेक कार्यक्रम पनि राजधानीमा मात्रै केन्द्रित हुने गर्छन् । हामीले देखि रहेका हुन्छौं काठमाडौं भित्रको एउटै सडक वर्षमा ५ पटकसम्म भत्काउँदै बनाउँदै गरेको । तर, यहाँ एउटा सडक पनि राम्रो बनाउने बजेट पाएनौं । सरकारले ग्रामिण क्षेत्रमा गरेको लगानी पुगेन । हामीलाई अधिकार दिइयो । राज्यबाट विनियोजन हुने रकम दिइएन । हामीलाई गत वर्ष राज्यबाट १० करोड रुपैयाँ बजेट दिएको थियो । बजेट अनुसारको योजना छनोट गरी कार्यक्रम पनि बनायौं । तर, वित्तीय समानीकरण अनुदान कटौती भयो । जसका कारण भुक्तानी गर्नमा पनि समस्या भयो । राजश्वको पैसा आउँछ भनेर त्यी अनुसारको सिलिङ बनायौं । साढे ४ करोड रुपैयाँ राजश्वको पैसा आएन । १० करोडको सिलिङ दिने अनि ७ करोड रुपैयाँ बजेट कटौति गरेपछि पालिका अवस्था के होला ? यो वर्ष हामीले एउटा पनि नयाँ योजना तान्न सकेनौं । किनभने बजेट छैन । आन्तरिक स्रोत जसको बढी छ त्यो पालिका चल्छ, हैन भने स्थानीय तह सञ्चालन गर्न गाह्रो छ । तथापि पनि स्थानीय तहमा धेरै उपलब्धि भएको छ भन्ने मेरो निष्कर्ष हो । अन्त्यमा, तपाईंको कार्यकाल सकिनै लाग्दा नारायण नगरपालिका कस्तो हुन्छ ? हामीले प्राथमिकता दिएका काम पुरा गर्नेछौं । निर्वाचित भएर आइसकेपछि नगरभित्र धेरै सडक सुधार गरेका छौं । ग्रामिण क्षेत्रमा सडकको पहुँच पुर्याउँदैछौं । खानेपानीलाई सुधार गयौं । सडक बत्ति जडान गर्दैछौं । विद्यालयमा दक्ष शिक्षकको पदपूर्ति गर्ने काम गरिरहेका छौं । एक वर्षमा घोषणापत्रमा उल्लेख गरेका कुराको ५० प्रतिशत सम्बोधन गरिसकेका छौं । त्यसैले हामी सफल भएको पनि महसुस गरेका छौं । अहिलेको कार्यकाल सकिँदा नगरभित्रको धेरै कुरामा सुधार र परिवर्तन भएको पाउनु हुनेछ ।
सानिमा बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने छ ।
चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने बताएका छन् । नेपाल चिकित्सक सङ्घको आज ज्ञापनपत्र बुझ्दै उनले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएको सङ्घका उपाध्यक्ष डा प्रकाश बुढाथोकीले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले सार्वजनिकस्थलमा काम गरिरहेका स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई जो कोहीलाई उन्मुक्ति नदिने बताएकाे उनले जानकारी दिए । सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कानुनी कारबाही गर्न माग गरिएको छ । यही भदौ २७ गते हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सक डा विकास थापा र डा. प्रशान्त विडारीलाई बिरामीको उपचार गरिरहेको बेला साङ्घातिक आक्रमण गरिएको थियो । उक्त घटेको घटनाको विषयलाई लिएर आज प्रधानमन्त्रीसँग सङ्घको टोलीले भेट गरेको थियो । सङ्घले नियमित रुपमा उपचार प्रक्रियालाई इमान्दारितापूर्वक पालना गरी थप सुविधा सम्पन्न अस्पतालमा बिरामीलाई पठाइएको र बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकलाई हातपात गर्ने जस्तो अस्वभाविक र अमानवीय घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेको छ । डेङ्गी सङ्क्रमण भएपछि थप उपचारका लागि सञ्चो अस्पतालबाट चिकित्सकहरुले चितवन ‘रिफर’ गरिएको र उपचारका क्रममा बिरामीको यही साउन २५ गते निधन भएपछि सञ्चो अस्पतालमा कार्यरत चिकित्सकद्वयलाई आक्रमण गरेका थिए ।
तनहुँ जलविद्युत् आयोजनाको समग्र प्रगति ४३ प्रतिशत
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको समग्र प्रगति ४३ प्रतिशत पुगेको छ । निर्माण सुरु भएको चार वर्षमा आयोजनाले तीन वटा प्याकेजमा ४३ प्रतिशत प्रगति हासिल गरेको हो । तीन वटा खण्डमा काम तीव्र गतिमा भइरहेको तनहुँ जलविद्युत् आयोजनाको प्रवर्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । तीनवटै प्याकेजको समग्र भौतिक प्रगति ४३ प्रतिशत रहेको श्रेष्ठको भनाइ छ । उनका अनुसार प्याकेज–१ अन्तर्गत बाँध निर्माण २५ प्रतिशत, प्याकेज २ अन्तर्गत विद्युत् गृह निर्माण ४५ प्रतिशत र प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माण ६९ प्रतिशत भौतिक प्रगति भएको छ । कोभिड–१९ को सङ्क्रमणका बेला पनि काम नरोकिएको बताउँदै श्रेष्ठले चाडपर्वका बेला पनि कामलाई गति दिइएको बए । प्याकेज तीन अन्तर्गत वनको नीतिगत समस्याका कारण केही ढिलाइ भएको छ । यसबारेमा सम्बन्धित मन्त्रालयमा समस्या समाधानका लागि पहल भइरहेको उनले बताए । प्रसारण लाइन निर्माणका लागि ६९ टावरको जग खन्ने काम सकिएको छ भने ३३ टावर जडान सम्पन्न भइसकेको छ । प्याकेज २ अन्तर्गत भूमिगत विद्युतगृहको भौतिक निर्माण ६६ प्रतिशत सकिएको छ । इलेक्ट्रोनिकल मेकानिकल अन्तर्गत १० प्रतिशत प्रगति हासिल भएको छ । आयोजनाको पहिलो प्याकेज अन्तर्गत एक सय ४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभिले निर्माण गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक डाइभर्सन सुरुङ, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नति भइरहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए । आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको निर्माण चिनियाँ कम्पनी सिनो हाइड्रो गरिरहेको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणकार्य केइसी, भारतले गरिरहेको छ । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको प्याकेज १ अन्तर्गत हेडबक्र्स निर्माण कार्यका लागि सोङ दा कर्पोरेसन, भियतनाथ कालिका कन्स्ट्रक्सन प्रालि, नेपाल जेभीसँग विसं २०७७ चैत ९ गते २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ रुपैयाँमा खरिद सम्झौता भएको थियो । प्याकेज अन्तर्गत मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक पर्ने डाइभर्सन सुरुङ १ र २ को निर्माण कार्य जारी रहेको आयोजनाले जनाएको छ । दुवै डाइभर्सन सुरुङको इनलेट र आउटलेटबाट खन्ने काम भइरहेको आयोजनाले जनाएको छ । बाँधको माथिल्लो भागको स्लोप खन्ने काम अन्तर्गत हालसम्म इलिभेसन तह ५४४ मिटरबाट ४८० मिटरसम्म खन्ने काम सम्पन्न भइसकेको छ । यसैगरी बाँधको दायाँ किनारातर्फबाट माथिल्लो भागको स्लोप खन्नका लागि पहुँच सडक निर्माण कार्य सुरु गरिएकामा वर्षाका कारण प्रभावित भएको थियो । हालसम्म इलिभेसन तह चार सय ७० मिटरसम्म खन्ने काम सकिएको आयोजनाले जनाएको छ । आयोजनाको प्याकेज दुईको निर्माणका लागि सिनो हाइड्रो कर्पोरेशनसँग विसं २०७५ असोज १५ गते अमेरिकी डलर एक अर्ब १४ करोड एक लाख ८८ हजार नौ सय ५८ र तीन अर्ब ८३ करोड १३ लाख ६० हजार तीन सय ६१ मा खरिद सम्झौता भएको थियो । खरिद सम्झौताबमोजिम निर्माण सुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनोले विसं २०७५ माघ ६ गतेबाट आयोजनास्थलमा परिचालित भई निर्माण जारी राखेको छ । यो प्याकेज अन्तर्गत ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युतगृह खन्ने काम विसं २०७९ असार १० गते सम्पन्न भएको आयोजनाले जनाएको छ । यसका अतिरिक्त मुख्य पहुँच सुरुङ, केबल सुरुङ र सेती नदीको दायाँतर्फबाट बाँधस्थलतरि जाने तथा सर्ज ट्याङ्कतर्फको पहुँच सुरुङ निर्माण सम्पन्न भएको आयोजना प्रमुख शिल्पकारको भनाइ छ । आयोजनाको एक हजार चार सय ५६ दशमलव नौ मिटर लामो मुख्य सुरुङ २०७८ कात्तिकबाट खन्न सुरु गरिएकामा मङ्सिर मसान्तसम्म ६८० मिटर खन्ने काम सकिएको छ । आयोजनाको दुई सय १० दशमलव नौ मिटर टेलरेस सुरुङ २०७७ फागुन २९ गतेदेखि खन्न सुरु गरिएकामा उक्त काम सम्पन्न भइसकेको छ । हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिल कार्य अन्तर्गत पेनस्टक जडानका लागि खन्ने काम ६४ मिटर रहेकामा सम्पूर्ण पेनस्टक खन्ने कार्य सकिएको छ । प्याकेज तीन अन्तर्गत प्रशारण लाइन निर्माणका लागि ६९ वटा टावरको जग हालिसकिएको आयोजनाले जनाएको छ । कूल ३३ वटा टावर जडान कार्य सम्पन्न भएको र आठ स्थानमा टावर प्रोटेक्सन कार्य गरिएको छ । ३४ दशमलव सात किमि प्रशारण लाइनमा ९४ वटा टावर राखिनेछ । प्रसारण लाइन निर्माण सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकामा कोभिड १९ को महामारी र वन क्षेत्रको रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतिकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । रासस
ट्रक उत्पादक कम्पनी आइसरको ग्राहक भेला सम्पन्न
काठमाडौं । ट्रक तथा बस कम्पनी आइसरको ग्राहक भेला सम्पन्न भएको छ । बाँकेको नेपालगञ्जमा आइसर ३०१५ जे एचएसडी ग्राहक भेटघाट कार्यक्रम सम्पन्न गरिएको हो । भेलामा ५० जनाभन्दा बढी ग्राहक सहभागी थिए । कार्यक्रममा आइसर ३०१५ जे एचएसडी मोडेलका फिचरहरूबारे जानकारी गराइएको थियो । सहभागीहरूलाई गाडीको शक्तिशाली इन्जिन, माइलेजर सुरक्षा सुविधालगायत प्रभावकारी फिचरहरूबारे जानकारी गराइएको थियो। ‘नेपालगन्जका हाम्रा ग्राहकहरूको सकारात्मक प्रतिक्रियाबाट खुसी छौँ। सहभागीको उत्साहले आइसरका उत्पादनप्रतिको विश्वास झल्काउँछ,’ आइसरको नेपालका लागि आधिकारिक वितरक बतास एम ए डब्लूका प्रडक्ट म्यानेजर ठाकुरकुमार गाहले भने । प्रिमियम नेक्स्ट जेनेरेसन लेबल उत्पादन रहेको आइसर ३०१५ जे एचएसडीबाट तुलात्मक रूपमा पाँचदेखि ८ प्रतिशत अतिरिक्त माइलेज पाइने उनले बताए। साथै लामो यात्रामा रेस्टको लागि गाडी भित्र नै सिल्पर क्याबिन रहेको उनले जानकारी दिए । उक्त गाडीले उकालोमा १०.३ टन भार बहन गर्न सक्ने उनको भनाइ छ।
बालेन्द्र शाह टाइम म्यागेजिनको १०० उदयीमान सूचीमा
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह विश्वप्रसिद्ध टाइम म्यागेजिनले प्रकाशन गरेको एक सय प्रभावशाली व्यक्तित्वको सूचीमा पारेका छन् । विसं २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएका उनलाई बुधबार सो पत्रिकाको अनलाइन संस्करणले एक सय उदयीमान नेतृत्वको सूचीमा समेटेको हो । स्ट्रक्चरल इञ्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीय प्रमुख शाहले यथास्थितिमा मतदाताको भावनालाई सामाजिक सञ्जाल टिकटक, ट्विटर र इन्स्टाग्राम प्रयोग गर्दै आफ्नो पक्षमा पार्न सफल भएको पत्रिकाले उल्लेख गरेको छ । गोरखा भूकम्पले तहसनहस गरेको काठमाडौँमा प्रमुख शाहले फोहरको राम्रो विसर्जन र सरसफाइ, सुरक्षित पिउने पानीको व्यवस्था, सफा सडक र सहरी विकासका साथसाथै सांस्कृतिक सम्पदाको संरक्षणलगायत सरल प्रतिवद्धता र अभियान गरेर निर्वाचनमा सफल भएको पत्रिकामा जनाइएको छ । साथै फोहरको वर्गीकरण गर्न प्रारम्भ गरेको तथा फोहर व्यवस्थापनका लागि सम्झौतामा हस्ताक्षर गरेकोसमेत पत्रिकामा उल्लेख छ । प्रमुख शाहले सहरका गैरकानुनी भवन भत्काउँदा तथा व्यवस्थापन गर्दा सहरी गरिबमा प्रभाव परेको र आलोचना भएकोसमेत जनाइएको छ । पत्रिकाले विभिन्न क्षेत्रमा एक सय उदयीमान व्यक्तित्वको सूची प्रकाशन गरेको छ ।