अवस्था ठिक नभएका गाडी चलाउने ९ जना चालक कारबाहीमा
काठमाडौं । काठमाडौंको किर्तिपुरमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ९ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ८० भन्दा बढी सवारी साधन चेक गर्दा ब्रेक ठिक नभएका, लाईटहरु दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत यान्त्रिक अवस्था ठिक नभएका ९ ओटा सवारी साधन फेला परेपछी चालकलाई कारबाही गरिएको हो । जसमा टाटासुमो ४, पिकअप जिप २ र बस, टिपर, हात्ती गाडी १र१ गरी जम्मा ९ ओटा रहेका छन् । सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ । अवस्था ठिक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पुर्ण चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन् ।
तीन विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न सरकार लागेको छ, चीन भ्रमण यसैमा केद्रित छ : प्रधानमन्त्री
फाइल फोटो काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीनै अन्तरास्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न सरकार लागिपरेको बताएका छन् । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)को सिनामंगलमा निर्माणाधिन नयाँ कार्यालय भवनको औपचारिक उद्घाटनका त्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले केही समय अघि सञ्चालनमा आएको भैरहवा र पोखरा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउन सरकार लागि परेको भन्दै उनले आफ्नो चीन भ्रमण यसैमा केद्रित भएको समेत उनले बताए । ‘सबै विमास्थल सञ्चालनमा सरकार लागि परेको छ, मेरो चीन भ्रमणमा तीनै एयरपोर्ट सञ्चालनमा केन्द्रित हुन्नेछ, उनले भने ।
सरकारका ८ निर्णय : प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृतदेखि एसटीसीलाई ५० प्रतिशत भ्याट छुटसम्म
फाइल फोटो काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको छ । भदौ २९ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको चीन भ्रमण स्वीकृत गर्नेदेखि विभिन्न ८ वटा निर्णय गरेको हो । सोही बैठकले साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी) र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार महसुल छुट गरी १०/१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिने निर्णय गरेको छ । त्यस्तै, कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने सरकारको निर्णय छ । सरकाले सिंचाई नीति, २०८०, नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृतगरी विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा प्रस्तुत गर्न पनि स्वीकृति दिने भएको छ । त्यसैगरी, संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने र हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने सरकारको निर्णय भएको छ । साथै, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जपीडित जनताको न्यायिक समस्या स्थायीरुपमा समाधानका लगि अधिकारसम्पन्न न्यायिक आयोग गठन गरिने भएको छ ।
क्यानले आफ्नै लगानीमा बनायो सुविधासम्पन्न १२ तले भवन, प्रधानमन्त्री दहालले गरे उद्घाटन
काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को सिनामंगलमा निर्माणधिन नयाँ भवन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका छन् । १ अर्व ८० करोड रुपैयाँमा निर्माण गरिएको प्राधिकरणको केन्द्रीय कार्यालयको नयाँ भवन शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् । प्राधिकरणले २०७१ साल माघ २७ गते सिनागंलनमा प्रधान कार्यालयका लागि भवन निर्माण गर्न निर्माण व्यवसायीसँग सम्झौता गरेको थियो । तीन वर्षमा निर्माण सक्ने सम्झौता भएता पनि विभिन्न कारण देखाउँदै निर्माणमा ढिलाई गरिएको थियो । नयाँ भवनमा परिसरमा ६५ वटा गाडी र १२० वटा मोटरसाइकल र स्कुटर पार्किङ क्षमता रहेको छ। चारवटा लिफ्ट राखिएको भवनमा पहिलो चरणमा ६४ करोड र दोस्रो चरणमा ४७ करोड गरी कुल १ अर्ब ११ करोड रुपैयाँ खर्च भइसकेको छ। उक्त भवन प्राधिकरणको आफ्नै लगानीमा स्वदेशी कामदारबाट निर्माण सम्पन्न भएको प्राधिकरणका महानिर्देशन प्रदिप अधिकारीले जानकारी दिए । उनका अनुसार स्वदेशी इन्जिनियरको डिजाइन र स्वदेशी निर्माण कम्पनीले सो भवन निर्माण गरेको हो । तुण्डी रसुवा जेभीले डेढ अर्ब रुपैयाँमा ठेक्का लिएको यो भवन चार रोपनी दुई आना क्षेत्रफलमा निर्माण गरिएको हो । संरचनाको डिजाइन गरेको एनोट आर्किटेक्चर एण्ड आर्किटेक्टले १२ तले नयाँ भवनमा पाँच सयभन्दा बढी कर्मचारीले काम गर्न सक्ने क्षमता रहने प्राधिकरणले जनाएको छ। स्थानिय तह सञ्चालन ऐन २०७४ अनुसार सबै सरकारी कार्यालयले अनिवार्य रूपमा नक्सा पास गर्नुपर्ने व्यवस्था छ । सोहि व्यवस्था अनुसार प्राधिकरणले सो भवनको नक्शापासका लागि महानगरमा निवेदन दिइसकेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले नक्शा पास प्रक्रिया अन्तिम चरणमा रहेको बताए । काठमाडौं महानगरपालिकाले भूमि र सम्पत्ति कर भुक्तानी गर्न निर्देशन गरेको क्यानले जनाएको छ, तर सरकारी कार्यालयले उक्त कर भुक्तानी गर्ने गरेको छैन । प्राधिकरणले आफ्नै स्रोतमा मूल्य अभिवृद्धि कर बाहेक १ अर्ब ८० करोड रुपैयाँ खर्च गरि नेपालकै एक आधुनिक सुविधायुक्त कार्यालय भवन निर्माण गरेको छ । यस भवनमा कर्मचारी तथा सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्ने तथा सेवा लिने अन्तराष्ट्रिय स्तरको वातावरण उपलब्ध गराईएको छ । उड्डयन प्राधिकरण एक अन्तराष्ट्रिय प्रकृतिको संस्था भएकोले स्वदेशी विदेशी सेवाग्राही अन्य देशका नियामक तथा हवाई सेवा प्रदायक संघ संस्थाहरुलाई दिनुपर्ने सेवा समेतलाई मध्यनजर गरि स्वदेशी जनशक्तीद्वारा निर्मित यस भवनले सकारात्मक प्रभाव पार्ने बताइएको छ ।
नयाँ एक्स्चेञ्ज ल्याउन सकेनौं, ब्रोकर कमिसन सेबोनको शुल्क घटेपछि मात्रै घटाउँछौं : अध्यक्ष हमाल
फाइल फोटो काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबान) का अध्यक्ष रमेश कुमार हमालले नयाँ स्टक एक्स्चेञ्ज ल्याउन असफल भएको स्वीकारेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शुक्रबार आयोजना गरेको ‘आर्थिक मन्दीमा पुजीबजारः सम्भावना र चुनौती’ सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । ‘नयाँ स्टक एक्सचेञ्ज ल्याउन असफल भएका छौं,’ थप्दै उनले भने- ‘पुँजी बजारमा प्रतिस्पर्धा गर्न नयाँ स्टक ल्याउन सबै प्रक्रिया पुर्याएर तीन कम्पनीको आवेदन परेको भएपनि १२/१३ महिनाको अवधिमा ल्याउन असफल भयौं ।’ त्यस्तै, उनले सेबोनको शुल्क घटेपछि मात्रै ब्रोकर कम्पनीको कमिसन घटाइने बताए । ‘पहिला सेबोनले लिने शुल्क घट्छ अनि मात्रै ब्रोकर कमिसन घट्छ,’ उनले भने- ‘ब्रोकर कमिसनका विषयमा व्यवसायबीच डिभियसन हुनु हुँदैन, ब्रोकर कम्पनी पुँजी बजारका मुटु हुन्, ब्रोकर कम्पनीलाई मारमा पारेर कमिशन पुनरावलोकन हुँदैन ।’ गहन रुपमा छलफल गरेर बनाइएको नीतिले देशको अर्थतन्त्रमा कुनै असर नपर्ने अध्यक्ष हमाल बताउँछन् । नेपालको नीति नियमहरु धेरै कडा रहेकोले कसैले गलत गर्छु भन्ने मनसाय बनाउनु बेकारको हुने उनको भनाई छ । ‘नेपालको अर्थतन्त्र संकटग्रस्त भएको छैन, रिकोभरि भैरहेको छ, तर नेपाली समाज उत्ताउलो भयो, किनभने सामान्य विषयलाई पनि भयावह बनाइदिन्छन्,’ उनले भने । पछिल्लो समय हाइड्रो र रियल सेक्टर सुधार भइरहेको बताउँदै बोर्डका अध्यक्षले अहिलेका आएका नीतिहरु सबै लागू गर्ने जिकिर गरे । बजारमा संस्थागत लगानीकर्ताको अभाव भएको र १० कित्ते नीतिका नराम्रो पक्ष भएपनि जनमानसमा यो नीति स्थायी भैसकेको उनको भनाई छ । साथै, प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने कम्पनीको सेयर मूल्य धितोपत्र बोर्डको आइक्यानको उपाध्यक्षको संयोजकत्वमा रहेको समेत उनले जानकारी गराए ।
स्वास्थ्य क्षेत्रको सुधारमा लागि परेको छु : स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकको समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले भगिरथ प्रयास गरिरहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आयोजना गरेको जनसङ्ख्या र विकाससम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दैै उनले आजको दिनमा असहाय र गरिब नागरिक स्वास्थ्य उपचारबाट वञ्चित नहुने उल्लेख गरे । उनले भने, ‘गरिब र असहाय नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा दिलाउने अभियानमा लागेको छु, यसमा सबैको सहयोग अपरिहार्य छ, अब कुनै पनि नागरिक पैसा नभएर उपचार नपाएर छट्पटाउनुपर्दैन ।’ जनसङ्ख्या र विकास एकापसमा अन्तर सम्बन्धित विषय हुन् भन्दै उहाँले शिक्षा र स्वास्थ्यजस्ता सामाजिक क्षेत्रको विकासबाट गुणस्तरीय नागरिक उत्पादन गर्न सकिने यस क्षेत्रको सुधारका लागि सबै संयन्त्र क्रियाशील हुनुपर्ने खाँचो औँल्याए । स्वास्थ्यमन्त्री बस्नेतले जनसङ्ख्याको असन्तुलनले दिगो विकास लक्ष्य हासिल गर्न कठिनाइ हुने उल्लेख गरे । ‘ग्रामीण क्षेत्र रित्तिने र सहरी भेगमा भीडभाड हुने चुनौती बढेको छ’, उनले भने, ‘सहरमा जनघनत्व बढ्ने तर गाउँ रित्तिँदै जाने प्रवृत्ति बढेको छ, यसले सुविधाको अवसरको विभेद बढाएको छ र स्वास्थ्य शिक्षाजस्ता आधारभूत आवश्यकताको पहुँच र गुणस्तर अभिवृद्धिमा समस्या उत्पन्न हुन्छ ।’ स्वास्थ्यमन्त्री बस्नेतले जनसङ्ख्याको असन्तुलन नियन्त्रण गरी गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा अभिवृद्धि गर्न तीन तहका सरकारको समन्वय र सहकार्य गरी नयाँ रणनीतिका साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले जनसङ्ख्या वृद्धिदरमा कमी आएको र लैङ्गिक अनुपात पनि कमजोर रहेको भन्दै अबको दृष्टिकोण त्यसतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे । उनले सम्मेलनले विद्यमान जनसङ्ख्याको गतिविधिको विश्लेषण गर्दै आगामी रणनीति तयार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका नेपालस्थित आवासीय प्रतिनिधि वोन योङ होङले नेपालको विद्यमान स्वास्थ्य प्रणालीको सुधार गर्दै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गरिनुपर्नेमा जोड दिए । मन्त्रालयका सहसचिव रमेशकुमार केसीले जनसङ्ख्या र विकाससँगै अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताए । सम्मेलनमा विगतका अभ्यासको समीक्षा गर्दै विज्ञ सरोकारवालाको राय समेटेर आगामी रणनीति तयार गरिने उनले उल्लेख गरे । रासस
ब्रोकर कमिशन पुनरावलोकन गर्दै धितोपत्र बोर्ड
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर कमिशन पुनरावलोकन गर्ने तयारी गरिरहेको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शुक्रबार आयोजना गरेको आर्थिक मन्दीमा पुजीबजारः सम्भावना र चुनौती सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै सेबोनका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ सो बताएका हुन् । ‘ब्रोकर कमिसन पुनरावलोकन गर्ने तयारी भैरहेको छ, कति घट्छ भन्ने अहिले नै एकिन भएको छैन, तर ब्रोकर कम्पनीको दीर्घकालीन हेरेर नि पुनरावलोकन गरिनेछ,’ उनले भने । पुँजी बजारमा सूचीकृत कम्पनी नडुब्दासम्म कम्पनीहरुको व्यवसाय नखस्किने उनको भनाइ थियो । ‘हालसम्म पुँजी बजारमा सूचीकृत कम्पनी कुनै पनि डुबेका छैनन्, त्यसैले कुनै पनि कम्पनीको व्यवसाय घटेको मानिदैन, सूचीकृत कम्पनी कुनै डुबेपछि मात्रै व्यवसाय खस्किएको भन्न मिल्छ,’ उनले भने । कार्यकारी निर्देशक श्रेष्ठले पब्लिक र प्रमोटर सेयरधनी छुट्याउने नीति बैंक तथा बीमा कम्पनीले ल्याएको भएकाले यसमा बोर्डले केही गर्न नसक्ने बताए । ‘अन्य देशमा संस्थापक र सर्वसाधारण सेयर भनेर छुट्याइएको पाइँदैन, नेपालमा मात्रै पब्लिक र प्रमोटर सेयरधनी छुट्याइने गरेको छ, बैंक तथा बीमा कम्पनीको नियामक निकायले ल्याएको नीति हो, यसमा धितोपत्र बोर्डले केही गर्न सक्दैन,’ उनले भने ।
१ करोडभन्दा बढी मूल्य पर्ने यी सुविधा सम्पन्न गाडी, क्यास ब्याकदेखि बीमासम्मको सुविधा
काठमाडौं । भृकुटीमण्डपमा गत भदौ २६ गतेबाट सञ्चालनमा आएको ‘नाडा अटो शो–२०२३’ रौनक बेग्लै छ । प्रदर्शनीमा अवलोकन गर्न आएका अवलोकनकर्तालाई गाडीको बारेमा बुझाउन कम्पनीलाई भ्याइनभ्याई छ । अटो शो चौथो दिन आज पनि अवलोकनकर्ताको उपस्थिति बाक्लो देखिन्छ । गाडी प्रदर्शनीले मात्र नभई गाडीको मूल्यले पनि शोलाई थप आकर्षित बनाएको छ । शोमा दर्जनौं पेट्रोल र ईभीबाट चल्ने गाडीहरू राखिएका छन् । लामो समयपछि भएको उक्त अटो शो गाडी किन्न चाहनेहरूको लागि अवसर पनि हो । शोमा लाखदेखि करोडौं मूल्य पर्नेसम्म गाडीहरू उपलब्ध छन् । गाडी अनुसारका विशेषता र आधुनि प्रविधिका गाडी हेर्न लागि भए पनि अवलोकनकर्ता शोमा पुग्ने गरेका छन् । प्राय जसो कम्पनीले शोमा निश्चित गाडी राखेका छन् । अहिले शोमा न्यूनतम १७ लाख रुपैयाँदेखि २ करोड रुपैयाँ मूल्य पर्ने गाडी शोमा राखिएका छन् । अटो शोमा यी गाडीहरुमा क्यास ब्याकदेखि बीमाको सुविधा दिएको छ । निसानको नवरा निसान गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले अटो शोमा विभिन्न मोडलका गाडीहरू राखेको छ । केही गाडी शोमै उपलब्ध छन् भने केही शोरुममा छन् । निसानका नेपाली बजारमा धेरै मोडलका गाडी उपलब्ध छन् । जसमध्ये एक्स–ट्रेल मोडलका दुई वटा भेरियन्टका गाडीको मूल्य करोड भन्दा बढी तोकिएको छ । त्यसमध्ये कम्पनीले एक्स–ट्रेलको ५ सिटर भेरियन्टको गाडीको मूल्य एक करोड ४९ लाख ९९ हजार रुपैयाँ तोकेको छ भने एक्स–ट्रेलकै ७ सिटर भएको १९९७ सीसीको गाडीको मूल्य एक करोड ५४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ । कम्पनीले निसारको नवरा एमटी भेरियन्टको गाडीको मूल्य एक करोड १५ लाख रुपैयाँ तोकेको छ । २४८८ सीसीको उक्त गाडीमा आधुनिक विशेषता रहेको कम्पनीले बताएको छ । नवरा एटीको भेरियन्ट गाडीको मूल्य एक करोड २५ लाख रुपैयाँ तोकेको छ । महिन्द्राको स्कोर्पियो र एक्सयुभीको मूल्य एक करोड नेपालका लागि महिन्द्राको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले पनि आफ्ना गाडीहरू नाडा अटो शोमा राखेको छ । अटो शोमा कम्पनीले गाडीका सबै मोडल नराखेता पनि टप मोडल भने राखेको छ । महिन्द्राका केही गाडीको मूल्य एक करोडभन्दा बढी छ । महिन्द्राको एक्सयुभी ७०० एएक्स७एल गाडीका दुई भेरियन्ट छन् । कम्पनीले एमटी पीईटी एफडब्लुडी भेरियन्टको गाडीको मूल्य एक करोड ५ लाख राखेको छ । यस्तै, एटी पीईटी एफडब्लुडी भेरियन्टको गाडी मूल्य एक करोड १० लाख रुपैयाँ राखेको छ । इन्धनबाट चल्ने यी दुवै गाडी १९९७ सीसीका छन् भने ७ जनाले एक पटकमा यात्रा गर्न सकिन्छ । नेपाली बजारमा महिन्द्रा स्कोर्पियोका दुइटा भेरियन्टका गाडीको मूल्य एक करोडभन्दा बढी पर्छ । जेटएट फोरडब्ल्यूडी एमटी भेरियन्टको गाडीको मूल्य एक करोड १४ लाख रुपैयाँ छ । अर्को भेरियन्ट जेट८ फोर डब्लुडी एटीको मूल्य एक करोड २४ लाख रुपैयाँ तोकिएको छ । यो गाडी पनि सात सिटको हो । जीडब्लूएमका हवलको मूल्य पनि एक करोड नेपालको लागी ग्रेट वाल मोटर्स (जीडब्लूएम) गाडीको आधिकारिक बिक्रेता भी.जी इम्पेक्सले पनि एउटा मोडलको गाडीको मूल्य करोड बढी राखेको छ । हवल मोडलको एटी एडब्लुडी भेरियन्टको गाडीको मूल्य एक करोड १६ लाख ९५ हजार रुपैयाँ रहेको छ । कियाको स्पोर्टेज पनि करोडमा कियाको गाडीको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले स्पोर्टेज मोडलको गाडी एक करोड बढी मूल्यमा उपलब्ध गराउँदै आएको छ । उक्त मोलडको २.० एल भेरियन्टको गाडीको मूल्य एक करोड २५ लाख ९० हजार रुपैयाँ तोकेको छ । सिट्रोनको मूल्य १ करोड सिट्रोनको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सले सिट्रोनको सिट्रोन सी ५ एयरक्रोस मोडलको गाडीको मूल्य १ करोड ३५ लाख रुपैयाँ राखेको छ । यस गाडीमा अन्य गाडीमा पनि नपाइने विभिन्न सुविधाहरु छन् । फोर्डको दुई मोडलको मूल्य करोड माथि फोर्डको आधिकारिक बिक्रेता जिओ अटोमोवाइल्सका दुई मोडलका विद्युतीय गाडीको मूल्य करोड माथि पर्छ । फोर्डको गाडीको रेंजर मोडलको दुई वटा भेरियन्टमा उपलब्ध छन् । एक्सएल एटीभेरियन्टको मूल्य एक करोड १० लाख छ भने एक्सएलटी एटी को मूल्य १ करोड १५ लाख रुपैयाँ रहेको छ । यस्तै, नेक्स्ट जीईएन फोर्ड रेंजर मोडलको गाडी पनि दुइटा भेरियन्टमा उपलब्ध छन् । जसमध्ये एक्सएल एटीको मूल्य १ करोड १० लाख ९० हजार, एक्सएलटी एटीको मूल्य एक करोड २४ लाख रुपैयाँ छ । हुन्डाई आइकोनिक हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेताले लक्ष्मी इन्टर कन्टिनेन्टलले अटो शोमा विभिन्न कम्पनीहरुको गाडी राखेको छ । जसमध्ये हुन्डाई आइकोनिक-५ धेरैको आकर्षण बनेको छ । जसको मूल्य कम्पनीले एक करोड २९ लाख ६ हजार रुपैयाँ तोकेको छ । यो ईभी गाडी हो । यस्तै, टक्सनमोडलको तीन वटा मोडलको मूल्य पनि डेढ करोडको बिचमा रहेको छ । टक्सन मोडलको जीएलएक्स-२डब्ल्यूडी-एटी भेरियन्टको १९९९ सीसीको गाडीको मूल्य एक करोड ३७ लाख ९६ हजार रुपैयाँ थियो । जुन गाडी पेट्रोलबाट चल्छ । हुन्डाई यीभन्दा बढी मूल्य पर्ने गाडी पनि उपलब्ध छन् ।