विकासन्युज

युएईले हङकङलाई हरायो

काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्टिय प्रतियोगिता अन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले हङकङलाई ६ विकेटले पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङले युएईलाई जीतका लागि दिएको एक सय ५० रनको चुनौती यूएईले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । युएईका लागि कप्तान मोहम्मद वासिमले १७ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४० रन बनाए भने खालिद शाहले ३७ रनको योगदान दिए । टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४९ रन बनायो । हङकङका लागि बाबर हायातले ४५ बल खेल्दै तीन चौका र पाँच छक्काको मद्दतमा ६६ रन बनाए । त्यस्तै एजाज खानले ४८ रन बनाए । यी दुवै खेलाडीले चौथो विकेटका लागि एक सय १४ रनकोसाझेदारी गरेका थिए । युएईका जहुर खानले तीन विकेट लिए भने निलांश केश्वानीले दुई विकेट झारे । सिरिजअन्तर्गत भोलि नेपाल र युएईबीच खेल हुनेछ ।

फेरिएको दसैँ : पहिले स्वदेश आउँथे तर अहिले विदेश

म्याग्दी । म्याग्दीको बेनी बजारमा व्यवसाय गर्दै आएका जलजला गाउँपालिका–७ का खेम केसी छोरा बुहारीसँग दसैँ र तिहार मनाउनका लागि शनिबार श्रीमतिसहित अष्ट्रेलिया गए । म्याग्दीको मालिका गाउँपालिका-६ दरवाङका गोपाल र मिना गौतम पनि छोरा, बुहारी र नातिनीसँग दसैँ मनाउन अमेरिका लागे । त्यसैगरी बेनीका केसी र दरवाङका गौतम दम्पत्ति आफन्त र घरपरिवारसँग दसैँ मनाउन विदेश जाने उदाहरण मात्रै हुन् । पहिले–पहिले विदेश र सहरबजारबाट दसैँ र तिहार जस्ता पर्व मनाउन जन्मथलो गाउँमा फर्कने चलन थियो । अहिले भने परिवारका सदस्यसँग चाडपर्व मनाउन विदेश जाने चलन सुरु भएको छ । श्रीमती र छोराछोरीसहित दसैँ मनाउन बेलायत पुगेका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोला आफन्तजन सबै विदेशमा भएपछि चाडपर्वमा भेटघाट र भ्रमणको मेसो मिलाएको बताए । ‘हाम्रो परिवारमा नेपालमा हुनेभन्दा विदेशमा हुनेको सङ्ख्या बढी छ’, उनले भने, ‘आफन्त पनि धेरै विदेशमै छन् । आफन्तसँग दसैँ पनि मनाइने र भेटघाट तथा घुमघाम पनि हुने भएकाले यसपाली बेलायतमा दसैँ मनाउने योजना बनायौ ।’ अध्ययन, रोजगारी, व्यापार, व्यवसायको सिलसिलामा अमेरिका, अष्ट्रेलिया, क्यानडा तथा बेलायतलगायतका मुलुकमा रहेका नेपालीले त्यहाँ पनि नेपालमा जस्तै गरी दसैँ मनाउने गरेको म्याग्दी प्रवासी नेपाली सङ्घ अमेरिकाका अध्यक्ष रघु सुवेदीको भनाइ छ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इसान) अमेरिकाका अध्यक्ष राहुल केसीले चाडपर्व मनाउन, विवाह, छेवर, व्रतवन्धका लागि विभिन्न देशमा नौमती बाजा समूह नै गठन गरिएको उनको भनाइ छ । ‘नेपालबाट मौलिक भेषभुषा र बाजा मगाएर कलाकार समूहले विदेशमा नेपाली संस्कृति फैलाएका छन्’, उनले भने, ‘नेपालीहरुको बाहुल्य भएका कम्पनीले नेपाली चाडपर्व मनाउन छुट्टी समेत दिने गरेका छन् ।’ म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख गोरखबहादुर जिसीले ‘डायसपोरा’मार्फत नेपाली संस्कार र संस्कृति संसारभर फैलिन थालेको बताए । ‘पहिले डायसपोरामार्फत पश्चिमा संस्कृति नेपाल आयो । अहिले नेपाली संस्कृति विदेशमा फैलिनु सकारात्मक हो,’ उनले भने, ‘यसले गर्दा नेपाली संस्कृति अन्तर्राष्ट्रियकरण भइरहेको छ ।’ रासस

देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लाम

  काठमाडौं । दुर्गा पक्षको आठौँ दिन अर्थात् नवरात्रको महाअष्टमी पर्वका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । दसैँको आठौँ दिन अर्थात महाअष्टमीका दिन देशभरका शक्तिपीठमा भक्तजनको लर्को लागेको हो । नवरात्रको सुरुवात् अर्थात घटस्थापनादेखि नै नवदुर्गाको पूजा, आराधना सुरु हुने भएपनि महाअष्टमी, महानवमी र विजयादशमीका दिन विशेष पूजा आराधना गर्ने सनातनदेखिको परम्परा रहेको छ । राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बगलामुखी, टोखा चण्डेश्वरीलगायत मन्दिरमा भक्तजनको भीड छ । यी मन्दिरमा झकिझकाउ बनाएर सिँगारिनुका साथ बेलुकी झिलिमिली बत्ती सजाइएको छ । शक्तिपीठ तथा देवी मन्दिरलाई ध्वजापताकाले सिँगारिएको छ । देवीका भजन, मङ्गल धुन तथा देवी स्तोत्र वाचनले भक्तजनलाई मन्त्रमुग्ध बनाउँछ । मैतीदेवी मन्दिर छिर्ने सडकमा आकर्षक द्वार निर्माण गरेर भक्तजनलाई मन्दिरमा स्वागत गर्न ढोका निर्माण गरिएको छ । बिहानैदेखि भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका छन् । नवरात्रका अवसरमा कम्तीमा पनि नौ वटा देवी मन्दिरमा दर्शन गर्नुपर्ने भन्दै केही भक्तजनले प्रत्येक दिन फरकफरक शक्तिपीठमा जाने गरी योजना बनाएको जनाएका छन् । कति भक्तजन राजधानीका शक्तिपीठमा दर्शन गरी बाहिरका देवी मन्दिरमा पनि दर्शनका लागि जाने तयारी गर्दैछन् । यसैगरी उपत्यका बाहिरका देवी मन्दिरमा पनि भक्तजनको भीड बढ्न थालेको छ । पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक, पाल्चोक, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बाग्लुङ कालिका, शैलेश्वरी, उग्रतारा, बडिमालिकालगायत देशभरका देवी मन्दिरमा पनि भक्तजनको भीड लागेको जनाइएको छ । शारदीय नवरात्र समेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यस अवसरमा महाकमाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रुपमा पूजा आराधना गरिन्छ । नौ दिनसम्म विशेष साधना गरे मनले चिताएको पुग्ने, शक्ति प्राप्त हुने लगायत धार्मिक विश्वास छ । नवौँ दिनसम्म विधिपूर्वक पूजा आराधना गरिएको दुर्गादेवीको प्रसाद विजयादशमीका दिन मान्यजनका हातबाट लगाइन्छ । दसैँको महत्वपूर्ण दिन विजयादशमीको अवसरमा घटस्थापनामा राखिएको घडाबाट विधिपूर्वक अभिषेक गरी दुर्गाको प्रसादका रुपमा जमरा र रातो टीका लगाइन्छ । केही जातिले भने यस अवसरमा सेतो अक्षताको टीका पनि लगाउँछन् । दसैँका अवसरमा धेरै मानिस आ–आफ्नो थातथलो फर्केका छन् । कतिले अझै जाने तयारी गरेका छन् । काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले सार्वजनिक यातायात सहज नभएको गुनासो गरेका छन् । सार्वजनिक यातायातमा गुन्द्रुक कोचेझैँ यात्रु राख्दा दुःख पाएको काठमाडौँ उपत्यकाबाट बाहिरिनेको गुनासो छ । सार्वजनिक यातायात व्यवस्थित नहुँदा दसैँ, तिहारजस्ता चाडपर्वमा यात्रुले धेरै सास्ती खेप्नुपर्ने बाध्यता छ । तीन तहको सरकारको संरचना भएपनि सार्वजनिक यातायात व्यवस्थापन गर्न कसैको पनि ध्यान जान नसकेको यात्रुले गर्ने गरेका छन् । रासस

दसैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम दसैंमा पनि निरन्तर सञ्चालन हुने भएको छ । दसैंका कारण आयोजनाको काम प्रभावित नहुने जनाइएको छ । अन्य समयको तुलनामा दसैंमा कामदार केही कम भएपनि काम निरन्तर सञ्चालन भइरहेको तनहुँ जलविद्युत आयोजनाका प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए । ‘दसैं बिदाले आयोजनाको काम प्रभावित हुँदैन, अरु बेला भन्दा अहिले कामदार केही कम छन्, कतिपयलाई दसैं बिदा दिइएको छ’, उनले भने, ‘निर्धारित मितिमै काम सम्पन्न गराउनका लागि पनि कामलाई निरन्तरता दिनुपर्ने अवस्था छ ।’ हालसम्म आयोजनाको समग्र प्रगति ४३ प्रतिशत पुगेको छ । निर्माण सुरु भएको चार वर्षको अवधिमा आयोजनाले तीन वटा प्याकेजमा ४३ प्रतिशत प्रगति हासिल गरेको बताइएको छ । आयोजनाका अनुसार प्याकेज एक अन्तर्गत बाँध निर्माणमा २५ प्रतिशत, प्याकेज दुई अन्तर्गत विद्युतगृह निर्माणमा ४५ प्रतिशत र प्याकेज तीन अन्तर्गत प्रसारण लाइन निर्माणमा ६९ प्रतिशत भौतिक प्रगति भएको छ । प्याकेज दुई अन्तर्गत भूमिगत विद्युतगृहको भौतिक निर्माणको काम ६६ प्रतिशत सकिएको छ । इलेक्ट्रोनिकल मेकानिकल अन्तर्गत १० प्रतिशत प्रगति हासिल भएको छ । आयोजनाको पहिलो प्याकेज अन्तर्गत १४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रा।लि। नेपाल जे।भी।ले निर्माण गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक डाइभर्सन सुरुङहरु, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने, प्रवेश सडकको स्तरोन्नतिलगायतका काम भइरहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए । आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजको निर्माण सिनो हाइड्रो, चीनले गरिरहेको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण केइसी, भारतले गरिरहेको छ । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको प्याकेज एक अन्तर्गत हेडवक्र्स निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाथ कालिका कन्स्ट्रक्सन प्रालि, नेपाल जेभीसँग विसं २०७७ चैत ९ गते २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा खरिद सम्झौता भएको थियो । यो प्याकेज अन्तर्गत मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक पर्ने डाइभर्सन सुरुङ एक र दुईको निर्माण जारी रहेको आयोजनाले जनाएको छ । दुवै डाइभर्सन सुरुङको इनलेट र आउटलेटबाट खन्ने काम भइरहेको आयोजनाले जनाएको छ । बाँधको माथिल्लो भागको स्लोप खन्ने काम अन्तर्गत हालसम्म इलिभेसन तह ५४४ मिटरबाट ४८० मिटरसम्म खन्ने काम सम्पन्न भइसकेको छ । यसैगरी बाँधको दायाँ किनारातर्फबाट माथिल्लो भागको स्लोप खन्नका लागि पहुँच सडक निर्माण सुरु गरिएकामा वर्षाका कारण प्रभावित भएको थियो । हालसम्म इलिभेसन तह ४७० मिटरसम्म खनिएको आयोजनाले जनाएको छ । आयोजनाको प्याकेज दुईको निर्माणका लागि सिनो हाइड्रो कर्पोरेशनसँग विसं २०७५ असोज १५ गते युएस डलर एक अर्ब १४ करोड एक लाख ८८ हजार नौ सय ५८ र नेपाली रुपैयाँ तीन अर्ब ८३ करोड १३ लाख ६० हजार तीन सय ६१ मा खरिद सम्झौता भएको थियो । खरिद सम्झौता बमोजिम निर्माण सुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनोले विसं २०७५ माघ ६ गतेबाट आयोजनास्थलमा परिचालित भई निर्माण जारी राखेको छ । यो प्याकेज अन्तर्गत ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युतगृह खन्ने काम विसं २०७९ असार १० गते सम्पन्न भएको आयोजनाले जनाएको छ । यसका अतिरिक्त मुख्य पहुँच सुरुङ, केबल सुरुङ र सेती नदीको दायाँतर्फबाट बाँधस्थलतिर जाने तथा सर्ज ट्याङ्कतर्फको पहुँच सुरुङ निर्माण सम्पन्न भएको आयोजना प्रमुख शिल्पकारको भनाइ छ । आयोजनाको १४५६.९ मिटर लामो मुख्य सुरुङ विसं २०७८ कात्तिकबाट खन्न सुरु गरिएकामा मङ्सिर मसान्तसम्म ६८० मिटर खनिएको छ । आयोजनाको २१०.९ मिटर टेलरेस सुरुङ विसं २०७७ फागुन २९ गतेदेखि खन्न सुरु गरिएकामा उक्त काम सम्पन्न भइसकेको छ । हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कार्य अन्तर्गत पेनस्टक जडानका लागि खन्ने काम ६४ मिटर रहेकामा सम्पूर्ण पेनस्टक खनिएको छ । प्याकेज तीन अन्तर्गत प्रसारण लाइन निर्माणका लागि ६९ वटा टावरको जग हालिसकिएको आयोजनाले जनाएको छ । ३३ वटा टावर जडान सम्पन्न भएको र आठ स्थानमा टावर संरक्षण गरिएको छ । ३४.७ किमी प्रसारण लाइनमा ९४ वटा टावर राखिनेछ । प्रसारण लाइन निर्माण २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकामा कोभिड १९ को महामारी र वन क्षेत्रको रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाई हुँदा सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । रासस

खपत कम हुँदा दूध किसानले पाएनन् भुक्तानी

काठमाडौं । खपत कम हुँदा दूध किसानले समयमै भुक्तानी पाउन नसकेको उल्लेख गर्दै नेपाल डेरी एसोसिएसनले चाडपर्वमा दूधको खपत बढाउन आग्रह गरेको छ । बजारमा दूध तथा दुग्ध पदार्थको माग कम हुँदा दूध बिक्री गर्ने कम्पनीहरुले किसानलाई समयमै भुक्तानी नसकेको एसोसिएसनको भनाइ छ । एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले अर्बौं रकम बराबरको धुलो दूध र बटर ‘स्टक’ हुँदा किसानको समयमै भुक्तानी नपाएको बताए। दूधको खपत कम हुँदा ‘मिल्क होलिडे’ रोक्न डेरी उद्योगले किसानको दुध निरन्तर खरिद गरी पाउडर दुध बनाएर राख्नुपर्ने बाध्यता बनेको र पाउडर बनाउँदा बटर पनि निस्कने हुँदा हाल डेरीमा ‘स्टक’ भएको उनको भनाइ छ । आर्थिक मन्दी, लम्पी स्किन रोग, सहरबाट मानिस विस्थापनलगायतका कारणले दूधको माग कम भएको र नेपालको उत्पादन भारतको भन्दा केही महङ्गो भएर भारतको सीमाबाट नेपाल दुध तथा दुग्ध पदार्थ आयातका कारणले पनि नेपाली किसान मर्कामा पर्दै आएको उनले बताए । ‘दसैँको मुखमा भुक्तानी नपाउँदा गाई भैँसीलाई नियमित दाना पानीसमेत खुवाउन किसानलाई कठिन भएको छ । सामान स्टक भएर चालु पुँजी नभएका कारण डेरी उद्योगमा यस्तो आर्थिक समस्या भएको छ’, अध्यक्ष दाहालले भने । उनले दसैँमा दूध र दुग्धजन्य पदार्थको खपत बढाउन आग्रह गरे । ‘किसान र उद्योग बचाउनु सबैको कर्तव्य हो । त्यसैले चाडपर्वमा दूध तथा दुग्ध पदार्थ बढीभन्दा बढी खपत गर्ने र कतै जाँदा कोसेलीको रूपमा पनि दूध तथा दुग्ध पदार्थ नै लगी किसान र उद्योग बचाउने अभियानमा साथ दिन आमजनसमुदायलाई आग्रह गर्दछौँ’, अध्यक्ष दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । अतिथिलाई मायाको चिनो दिँदा पनि दुध तथा दुग्ध पदार्थ नै प्रयोग गरिदिन र सहकारीका सदस्यलाई यातायात खर्च बापत दिइने रकमको सट्टामा पनि घिउ, पनिर, गुद्पाक, पुस्टकारी, छुर्पी, खुवाआदि वितरण गरी आम किसान र उद्योगलाई सहयोग पु¥याउन पनि एसोसिएसनले आग्रह गरेको छ ।

धार्मिक विद्यालयमा नमुना बन्दै ‘मदरसा आधारभूत नुरुल हुदा’

रामपुर, पाल्पा । वीरगञ्ज पर्सागढी नगरपालिका–५ बहरवाका तफाजुल मियाँ अहिले मदरसा नुरुल हुँदा आधारभूत विद्यालय रामपुरमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुनुहुन्छ । उहाँले घरदेखि निकै टाढा रहेको पाल्पाको रामपुरलाई शैक्षिक थलो बनाएका छन् । उर्दू विषयका साथै नेपाल सरकारले निर्धारण गरेका सबै विषय नेपाली, अङ्गे्रजी माध्यममा एउटै विद्यालयमा पढाइ हुने भएकाले अध्ययनका लागि रामपुर आएको उनी बताउँछन् । आफ्नो मामामार्फत आठ वर्षको उमेरमा नै रामपुर आउनुभएका मियाँले मुस्लिम विद्यार्थीको लागि मदरसा नुरुल हुदा विद्यालय नेपालकै नमुनाका रुपमा पढाइ हुने विद्यालय भएको महसुस गरेका छन् । ‘मुस्लिम समुदायका विद्यार्थीले यहाँको विद्यालयमा पढाइ हुने सबैजसो विषय नेपालमा अन्यत्र कुनै पनि विद्यालयमा पढाइ भएको पाइँदैन । यहाँ उर्दू भाषालाई संरक्षण गर्दै नेपाल सरकारका सबै विषय नेपाली, अङ्ग्रेजी माध्यममा पठनपाठन भइरहेको हुँदा अधिकांश विद्यार्थीले यहीँ विद्यालय रोज्ने गरेका छन्’, उनले भने । धार्मिक विषय मात्र नभई नेपाली र अङ्ग्रेजी माध्यममा पनि पठनपाठन हुने भएपछि कक्षा ८ सम्मको पढाईका लागि संस्थागत विद्यालयमा धेरै रकम खर्चेर पढ्नुपर्ने अवस्था नरहेकाले यो विद्यालय मुस्लिम विद्यार्थीको लागि उत्कृष्ट विद्यालयको रुपमा रहेको उनी बताउँछन् । रुपन्देहीको सांस्कृतिक नगरपालिका–५ ढुडाहकी मन्तस खातुन अहिले नेपाली भाषा मज्जाले बोल्छिन् । एक वर्षअघि यस विद्यालयमा कक्षा ५ मा अध्ययन गर्न आएकी उनी नेपाली भाषामा अति कमजोर विद्यार्थी थिइन् । गाउँकै एक मुस्लिम विद्यार्थीले पढ्ने विद्यालयमा उर्दू भाषा पढेकी खातुन नेपाली भाषा सिकाईका अलवा, अङ्ग्रेजी, गणित विषय एकै ठाउँमा अध्ययन गर्न पाइने भएपछि यस विद्यालय रोजेकी हुन् । कक्षा ६ मा अध्ययनरत खातुन एक वर्षमा आफुले यस विद्यालयबाट धेरै प्रगती गरेकोमा खुशी छिन् । ‘गाउँमा सञ्चालन भएको विद्यालयमा उर्दूबाहेक अन्य केही विषय पढाइ हँुदैनथ्यो, विद्यालय गएर पढे नपढेको कसैलाई मतलव नै थिएन’, उनले भनिन्, ‘अङ्ग्रेजी, नेपाली विषय नाममात्रैको पढाइ हुन्थ्यो, विद्यार्थीले के कति बुझे बुझेनन् भन्ने नै थिएन, मन लाग्दा विद्यालय जाने आदत बसेको थियो, अहिले यहाँ आएर पढ्न पाउँदा एक वर्षमा नै धेरै ज्ञान सीपमा परिवर्तन आएको देख्दा म आफै दङ्ग छु ।’ खातुनले पढेर भविष्यमा नर्स बन्ने सपना बुनेकी छन् । बाहिरबाट आएका विद्यार्थी र स्थानीय विद्यार्थीमा कुनै भेदभाव नरहेको, विद्यार्थीले पढाएको कुुरा के कति बुझे बुझेनन् यस विषयमा विद्यालयले निरन्तर औपचारिक या अनौपचारिक रुपमा मूल्याङ्कन गर्दै पृष्ठपोषण दिने गरिरहेको खातुले बताइन् । यस कार्यले पनि विद्यार्थीले शिक्षण सिकाइ कार्यमा सक्रिय रुपले निरन्तर मेहनत गरिरहेको पाइन्छ । कैलालीको लम्कीचुहा नगरपालिका–६ बस्ने आलमिन मियाँले कक्षा २ देखि नै मदरसा नुरुल हुदा आधारभूत विद्यालयमा अध्ययन गरिरहेका छन् । कक्षा ७ मा पढ्ने उनी भारतको लखनउमा तीन वर्षसम्म अध्ययन गर्दा सिकाइमा कुनै प्रगति हासिल नभएपछि रामपुर आएको बताउँछन् । उनी भन्छन्, ‘भारतमा राम्रो पढाई हुने आशाले पढ्न गएको थिए, तीन वर्षसम्म अध्ययन गर्दा उर्दुमात्र विषय पढियो, खाने बस्ने सुविधा राम्रो थिएन, नेपालका विद्यार्थी भनेर नराम्रो व्यवहार गरेपछि आफ्नै देश फर्केर पाल्पा रामपुरमा ज्ञानार्जनको थलो रोजेको हुँ ।’ कैलालीबाट रामपुर आउनजान गाडीमा एकतर्फी करिब १८ घण्टाको यात्रा गर्नु परेता पनि यहाँको पढाइले गाउँबाट टाढा रहे पनि आफू सन्तुष्ट रहेको मियाँले अनुभव व्यक्त गरे । टाढाबाट आउने विद्यार्थीलाई स्थानीयको तुलनामा शैक्षिक शुल्कमा सहुलियत, छात्रावासको व्यवस्था, पारिवारिक वातावरणमा पठनपाठन गर्न पाउने सुविधाले परिवारबाट टाढिएर बसेको अनुभूति नभएको उनको भनाइ छ । भाषा सुधार, उर्दूका अलवा अन्य विद्यालयमा जस्तै नेपाली र अङ्ग्रेजी माध्यममा पठनपाठन हुने, तराईका विद्यालयमा उर्दू मात्र पढाई हुने भएकाले धेरैजसो तराई मुलुकबाट मुस्लिम विद्यार्थी रामपुरमा आउने गरेको प्रधानाध्यापक मोहम्मद सलिम बताउँछन् । बाहिरबाट पढ्न आउने विद्यार्थीमा भाषामा अति नै समस्या रहेको, बाहिरका विद्यालयमा (मुस्लिम विद्यालय) कक्षा ८ उत्तीर्ण भएको विद्यार्थी यहाँ ५ कक्षामा भर्ना गरेर पढाउनु परेको प्रधानाध्यापक सलिमले जानकारी दिए । यहाँ भाषामा सुधार, धार्मिक विषय पढ्न पाउने भएपछि बाहिरका विद्यार्थीको आकर्षण बढेको छ । धेरै विद्यार्थी पढ्नका लागि सम्पर्कमा आउने गरेपनि विद्यालयमा सीमित भौतिक संरचना, छात्रावास, जनशक्ति रहेकाले सम्पर्कमा आएका सबै विद्यार्थी भर्ना गर्न नसकिएको विद्यालयका लेखापाल महम्मद अलि बताउँछन् । धार्मिक विद्यालयमा लुम्बिनी प्रदेशकै नमुना मदरसाको रुपमा पनि लिइन्छ । यस विद्यालयमा मुस्लिम समुदायका बालबालिकाले मात्रै अध्ययन गर्ने गर्दछन् । हाल विद्यालयमा छात्रा ८१, छात्र १३२ गरी जम्मा २१३ विद्यार्थी अध्ययनरत छन् । बाहिरबाट आएका सबै विद्यार्थी (८२ जना) लाई छात्रावासमा राखिएको छ । नेपाल सरकारका अनिवार्य सबै विषयसहित उर्दू, अरेबिक, दिनियाँत (नैतिक शिक्षा), कुरान, कम्प्युटर विषय पठनपाठन हुने गरेको छ । अन्य विद्यालयमा शनिबार विदा हुने गरेकामा यहाँ शुक्रबार हप्तामा एक दिन विदा दिने गरिएको छ । साढे दुई वर्षदेखिका बालबालिका विद्यालयमा भर्ना भई पढिरहेका छन् । रामपुरमा मदरसा स्थापना नहुँदा यस क्षेत्रका मुस्लिम समुदायका विद्यार्थी विराटनगर, भारतको आजमगढ, विहारमा गएर पढ्नुपर्ने अवस्था थियो । मदरसा खुलेपछि रामपुरका मात्र नभई छिमेकी जिल्ला तनहुँ, स्याङ्गजा, नवलपुर क्षेत्रका मुस्लिम समुदायका विद्यार्थीलाई पठनपाठनमा धेरै सजिलो भएको छ । कक्षा ८ उत्तीर्णपश्चात् भने मुस्लिम समुदायका विद्यार्थीलाई धार्मिक विषय अध्ययनका लागि सुनसरी तथा भारतका विभिन्न विद्यालयमा पुगेर पठनपाठन गर्नुपर्ने बाध्यता कायमै छ । रामपुरमा नै उच्च शिक्षा सम्मको पठनपाठनका लागि विद्यालयले पहल गरिरहेको छ भने तत्काल कक्षा ९ र १० सञ्चालन गर्ने र क्रमशः कक्षा ११ र १२ सुरु गर्ने योजना छ । पठनपाठन गर्न देशका विभिन्न जिल्लाका विद्यार्थी आउने गरेका छन् । नेपालगञ्ज, रुपन्देही, वीरगञ्ज, सुनसरी, भैरहवा, कैलाली, नवलपुर, तनहुँलगायतका विभिन्न जिल्लाका विद्यार्थी विद्यालयको छात्रावासमा बसेर अध्ययन गरिरहेका छन् । रामपुरको इस्लामपुर क्षेत्रका स्थानीय युवाले रोजगारको सिलसिलामा विदेशमा साङ्गठनिक रुपमा एकताबद्ध भएर हरेक महिना आफूले श्रमबापत पाएको मासिक तलबमध्ये केही रकम सङ्कलन गरेर विद्यालय सञ्चालनका लागि सहयोगार्थ पठाउने गरेका छन् । विद्यालयको छात्रावासमा राखिएको सहयोग बाकसमा पनि केही रकम सङ्कलन भइरहेको छ । विभिन्न सङ्घसंस्था, व्यक्तिबाट विद्यालयमा शैक्षिक पोशाक, स्टेशनरी सहयोग प्राप्त हुने गरेको छ । धार्मिक विद्यालयको रुपमा सञ्चालित भएकाले नेपाल सरकार शिक्षा मन्त्रालयबाट हरेकवर्ष रु पाँच लाख रकम अनुदानस्वरुप सहयोग प्राप्त हुने गरेको छ भने अन्य आवश्यक आर्थिक व्यवस्थापन विद्यालय आफैँले गरिरहेको छ । मुस्लिम समुदायका बालबालिकालाई शिक्षा दिन चन्दा उठाउने, विद्यार्थीबाट मुठ्ठीदान सङ्कलन ९जकात फण्ट० कार्य भइरहेको छ । हरेक हप्ताको विहीबार विद्यार्थीले घरमा उत्पादन भएका विभिन्न अनाजहरु विद्यालयमा लैजाने गर्दछन् । यो कार्य विद्यालयमा नियमित रुपमा चलिरहन्छ । घरमा उत्पादन भएका विभिन्न अनाजहरु विद्यालय आउँदा विहीबारको दिन विद्यार्थीले प्रत्येक घरबाट अनिवार्य साथमै लिएर आउने गर्छन् । विद्यालयले मुठ्ठीदान ल्याउन अनिवार्य गरेको छैन । तर घरबाटै दैनिक विद्यालय अध्ययन गर्न आउने विद्यार्थी स्वयम् आफैँले आफूले सकेको अनाज मुठ्ठीदानको रुपमा ल्याउने गरेका छन् । यसरी मुठ्ठीदानबाट सङ्कलित अनाजले यहाँको छात्रावासमा बसोबास गर्ने विद्यार्थीक करिव चारदेखि छ महिनासम्म खाद्यान्न व्यवस्थापन हुने गरेको विद्यालयले जनाएको छ । विद्यालयमा सङ्कलन भइरहेको मुट्ठीदान कार्यक्रमले विद्यार्थीमा लिनुभन्दा पनि आफूसँग भएको केही अनाज दिनुपर्छ भन्ने नैतिक भावनाको विकास भएको छ । यहाँ बसोबास गर्ने मुस्लिम समुदायले घरमा उत्पादन भएका धान, गहुँ, मकैलगायतका अन्नबाली भित्र्याउने बेला उत्पादन भएको अन्नबापत एक मुरीको एक पाथी विद्यालयको नाममा छुट्टयाउने गर्दछन् । घरमा उत्पादन भएका तरकारी, फलफूललगायतका वस्तु छात्रावासमा बसोबास गर्ने विद्यार्थीका लागि स्थानीयले सहयोग गर्ने कार्य निरन्तर नै चलिरहेको छ । रामपुर नगरपालिका क्षेत्रमा १५० घरपरिवारका करिब आठ सय जनसङ्ख्याको बसोबास रहेको छ । वैदेशिक रोजगार, विभिन्न पेशा, व्यावसाय नै मुख्य आयस्रोत रहेको छ । यस विद्यालय २०५५ सालमा जिल्ला शिक्षा कार्यालयबाट स्वीकृति लिएर कक्षा १ देखि ५ सम्म सञ्चालन गरिएको हो भने २०६० मा भने छिमेकी विद्यालय सीताराम माध्यमिक विद्यालयसँग समन्वय गरेर कक्षा ७ सम्म चलाइयो । विसं २०६८ मा कक्षा ६ देखि ८ सम्मको विद्यालयले अनुमति लिएर आफ्नै भवनबाट कक्षा सुरु भयो । विद्यालयको नाममा पाँच रोपनी जग्गा छ । हाल साढे दुई रोपनी जग्गामा विद्यालय सञ्चालन भइरहेको छ । यस विद्यालय रामपुर नगरपालिकाभित्र उत्कृष्ट विद्यालयमा पर्दछ । हरेक वर्ष शैक्षिक गुणस्तर वृद्धि हासिल गर्दै समयानुकूल धार्मिक विषयका अलवा अन्य विषयमा विभिन्न प्रविधिमैत्री शिक्षा दिन सफल विद्यालय बनेको छ । रासस ।

चाडपर्व, अपराध र सावधानी

यतिबेला बडा दशैंको रमझममा छौँ । दशैं हिन्दू धर्मावलम्बीको महान पर्व पनि हो । दशैं लगत्तै तिहार र छठ पर्व पनि आउँदैछन् । दशैं र तिहारजस्ता चाड विशेष रुपमा र लामो अवधिसम्म पनि मनाइने गरिन्छ । यस्ता चाडपर्वका बेला धेरै जसो विदामा रहने गर्दछन् । विदेश गएका र रोजगार, व्यापार, अध्ययन आदिको क्रममा बाहिरिएकाहरू पनि यतिबेला आफ्नो गाउँघर फर्किएका छन् । अधिकांश व्यक्तिहरु आफ्नो मूल परिवार, पुख्र्यौली थातथलोमै गएर चाडपर्व मनाउने गर्दछन् । वर्ष दिनमा आउने महत्वपूर्ण चाडपर्वमा धेरैजसो शहरमा बस्नेहरु गाउँ जाने गर्दछन् । चाड पर्वका बेला धेरै मान्छे आफन्त भेटघाट, रमाइलोमा मस्त र व्यस्त पनि हुन्छन् । मान्छेको मनस्थिति पनि पर्वमय अर्थात उल्लासमय हुन्छ । सानादेखि ठूला, गरिबदेखि धनीसम्म सबै खुसी र आनन्दमा जुटछन् । आफ्नो व्यवसायिक, पेशागत काम र जिम्मेवारी बोेझबाट धेरैले खुकुलो भएको महसुस गरिरहेका पनि हुन्छन् । यही चाडपर्वको सहज समयलाई अपराधीहरु भने उपयुक्त समयका रुपमा भरपुर प्रयोग गर्न उद्यत हुन्छन् । कोही नभएकोमा यही मौकामा अपराधीले चोरी, लुटपाट जस्ता अपराध गर्ने गर्दछन् । चाडपर्वमा हुन सक्ने सम्भावित अपराध, प्रहरीको भूमिका र नागरिक कर्तव्यबारे यहाँ केलाउने प्रयास गरिएको छ । चाडपर्वमा बढ्दो अपराध चाडपर्वका बेला अनेकन खालका अपराधहरु हुन्छन् । विशेषतः दसैँ, तिहारजस्ता चाडपर्वको मौका छोपी अपराधीहरुले विभिन्न अपराधका गतिविधिहरु बढाउने गर्दछन् । यस अवधिमा चोरी, लुटपाट, चन्दा असुली, तस्करी, कालोबजारी र सवारी दुर्घटनालगायतका घटना र अपराध बढी हुने गर्दछन् । प्रहरीका अनुसार, अघिपछिको समयभन्दा चाडपर्वको समयमा आपराधिक घटनाहरु अत्यधिक भएको पाइन्छ । अन्य समयभन्दा बढी चाडपर्वका बेला किनमेल बढी हुने भएकाले आर्थिक कारोबार पनि सोही अनुसार भइरहेको हुन्छ । बैंक, वित्तीय संस्था, सुनचाँदी पसलमा बढी भिडभाड बढने भएकाले ती क्षेत्रमा चोरी, लुटपाट हुने सम्भावना अधिक हुन्छ । पूजापाठ बढी हुने भएकाले मठमन्दिर, धार्मिक स्थलमा पनि दर्शनार्थीको भिडसँगै चोरीका घट्ना पनि बढने सम्भावना रहन्छ । ओहोरदोहोर बढी हुने भएकाले यातायात सेवा सहज नहुन सक्छ । सवारी साधान भरीभराउ हुने भएकाले यात्रु ठगिन सक्ने, लुटिन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ । राजमार्गमा लुटपाटका घटना पनि बढ्न सक्छन् । क्षमता भन्दा बढी यात्रु राख्ने सम्भावना भएकाले सवारी दुर्घटना पनि बढने हुन्छ । आजभोली सामाजिक सञ्जालको पनि अनावश्यक प्रयोग भइरहेको हुन्छ । आफू कुन दिन कहाँ जाँदै छु भन्ने कुरा सामाजिक सञ्जालमा असावधानीवश व्यक्त गर्दा चोर्ने मौका कुरेर बसेका व्यक्तिलाई थाहा हुन्छ र उनीहरू मौका छोपेर सोही समयमा घरमा चोरी गर्न सक्छन् । सामाजिक सञ्जाललाई पनि सही रूपमा सदुपयोग गर्न जानियो भने भने पनि केही हदसम्म हाम्रो धनजनको सुरक्षा हुन सक्छ । प्रहरीको थप जिम्मेवारी शान्ति, सुरक्षाको सुनिश्चितता गर्नु राज्यको दायित्व हो । आमजनताको जिउधनको सुरक्षा गर्नु र शान्ति सुरक्षाको वातावरण बनाउनु प्रहरीको प्रमुख काम हो । चाडपर्वका बेला सुरक्षा संवेदनशीलता बढ्ने हुँदा प्रहरी प्रशासन अरु बेलाभन्दा थप चनाखो र अग्रसर हुनुपर्छ । सम्भावित अपराधलाई मध्यनजर गरेर प्रहरी, प्रशासन बेलैमा सचेत र जिम्मेवार बन्न जरुरी छ । प्रहरी प्रशासनले चाडपर्व लक्षित छुट्टै र विशेष रणनीति योजना पनि बनाउने गर्दछ । हालै भएको दङ्गा (घटना)ले नेपालगञ्ज तङ्ग्रिदैछ । बाँकेमा प्रशासन र प्रहरी प्रमुख नयाँ आउनु भएको छ । उहाँहरुको पछिल्लो सक्रियताले बिगतको जस्तो घटना पुनरावृति नहोस् भन्नेतर्फ सचेतता अपनाएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले चाडपर्व केन्द्रित सुरक्षा रणनिति सार्वजनिक गरेको छ । सम्भावित हिंसाको त्रासमा रहेको नगरको संवेदनशीलतालाई मध्यनजर गर्दै ड्रोन कयामरामार्फत सुरक्षा सतर्कता अपनाइएको हो । प्रहरीको भौतिक उपस्तिथिती हुन नसक्ने स्थानको समेत सुरक्षा अवस्था निगरानी गर्न प्रहरीले ड्रोन क्यामरा परिचालन गरेको हो। नेपाल प्रहरीका एक हजार १३ र सशस्त्र तर्फ ४ सय पन्ध्र प्रहरी परिचालन गरिएको बाँके प्रहरीले जनाएको छ । यस्तै सोअवधीमा हुन सक्ने सम्भावित चोरी, डकैती, अपराध लगायतका घटना तथा दुर्घटनाबाट सर्वसाधारणलाई सुरक्षा प्रदान गर्नका लागि पनि विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको जनाएको छ । कतिपय अवस्थामा प्रहरीले आफू र आफनो योजनालाई बढ्ता चर्चामा ल्याउने काम पनि गर्दछ अर्थात प्रभावकारिताभन्दा पहिले नै सस्तो लोकप्रियता खोजिरहेको हुन्छ । अपराध नियन्त्रण योजना प्रचार गर्नु अपराधीहरुलाई दबावमा राख्ने हेतुले ठीक पनि हुन सक्ला । तर नाङ्लो ठटाएर हात्ती तर्साउने रणनीति प्रहरीले अपनाउन खोज्दा अपराधीहरु थप सचेत भएर अर्कै रणनीति पनि अवलम्बन गर्न सक्छन् । बढ्ता हल्ला गर्ने तर कार्यान्वयन नगर्ने हो भने जनताको विश्वास पनि गुम्ने हुन्छ । विगतको समीक्षा समीक्षासहित प्रहरीले नयाँ रणनीति लागू गर्नु पर्छ । आपराधिक घटना हुनै नदिन प्रहरी सचेत र तयार रहनु पर्दछ । अपराध हुन सक्ने सम्भावित स्थानको पहिचान गरी गस्ती, सुराकी बढाउने, सम्भावित संलग्नहरुको अनुमान गरि विशेष निगरानी गर्ने पनि गर्नु पर्दछ । आपराधिक गतिविधि हुन नदिन पुर्व तयारी के कस्तो गर्ने, रोकथामका विधि के कस्तो, कसरी अपनाउने आदि प्रहरीले बेलैमा अवलम्बन गर्नु पर्दछ । चाडपर्वको मौसममा यात्रुहरुको आहोर दोहोर बढी हुने भएकाले यात्रुहरु लुटिन सक्ने, ठगिन सक्ने र दुर्घटनामा पर्न सक्ने सम्भावना प्रवल हुन्छ । भिडभाडमा पकेटमारहरु सक्रिय हुन्छन् । लुटपाट बढोत्तरी हुन्छ । यस्तै यातायातका साधानमा पनि क्षमता भन्दाबढी यात्रु राख्ने गरिन्छ । यसका कारण लुटपाटसँगै सवारी दुर्घटना बढ्ने सम्भावना हुन्छ । यसतर्फ प्रहरी, ट्राफिक प्रहरीले विशेष कडाई र निगरानी बढाइनु पर्छ । वैंक, वित्तीय संस्था, सुनचाँदी पसलमा भिडभाड बढ्ने भएकाले ती क्षेत्रलाई प्राथमिकताका साथ सुरक्षा दिनुपर्ने हुन्छ । मठमन्दिरलगायतका धार्मिक स्थलमा पनि सुरक्षा सतर्कता अपनाइनुपर्ने हुन्छ । हतियार देखाएर लुटपाट गर्ने, पेय तथा नशालु पदार्थ खुवाएर बेहोेस बनाएर लुटने भएकाले यसबाट जोगिन र आपराधिक गतिविधिको पहिचानका लागि चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्नुपर्ने हुन्छ । पछिल्लो समयमा शान्ति सुरक्षाका लागि आम नागरिकसँग प्रहरीले विभिन्न माध्यमबाट हातेमालो गरिरहेको छ । तथापि त्यसको प्रभावकारिता के कस्तो रह्यो ? त्यो भने त्यति सार्वजनिक गरिएको पाइँदैन । यस्तै चाडपर्वको अवधीमा पूजापाठ, मूर्ति स्थापना, मन्दिर रङ्गरोगन आदिका नाममा जवरजस्ती पैसा उठाउने, चन्दा असुल्ने प्रवृति पनि बढ्दो छ । यसलाई नियन्त्रण र निरुत्साहित गरिनुपर्छ । साथै प्रहरीले राजमार्ग सुरक्षा गस्ती बढाउने, मादकपदार्थ सेवन परीक्षण अभियान तीव्र पार्ने, ट्राफिक नियमको पालन गर्न लगाउने लगायतका विशेष अभियान पनि सञ्चालन गर्नु पर्छ । आम जनतालाई के कसरी सुरक्षित राख्न सकिन्छ ? के कस्ता अपराधका प्रवृति देखा परेका छन् रु त्यसका बारे पनि प्रहरीले आम जनतालाई जानकारी गराउने र सचेत पार्नु पर्दछ । नागरिकको कर्तव्य कुनै स्वतन्त्र राज्य भित्रको भौगोलिक क्षेत्रभित्र बसोबास गर्ने र सम्बन्धित मुलुकको सार्वभौमिक अधिकार प्राप्त व्यक्ति नै त्यो राज्यको नागरिक हुन्छ । नागरिक पनि बिना बर्दीको प्रहरी हो । यो भनाई पक्कै पनि त्यसै भनिएको हैन । नागरिक स्वयं सचेत र जागरुक भइदिने हो भने अपराधका आधा घटना त्यसै कम हुने प्रहरीको अनुभव छ । कुनै आपराधिक गतिविधिको सूचना सर्वप्रथम प्रत्यक्षदर्शीका रुपमा होस् या स्थानीयका रुपमा उसले नै पाउने हो, तसर्थ त्यस्ता अवाञ्छित र शङ्कास्पद गतिविधिको बेलैमा प्रहरीलाई खवर गर्न सके धेरै घटनाबाट जोगिन र जोगाउन सकिन्छ । तर हाम्रो समाजमा आफूलाई नपर्दासम्म कोही अघि सर्दैनन् । अपराधका घटनालाई पनि सामान्य ठानीदिन्छन् र आँखा चिम्लीदिने गर्छन् । यसले गर्दा अपराधमा संलग्नहरुको मनोवल बढ्ने र घटना पुनरावृति हुने सम्भावना हुन्छ । कतिपय अवस्थामा हाम्रै, आफ्नै कारणले पनि अपराधलाई बढवा मिलिरहेको हुन्छ । आफनो जीउधनको सुरक्षामा लाफरवाही गरिरहेका हुन्छौं, त्यसको फाइदा ती अपराधीले लिइरहेका हुन्छन् । घर बाहिर, कहीं टाढा जानु छ भने बहुमूल्य वस्तु सुरक्षित राखिनु पर्छ । झ्याल ढोका बन्द गरिनु पर्छ । छिमेकीलाई रेखदेखका लागि सुचित पनि गर्नु पर्छ । आपराधिक क्रियाकलापको शङ्का लागेमा तुरुन्त प्रहरीलाई खबर गर्ने प्रवृति बसाल्नु पर्छ । आफनो चोरी भएको हैन, भनेर चुप लाग्ने गर्नाले चोरलाई थप हौसला मिल्ने हुन्छ । घटना पुनरावृति हुन्छ । चाडपर्वको समयमा सर्वसाधारण स्वयं जिउधनको सरक्षार्थ सचेत हुन जरुरी छ । यात्रामा निस्किदा महङ्गा गरगहना नलगाउने, ठूलो धनराशि नबोक्ने, आर्थिक कारोवार बैंकमार्फत गर्ने बानी बसाल्नु पर्दछ । चाडपर्वको समय त्यसै पनि संवेदनशील अवस्था हो । यस्तो बेला धार्मिक, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न पनि नागरिकको अहम् भूमिका हुनुपर्दछ । संविधानले नै नागरिकको कर्तव्य बारे प्रष्ट्याएको पनि छ । आफनो राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु, संविधान र कानूनको पालना गर्नु, राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु र सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु नागरिकको प्रमुख कर्तव्य पनि हो । तसर्थ आउनुस्–आजैबाट आफनो कर्तव्यपालना गरौं । (लेखक नेपालगञ्जका सक्रिय पत्रकार हुन् ।)

भूकम्पका कारण धादिङमा २० घर भत्किए

धादिङ । आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए । पटक-पटक चार रिक्टरस्केलभन्दामाथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेको स्थानीय स्थानीय राजेश अधिकारीले बताए। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरुको विस्तृत विवरण सङ्कलन जारी रहेको बताए । धादिङको साविक खरी गाविस केन्द्रविन्दू भई आज बिहान छ दशमलव १ रिक्टरस्केलको भूकम्प गएको थियो ।