विकासन्युज

दुर्घटना न्यूनीकरण गर्न चालक र सहचालकको स्वास्थ्य जाँच

काठमाडौं । सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि गोँगबुस्थित नयाँ बसापार्कमा चालक र सहचालकको स्वास्थ्य जाँच गरिएको छ । ट्राफिक सप्ताह कार्यक्रमअन्तर्गत ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका आयोजना तथा लोत्से बहुउद्देश्यीय प्रालि नयाँ बसपार्कको सहयोगमा आज सार्वजनिक सवारी साधनका चालक, सहचालक र कर्मचारीलाई स्वास्थ्य जाँच गरिएको हो । कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले सार्वजनिक सवारी साधनमा कार्यरत कर्मचारीलाई स्वास्थ्य राख्नका लागि ट्राफिक सप्ताहअन्तर्गत स्वास्थ्य जाँचको कार्यक्रम राखिएको बताए । उनले सवारी चालकलाई स्वस्थ्य राख्नसके सवारी दुर्घटनामा कमी आउने विश्वास व्यक्त गरे । काठमाडौं महानगरपालिका-२६ का वडाअध्यक्ष ख्यामराज तिवारीले चालक जति अनुसाशित भए त्यति नै ट्राफिक व्यवस्थापनमा सहज हुने बताए । उनले ट्राफिक सप्ताहमार्फत चालक र सहचालकलाई सचेतना दिनु जरुरी रहेको बताए । लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले ट्राफिक जनचेतना एक हप्तामात्र नभई वर्षभरि दिन आवश्यक रहेको बताए । उनले नयाँ बसपार्कलाई काठमाडौं महानगरपालिका, यातायात व्यवसायी तथा मजदुरसँगको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरको बनाउन आफूहरु लागेको जनाउँदै सो अभियानमा साथ दिन सबैलाई आग्रह गरे । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सवारी दुर्घटना न्यूनीकरणका लागि चालक स्वस्थ्य हुनुपर्ने बताए । उनले सार्वजनिक यातायात क्षेत्रमा कार्यरत कर्मचारीलाई स्वस्थ्य राख्न सकेमात्र सवारी दुर्घटनामा कमी आउने उल्लेख गरे । अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष दीपक केसी, सिल्भर लाइन अस्पतालका डाक्टर लोकेश पुरी, ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख राजु भण्डारी लगायतले नेपालको सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताएका थिए । कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतम, कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, सहकोषाध्यक्ष अर्जुन गौतम, बागमती प्रदेश संयोजक सुवन गिरीलगायतको उपस्थिति थियो । कार्यक्रममा तिलगङ्गा आँखा अस्पतालले आँखा जाँच, ओम चाबहिल डेन्टल अस्पतालले दाँतको जाँच र सिल्भर लाइन अस्पताल बालाजुको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य जाँच गरेको थियो । रासस

एमसिसी परियोजनामा सरकारको पूर्ण सहयोग रहन्छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना (एमसिसी) को अनुदानमा नेपालले अगाडि बढाएको प्रसारण लाइन निर्माणमा सरकारको पूर्ण सहयोग रहने बताएका छन् । कूल तीन सय १५ किलोमिटर लामो (नाङ्लेभारे-रातमाटे-हेटौँडा-दमौली-न्यू बुटवल) प्रसारण लाइन नेपालको प्रसारण प्रणालीको मेरुदण्ड भएकाले त्यसलाई तोकिएको समयमा नै सम्पन्न गराउन सरकारले जिम्मेवारीका साथ काम गर्ने बताए । एमसिसी कम्प्याक्ट सम्झौताको शुभारम्भको उपलक्ष्यमा यसै साता नेपाल भ्रमणमा आएका एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट र उनको प्रतिनिधिमण्डलसँग ऊर्जा मन्त्रालयमा आज भएको शिष्टाचार भेटमा मन्त्री बस्नेतले सो परियोजनाले नेपालको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गर्ने भएकाले त्यसलाई पूर्णरुपमा कार्यान्वयनमा लगिने बताए । प्रसारण लाइन र सवस्टेशन निर्माणका लागि आवश्यक जग्गा प्राप्तिलगायतका प्रक्रिया शुरु भइसकेको उल्लेख गर्दै मन्त्री बस्नेतले राष्ट्रिय गौरवको परियोजनाका रुपमा त्यसलाई समावेश गरेर महत्व दिएको स्पष्ट पारे । महत्वपूर्ण परियोजना भएकाले सरकारले पनि उत्तिकै प्राथमिकता दिएको स्पष्ट पार्दै मन्त्री बस्नेतले सहज कार्यान्वयन गराउनेतर्फ सरकारले कुनै कसर बाँकी नराख्ने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत जेठमा सम्पन्न भारत भ्रमणका क्रममा १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यातका लागि आवश्यक सहमति भएको सन्दर्भ जोड्दै मन्त्री बस्नेतले भने, ‘विद्युत् निर्यातका लागि उक्त प्रसारण लाइन हाम्रा लागि असाध्यै महत्वपूर्ण छ । यसलाई सहज रुपमा समयमै सम्पन्न गर्नुपर्छ । त्यसमा सरकार दृढ छ ।’ नेपाली जनताका लागि सडक सुधार गर्ने र स्वच्छ तथा सुपथ रुपमा विद्युत्मा भरपर्दो पहुँच बढाउने गरी तर्जुमा गरिएको परियोजनामार्फत मुलुकको ऊर्जा र यातायात क्षेत्रलाई सुदृढ तुल्याउने मन्त्री बस्नेतको भनाइ छ । आयोजनाको सहज कार्यान्वयनपछि आर्थिक, सामाजिक एवम् लैङ्गिक क्षेत्रमा उल्लेखनीय सुधार हुने अपेक्षा लिएको मन्त्री बस्नेतको कथन छ । एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्दै उचाइमा पु¥याउने परियोजनाका रुपमा आफूहरुले यसलाई लिएको बताए । उनले एमसिए नेपालमार्फत कार्यान्वयनमा गएको प्रसारण लाइन र सडक सुधार आयोजना सहजरुपमा कार्यान्वयनको चरणमा प्रवेश गरेकामा प्रसन्नता व्यक्त गरे । प्रमुख कार्यकारी अधिकृत अलब्राइटले राष्ट्रिय गौरवको परियोजनाका रुपमा त्यसलाई समावेश गरेर महत्व दिएकामा नेपाल सरकारलाई धन्यवाद दिए । उनले परियोजनालाई सहज रुपमा कार्यान्वयनमा लैजान नेपाल सरकारको तर्फबाट महत्वपूर्ण सहयोग रहनेमा आफू विश्वस्त रहेको बताए । सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, एमसिए नेपालका प्रमुख कार्यकारी अधिकृत खड्गबहादुर बिस्टलगायतको उपस्थिती थियो । गत भदौ १३ गतेदेखि एमसिसी कम्प्याक्ट कार्यान्वयनमा गइसकेको छ । नेपाल सरकार र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बीच विसं २०७४ भदौ २९ मा मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) भएको थियो । लामो बहसपछि संसदले गत वर्ष मात्र यस सम्झौतालाई अनुमोदन गरेको थियो । एमसिसी नेपाल कम्याक्टअन्तर्गत बन्ने विद्युत् प्रसारण लाइन र सडक निर्माण आयोजनाको काम शुरु भएको मितिले पाँच वर्षभित्रमा सम्पन्न गरिसक्नु पर्ने प्रावधान छ । रासस

सातै प्रदेशमा लगानी सम्मेलन गर्ने उद्योग वाणिज्य महासङ्घको निर्णय

ढोरपाटन  ।  नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन तथा देशैभरि लगानीका सम्भावनालाई उजागर गर्न सातै प्रदेशमा लगानी सम्मेलन गर्ने भएको छ । महासङ्घको तेस्रो कार्यसमितिको बागलुङ जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र ढोरपाटनमा आज बसेको बैठकले सो निर्णय गरेको हो । प्रचुर सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको ढोरपाटन क्षेत्रको प्रचार गर्ने उद्देश्यले महासङ्घको तेस्रो बैठक आज ढोरपाटनमा आयोजना गरिएको थियो । उक्त बैठकले देशमा लगानीका क्रियाकलापलाई चलायमान गराउन देशका सबै प्रदेशमा लगानी सम्मेलनको आयोजना गर्ने निर्णय गरेको अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । त्यसैगरी सो बैठकले सन् २०२५ लाई देशका समग्र निजी क्षेत्रले पर्यटन वर्षका रुपमा मानउने निर्णय पनि गरेको छ । पर्यटन वर्ष मनाउनेसम्बन्धी प्रचारप्रसार आजैदेखि सुरु गर्ने र यससम्बन्धी पत्राचार महासङ्घका देशैभरका जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घमार्फत गर्ने निर्णय भएको छ । अध्यक्ष ढकालको गृह जिल्लामा आयोजना गरिएको सो बैठकले मुलुकमा व्याप्त आर्थिक सङ्कट घटाउँदै तरलता बढाउन असोज मसान्तभित्रै राजनीतिक तथा सरोकारवाला निकायबीच छलफल गर्न एक उच्चस्तरीय तथा सर्वपक्षीय सम्मेलन गर्ने पनि निर्णय गरेको छ । अध्यक्ष ढकालले महासङ्घ एवं नेपाल सरकारलेसमेत वैदेशिक लगानीका लागि आग्रह गरिरहेको वर्तमान अवस्थामा देशभित्रै लगानीको वातावरण निर्माण गरी आर्थिक चलायनमान बनाउनका लागि लगानी सम्मेलन गर्ने निर्णय भएको बताए । अध्यक्ष ढकालले भने, ‘सन् २०२५ लाई पर्यटन वर्षका रुपमा मनाउने निर्णय भएको छ र यो निर्णय मुलुकको एक प्रमुख पर्यटकीय क्षेत्र एवं नेपालको एकमात्र सिकार आरक्षमा बैठक बसेर गरिएको छ । कोरोना महामारीले थला पारेको देशको पर्यटन व्यवसायलाई उठाउनका लागि आजैदेखि पर्यटकीय क्रियाकलाप गर्न सो निर्णय सहायक सिद्ध हुने अपेक्षा गरेका छौँ ।’ त्यसैगरी पर्यटकीय क्षेत्र ढोरपाटनको पनि प्रचारप्रसार र आवश्यक प्रवद्र्धन गर्नका लागि मुलुकका समग्र उद्योगी, व्यवसायीहरुको छाता संस्था महासङ्घले बागलुङको ढोरपाटनमा बैठक आयोजना गरेको अध्यक्ष ढकालले जानकारी दिए । ‘नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा विदेशी पर्यटकहरु सिकार खेल्न मात्रै आउने प्रचलन छ, यहाँको पर्यटन पूर्वाधार र प्रचारप्रसार गर्न निजी क्षेत्रले उत्सुकता देखाएको हो’, ढाकालले भने, ‘ढोरपाटनको भ्रमणमा छौँ, यहाँका सम्भावनाको खोजी गर्नेछौँ’, अध्यक्ष ढकालले भने । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन प्रचुर सम्भावना भएर पनि ओझेलमा पर्दै परेको छ । देशका उद्योगी व्यवसायी सम्मिलत यस बैठकपछि नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा रहेको ढोरपाटनको थप विकास हुने आशा स्थानीयले गरेका छन् । बागलुङ उद्योग वाणिज्य सङ्घ बागलुङ र ढोरपाटन उद्योग वाणिज्य सङ्घको आतिथ्यतामा ढोरपाटनमा बैठक आयोजना गरिएको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले जानकारी दिए । देशभरका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरुले ढोरपाटन अवलोकन गर्दा पर्यटनको विकासमा सहयोग पुग्ने उनको विचार छ । ढोरपाटनमा आवश्यक पर्यटकीय पूर्वाधार, सुविधा सम्पन्न होटलसहित अन्य व्यावसायिक योजनासमेत बन्नसक्ने अपेक्षा स्थानीयको रहेको पनि अध्यक्ष कँडेलले बताए । यो सिकार आरक्ष तथा प्रमुख पर्यटकीय क्षेत्र त हो नै यहाँको आलु पनि पश्चिमको बजारमा लोकप्रिय छ । यहाँ आलु र स्याउको प्रचुर सम्भावना रहेको छ । बैठकपश्चात् महासङ्घको कार्यसमितिमा रहेका सदस्य एवं पदाधिकारीहरुले ढोरपाटन क्षेत्रको अध्ययन, स्थलगत अवलोकन र सिकार आरक्ष कार्यालयको भ्रमण गर्ने कार्यक्रम रहेको छ । बैठकमा ढोरपाटनको प्रसिद्ध ढोरबराह मन्दिरका साथै समग्र जिल्लाको पर्यटनका विषयमा समेत छलफल भएको ढोरपाटन उद्योग वाणिज्य सङ्घका अध्यक्ष ढालेन्द्र्र छन्त्यालले बताए । ढोरपाटनमा सिकार आरक्ष क्षेत्र, ढोरपाटन उपत्यका, स्याउ बगैँचा, ढोरबराह मन्दिर, देउराली, निशेलढोर, सिकार आरक्ष कार्यालयको सङ्ग्रहालयलगायत ढोरपाटनमा पर्यटक भुलाउने अनेकौँ स्थान रहेका छन् । सिकार खेल्नका लागि विदेशी पर्यटकमात्र आउने गरेको ढोरपाटनमा पछिल्लो समय आन्तरिक पर्यटकहरु पनि बढेका छन् । तर ढोरपाटन पुग्ने सडक र त्यहाँ सुविधा सम्पन्न होटल नहुँदा भने पर्यटकलाई समस्या भइरहेको छ । रासस

दुई वाणिज्य बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । आइतबार एनआईसी एशिया बैंक र एभरेष्ट बैंकको बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । एनआईसी एशियाको २९ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ५९०.३१ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ७६१.५० रुपैयाँ थियो । यससँगै सोमबारको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता ५९०.३१ रुपैयाँलाई आधार मानेर हुने छ । त्यस्तै, एभरेष्ट बैंकको १० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ५१४.५५ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ५६६ रुपैयाँ थियो । यससँगै सोमबारको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता ५१४.५५ रुपैयाँलाई आधार मानेर हुने छ ।

मेरो र परिवारको उज्ज्वल भविश्य बनाउन देश छाडें : बिमल घर्ती मगर

काठमाडौं । फुटबलर बिमल घर्ति मगरले आफ्नो र परिवारको उज्ज्वल भविश्य बनाउन अष्ट्रेलिया गएको बताएका छन् । सोमबार सामाजिक सञ्जालमा स्टाटस राख्दै उनले यस्तो बताएका हुन् । उनले उमेरको बढेक्रमसँगै जिम्मेवारी थपिँदा देश आफ्नो देश छोड्नु परेको दुखेसो पोखेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘जिन्दगी मा अनेकौ उतारचढाव आउँछन्, उमेरको बढ्दो क्रमसँगै जिम्मेवारी र ब्यवहारिकपन पनि बढ्ने रहेछ, त्यसै क्रममा आफ्नो र परिवार को उज्ज्वल भबिस्य बनाउन को निम्ति आफ्नो प्राण प्यारो देशप्रतिको माया र लगावलाई एकछिन थाति राखेर अष्ट्रेलिया आउने निधो गरें ।’

स्टार्टअप एण्ड इनोभेशनको लागि उद्योग संगठन मोरङले खुलायो आवेदन

काठमाडौं । उद्योग संगठन मोरङले स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तर्गत तेश्रो व्याचका लागी स्टार्टअपको आवेदन आव्हान गरेको छ । संगठनले नयाँ व्यवसायहरुको श्रृजना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले नविन व्यवसायिक सोच विचार तथा अवधारणा भएका युवाहरुलाई लक्षित गर्दै उक्त आवेदन खुलाएको हो । जसमा २०८० कार्तिक १५ गतेसम्म अनलाईन आवेदन गर्न सकिने व्यवस्था मिलाइएको छ । अनलाइन आवेदन फारम संगठनको वेवासाइटबाट लनइन गरि प्राप्त गर्न सकिने छ । विगत वर्षको अनुभवहरुबाट सिक्दै थप प्रभावकारीरुपमा आगामी कार्यक्रम सञ्चालन गर्न २० जना स्टार्टअप व्यवसायहरु रहने गरि तेश्रो व्याचका लागी संगठनले प्रस्ताव आव्हान गरि कार्यक्रमलाई निरन्तरता दिएको छ । कार्यक्रम कार्यान्वयनका लागी प्रदेश सरकार, बिराटनगर महानगरपालिका, पूर्वाञ्चल विश्व विद्यालय, अन्तरप्रेरणा प्रा.ली, नेपाल युवा उद्यमी मञ्च, नेपाल चार्टर एकाउण्टेन्ट्स संघ लगायतका संस्थाहरुसंगको सहकार्य गरिएको छ भने आवश्यकताका आधारमा अन्य संघ संस्था तथा सरोकारवालाहरुसंग क्रमशः सहकार्य गर्दै कार्यक्रम सञ्चालन गरिने जनाईएको छ । दश महिना अवधि रहने तेश्रो चरणको कार्यक्रममा नविन व्यवसायीक अवधारणा भएका तथा स्तरोन्नतीको सम्भावना भएका शुरुवाती अवस्थाका नविन उद्यमहरु सहभागी हुन सक्नेछन् । यो कार्यक्रमले नविन व्यवसायीक अवधारणा, स्तरोन्नती तथा अनुशरण गर्ने सम्भावना भएका, चालु उद्योग व्यवसायको अग्र वा पृष्ठ सम्बन्ध कायम हुने वा हुन सक्ने सम्भावना भएका, महिला उद्यमीहरु, बैदेशिक रोजगारीबाट फर्केका युवाहरुको आइडियालाई विशेष ग्राह्यता दिईने गरि प्राथमिकता निर्धारण गरिएको छ । नमुना कार्यक्रमका रुपमा कार्यान्वयन गरिएको कार्यक्रमको पहिलो र दोश्रो चरणका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न भएकाले संगठनले तेश्रो चरणका कार्यक्रम ल्याएको हो । विगतका कार्यक्रम अन्तर्गत स्टार्टअप व्यवसायहरुलाई निःशुल्क रुपमा व्यवसायीक योजना तर्जुमा, व्यवसायिक योजना अनुरुप आवश्यक पर्ने प्राविधिक बिषयहरुमा मेन्टरसिप, कोचिङ तथा परामर्श सेवा, नेटवर्क विस्तारका साथै बुट क्याम्पको आयोजना, बिजनेश क्यानभास मोडेल, बिजनेश हेल्थ चेक अप, उपभोक्तासंग साक्षात्कार गराउन हाटबजार एवं विभिन्न बिषयगत कार्यक्रमहरु आयोजना गरि परामर्श सेवा उपलब्ध गराइएको थियो । पहिलो र दोश्रो व्याचमा गरि ३० जना स्टार्टअपहरु ग्राजुएशन भइसकेका संगठनले जानकारी गराएको छ । विगत २ वर्षमा स्टार्टअप उद्यमीहरुलाई व्यवसायिक विकासका सेवाहरु प्रदान गर्न ४ जना बिजनेश कोच तथा १५ जना मेन्टरर्सहरुको क्षमता अभिवृद्धि गरिएको छ । स्टार्टअप उद्यम व्यवसायलाई आवश्यक पर्ने पुँजीको सहजिकरणका लागी विराटनगर एञ्जल इन्भेष्टर्स नेटवर्क स्थापना गरिएको छ । २४ जना लगानीकर्ताहरु आवद्ध यस नेटवर्कले पूँजी आवश्यक पर्ने व्यवसायी सम्भावना उच्च भएका स्टार्टअपहरुमा लगानी गर्ने छ ।

एशिया कप क्रिकेटमा डिशहोम फाइबर नेटले ल्यायो अफर

काठमाडौं । नेपाल भिएस इन्डियाको एशिया कप क्रिकेटमा डिशहोम फाइबर नेटले अफर ल्याएको छ । असोज १५ गते १२ बजेदेखी भोली असोज १६ गते १२ बजे सम्म डिशहोम फाईवरनेटको १ वर्ष रिचार्ज गर्ने अफर ल्याएको हो । ग्राहकहरुले २ बर्ष सम्म आफ्नो प्याकेजको इन्टरनेट चलाउन पाउनेछन् । चीनमा जारी एशियन गेम्स्को क्रिकेट खेलमा क्वाटरफाईनलमा नेपाल र भारतको प्रतिस्पर्धा हुँदैछ । सोही अवसर पारेर डिशहोमले आफ्ना ग्राहकहरुलाई यो अफर प्रदान गरेको हो । सेवा सुरु गरेको छोटो अवधिमै ३ लाख सन्तुष्ट ग्राहक बनाउन सफल डिशहोम फाईवरनेटले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय ईनटरनेट सेवालाई प्रदान गर्दै आईरहेको छ ।

डीडीसी घाटामा जाँदा किसानलाई दुधको बक्यौता पाउन सकस, कर्मचारीले पनि पाएनन् तलब

काठमाडौं । चितवनका किशोर बगाले डेढ दशकदेखि कृषि पेशामा आवद्ध छन् । उनले चितवनको रत्ननगरमा गोरखकाली गाई फर्म सञ्चालन गरी दैनिक ३१० लिटर दुग्ध बिक्री गर्दै आएका छन् । उनको फर्ममा हाल ४५ भन्दा बढी गाई समेत छन् । डेढ दशकदेखि कृषि क्षेत्रमा आवद्ध उनले नियमित रुपमा दुग्ध बिक्रीको रकम पाउने गरेकोमा पछिल्लो केही समयदेखि भुक्तानी पाएका छैनन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्ष समेत रहेका उनले गत साउनदेखि रकम पाएका छैनन् । ‘मैले दैनिक ३१० लिटर दुध निजी डेरीलाई बिक्री गर्दै आएको छु, पहिला नियमित (महिनामा २ पटक) भुक्तानी पाउने गरेको थिएँ, तर पछिल्लो केही समयदेखि नियमित भुक्तानी रोकिएको छ’, उनले भने, ‘निजी डेरीसँगै सरकारी स्वामित्वमा सञ्चालित डीडीसीले समेत भुक्तानी रोकेको पाएको छु ।’ उनी जस्तै चितवनका हजारौं किसानले दुग्धको बक्यौता रकम पाएका छैनन् । हाल चितवनमा १ सय १५ वटा कृषि सहकारीबाट दैनिक १ लाख ३५ हजार लिटर दुग्ध संकलन हुँदै आएको छ । उक्त दुग्धमध्ये २५ हजार लिटर डीडीसी र बाँकी दुग्ध निजी क्षेत्रका डेरीहरुले खरिद गर्दै आएका छन् । सरकारी र डीडीसीले गरी ३ अर्बभन्दा बढी भुक्तानी रकम रोकेका छन् । किसानबाट उद्यारोमा दुध खरिद गरेर नगदमा बिक्री गर्ने सरकारी स्वामित्वमा सञ्चालित दूग्ध विकास संस्थान (डीडीसी) ले समेत साढे २ महिनादेखि किसानलाई दुधको रकम भुक्तानी गरेकाे छैन । गाइभैंसीका लागि आवश्यक पर्ने दाना, चोकर तथा औषधिहरुकाे पैसा नगदमै भुक्तानी गर्दै आएका उनीहरुले लामो समयसम्म दुधको पैसा नपाउँदा समस्या भएको बताएका छन् । महिनामा २ पटक दुधको रकम भुक्तानी गर्नुपर्नेमा डीडीसीले साउनदेखि दुधको रकम भुक्तानी गर्न सकेको छैन । २ महिनाको ४ किस्ता बापत झन्डै ४५ करोड रुपैयाँ हाराहारीमा रकम भुक्तानी रोकिएको संस्थानले जनाएको छ । डीडीसीका अर्थविज्ञ अञ्जन अधिकारीले साना किसानलाइ नियमित रुपमा रकम भुक्तानी गरेपनि ठूला किसानलाइ केही समयदेखि भुक्तानी गर्न नसकिएको स्वीकार गरे । ‘हामीले थोरै रकम भएका किसानलाई नियमित रुपमा (महिनामा २ पटक) रकम भुक्तानी गरिरहेका छौँ, धेरै रकम भएकाहरुलाई केही समयदेखि भुक्तानी गर्न सकिएको थिएन, अब विस्तारै भुक्तानी गर्न थालिसक्यौँ’, उनले भने । उनले दशैं अगाडि पुराना सबै रकम भुक्तानी गरिसक्ने गरी काम भैरहेको बताए । डीडीसीले दैनिक १२ सय दुग्ध उत्पादक संस्थाबाट दूध संकलन गर्दै आएको छ । तर, महिनामा २ पटक भुक्तानी गर्नुपर्ने रकम नदिँदा किसानहरु समस्यामा पर्न थालेका छन् । मौज्दात रहेको दूग्धजन्य पदार्थ बिक्री नभएपछि संस्थानले दशैंमा समेत बक्यौता रकम भुक्तानीको सम्भावना कम रहेकोे बुझिएको छ । हाल डीडीसीमा २ लाख किसानका परिवार आवद्ध छन् । हाल डीडीसीले ८ वटा आयोजनामार्फत दूध संकलन गर्दै आएको छ । करिब १२ सय दुग्ध उत्पादक सहकारीमार्फत् काभ्रे, सिन्धुपाल्चोक, इलाम, मोरङ, पाँचथर, बुटवल, कपिलवस्तु, तौलिहवालगायत ४६ बढी जिल्लाबाट दूध संकलन गरिन्छ । नेपाल डेरी संघका अध्यक्ष राजकुमार दाहाल दूग्धजन्य पदार्थको मौज्दात धेरै हुँदा सरकारी र निजी डेरीहरुले किसानलाई बक्यौता रकम भुक्तानी गर्न नसकेको बताउँछन् । ‘अहिले निजी र सरकारी डेरी दुबैमा यो समस्या छ, धेरै मौज्दात हुँदा अहिले रकम भुक्तानी रोकिएको हो, पहिला पनि केही समस्या हुनेगर्थ्याे, तर कोरोना पछि निरन्तर समस्या आयो’, उनले भने । उनले निजी डेरी उद्योगीले झन्डै ३ अर्ब रुपैयाँ बराबरको रकम भुक्तानी गर्न बाँकी रहेको बताए । ३ महिनादेखि निजी डेरीले किसानलाई दुधको बक्यौता रकम भुक्तानी गरेका छैनन् । नेपाल डेरी एसोसिएनका अध्यक्ष प्रलाद दाहालले डीडीसी र निजी डेरीले ३ अर्बभन्दा बढी रकम भुक्तानी नगरेको बताए । ‘गत साउनदेखि डीडीसी र निजी डेरीले किसानलाई दुधको मूल्य नै भुक्तानी नै गरेका छैनन्, अन्य डेरीमा धेरै समस्या भएपनि नेपाल डेरीले साउन र भदौ महिनाको भुक्तानी गरिसकेको छ, असोजको पहिलो किस्ता केही दिनमा नै भुक्तानी हुने मैले जानकारी पाएकोे छु’, उनले भने । कर्मचारीले समेत पाएनन् तलब लामो समयदेखि नोक्सानीमा जाँदा डीडीसीले कर्मचारीलाई नियमित रुपमा तलब समेत दिन सकेको छैन । संस्थान नोक्सानीमा गएको र पछिल्लो समय दुग्धजन्य पदार्थको मौज्जात धेरै हुँदा व्यवस्थापन गर्न नसकिएको जनाएको छ । कर्मचारीलाई नियमित सेवासुविधा भुक्तानी गर्न नसकेको संस्थानमाथि दशैंमा सेवासुविधा दिनुपर्ने दबाव थपिएको छ । ‘हामीले गत साउनदेखि नियमित रुपमा तलब भुक्तानी गर्न सकेका छैनाैं, साउनदेखि रोकिएको तलब माथि दशैंमा दिनुपर्ने बोनस समेत थपिएको छ’, डीडीसी स्रोतले भन्यो, ‘किसानको बक्यौता र कर्मचारीको सेवासुविधा एकैपटक भुक्तानी गर्नुपर्दा अहिले व्यवस्थापकमाथि चुनौती थपिएको छ ।’ डीडीसी स्रोतले किसानलाइ साउनको भुक्तानी र कर्मचारीलाई साउनदेखि असोजसम्मको (दशैं बोनस पछि दिनेगरी) रकम भुक्तानी गर्ने तयारी भएको जनाएको छ ।