विकासन्युज

दसैँमा मनकामना केबलकार तीन दिन बन्द हुने

काठमाडौं । मनकामना केबलकार दसैँमा तीन दिन बन्द हुने भएको छ । नवमी, दशमी र एकादशीका दिन कात्तिक ६, ७ र ८ गते बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । नायब प्रबन्धक शेरचनका अनुसार मनकामना केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस)बाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन

फाइल फाेटाे काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७३ वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । दसैँ सुरु भइसकेको र पर्यटकीय याम पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुबैतर्फ हवाई उडान बढेको हो । मुलुकको पुरानो र अति व्यस्त त्रिभुवन विमानस्थलमा पछिल्लो दुई दिनदेखि हालसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । सामान्यतयाः दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा पछिल्ला दिनमा दैनिक दुईतर्फी एक सय १० देखि एकसय १३ उडान÷अवतरण भएको विमानस्थल कार्यालयको भनाइ छ । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार दसैँको घटस्थापनायता दैनिक घटस्थापनायता हवाई उडानमार्फत १६ हजारदेखि १७ हजार हवाई यात्रु आवतजावत गरिरहेका छन् । उनका अनुसार गत असोज २९ गते अन्तर्राष्ट्रिय उडानतर्फ एक सय १३ उडान भएका थिए । जुन एक दिनमा भएको अहिलेसम्मकै बढी उडान सङ्ख्या हो । गत असोज ३० गते एक सय १० र कात्तिक १ देखि ३ गतेसम्म दैनिक एकसय १० भन्दा बढी अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । ‘विमानस्थलको उडान इतिहासमा यो सबैभन्दा बढी उडान हो । चाडपर्व र पर्यटकीय सिजनले पनि अन्तर्राष्ट्रिय र आन्तरिक उडान चाप बढिरहेको छ”, विमानस्थलका महाप्रबन्धक तिवारीले भने। अन्तर्राष्ट्रिय उडानतर्फ ‘वीन्टर सिजन’का लागि बढी उडानको माग रहेको उनले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । विमानस्थल कार्यालयका अनुसार अहिले आन्तरिकतर्फ दुईतर्फी दैनिक तीन दुई सय ७० उडानमार्फत करिब १४ हजार यात्रुले सेवा लिइरहेका छन् । महाप्रबन्धक तिवारीले विमानस्थलमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय दुबै गरी झण्डै पाँच सय उडान भइरहेको बताए । उनले भने, ‘दैनिक पाँच सय हाराहारी उडान निकै बढी हो, विमानस्थल स्थापनाभएयता हालसम्मकै बढी उडान र यात्रु आवतजावत भइरहेका छन् ।’ विमानस्थल कार्यालयका अनुसार कात्तिक १ गते बुधबार मात्रै आन्तरिकतर्फ १५ हजार बढीले हवाई यात्रा गरेका थिए । उक्त दिन बुद्ध एयरले मात्रै आठ हजार नौ सय यात्रुलाई सेवा दिएको थियो । सो दिन यती एयरलाइन्सले दुई हजार ६ सय ५१, श्री एयरलाइन्सले एक हजार आठ सय ३९ र सौर्य एयरले तीन सय ४० यात्रुलाई सेवा दिएका थिए । नेपाल वायुसेवा निगमको आन्तरिक उडानका विभिन्न गन्तव्यमा यात्रु भरिभराउ छन् । दुई थान ट्वीनअटर जहाज मात्रै रहेको निगमको आन्तरिक उडानमा सर्वाधिक माग रहेपनि जहाजको सीमितताले थोरै सङ्ख्यामा देशका दुर्गम भेगमा उडान भइरहेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अहिले आन्तरिकतर्फ देशका विभिन्न १६ गन्तव्यमा दैनिक २२ वटा उडान गर्दै आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिघण्टा अन्तर्राष्ट्रियतर्फ एक हजार पाँच सय र आन्तरिकतर्फ हरेक घण्टा पाँच सय यात्रु व्यवस्थापन गर्ने क्षमता छ । कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए । कोभिडपछि विमानस्थलमा निरन्तर हवाई उडान र यात्रु सङ्ख्या बढिरहेको विमानस्थलले जनाएको छ । नेपालकै पुरानो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो नाम गौचर मैदानलाई हवाइ मैदानको रुपमा प्रयोग गर्न सन् १९४९ बाट शुरु गरिएको थियो । पहिलो पटक ‘बीचक्राफ्ट बोनान्जा’ विमान अवतरण भएको यो विमानस्थलबाट पहिलो पटक सन् १९५० फेब्रुअरी २० मा हिमालयन एभिएसनको डाकोटा विमान कोलकात्ता उडान भरेको थियो । उक्त विमानस्थलको तत्कालीन राजा महेन्द्रले सन् १९५५ मा उद्घाटन गर्नुभएको थियो । सन् १९६४ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नामाकरण भएको थियो । यो विमानस्थलमा सन् १९६७ मा जर्मनीको लुफ्थान्सा एअरलाइन्सको बोइङ–७०७ जेट विमान पहिलो जेटविमानको रुपमा अवतरण गरेको थियो । विमानस्थल व्यापारिक प्रयोग सन् १९७२ बाट शुरु भएको हो । रासस ।

दसैँमा मासु कति खाने : चिकित्सक भन्छन् ‘कुखुराको मासु बढीमा १५० ग्राम खान मिल्छ’

चितवन । चाडपर्वमा खानपानमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् । दसैँ पर्वमा बढी मात्रामा मासु, मदिरा र गुलियो पदार्थको सेवन गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै उनीहरुले ध्यान दिन सुझाव दिएका हुन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अङ्कोलोजिष्ट डा गुरुशरण साह दसैँ–तिहारजस्ता चाडपर्वमा खाइने खानाले विभिन्न क्यान्सरको जोखिम बढाउने बताउँछन् । मदिराजन्य पदार्थले कलेजो, घाँटी, पेट, स्तन तथा आन्द्राको क्यान्सरको जोखिम बताउने उनको भनाइ छ । डा साहले भने, ‘रातो मासुको अत्याधिक प्रयोगले ठूलो आन्द्राको क्यान्सरको जोखिम बढाउँछ ।’ पोलेको डढेको मासुमा पोलिसाइक्लिक एरोम्याटिक हाइड्रोकार्बन नामक तत्व उत्पन्न हुने भन्दै उनले यसले पेटको क्यासरको जोखिम बढाउने बताए । प्रशोधित मासु र अन्य खानेकुरा खानाले नाइट्राइट र नाइट्रेटजस्ता तत्व उत्पन्न गर्ने भन्दै उनले यसले क्यान्सरको जोखिम बढाउने बताए। उनले भने, ‘धेरै गुलियो खानेकुरा खाँदा ठूलो आन्द्राको क्यान्सरको जोखिम बढाउँछ ।’ चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारी एक दिनमा एक जनाले ५० देखि ७० ग्रामभन्दा बढी मासु खान नहुने बताउँछन् । उनले मासु दैनिक पनि प्रयोग गर्न नहुने भन्दै हप्तामा दुई पटकसम्म खान सकिने बर्ताए । मासुमा कोलेस्ट्रोलको मात्रा बढी हुने भएकाले मुटुका रक्तनलीहरु बन्द हुने सम्भावना हुने भन्दै डा साहले भने, ‘दैनिक एक सय ग्रामभन्दा बढी मासु खाने मानिसहरुलाई मुटुको हृदयघात हुने सम्भावना १५ प्रतिशतले बढ्छ ।’ नियमित मासु सेवन गर्ने मानिसलाई मधुमेह र उच्च रक्तचापको पनि जोखिम हुने उनको भनाइ छ । मासु बोसो र छाला फालेर थोरै मात्र प्रयोग गर्न उनले सुझाव दिए। उनले भने, ‘मासुमा धेरै तेल, मसला र नुनको प्रयोग गर्नु हुँदैन ।’ कोलेस्ट्रोल कम गर्न कुखुराको मासु राम्रो हुने भन्दै डा साहले कुखुराको मासुमा पनि छाला हटाएर खाँदा कोलेस्ट्रोलको मात्रा झन् घट्ने बताए । उनले खसी बोकाभन्दा माछा खान उत्तम हुने सुझाव दिए । वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी चाडपर्वमा सन्तुलित खाना खान सुझाव दिन्छन् । रातो मासुभन्दा सेतो मासुमा जोड दिन उनको आग्रह छ । उनले भने, ‘रातो मासु र सेतो मासुमा स्वास्थ्यको हिसाबले हे¥यो भने चिल्लोको मात्रा कम हुने, अनावश्यक कोलेस्ट्रोल नहुने, पटक पटक लिँदा पनि ज्यानलाई पाचन प्रक्रियामा समस्या नहुने हिसाबले सेतो मासु राम्रो । सेतो मासुमा पनि कुखुराको छातीमा चिल्लो पदार्थ न्यून हुने भएकाले प्रयोग गर्न राम्रो हुने उनी बताउँछन् । छाला नभएको मासुमा सबैभन्दा धेरै प्रोटिनको मात्रा हुने जानकारी दिँदै डा अधिकारी भने, ‘कुखुराको मासु सय ग्राम खाँदा करिब ४० ग्राम प्रोटिन पाइन्छ । हाम्रो शरीरलाई दिनमा ६० देखि ७० ग्राम प्रोटिन चाहिन्छ । एक सय ५० ग्राम खान मिल्यो ।’ त्यही कुरा रातो मासुमा पनि लागू हुने भन्दै डा अधिकारी भने, ‘एक सय ५० देखि दुई सय ग्राम रातो मासु आठ घण्टाको फरकमा खान मिल्छ ।’ मासु स्वादका लागि खाने भएको हुनाले नुन, चिल्लो, अमिलो, पिरो, मसला बढी प्रयोग गर्ने गरिन्छ । विश्वमा सात जनामध्ये एक जनालाई उच्च रक्तचाप, अर्को एक जनालाई मधुमेह र अर्को एक जनालाई कोलेस्ट्रोल देखिने गरेको उनले जानकारी दिए । फ्रिजमा राखेर मासु खान नहुने भन्दै उनले भने, ‘पोलेर, साँधेर, तारेर, भुटेर, सुकुटी बनाएर खानु स्वस्थकर होइन ।’ सामान्यतया नुन चिल्लो कम गरेर पकाएर नै खानु स्वास्थ्यका लागि राम्रो हुने उनी बताउँछन्। मासुसँगै धुम्रपान र मदिराको सेवन थप हानिकारक हुने डा अधिकारीको भनाइ छ । मासु खाएको समयमा फलफूल, सागपात खान उनले सुझाएका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यवस्था सामान्य

काठमाडौं । उपपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्था सामान्य बन्दै गएको छ । जनवादी चीनको भ्रमणका क्रममा रहँदा यही कात्तिक १ गते हृदयाघात भएपछि उहाँ बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पतालमा उपचाररत छन् । उपप्रधानमन्त्री श्रेष्ठ आज बिहानदेखि अस्पतालभित्रै सामान्य हिँडडुल गर्न थालेको उनका स्वीकय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए । हृदयाघात भएपछि उनको छातीमा ‘स्टेन्ट’ राखिएको छ । यसैबीच, उपप्रधानमन्त्री श्रेष्ठसँग चिनियाँ समकक्षी एवं चीनका सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङले अस्पतालमा भेट गरी शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। यसअघि सार्वजनिक सुरक्षामन्त्री वाङले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अन्तर्राष्ट्रिय विभागका निर्देशक पेङ सीउ सानले उपप्रधानमन्त्री श्रेष्ठसँग भेट गरी पूर्णस्वास्थ्य लाभको कामना गरेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीले आफ्नो प्रतिनिधि पठाएर उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यलाभको कामना गरेको स्वकीय सचिव श्रेष्ठले जानकारी दिए । चीन सरकारले उपप्रधानमन्त्री श्रेष्ठको उपचारमा उच्च प्राथमिकता दिएको छ । तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बिएफआर) मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठ अस्वस्थ बनेका थिए।

गभर्नर अधिकारीद्वारा बीएन पोडकाष्ट उद्घाटन, आर्थिक विषयमा रोमाञ्चक प्रस्तुति

काठमाडौं । विकास मिडियाको नयाँ प्रस्तुति बीएन पोडकाष्टको शुभारम्भ भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बीएन पोडकाष्टको लोगो अनावरण गर्दै पहिलो पोडकाष्ट रेकर्ड गराएका छन् । सवा दुई घण्टा लामो पोडकाष्टमा गभर्नर अधिकारीले समसामयिक विषयमा गम्भीर विचार राखेका छन् । माइतीघरबाट दिने दबाबका भरमा नीति निर्माण गर्न नहुने उनको भनाई छ । वाह्या दबाबमा निर्णय लिँदा नेपाल राष्ट्र बैंकले पनि मूल्य चुकाउनु परेको अनुभव उनले पोडकास्टमा सुनाएका छन् । गभर्नर अधिकारीले खोटाङमा बिताएको बाक्यकाल, शिक्षण र अडिट पेशा समाल्दै गभर्नर हुँदासम्मका धेरै अनुभवहरु सुनाएका छन् । गर्भनर अधिकारीले सेयर बजार, घरजग्गा र अटोबजार बारेमा खुलेर कुरा गरेका छन् । सेयरमा भएको आफ्नो लगानीबारे पनि गभर्नरले उल्लेख गरेका छन् । गभर्नर अधिकारीको विवाह, छोराछोरी, महत्वपूर्ण पदमा रहेका आफन्त, निजी सम्पत्तिबारे भएको रोचक कुराकानीको भिडियो बीएन पोडकाष्टमा हेर्न र सुन्न सकिन्छ । पोडकाष्टमा गभर्नर अधिकारीको स्वरमा ‘बल गरेरे त्यो मन यता मोड भन्दिन म, माया गर्छौ थाहा छ मलाई छोड भन्दिन म …’ गीत पनि सुन्न पाइने छ । यो गीत गायक स्वरुप राज आचार्यले गाएका हुन् । तनाबबाट मुक्त हुन गीत गुनगुनाउने, खेल खेल्ने, टिभीमा खेल हेर्ने गरेको उनले सुनाएका छन् । अधिकारी डेपुटी गभर्नर हुँदा एच एण्ड बी डेभलपमेन्ट बैंकमा ठगी गर्ने गिरोह गरेको आक्रमण प्रयासदेखि गभर्नर पदबाट निलम्बनमा पर्दाको अनुभव सहित विविध विषयमा विएन पोडकाष्टमा लामो कुराकानी भएको छ । नेपाल बस्न लायक देश हो कि होइन ? नेपालबाट युवा किन विदेश पलायन भैरहेका छन् ? अष्ट्रेलिया पढ्दै गरेका गभर्नरका छोरा के नेपाल फर्केन्छन् ? नेपाल किन विकसित भएन ? लगायत अत्यन्तै गम्भीर विषयहरुमा गभर्नर अधिकारी बीएन पोडकाष्टमा बोलेका छन् । गभर्नर अधिकारीले विकासन्युजले आर्थिक विषयमा सर्वसाधारणको रुची हुने गरी मनोरञ्जन मूलक प्रस्तुतीमा बीएन पोडकाष्ट शुरु गर्नु राम्रो काम भएकोले यसको निरन्तरता र सफलताको कामना गरेका छन् । बीएन पोडकाष्टको प्रस्तोता विकासन्युजका प्रधान सम्पादक रामकृष्ण पौडेल रहेका छन् ।बीएन पोडकाष्ट विकासन्युजको यूट्युव च्यानलमा छिट्टै पोस्ट गर्ने तयारी रहेको विकास मिडियाले जनाएको छ ।

दशैँ मनाउन गाउँ फर्किनेको लर्को

काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैँ मनाउन घर फर्किनेहरुको लर्को लागेको छ । शनिवार बिहानैबाट काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख नाकाहरुमा घर जानेहरुको लर्को देख्न सकिन्छ । काठमाडौंका कोटेश्वर, नयाँ बसपार्क, जडिबुटी, गोंगबु, बालाजु, कलंकी लगायतका क्षेत्रमा घर जानेहरु आफ्ना सरसामान बोकेर उभिरहेको देख्न सकिन्छ । दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेका छन् । हरेक वर्ष दशैँ, तिहार, छठ मनाउन काठमाडौं उपत्यकाबाट घर छोड्नेहरुको संख्या उल्लेख्य हुने गर्दछ ।

सरकारले सार्वजनिक खरिद व्यवस्थापन परीक्षण प्रणाली प्रयोगमा ल्याउँदै

काठमाडौं । सार्वजनिक खरिद सुधारका लागि सार्वजनिक खरिद व्यवस्थापन परीक्षण प्रणाली म्याप्स अर्थात् मेथोडोलजी फर पब्लिक प्रोक्युरमेन्ट एसेसमेन्ट प्रयोगमा ल्याईँदैछ । सार्वजनिक खरिद अनुगमन कार्यालयले अघि सारेको यो प्रणाली बजेटको सफल कार्यान्वयन र जनअपेक्षाको सम्बोधन गर्ने एउटा महत्त्वपूर्ण संयन्त्र हो । बजेटले मुलतः विकास निर्माणका सम्भावनालाई उजागर गर्दै सफल कार्यान्वयनमा नीतिगत, कार्यगत, प्रक्रियागत, व्यवस्थापकीय विषयको प्रभावकारिताका अतिरिक्त विनियोजित बजेटको खर्च गर्ने क्षमतामा अभिवृद्धि गरी अपेक्षित उपलब्धि हासिल गर्ने उद्देश्य राखेको हुन्छ । सार्वजनिक खरिद प्रणाली त्यसका लागि प्रभावकारी हुनुपर्ने र तदनुरुपको खरिद सुधार प्रणाली अवलम्बन गर्न लागिएको सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीले बताए। सार्वजनिक खरिद व्यवस्थापन परीक्षण प्रणालीले विद्यमान खरिद प्रणालीका सवल र कमजोर पक्षको पहिचान गर्ने तथा सार्वजनिक खरिदका भावी रणनीतिक योजना र धारणाका लागि दिशानिर्देश गर्ने मुख्य लक्ष्य हो । अनुगमनका लागि आधार निर्माण गर्ने र परीक्षण प्रणालीलाई उद्देश्यमूलक, विश्वसनीय र गुणस्तरयुक्त बनाई सुधारका लागि आवश्यक दिशावोध गर्ने कार्यमा आवश्यक पृष्ठपोषण दिने भएकाले खरिद प्रणाली सुधारका लागि यो परीक्षण प्रणाली प्रयोग गरिनुपर्ने देखिएको उहाँ बताउनुहुन्छ । उक्त परीक्षण प्रणालीका चार स्तम्भमा पहिलो खरिदका विद्यमान राष्ट्रिय कानुन र नीतिको परीक्षण, दोस्रो संस्थागत संरचना र व्यवस्थापकीय क्षमताको परीक्षण, तेस्रो राष्ट्रिय बजारमा प्रतिस्पर्धा प्रवर्द्धनका लागि चालिएका कार्यात्मक पक्षहरूको परीक्षण र चौथो सार्वजनिक खरिद प्रणालीको उत्तरदायित्व इमान्दारिता पारदर्शिताजस्ता आयामको परीक्षण हो । ती चार स्तम्भका कुल १४ वटा सूचक छन् । ती सबै स्तम्भ र सूचकमा आधारित रहेर गरिने परीक्षण र निकालेको निष्कर्षमा आधारित सुधारले सार्वजनिक खरिद प्रणाली प्रभावकारी बन्न जाने डा रेग्मीको भनाइ छ । हाल सार्वजनिक खरिद अनुगमन कार्यालयले सुरु गरेको प्रोक्युरमेन्ट क्लिनिकले पनि सुधारका धेरै क्षेत्रहरू पहिचान गर्न सहयोग गरेको र यसका आधारमा सार्वजनिक निकायको खरिद तत्परताको मापन गर्ने र खरिद योजना बनाए नबनाएको सघन अनुमन गर्नुपर्ने देखिएको उनले बताए । सार्वजनिक खरिद अर्थतन्त्रलाई चलायमान बनाउन र सार्वजनिक खर्चको प्रभावकारिता वृद्धि गरी आयोजना समयमै सम्पन्न गराउन सक्ने क्षेत्र भएकाले सुधारमा सबै पक्षको सकारात्मक सहयोग र सहभागिताको आवश्यकता औँल्याइएको छ ।

कुरिनटारमा १५ शय्याको अस्पताल सञ्चालन

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले इच्छाकामना आधारभूत अस्पताल सञ्चालन ल्याएको छ । इच्छाकामना–४ कुरिनटारमा १५ शय्याको अस्पतालले शुक्रबारबाट सेवा प्रारम्भ गरेको हो । अस्पतालको बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले आधारभूत अस्पताललाई ट्रमा सेन्टरको रूपमा विस्तार गर्न आवश्यक रहेको बताउनुभयो । अस्पताल राजधानी जोड्ने राजमार्गसँगै जोडिएकाले यसलाई ट्रमा सेन्टरका रूपमा विस्तार गर्न सकिने उहाँको भनाइ थियो । अस्पतालको सेवाबाट इच्छाकामनासँगै तनहुँ, गोरखा र धादिङका जनता लाभान्वित हुने जनाइएको छ । इच्छाकामनास्थित दारेचोक स्वास्थ्यचौकीलाई आधारभूत अस्पतालका रूपमा नामकरण गरी सेवा प्रारम्भ गरिएको हो । गाउँपालिकाको वडा नं ४ कुरिनटारमै अस्पतालको आफ्नै भवन निर्माणाधीन छ । तत्कालका लागि स्वास्थ्यचौकीलाई अस्पतालका रूपमा विस्तार गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए । सङ्घीय सरकारको १३ करोड बजेटमा अस्पतालको १५ शय्याको भवन निर्माण भइरहेको छ । आगामी २०८१ सालसम्म निर्माण सम्पन्न भएर आफ्नै भवनबाट सेवा दिइने उहाँले बताउनुभयो । भवन निर्माणपछि सेवा थप विस्तारको योजना रहेको उहाँको भनाइ छ । हाल अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले १३ लाख उपलब्ध गराएको अध्यक्ष गुरुङले बताए । अस्पतालमा दुई चिकित्सकसहित १५ स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । स्वास्थ्यचौकीको रूपमा रहँदा नै बाहिरी जिल्लाको समेत उपचार केन्द्र बनेको यस आधारभूत अस्पताललाई थप विस्तार गर्नुपर्ने आवश्यकता सो अवसरमा औँल्याइएको थियो ।