३८ लाख बढी रकम हिनामिना गरेको आरोपमा बैंक र अस्पतालका कर्मचारी पक्राउ
काठमाडौं । अस्पतालको ३८ लाख रुपैयाँ बढी हिनामिना गरेको आरोपमा बैंक र अस्पतालका कर्मचारी पक्राउ परेका छन् । कपिलवस्तु शिवराज नगरपालिका अन्तर्गतको आधारभूत स्वास्थ्य सेवा अस्पतालको रकम हिनामिना गरेको आरोपमा स्वास्थ्य शाखा प्रमुख ५५ वर्षीय चुडामणि भट्टराई, ३० वर्षीय मेसु डा. अमित पाण्डे, अस्पतालकी फार्मेसी सहायक कर्मचारी ३७ वर्षीया रुक्सना खातुन, नेपाल बैंकका क्यासियर ३४ वर्षीय कमल भण्डारी र बैंकका कार्यालय सहयोगी ३५ वर्षीय विक्रम केसी पक्राउ परेका हुन् । कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष २०८१/०८२ को सेवा शुल्क तथा फार्मेसीबाट औषधि बिक्रीबापत संकलित रकम बैंकमा जम्मा नभएको भन्ने उजुरीपछि अनुसन्धान सुरु भएको थियो । शिवराज नगरपालिकाको च.नं. २१९४ वैशाख ४ गतेको पत्रमार्फत छानबिनको माग गरिएको थियो । त्यसपछि प्रहरीले अनुसन्धान बढाएको हो । बैंक भौचरहरू फाइलमा भए पनि सोअनुसारको रकम बैंक खातामा जम्मा नभएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष आचार्यले जानकारी दिए । उनका अनुसार लेखा परीक्षणका क्रममा विभिन्न मितिका १२९ थान भौचर बमोजिम कुल ३८ लाख १९ हजार ७७० रुपैयाँ बराबरको रकम बैंकमा दाखिला देखिएन । रकम हिनामिना भएको उजुरी दर्ता भएपछि वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले सरकारी अस्पतालको नक्कली भौचर तयार गरी संगठित रूपमा ठगी तथा आपराधिक विश्वासघात गरेको आरोप छ । पक्राउ परेकाहरूलाई कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।
मन्त्रिपरिषद बैठक सुरु
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको हो । बैठकले महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।
४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले (आज) बुधवार ४० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि ४२ दिनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप साढे ७७ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ असार १० गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ। खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
बैंकर ज्योतिप्रकाश पाण्डे प्रहरी नियन्त्रणमा
काठमाडौं । बैंकर ज्योतिप्रकाश पाण्डे प्रहरी नियन्त्रणमा रहेको बुझिएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)समेत रहेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख मनोज केसीले उनलाई नियन्त्रणमा लिइएको जानकारी दिए । केसीका अनुसार स्मार्ट सेल प्रकरणमा पाण्डेको संलग्नता देखिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।
सुनको मूल्य तोलामा ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार
काठमाडौं । मंगलबारको तुलनामा स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा ७०० रुपैयाँले घटेको छ भने चाँदीको मोल भने १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ७१० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार एक तोला छापावाल सुन तीन लाख दुई हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ६९५ रुपैयाँमा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७२५ र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
एसइईमा सिन्धुपाल्चोकका सात विद्यालयको नतिजा शून्य
चौतारा । माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा सिन्धुपाल्चोकका सातवटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार लिसङ्खुपाखर गाउँपालिकास्थित बुद्धोदय मावि, धर्मोदय मावि, चौतारा साँगाचोकगढी नगरपालिकाको वनदेवी मावि चौतारा, बलेफी गाउँपालिकाको वनसाँघु मावि, भोटेकोशी गाउँपालिकाको मार्मिङ मावि र भीमसेन मावि तथा हेलम्बुको हेलम्बु बोधिसत्व मोडल स्कुलमा साधारणतर्फ सबै विद्यार्थी ‘ननग्रेडेड’ भएका छन् । यीमध्ये लिसङ्खुको बुद्धोदय मावि, भोटेकोशीको भीमसेन मावि र हेलम्बुको हेलम्बु बोधिसत्व मोडल स्कुलमा प्राविधिक धारको समेत पठनपाठन हुने गरेको छ । प्राविधिक धारतर्फ भने केही विद्यार्थीमात्र ‘ग्रेडेड’ भएका थिए । सिन्धुुपाल्चोकमा रहेका १२९ सामुदायिक, ११ संस्थागत र तीन खुला विद्यालय गरी जम्मा १४३ विद्यालयले एसइई २०८२ मा सहभागिता जनाएका थिए ।
मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । मन्त्रिपरिषद्को बैठक केही बेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले मन्त्रिपरिषद्को बैठक १०ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको जानकारी दिएका हुन् ।
बाँदर धपाउन लालीगुराँस नगरपालिकाले दियो सार्वजनिक विदा
काठमाडौं । तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर धपाउनका लागि जेठ १ गते (शुक्रबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले सूचना जारी गर्दै जेठ १ गते अत्यावश्यक सेवाबाहेकका सेवा बन्द रहने जानकारी दिएको छ । बाँदरलाई सीमा कटाउन ठूलो जनपरिचालन आवश्यक पर्ने भएकाले सार्वजनिक बिदा आवश्यक भएको नगरपालिकाले सूचनामा उल्लेख गरेको छ । नगरपालिकाका अनुसार पछिल्लो समय बाँदरका कारण कृषिबालीमा व्यापक क्षति पुगेपछि समस्या समाधानका लागि सामूहिक रूपमा बाँदर लखेट्ने कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सूचनामा किसानले उत्पादन गरेको कृषि उपजमा ठूलो नोक्सानी भएको, साथै बाँदर आतंकका कारण बालबालिका विद्यालय जानसमेत प्रभावित भएको उल्लेख गरिएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत बजेटअन्तर्गत ‘कृषिमा बाँदरबाट परेको क्षति न्यूनीकरण’ कार्यक्रममार्फत विभिन्न क्षेत्रमा बाँदर धपाउने अभियान सञ्चालन गर्न लागेको जनाएको छ । वडा नं. ८ को रंगमञ्च क्षेत्र, वडा नं. ५ को सिङ्गाप्पा क्षेत्रलगायत स्थानमा कार्यक्रम तय गरिएको छ । जेठ १ र २ गते सञ्चालन हुने उक्त कार्यक्रममा किसान, जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणलाई सहभागी हुन आग्रह गरिएको छ । ठूलो जनपरिचालन आवश्यक पर्ने भएकाले जेठ १ गते सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ।