अघिल्लो वर्ष एक रुपैयाँ पनि भत्ता नबुझेका पिएमओका कर्मचारीले गत वर्ष कसरी बुझे १६ लाख ?
काठमाडौं । प्रधानमन्त्री कार्यालयको कर्मचारी बैठक भत्ता वितरणमा अनौठो अवस्था देखिएको छ । अघिल्लो आर्थिक वर्षमा साे कार्यालयका कर्मचारीहरुले बैठक भत्ता बापत एक रुपैयाँ पनि नलिएकाेमा गत आवमा भने १६ लाख रूपैयाँ बढी भत्ता बुझेका हुन् । प्रधानमन्त्री कार्यालयबाट प्राप्त सूचनाअनुसार आव ०७८/०७९ मा सो कार्यालयले कर्मचारी भत्ताको लागि ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, प्रधानमन्त्री कार्यालयले सो आवमा कर्मचारीलाई बैठक भत्ता वापत भने रकम खर्ज गरेकाे देखिँदैन । गत आव ०७९/८० मा सो कार्यालयले कर्मचारीको बैठक भत्ता शिर्षकमा ९ लाख बजेट विनियोजन गरेको थियो । कर्मचारीलाई भत्ता वापत १७ लाख ८० हजार ४५० रुपैयाँ वितरण गरेको थियाे । आव ०७७/७८ मा कर्मचारीको बैठक भत्ता शिर्षकमा १० लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये सो आवमा जम्मा १ लाख ६५ हजार रुपैयाँ कर्मचारीको भत्ताका लागि खर्च गरेको थियो । कर्मचारी बैठक भत्ता बाहेक पनि प्रधानमन्त्री कार्यालयले अन्य भत्ता शिर्षक राखेर बजेटको व्यवस्था गर्ने र खर्च गर्ने गरेको छ । पछिल्लो तीन आर्थिक वर्षमा सो कार्यालयले अन्य भत्ता शिर्षकमा पनि तेब्बर बढी रकम खर्च गरेको सूचनामा उल्लेख छ । आव ०७७/७८ मा अन्य भत्ता शिर्षकमा जम्मा ७ लाख ७४ हजार ६७५ रुपैयाँ खर्च गरेको सो कार्यालयले गत आव ०७९/८० मा भने सोही शिर्षकमा २१ लाख ३४ हजार एक सय रुपैयाँ खर्च गरेको छ । जुन रकम झण्डै तीन गुणा बढी हुन जान्छ । त्यस्तै, सोही शिर्षकमा प्रधानमन्त्री कार्यालयले आव ०७८/७९ मा गत आवको भन्दा पनि धेरै २३ लाख २४ हजार ४६८ रुपैयाँ खर्च गरेको थियो । कर्मचारीको इन्धन खर्च पनि दोब्बर कायार्लयबाट प्राप्त सूचनाअनुसार ३ वर्ष अगाडि अर्थात् आव ०७७/७८ को तुलनामा आव ०७९/८० मा प्रधानमन्त्री कार्यालयका कर्मचारीले इन्धनमा ६० प्रतिशत भन्दा धेरै खर्च गरेका छन् । आव ०७७/०७८ मा सो कार्यालय प्रयोजनको लागि इन्धनमा एक करोड २१ लाख रुपैयाँ विनियोजन गरेको थियो, जसमध्ये ९२ लाख १७ हजार ३३३ रुपैयाँ खर्च गरेको थियो । प्रधानमन्त्री कार्यालयले आव ०७८/७९ मा कार्यालय प्रयोजन इन्धनको लागि १ करोड २३ लाख रुपैयाँ विनियोजन गरेको थियो, जसमध्ये विनियोजन गरिएको भन्दा धेरै १ करोड ५२ लाख ७१ हजार छ सय ९७ रुपैयाँ खर्च भएको थियो । पछिल्लो गत आव ०७९/८० मा प्रधानमन्त्री कार्यालयले कार्यालय प्रयोजनको लागि इन्धन शिर्षकमा १ करोड २९ लाख रकम विनियोजन गरेको थियो । तर, सो शिर्षकमा सो आवमा २ करोड ३२ लाख १७ हजार ८७७ रुपैयाँ खर्च गरेको थियो । प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री लगायत पदाधिकारीलाई इन्धन खर्चको लागि भिन्नै शिर्षकमा बजेटको व्यवस्था गरेर खर्च गर्ने गरेको छ । पछिल्लो तीन वर्षमा प्रधानमन्त्री लगायतका सचिवालयमा काम गर्ने सचिवालय लगायत अन्य पदाधिकारीहरुको इन्धनको लागि प्रधानमन्त्री कार्यालयले १ करोड ३६ लाख ४० हजार आठ सय ६३ रुपैयाँ खर्च गरेको छ । प्रधानमन्त्री कार्यालयका लेखा प्रमुख सुर्यबहादुर भण्डारीले कुनै वर्ष गत आवमा निर्वाचन भएकाले सो सन्दर्भमा जोडिएर प्रधानमन्त्री कार्यालयका कर्मचारीहरुले काम गर्दा इन्धनमा बढी खर्च भएको हुनसक्ने बताएका छन् । साथै उनले कुनै वर्षमा भत्ता लिने प्रकृतिका बैठक बढी भएको कारणले पनि गत आवमा भत्ता बढी भएको हुनसक्ने प्रतिक्रिया दिए । आर्थिक वर्ष ०७७/०७८ को खर्च विवरण आर्थिक वर्ष ०७८/०७९ को खर्च विवरण आर्थिक वर्ष ०७९/०८० को खर्च विवरण
अर्थतन्त्र यो भन्दा कमजोर बन्ने ठाउँ छैन, अब चलायमान हुन्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी दिनमा अर्थतन्त्र थप चलायमान बन्ने बताएका छन् । शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा अभिनेता दीपकराज गिरी र अभिनेत्री दीपाश्री निरौलाको आइआई सिनेमा हलको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्र यो भन्दा पनि तल खस्किने ठाउँ नरहेको भन्दै अबका दिनमा अर्थतन्त्रले लय समात्ने बताए । अध्यक्ष ढकालले व्यवसायिक एक्टिभिटिज बढेमात्रै अर्थतन्त्र चलायमान बन्ने जानकारी दिए । उनले कोरोना भाइरसपछि अर्थतन्त्र कमजोर बन्दै गएको र व्यवसायिक माहोल बिग्रँदै गएको अवस्थामा सिनेमा हल खुल्नुले आम मानिसमा सकारात्मक उर्जा थपिने विश्वास व्यक्त गरे । उनले भने, ‘अहिले कोभिड पछिको जुन एक्टिभिटी कम भइरहेको अवस्थामा सिनेमा हल सञ्चालन गरेर इकोनोमिक एक्टिभिटी बढ्ने जुन म्यासेज दिनुभएको छ, त्यसको लागि पनि धन्यवाद छ । अहिले कता कता मान्छेहरुलाई पब्लिक कन्फिडेन्स नभइरहेको बेलामा अब आउने दिनमा उत्साहजनक हिसावले बढ्छ भन्ने सन्देश गएको छ । व्यवसायिक एक्टिभिटिज जति बढ्छन्, त्यति नै अर्थतन्त्र चलायमान हुँदै जान्छ । अब आउने दिन राम्रो हुनेछ । यो भन्दा डिट्रोइट हुने अवस्था छैन । अब आउने दिन इकोनोमिक एक्टिभिटी बढ्नेछ ।’ अध्यक्ष ढकालले एउटा कलाकारले मेहनत गर्यो भने सिनेमा हलको मालिक पनि हुनसक्ने रहेछ भन्ने स्पष्ट म्यासेज गएको बताए ।
शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरुले असोज ३ गतेदेखि आन्दोलन गर्ने
काठमाडौं । सरकारले संसदमा दर्ता गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ को विरुद्धमा शिक्षकहरुले शिक्षक महासंघको नेतृत्वमा आन्दोलन गर्ने भएका छन् । महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै विधेयकले शिक्षकहरुको ट्रेड युनियन अधिकार लगायतका विषयलाई सम्बोधन नगरेकाले आन्दोलन गर्ने जनाएको छ । ‘यो विधेयकले एकातिर स्थायी, अस्थायी/करार, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार र संस्थागत विद्यालयका शिक्षक लगायत सबै प्रकारका शिक्षक तथा विद्यालयका कर्मचारीका मुलभूत मुद्दाहरुलाई सम्बोधन गर्न सकेको छैन भने अर्कोतिर संविधान प्रद्दत ट्रेड युनियन अधिकार माथि पनि अंकुश लगाउन खोजेको छ’, विज्ञप्तिमा भनिएको छ । महासंघले असोज ३ गतेबाट शुरु हुने आन्दोलनमा सहभागी हुन देशैभरीबाट राजधानीमा आउन शिक्षक तथा कर्मचारीलाई आह्वान समेत गरेको छ ।
दरौँदीमा नौ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने
गोरखा । गोरखा नगरपालिका–१३ दरौँदी नदीमा अर्धजलासययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । दुई अर्ब १९ करोड ९५ लाखको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो । मनकामना दरौँदी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रवर्द्धनमा दरौँदी नदीमा नौ दशमलव ८४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष डा. डम्बरबहादुर नेपालीले जानकारी दिए । आयोजना निर्माण गर्दा कुल लगानीको ७० प्रतिशत ऋणबाट लगानी गर्ने र बाँकी स्वपुँजीअन्तर्गतको लगानी रहने उनले बताए। ‘सिमलगैरामा विद्युत्गहृ रहने गरी दरौँदी नदीमा जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो’, उनले भने, ‘दरौँदी नदीमा बाँध बाँधेर कर्मसिं फाँटको रातडाँडामा बाँध रहने गरी आयोजना निर्माण हुनेछ ।’ गोरखा–१२, १३ र १४, सहिद लखन गाउँपालिकाका–१, २ र ३ तथा पालुङटार नगरपालिका–३ वडाका गरी आयोजनाले कुल चार सय ४० रोपनी क्षेत्रफल ओगट्ने छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनअनुसार आयोजनाले खेतीयोग्य जमिन एक सय २३ रोपनी, दुई सय ९२ रोपनी बगर क्षेत्र, ३८ रोपनी स्थायी तथा अस्थायी जमिन र १७ रोपनी सामुदायिक वन क्षेत्रफल ओगट्ने छ । ‘आयोजनाको मुख्य संरचना गोरखा–आँबुखैरेनी सडकखण्डको पहुँच क्षेत्रमा रहनेछ’, आयोजनाका इन्जिनियर अनिल नेपालले भने, ‘अर्धजलासययुक्त आयोजनाको जलाधार क्षेत्र पाँच सय ३६ दशमलव ५४ वर्गकिलोमिटर रहने छ ।’ कम्पनीले आयोजना निर्माणस्थल र प्रभावित क्षेत्रका बासिन्दाको धारणा बुझेर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनलाई अन्तिम रूप दिन सार्वजनिक सुनुवाइ कार्यक्रम गरी राय सुझावसमेत सङ्कलन गरिसकेको छ । स्थानीयवासीले आफूहरूलाई आयोजनामा सहभागी गराउनुपर्ने, जग्गा अधिग्रहण गर्दा उचित मुआब्जा दिनुपर्ने, स्थानीयलाई रोजगारी सुनिश्चित गर्नुपर्ने, डुबान तथा प्रभावित क्षेत्रका बासिन्दालाई आयोजनाको सेयर उपलब्ध गराउनुपर्नेलगायतका माग सार्वजनिक सुनवाइका क्रममा गरेका थिए । प्रभावित क्षेत्रका बासिन्दाको राय सुझाव थप गरेर अब वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवदेन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेस गरिने र मन्त्रालयबाट स्वीकृति प्रदान भएलगत्तै विद्युत् उत्पादन अनुमतिका लागि विद्युत् विभागमा निवदेन दिएर तत्काल काम अघि बढाउने कम्पनीका सञ्चालक बलराम केसीले जानकारी दिए । विभागबाट अनुमति पाएपछि आगामी माघ पहिलो सातादेखि आयोजनाको संरचना निर्माणका काम थाल्ने योजना रहेको कम्पनीले जनाएको छ । आयोजना निर्माण सुरु भएको साढे दुई वर्षभित्रमा विद्युत् उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । रासस
टिसिएल टिभीको ‘सेलिब्रेट ग्रेटनेस’ योजना सार्वजनिक, ४४ हजार रुपैयाँसम्मको छुट
काठमाडौं । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो दशैं, तिहार तथा छठलाई लक्षित गरेर ‘सेलिब्रेट ग्रेटनेस’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजनाको लाभ भदौ २६ गतेदेखि नेपालभरी सीमित अवधिका लागि उठाउन सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले ‘सेलिब्रेट ग्रेटनेस’ योजना अन्तर्गत टिसिएलको कुनै पनि टेलिभिजनको खरिदमा ४४,७०० रुपैयाँ सम्मको आकर्षक छुट पाउन सक्नेछन् । त्यस्तै वाशिङ मेसिन खरिदमा १४,४०० सम्मको छुटका साथै ६ केजीको एरियल मेटिक पाउडर उपहार पनि पाउन सक्ने कम्पनीले जनाएको छ । यसका साथै, ग्राहकहरुले टिसिएलको सम्पूर्ण क्याटागोरीको एयर कन्डिसनरको खरिदमा ५६,८०० सम्मको आकर्षक क्यासब्याक प्राप्त गर्नुका साथै ४ रुपैयाँ बराबरको निःशुल्क एसि जडान सुबिधा पनि पाउन सक्ने कम्पनीले जनाएको छ । र ग्राहकहरुले टिसिएलको साइड बाइ साइड रेफ्रिजरेटरको खरिदमा ३१,८०० रुपैयाँ सम्मको आकर्षक क्यासब्याक पाउनुका साथै सिजि इन्डक्सन चुलो सित्तैमा प्राप्त गर्ने सक्ने छन् । कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन सुबिधा पनि प्रदान गरेको छ। त्यसै गरि शुन्य प्रतिशतमा फाइनान्स सुबिधा, पुराना भएका सामान फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुबिधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले “सिजि लोयल्टी क्लब”को रिवार्ड प्रोग्राम अन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुर स्थित होटल विभान्तामा २५% सम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ । यी सुबिधाका लागि ग्राहकहरुले सिजीकाे वेबसाइटमा गएर आफ्नो विवरण दर्ता गर्न सक्ने जनाएको छ । नेपाल अधिराज्यभर टिसिएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, किर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, गत्थाघर, टेकु ,नयाँ बजार र काठमाडौं बाहिर पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।
४ बैंकले घोषणा गरे लाभांश, कुनको कति ?
काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएसँगै विभिन्न कम्पनीले लाभांश घोषणा गरिरहेका छन् । हालसम्म झण्डै डेढ दर्जन बढी कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । जसमध्ये ४ वटा वाणिज्य बैंकले लाभांश वितरण गर्ने घोषणा गरेका छन् । लाभांश प्रस्ताव गर्ने बैंकहरुमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंक रहेका छन् । माछापुच्छ्रे बैंकको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै, एभरेष्ट बैंकको सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै, सानिमा बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, एनआईसी एशिया बैंकको सञ्चालक समितिको भदौ २९ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ३०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने छ । माछापुच्छ्रे बैंकले भने लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा समेत आह्वान गरिसकेको छ । बैंकको भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकले असोज १८ गते होटल पोखरा ग्राण्ड कास्कीमा बिहान ११ बजे बोलाएको छ ।
कालीगण्डकी करिडोरमा राति सवारीसाधन चलाउन रोक
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित कालीगण्डकी करिडोरमा रातिको समयमा सवारीसाधन सञ्चालनमा प्रहरीले रोक लगाएको छ । निर्माणका क्रममा रहेकाले जिल्लास्थित करिडोर खण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार करिडोर निर्माणको काम सम्पन्न भइनसकेकाले दुर्घटनाको जोखिम रहेका कारण रातिको समयमा यातायातकान साधन सञ्चालनमा रोक लगाइएको हो । नवलपुरमा कालीगण्डकी करिडोर करिब ८७ किलोमिटर लामो छ । यसमध्ये आधाजस्तो खण्डमा फोन सम्पर्कसमेत हुन नसक्ने भएकाले राति दुर्घटना भए उद्धारमा समेत समस्या हुने र यसले क्षति बढाउन सक्ने भएकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । ‘करिडोर निर्माणका चरणमा छ, पूरा भएको छैन । यसले दुर्घटनाको जोखिम बढाएको छ, राति उद्धारमा पनि कठिनाइ हुने गरेको छ’, उनले भने । सञ्चारको पहुँच कम भएका क्षेत्रमा आवश्यक मात्रामा टावर जडान गर्ने विषयमा नेपाल टेलिकमसँग समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। सञ्चारको पहुँच र करिडोर निर्माण सम्पन्न भएपछि मात्रै राति सवारीसाधन सञ्चालन गरिने उनले बताए । निर्माणधीन कालीगण्डकी करिडोरको नवलपुर खण्डमा करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । नवलपुरस्थित कालीगण्डकी करिडोरबाट जिल्लाका पहाडी क्षेत्रका लागि साना सवारीसाधन सञ्चालन हुने गर्छन् । यसबाहेक तनहुँका विभिन्न क्षेत्र, पाल्पा, स्याङ्जा र पोखराका लागि समेत सवारीसाधन सञ्चालन हुने गरेका छन् । नारायणगढ–गैँडाकोट हुँदै यस खण्डबाट विभिन्न क्षेत्रका लागि यातायातका साधन सञ्चालन हुने गरेका छन् । रासस
एनआईसी एशिया बैंकले घोषणा गर्यो ३०.५२ प्रतिशत लाभांश
काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको भदौ २९ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ३०.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने छ ।