विकासन्युज

इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो

  काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ । नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले राससलाई जानकारी दिए । उनका अनुसार फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे उनको शव ल्याइएको हो । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल ल्याइएको, बाँकी पाँचजनाको शव ल्याउन सम्बद्ध नातेदारको डिएनए सङ्कलन गरी पठाइएको र अन्य शव पनि चाडै नेपाल ल्याइने उनले बताए । हालसम्म नेपालीसहित दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव ल्याइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा दस नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत् उनीहरु इजरायल गएका थिए । उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा धनुषा सापही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारी रहेका छन् । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कबिहीन रहेका छन् । केही समय अघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो । रासस

बन्दीपुरमा बाख्रा नश्ल सुधार कार्यक्रम, दूध र चीजका लागि सानन बाख्रा

तनहुँ । बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले अगुवा कृषकको आयआर्जन बढाउन बाख्रामा नश्ल सुधारलाई प्राथामिकता दिएको छ । बाख्रामा नश्ल सुधारबाट हालसम्म ५४ जिल्लामा उन्नत बोर बाख्रा निर्यात गरिसकिएको उक्त कार्यक्रमले जनाएको छ । शुद्ध जातका बोर पाठापाठी उत्पादन र स्थानीय खरी जातका बाख्रामा बोर क्रस गराएर वर्णशङ्कर जातको बाख्रा उत्पादन गर्दै आइएको छ । तनहुँ, कास्की, गोरखा, लमजुङ, चितवनलगायत विभिन्न जिल्लामा बोर बाख्रा निर्यात गर्दै आएको कार्यक्रमका संयोजक राजु कँडेलले जानकारी दिए । विसं २०७१ मा ५० वटा माउ र सात वटा बोका अष्टे«लियाबाट ल्याएर बाख्राको नश्ल सुधार कार्यमा अनुसन्धान गरिएको उनले बताए। अगुवा बाख्रा उत्पादक कृषकलाई पशु उक्त कार्यालयको सिफारिसमा सुपथ मूल्यमा बोर, खरी र सानेन प्रजातिका बाख्राको पाठापाठी उपलब्ध गराउँदै आइएको छ । कार्यक्रमअन्तर्गत हाल अनुसन्धानको लागि बोर, सानन, खरी, सिन्हाल, बारबारी, जमुनापारीलगायत करिब पाँच सय बाख्रा छन् । कृषकको मागअनुरुप विभिन्न जिल्लामा बोरका बोका बिक्री गर्ने गरिएको छ । दूध र चीजका लागि सानन बाख्रा त्यसैगरी सानन जातको बाख्रा ३२ जिल्लामा निर्यात र करिब २२ जिल्लामा व्यावसायिकरुपमा पाल्न सुरु गरिएको छ । दूध र चिजका लागि सानन जातका बाख्राको माग अत्यधिक बढेको कार्यालयका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्यले जानकारी दिए । बाख्राको दूधमा ल्याक्टोजिन नहुने र रोग प्रतिरोधी हुने भएकाले क्यान्सरका बिरामीका लागि पनि उत्तम हुने उनले बताए । बाख्राको दूधबाट बनेको चिज बाहिर सहरमा प्रतिकिलो तीन हजार पर्ने भए पनि कार्यक्रमले प्रतिकिलो एक हजारमा बिक्री गर्दै आएको छ । विगत पाँच वर्ष अघि अमेरिकी डेरी गोटका अध्यक्ष डेनिल लेनिईले चिज बनाउने उद्योग खोली व्यावसायिक बाख्रापालन कृषकलाई सीप हस्तान्तरणसमेत गरे । पोखराको लेकसाइड र काठमाडौँका सहरमा चिजको माग भइरहेको छ । अधिकृत आचार्यले भने, ‘याक र गाईबस्तुको दूधबाट बनेको चिजको तुलनामा बाख्राको दूधबाट बनेको चिज गुणस्तरीय र मिठो हुन्छ ।’ पछिल्लो समय सानन बाख्राको दूध र चिज प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको छ । सानन बाख्राले एक पटकमा चार लिटरसम्म दूध दिन्छ । उक्त कार्यालयमा अहिले दैनिक बयालिस लिटर दूध उत्पादन हुँदै आएकोले चिज बनाउने गरिएको छ । उक्त दूध सङ्कलन गरी चिज बनाएर पोखरा र काठमाडौँका सहरमा बिक्रीका लागि पठाउने गरिएको संयोजक कँडेलले जानकारी दिए ।

बैंकर बिके श्रेष्ठको अन्तिम सम्बोधन : ‘नेपाली सीईओ बनेपछि ढुक्क छु’

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रकै अग्रज तथा एभरेष्ट बैंकका अध्यक्ष विष्णुकृष्ण (बिके) श्रेष्ठको ९४ वर्षको उमेरमा मंगलबार निधन भएको छ । जीवनको उत्तरार्धसम्म पनि बैंकको सफल नेतृत्व गरेका श्रेष्ठ जिम्मेवारीमा रहँदा रहँदै संसारबाट विदा भएका छन् । नेतृत्व क्षमता र निरन्तर सफल बैंकर बनिरहने दृढ इच्छाशक्ति भएका श्रेष्ठले एभरेष्ट बैंकलाई भारतको पञ्जाव नेशनल बैंकसँग जोइन्ट भेन्चर गरेर सञ्चालन गर्न सफल भएका थिए । एभरेष्ट बैंकलाई सापेक्षित रुपमा सफलतामा पुर्याएका बैंकर श्रेष्ठले एक वर्ष अगाडि गतसाल मंसिरमा भएको बैंकको साधारणसभामा आफू अस्वस्थ भएपनि बैंक स्वस्थ भएको र नेपाली सिइओ बनेपछि ढुक्क भएको बताएका थिए । बैंकको वित्तीय सूचकहरु सकारात्मक रहेकाले अझै प्रगति गर्नुपर्नेमा श्रेष्ठले जोड दिएका थिए । पछिल्ला दुई वर्षमा विश्वव्यापी कोरोना महामारी, डेंगु, रूस-युक्रेन युद्धले गर्दा बैंकलाई पनि असर गरेको अध्यक्ष श्रेष्ठले बताएका थिए। साथै तरलता संकटका कारणले पनि अर्थतन्त्र नाजुक अवस्थामा रहेकाले रिकभरीको समस्या बैंकले खेप्नु परेको उनले उक्त साधारसभामा भनाइ राखेका थिए । ‘बैंकले राम्रो प्रगति गरेको छ, अहिलेको कठिन अवस्थामा पनि बैंकले सेयरधनीहरुलाई राम्रो प्रतिफल दिएको छ, मेरो आफ्नो स्वास्थ राम्रो नभएपनी बैंकको स्वास्थ राम्रो छ,’ उनले भनेका थिए । आफूलाई स्वास्थ्यले साथ नदिएको भएपनि बैंकलाई अझै उचाईमा पुर्याउने गरी बैंकका सीईओले काम गरिरहेको उनको भनाइ थियो । पहिलो पटक नेपाली नै बैंकको सीईओ भएकाले बैंकको थप ग्रोथ हुनेमा स्वर्गीय श्रेष्ठले विश्वास व्यक्त गरेका थिए ।

इजराइल हमास युद्धको असर विश्व अर्थव्यवस्थामा पर्ने संकेत

काठमाडौं । रुस युक्रेनबीच युद्ध भएको दुई वर्ष समय बित्न लागेको छ । रुस युक्रेनबीचमा भएको युद्धले विश्वकै उत्पादन र वितरण प्रणालीलाई नराम्रोसँग असर गर्न पुग्यो । जसले गर्दा खाद्यान्न र तेलजस्ता वस्तुहरुमा विश्वव्यापी रुपमा मूल्य वृद्धि हुन पुगेको छ । केही हप्ता अगाडि शुरु भएको इजराइल–प्यालेस्टाइन युद्धले फेरि विश्व अर्थव्यवस्थामा समस्या सिर्जना गर्ने अुनमान गरिएको छ । मानिसहरुले विश्वमा हुने ठूला घट्नाहरुको कारण विश्व अर्थव्यवस्था सम्बन्धी अनुमान गर्ने र नकारात्मक अवस्थामा खर्चमा कटौती गर्ने गर्छन् भन्ने विषय अनुसन्धानहरुले देखाएका छन् । जसले गर्दा अर्थव्यवस्थामा मन्दी सिर्जना हुनसक्छ । विश्व बैंकका अध्यक्ष अजय बंगाले मंगलबार इजलाइल–प्यालेस्टाइन युद्धले विश्वव्यापी अर्थव्यवस्थामा गम्भीर असर पुर्याउने टिप्पणी गरेका छन् । साउदी अरबमा एक लगानीकर्ताहरुको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो बताएका हुन् । उनले भू–राजनीतिक तनाव विश्वको अर्थव्यवस्थाको लागि सबैभन्दा ठूलो खतरा रहेको भन्दै इजराइल–प्यालेस्टाइन बीचमा भएको लडाईंंलाई भू–राजनीतिक भएको टिप्पणी गरेका छन् । मंगलबारसम्मको अवस्थामा विश्वभरीकै शेयरबजारमा गिरावट आएको अवस्था छ । कोरोना महामारीबाट तर्सिएको विश्व व्यवस्था रुस–युक्रेन युद्धका कारण थप पिडामा फसेको थियो । फेरि शुरु भएको इजरायल–प्यालेस्टाइन युद्धलाई लिएर पनि विश्वभरका लगानीकर्ताहरु चिन्तित बन्न पुगेका छन् । कोरोना महामारी र रुस युक्रेन युद्धले विश्वव्यापी रुपमा हुने अन्तरनिर्भरता र जोखिमपूर्ण स्थितिमा सामना गर्न राज्यहरुको तयारीको विषयलाई पाठ सिकाएको थियो । जसलाई विश्वका कति मुलुकले कार्यान्वयन गर्ने प्रयास गरे कतिले गरेनन् । तर, नेपाल जस्ता तेस्रो मुलुकहरु आन्तरिक राजनीतिक एकतामा नै नभएकाले कुनैपनि प्रकारको जोखिम बहनको स्थितिमा देखिँदैनन् । जसले गर्दा विश्वका तेस्रो मुलुकहरुले समस्या आइपरेपछि त्यसालाई बोक्नुको अर्को विकल्प देखिँदैन । देशभित्र हुने आन्तरिक र अन्रराज्यस्तरीय द्वन्द्वले सामान्यतया स्टक मार्केट, विनिमय दर र वस्तु तथा सेवाहरुको मूल्यमा असर पार्छ । तर, लामो समयसम्मको प्रभावको विषयमा आंकलन गर्न भने गाह्रो हुन्छ । किनकी प्रभाव पश्चात विश्वव्यापी रुपमा राज्यहरु र लगानीकर्ताहरुले लिने नीति समान नहुन सक्छ । अहिले मध्यपूर्वमा भइरहेको द्वन्द्वले पेट्रोलियम पदार्थको उत्पादन र वितरण प्रणालीमा समस्या निम्त्याउन सक्छ । सन् १९७३–७४ को ओपेक तेल प्रतिबन्ध, १९७८–७९ को इरानी क्रान्ति, १९८० मा शुरु भएको इरान–इराक युद्ध र १९९० को पहिलो पर्सियन गल्फ युद्धको अवस्थालाई हेर्यौं भने त्यस्तो अनुमान गर्न सकिने अवस्था आएको छ । मध्यपूर्व क्षेत्रले पेट्रोलियम पदार्थको विश्वव्यापी मागको एक तिहाइ भाग ओगट्छ । सो क्षेत्रमा भएको अनिश्चितताले बजारलाई स्वभाविक रुपमा प्रभाव पार्ने विश्लेषकहरुको अनुमान रहेको छ । अहिले भइरहेको इजरायल–प्यालेस्टाइन द्वन्द्वमा अन्य कुन मुलुकहरुको कस्तो प्रत्यक्ष एवं अप्रत्यक्ष संलग्नता रहन्छ भन्ने विषयले विश्वमा महत्वपूर्ण अर्थ राख्छ । अहिलेसम्मको अवस्थामा अमेरिका र ब्रिटिसले प्रत्यक्ष रुपमा इजरायलाई साथ दिने बताइसकेका छन् । तर, प्यालेस्टाइनको पक्षमा भने कुनै पनि देशले खुलेर प्रत्यक्ष समर्थन गरेको देखिँदैन । यदि अहिले भइरहेको द्वन्द्वमा साउदी अरब र इरान जस्ता प्रमुख तेल उत्पादक राष्ट्रहरु पनि जोडिन पुगे भने विश्वव्यापी अर्थतन्त्रले ठूलो समस्याको सामना गर्नुपर्ने हुन्छ । यदि पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध हुन पुग्यो भने विश्वव्यापी रुपमा नै उत्पादन र वितरण प्रणालीमा भिमकाय समस्याको शुरुवात हुनपुग्छ । इतिहासलाई हेर्दा सन् २०१४ मा भएको इजरायल–हमासबीचमा भएको ५० दिन लामो युद्धले विश्व अर्थव्यवस्थामा खासै प्रभाव पार्न सकेको थिएन । जुन युद्धमा २२ सय नागरिकहरु मारिएका थिए । यद्यपी सन् २००६ मा लेबनानमा इजरायल र हिजबुल्लाहबीच भएको झडपको कारणले विश्वव्यापी तेलको मूल्यमा वृद्धि भएको थियो । पछिल्लो समयमा विश्व बहुध्रुवीयतर्फ गइरहेको छ । इजरायल–प्यालेस्टाइन युद्धको विषयलाई लिएर अधिकांश पश्चिमा राष्ट्रहरुले इजरायलको पक्षमा समर्थन जनाएका छन् भने रुस र चीन जस्ता अरु ठूला मुलुकहरुले युद्धबिरामको विषयलाई प्राथमिकता दिएका छन् । सो युद्धमा शक्तिशाली मुलुकहरुको सहभागितामा वृद्धि हुँदै गयो भने गम्भीर परिदृष्यको अनुमान गर्न सकिन्छ । अन्यथा दुई मुलुकमा बाहेक अन्यत्र कम असर पर्न सक्छ । एजेन्सीको सहयोगमा ।

‘पशुपति प्रसाद २ : भष्मे डन’ले चार दिनमा गर्यो ६ करोड कलेक्सन

काठमाडौं । दसैँलाई लक्षित गर्दै गत फूलपाती अर्थात् कात्तिक ४ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ को व्यावसायिक सुरुवात राम्रो भएको छ । यसका निर्माता तथा लेखक खगेन्द्र लामिछानेले पहिलो दिन नै दुई करोड चालिस लाखको हाराहारीमा व्यापार गरेको जानकारी दिए । ‘दसैँको कारणले हामीले हरेक दिन हिसाब सार्वजनिक गरेका छैनौँ । यद्यपि चलचित्र भवनमा पुगेर दर्शकको प्रतिक्रिया लिँदा उत्साहित छौँ । त्यहाँको भीडभाडले व्यापार राम्रो गरेको सङ्केत गरेको छ’, निर्माता लामिछानेले भने । सातवर्ष अगाडी प्रदर्शन भएको ‘पशुपति प्रसाद’ को दोस्रो श्रृङ्खलाको रुपमा निर्माण भएको नेपाली चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ मा शीर्ष भूमिका अभिनेता विपिन कार्कीले निर्वाह गरेका छन् । उनले भष्मे डनलाई यसपटक परिपक्व र भिन्न रुपमा दर्शकले रुचाएको बताए । ‘समयसँगै आएको बदलावले भष्मे डनलाई आज अभिभावक बनाएको छ । उसमा पशुपति प्रसादको प्रभाव त छ नै, उसको जीवन र भोगाई पनि छ’, अभिनेता कार्कीले भने, ‘यही चरित्रमार्फत म दर्शक माझ परिचित बनेँ । यसको चरित्र निर्माणमा स्वर बनाउनेदेखि चस्माको प्रयोगसम्म जोखिम नै थियो । अहिले दर्शकको प्रिय बनेको छ ।’ चलचित्र भवन पुगेर दर्शकबाट प्राप्त गरिरहेको प्रतिक्रियाले मेहनतको फल पाएको आभास भएको कार्कीले जानकारी दिए । यसलाई ‘पशुपति प्रसाद’ को दोस्रो भाग वा पात्र विशेषलाई लिएर तयार गरिने ‘स्पिन अफ’ भन्न नमिल्ने निर्देशक दीपेन्द्रकुमार खनालले बताए। उनले भने, ‘यसमा कथालाई निरन्तरता दिएका छौँ । सबै पात्र हुनुहुन्छ । त्यसैले यो पहिलो भागकै निरन्तरता हो ।’ चलचित्रमा रवीन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे, सौगात मल्ल, स्वस्तिमा खड्का लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रका वितरक करण श्रेष्ठले चार दिनमा छ करोड बढीको कुल व्यापार ‘ग्रस कलेक्सन’ गरेको जानकारी दिए । उनले भन, ‘चलचित्र भवनमा पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेका छौँ । नेपालभर नै चलचित्र भवनमा दर्शकको उपस्थिति राम्रो छ । पहिलो दिनकै हाराहारीमा यसले प्रत्येक दिन व्यापार गरिरहेको छ । यद्यपि तथ्याङ्क दसैँ सकिए लगत्तै सार्वजनिक गर्नेछौँ ।

बालबालिकालाई हानि पुर्याएको भन्दै दर्जनौँ राज्यद्वारा फेसबुक कम्पनी मेटाविरुद्ध मुद्दा दायर

एजेन्सी । फेसबुक र इन्स्टाग्रामको मालिक मेटामाथि दर्जनौँ अमेरिकी राज्यहरूले ‘बालबालिकाको पीडाबाट फाइदा लिँदै’ उनीहरूको मानसिक स्वास्थ्यलाई हानि पुर्याएको र यसको प्लेटफर्मको सुरक्षाबारेमा मानिसहरूलाई भ्रममा पारेको आरोप लगाएका छन् । ‘आफ्नो आर्थिक फाइदालाई अझ धेरै बनाउने कोसिसमा मेटाले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्मको महत्वपूर्ण खतराका बारेमा जनतालाई बारम्बार गुमराहमा पारेको छ’ क्यालिफोर्नियाको सङ्घीय अदालतमा दायर संयुक्त मुद्दामा भनिएको छ । मेटाविरुद्ध ४० भन्दा धेरै राज्यले मुद्दा लगाएका छन् । यद्यपि केही राज्यले सङ्घीय अदालतमा मुद्दा हाल्नुको सट्टा स्थानीय अदालतमा मुद्दा दायर गरेका छन् । दायर मुद्दामा मेटाले युवा प्रयोगकर्ताहरूलाई उनीहरूको स्वास्थ्यमा हानि पुगे पनि प्लेटफर्ममा अधिकतम समय बिताउनका लागि डिजाइन गरिएको बिजिनेस मोडल बनाएर उनीहरूको शोषण गरेको बताइएको छ । ‘बालबालिका र किशोर किशोरी खराब मानसिक स्वास्थ्यको रेकर्ड स्तरबाट पीडित छन् र यसका लागि मेटा जस्तो सामाजिक मिडिया कम्पनीहरू जिम्मेबार छन्’ न्युयोर्कका महान्यायाधिवक्ता लेटिया जेम्सले मुद्दाको घोषणा गर्दै एक विज्ञप्तिमा भने, ‘मेटाले जानीजानी आफ्नो प्लेटफर्ममा हेरफेर गर्न सकिने सुविधाका साथ डिजाइन गरेर बालबालिकाको पीडाबाट फाइदा लिएको छ र यसले बालबालिकाको आत्मसम्मानलाई घटाउँदै उनीहरूलाई प्लेटफर्ममा लत लगाउँछ ।’ मुद्दामा मेटामाथि आर्थिक लाभ लिनका लागि कमजोर युवाहरूलाई नोक्सान गर्ने भ्रामक र गैरकानुनी व्यवहार गरेको आरोप लगाइएको छ । महान्यायाधिवक्ता जेम्सका अनुसार मुद्दामा सङ्घीय अदालतसँग मेटालाई चलाखीपूर्ण रणनीति बन्द गर्न र क्षतिपूर्तिका साथै ठूलो आर्थिक जरिवाना गराउन आदेश दिन माथ गरिएको छ । ‘मेटासहितका सामाजिक मिडिया कम्पनीहरूले राष्ट्रिय युवा मानसिक स्वास्थ्य सङ्कटमा योगदान दिएका छन् र उनीहरूलाई जवाफदेही बनाउनुपर्छ’, उनले भने । मुद्दाबाट निराश भएको भन्दै मेटाले राज्यहरूले उमेर–उपयुक्त मापदण्ड बनाउनका लागि सामाजिक मिडिया कम्पनीसँग काम नगरिरहेको बताएको छ । किशोर प्रयोगकर्तालाई सहयोग गर्नका लागि आफ्नो एप्समा ३० भन्दा बढी टुल विकसित गरेको र अभिभावकका लागि अनलाइन गतिविधिलाई ‘आकार दिन’ सहज बनाएको मेटाले बताएको छ । मेटाले टिकटक, युट्युब र स्न्यापसहित प्रतिद्वन्द्वीको लोकप्रियतालाई हेरेर उद्योगव्यापी समाधान खोज्नुको सट्टा महान्यायाधिवक्ताले मेटालाई छनोट गर्नु निराशाजनक भएको उल्लेख गरेको छ ।

घट्यो खसी च्याङ्ग्राको मूल्य

फाइल तस्बिर भक्तपुर । भक्तपुरको सल्लाघारीमा दसैँका लागि ल्याइएका च्याङ्ग्रा, भेडा, बोका, खसी बिक्री कम भएपछि व्यपारीले मूल्य घटाएका छन् । दसैँका लागि मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा भक्तपुर, काठमाडौँं, काभ्रेपलाञ्चोकदेखिका उपभोक्ताको भीड लागे पनि अपेक्षित रुपमा बिक्री कम भएपछि व्यापारीले आजबाट मूल्य घटाएका हुन् । दसैंको विजयादशमी सकिएपछि व्यापारीले मूल्य घटाएका हुन् । दसैँको लागि मुस्ताङ हुदैँ ल्याइएको च्याङ्ग्रा आजबाट किलोमा दुई सय ५० घटाएको उनले बताए। यहाँका सबै व्यापारीको सल्लाहअनुसार नै च्याङ्ग्राको मूल्य घटाएर प्रतिकिलो एक हजार १०० मा बिक्री गरेको व्यापारी खड्काले बताए । बझाङबाट ल्याइएको नेपाली च्याङ्ग्रा प्रतिकिलो ९०० मा बिक्री भइरहेको र चिनियाँ च्याङ्ग्रा प्रतिकिलो एक हजार १०० मा बिक्री भइरहेको जानकारी उनले दिए । अर्का च्याङ्ग्रा व्यापारी उत्तम खड्गीले मुस्ताङमै च्याङ्ग्रा महँगो तिर्नु परेकाले यसवर्ष मूल्य बढेको भए पनि आजबाट मूल्य घटाएको बताए। उनले भने, ‘चीनबाट ल्याइएको च्याङ्ग्रा नेपाली व्यापारीले मुस्ताङबाट खरिद गर्दा किलोमा नभइ प्रति गोटा रु ३५ हजारदेखि ४० हजारसम्म तिुर्न परेकाले यसवर्ष च्याङ्ग्रा महँगो भएको हो ।’ अर्का व्यापारी रमेश खड्काले च्याङ्ग्राको मूल्य घटेको र भेडा पनि मूल्य घटाएर प्रतिकिलो ६५० मा बिक्री गरेको बताए । अर्का च्याङ्ग्रा व्यापारी कुलबहादुर श्रेष्ठले पशु स्वास्थ्य चिकित्सकबाट भेडा च्याङ्ग्राको परीक्षण गरेर ल्याएको बताए । च्याङ्ग्रा तयारी मासुको मूल्य पनि घटेको छ । सल्लाघारीको चौरमा तयारी च्याङ्ग्राको मासु प्रतिकिलो दुई हजार ८०० मा व्यापारीले बिक्री गर्दै आए पनि आजबाट दुई हजार ५०० मा बिक्री गर्न थालेको व्यापारीले बताएका छन् । उता सल्लाघारीमा खसीको मूल्य पनि घटेको छ । व्यापारीहरुले खसी आजबाट प्रतिकिलो ६०० मा बिक्री गर्न थालेका छन् । यसवर्ष यहाँ करिब दुई हजार खसी, दुई हजार भेडा, च्याङ्ग्रा ल्याइएको व्यापारीले बताएका छन ।

दशैंमा दैनिक ५ सय मेगावाट विद्युत् खेर, भारतले दिएन थप निर्यात अनुमति

काठमाडौं । दशैंमा देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युतआयोजनाहरुबाट उत्पादितकरिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दशैंमा विद्युत् बढी खपतगर्ने उद्योग कलकारखानाहरु बन्द हुँदा र काठमाडौंमा चिसो सुरु भइ नसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रुपमा विद्युत्को माग घटेको छ । तर, वर्षा सकिएको र नदी तथा खोलानालाहरुमा सफापानीको बहाव हुने हुँदा यो समयमा नेपाल विद्युत् प्राधिकरण, यसका सहायक कम्पनीहरु र निजी क्षेत्रका स्वामित्वका जलविद्युत् आयोजनाहरुबाट विना अवरोध विद्युत् उत्पादन हुने गरेको छ । प्राधिकरण, यसका सहायक कम्पनीहरु र निजी क्षेत्र क्षेत्रका जलविद्युत आयोजनाहरुबाट हाल दैनिक रुपमा करिब २ हजार २ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । त्यसमध्ये करिब १ हजार मेगावाट देशभित्र खपत भइरहेको भने करिब साढे ६ सय देखि ७ सय मेगावाटसम्म विद्युत् भारततर्फ निर्यात भइरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशककुलमान घिसिङले उत्पादितविद्युत् देशभित्रखपतगर्न नसक्दा र थपनिर्यातकालागिभारतबाट स्वीकृतिपाउननसक्दाअहिले दैनिक रुपमा ५ सय मेगावाटको हाराहारीमाविद्युत् खेर फाल्नु पर्ने वाध्यात्मकअवस्थाउत्पन्नभएकोबताउनुभयो । ‘दशैंका कारण आन्तरिक रुपमा माग घटेको छ, यही अवस्थालाई ध्यान दिएर यहाँ खपत गरी बचत भएको थप करिब ३ सय मेगावाट विद्युत्को निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाएका थियौं, तर अहिलेसम्म स्वीकृति पाउन नसक्दा फूलपातीको अघिल्लो दिनबाट दैनिक रुपमा करिब ५ सय मेगावाट स्वच्छ हरित विद्युत् खेर गइरहेको छ, यसबाट दैनिक रुपमा करौंडौं रुपैयाँ गुमाइरहेका छौं’, कार्यकारी निर्देशक घिसिङले भने । ‘प्रक्रियामा रहेकाले छिट्टै थप विद्युत् निर्यातकालागि स्वीकृतिपाउनेमाविश्वस्त छौं, स्वीकृतिनपाउने हो भने अझै विद्युत् खेर फाल्नु पर्ने अवस्था छ ।’ प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही अघिबाट मध्यकालीन विद्युत् सम्झौता बमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगमलि–एनभिभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाट मध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ । प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । प्राधिकरणले चालू आर्थिक वर्ष २०८०÷८१को साउन, भदौ र असोज ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ । असोज महिनामा मात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ । तीनमहिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ । जेठ र असारमा भारतर्फत निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो । दशैंमा विनाअवरोध विद्युत् आपूर्ति नेपाल विद्युतप्राधिकरणले यस वर्षको दशैंमा विना अवरोध विद्युत् आपूर्ति गरेको छ । यसवर्ष पनि पहाडी भेगका केही स्थानमा फाट्फुट्ट बाहेक दशैंमा विगत वर्षमा झंै विना अवरोध विद्युत् आपूर्ति भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उल्लेख गरे । ‘दशैंमा विद्युत् प्रणाली नियमित (स्मुथ) रुपमा चल्यो, कहीं कतै अवरोध भई विद्युत् आपूर्ति बन्द भएन’, घिसिङले भने । प्राधिकरणले दशैंमा विद्युत् अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत् गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीहरुलाई तयारी अवस्थामा राखेको थियो ।