विकासन्युज

दशैंमा पनि आयल निगमका डिपोहरु खुला रहने, हेर्नुहोस तालिका

काठमाडौं । नेपालीहरुको महान पर्व दशैंमा पनि नेपाल आयल निगमका डिपोहरु सञ्चालनमा रहने भएका छन् । आयल निगमले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदाको समयमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सहज बनाउन सातै प्रदेशका प्रादेशिक कार्यालय, केही शाखा र डिपो खुला रहने जनाएको छ । निगमले विदाको समयमा पेट्रेलियम पदार्थको आपूर्ति तथा उपलब्धतामा समस्या देखिएमा केन्द्रीय कार्यालयमा खबर गर्न समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।

रियलमीको दशैं फोटो कन्टेस्ट सुरु

काठमाडौं । रियलमीको दशैं फोटो कन्टेस्ट सुरु  गरेको छ ।  रियलमीले नेपालीहरुको महान् चाड विजयादशमीको अवसर पारेर दशैं फोटो कन्टेस्टको सुरूवात गरेको हाे । यस फोटो कन्टेस्टमा सहभागी भइ विजयीहरुले आकर्षक पुरस्कारहरू जित्ने मौका प्राप्त गर्न सक्नेछन् । यस दशैं फोटो कन्टेस्टमा सहभागी हुनका लागि सर्वप्रथम सहभागीहरूले आफ्नो परिवारसँग दशैं मनाउँदै गरेको तस्विर खिचेर रियलमीको फेसबुक पोस्टको कमेन्ट बक्समा सेयर गर्नुपर्नेछ । सबैभन्दा धेरै कमेन्ट तथा लाइक प्राप्त गर्ने फोटोलाई भाग्यशाली विजेता घोषणा गरिनेछ । कार्तिक २ गतेबाट सुरू भएको यस दशैं कन्टेस्टमा कार्तिक १३ सम्म सहभागी हुन सकिने कम्पनीले जनाएको छ ।

एनआरएनएको विवाद : साइबर क्राइमसम्म पुग्यो निवेदन

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनमा देखिएको विवाद बढ्दै गएको छ । कात्तिक २ गते मतदानपछि आएको नतिजासँगै विवाद चुलिएको हो । अहिलेको नतिजाअनुसार बद्री केसी संघको अध्यक्षमा निर्वाचित भएका छन् । तर, यो परिणामलाई मान्यता दिन नसकिने भन्दै पराजित भएका अध्यक्षका उम्मेदवार आरके शर्मा र महेश श्रेष्ठले बताउँदै आएका छन् । महासचिवका उम्मेदवार रहेका बुद्धि सुवेदीले निर्वाचन अपेक्षा गरेअनुसारको नभएको र भेरो भोटिङ अनलाइन कम्पनी रसियन कम्पनी भएको र अस्टे«लियामा दर्ता रहेको तर यो कम्पनीले ह्याक गरेर नतिजा निकाल्ने भएकाले विश्वास नलागेको बताए । अमेरिकामा पनि यस्तो नतिजा आएकाले धेरै विवाद नगरेपनि अहिले प्रमाणित भएको बताए । उनले यस नतिजाले ८० लाख गैर आवासीय नेपाली भएको संस्थाले विश्वास गुमाएको बताए । उनले उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको मत नेपालबाट खसेको शुन्य मत रहेकाले पनि प्रमाण स्वतः सिद्ध हुने बताए । उनले साइबर क्राइममा समेत यस विषयमा निवेदन हालेको बताए । उनले परराष्ट्र मन्त्रालयले पछिल्लो आफ्नो जानकारीअनुसार निर्वाचन प्रक्रियालाई स्थगत गर्नु र मान्यता नदिनु भन्ने परिपत्र गरेको उल्लेख गरे । त्यस्तै निर्वाचित उपाध्यक्ष हेमराज शर्माले अनलाइन भोटिङबाट आएको परिणामलाई पनि स्वीकार गर्न सक्नुपर्ने बताए । उनले एक उपाध्यक्षका उम्मेदवारको नेपालबाट खसेको मत शुन्य हुनु समस्याको जड रहेको बताए । उनले शुन्य हुनु नहुनुपर्ने भएपनि मत नहराएको तर टेबुलमा मत गणना गर्न त्रुटी भएको हुनसक्ने बताए । उनले भेरो आएर यथार्थलाई भनिदिनुपर्ने बताए । उनले पुनः गणना गर्नुपरे पनि आफूहरु तयार रहेको बताए ।

चिडियाखानामा सटल बसको व्यवस्था गर्दै ललितपुर महानगर

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखानामा बालबालिका र वृद्धवृद्धालाई घुमाउन यो वर्ष सटल बस राख्ने बताएका छन् । शुक्रबार राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औँ वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहमा उनले यस्तो बताएका हुन् । जावलाखेलको चिडियाघरभन्दा बाहिर नजिकमा हुने कन्सर्ट आफूले बन्द गराएको उनले बताए । कन्सर्ट बन्द गरिँदा चिडियाखानाका वन्यजन्तु आरामसाथ निदाउन पाएको उनले उल्लेख गरे । उनले महानगरपालिकामा धेरै सुधार गर्न बाँकी रहेको भन्दै सहकार्य गर्न आफूहरू तयार रहेको बताए । ‘यसपटक चिडियाखानामा बालबालिका, वृद्धवृद्धालाई घुमाउनका लागि एउटा सटल बसको पनि व्यवस्थापन गर्न गइरहेका छौँ । म मेयर भइसकेपछि, जावलाखेलको चिडियाघरभन्दा बाहिर त्यहाँ ठूलो ठूलो कन्सर्टहरू हुन्थ्यो मध्यरातसम्म, बाघभालुलाई सुत्नै डिस्टर्ब हुने गरी । तसर्थ, मैले त्यो बन्द गरिदिएँ,’ उनले भने, ‘अहिले बाघभालु आनन्दसँगले सुतिरहेका छन् । यसमा सुधारका धेरै आयमहरू छन् । त्यसमा ललितपुर महानगरपालिका सहकार्य गर्न इच्छुक र तयार छ ।’ मेयर महर्जनले ललितपुर महानगरलाई आउँदो दुई वर्षभित्र नमुनास्तरको बनाइने पनि बताए ।

राष्ट्र संघका महासचिवको नेपाल भ्रमण तय, कार्तिक १४ मा संसदमा सम्बोधन गर्ने

काठमाडौं । इजरायलमा हमासको आक्रमणपछि स्थगित गरिएको संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण हुने भएको छ । गत कार्तिक २ गते बिहीवार बसेको मन्त्रीपरिषद् बैठकले संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले यही कार्तिक १२ गतेदेखि १५ गतेसम्म गर्ने नेपाल भ्रमणको औपचारिक कार्यक्रम स्वीकृत गरेको हो । नेपाल बसाईको क्रममा उनले नेपालको संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले कार्तिक २ गते संघीय संसद सचिवालयलाई पत्राचार गरी महासचिव गुटेरेसको कार्तिक १४ गते अपरान्ह ४ बजे सम्बोधन गर्ने जानकारी गराउँदै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकाले त्यसका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको पत्र प्राप्त भएको संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीेले जानकारी दिए । उनले महासचिव गुटेरेसको सम्बोधनका लागि सचिवालयले आन्तरिक तयारीको कामलाई शुरु गरिसकेको पनि बताए । महासचिव गुटेरेसले सम्बोधन गर्ने सो बैठकमा संवैधानिक निकायका प्रमुखहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरुलगायतका विशिष्ट सरकारी अधिकारीहरुलाई आमन्त्रण गरिनेछ । प्रवक्ता गिरीले प्रतिनिधि सभा बैठक कार्तिक १२ गते बोलाइएको सो सम्बोधनबारे सोही बैठकमा प्रतिनिधि सभाका सांसदहरुलाई जानकारी गराइने र राष्ट्रिय सभाका लागि सूचना जारी गर्न सकिने बताए । उनले भने, ‘संयुक्त राष्ट्र संघका महासचिव महामहिम एन्टोनियो गुटेरेसले मिति २०८० कार्तिक १२ देखि २०८० साल १५ गतेसम्म गर्नु हुने नेपालको औपचारिक भ्रमणको कार्यक्रम मन्त्रीपरिषद्बाट स्वीकृत भएको र उक्त भ्रमणको शिलशिलामा उहाँले मिति २०८० कार्तिक १४ गते मंगलवार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाले सोका लागि आवश्यक व्यवस्थाका लागि अनुरोध भई सचिवालयलाई पत्र प्राप्त भएको छ । अव संयुक्त राष्ट्र संघका महासचिव महामहिमको सम्बोधनका लागि संयुक्त बैठक बस्नुपर्ने भएकाले सो सम्बन्धि आन्तरिक तयारी गर्छ नै । महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र संघको ७८ औं महासभा बैठकमा भाग लिने क्रममा नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए । पोर्चुगलका पूर्वप्रधानमन्त्री गुटेरेसको संयुक्त राष्ट्र संघको महासचिवको रुपमा दोस्रो कार्यकाल हो ।

कर्णाली प्रदेशमा सिटिजन्स बैंकको १० शाखा मार्फत बैकिङ्ग सेवा

काठमाडौं । कर्णाली प्रदेशमा सिटिजन्स बैंकको १० शाखा मार्फत अत्याधुनिक बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको छ । बैँकले कर्णाली प्रदेशका विभिन्न जिल्लाका १० वटा शाखाहरु माफर्त करिब ७७,००० भन्दा बढि ग्राहकलाई आधुनिक बैँकिङ सेवा सुविधा प्रदान गर्दै आएको हो । बैँकले कर्णाली प्रदेशको बैँकिङ विस्तारलाई विशेष प्राथमिकता दिदै आएको छ । देशकै उचाईमा रहेको हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट सहित नाम्खा र सार्केगाड एवं भौगोलिक हिसाबले देशकै सबैभन्दा ठुलो जिल्ला डोल्पाको दुनै र जुफाल लगायत मुगुको गमगढी, जाजरकोटको खलङ्गा र सुर्खेतको विरेन्द्रनगर शाखा मार्फत बैँकिङ सुविधा प्रदान गर्दै आएको छ । यसका साथै बैँकले कर्णाली प्रदेशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै यस क्षेत्रका ग्राहकलाई सहज रुपमा कृषि , पशुपालन र जडिबुटी सम्बन्धी कर्जा उपलब्ध गराउदै आएको छ । जसले गर्दा यस प्रदेशको अर्थतन्त्र चलायमान भई समग्र विकासमा टेवा पुगेको विश्वास बैँकले लिएको छ । बैँकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल ज्युले कर्णाली प्रदेशको प्रदेश कार्यालय सुर्खेतमा आज आयोजित एक कार्यक्रमका विच महान चाड बडा दशैंको उपलक्ष्यमा समस्त कर्णालीवासी लगायत सम्पूर्ण कर्मचारी एवं बैंकसँग सम्बन्धित सरोकारजनलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गरे । साथै यस प्रदेश अन्तर्गतका १० वटै शाखा प्रबन्धकहरुसँग जुमको माध्यमबाट बैठक एवं छलफल गर्दै यस प्रदेशलाई विशेष प्राथमिकतामा राखेर सरल सहज र गुणस्तरीय बैकिङ्ग सेवा मार्फत यस क्षेत्रका सर्वसाधारणको मन जित्न सवैलाई निर्देशन दिए । बैँकले कर्णाली प्रदेशको प्रदेश कार्यालय सुर्खेतमा र जुम्ला शाखा कार्यालय आफ्नै भवनबाट संचालनमा ल्याई सकेको छ । साथसाथै बैँकले यस क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर स्वास्थ्य शिवीर सञ्चालन, सामुदायिक विधालय, वृद्धाश्रम र अनाथालयहरुलाई आर्थिक सहयोग पनि प्रदान गर्दै आएको जनाएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६लाख ६४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकार डा. रुपक सापकोटा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो । डा. सापकोटा हाल त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्राध्यापनरत छन् । यसअघि डा. सापकोटाले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् । डा. सापकोटा विश्व राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, भू–राजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलाका जानकार छन् । उनले सन् २०१८ मा चीनको राजधानी बेइजिङस्थित रेनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधी हासिल गरेका थिए । हालै, प्रधानमन्त्री प्रचण्डको चीनको औपचारिक भ्रमणको उच्चस्तरीय प्रतिनिधिमण्डलमा डा सापकोटालाई परराष्ट्रविदका रुपमा सामेल गराइएको थियो ।

दसैँमा टेलिकमको ग्रुप एसएमएसमार्फत सामूहिक सन्देश पठाउन सकिने

काठमाडौं । दसैँमा टेलिकमको ग्रुप एसएमएसमार्फत सामूहिक सन्देश पठाउन सकिने भएको छ । नेपाल टेलिकमले बडादसैँको अवसरमा सामूहिक रुपमा शुभकामना सन्देश पठाउन आफ्ना विभिन्न प्याकेज सर्वसाधारणका लागि फलदायी हुने जनाएको छ । पहिलादेखि नै सञ्चालनमा रहेको ‘ग्रुप एसएमएस’ सेवा अन्तर्गत आफ्नै मोबाइल नम्बर देखिने गरी १० हजारसम्म मोबाइल नम्बरमा सन्देश (एसएमएस) पठाउन सकिने टेलिकमले जनाएको छ । यस अनुसार २ हजार, ५ हजार र १० हजार वटासम्म मोबाइल नम्बरमा सन्देश पठाउन सकिने सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा उपलब्ध रहेको टेलिकमले जनाएको छ । प्रति सन्देश ५० पैसामा पठाउन सकिने प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा १००० रुपैयाँ लाग्ने जनाइएको छ । २ हजार ५०० रुपैयाँमा ५ दिनभित्रमा ५ हजार एसएमएस पठाउन सकिने छ भने ५ हजार रुपैयाँमा १० दिनभित्रमा १० हजार एसएमएस पठाउन सकिने व्यवस्था रहेको टेलिकमले जनाएको छ । नेपाल टेलिकमको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनै पनि कर समावेश नरहेको पनि टेलिकमले प्रस्ट पारेको छ । यो सेवाप्रयोग गर्न प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्ने र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्ने पनि जनाइएको छ । यो सेवाप्रयोग गर्नका लागि groupsms.ntc.net.np लगइन गरी प्याकेज खरिद गर्न सकिने टेलिकमले जनाएको छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्ट्याक्टमा भएका नम्बरहरु एक्सेल सिटमार्फत् अपलोड गरी सन्देश पठाउन सक्ने जनाइएको छ । एक्सेल सिटमार्फत एक पटकमा १ हजार नम्बरहरुलाई पठाउन सकिने हुँदा १ हजारभन्दा बढीको लागि फेरि यही प्रक्रिया दोहो¥याई आफूले चाहेबमोजिमका मोबाइल नम्बरमा सन्देश पठाउन सकिने टेलिकमले जनाएको छ ।