विकासन्युज

राष्ट्रपतिले विशिष्टदेखि सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयले विशिष्ट र सर्वसाधारणका लागि छुट्टैछट्टै समयको व्यवस्थापन गरेर टीका प्रसाद ग्रहणको व्यवस्था मिलाएको छ । राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्न इच्छुक सम्माननीय, माननीय, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी तथा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरसम्मका राष्ट्र सेवकका लागि अपराह्न २ देखि ३ बजेसम्म समय तोकिएको छ । अन्य सर्वसाधारणका लागि अपराह्न ३ देखि ५ बजेसम्म राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्न सक्ने राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्ने महानुभावले मर्यादित पोसाकमा १ नं प्रवेशद्वारबाट राष्ट्रपति कार्यालय प्रवेश गर्नुपर्ने जनाइएको छ ।

ग्लोबल आइएमईको डिजिटल दक्षिणा योजना, ग्लोबल स्मार्ट प्लस मार्फत् दक्षिणा दिँदा १० प्रतिशत क्यासब्याक

काठमाडौं । ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरुलाई ग्लोबल स्मार्ट प्लस मार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया दशमी २०८० को टिकाको दिन आफ्ना प्रियजनलाई दक्षिणाको रुपमा पैसा पठाउँदा १० प्रतिशत (एक सय रुपैयाँसम्म) बैंकको आफ्ना ग्राहकहरुलाई दक्षिणा स्वरुप तुरुन्तै क्यासब्याक पाउनेछन् । ग्राहकहरुले पैसा पठाउँदा प्रोमोकोड “दक्षिणा” लेखी पैसा ट्रान्सफर गर्नुपर्नेछ । ग्लोबल आइएमइ बैंकको ग्लोबल स्मार्ट एप प्रयोगकर्ता ग्राहकहरूले २०८० कार्तिक ७ गते विजया दशमीको दिन बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म बैंकको दक्षिणा पाउने बैंकले जनाएको छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी समय सापेक्ष रुपमा बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५२ शाखा कार्यालय, ३७१ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गरिरहेको छ ।

पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कन्छ : परराष्ट्र मन्त्री साउद

गण्डकी । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कने बताएका छन् । पोखराको तोरीपानीबाट फेवाताल किनारमा सोमबार प्याराग्लाइडिङ गरेपछि उनले साहसिक पर्यटनलगायतका धेरै सम्भावना बोकेको पोखराको पर्यटन व्यवसायले आगामी दिनमा गति लिने विश्वास व्यक्त गरे । प्याराग्लाइडिङ पोखराको महत्त्वपूर्ण पर्यटकीय गतिविधि भएको उल्लेख गर्दै मन्त्री साउदले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडानलाई असर नपर्ने गरी पूर्ववत् सराङकोटबाटै उडान गर्न सम्बन्धित निकायमा आफ्नोतर्फबाट पहल गर्ने उनले बताए सुरक्षा व्यवस्थालाई दृष्टिगत गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्क गरी मन्त्री साउद सवार प्याराग्लाइडरलाई फेवाताल किनारामा अवतरण गराइएको हवाई खेलकुद संस्थाका महासचिव खेम आचार्यले जानकारी दिए। मन्त्री साउद सवार प्याराग्लाइडरको उडान पाइलट महेन्द्रबहादुर भट्टराईले गराएका थिए ।

कागजपत्र चुहावट प्रकरणमा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान दोषी ठहर

एजेन्सी । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि सोमाबार गोप्य कागजातहरू चुहावट गरेको आरोपमा अभियोग लगाइएको छ । एक अभियोजकका अनुसार उक्त आरोपमा १४ वर्षसम्मको जेल सजायको प्रावधान छ । गत वर्ष सत्ताबाट हटाइएपछि उनी कानूनी झमेलमा फसेका छन् । उनले आफूलाई सन् २०२४ जनवरीमा निर्वाचनमा प्रतिस्पर्धा गर्नबाट रोक्नका लागि आरोप लगाइएको बताएका छन् । लोकप्रिय राजनीतिज्ञ खानलाई भ्रष्टाचारको आरोपमा अगस्टमा तीन वर्षका लागि जेल सजाय गरिएको थियो तर जब उनको सजाय उल्टियो त्यसपछि उनलाई राज्यका कागाजातहरू साझा गरेको धेरै गम्भीर आरोपमा हिरासतमा राखियो । ‘उनलाई आज दोषी ठहर गरिएको छ र आरोपलाई खुलारूपमा पढिएको छ’ पाकिस्तानको सङ्घीय अनुसन्धान एजेन्सी (एफआईए) का शाह खावरले पूर्वप्रधानमन्त्री खानलाई राखिएको अदियाला जेलबाहिर भने । एफआईएको एक रिपोर्टअनुसार यो मामिला आफूलाई शक्तिशाली सैन्य प्रतिष्ठानद्वारा समर्थित अमेरिकी षड्यन्त्रको हिस्साका रूपमा सत्ताबाट बाहिर गरिएको भन्ने पूर्वप्रधानमन्त्री खानले पेस गरेको प्रमाणसँग मात्र सम्बन्धित रहेको छ । अमेरिका र पाकिस्तानी सेनाले खानको उक्त दावीको खण्डन गरेका छन् । खानको पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका उपाध्यक्ष एवं पूर्वविदेशमन्त्री शाह महमुद कुरेशीलाई पनि उक्त मामिलामा दोषी ठहर गरिएको छ । पीटीआईका एक प्रवक्ताले ‘अदालत परिसरभित्र जनता तथा मिडियाको पहुँचबिना आयोजित’ मुद्दामा दुवै व्यक्तिमाथि औपनिवेशिक युगको आधिकारिक गोपनीयता कानूनअन्तर्गत आरोप लगाइएको बताए । खानका वकिल उमर खान नियाजीले पत्रकारहरूसँग भने, ‘हामी यसलाई चुनौती दिनेछौँ ।’ खानका वकिलहरूका अनुसार जुन अपराधमा उनीमाथि आरोप लगाइएको छ त्यसमा १४ वर्षको जेल सजाय हुनसक्छ र सबैभन्दा गम्भीर परिस्थितिमा मृत्युदण्डको सजायको प्रावधान छ ।

आज महानवमी, देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

  काठमाडौं । बडादसैँ अर्थात् नवरात्रको नवौँ दिन आज महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी आज दसैँघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), देवीभागवत एवं देवीस्तोत्र पाठ गरी मनाइँदै छ । आज महानवमीका दिन काठमाडौँ उपत्यकाका गुहृयेश्वरी, मैतीदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, इन्द्रायणीमा विशेष पूजा तथा दर्शन गर्न ठूलो सङ्ख्याका नागरिक पुगेका थिए । यसैगरी उपत्यका बाहिर नवलपुरको मौलाकालिका, धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना, दाङको अम्बिकेश्वरी, डडेल्धुराको उग्रतारा, बैतडीको त्रिपुरासुन्दरी, डोटीको शैलेश्वरी लगायतका शक्तिपीठमा पूजापाठ गर्ने तथा पशुबलि दिने भक्तजनहरुको बिहानैदेखि घुइँचो लागेको थियो । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेकाले आज दिनभर जसो शक्तिपीठमा भक्तजनको भीड लागेको थियो । वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गर्दछन् । यसरी विभिन्न देवस्थल तथा घरघरमा नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइन्छ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ ।  दुर्गा भगवतीका यिनै नौ रुपलाई नवदुर्गा भन्ने गरिएको हो । यसैबीच काठमाडौँ उपत्यकाका नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, सङ्कटा, नरदेवीलगायत शक्तिपीठमा रङ्गीचङ्गी बत्तीहरुले सजाइएको छ । यी शक्तिपीठमा नागरिकहरु बिहानदेखि रातिसम्म नै पूजाआजाका लागि पुग्ने गरेका छन् । रासस

सहारा बनेको छोरो बाकसमा फर्किँदा…

  महेन्द्रनगर। मुलुकभर दसैँको रौनक बढिरहेका आज  बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका-१५ निम्बुखेडामा सन्नाटा छायो । टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दीपेश विष्टको शव निम्बुखेडा पुगेपछि उनको परिवारसँगै सिङ्गो टोल शोकमा डुब्यो । छोराको मृत्युको खबरपछि अर्धचेत अवस्थामा दार्चुलाको लेकम गाउँपालिका-५ बाट महेन्द्रनगर झरेकी आमा पार्वती छोराको शव देखेपछि बेहोस भइन् । परिवार र आफन्त र टोलबासीका आँखा रसाए । ‘दीपेश पढाइमा सानैदेखि अब्बल थियो । सानैमा बुबा गुमाउँदा पीडा बिर्सेर अगाडि बढेको थियो, आमाका लागि बुढेसकालको साहरा थियो’, छिमेकी सुरेश पालले भने, ‘परिवारको अवस्था सुधार गर्छु भनेर ढाडस दिइरहने उ आज बाकसमा फर्किदाको स्थिती निकै दुःखदायी बनेको छ ।’ आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको दीपेशको शव आज बिहान ल्याइएको थियो । दार्चुलाको लेकम गाउँपालिका–५ घर भएका विष्ट परिवारको बसाइ अहिले भीमदत्त नगरपालिका– १५ मा समेत छ । दीपेश यही बसेर पढेका थिए । कक्षा १ देखि १० सम्म महेन्द्रनगरस्थित ग्लोबल एकेडेमीमा छात्रवृत्तिमा पढेका दिपेश निकै अब्बल विद्यार्थी भएको विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज ओझाले बताए । ‘दीपेश र उनका भाइ वसन्तराज दुवै छात्रवृत्तिमै कक्षा १० सम्म पढेका हुन्’, दीपेशको मलामी महाकाली पुगेका प्रिन्सिपल ओझाले भावुक हुँदै भने, ‘अकल्पनीय घटनाले सबैलाई शोकमा डुबायो ।’ यहाँस्थित रेडियन्ट माध्यमिक विद्यालयबाट विज्ञान विषयमा प्लस टु पास गरेका दीपेशको सपना भाईलाई जसरी भए पनि डाक्टर बनाउने थियो । दीपेश चार वर्षको हुँदा बुबाको मृत्यु भएको थियो । शिक्षक पेशामा रहेका बुवा अशोक विष्टको क्यानसरबाट मृत्युभएपछि दुई छोराको पालनपोषण आमा पार्वतीले गर्दै आइन्। आमा पावर्ती दार्चुलाको लटिनाथ माध्यमिक विद्यालयकी शिक्षिका हुन् । दीपेशका भाई वसन्तराज दाजुको सल्लाहअनुसार नै हाल बिपी प्रतिष्ठान धरानमा एमबिबिएसमा अध्ययनरत छन् । विष्टको आज महाकाली नदी किनारमा अन्त्येष्टी गरिएको छ । इजरायल घटनामा मारिएका चार सुदूरपश्चिमका विद्यार्थीको शव आइतबार धनगढी पुर्‍याइएको थियो । रासस

दसैँ, सडक सुरक्षा र चालकको दायित्व

आजभोलि दिनहुँजसो सडक दुर्घटनाका समाचारहरु आइरहेका छन् । सडक दुर्घटनामा ज्यान गएको, घाइते तथा अङ्गभङ्ग भएका खबरहरु आइरहेका छन् । दसैंको समय यात्रुहरुको चाप उच्च भएसँगै सवारीसाधनको सङ्ख्या र आवागमन पनि वृद्धि हुनु स्वभाविक हो । सिमित सडक पूर्वाधार, बढ्दो यात्रुको चाप र सवारीसाधनको अविश्राम आवतजावतले सडक दुर्घटना निम्तिने गरेको तथ्यले देखाएकोछ । सार्वजनिक यातायात क्षेत्रका लागि दसैं एउटा अवसर हो । अरु समय यात्रुको चाप हुँदैन, नियमित सवारीसाधन गुडाउन पाइदैन । दसैंका समय निरन्तर यात्रु ओसारपसार भइरहने हुँदा सवारीसाधनको नियमित चेकजाँच गर्न भ्याइरहेको हुँदैन । अविश्राम काम गरिरहँदा चालक थाकेका हुन्छन् । थकान, तनाव, हतारो, यान्त्रिक गडबडी, सीमित सडक पूर्वाधार र सवारीसाधनको अधिक चापले सडक दुर्घटना हुने गरेको छ । सडक दुर्घटना न्यूनीकरण देशको चासोको विषय हो, सबैको सरोकारको विषय हो । तर, सूर्योदयदेखि राति अबेलासम्म सडकमा जीवन खोजिरहने चालकका लागि अरुको भन्दा बढी जरुरतको विषय हो सडक सुरक्षा । तसर्थ चालकहरुले निम्न विषयहरुलाई पालना गर्नसक्यो भने सडक दुर्घटनामा क्रमशः न्यूनीकरण हुनेछ । आफू सुरक्षित हुनुस् : शारीरीक, मानसिक रुपमा म ठीक छु, म स्वस्थ छु, यो सवारीसाधनलाई म गन्तव्यसम्म सुरक्षित पुर्याउन सक्छु भन्ने महसुस गर्नुस् । तीव्र गति, जीवनको क्षति भन्ने कुरा सम्झी रहनुस् : तीव्र गतिकै कारण सडक दुर्घटना बढिरहेको तथ्यले देखाएको छ । केही समय ढिला भएपनि धैर्य गर्नुस्, तीव्र गतिमा सवारी नचलाउनुस् । ढिला गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न भन्ने उखानलाई सम्झिनुस्, दुर्घटनामा ज्यान गएका अङ्गभङ्ग भएका, दुर्घटनाकै कारण जेल परेका मजदूरका दर्दनाक व्यथा सम्झनुस् । सवारीसाधन चलाइरहँदा मोबाइलमा कुरा गर्र्दै नगर्नुस् : पलभरको सानो गल्तीले सडक दुर्घटना हुने गरेको छ, जनधनको क्षति हुने गरेको छ । सवारीसाधन चलाइरहेको समय मोबाइलमा कुरा गर्दै नगरौं । महत्वपूर्ण फोन आएको अवस्थामा सवारीसाधन रोकेर कुरा गर्ने वा गन्तव्यमा पुगेर कलब्याक गरेर कुरा गर्ने बानी बसालौं । क्षमता भन्दा बढी यात्रु नचढाउनुस् : सवारीसाधनमा क्षमताभन्दा बढी यात्रुलाई कोचाकोच नचढाउनुस् । छोटो दूरीमा बाहेक लामो दूरीमा उभ्याएर यात्रा नगराउनुस् । अधिक भिडभाड गराएर यात्रा नगराउनुस् । दवाब र तनाबमा काम नगर्नुस् : काम नगरी हुँदैन भन्ने दवाबमा काम नगर्नुस् र तनाब छ भने पनि काम नगर्नुस् । दवाब र तनाबमा सवारीसाधन चलाउँदा पनि सडक दुर्घटनाहरु हुने गरेको अध्ययन देखाएको छ । चालक आफू मात्रै खुशी होइन, आफूले चलाएको सवारीसाधनमा यात्रा गर्ने अन्य यात्रुलाई पनि हँसाएर रोमाञ्चित बनाएर सवारी चलाउनु पर्दछ । बढी भाडा नलिनुस् : यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिँदै नलिनुस् । यात्रुहरुबाट बढी भाडा असुल गरेको पाइएमा कानुनले दण्डित गर्ने व्यवस्था गरेको छ । त्यस्तो अपराध नगर्नुस् । समयलाई महत्व दिनुस् : सवारीसाधन छुट्ने समयलाई ध्यान दिनुस् । एउटै रफ्तारमा सवारीसाधन चलाउनुस् । कतै तीव्र कुदाउने, कतै लामो समय रोकेर राख्ने नगर्नुस् । दुर्घटनाग्रस्त क्षेत्रहरुमा संयम भएर हिड्नुस् । ट्राफिक नियम र सडक अनुशासनको पालना गर्नुस् : हाम्रो राजमार्ग मृत्यु मार्ग जस्तै भएका छन्, सडक दुर्घटनामा ज्यान जानेको संख्या कहाली लाग्दोछ । अधैर्य र जवरजस्त सडक प्रयोगकर्ता चालक (निजी तथा सार्वजनिक सवारीसाधनका चालक) का कारण सडक दुर्घटना वृद्धि भइरहेको छ । कमसेकम आफुलाई जिम्मेवार चालकका रुपमा परिचय बनाउनुस् । ट्राफिक सङ्केतको पालना गर्नुस्, ट्राफिक नियमको अनुशरण गर्नुस् । ट्राफिक नियम र सडक अनुशासनमा इमान्दार बन्नुस् । खानपानलाई व्यवस्थित गर्नुस् : मादकपदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) बाट टाढा रहनुस् । हाम्रो कानुनले ड्रिङ्क्स् एण्ड ड्राइभलाई गैरकानुनी मान्दै दण्ड सजायको व्यवस्था गरेको छ । यसको खासकारण सडक दुर्घटना नै हो । तसर्थ, यो अक्षम्य अपराध नगर्नुस्, सक्नुहुन्छ मापसे मुक्त हुनुस्, सक्नु हुन्न काम गरिरहेको समय यसबाट टाढा रहनुस् । काम र जीवनलाई सन्तुलित गर्नुस् : आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन श्रमिकहरुको जीवनसँग जोडिएका सन्दर्भ हुन् । आरामबिनाको निरन्तर कामले स्वास्थ्यमा असर पार्छ । यसका कारण दुर्घटना निम्तिन्छ । तपाइँ र तपाइँको हातमा रहेका यात्रुहरुको जीवनमा असर पार्छ । तसर्थ काम र जीवनलाई सन्तुलन मिलाउनुस् । कामपछि परिवारसँग समय बिताउनुस्, सभ्य बोल्नुस् । महिला, बालबालिका र बृद्धबृद्धालाई सम्मान गर्नुस् : तपाइँले चलाइरहेको सवारीसाधनमा महिला, बृद्धबृद्धा, बालबालिका, अशक्त र फरक क्षमताका यात्रुहरु हुन सक्छन् । उनीहरुको क्षमता र समस्याहरु तपाइँ हामीभन्दा फरक हुनसक्छ । सकेसम्म उनीहरुलाई सहयोग गर्नुस् सकिएन भने पनि कमसेकम सम्मान गर्नुस् । उनीहरु हाम्रो छोरी, छोरा, आमा, बुबा, श्रीमती वा परिवार जस्तै हुन सक्छन् भन्ने सम्झिनुस् । गुणस्तरहीन खानेकुरा बिक्री गर्ने होटलमा यात्रु नलानुस् : यात्राका क्रममा बाटोमा यात्रुलाई चिया, खाजा र खाना खुवाउने लाइन होटलहरु जसले स्वस्थ र गुणस्तरीय खानपान गराउँछन्, त्यस्ता होटलमा मात्रै सवारीसाधन रोक्नुस् । जनस्वास्थ्यमा खेलवाड गर्ने र जनतालाई ठगी गर्ने लाइन होटलहरुमा सवारीसाधन रोक्दै नरोक्नुस् । यात्रुमैत्री हुनुस् : सार्वजनिक यातायातको यात्रा पीडादायी हुन्छ भन्ने अनुभूत गर्नुस् । सबैको स्वास्थ्य एकनासको हुँदैन कतिपय यात्रुहरु मधुमेह, रक्तचापका रोगीहरु हुन्छन्, बृद्धबृद्धाहरु, महिला, बालबालिका र अशक्तहरु हुन्छन् । उनीहरुलाई समय समयमा शौचालय आवश्यक पर्नसक्छ भन्ने विषय हेक्का राख्नुस् । लाइसेन्स र कागजपत्र साथमा राख्नुस् : तपाइँको साथमा सवारीसाधनको ब्लु बुक, जाँचपास, रुटपरमिट, चालक अनुमति पत्र (लाइसेन्स) बिमाको कागजलगायत साथमा राख्नुस् । बाटोमा चेकजाँच गर्ने अधिकारीले कागजातहरु माग गरेमा देखाउनुस् । कुनै किसिमको समस्या भए वादविवाद नगर्नुस् । कागजपत्र जफत गरिए सम्बन्धित प्रालि वा सङ्घ, सङ्गठनलाई जानकारी गराउनुस् । सवारीसाधनको अवस्था चेक गर्नुस् : सुरक्षित यात्राका लागि सवारीसाधन ठीक हुनु पर्छ । हामीले चलाउने सवारीसाधन ग्यारेजबाट निकाल्नु अघि र ग्यारेजमा राख्ने समयमा सवारीसाधनको अवस्थाको चेकजाँच गर्नुस् । मोबिल, पानी, इन्धन, ब्रेक, टायर, टाइरड, इन्जिन, अतिरिक्त टायरलगायत अत्यावश्यक र महत्वपूर्ण पार्टपुर्जाहरु राम्ररी चेकजाँच गर्नुस् । आफूले चलाउने सवारीसाधनको अवस्थालाई सधैँ ठीक अवस्थामा राख्नुस् । नेपालमा सडक दुर्घटनाको डरलाग्दो रुप : सडक दुर्घटनामा प्रत्येक वर्ष नेपालमा दुई हजार आठ सय ८० जनाको ज्यान गइरहेको छ । सडक दुर्घटनामा परेर प्रत्येक वर्ष १४ हजार ४ सयको हाराहारीमा घाइते भइरहेका छन् । दसैँ तथा चाडपर्वका समय सडक दुर्घटनामा वृद्धि हुने गरेको छ । सडक दुर्घटनाका मुख्य कारणहरु निम्न प्रकार छन् । भौतिक कारण: पर्याप्त सडक पूर्वाधार नहुनु, मापदण्डविपरीत प्रविधिविहीन सडक र अत्यधिक सवारीसाधनको चाप सडक दुर्घटनाको कारण बनेको छ । मानवीय कारण: मानवीयअन्तर्गत चालक, पैदलयात्री तथा सडक उपभोक्ताहरु पर्दछन् । सडक प्रयोग गर्दा उनीहरुसँग हुनु पर्ने चेतना, ज्ञान, सीप र अनुभवहरुका कारण सडक दुर्घटना निम्तिने गर्दछ । यान्त्रिक कारण: सुरक्षित यात्राका लागि सवारीसाधन उपयुक्त हुनु पर्दछ । अवस्था राम्रो हुनु पर्दछ । यान्त्रिक रुपमा सवारीसाधन ठिक हुनु आवश्यक छ । पर्यावरणीय कारण : कुनै वस्तु, विषय, व्यक्ति आदिको स्थिति वा वातावरण पनि दुर्घटनाको कारण हो । साथै हावा, पानी, आँधिहुरी, बाढी, पहिरो हुस्सु, कुहिरो आदिका कारण सडक दुर्घटना हुने गरेको छ । अन्त्यमा, सडक दुर्घटना न्यूनीकरण मजदूरहरुको एकल प्रयासबाट मात्रै सम्भव छैन । यसो भनेर हामी गैरजिम्मेवार हुन मिल्दैन । सडक दुर्घटनाको सामाजिक, आर्थिक र मानवीय असरलाई हामी श्रमिकहरुको तर्फबाट एउटा प्रयत्न भयो भने सबैलाई फाइदा हुनेमा दुई मत छैन । (लेखक नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनका केन्द्रीय अध्यक्ष हुनुहुन्छ)

कागबेनीका बाढी प्रभावितको सहयोगका लागि करिब ८० लाख सङ्कलन

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बाढी प्रभावितलाई राहत जुट्ने क्रम जारी छ । गत साउन २८ गते कागखोलामा आएको बाढीबाट जायजेथा गुमाएकाको पुनःस्थापनाका लागि स्वतस्र्फूत सहयोग उठिरहेको हो । कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक फेन्चोक छेप्तेन गुरुङका अनुसार जनस्तरबाट हालसम्म करिब ८० लाख सङ्कलन भएको छ । ‘देशविदेशमा रहनुभएका मुस्ताङवासीबाट सहयोग आउने क्रम जारी छ, स्थानीय सङ्घसंस्था पनि राहत अभियानमा जोडिएका छन्’, उनले भने, ‘स्थानीय तह, प्रदेश सरकारलगायत सरकारी निकायबाट पनि राहत प्राप्त भएको छ ।’ सहयोगदाताबाट आएको रकम उद्धार र राहतमा खर्च भइरहेको संयोजक गुरुङले बताए । बाढीबाट पूर्णरुपमा घर क्षति भएका नौ परिवारका लागि कागबेनी नजिकै एक्लेभट्टीमा अस्थायी बास निर्माण थालिएको उनको भनाइ छ । ‘बाढी आउँनासाथ सरकारी संयन्त्रदेखि स्थानीयवासी सबै उद्धार र राहतमा खटिए’, संयोजक गुरुङले भने, ‘प्रधानमन्त्री तहबाटै कागबेनीको पुनःनिर्माणमा प्रतिबद्धता पनि आइसकेको छ ।’ बाढीबाट सामान्य क्षति भएका घरको मर्मतसम्भार स्थानीय आफै पनि गरिरहेको उनले बताए । बाढी पसेको ठाउँको सफाइदेखि कागखोलालाई पुरानै धारमा फर्काउने काम भइसकेको छ । ‘तीन वटै तहका सरकारको तदारुकता र स्रोतसाधनको प्रबन्ध हुन सकेमा तीन/चार वर्षभित्रैमा कागबेनीलाई पहिलेकै अवस्थामा फर्काउन सकिन्छ’, उनले भने, ‘धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्र भएकाले कागबेनीको पुनःनिर्माणमा राज्यले विशेष ध्यान दिनुपर्छ ।’ गृहमन्त्री, मुख्यमन्त्रीलगायतले बस्ती पुनःनिर्माण र बाढीप्रभावितको राहतमा कुनै कमी हुन नदिने बताएकाले आफूहरु आशावादी रहेको स्थानीय कर्मा गुरुङले बताइन् । बाढीमा घरबास गुमाएकी गुरुङ अहिले सपरिवार आफन्तकोमा आश्रम लिइरहेकी छन् । ‘घरगोठ, जग्गा सबै बाढीले लग्यो, अब आफ्नो भन्ने केही पनि छैन’, उनले भनिन् ‘सरकारले हाम्रो दुःख देखोस्, बाढी प्रभावितलाई केही व्यवस्था होस् ।’ सङ्घसंस्था, छिमेकी र आफन्तबाट सहयोग पाएको भन्दै छिट्टै सरकारबाट पनि राहत रकम आउनेमा विश्वस्त रहेको उनले सुनाए । हेर्दाहेर्दै कागबेनी क्षेत्र बगरमा परिणत भएकामा उनी दुःखी छन् । ‘अहिलको जस्तो बाढी कहिल्यै आएको थिएन, धन्न हामी जोगिऔँ, धन सम्पत्तिको भने धेरै ठूलो क्षति भयो’, गुरुङले भनिन्, ‘पर्यटक र तीर्थयात्रीको चहलपहल हुने ठाउँ अहिले उराठलाग्दो बनेको छ ।’ कागबेनीलाई हिन्दु र बौद्ध समुदायकाले पवित्र तीर्थस्थलका रुपमा लिइन्छ । मुक्तिनाथ क्षेत्र, उपल्लो मुस्ताङ र डोल्पा जाने सङ्गमस्थल पनि हो कागबेनी । कागखोलामा आएको बाढीबाट घर, मन्दिर, धर्मशाला, गुम्बा, सडक, पुललगायत भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो । रासस