विकासन्युज

भूकम्प पीडितलाई ‘बिग कर्पोरेट हाउस’को करोड सहयोग, आइएमई, सूर्य नेपाल र भाटभटेनी अग्रस्थानमा

काठमाडौं । बिग कर्पोरेट हाउस भूकम्प पीडितलाई राहत कार्यक्रममा जुटेका छन् । गत शनिबार राति जाजरकोट केन्द्र भएर गएको भूकम्पले पुर्याएको क्षतिमा उद्दार तथा राहतका लागि नेपालका बिग कर्पोरेट हाउनसहरु लागेका हुन् । हालसम्म धेरै उद्योगी व्यवसायी तथा संघ संस्थाले करोडौं सहयोग गरिसकेका छन् । संघीय सरकारले भूकम्प पीडितको खोज, उद्दार, राहत र व्यवस्थापन सम्बन्धी विभिन्न निर्णयहरु गरिसकेको छ । हालसम्म ठूलो कर्पोरेट हाउसहरुमा आइएमई ग्रुप, सूर्य नेपाल, भाटभटेनी लगायतका व्यवसायिक संघ संस्थाहरुले करोड बढी सहयोग गरिरहेका छन् । मंगलबार मात्रै सूर्य नेपालले भूकम्प पिडितलाई १ करोड ४० लाख रुपैयाँ सहयोग गरेको छ । सूर्य नेपालले आफ्नो व्यवसायिक सामाजिक दायित्व अन्तर्गत भूकम्पका कारण जाजरकोट, रुकुम लगायतका जिल्लाहरुमा जनधनको व्यापक क्षति भएकोमा तत्काल उद्दार, राहात तथा पिडितहरुको पुनस्थापनामा मद्दत पुर्याउन १ करोड ४० लाख रुपैयाँ सहयोग गरेको बताएको छ । सूर्य नेपालले १ करोड रुपैयाँ प्रधानमन्त्री दैबी प्रकोप राहात कोषमा जम्मा हुने गरी आजै कम्पनीका प्रबन्ध निर्देशक रवी रायवरम, भाइस प्रेसिडेन्ट रवी केसी, विकास भुत्रा, दिप्रा लाहिरी र वित्त प्रवन्धक प्रेम अर्यालको टोलीले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेको गरेको छ । कम्पनीले थप ३५ लाख रुपैयाँ बराबरको खाद्यान्न, टारपाउलिन र ब्ल्याङ्गकेटहरु जाजरकोट पठाइसकेको छ र साथै ५ लाख रुपैयाँ बराबरको औषधी वीर अस्पतालको प्रभावित क्षेत्र तर्फ जाने टोलीलाई हस्तान्तरण गरिसकेको सूर्य नेपालले आधिकारीक जानकारी दिएको छ । यस्तै, आइएमई समूहले पनि १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १ करोड ५० लाखको चेक हस्तान्तरण गरेका हुन् । यस्तै, भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले पनि जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पबाट क्षति भएकाको उद्धार र राहतका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उक्त चेक हस्तान्तरण गरेका हुन् । ठूला कर्पोरेट हाउससँगै विभिन्न बैंकहरुले पनि आर्थिक सहयोग गरिरहेका छन् । हालसम्म राष्ट्रिय वाणिज्य बैंकले एक करोड, सिटिजन्स बैंकले २५ लाख, नबिलले एक करोड, एनआइसी एशिया बैंकले ५१ लाख, सानिमाले २५ लाख, प्राइम कमर्सियल बैंकले २५ लाख ५१ हजार, सिटी एक्सप्रेस ग्रुपले २५ लाख र आइएमई लाइफ इन्स्योरेन्सले १० लाख रुपैयाँ सहयोग गरेका छन् ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा २० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई दराज ११ः११मा २० प्रतिशत छुट हुने भएको छ । बैंकका ग्राहकहरुले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा २० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको हो । नोभेम्बर ११ देखि नोभेम्बर २२ सम्म रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ देखि २० प्रतिशतसम्म छुट पाइनेछन् । बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा २,००० सम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा २,५०० रुपैयाँ सम्म छुट पाउनेछन् । बैंकका कार्ड बाहक ग्राहकहरुले छुट पाउनका लागि दराज एयापबाट ग्लोबल आइएमई बैंकको कार्डको छुट भौचर सङ्कलन गर्नुपर्नेछ । यी भाउचरहरू चेकआउट प्रक्रियाको क्रममा स्वचालित रूपमा लागू हुनेछन् । ग्लोबल आइएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई सहज, निरन्तर तथा इनामदायी किनमेल अनुभव सुनिश्चित गर्दै आएको छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले भूकम्प पीडितको लागि गर्यो एक करोड सहयोग

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भूकम्प पीडितको सहायतालागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प पीडितको सहायताका लागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको हो । बैंक सञ्चालक समिति सदस्य दिलिपकुमार ढुङ्गानाले प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’लाई मङ्गलबार एक करोड रुपैंयाको चेक रकम हस्तान्तरण गरेका छन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितहरुको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको च.हि.न. ११३०१००००३७६२००१ खातामा बैंकको तर्फबाट एक करोड रुपैंया मङ्गलबार ट्रान्सफर गरेको छ । भूकम्पका कारण मृत्यु हुने नागरिकहरु प्रति बैंक हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । साथै, बैंक घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दछ ।

सूर्य नेपालले दियो भूकम्प पिडितलाई १ करोड ४० लाख रुपैयाँ

काठमाडौं । सूर्य नेपालले भूकम्प पिडितलाई १ करोड ४० लाख रुपैयाँ दिएको छ । सूर्य नेपालले आफ्नो व्यवसायिक सामाजिक दायित्व अन्तर्गत भूकम्पका कारण जाजरकोट, रुकुम लगायतका जिल्लाहरुमा जनधनको व्यापक क्षति भएकोमा तत्काल उद्दार, राहात तथा पिडितहरुको पुनस्थापनामा मद्दत पुर्याउन १ करोड ४० लाख रुपैयाँ सहयोग गरेको छ । १ करोड रुपैयाँ प्रधानमन्त्री दैबी प्रकोप राहात कोषमा जम्मा हुने गरी आजै कम्पनीका प्रबन्ध निर्देशक रवी रायवरम, भाइस प्रेसिडेन्ट रवी केसि, विकास भुत्रा, दिप्रा लाहिरी र वित्त प्रवन्धक प्रेम अर्यालको टोलिले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेको छ । कम्पनीले थप ३५ लाख रुपैयाँ बराबरको खाद्यान्न, टारपाउलिन र ब्ल्याङ्गकेटहरु जाजरकोट पठाइसकेको छ र साथै ५ लाख रुपैयाँ बराबरको औषधी वीर अस्पतालको प्रभावित क्षेत्र तर्फ जाने टोलीलाई हस्तान्तरण गरिसकेको सूर्य नेपालले आधिकारीक जानकारी गराएको छ ।

कोरला नाका कात्तिक २७ गतेदेखि सञ्चालन हुने

मुस्ताङ । मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाका आगामी हप्तादेखि सञ्चालन हुने भएको छ । गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले चिनियाँ पक्षबाट कात्तिक २७ गतेदेखि नाका सञ्चालन हुने जानकारी आएसँगै स्थानीयवासीमा खुसियाली छाएको बताए । ‘सरकार, जनप्रतिनिधि र सुरक्षा अधिकारीहरुको तहबाट कोरला नाका सञ्चालन गर्न भएको कूटनीतिक पहल सफल भएको छ,’ उनले भने, ‘लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा परिचयपत्रको आधारमा आवतजावत गर्न पाउनेछन् ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को असोज पहिलो साता भएको भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका सञ्चालनमा ल्याउने तयारी भएको जनाएको थियो । यसैगरी मुस्ताङ र चीनको स्वशासित क्षेत्र ढोङवासेनका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरुबीच नाका सञ्चालन र व्यवस्थापनका विषयमा चारपटक वार्ता भएको थियो । कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाका पूर्ण रुपमा बन्द भएको थियो । त्यसअघिका वर्ष कोरला नाकामा वर्षमा दुईपटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो । उक्त नाका सञ्चालनका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजार जनाभन्दा बढी सर्वसाधारणलाई ‘नेपाल चीन सीमा क्षेत्रमा प्रस्थानका लागि प्रवेश अनुुमतिपत्र’ वितरण गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । ‘प्रवेश पास भएका नागरिकले जुुनसुुकै समयमा पनि चीन जानेआउने सुविधा पाउनेछन्,’ उनले भने, ‘कोरला नाकाको नजिकै रहेको नेचुुङ भन्सार कार्यालयमा नियमित कर्मचारी उपस्थितिका लागि तयारी गरिएको छ ।’ नेचुङ सशस्त्र प्रहरी बल (बीओपी) को भवन निर्माण भएको छ । जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्ची सडकको पहुँच पुगेको छ । चीनले नाकासम्म पक्की सडक र सुविधासम्पन्न भवन बनाएको छ । सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए । सोही विद्रोहका कारण विसं २०३२ देखि कोरला नाका आवत जावतमा कडाइ गरिएको थियो । विसं २०५८ सम्म रोकतोक नरहेको सीमामा २०५९ देखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको छ । नाका सञ्चालन भएपछि मुस्ताङका बासिन्दाले दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्न पाउने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिए । रासस

नेप्सेमा आज पनि दोहोरो अंकको वृद्धि, कारोबार १ अर्ब नजिक

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार २१ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ११.२२ अंकले बढेर १८५८.७६ बिन्दुमा पुगेर बन्द भएको छ । आज बजारसँगै कारोबार संख्या र रकम पनि बढेको छ । आज ४३ लाख ३१ हजार कित्ता सेयर ९९ करोड ६५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन बैंकको प्रमोटर सेयर ९ करोड १६ लाख रुपैयाँमा किनबेच भएको छ । आज निर्जीवन बीमा समूहको बाहेक सबै समूहको सेयर सामान्य बढेको छ । सबैभन्दा धेरै लक्ष्मी लघुवित्तको सेयर ८.१६ प्रतिशत तथा सोनापुर मिनरल्स एन्ड आयल कम्पनी र सिटिजन लाइफ इन्सुरेन्सको सेयर ५.२८ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन आज स्वावलम्बन लघुवित्तको सेयर ८.२६ प्रतिशतले घटेको छ ।

राष्ट्रपति पौडेल जाजरकोट अस्पतालमा घाइतेहरूसँग

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । उनले आज जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन् । घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए । राष्ट्रपति पौडेलले भूकम्प प्रभावितलाई आवश्यक बसोबास, खाद्यन्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताएकाे राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। राष्ट्रपतिको भनाइ उदृत गर्दै सल्लाहकार पोखरेलले भने, ‘तपाईंहरुका लागि अल्पकालीन र दीर्घकालीन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ । चिन्ता गर्नु पर्दैन । म सरकारसँग कुरा गर्छु ।’ सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराएको थियो भने घाइतेहरूको अवस्थाबारे जिल्ला अस्पतालका चिकित्सकहरूले जानकारी गराएको थियो । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज सुर्खेतबाट जाजरकोट पुगेका हुन् । उनका प्रेस सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपति पौडेल सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठविसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिनेछन् । राष्ट्रपति पौडेलका साथमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी छन् । भूकम्पपछिको अवस्था अनुकूल नभएको भन्दै राष्ट्रपति पौडेलले कात्तिक २२ गतेदेखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगित गरेका थिए ।

दुर्गा प्रसाईंले ऋण लिएकै बैंकको खराब कर्जा बढ्यो, साँवा ब्याज नतिरेर सञ्जालमा उग्र

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा उग्र र उश्रृङ्खल स्वभाव देखाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले असारमा पनि बैंकहरुको किस्ता नतिरेको बुझिएको छ । विवादित व्यवसायी प्रसाईंले बैंकको साँवा ब्याज नतिरेर सामाजिक सञ्जालमा उग्र स्वभाव देखाइरहेका छन् । यसअघि बैंक तथा वित्तीय संस्थाविरुद्दका अभिव्यक्ति दिइरहेका उनी अहिले प्रमुख राजनीतिक दलका नेतृत्व र विभिन्न व्यवसायीहरुमाथिका माथि खनिएका छन् । बैंकको ऋण नतिरेर उनी बैंकविरुद्द मुद्दा हालेर ऋण बिर्सेका छन् । उनले असारमा बैंककाे किस्ता पनि नतिरेको एक बैंकका नायब प्रमुख कार्यकारी अधिृकतले बताए । ती बैंकरका अनुसार उनले बैंकको ऋण नै नतिर्ने भनेर बैंक विरद्द नै मुद्दा हालेका छन् । बैंकर भने उनले लिएको ऋणको ब्याज बढ्दै गएको बताउँछन् । ‘हामीले हिसाब गरिरहेका छौं, हामीले पनि खल्तिबाट पैसा दिने होइन, त्यो पैसा सर्वसाधारणकै हो, उनले लिएको ऋण तिर्दिनँ भन्न मिल्दैन, उनले मुद्दा हालेकोले अहिले धितो लिलामको प्रक्रियामा समस्या भइरहेको छ, नभए अहिलेसम्म बैंकहरु उनको धितो लिलामी प्रक्रियामा गइसक्थे,’ ती बैंकरले भने । बैंक भनेको सर्वसाधारणकै पैसा हो । उद्योगी व्यवसायीहरुले तिनै सर्वसाधारणको पैसालाई ऋणको रुपमा बैंकबाट लिन्छन् । सो पैसा तिरेन भने समग्र प्रणालीलाई नै असर पर्न जान्छ । प्रसाईंले झापास्थित बिएन्डसी हस्पिटल, क्यान्सर हस्पिटल र इलाममा खोल्ने भनिएको होटलका लागि बैंकहरूबाट कर्जा लिएका छन् । अस्पतालहरूका लागि साढे चार अर्बभन्दा बढी र होटलका लागि ६५ करोड रूपैयाँभन्दा धेरै ऋण उनले लिएका छन् । बैंकहरुका अनुसार उनले ग्लोबल आइएमई, कुमारी र प्रभु बैंकबाट एक/एक अर्ब रुपैयाँ ऋण लिएका छन् भने नबिलबाट ७६ करोड, राष्ट्रिय वाणिज्यबाट ७० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड र गुडविल फाइनान्सबाट १० करोड रुपैयाँ ऋण लिएका छन् । सर्वसाधारणलाई उस्काएर बैंकको ऋण नतिर्ने र बैंकरलाई कालोमोसो दल्ने अभियान चलाइरहेका प्रसाईंले सञ्जालमा तथानाम बोलेर केहीको विश्वास जित्ने रणनीति बनाइरहेका छन् । एक बैंकको स्रोतका अनुसार नेपाल राष्ट्र बैंकले ऋणीको ऋणलाई रिसेडुअल गर्ने व्यवस्था गरेसँगै उनले पनि बैंकरसँग बसेर सो व्यवस्था आफुलाई पनि दिन भन्ने आग्रह गरेका छन् । उनले बैंकरसँग बसेर सो विषयमा छलफल गर्नका लागि पत्र नै पठाएको एक बैंकरको भनाइ छ । खराब कर्जा पनि बढ्यो विवादित व्यवसायी प्रसाईंले ऋण लिएर सावाँ ब्याज नतिरेको बैंक तथा वित्तीय संस्थाकै अहिले खराब कर्जा बढेको छ । अहिले खराब कर्जा बढ्नेमा उनले ऋण लिएका बैंकहरु देखिएका छन् । उनले ग्लोबल आइएमई बैंकबाट ऋण लिएका छन् । सो बैंकको खराब कर्जा हाल ४.३८ प्रतिशत छ । गत आवको सोही अवधिमा सो बैंकको खराब कर्जा २.१ प्रतिशत मात्रै थियो । यस्तै, कुमारी बैंकबाट उनले एक अर्ब ऋण लिएर सावाँ ब्याज तिरेका छैनन् । सो बैंकको पनि अहिले खराब कर्जा बढेको छ । सो बैंकको खराब कर्जा बढेर ४.८९ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा यस बैंकको खराब कर्जा १.२८ प्रतिशत मात्रै थियो । प्रसाईंलाई दिएको ऋणले कुमारी बैंकले ठूलो झमेला ब्यहोर्नु परेको छ । यस्तै, प्रसाईंले प्रभु बैंकबाट पनि एक अर्ब नै ऋण लिएका छन् तर ब्याज भने बढिसकेको छ । उनले ऋण लिएको प्रभु बैंकको खराब कर्जा पनि अहिले ३.९७ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा यस बैंकको खराब कर्जा १.६८ प्रतिशत थियो । नबिल बैंकको खराब कर्जा पनि अहिले ३.६९ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा नबिलको खराब कर्जा २.३३ प्रतिशत थियो भने उनले ऋण लिएको राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा पनि ३.६२ प्रतिशत पुगेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको भने बढेर ४.८३ प्रतिशत खराब कर्जा पुगेको छ सो बैंकबाट प्रसाईंले ६५ करोड रुपैयाँ ऋण लिएका छन् । गत आवको सोही अवधिमा यस बैंकको खराब कर्जा १.५७ प्रतिशत मात्रै थियो । यस्तै, उनले ऋण लिएको लुम्बिनी विकास बैंकको खराब कर्जा पहिलो त्रैमासमा ३.४७६ पुगेको छ भने गुडविल फाइनान्सको पनि ३.९७ प्रतिशत पुगेको छ ।