विकासन्युज

प्रत्येक भारतीय सेनालाई यहाँबाट हटाउनुपर्छ : नवनिर्वाचित राष्ट्रपति मुइज्जु मालदिभ्स

एजेन्सी । मालदिभ्सका नवनिर्वाचित राष्ट्रपति मुहम्मद मुइज्जुले मालदिभ्सबाट भारतीय सेना हट्नुपर्ने बताएका छन् । बिबिसीसँग कुरा गर्दै नवनिर्वाचित राष्ट्रपति मुइज्जुले ढिलो नगरी भारतीय सेना मालदिभ्सबाट हट्नुपर्ने बताएका हुन् । नवनिर्वाचित राष्ट्रपति मुइज्जुले आगामी नोभेम्बरमा आफ्नो पदभार सम्हाल्दैछन् । लामो समयदेखि भारतको प्रभावमा रहेको मालदिभ्सका नवनिर्वाचित राष्ट्रपतिको भनाइले दुई देशका बीचमा तनाव उत्पन्न गर्न सक्ने अनुमान गरिएको छ । मुइज्जुले चुनावमा विजय हासिल गर्दा नै भारतका लागि झट्का लागेको विश्लेषकहरुले बताएका थिए । मुइज्जुलाई समर्थन गर्ने गठबन्धनले ‘इन्डिया फस्र्ट’को नीति मालदिभ्सको सुरक्षा तथा सम्प्रभुताको लागि खतरा भएको बताएको थियो । मालदिभ्स हिन्द महासागरको ठूलो क्षेत्र निगरानीका लागि रणनीतिक महत्वपूर्ण देशको रुपमा लिइन्छ । मालदिभ्समा आफ्नो राणनीतिक एवं गहिरो सम्बन्ध विस्तार गर्नका लागि भारत र चीनको प्रतिस्पर्धा भइरहेको छ । बीबीसीबाट ।

दशैँमा सुनसान बन्यो काठमाडौं

नेपालीहरुको महान पर्व विजया दशमी (बडा दशैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ । बडा दशैँ तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासीहरु घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो । आज महानवमीको दिन केही मात्रामा मात्रै सर्वसाधारणहरु सडकमा देख्न सकिन्छ । सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सुनसान भएका छन् । सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरु प्रायः बन्द छन् । काठमाडौंमा मानिसहरुको खचाखच हुने न्युरोड, आरएनएसी, भद्रकाली लगायतका ठाउँहरुमा पसलहरु बन्द रहेका छन् । दशैँमा हुनसक्ने सम्भावित दुर्घटनालाई न्युनिकरण गर्न भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठाउँ–ठाउँमा चेकिङ गरिरहेको छ ।

आज महानवमी : तलेजु मन्दिर सर्वसाधारणका लागि खुला

काठमाडौं । प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । हनुमान ढोकास्थित तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको हो । वर्षमा एक पटक महानवमीको दिनमा मात्र सर्वसाधारणका लागि खुला गरिने तलेजु भवानीको मन्दिरमा दर्शनार्थीको भीड छ । हरेक वर्ष आश्विन शुक्ल नवमीका दिन आम सर्वसाधारणका लागि मन्दिर खुला गरिने परम्पराअनुसार आज सोही अवसरमा मन्दिर खुला गरिएको हो । तलेजु मन्दिरमा ३६४ दिनमा दैनिक नित्य पूजा हुन्छ र एक दिन सर्वसाधारणको पूजाका लागि खोलिन्छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मुल चोकमा ल्याइएको थियो । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मुल मन्दिरमा फर्काइने प्रचलन छ । विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । विजयादशमीका दिन समितिले साइतअनुसार यात्रा गराइनेछ । महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायत विधिवत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइने परम्परा छ । दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलीसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवीसास्त्रोक्त पाठ गरिन्छ । पशुबली नदिने र साकाहारीहरूले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मुला, काँक्रो र जटा नरिवल समेतको बली दिइ पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तीथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्ववका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबली पनि दिने गरिन्छ ।

इजरायली हवाई आक्रमणबाट गाजामा ५० प्रतिशत आवासीय भवनहरु क्षतिग्रस्त

एजेन्सी । इजरायलको हवाई आक्रमणबाट गाजापट्टीका ५० प्रतिशत आवासीय संरचनाहरु ध्वस्त भएका छन् । इजरायलले जानीजानी आवासीय भवनमा आक्रमण गरेको प्यालेस्टाइनी अधिकारीहरुको भनाइ छ । इजरायली हवाई आक्रमणका कारण १ लाख ६५ हजार भन्दा बढी आवासीय भवनहरु ध्वस्त भएका छन् । लगभग २० हजार घरहरु पूर्ण क्षति भएका छन् । त्यस्तै ७० प्रतिशत स्थानीयहरु घरबाट बिस्थापित भएका छन् ।

मुस्ताङबाट तेइस करोडको च्याङ्ग्रा निकासी

  म्याग्दी । मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर  तेइस करोड मूल्य बराबरकोे च्याङग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौं लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दशैका लागि पाँच हजार ७५५  च्याङग्रा निकासी भएको जानकारी दिए। ‘जोमसोमको नाकाबाट पाँच हजार ७५५ च्याङग्रा निकासीका लागि स्वास्थ्य परिक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ’, उनले भने, ‘कृषकले बिक्री गरेको सरदर मूल्यलाई आधार मान्दा तेइस करोड दुई लाख मूल्य बराबरको च्याङग्रा निकासी भएको छ ।’ मुस्ताङका कृषकले पालेका चार हजार र एक हजार ७५५ गोटा डोल्पा, मुगुबाट ल्याएका च्याङग्रा निकासी भएको उनले बताए । गत असोजको २० गतेदेखि यही कात्तिक १ गतेसम्म च्याङग्रा निकासी भएको थियो । प्रतिगोटा च्याङग्राको स्वास्थ्य परीक्षण गरेवापत पशु चिकित्सकलाई १५ रुपैयाँ शुल्क तिर्नुपर्छ । स्वास्थ्य परीक्षण गरेर निरोगी पशु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ । च्याङग्रा खरीद गर्नका लागि व्यापारीहरु मुस्ताङका कृषकको गोठमै पुगेका थिए । कृषकले प्रतिगोटा ४० हजार रुपैयाँको हाराहारीमा च्याङग्रा बिक्री गरेको बताएका छन् । गत वर्ष छ हजार ६००, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुस्ताङबाट भेडाच्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ । पछिल्लो ४ वर्षयता चिनियाँ च्याङग्रा नआएको र मुस्ताङमा च्याङग्रा कम भएकाले माग धान्न नसकेर मूल्य बढेको छोसेरका कृषक आङगेल गुरुङले बताए। तीन देखि चार वर्ष उमेरका च्याङग्रा मासुका लागि बजार पठाउने गरिएको छ । हिमाली भेगमा पालन गरिएका भेडाच्याङग्राहरुले लेकाली जडिबुटीहरु खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताहरुको अनुभव छ । दशैँ तिहारमा च्याङग्राको मासुको खपत बढी हुने गर्छ । मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङग्रा पालिएका छन् । पैसठ्ठी  ठूला च्याङग्रा फार्म छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५० सम्म घरघरमा च्याङग्रा पालेका छन् । हिमचुतुवा, ब्वासो र जंगली कुुकुर च्याङग्रालाई आक्रमण गरेर क्षति गर्ने गरेको छ । तीन वर्षअघिसम्म प्रतिगोटा च्याङग्राको २५ हजार रुपैयाँ थियो । कोरोना महामारीका कारण चिनिया कोरला नाकाबाट च्याङग्रा आयत नभएकाले मुस्ताङको च्याङग्राको मूल्य बढेको ब्यापारी बाबुराम बानियाले बताए । बैशाख र भदौ महिनामा लाग्ने मेलामा तिब्बतबाट उपल्लो मुस्ताङमा च्याङग्रा आयात हुने गर्दथ्यो ।

कर्मचारीले पिसाब गरेको भिडियो सार्वजनिक भएपछि बियर कम्पनीद्वारा अनुसन्धान सुरु

बेइजिङ । यसै साता कारखानाका एक कर्मचारीले कच्चा सामग्रीमा पिसाब गर्दै गरेको भिडियो भाइरल भएपछि चीनको सबैभन्दा ठूलो बियर निर्मातामध्येको एक कम्पनीले उक्त घटनाको अनुसन्धान सुरु भएको जनाएको छ । बिहीबार अनलाइनमा प्रकाशित भएको भिडियो क्लिपमा कथितरूपमा सिङ्ताओ ब्रुअरी कम्पनीको गोदाममा एक पुरुष कर्मचारीलाई अग्लो पर्खाल भएको कन्टेनरमा चढेर कच्चा सामग्रीमा पिसाब गरिररहेको देखाइएको छ । उक्त फुटेज चिनियाँ सामाजिक सञ्जालमा व्यापकरूपमा प्रसार गरिएको छ। यसलाई लोकप्रिय प्लेटफर्म विबोमा लाखौँपटक हेरिएको छ । सिङ्ताओले उक्त घटनालाई लिएर प्रहरीसँग सम्पर्क गरेको र अनुसन्धान जारी रहेको बताएको छ। ‘हाम्रो कम्पनीले बिहीबार सिङ्ताओ ब्रुअरी नम्बर ३ बाट बाहिरिएको प्रासङ्गिक भिडियोलाई धेरै नै महत्व दिएको छ’, बियर निर्माता कम्पनीले एक विज्ञप्तिमा भनेको छ, ‘हामीले चाँडै नै प्रहरीलाई घटनाबारे जानकारी गरायौँ र सार्वजनिक सुरक्षा अङ्गहरू अनुसन्धानमा संलग्न भएका छन्, हाल विचाराधीन माल्टको ब्याचलाई पूरै सील गरिएको छ, कम्पनी आफ्नो व्यवस्थापन प्रक्रियालाई सुदृढ बनाउन र उत्पादनको गुणस्तर सुनिश्चित गर्न निरन्तर अग्रसर छ।’ केही सामाजिक मिडिया प्रयोगकर्ताहरूले उक्त भिडियोप्रति आक्रोश व्यक्त गर्दै प्रतिक्रिया दिएका छन् र चीनको सबैभन्दा प्रख्यात पेय ब्रान्डमध्येको एक उक्त कम्पनीको समर्थनमा टिप्पणी गरेका छन् । ‘उक्त व्यक्तिलाई अदालतमा लगेर कम्पनीलाई नोक्सानका लागि क्षतिपूर्ति दिनुपर्छ भन्ने मेरो सुझाव छ’, कम्पनीको प्रतिक्रियामा विबोमा एक जनाले लेखेका छन् । अर्काले लेखेका छन्, ‘यसको गहिरोसँग अनुसन्धान होस्, सधैँ हाम्रो राष्ट्रिय च्याम्पियन ब्रान्डहरूका लागि अगाडि आउनुहोस् ।’ रासस

दशैंमा पनि ‘द क्लिफ’ खुल्ने, स्वीङ र टेण्डम स्वीङ गर्नेलाई छुट

काठमाडौं । एड्भेन्चर हब ‘द क्लिफ’ दशैंमा पनि बन्द नहुने भएको छ । दशैंमा घुम्न निस्कने पर्यटक र पढाइ तथा अन्य विभिन्न कामको शीलशीलामा टाढा रहि दशैंको समयमा घर आएका स्थानियलाई लक्षित गरि एड्भेन्चर गतिविधि साथै रिसोर्ट खुल्लै राखिएको द क्लिफ प्रमुख कार्यकारी अधिकृत ईश्वर कार्कीले जानकारी दिए । साथै दशैंको अवसरमा स्वीङ र टेण्डम (जोडी) स्वीङ खेल्नेले १० प्रतिशत छुटको पाउनेछन् । कम्पनीले दशैलाई लक्षित गरी छुटको घोषणा गरेको हो । कार्कीका अनुसार दशैंमा पीङ खेलिने भएर स्वीङमा छुट दिइएको हो । छुट अक्टोबर अन्तिमसम्म लागू हुनेछ । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ । बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सन्चालनमा छन् ।

इजरायलबाट थप एक विद्यार्थीको शव नेपाल ल्याइयो

  काठमाडौं । इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चारको शव नेपाल ल्याइएको छ । फ्लाई दुबईको विमानमार्फत उनीहरुको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिए । उनका अनुसार हालसम्म दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याइएको हो । न्यौपानेको शव गए राति ल्याइएको थियो भने धामी र विष्टको शव आज बिहान आइपुगेको हो । चौधरीको शव आज दिउँसो २ः४० बजे नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । उनीहरु गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए । उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, धनुषा सापही–६ का आनन्द शाह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारी छन् । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त(३ का विपीन जोशी सम्पर्कबिहीन छन् । आक्रमणमा परी मृत्यु भएका बाँकी छ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ । नेपाल ल्याइएका शव नेपाली सेनाको हेलिकोप्टरमार्फत आजै कैलालीको धनगढी लैजाने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । धनगढीबाट स्थानीय प्रशासनले पीडितको घरसम्म शव पु¥याउने व्यवस्था गरिएको छ । केही दिनअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई नेपाल ल्याएको थियो ।