फलफूल लगायतका खाद्य सामग्रीको मूल्य दोब्बर महंगो भएको सर्वसाधारणको गुनासो
काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमीको समयमा बजारमा फलफूल लगायतका खाद्य सामग्रीको मूल्य दोब्बरले महंगो भएको भन्दै सर्वसाधारणहरुले दुःखेसो पोखेका छन् । उनीहरुले चाडपर्वमा समेत सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसक्दा सर्वसाधारणले दुःख पाएको बताए । चाडपर्वमा सरकारले सहुलियत दिनुपर्ने ठाउँमा चाडपर्वका लागि चाहिने चिनी लगायतका खाद्य सामग्रीको अभावसमेत परिपूर्ति गर्न नसकेको बताए । उनीहरुले बजारमा चिनीको अभाव र चामल लगायका खाद्य सामग्रीहरुको गुणस्तरीयता नभएको समेत बताए । विगतका वर्षहरुको भन्दा यस वर्षको दशैँको समयमा मूल्यवृद्धि दोब्बर रहेको उनीहरुको भनाइ छ । सर्वसाधारण दिनेश श्रेष्ठ, साजना देवकोटा र जगतनारायण नायकले स्याउ, अनार लगायतका फलफूलमा धेरै महंगी बढेको गुनासो गरे । उनीहरुले सरकारले महंगी नियन्त्रण गर्नुपर्ने बताए । सामग्रीहरुको आवश्यकता पूरा गर्न सक्नुपर्ने र जनतालाई दुःख दिनु नहुने उनीहरको भनाइ छ । त्यस्तै, फलफूल व्यापारी लक्ष्मी श्रेष्ठले सामग्रीको गुणस्तर हेरेर मूल्य बढेको बताए । उनले विगतको भन्दा यस वर्ष अनार, नरिवल पानीको मूल्य बढेपनि अरु फलफूलमा खासै मूल्य नबढेको बताए । उनले आफूले पसल राखेको सात वर्षमा पहिलो पटक व्यापार घटेको बताए । उनले भने, ‘महंगी बढ्यो भनेको छ, तर सामग्रीको गुणस्तर हेरेर हुन्छ, अनार, नरिवल पानी बढेको हो । व्यापार पोहोरको भन्दा धेरै कम छ । व्यापार भएको छैन । ७ वर्षमा यो पहिलो पटक यस्तो कम व्यापार भएको हो । हामीले हरेस नै खाइसक्यौँ । उनले यस वर्ष व्यापार नहुँदा व्यवसाय गर्न हरेस खानुपर्ने अवस्था सिर्जना भएको बताए ।
इजरायल युद्धमा मारिएका तीन विद्यार्थीको शव आइपुग्यो
काठमाडौं । इजरायल युद्धमा मारिएका १० नेपाली विद्यार्थीमध्ये तीन जनाको शव आज काठमाडौँ आइपुगेको छ । इजरायल सरकारले पहिचान भएका चार शवको कानुनी प्रक्रिया पूरा गरी नेपाली दूतावासलाई बुझाएमध्ये तीन शवहरु नेपाल ल्याइएको हो । आज बिहान दार्चुलाका लोकेन्द्रसिंह धामी र दीपेशराज विष्टको शव नेपाल ल्याइएको हो । यसअघि गए राति कैलालीका नारायणप्रसाद न्यौपानेको शव नेपाल ल्याइएको थियो । कैलालीका आशीष चौधरीको शव भने आज दिउँसो १ बजेतिर नेपाल आइपुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक केवश साउदले जानकारी दिए । उनका अनुसार आज आइपुगेका तीन वटै शव नेपाली सेनाको हेलिकोप्टरमार्फत कैलालीको धनगढी लैजाने तयारी भइरहेको छ । गत असोज २० गते गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । बाँकी छ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ ।
नेपाल वायुसेवा निगमद्वारा तीन जहाज खरिदका लागि बोलपत्र आह्वान
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले तीन वटा जहाज खरिदका लागि बोलपत्र आह्वान गरेको छ । दुर्गम क्षेत्रमा उडानका लागि तीन जहाज खरिदका लागि बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ । निगमले दुर्गम क्षेत्रमा उडानका लागि तीन ट्वीनअटर खरिद गर्न लागेको हो । ती जहाज निगमले आन्तरिक स्रोतबाट खरिद गर्ने जनाइएको छ । निगमसँग हाल आन्तरिक उडानतर्फ दुई वटा ट्वीनअटर जहाज छन् ।
भारतको गगनयान परीक्षण उडान सफल
एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले शनिवार आफ्नो गगनयान (स्काइक्राफ्ट) मिसन रोकेको केही घण्टाको अन्तरालपछि पुनः परीक्षण उडान शुरु गरेको छ । मिसन गगनयान टिवी डी १ परीक्षण उडान पूरा भएको जनाइएको छ । क्रु एस्केप सिस्टमले अपेक्षाकृत रुपमा प्रदर्शन गरेको छ । यो प्रक्षेपण दक्षिणी राज्य आन्ध्र प्रदेशमा श्रीहरिकोटा नजिकको सतिश धवन अन्तरिक्ष केन्द्रमा गरिएको थियो ।
भारतले नेपालसहितका ७ देशमा १० लाख टन गैरबासमती चामल निर्यात गर्न दियो अनुमति
काठमाडौं । भारत सरकारले नेपाल, क्यामरुन, कोटे डि आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्समा १० लाख टन भन्दा बढी गैर बासमती चामल निर्यात गर्न अनुमति दिएको छ । वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गत पर्ने वैदेशिक व्यापार महानिर्देशनालयले राष्ट्रिय सहकारी निकासी लिमिटेडमार्फत निकासी गर्न अनुमति दिएको हो । गैरबासमती सेतो चामलको निर्यात नेपाल, क्यामरुन, कोटे डि आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्समामा मात्रै निर्यात हुनेछ । नेपालका लागि ९५ हजार टन, क्यामरुनका लागि १ लाख ९० हजार टन, मलेसियाका लागि १ लाख ७० हजार टन, फिलिपिन्सका लागि २ लाख ९५ हजार टन, कोट डी आइभोर र गिनीका लागि १ लाख ४२ हजार टन, सेलेसलाई ८ सय टन पठाइएको छ । भारत सरकारले जुलाईमा घरेलु आपूर्ति बढाउन गैरबासमती सेतो चामलको निर्यातमा प्रतिवन्ध लगाएको थियो । तर खाद्य सुरक्षा आवश्यकता पूरा गर्न सरकारले केही देशहरुलाई दिएको अनुमतिका आधारमा निर्यात गर्न दिइन्छ ।
‘चाडपर्व आउँदा धेरै नै खाएको पायौँ, १५ दिनमा एकपटक रातो मासु खाँदा केही फरक पर्दैन’
दशैँ, तिहार लगायतका महत्वपूर्ण चाडपर्वहरु भित्रिसकेका छन् । चाडपर्व भित्रिएसँगै सर्वसाधारणहरु घर जाने क्रम बढेको छ । चाडपर्वका समयमा खानपिन तथा जीवनशैलीमा एकदमै बढी लापरवाही हुनाले विभिन्न रोगहरुको जोखिम हुन्छ । खानामा सन्तुलन मिलाउन सकिएन भने रोगको जोखिम बढ्ने गर्छ । गर्मी मौसम सकिएको र जाडो मौसम पनि लगभग शुरु भइसकेको छ । यसै सन्दर्भमा केन्द्रित रहेर अल्का अस्पतालमा कार्यरत फिजिसियन डा.रक्षा गौतमसँग चाडपर्वमा कस्तो खानेकुरा खाने, कतिसम्म खाने र कस्तो ध्यान दिनुपर्छ भनेर गरिएको कुराकानीको सम्पादित अंश । चाडपर्व भित्रिसकेको छ, यो बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ । मुख्यतः खानपानमा ध्यान दिनुपर्छ । हेभी खाना खाने र चिल्लो खानाका कारण पेट खराब भएर बिरामीहरु दशैँ तिहारको बीचमा आउने गर्नुहुन्छ । यस्तै, हेभी खाना खाई अपच भएर, डायरिया भएर आउने बिरामीहरुको संख्या धेरै हुने गर्छ । हामीले नियमित हेरिरहेका डायबेटिजका, कोलेष्ट्रोलका बिरामीहरुपनि दशैँ तिहार पछाडी आएर हामीलाई रिपोर्ट देखाउँदा सुगर बढेको, कोलेष्ट्रोलको मात्रा बढेको हामीले भेट्छौं । युरिक एसिडहरु बढेको भेट्छौं । त्यसैले दशैँमा धेरै माछामासु खाएर आउने बिरामीहरु नै भेटेका छौँ । जसलाई स्वास्थ्य जोखिम भएको छ । खानामा धेरै एक्साईटेड भएर माछा मासु खाएपनि ठिक्क मात्रामा खानुपर्छ । आवश्यकता भन्दा धेरै खाइयो भने रोगको जोखिम बढ्छ । खाँदाखेरी पनि घरमा पकाएको स्वस्थकर खानेकुराहरु खानुपर्छ । खानासँगसँगै पानीको मात्रा पनि बढाउनुपर्छ । कतिपय घाँटीहरु दुखेका, टन्सिलका बिरामीहरु पनि देख्छौँ । धेरैजसो दही, बाहिरका मिठाईहरु, चिल्लो खाएर, सिसीमा राखेको पुरानो अचारहरु खाएर आएका बिरामीहरुपनि देखेका छौ । खाना त खानुपर्छ । तर, चाडपर्वको बेला ठिक्क मात्रामा खानुपर्छ । स्वास्थ्यलाई नै हानी गर्ने गरी धेरै खानु भएन । खाना खाँदा सन्तुलन मिलाएर खानुपर्छ । चाडपर्व आउँदा धेरै नै खाएको पायौँ । अहिले चाहीँ विकृति बढेर जाँडरक्सी सेवन बढी भयो । त्यस्तो पनि हामीले देख्छौँ । चाडपर्वको बेला रक्सी खाएर गाह्रो भएर इमरजेन्सीमा आउनुभएको बिरामीहरु पनि हामीले भेट्छौँ । त्यो अलिकति कम गर्नुभयो भने स्वास्थ्यका लागि राम्रो हुन्छ । नियमित औषधि सेवन गरिरहेको बिरामीहरुले पनि ख्याल गर्नुपर्छ होइन र ? नियमित औषधि खाने बिरामीहरु मुख्यतः रक्तचाप र सुगर रोग, कोलेष्ट्रोलका बिरामीहरुले औषधि चाहीँ नियमित खानुप¥यो । यस्तै कतिपय बिरामीहरु त चिकित्सकको फलोअप(निगरानी)मा नगएको पनि हामीले देखेका छौँ । औषधि पनि नखाने, खानापनि सन्तुलित रुपमा नखाने गर्दाखेरी स्वास्थ्य जोखिम आएको हामीले देखेका छौँ । दशैँ तिहारको बेला काठमाडौं बाहिर जादैँ हुनुहुन्छ । फलोअपमा आउनलाई त्यति सजिलो छैन भने पुग्नेगरी औषधि लिएर जानु उपयुक्त हुन्छ । उच्चरक्तचाप, मधुमेह लगायत भएकाले माछा मासु खाँदा विशेष ख्याल गर्नुपर्ला नि ? माछा मासु खानै नहुने होइन । हामीले कोलेष्ट्रोल भएकाले रातो मासु अलिक कम गर्नु भन्छौँ । तर, मासु खाँदै नखाने भन्ने होइन । रातो मासुमा पनि पौष्टिक आहारहरु हुन्छन् । भिटामिन १२ हरु त्यसमै हुन्छ । खाँदै नखाँदाखेरी कोलेष्ट्रोल व्यालेन्स गर्ने नाममा भिटामिन १२ डिफिसियन्सीहरु भएर कमजोरी भएर आउनुहुन्छ । १५ दिनमा एकपटक रातो मासु खाँदा केही फरक पर्दैन । रातो मासु खान नहुनेलाई चिकेन, माछा पनि अप्सन छ । यस्तै, अण्डा, गेडागुडीहरु खान भन्छौँ । माछा मासु खानै नहुने भन्ने होइन । तर, सन्तुलित रुपमा ठिक्क गरेर खान मिल्छ । अहिले केही समययता डेँगुका बिरामीहरु बढेको देखेका छौँ । जाडो महिना आयो डेंगु लाग्दैन भनेर हेलचेक्र्याँई भएको हो की भन्ने मलाई लाग्यो । तर, पनि हामीले रुघाखोकीका बिरामीहरु, सिजनल फ्लुका बिरामीहरु अझैपनि भेटिरहेका छौँ । चाडपर्वको मुखमा वृद्धवृद्धाहरु डेंगु भएर आइरहनुभएको छ । डेंगु हुन नदिन मंसिर नलागेसम्म शतर्क हुनुहोस् । कार्तिक महिनाभरी डेंगुको डर छ । त्यो सँगसँगै रुघाखोकी भएर आउने बिरामीहरु धेरै देखेँ यो समयमा । वार्षिक फ्लू सिजन आउनुभन्दा अगाडी फ्लू भ्याक्सिन लगाएर फ्लूको जोखिमबाट अलिकति जोगाउनुपर्छ । फ्लू भ्याक्सिन सजिलैसँग पाइन्छ । जहाँ गएर लगाउँदापनि हुन्छ । सामान्य कस्टमा हरेक परिवारले लगाउन मिल्छ । ज्येष्ठ नागरिक, बालबालीकामा पनि यो भ्याक्सिन सुरक्षित छ, फ्लू भ्याक्सिन, निमोनिया भ्याक्सिन । सकभर बाहिरको खाना नखानुहोस् । बाहिरको स्वस्थकर छैन । होटेलहरुको धेरैपटक तेलमा पकाएको खानाहरु नखानुहोस् । यसले स्वास्थ्य जोखिम बढाउँछ । मौसम परिवर्तनसँगै सिजनल फ्लू बढीरहेको छ ? अस्पतालमा सरुवा रोगका बिरामीहरुको चाप बढेको हो ? सरुवा रोगमा फ्लू भएर आउने बिरामीको चाप बढेको छ । हामीले के भेटिरहेका छौँ भने इन्फ्लुएन्जा जुन सामान्य किसिमको लक्षणहरु आएर देखिन्थ्यो नि पहिले चार–पाँच वर्ष अगाडी । अहिले इन्फ्लूएन्जामा कडा लक्षणहरु देखिने गरेको छ । उच्च ज्वरो आउने, डेंगुका र इन्फ्लूएन्जाका लक्षणहरु लगभग मेल खाने, बिरामीहरु एकदम सिकिस्त हुने (कतिपयलाई त निमोनिया पनि भएको छ) पनि देखिएको छ । इन्फ्लुएन्जाबाट छातीमा संक्रमण हुनु भनेको एकदमै जोखिम हो । कति अक्सिजन लगाएर बिरामीहरु आईसीयुमा पनि हुनुहुन्छ । भएको चाहीँ भाइरल निमोनिया नै हो । शुरु भएको त रुघाखोकीबाट नै हो । त्यही नै बिग्रेर निमोनियाका केसेसहरु हामिले देखेका छौँ । सिजनल फ्लू भनेर भन्छौँ नि हामीले नेपालमा वर्षमा दुई पटक आउँछ । सिजन चेन्ज हुने बेलाको इन्फ्लुएन्जाको संक्रमण, भाइरसबाट हुने यसबाट जोगिनको लागि अब सरकारले पनि अलिकति जोड इन्फ्लुएन्जा भ्याक्सिनमा दिनुपर्ने हो की जस्तो लाग्छ । अझै पनि म कहाँ आउने बिरामीहरुलाई इन्फ्लुएन्जा भ्याक्सिनका बारेमा थाहा नै छैन । म बुझाउन प्रयास गरिरहेको हुन्छु । यो लगाउनुपर्छ र भनेर बिरामीहरु कन्फ्युजनमा भएको पाउँछु । हेल्थ प्रोफेसनमात्रै होइन, साधारण जनताले पनि लगाउनुपर्ने बेला आइसकेको छ । संक्रमणको दर बढेको छ । इन्फ्लुएन्जा लागेर निमोनिया भएर मृत्यु हुनु भनेको त एकदमै भयावह अवस्था हुन्छ । यसपाली भाइरल निमोनियाको केस अलिक धेरै देखेको भएर हजुरहरुलाई अलिकति सुझाव हो । चाडपर्व शुरु भइसक्यो, अहिले डेंगु संक्रमितको संंख्या बढेको छ, यसबाट बच्न के गर्नुपर्ला ? डेंगु संक्रमित हुनेहरुको संख्या बढेको छ । यसमा मुख्यतः लामखुट्टेलाई नै नियन्त्रण गर्नुपर्छ । लामखुट्टेलाई प्रजनन गर्ने वातावरण बन्न दिनुहुँदैन । डेंगु लागिसकेपछि के गर्ने ? भन्नेकुरा आउँछ । डेंगु लाग्न नदिन आफ्नो तर्फबाट सूर्योदय भएको दुई घण्टा र सूर्यास्त हुनुभन्दा दुई घण्टा अगाडी डेंगुका लामखुट्टे एकदमै एक्टिभ हुन्छ भन्छन् । त्यतिबेला आफूलाई जोगाउनुपर्छ । राती भन्दा पनि यसले दिउँसो टोक्ने भएकोले दिउँसो बाउला भएको कपडा लगाउने, मलमहरु लगाउने, बालबालीकाहरुलाई फुल बाउला भएका कपडाहरु लगाइदिएर विद्यालय पठाउने, सकिन्छ भने २४ घण्टा लामखुट्टे धपाउने झुलहरु प्रयोग गर्ने, लामखुट्टेलाई प्रजनन हुन नदिन पानी जमेको ठाउँमा माटोले पुरिदिने गर्नुपर्छ । यस्तै, बाल्टीन,ट्याङ्कीमा पानी छ भने बिर्को लगाइदिने गर्नुपर्छ । रुखबिरुवा, झाडीहरु छन् भने काटेर सफा राख्ने । पुरानो टायरहरुमा पनि लामखुट्टेको रिप्रोडक्सन बढी हुन्छ । ती पुराना टायरहरुलाई नष्ट गरिदिनुपर्छ । डेंगु सामान्य भाइरल ज्वरो हो । तर, यसमा सचेत हुनुपर्छ । आतंकित हुनुभएन । डेंगु लागिसकेपछि सामान्य औषधि, सिटामोल खाएर घरमा तरल झोल कुराको मात्रा बढाएर घरमा बसेर आराम गरेर पनि निको पार्न सकिन्छ । सामान्य लक्षण हुनेहरु त अस्पताल आउनु पनि हुँदैन । अहिले त जनचेतना अलिक बढेको छ । टाउको दुख्ने, उच्च ज्वरो आउने, जिउ दुख्ने, मांसपेशीहरु एकदमै दुख्ने, हात गोडाहरुमा बिबिराहरु आउने, नाक, मुखबाट रगतहरु आउने, पेट दुख्ने, दिसामा रगत आउने, वान्ता आउने, खाना खान नसक्ने अवस्था भयो भने तुरुन्तै अस्पतालको सम्पर्कमा आउनुहोला । अन्तवार्ता स्रोत : न्यूज एजेन्सी नेपाल ।
दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना : मुआब्जा निर्धारणमै अल्झियो
खोटाङ । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि अधिग्रहण गरिने जग्गाको मुआब्जा निर्धारण अहिलेसम्म तय हुन सकेको छैन । यसका लागि रायसुझाव लिन गत चैत २६ गते दिक्तेलमा सर्वदलीय छलफल भएको थियो । तर अहिलेसम्म कुनै सहमति जुट्न सकेको छैन । खोटाङको रावाबेँसी गाउँपालिका–३, लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६, भदौरेको सीमामा पर्ने र भुँवाघाटबाट उत्पादन गरिने राष्ट्रिय गौरवको सो जलविद्युत् आयोजनाले ओगट्ने खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका गरी करिब २५ हजार रोपनी निजी जग्गा प्राप्ति (अधिग्रहण)को प्रक्रिया अघि बढाइएको छ । आयोजना सञ्चालनका लागि सरकारी जग्गाबाहेक करिब २० हजार रोपनी जग्गा अधिग्रहण हुने अनुमान गरिएको आयोजनाका उपनिर्देशक सीताराम प्रखाछेँले जानकारी दिएका छन्। गत चैत २६ गतेको सर्वदलीय छलफलले जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम चलनचल्तीको मूल्य, बैंक तथा वित्तीय संस्थाले गर्ने मूल्याङ्कन, जिल्लामा कारोबार भएको मूल्य र सरकारी दर रेटलाई आधार मानेर जग्गाको मूल्य निर्धारण गर्ने निचोड निकालेको थियो । खोटाङतर्फको जग्गा विसं २०७८ असार २३ गतेदेखि रोक्का छ भने, ओखलढुङ्गातर्फको जग्गा अधिग्रहणका लागि विसं २०७८ फागुन २३ गते सूचना निकालिएको थियो । जग्गा प्राप्ति ऐन र जग्गाधनीको अपेक्षा नमिल्दा आयोजनाका लागि अधिग्रहण गरिने जग्गाको मुआब्जा निर्धारण हुन नसकेको मुआब्जा निर्धारण उपसमिति खोटाङका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साहले जानकारी दिए । ‘दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाले ओगट्ने निजी जग्गाको मुआब्जा वितरणका लागि मूल्य निर्धारण गर्न नेपाल विद्युत् प्राधिकरणले पटकपटक छलफल गरे पनि सहमति जुट्न सकेको छैन’, उनले भने, ‘जग्गाधनीले आनाकै ३०÷३५ लाखसम्म मूल्य निर्धारण गर्नुपर्ने माग राखेपछि समस्या भएको हो । मूल्य निर्धारण हुन नसक्दा गत वर्ष मुआब्जा शीर्षकको बजेटसमेत ‘फ्रिज’ भएको भयो ।’ सरकारबाट अधिग्रहण हुने जग्गाको मुआब्जा दिन पुग्नेगरी बजेट विनियोजन नहुँदा पनि मुआब्जा निर्धारणको काम अड्किएको प्राधिकरणका उपनिर्देशक एवं दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका प्रशासन प्रमुख वासु कलौनीले जानकारी दिए । ‘जग्गाको मूल्य निर्धारण गरेर मात्रै भएन, जग्गाधनीलाई दिने बजेट पनि हुनुपर्यो’, उनले भने, ‘आवश्यक बजेट भएको भए निर्णयमा पुगिहाल्थ्यौँ । निर्णय गरे पनि जनतालाई दिन सकिने अवस्था छैन । चालु आर्थिक वर्षमा मुआब्जासहित सम्पूर्ण कामका लागि सरकारले रु ५० करोड विनियोजन गरेको छ ।’ आयोजना प्रभावित क्षेत्रका जग्गाधनीको रायलाई संशोधन गरेर सम्बन्धित स्थानीय तहले मूल्य निर्धारण समिति र उपसमितिलाई राय दिइसकेको जनाइएको छ । तैपनि जग्गाको अन्तिम मूल्य निर्धारण गर्न सकिएको छैन । यसका लागि तीन वा पाँच रोपनीभन्दा कम जग्गा भएका जग्गाधनीलाई दिइने मुआब्जाबारे छुट्टै मूल्याङ्कन गर्नुपर्ने देखिएको जनप्रतिनिधिले बताउँदै आएका छन् । प्रभावित क्षेत्रमा पुस्तौँदेखि अरूको जग्गा कमाएर बसेका र प्रभावित क्षेत्रमै अरूको जग्गामा ३० देखि ४० वर्षदेखि घरटहरा बनाएर बसिरहेका स्थानीयको पुनःस्थापनाको विषयले पनि मूल्य निर्धारणमा अलमल गराएको जनाइएको छ । यस्तै लामीडाँडाको रभुँवामा बसोबास गरिरहेका माझी समुदायको पुनर्वास गर्न माग गरिइएको छ । लामीडाँडाको रभुँवाबजारमा दुई सय मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढाइएको छ । छ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट वार्षिक तीन अर्ब ४४ करोड ३० युनिट बिजुली उत्पादन हुने विद्युत् प्राधिकरणले जनाएको छ । रभुँवाघाटस्थित दूधकोशी नदीबाट उत्पादन गर्न लागिएको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना जापान सरकारको सहयोगमा कोशी बेसिन अध्ययन गुरुयोजनाअन्तर्गत विसं २०४२ मा पहिचान भएको हो । आयोजना सञ्चालनमा आएपछि विद्युतीय सेवासँगै दूधकोशी जलाशयमा डुङ्गा सयर, माछापालन तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । आयोजना सञ्चालन हुँदा रभुँवाघाटमा दुई सय मिटर अग्लो बाँध हालेर बन्ने जलाशयमा त्रिधार्मिकस्थल हलेसी आउने पर्यटकलाई डुङ्गा सयरसमेत गराउन सकिने जनाइएको छ । रासस ।
धादिङको खरी केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प
काठमाडौं । धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प भएको छ । आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । काठमाडौं उपत्यकालगायत धादिङ आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । सो भूकम्प २०७२ सालको ‘गोरखा भूकम्प’को परकम्प भएको उनले बताए ।