विकासन्युज

चैनपुर र झापामा गल्फ लुब्रिकेन्टका शोरुमको उद्घाटन

काठमाडौं । चैनपुर र झापामा गल्फ लुब्रिकेन्टका शोरुमको उद्घाटन भएको छ । गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयलले उच्च पुर्बी पहाडी भेग चैनपुर, संखुवासभामा र पुर्वी तराई भेग बिर्तामोड, झापामा गल्फ लुब्रिकेन्टका उच्चस्तरीय शोरुमहरुको उद्घाटन गरेको छ । नेपाल ल्युब आयलले चैनपुरमा आफ्नो आधिकारक बिक्रेता लक्की सप्लायर्स र झापामा आफ्नो आधिकारक बिक्रेता साहारा कृषि अनुसन्धान तथा बिकास कम्पनीको नया शोरुम उद्घाटन गरेको छ । ग्राहकलाइ उच्च सेवा प्रधान गर्न र नेपालकै सर्वाधिक बिक्रिहुँने गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउने आफ्नो लक्ष्यको अनुरुप यो नया शोरुमहरु संचालनमा आएको कम्पनीले जनाएको छ । कम्पनीले हिमाल, पहाड, तराई र मधेसका सबै बिकट र निकट स्थानहरुमा गल्फ लुब्रिकेन्टका सेल्स आउटलेट संचालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ । लक्की सप्लायर्स शोरुमको उदघाटन नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक श्री करण चौधरीज्युले कार्यक्रमका अध्यक्ष निग्मा डोरेले शेर्माको उपस्थितिमा गरका हु्न् भने साहारा कृषि अनुसन्धान तथा बिकास कम्पनीको शोरुम करण चौधरीले सहारा कृषि सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पाठकको उपस्थितिमा गरेका हुन् । समारोहमा करण चौधरील भने,’गल्फ एक विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड हो र यो नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड पनि हो । ग्राहकलाइ उच्च सेवा प्रधान गर्ने हाम्रो मूल उद्देश्य रहेको छ, यसमा प्रशिक्षित जनशक्ति र लुब्रिकेन्टको सजिलो उपलब्धताले ठुलो भूमिका निर्वाह गर्दछ । येही उद्देश्य अनुरुप हामीले दुई नया उच्चस्तरीय शोरुमहरु संचालनमा ल्याएका हौ र भविष्यमा सहजतालाई ध्यानमा राखी अरु शोरुमहरु पनि संचालनमा ल्याउने छौ ।’ फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित बा्रन्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ ।

नक्कली प्रमाणपत्र पेश गरी जापान पठाउने १४ म्यानपावर कम्पनी निलम्वनमा

काठमाडौं । सरकारले नक्कली प्रमाणपत्र पेश गरेर नेपाली कामदारलाई जापान पठाएको भन्दै १४ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बन गरेको छ । वैदेशिक रोजगार विभागले सोमबार एक निर्णय गर्दै वैदेशिक रोजगार ऐन २०६४ कोे दफा ६१ को ७ बमोजिम निलम्बन गरेको हो । ‘जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेश गरी श्रम स्विकृती लिई नेपाली कामदारहरुलाई जापान पठाएको भन्ने उजुरीको सम्बन्धमा विभागबाट अनुसन्धान भइरहेको छ, प्रारम्भीक अनुसन्धानबाट १४ म्यानपावर कम्पनीको संलग्नता भएको देखिएको छ’, विभागले जारी गरेको विज्ञप्तीमा भनिएको छ । विभागले उक्त म्यानपावर कम्पनीलाई निलम्वन गरी अनुसन्धान गर्ने र अन्य संस्थाको हकमा अनुसन्धान जारी राखिएको समेत जनाएको छ ।

हेटौँडामा सवारी दुर्घटना हुँदा नौ जना घाइते

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडास्थित आज बिहान सवारी दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा–१५ चुरिमाइस्थित सवारी दुर्घटना हुँदा नौ जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ज २११ नम्बरको विङ्गर र नेपालगङ्जबाट सिन्धुलीतर्फ जाँदै गरेको ना ७ ख १६४३ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परेर घाइते भएकाको परिचय नखुेको र उनीहरूलाई उद्धार गरेर उपचारको लागि हेटौँडा अस्पताल लगिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । दुबै सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा अनुसन्धान गरिरहेको छ । रासस

बङ्गलादेशमा डेङ्गुबाट एक हजारको मृत्यु

ढाका । बङ्गलादेशमा यस वर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट एक हजारभन्दा बढी मानिसको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ । लामखुट्टेबाट हुने यो रोगलाई मुलुकको सबैभन्दा खराब प्रकोप मानिएको छ । डेङ्गुबाट उच्च ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, मांसपेशी दुख्ने र सबैभन्दा गम्भीररूपमा रक्तस्राब हुन्छ । अत्यधिक रक्तस्राबका कारण मानिसको मृत्युसमेत हुन सक्छ । विश्व स्वास्थ्य सङ्गठनले लामखुट्टेबाट सर्ने डेङ्गुसहित चिकुङ्गुन्या, पहेँलो ज्वरो र जिका जस्ता रोगहरू जलवायु परिवर्तनका कारण छटो र थप फैलिरहेको चेतावनी दिएको छ । बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार राति प्रकाशित गरेको तथ्याङ्कअनुसार डेङ्गुबाट दुई लाखभन्दा बढी सङ्क्रमित हुँदा एक हजार छ जनाको मृत्यु भइसकेको छ । महानिर्देशनालयका पूर्वनिर्देशक बे–नजिर अहमदले सन् २००० पछिको प्रत्येका वर्षको तुलनामा डेङ्गुबाट मर्नेहरूको सङ्ख्या यस वर्ष उच्च रहेको बताए । “यो बङ्गलादेश र विश्व दुवैमा ठूलो स्वास्थ्य घटना हो”, उनले भने । मृत्यु हुनेहरूमा शिशुसहित १५ वर्षमुनिका एक सय १२ बालबालिका रहेका छन् । यो आँकडा सन् २०२२ को तुलनामा कम हो । सो वर्ष डेङ्गुबाट दुई सय ८१ बालबालिकाको मृत्यु भएको थियो । यस वर्षको मनसुनमा भएको अनियमित वर्षाका साथै उष्ण तापक्रमका कारण लामखुट्टेहरूको प्रजननमा उचित वातावरण भएकाले डेङ्गुको प्रकोप बढेको वैज्ञानिकहरूले बताएका छन् । सन् १९६० को दशकबाट बङ्गलादेशमा डेङ्गुका केसहहरू देखिए पनि उसले सन् २००० देखि यो रोगको प्रकोपको तथ्याङ्क राख्न थालेको हो । डेङ्गुका धेरैजसो प्रकोप मनसुनका बेला जुलाईदेखि सेप्टेम्बरसम्म देखिन्छन् तर बङ्गलादेशका अस्पतालहरूले हालैका वर्षमा जाडो महिनामा पनि यस रोगका बिरामीहरूलाई भर्ना गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रिएससले सेप्टेम्बर महिनामा डेङ्गुको प्रकोपले बङ्गलादेशको प्रणालीमा ठूलो दबाब दिएको बताएका थिए । रासस

सिप्ला सेक्युरिटीजको आयोजनामा लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाडौं। सिप्ला सेक्युरिटीजको आयोजनामा लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएकाे छ । रसुवाको गोसाईकुण्ड गाउँ पालिका वडा न ६ धुन्चे स्थित बालमन्दिरको प्राङ्गणमा सिप्ला सेक्युरिटीजको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अंतर्गत आयोजित लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा वित्तीय साक्षरता, महिला स्वास्थ्य, सानो उद्योगको परियोजना तथा पर्यटन विकास सम्बन्धि विस्तृत जानकारि गराइएको हो । साथै विभिन्न विद्यालयहरूलाई खेल सामग्रीहरू, स्वास्थ्य चौकीलाई सेनेटरी प्याड भेन्डिङ मेसिन र विभिन्न व्यक्तित्व हरुलाई मायाको चिनो वितरण गरिएको थियो । कार्यक्रमको विषय सबैले सिक्नै पर्ने विषय रहेकोले यस्तै कार्यक्रमहरू आगामी दिनहरूमा पनि सञ्चालन गर्न आवश्यक रहेको र अन्य पालिकाहरूमा पनि सञ्चालन गर्न आवश्यक रहेको नागरिक समाजका अध्यक्ष तथा यस कार्यक्रमका प्रमुख अथिति बाबुलाल तामाङले बताए । सिप्ला सेक्युरिटीज प्रालिका राउल अग्रवालको अध्यक्षतामा तथा रसुवा जिल्ला नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ को प्रमुख अतिथिमा लामटाङ राष्ट्रिय निकुञ्ज कार्यालय प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष उत्तम थापा, सिप्ला सेक्युरिटीज प्रालिका मेम्बरहरू, ओए केटीएम प्रालिका मेम्बरहरू, सुरक्षाकर्मिहरू, आमा समुह, विभिन्न विद्यालयका शिक्षक शिक्षिका लगायत विद्यार्थी हरू,पत्रकारहरू , स्थानीय लामा झाक्री गुरुहरू, स्थानीय बासिन्दाहरू लगायतको उपस्थितिमा सम्पन्न भएको थियो।

कनेक्ट आईपीएसबाट फ्लाइटको टिकटको भुक्तानी गर्दा २०० रुपैयाँ क्यासब्याक

काठमाडौं । कनेक्ट आईपीएसबाट फ्लाइटको टिकटको भुक्तानी गर्दा २०० रुपैयाँ क्यासब्याक पाइने भएको छ । यस चाडपर्वको समयलाई लक्षित गर्दै फ्लाइटको टिकटको भुक्तानी कनेक्ट आईपीएसबाट गर्दा आकर्षक ‘उडु–उडु लाग्छ अफर’ सार्वजनिक भएको छ । यस अफर अन्तर्गत विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको अनलाइन बुकिङ्ग गरी कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्दा हरेक हप्ता २०० जनाले २०० रुपैयाँ क्यासब्याक पाउनेछन् । साथै, ३ जना भाग्यशाली ग्राहकले अफरको अन्त्यमा कपल स्टेकेशन जित्न सक्ने कम्पनीले जनाएको छ । क्यासब्याक अफर बुद्ध एयर, सौर्य एयरलाइन्स (पी), श्री एयरलाइन्स र यति एयरलाइन्सको फ्लाइट टिकट भुक्तानीमा उपलब्ध रहेको छ । यो अफर १४ असोजदेखि ११ कार्तिकसम्म उपलब्ध हुनेछ । एयरलाइन्सको वेब वा मोबाइल एपबाट फ्लाइट टिकटका बुकिङ गरी अयललभअतक्ष्एक् मार्फत भुक्तानी गर्ने सबै ग्राहकहरू यो अफरको लागि योग्य हुनेछन् । अफर अवधिमा हप्ता सकिएपछि कनेक्ट आईपीएसको वेबसाइटमा साप्ताहिक विजेताको घोषणा गरिनेछ र क्यासब्याक रकम ग्राहकले भुक्तानी गरेको बैंक खातामा जम्मा गरिने कम्पनीले जनाएको छ । कनेक्ट आईपीएस, बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक प्रमुख तथा सजिलो माध्यम हो । कनेक्ट आईपीएस को वेब मार्फत प्रति कारोबार २० लाख सम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ । कनेक्ट आईपीएस मार्फत चालु आर्थिक वर्षको पहिलो दुई महिना अर्थात भाद्र मसान्त सम्म ७५१ अर्ब भन्दा बढी भुक्तानी कारोबार फछर्याैट भइसकेको छ ।

बीउ र तरकारी बेचेर वार्षिक १४ लाख आम्दानी

वालिङ  । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाका ५३ वर्षीय चन्द्रकान्त डुम्रेले मौसमी तथा बेमौसमी तरकारी तथा बीउ बिक्री गरेर वार्षिकरूपमा १४ लाख बढी आम्दानी गर्दै आएका छन् । डुम्रेले जनकदेव, खुमल रातो खुमल उज्वल, एमएस ४२ जातको आलुको बीउ बिक्रीबाट वार्षिक रूपमा पाँच लाख, बोडी बिक्रीबाट तीन लाख ५० हजार, घिरौँला, काँक्रा, करेला र लौका बिक्रीबाट दुई लाख, रामधानको बीउ बिक्रीबाट एक लाख ५० हजार, अरुण दुई जातको मकैको बीउ बिक्रीबाट ८० हजार गरी वार्षिक औसतमा चौध लाख बढी आम्दानी गर्दै आएका छन् । भारत, मलेसिया तथा जापानमा करिब १८ वर्ष वैदेशिक रोजगारीबाट स्वदेश फर्किएर उनले कृषि काम गर्न थालेका हुन् । ‘विभिन्न देशमा रोजगारी गरेँ अन्त्यमा आफ्नै देशमा फर्केर कृषि कार्य गर्दै आएको छु’, उनले भने, ‘चन्द्रकान्त डुम्रे कृषि फार्म दर्ता गरी झण्डै एघार वर्षअघिदेखि व्यावसायिक कृषिको सुरुआत गरेको हुँ ।’ सुरुमा आफ्नै तीन रोपनी जग्गाबाट कृषि कर्म थाल्नुभएका डुम्रेले कृषिमा सम्भावना देखे । हाल आफ्नो पाँच रोपनी र अरुको करिब १५ रोपनी जग्गा भाडामा लिएर २० रोपनी क्षेत्रफलमा मौसमी तथा बेमौसमी तरकारी तथा समयअनुसारका धान र आलुको बीउ उत्पादन गर्दै आएका छन् । ‘मेरो मुख्य पेसा नै कृषि हो, मैले गरेको कार्यबाट म सन्तुष्ट छु’, उनले भने, ‘उत्पादित कृषिजन्य वस्तुको बजारीकरणको कुनै किसिमको समस्या छैन ।’ बाह्रै महिना सिँचाइका लागि पानीको सुविधा भएकाले उहाँले वर्षमा तीन बाली लगाउछन् । तरकारी स्थानीय बजारमै खपत हुने गरेको छ । मकै, धान, गहुँ, आलुको बीउ नगरपालिका, गाउँपालिका, कृषि ज्ञानकेन्द्र, कृषि विकास स्रोतकेन्द्र तथा सरकारी सङ्घसंस्थाको समन्वयका आधारमा सजिलैसँगै बिक्री हुने गरेको उनी बताउछन् । जिमुहा विभिन्न जातका तरकारी तथा आलु र धानको पकेट क्षेत्र हो । यहाँबाट बर्सेनि लाखौँको तरकारी तथा बीउ निर्यात हुने गरेको छ । रासस

ग्रामिण क्षेत्रको विकासमा जोडिदै एफएनसीसीआई, ढोरपाटनमा कार्यकारिणी बैठक शुरु

काठमाडौं । ग्रामिण क्षेत्रको विकासमा जोडिने लक्ष्यसहित नेपाल उद्योग वाणिज्य महासंघले केन्द्रीय कार्यकारिणी समितिको बैठक ढोरपाटनमा राखेको छ । आज र भोलि हुने उक्त बैठकमा देशको वर्तमान आर्थिक अवस्था, उद्योगी व्यवसायीले भोग्नु परेको समस्या र महासंघले खेल्नु पर्ने भूमिकाको बारेमा छलफल केन्द्रीत हुनेछ । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघले संस्थागत सदस्यहरुमा अपनत्वको भावना विकास गर्नुका साथै स्थानीय तहमा लगानी वृद्धि गर्न देशका ठूला व्यवसायीलाई जोड्ने लक्ष्यसहित महासंघको बैठकहरु देशको ग्रामिण क्षेत्रसम्म पुर्याउने लागिएको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । बाग्लुङको पुरानो र पर्यटकीयय नगर ढोरपाटनको पर्यटन प्रर्बद्धन गर्ने उदेश्यले तेस्रो कार्यकारीणीको बैठक ढोरपाटनमा राखिएको उनले बताए । यस्ता बैठकहरु देशका अन्य क्षेत्रमा पनि पालैपालो गर्ने सोचमा आफू रहेको उनले बताए । बागलुङ उद्योग वाणिज्य संघ बागलुङ र ढोरपाटन उद्योग वाणिज्य संघ बागलुङको आतिथ्यतामा बसेको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका ७० जनाको कार्यसमिति सदस्यसहित सरोकारवाला निकाय, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका जनप्रतिनिधिको सहभागिता रहेको बागलुङ उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलले बताए । महासंघको बैंठकलाई ढोरपाटन नगरपालिकाले निकै महत्वका साथ लिएको र कार्यक्रमलाई सफल बनाउन सम्पूणर् हिसावले सहयोग गरिरहेको नगरपालिकाका उप प्रमुख धनबहादुर कायतले बताए । यस बैठकसँगै ढोरपाटनको प्रचार हुने, अरु संघ संस्थाको बैठक पनि यस पर्यटकीय नगरीमा बस्ने, पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने, निजी क्षेत्रको लगानी थपिने आशा नगरपालिकाले गरेको उनले बताए । बैठकका आउने पाहुँनाहरुको खाना तथा आवासका लागि ढोरपाटन उपत्यकामै व्यवस्थापन मिलाइएको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष कार्यालयले समेत महासंघको केन्द्रीय कार्यकारिणी बैंठक राख्नको लागि सहयोग गरेको छ । एक पटक देशभरका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरुले ढोरपाटनको पर्यटन प्रर्बद्धनमा सहयोग पुर्‍याउने अपेक्षा राखिएको बागलुङ उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष कँडेलले बताए । ढोरपाटनमा आवश्यक पर्यटकीय पूर्वाधार, सुविधा सम्पन्न होटल सहित अन्य व्यवसायीक लगानी भित्राउन यो बैठकले सहयोग पुर्‍याउने विश्वास महासंघले पनि लिएको छ । उद्योगी व्यवसायी ढोरपाटन पुग्दा पर्यटकीय क्षेत्रको विकास, लगानीको वातावरण बनाउन, कृषि उपजको बजारीकरणमा कोशे ढुङ्गा सावित हुने अपेक्षा गरिएको छ । ढोरपाटन आलुको राम्रो उत्पादन छ भने स्याउको प्रचुर संभावना रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल सहित कार्यसमिति सदस्यले ढोरपाटन क्षेत्रको अध्ययन, स्थलगत अवलोकन र शिकार आरक्ष कार्यालयको भ्रमण समेत गर्ने कार्ययोजना रहेको छ । ढोरपाटनको प्रसिद्ध ढोरबराह मन्दिर समेत दर्शन गर्ने कार्यक्रम रहेको छ । ढोरपाटन सिकार आरक्ष, ढोरपाटन उपत्यका, स्याउ बगैचा, ढोर बराह मन्दिर, देउराली, निशेलढोर, शिकार आरक्ष कार्यालयको संग्रहालय लगायत ढोरपाटनमा पर्यटकलाई लोभ्याउने अनेकौ स्थानहरु रहेकोमा तिनीहरुको प्रचार प्रसार हुँने गरी बैठकको आयोजना गरिएको छ ।