दार्चुलाबाट डा. केसीले भने - म अनशन बस्छु

काठमाडौं । प्रा. डा. गोविन्द केसीले दार्चुलाबाट फेरि अनशन बस्ने घोषणा गरेका छन् । सरकारसमक्ष पाँचबुँदे माग राख्दै केसीले साउन ७ गते बिहीबारदेखि अनशन बस्ने घोषणा गरेका हुन् ।

उनले चिकित्सा शिक्षा सुधार, सुशासन, गैरकानुनी नियुक्ति खारेजी र भ्रष्टाचारविरुद्ध कारबाहीलगायत पाँचबुँदे माग अघि सारेका छन् ।

चिकित्सा शिक्षा आयोग र दशरथचन्द मेडिकल विश्वविद्यालयमा स्थापित नियम, कानुन र सुशासनका मान्यताविपरीत स्वार्थको द्वन्द्व हुने गरी गरिएका नियुक्तिहरू तत्काल बदर गर्नुपर्ने, राष्ट्रिय चिकित्सा शिक्षा ऐनका विवादित प्रावधान शीघ्र संशोधन गर्नुपर्ने माग राखेका छन् । यस्तै, आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने तथा आवश्यक मापदण्ड र पूर्वाधार नै नपुगेका निजी मेडिकल कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय तत्काल खारेज गर्नुपर्ने बताएका छन् ।

‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ ले व्यवस्था गरेअनुसार चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने कानुनी प्रावधान तत्काल कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिएका छन् । साथै, विगतमा सरकारसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गर्न पनि आग्रह गरेका छन् ।

यस्तै, सुदूरपश्चिम तथा सीमावर्ती क्षेत्रका नागरिकले स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकमा निर्भर हुनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने, जेनेजी आन्दोलनमा भएका हत्या, आगजनी, लुटपाट र तोडफोडका घटनाका दोषीलाई कानुनी कारबाही गर्नुपर्ने तथा २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीमाथि लागेको भ्रष्टाचार र अपराधका आरोपको निष्पक्ष छानबिन गर्नुपर्ने माग पनि उनले अघि सारेका छन् ।

डा. केसीले यी माग सम्बोधन गर्न सरकारलाई साउन ५ गतेसम्म समय दिइएको भए पनि कुनै पहल नगरेकाले फेरि सत्याग्रहमा बस्न बाध्य भएको बताएका छन् । 

Share News