विकासन्युज

मर्सिडिजको नाफा सात प्रतिशतले घट्यो

एजेन्सी । जर्मन कार निर्माता मर्सिडिज–बेन्जले केही पार्ट्सको कमीले कारको डेलिभरीमा भएको गिरावटका कारण तेस्रो त्रैमासिकमा कम्पनीको मुनाफामा कमी आएको बिहीबार बताएको छ । जुलाईदेखि सेप्टेम्बरसम्मको आवधिमा खुद मुनाफा सात प्रतिशतले घटेर तीन अर्ब ७० करोड युरो भएको कम्पनीले एक विज्ञप्तिमा उल्लेख गरेको छ । यो वित्तीय डाटा फर्म फ्याक्टसेटले गरेको सर्वेक्षणमा विश्लेषकहरूले गरेको भविष्यवाणीभन्दा केही राम्रो थियो । विश्लेषकहरूले समीक्षा अवधिमा कम्पनीको मुनाफा तीन अर्ब ४० करोड युरो हुने अनुमान गरेका थिए । उक्त अवधिमा कम्पनीको आम्दानी एक दशमलव चार प्रतिशतले घटेर ३७ अर्ब २० करोड युरो भएको छ । केही पार्ट्सको कमीका कारण तेस्रो त्रैमासिकमा यात्रुवाहक कारहरूको विक्री करिब पाँच प्रतिशतले कम भएकाले आम्दानीमा पनि गिरावट भएको बताइएको छ । कोरोना भाइरस महामारीको समयमा सुरु भएको आपूर्ति शृङ्खलाको समस्या अधिकांश कार निर्माताका लागि धेरै हदसम्म कम भएको छ । यद्यपि उनीहरूले कहिलेकाहीँ यस्तो समस्याहरूको सामना गर्नुपर्दा उत्पादनलाई सुस्त बनाएको छ । तेस्रो त्रैमासिकमा मर्सिडिजको बिक्री ११ प्रतिशतले घटेको छ । यो अवधिमा भने विद्युतीय सवारीको बिक्री भने ६६ प्रतिशतले बढेको थियो ।

गाजा क्षेत्र कतै पनि सुरक्षित छैन : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले गाजाको कुनै पनि क्षेत्र सुरक्षित नभएको बताएको छ । राष्ट्रसङ्घका अनुसार अपेक्षित स्थल आक्रमणको तयारीमा इजराइली हवाई हमलाहरु बढिरहेका छन् । अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफी हमलामा इजराइलले प्यालेस्टिनी क्षेत्रका लगभग सबै ठाउँमा आक्रमण गरेकाले मानिसहरूसँग केही विकल्प बाँकी नरहेको राष्ट्रसङ्घले जनाएको छ । ‘गाजा कतै पनि सुरक्षित छैन’, प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रङ्घका मानवीय संयोजक लिन हेडसनले बताएका छन् ।

माओवादी घटक दलहरु बीचको एकता आवश्यक : प्रधानमन्त्री दाहाल

रुकुम । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले सुरु गरेको तीन महिने विशेष रुपान्तरण अभियान माओवादी घटक दलहरु बीचको एकताको अभियान पनि रहेको बताएका छन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्गामा आज आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्दै उनले अब माओवादीबाट फुटेर गएका दलहरुका बीच एकता आवश्यक छ भने । प्रधानमन्त्री दाहालले भने, ‘हामी ठूलो पार्टीको रुपमा उदाएका थियौँ । विडम्बना हामी सबै फरक–फरक बाटोतिर लाग्यौँ । हामीले क्रान्ति गर्ने बेला जुन किसिमको प्रतिवद्धता जनता सामु गरेका थियौं, त्यो प्रतिवद्धता भुल्दै साथीहरु फरक बाटोतिर लाग्नुभयो । शान्ति प्रक्रियापछि उहाँहरुलाई के कुरा चित्तै बुझेन पार्टी नै फुटाउनुभयो ।’ केही साथीहरु फरक बाटोमा लागेको भए पनि अझै केही नबिग्रिएको उनको भनाइ थियो । ‘हामी माओवादी शक्तिहरु पुनः एक हुनुपर्ने बेला आएको छ । हामीले समाजवादी मोर्चा नै बनाएका छौँ । त्यही मोर्चा नै भोलि एकताको बाटोमा जान्छ । समाजवादी मोर्चाको एउटा अभियान छ । हाम्रो पार्टीको एउटा अभियान छ । यो अभियानको सार्थकता भनेकै माओवादी घटक र अन्य विचार मिल्ने पार्टीहरुको एकता हो’, उनले भने । प्रधानमन्त्री दाहालले वर्तमान सरकार पाँवर्ष नै टिक्ने दावी गरे । उनले भने, ‘हामीले निकै बलियो सरकार बनाएका छौं, यो सरकार पाँच वर्ष नै रहन्छ । कोशी प्रदेशमा केही तलमाथि हुँदै गर्दा गठबन्धनकाविरुद्ध लागेको पनि देखियो । अन्तत कोशीमा पनि गठबन्धकै सरकार बन्छ ।’ सरकार ढाल्न र गठबन्धन फुटाउन तर्फ केही दल लागिपरेको उनले आरोप लगाए । सरकारले पछिल्लो समय सामाजिक न्यायको लागि विभिन्न भ्रष्टाचारको फाइल खोलेको देख्दा केही दलहरु सरकार ढाल्ने प्रयासमा रहेको उनको भनाइ थियो । प्रधानमन्त्री दाहालले नेपालको राष्ट्रिय स्वतन्त्रताको कुरालाई सरकारले सधैँ अघि राखेर छिमेकी राष्ट्र र अन्य राष्ट्रहरुसँगको कूटनीतिकसम्बन्ध सुदृढ बनाउन सफल भएको बताउनुभयो । ‘हामीले छिमेकी र मित्र राष्ट्रहरुसँगको कूटनीतिक सम्बन्धलाई बलियो बनाएका छौं। अझै पनि बलियो हुने छ । मैले भारत, चीन र अमेरिकाको भ्रमण पनि गरेँ । ती देशहरु नेपालको समृद्धि, विकासको विषयमा निकै सकारात्मक रहेको देखिन्छन्’, प्रधानमन्त्री दाहालले भने । वर्तमान सरकार गठनभएपछि सामाजिक न्यायको पक्षमा धेरै राम्रा काम भएका उनले बताए। उनले भने, ‘हामीले मिटरव्याजीलाई कारबाही गरेका छौं । नक्कली भुटानी शरणनार्थी, सुन काण्डमा मुछिएकालाई समातेका छौं । यो काममा गठबन्धनमा रहेका राजनीतिक दलहरुको ठूलो साथ र सहयोग रहेको छ ।

चन्द्रागिरीमा प्याराग्लाइडिङ सुरू, कति लाग्छ शुल्क ?

काठमाडौं । काठमाडौं उपत्यका नजिकको चर्चित ‘हिल स्टेशन’ चन्द्रागिरीमा प्याराग्लाइडिङको ब्यवसायिक उडान सुरू भएको छ । हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ‘बाबु एड्भेन्चर्स’ले प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो । सगरमाथाको आरोहण गरी शिखरबाटै प्याराग्लाइडिङ उडान गरेर समुन्द्रसम्म पुगेका सुनुवार नेसनल जियोग्राफ्रीबाट ‘एडभेञ्चर्स अफ इयर-२०१२’ अवार्ड विजेता समेत हुन् । भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरी डाँडाबाट प्याराग्लाइडिङ उडान सुरू हुने सुनुवार बताउँछन् । चन्द्रागिरी (२३ सय मिटर)बाट सुरू भएको उडान त्यहाँबाट आकासमा सय मिटरसम्म उचाइ लिन्छ । अद्भुत दृश्यहरूको अवलोकन गर्दै समुन्द्र सतहबाट १७ सय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण गरिन्छ । प्याराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको ‘एरियल भ्यु’का साथै काठमाडौं उपत्यकाको अधिकांश भुभागको अवलोकन गर्न सकिनेछ । रसुवा र धादिङका भुभाग समेत देख्न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङ लगायत मानव निर्मित इन्द्रसरोवर तालको समेत आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । मौसम खुलेको बेला उत्तरतर्फ देखिने फराकिलो हिमश्रृङ्खलाने जो कोहिलाई मोहित बनाउँछ । उडानको अधिकांश समय जंगलमाथि हुने भएकाले जंगलको हरियाली त्यहाँको अर्को मज्जा हो । सरकारी अनुमति अनुसार, कम्पनीले एकैपटकमा १२ प्याराग्लाइडर उडाउन सकिने सुनुवार बताउँछन् । दिनमा करिब सय जनासम्मलाई सेवा दिन सकिने उनले बताए । स्याङ्जाको स्वरेक मैदानमा प्याराग्लाइडिङ स्कुल सञ्चालन गरिरहेका सुनुवार साहसिक हवाई पर्यटन नेपालभर सम्भव भएको र काठमाडौंमा उपत्यकाबासीलाई पनि प्यारा उडानको स्वाद चखाउन चन्द्रागिरीमा लगानी गरेको बताउँछन् । उनले भने,’नेपालभरि प्याराग्लाइडिङ फैलाउने अभियान छ । काठमाडौँमा जनघनत्व धेरै भएकाले यसको छिटो र प्रभावकारी सन्देश फैलाउन सकिनेमा म आशावादी छु ।’ कम्पनी ‘क्रस कन्ट्री’ उडाउन गराउन समेत तयारी अवस्थामा रहेको उनले बताए । चन्द्रागिरीमा प्याराग्लाइडिङ सञ्चालनका लागि हालसम्म करिब डेढ करोड लगानी भैसकेको र लगानी अझै बढ्ने उनको भनाइ छ । अनुसन्धान, कागजी प्रक्रिया र भौतिक तयारी गरि करिब ६ वर्षको प्रयासमा चन्द्रागिरीमा प्याराग्लाइडिङ सुरू गर्न सफल भएको सुनुवारले जानकारी दिए । कति लाग्छ शुल्क ? कम्पनीले चन्द्रागिरीमा प्याराग्लाइडिङमा उड्नका लागि प्रतिव्यक्ति ८ हजार रुपैयाँ शुल्क कायम गरेको छ । सो शुल्कमा १५ देखि २५ मिनेटको प्याराग्लाइडिङ उडान, सो अवधिको फोटो तथा भिडियोका साथै गाडिमा काठमाडौंबाट प्याराग्लाइडिङ स्थलसम्मको जाने-आउने सुबिधा उपलब्ध हुनेछ । फोटो र भिडियोको उपकरणको प्रवन्ध कम्पनीले नै गर्छ । सोही प्याकेजका लागि विदेशी नागरिकले १२ हजार रुपैयाँ प्रतिव्यक्ति शुल्क तिर्नुपर्ने सुनुवारले जानकारी दिए । कम्पनीको सवारीमा जाने-आउने सुबिधा नलिने नेपाली पर्यटकले ७ हजार २ सय रुपैयाँ तिरेरै प्याराग्लाइडिङ उडानको मज्जा लिन पाउनेछन् । के ख्याल गर्ने ? प्याराग्लाइडिङ उडानमा जाँदा हावा नछिर्ने ज्याकेट र कालो चस्माको प्रयोग गर्नु उपयुक्त हुन्छ । यसो हुँदा उडानका क्रममा हावाको वेगले तपाईंलाई अप्ठ्यारो बनाउँदैन । यस्तै, उडान ‘टेक अफ’ को समयमा दौडनुपर्ने भएकाले चप्पलभन्दा जुत्ता लगाउनु उत्तम हुन्छ । कसरी गर्ने बुकिङ ? चन्द्रागिरीमा प्याराग्लाइडिङ गर्नका लागि बाबु एड्भेञ्चर्सलाई उडान गर्नुभन्दा एक दिन अघि नै सम्पर्क गर्नुपर्नेछ । जसका लागि कम्पनीको वेबसाइट मार्फत वा ९८५६०५७३३९ मा फोन गरेर पनि बुकिङ गर्न सकिन्छ ।

कृषि पेसा रुचाउँदैनन् खटिक जातिका युवा

काठमाडौं । जगदीश खटिक पूर्खाले गर्दै आएको काममै रमाएका छन् । बाँके डुडुवा गाउँपालिका–२ बाबागाउँ निवासी ५५ वर्षीय जगदीश कृषिकर्ममै समय बिताउँछन् । खेतबारीमै भेटिएका जगदीश पसिनाले निथ्रुक्क थिए । तर पनि उनमा थकान देखिँदैनथ्यो । उनीसँग धेरै जग्गा पनि छैन । उनी मौसमअनुसार धान, गहुँ, मकै, चना, तोरीलगायतका बालीहरु लगाउँछन् । उनले जानको काम नै खेतीपाती हो । खेतीपातीबाट आएको आर्जन नै परिवार पाल्ने माध्यम हो । छोरा सुरेन्द्र खटिक उनकै साथमा थिए, तर बुवाको काममा भने उनी त्यति सघाउन रुचाउँदैंनन् । बुवाको काम सघाउने त सोच्नु हुन्छ तर उत्साही भएर अघि सर्नुहुन्न । तीस वर्षीय सुरेन्द्र बुवाले अर्‍हाएपछि मात्रै काम गर्छन् । बुवाले खेतीपाती गरिरहेको हेरेर पनि उनले सिक्नुपर्ने हो । तर, अहिले उनले त्यसमा चासो दिएका छैनन । सुरेन्द्रलाई त्यो काम गर्ने इच्छा र चाहना पनि छैन । यत्रो मिहनत गरेर कति आम्दानी हुने हो? काम गरेर छाक टार्ने बाहेक अरु केही गर्न सकिन्न भने सोचमा छन् उनी । उनका पूर्खाले त्यही काम गर्दै आएका थिए तर अबको पुस्ता भने कृषि कर्म गर्न तयार छैनन् । सुरेन्द्र जस्तै धेरै खटिक युवामा पूर्खाहरूले गरिरहेको काम, सीप सिक्ने उत्सुकता छैन । तर अघिल्लो पुस्ता भने कृषिकर्मसँगै भैँसी, बाख्रापालनमा सक्रिय छन् । विशेषतः खटिक जाती बङ्गुर चराउँथे । ढोल बनाउने, बजाउने गर्थे । तर अब अहिले त्यो लोप हुँदैछ । खटिकहरू मधेशी दलितभित्र पर्छन् । खटिक बाँकेका विभिन्न स्थानमा रहे पनि डुडुवा गाउँपालिकामा अलि बेँसी छन् । खटिक डुडुवा–२ बेतहनीमा बसोबास गर्दै आइरहेका छन् । यस क्षेत्रमा खटिकहरू चार सयको सङ्ख्यामा रहेको अनुमानमा छ । उनीहरू अल्पसङ्ख्यक जातिको सूचीमा पनि छन् । आयस्रोतको प्रमुख माध्यम कृषि पेसा भए पनि आज भोलिका युवापुस्ताले सो काम छोडेकामा अगुवाहरु चिन्तित छन् । पच्चीस वर्षीय लवकुशलाल खटिक भारतमा काम गर्न जान्छन् । दैनिक मजदुरी गरेरै परिवार पाल्छन् । लवकुशकी दुई बहिनी र एउटी आमा छन् । उनलाई कृषि खेतीमा खासै रुचि छैन । खेतीपाती गर्नका लागि प्रर्याप्त जग्गा जमिन नभएका कारण पनि युवापुस्ता कृषिकर्म गर्न हच्चिएको उनी बताउँछन् । परिश्रम र लगानी फिर्ता हुन्छ कि हुँदैन भन्ने अवस्था भएपछि कृषि पेसा रोज्न उत्साह नभएको हुनसक्ने उनको बुझाइ छ । लवकुशका अनुसार भने जस्तो जग्गा नभएका कारण खटिक सुदायलाई खेती गर्न धौधौ भएको छ । कतिपयले जग्गा अधिया लिएर खेती गरिरहेका छन् । खटिक समुदायका ७० प्रतिशतले अहिले पनि खेती नै गर्ने गर्दछन् तर यो सङ्ख्या विस्तारै घट्दै गएको छ । युवालाई कृषिमै निर्भर रहने वातावरण कहीँबाट बनिरहेको छैन । सबैभन्दा नजिकैको सरकारले खटिकहरूलाई हेर्न सकिरहेको छैन । डुडुवा गाउँपालिका–२ का अध्यक्ष दुर्गाप्रसाद बर्माले दलित र विपन्न वर्गलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याउने योजना रहेको बताए । उनले खटिक समुदायको यकिन तथ्याङ्कन भएको र तथ्याङ्क सङ्कलन गरी त्यसैका आधारमा युवा लक्षित कार्यक्रम ल्याउने बताए । डुडुवा गाउँपालिका कृषि विकास शाखा प्रमुख सुशीलकमाार शर्मा मधेशी दलितअन्तगर्त खटिक रहेका कारण उनीहरूका लागि छुट्टै कार्यक्रम नरहेको बताए । डुडुवा गाउँपालिकाद्वारा दलित परिवारलाई प्राथमिकता दिने भनिए पनि त्यस्तो कार्यक्रम ल्याइएको छैन । खटिक समुदायका लागि भनेर वडास्तरबाट योजना तथा कार्यक्रम गर्न आएकाले पालिकाले स्वयं कार्यक्रम तय गर्न नसकेको शर्मा बताउँछन् । दलितको क्षेत्रमा कार्यरत दलित महिला सङ्घ बाँकेले दुई वर्षअघि खटिक समुदायका लागि खेती सिँचाइ सविधामा सहयोग गरेको थियो । कृषि शाखा प्रमुख शर्माका अनुसार तरकारी खेती गर्नेलाई सिँचाइ सुविधाका लागि मोटर, पम्पसेट आदि सहयोग गरिएको छ । वडाले युवालाई लक्षित गरेर कार्यक्रम माग भए पालिकाले बजेट छुट्यााउन सक्ने शर्माको भनाइ छ । खटिक जस्तै अन्य जातीको पनि डुडुवामा बसोबास रहेको छ । डुडुवामा अति विपन्न जातीको समुदायको बसोबास भएकाले उनीहरुको समग्र विकासका लागि पालिकाले विशेष रणनीति बनाएर कार्यक्रम सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार पालिकाभरि घरधुरी सर्भेक्षणको काम भइरहेकाले त्यसबाट आएको तथ्याङ्क अनुसार कार्यक्रम बनाइनेछ । रासस

चीनद्वारा अन्तरिक्ष स्टेसनमा नयाँ मिसन प्रक्षेपण

चीन । चीनले बढ्दो अन्तरिक्ष कार्यक्रमको नयाँ मिसनअन्तर्गत बिहीबार उसको तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा एउटा नयाँ दल पठाएको छ । चीनले उक्त मिसनअन्तर्गत सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई पठाउने योजना बनाएको छ । उत्तरपश्चिम चीनको जिउक्वान प्रक्षेपण स्थलबाट स्थानीय समयअनुसार बिहान ११ः१४ मा अन्तरिक्ष स्टेसनको निर्माणपछि सबैभन्दा कम औसत उमेर भएका तीन अन्तरिक्ष यात्री लिएर सेनझोउ–१७ उडेको थियो । बिहीबार बिहान विदाइ समारोमा अन्तरिक्षा यात्रीहरूले रकेट प्रक्षेपणको तयारीका लागि प्रस्थान गर्नुअघि पर्यवेक्षकहरूलाई विदाइ गरेका थिए । ‘अन्तरिक्ष यान लङ्ग मार्च–२एफ वाहक माथि रहेको उक्त रेकट उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट सेन्टरबाट उडेको थियो’, चीनको सरकारी सिन्ह्वा समाचार समितिले भनेको छ । उक्त टोलीको नेतृत्व ताङ होङ्बोले गरिरहेका छन् । उनी अन्तरिक्ष स्टेसनमा आफ्नो पहिलो फिर्ती अभियानमा रहेका छन् । उनीसँगै ताङ सेङ्जी र जियाङ जिङ्लिन पनि रहेका छन् । यो उनीहरूको पहिलो अन्तरिक्ष अभियान हो । सबै पुरुष चालक दलको औसत उमेर ३८ वर्ष रहेको छ । अन्तरिक्ष स्टेसनको अभियानमा यिनीहरू सबैभन्दा कान्छो हुन् । रासस

शान्ति र आनन्द प्राप्तिका लागि लुम्बिनी घुमौँ

लुम्बिनी । नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाएपछि घुमफिर गर्न चाहनेका लागि बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क्षेत्र महत्वपूर्ण गन्तव्य बनेका छन् । शान्त वातावरणमा रमाउन चाहने पर्यटकका लागि यो निकै उपयुक्तस्थल हो । यहाँ बर्सेनि लाखौँको सङ्ख्यामा आन्तरिक एवं वाह्य पर्यटक, तीर्थालु, तथा अध्येताहरु सो स्थानमा आउँछन् । बौद्ध धर्मावलम्बीका लागि लुम्बिनी महत्वपूर्ण पवित्र तीर्थस्थल हो । बुद्ध जन्मस्थल लुम्बिनीमा मुख्यतया मायादेवी मन्दिरलगायत, बेबि बुद्धको मूर्ति राखिएको स्थान, शान्तिदीप, विश्वशान्ति स्तुपलगायत दर्जन बढी गुम्बा र विहार रहेका लुम्बिनी पुगेपछि घुम्नैपर्ने क्षेत्र हुन । लुम्बिनी भगवान गौतम बुद्धको पवित्र जन्मस्थल हो । ई पू ६२३ मा लुम्बिनीस्थित बगैँचामा माता मायादेवीको कोखबाट गौतम बुद्धको जन्म भएको हो । भगवान गौतमबुद्धले जन्म लिएको यही स्थानमा अहिले सुन्दर कलात्मक शैलीको मायादेवी मन्दिर रहेको छ । मायादेवी मन्दिरभित्र राखिएको मायादेवीको मूर्तिलाई जन्ममूर्ति पनि भन्ने गरिन्छ । चौँथो शताब्दीमा निर्मित यो मूर्तिले बुद्धको जन्म दृश्यलाई देखाएको छ । मायादेवीले गौतम बुद्धलाई जन्म दिँदा सहाराका लागि दाँहिने हातले रुखको हाँगा समातेको र देब्रेपट्टी उहाँकी बहिनी प्रजापती र देवगण भगवानको स्वागतका लागि तयारी अवस्थामा देखिएका छन् । त्यही नवजात बुद्धको मूर्ति पनि बीचमा रहेको छ । मायादेवी मन्दिरभित्र गौतमबुद्ध जन्मेपछिको पहिलो पाइला छ । यही मन्दिरको अवलोकन गर्न र गौतम बुद्धको जन्मका बारेमा जानकारीका लागि पनि हरेक वर्ष लाखौँको सङ्ख्यामा बौद्ध तीर्थालु, अध्येता र पर्यटक पवित्र लुम्बिनी भ्रमणमा आउँछन् । त्यस्तै मन्दिर परिसरमा बाहिर उत्तरतर्फ शान्तिदीप छ, जुन २४ घण्टा नै बलिरहन्छ । शान्तिदीप पानी पर्दासमेत निभ्दैन । दीपसँगै रहेको नहरमा लुम्बिनीमा आउने पर्यटक डुङ्गा चढेर पनि रमाउने गर्छन् । लुम्बिनी गुरुयोजना अन्तर्गत लुम्बिनीलाई सौन्दर्य दिनका लागि करिब एक किलोमिटर दुरीसम्म बनाइएको नहरमा डुङ्गा चल्ने गर्दछ । यहाँ आउने पर्यटकलाई लुम्बिनी घुमेर मात्र पुग्दैन । पर्यटक बुद्धसँग सम्बन्धित लुम्बिनी वरिपरिका क्षेत्र घुम्न पनि उत्तिकै महत्वपूर्ण ठान्छन् । जापानी प्राकेन्जो टाँगेद्वारा तयार पारिएको लुम्बिनी गुरुयोजना ३ वर्ग माइल क्षेत्र ओगटेको छ । यस क्षेत्रलाई प्रत्येक एक वर्ग माइल क्षेत्र विभाजन गरी गुरुयोजना अनुसार लुम्बिनी क्षेत्रको निर्माणकार्य भइरहेको छ । गुरु योजना अनुसार तीन क्षेत्र सेक्रेट गार्डेन, स्तुप क्षेत्र र नयाँ लुम्बिनी गाउँको रुपमा विभाजन गरी विभिन्न देशले आकर्षक स्तुप बनाएका छन् । लुम्बिनी पुग्ने हरेक पर्यटक ती स्तुपहरुमा नपुगे लुम्बिनी भ्रमण अधुरै रहन्छ । यहाँका घुम्नैपर्ने स्थानहरु यस प्रकारका छन् । लुम्बिनी पवित्र उद्यान क्षेत्रः लुम्बिनीको दक्षिण भागमा रहेको पवित्र उद्यान क्षेत्रको मुख्य रुपमा आध्यत्मिकता, शान्ति, विश्व भातृत्व र अहिंसा झल्किने वातावरणको सिर्जना गर्नुका साथै संसारभरि नै भगवान गौतमबुद्धका सन्देश प्रतिविम्बित गर्नु हो । पवित्र उद्यान क्षेत्रमा पुरातात्विक तथा ऐतिहासिक धरोहर रहेका छन् यिनलाई बगैँचा र सुन्दर पोखरीले थप मनमोकह बनाएको छ । यस क्षेत्रमा रहदा हरेकलाई शान्ति र आनन्द महसुस हुनेगर्छ । बिहार क्षेत्रः लुम्बिनी क्षेत्रको पूर्वी बिहार क्षेत्रमा १३ प्लट थेरवादीहरुका लागि र पश्चिम क्षेत्रमा २९ महायानी बौद्धमार्गीका लागि छुट्याइएका छन् । सांस्कृतिक केन्द्रमा अनुसन्धान केन्द्र तथा पुस्तकालय, सूचना केन्द्र र सङ्ग्रहालय रहेका छन् । यसबाट बौद्ध धर्मसम्बन्धी अध्ययन र अनुसन्धानमा सहयोग पुगेको छ । नयाँ लुम्बिनी ग्रामः गुरुयोजनाको उत्तरी क्षेत्र नयाँ लुम्बिनी ग्रामको रुपमा विकास भइरहेको छ । यात्रु तथा पर्यटकका लागि यस क्षेत्रमा होटल तथा रेष्टुरेन्ट लगायतका सुविधा यस क्षेत्रमा निर्माण भएका छन् । यस क्षेत्रमा दुर्लभ पक्षी सारस संरक्षण केन्द्र पनि स्थापना गरिएको छ । जापानको धार्मिक सङ्गठनद्वारा स्थापित विश्व शान्ति स्तुप र लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालयसमेत यसै क्षेत्रमा छन् । पहिलो दिन लुम्बिनी घुमेपछि दोस्रो दिन बुद्धले आफ्नो जीवनकालको २९ वर्ष बिताएको शाक्य राज्यको राजधानी कपिलवस्तु जिल्लाको तिलौराकोट घुम्न सकिन्छ । लुम्बिनीबाट तिलौराकोट जानका लागि सार्वजनिक यातायातको व्यवस्था छ । कपिलवस्तु पुगेपछि बुद्धसँग सम्बन्धित तिलौराकोटसँगै गोटिहवा, सग्रहवा, निग्लिहवा, अरौराकोट र सिसहनिया पनि घुम्न सकिन्छ । बुद्धसँग सम्बन्धित ती क्षेत्रमा घुम्नका लागि आम पर्यटक पनि ती ठाँउमा पुग्ने गर्दछन् । तिलौराकोटः बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबारको भग्नावशेष हेर्न हजारौँ सङ्ख्यामा स्वदेशी तथा विदेशी बुद्धधर्मका अनुयायी तिलौराकोट पुग्छन् । विश्वप्रसिद्ध ऐतिहासिक र पुरातात्विक महत्वको तिलौराकोटलाई प्राचीन कपिलवस्तुका रुपमा चिनिन्छ । बुद्धजन्मस्थल लुम्बिनीबाट कपिलबस्तु सदरमुकाम तौलिहवा हुँदै जाँदा करिब २८ किलोमिटरको दूरीमा तिलौराकोट रहेको छ । कपिलवस्तु सदरमुकाम तौलिहवादेखि उत्तर वाणगङ्गा नदीको किनारमा अवस्थित तिलौराकोट ई पू। एघारौँं शताब्दीदेखि सन् दोस्रो शताब्दीसम्मका पुरातात्विक भग्नावशेषका साथै प्राचीन दरबारको पूर्वी तथा पश्चिमीद्धार यहाँ अवलोकन गर्न सकिन्छ । यहाँ पटक–पटक विश्व प्रसिद्ध पुरातत्वविदहरुले उत्खनन् गरेको र त्यसबाट तीन हजार वर्ष अघिका संरचना फेला परेका छन् । कुदानः कपिलवस्तुको तौलिहवाबाट तीन किमीको दुरीमापर्ने कुदान प्राचीन निग्रोधराको नामले चिनिन्छ । यस स्थलमा शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि प्राचीन कपिलवस्तुको राजा एंव बुद्धले आफ्ना पिता शुद्धोधन, रानी प्रजापती गौमती, श्रीमती तथा राजकुमारी यशोधरा र छोरा राहुललाई पहिलो भेट गरेको स्थल हो । पुरातात्विक एंव धार्मिक महत्वको यस स्थानमा हाल तीनवटा स्तुप, एक पोखरी र एउटा इनार रहेका छन् । बुद्धसँगै आएका तीनसय भिक्षुकाले यस बगैँचामा रहेको पोखरीमा नुहाएको र आफ्नो साथमा आएर भिक्षुलाई बुद्धले उपदेश दिएका थिए । निग्लिहवाः कपिलवस्तुको तौलिहवाबाट आठ किलोमिटर दूरीमा पर्ने निग्लिहवा शाक्यमुनि बुद्धपूर्वका कनकमुनि बुद्धको जन्मस्थलको रुपमा लिइन्छ । यहाँ सम्राट अशोकले ई पू २४९ मा शिला निर्माण गरेका थिए अहिले उक्त पिलर ढलेको छ । तिलौराकोटबाट तीन किमीको यात्रापछि निग्लिहवा पुगिन्छ । गोटिहवाः क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा लुम्बिनीबाट करिब ३१ किमी दूरीको यात्रापछि पुगिन्छ । क्रकुछन्दले बुद्धत्व प्राप्ति गरेको तथा बुद्धत्व प्राप्ति गरेपश्चात पहिलो पटक बुबासँग भेट भएको पवित्रस्थलको रुपमा गोटिहवालाई लिइन्छ । इपूको तेस्रो शताब्दीमा सम्राट अशोकले यस पवित्रस्थलमा आई आफैँले शीलास्तम्भ गाडी यहाँको स्तुप निर्माण गरेका थिए । सगरहवाः शाक्यमुनी बुद्धको जीवनको अन्त्यतिर शाला राज्यका राजा बिरुढकले प्राचीन कपिलवस्तु राज्यका शाक्यहरुको सामूहिक बध गरेको स्थानको रुपमा सगरहवालाई चिनिन्छ । लुम्बू सागरको नामलेसमेत परिचित यो पोखरीको हालको लम्बाइ १०५९ र चौडाइ २२५ रहेको छ । जगदिशपुर ताल : मानव निर्मित सबैभन्दा ठूलो जलाशय जगदिशपुर ताल हो । यो तिलौराकोटदेखि १० किलोमिटर उत्तरमा रहेको छ । विश्व रामसार सूचीमा सुचीकृत यस तालमा एकै पटक हजारौँको सङ्ख्यामा विभिन्न जातका चराको अवलोकन गर्न पाइन्छ । यसको नजिकै थारु बस्ती रहेको र परम्परागत जीवनशैली, थारु जातीको प्रयोग गर्ने भाँडाकुँडा र खानपान आकर्षण हुन । देवदहः देवदह प्राचीन कोलिय राजधानी हो । यो बुद्ध जन्मस्थल लुम्बिनीदेखि करिब ६७ किलोमिटर पूर्वमा रहेको छ । यस ठाउमा शाक्यमुनि बुद्धकी आमा मायादेवी, कान्छीआमा प्रजापती र श्रीमती यशोधराको माइती गाउँको रुपमा मानिन्छ । शाक्यमुनि बुद्धले बाल्यकालका कैयन समय कान्छी आमाको साथमा यहाँ बिताएको मान्यता रहेको छ । बुद्धले आफ्नो ज्ञान प्राप्तीको सातौंँ वर्षमा सहयोगीका साथमा देवदहको भ्रमण गरेको विभिन्न बौद्ध ग्रान्थमा लेखिएका छन् । यस क्षेत्रको भ्रमणबाट आध्यात्मिक पर्यटकका लागि भनानीपुर, कन्यामाई, बैरिमाइ मन्दिर तथा मायादेवी, प्रजापती र यशोधराको माइती क्षेत्रको अवलोकन भ्रमण गर्न सकिन्छ । प्राचीन कोलिय कालखण्डको पाकरी वृक्षका समेत यहाँको भ्रमणबाट अवलोकन गर्न सकिन्छ । रामग्रामः पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारबाट करिब तीन किलोमिटर दक्षिणबाट केही पूर्व झरही खोलाको किनारामा ऐतिहासिक, पुरातात्विक तथा धार्मिक रामग्राम स्तुप रहेको छ । करिब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ समतल मैदानमा देखिने थुम्को नै रामग्राम स्तुप हो । सम्राट अशोकले जम्बुदीपमा ८४ हजार स्तुप निर्माण गर्दा पनि रामग्रामको अस्तु लैजान नसकेको हुँदा बौद्ध धर्म र संस्कृतिको दृष्टिले यसको विशेष महत्व मानिन्छ । रासस

तालबाराही मन्दिर पुनः निर्माण थालियो

  पोखरा । पोखरा महानगरपालिका –६ बैदामस्थित फेवातालको मध्यभागमा अवस्थित प्रसिद्ध तालबाराही मन्दिरको पुनः निर्माण थालिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज यहाँ आयोजित  कार्यक्रममा मन्दिरको जग पूजा गर्दै पोखराको गहनाको रुपमा चिनिएको फेवाताल र तालबाराही मन्दिरको संरक्षण गर्ने जिम्मेवारी पोखरेली र तीनै तहका सरकारको भएको बताए । उनले पुरानै स्वरुपमा मन्दिर पुनःनिर्माण गरी मन्दिरका बारेमा भावी पुस्तालेसमेत अध्ययन गर्ने थलो बन्न सक्ने छ भने । विसं २०७२ को गोरखा भूकम्पकै कारण भूइँतलासहित तीन तले मन्दिर तीन इञ्च दक्षिणतर्फ ढल्किएपछि ताल बाराहीमन्दिर गुठी व्यवस्थापन समिति पुनःनिर्माण कार्य जुटेको हो । समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले मन्दिर निर्माणको लागि रु एक करोड ४५ लाख लाग्ने जानकारी दिए । मन्दिर निर्माणका लागि पुरातत्व विभागबाट २५ लाख सहयोग प्राप्त हुनुको साथै प्रदेश, स्थानीय, सङ्घ सरकार र भक्तजनको सहयोगमा पुरानै स्वरुपमा कलात्मक ढाँचामा मन्दिर पुनः निर्माण गरिने कुँवरले बताए । पोखराको प्रमुख पर्यटकीय धार्मिक गन्तव्यका रूपमा स्थापित तालबाराही पुरानो मन्दिर भत्काइएको छ। पुरानो मन्दिर भत्काएसँगै अर्को चाँदीको मूर्तिमा प्राणप्रतिष्ठा गरी नजिकैको हवनकुण्ड रहेको स्थानमा पूजाआजा गरिँदै आइएको छ । पुरानो मन्दिर भत्काइए पनि बारही देवीको दर्शन गर्न दैनिक ठूलो सङ्ख्यामा दर्शनार्थी  त्यहाँ पुग्ने गर्छन । मन्दिर पुनःनिर्माणका लागि तालबाराही मन्दिर गुठी व्यवस्थापन समिति र पुरातत्व विभागबीच समन्वय गरी आवश्यक काम अगाडि बढाइने छ । मूल मन्दिर एक वर्षभित्र नै निर्माण सम्पन्न गर्ने योजनाका साथ समिति अगाडि बढेको जानकारी अध्यक्ष कुँवरले दिए । हाल भत्काइएको मन्दिर २०१७ सालमा बनाइएको थियो । पुरानै शैलीमा कालीगढ मगाएर मन्दिर पुनःनिर्माणसँगै यहाँको समग्र व्यवस्थापानका लागि रु नौ करोडको गुरुयोजनासमेत तयार गरिएको जानकारी तालबाराही मन्दिर पुनःनिर्माण परियोजनाका प्राविधिक संयोजक प्रा डा भरत पहारीले दिए । चार रोपनी क्षेत्रफलमा फैलिएको उक्त मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन मन्दिर पुनः निर्माणसँगै अन्य संरचना निर्माणका लागि नौ करोड  छुट्याइएको र मन्दिर परिसरका सम्पूर्ण संरचना दुई वर्षभित्र नै सम्पन्न गरिने जानकारी उनले दिए । उनका अनुसार मूल मन्दिर एक वर्षभित्र र सभाहल, शौचालय, गार्डेन, होमनस्थल, स्टोर कक्ष, पानीको फोहरा, ढुङ्गेधाँरा, डुङ्गाघाट गुरुयोजनामा छन् । मन्दिरको अस्तित्व सन् १६६७ देखि कायम रहिआएको पाइन्छ । कतै–कतै १४४७ देखि अस्तित्वमा रहेको भन्ने अभिलेखसमेत छ। कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर पहिलो पटक मन्दिर स्थापना गरेको इतिहास छ । प्राचीनकालमा माटाको ढिस्कामा एउटा शीला थियो, त्यहीँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजाआजा गर्न थालिएको किंवबदन्ती छ । किंबदन्तीअनुसार तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको छ । तालबाराही मन्दिरले पर्यटन र धर्म दुवैलाई जोडेको छ । तालमा देखिने माछापुच्छ्रे हिमालको छायाँ र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्व शान्ति स्तूपजस्ता दृश्यले पर्यटक लोभिने गरेका छन् । प्राकृतिक मनोरम दृश्यको आनन्द लिन पाइने मात्र नभइ तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि यहाँ सर्वसाधारणको आकर्षण बढेको बताइएको छ । मन्दिर पुनः निर्माणका लागि पुरातत्व विभागले २५ लाख र मन्दिर व्यवस्थापन समितिले एक करोड १५ लाख जुटाउने सम्झौतामा उल्लेख छ । मन्दिर पुनः निर्माणका लागि आवश्यक पर्ने रकममध्ये मन्दिरको कोषमा अहिले ६५ लाख  रहेको र अपुग रकम पोखरा महानगरपालिका तथा अन्य सहयोगदातासँग सङ्कलन गरिने व्यवस्थापन समितिले जनाएको छ। फेवाताल २३ दशमलव ३० मिटर गहिराइ र चार दशमलव ४६ किलोमिटर लम्बाइ तथा दुई किलोमिटर चौडाइको छ । त्यही तालको एक धेरै पुरानो मन्दिर तालबाराही भगवतीको मन्दिर हो । यसमा पूजाआजाको प्रारम्भ विसं १४६७ बाट भएको हो । मन्दिर व्यवस्थापन समितिको स्थापना भने विसं २०५३ मा आएर मात्रै भएको थियो। हिकमतबहादुर कुँवरको नेतृत्वमा प्रथम व्यवस्थापन समिति बनेको थियो । तालको किनारबाट पाँच मिनेटभित्रै डुङ्गा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई आनन्दित तुल्याउनाका साथै तालबाराहीको दर्शन गरेपछि चिताएको पुग्ने धार्मिक विश्वासले पनि सबैलाई आकर्षित गरेको छ । रासस